सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आधुनिक युनानी बाइबल उत्पादन गर्न संघर्ष

आधुनिक युनानी बाइबल उत्पादन गर्न संघर्ष

आधुनिक युनानी बाइबल उत्पादन गर्न संघर्ष

कुनै समय स्वतन्त्र विचारधाराहरूको उद्‌गमस्थल मानिने युनानमा जनमानसले बुझ्ने भाषामा बाइबल अनुवाद गर्न कठोर संघर्ष गर्नुपरेको थियो भन्‍ने कुरा थाह पाउँदा तपाईंलाई छक्क लाग्ला। तर सजिलैसित बुझ्न सकिने युनानी बाइबलको उत्पादनलाई कसले रोक्न खोज्लान्‌ र? तिनीहरूले किन त्यस कार्यलाई रोक्न चाहलान्‌ र?

कसै कसैले युनानी भाषीहरूले विशेष लाभ पाएका छन्‌ भन्‍ने विचार गर्छन्‌। किनभने पवित्र धर्मशास्त्रहरूका अधिकांश भागहरू तिनीहरूको भाषामा लेखिएका थिए। यद्यपि, हिब्रू धर्मशास्त्रको सेप्टुआजिन्ट अनुवाद र मसीही युनानी धर्मशास्त्रमा प्रयोग गरिएको युनानी भाषा, आधुनिक युनानी भाषाभन्दा एकदमै भिन्‍न छ। वास्तवमा छ शताब्दी अघिदेखि प्रायजसो युनानी भाषा बोल्ने मानिसहरूले बाइबलमा प्रयोग गरिएको युनानी भाषा विदेशी भाषाजस्तै बुझ्न गाह्रो लागेको महसुस गरेका छन्‌। पुराना अभिव्यक्‍तिहरूका ठाउँमा नयाँ शब्दहरू प्रयोग हुन थालेका छन्‌ र शब्द, व्याकरण र वाक्य रचना पनि परिवर्तन भइसकेको छ।

तेस्रोदेखि सोह्रौं शताब्दीतिरको युनानी हस्तलिपिहरूको संकलनले सेप्टुआजिन्ट-लाई आधुनिक युनानी भाषामा अनुवाद गर्ने प्रयास गरेको कुराको पुष्टि गर्छ। तेस्रो शताब्दीमा नियोसिजरीयाका विशप ग्रेगोरीले (सा.यु. २१३-२७० तिर) सेप्टुआजिन्ट-को उपदेशकको पुस्तकलाई सरल युनानी भाषामा अनुवाद गरेका थिए। एघारौं शताब्दीमा तोबियास बेन एलिएजर नाउँ गरेका म्यासेडोनियामा बस्ने यहूदीले सेप्टुआजिन्ट-को पेन्टाटुकको केही भाग बोलीचालीमा प्रयोग गरिने युनानी भाषामा अनुवाद गरे। त्यसबाहेक तिनले युनानी भाषामात्र बोल्ने तर हिब्रू लिपि पनि पढ्‌न सक्ने म्यासेडोनियाली यहूदीहरूको लागि हिब्रू लिपिको पनि प्रयोग गरे। यसप्रकारको सम्पूर्ण पेन्टाटुक १५४७ मा कन्सटेन्टीनोपलमा प्रकाशित भयो।

अन्धकारमाझ केही प्रकाश

पन्ध्रौं शताब्दीमा बाइजान्टिन साम्राज्यको युनानी भाषा बोलिने क्षेत्रहरू ओटोमनहरूको अधीनमा परेपछि अधिकांश मानिसहरू शिक्षाविहीन हुन थाले। अटोमन साम्राज्यले अर्थोडक्स चर्चलाई धेरै शक्‍ति दिएको भए तापनि यसले आफ्ना बगाललाई बेवास्ता गरेर गरिब अनि अशिक्षित नै रहन दिए। युनानी लेखक थोमस स्पेलियोसले यस्तो टिप्पणी गरे: “अर्थोडक्स चर्च तथा यसको शैक्षिक प्रणालीको प्रमुख लक्ष्य भनेको आफ्नो समाजलाई इस्लाम तथा रोमन क्याथोलिक धारणाहरूका खतराहरूदेखि जोगाउनु थियो। परिणामस्वरूप, युनानी शिक्षामा केही प्रगति भएन।” त्यस्तो आशाविहीन वातावरणमा बाइबललाई प्रेम गर्ने व्यक्‍तिहरूले निराशभएका मानिसहरूलाई बाइबलको पुस्तक भजनसंग्रहबाट मुक्‍ति अनि सान्त्वना दिनुपर्ने आवश्‍यकता महसुस गरे। सन्‌ १५४३ देखि १८३५ सम्ममा बोलीचालीमा प्रयोग गरिने युनानी भाषामा भजनसंग्रहका १८ वटा अनुवादहरू भइसकेका थिए।

सम्पूर्ण युनानी धर्मशास्त्रको प्रथम अनुवाद क्यालीपोलिसका युनानी भिक्षु म्याक्सिमस कलीपोलिटिसले सन्‌ १६३० मा तयार पारे। यो कार्य कन्सटेन्टीनोपलका कुलपति तथा अर्थोडक्स चर्चका सम्भाव्य सुधारक सिरेल लुकारिसको निर्देशन तथा सर्वेक्षणमा सम्पन्‍न भयो। तथापि, चर्चभित्रै लुकारिसका विरोधीहरू थिए। तिनीहरू कुनै सुधार चाहँदैनथे वा बोलीचालीको भाषामा कुनै बाइबल अनुवादलाई स्वीकार्न चाहँदैनथे। a तिनलाई विश्‍वासघातीको आरोपमा घाँटी अँठ्याएर मारियो। तैपनि, म्याक्सिमसले गरेको अनुवादका १,५०० प्रति १६३८ मा छापियो। यस अनुवादको प्रतिक्रियास्वरूप ३४ वर्षपछि यरूशलेमको अर्थोडक्स धर्मसभाले ती धर्मशास्त्रहरू “जसले पायो उसैले पढ्‌न हुने कुरा होइन तर उचित अनुसन्धान गरेर आत्माका गहिरा कुरा नियाल्नेहरूले मात्र पढ्‌नुपर्छ” भनेर घोषणा गऱ्‍यो। यसको अर्थ शिक्षित पादरीहरूले मात्र धर्मशास्त्र पढ्‌न पाउँथे।

सन्‌ १७०३ मा लेस्बोस टापुका युनानी भिक्षु सेराफिमले म्याक्सिमसको अनुवादको संशोधित संस्करण लण्डनमा प्रकाशित गर्ने कोसिस गरे। अंग्रेज सरकारबाट प्रतिज्ञा गरिएको आर्थिक सहयोग प्राप्त नभएपछि तिनले आफ्नै पैसा लगानी गरेर संशोधित संस्करण छपाए। जोडदार प्राक्कथनमा तिनले “हरेक ईश्‍वरभक्‍त मसीहीले” बाइबल पढ्‌नुपर्ने आवश्‍यकतामाथि जोड दिए। तिनले चर्चका उच्च तहका पादरीहरूलाई “मानिसहरूलाई अज्ञानी बनाएर आफ्नो दुर्व्यवहार ढाकछोप गर्न खोज्नेहरू” भन्‍ने आरोप लगाए। आशा गरिएझैं अर्थोडक्स धर्म मान्‍ने तिनका विरोधीहरूले रूसमा गिरफ्तार गरेर साइबेरीयामा देशनिकाला गरिदिए। तिनी १७३५ मा त्यहीं मरे।

त्यसबेलाका युनानी भाषी मानिसहरूको गहिरो आध्यात्मिक भोकबारे टिप्पणी गर्दै म्याक्सिमस अनुवादको पछिल्लो संशोधित संस्करणबारे युनानी पादरीहरूले यस्तो वक्‍तव्य दिए: “युनानीलगायत अरूले यस पवित्र बाइबललाई पनि माया अनि स्नेहका साथ स्वीकारे। अनि तिनीहरूले यसलाई पढे। अनि तिनीहरूले घाउमा मलहम लगाउँदा जस्तै सञ्चो महसुस गरे साथै परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास . . . पनि बढ्यो।” तथापि तिनीहरूका आध्यात्मिक नेताहरू भने मानिसहरूले बाइबल बुझेपछि पादरीहरूले अपनाइरहेका गैरशास्त्रीय विश्‍वास तथा कार्यहरू उदांग हुनेछन्‌ भनेर डराए। तसर्थ, १८२३ मा र फेरि १८३६ मा कन्सटेन्टीनोपलका कुलपतिले त्यस्ता बाइबल अनुवादहरूका सम्पूर्ण प्रतिहरू जलाउनु भन्‍ने आदेश जारी गरे।

साहसी अनुवादक

डरलाग्दो सतावटको बावजुद बाइबलको ज्ञानप्रतिको मोहले गर्दा आधुनिक युनानी भाषामा बाइबल अनुवाद गर्न प्रमुख भूमिका निर्वाह गर्ने एक जना प्रख्यात व्यक्‍ति देखा परे। यी साहसी व्यक्‍ति नियोफिटोस भम्बास थिए जो प्रख्यात भाषाविद्‌ र बाइबलविद्‌ हुनुका साथै “राष्ट्रका शिक्षक” भनेर चिनिन्थे।

भम्बासले मानिसहरू आध्यात्मिक तवरमा असाक्षर हुनुको मुख्य कारण अर्थोडक्स चर्च नै हो भन्‍ने कुरा स्पष्टसित बुझे। मानिसहरूलाई आध्यात्मिक तवरमा जागृत गराउन बाइबल त्यसबेलाको बोलीचालीको युनानी भाषामा अनुवाद गरिनुपर्छ भन्‍ने बलियो विश्‍वास राखे। सन्‌ १८३१ मा अरू शास्त्रविद्‌हरूको मदत लिएर बाइबल सबैले बुझ्न सक्ने युनानी भाषामा अनुवाद गर्न थाले। तिनको सम्पूर्ण अनुवाद १८५० मा प्रकाशित भयो। युनानी अर्थोडक्स चर्चले तिनको समर्थन नगर्ने भएकोले तिनले आफ्नो अनुवादको प्रकाशन र वितरण कार्य ब्रिटिश एण्ड फोरेन बाइबल सोसाइटीसित (बि एफ बि एस) मिलेर गरे। चर्चले तिनलाई “प्रोटेस्टेन्ट” ठहऱ्‍याएर बहिष्कार गऱ्‍यो।

भम्बासको अनुवाद किङ जेम्स भर्सन-सित धेरै हदसम्म मिल्थ्यो। बाइबलको सीमित ज्ञान तथा त्यसबेलाको भाषिक ज्ञानको कमीले गर्दा त्यस संस्करणका जस्तै कमी कमजोरीहरू यस संस्करणमा पनि यथावतै रहे। यद्यपि, यो आधुनिक युनानी बाइबल धेरै वर्षसम्म मानिसहरूको लागि सजिलै उपलब्ध भइरह्‍यो। चाखलाग्दो कुरा यसमा परमेश्‍वरको नाउँ युनानी भाषामा “इओभा” भनेर चार ठाउँमा उल्लेख गरिएको थियो।—उत्पत्ति २२:१४; प्रस्थान ६:३; १७:१५; न्यायकर्त्ता ६:२४.

बुझ्न सजिलो यो तथा अन्य बाइबल अनुवादहरूप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? तिनीहरूले असाध्यै उत्सुकता देखाए! एउटा युनानी टापुमा बाइबल बेच्न गएका बि एफ बि एस-का बिक्रेताकहाँ “[बाइबल] लिन आएका केटाकेटीहरूले डुँगा खचाखच भरिएकोले . . . तिनले जहाजका नाविकलाई त्यहाँबाट गइहाल्ने निर्देशन दिन बाध्य भए” अन्यथा ती सम्पूर्ण प्रतिहरू त्यहीं सिद्धिने थिए! तर विरोधीहरू चुपचाप बसेनन्‌।

अर्थोडक्सका पादरीहरूले मानिसहरूलाई त्यस्तो अनुवादहरू नलिनु भनेर चेतावनी दिए। उदाहरणका लागि, एथेन्स शहरमा बाइबल जफत गरियो। सन्‌ १८३३ मा क्रेटका अर्थोडक्स विशपले गुम्बामा भेट्टाएको “नयाँ नियम” जलाइदिए। ती विशप त्यस टापुबाट नजाउन्जेल पादरीले एक प्रति लुकाए भने, त्यसको नजिकै पर्ने गाउँका मानिसहरूले पनि आ-आफ्ना प्रति लुकाए।

केही वर्षपछि कोर्फु टापुमा युनानी अर्थोडक्स चर्चको पवित्र धर्मसभाले भम्बासको बाइबल अनुवाद प्रयोगमाथि निषेधाज्ञा जारी गऱ्‍यो। यसको बिक्रीमा रोक लगाइयो र बाँकी रहेका प्रतिहरू पनि नाश गरिए। चियोस, सिरोस र माइकोनोस टापुमा स्थानीय पादरीहरूको द्वेषको कारण बाइबल जलाइयो। तर बाइबल अनुवादमाथि थप दमन हुन त बाँकी नै थियो।

एउटी रानीले बाइबलमा चासो देखाउँछिन्‌

सन्‌ १८७० को दशकमा युनानकी रानी ओल्गाले युनानीहरूसित बाइबलको ज्ञानमा कमी भएको कुरा महसुस गरिन्‌। धर्मशास्त्रको ज्ञानले त्यस राष्ट्रलाई सान्त्वना र स्फूर्ति दिनेछ भन्‍ने विश्‍वास गर्दै तिनले भम्बास संस्करण भन्दा पनि सरल भाषामा अनुवाद गरिएको बाइबल प्राप्त गर्ने जमर्को गरिन्‌।

एथेन्सका आर्कविशप तथा पवित्र धर्मसभाका प्रमुख प्रोकोपियोसले अनौपचारिक ढंगमा रानीलाई त्यो कार्य गर्न प्रोत्साहित गरे। तथापि, तिनले पवित्र धर्मसभासित औपचारिक रूपमा यसको लागि अनुमति माग्दा स्वीकृति पाइनन्‌। तैपनि, तिनले आशा नमारी १८९९ मा फेरि निवेदन दिइन्‌ तर पनि अस्वीकार गरियो। अनुमति नपाएको कुरालाई बेवास्ता गर्दै तिनले थोरै प्रतिमात्र भए पनि आफ्नै खर्चमा प्रकाशित गर्ने निर्णय गरिन्‌। यो कार्य सन्‌ १९०० मा सम्पन्‍न भयो।

कट्टर विरोधीहरू

एथेन्सको प्रमुख अखबार द एक्रोपोलीस-ले १९०१ मा इंगल्याण्डको लिभरपुलमा काम गरिरहेका अनुवादक एलेक्ज्याण्डर पालीसद्वारा अनुवाद गरिएको मत्तीको सुसमाचारको पुस्तक डेमोटिक युनानी भाषामा छापे। ‘ग्रीकहरूलाई सिकाउनु’ र “त्यस राष्ट्रलाई” पतन हुनबाट “जोगाउनु” नै पालीस तथा तिनका सहयोगीहरूको उद्देश्‍य थियो भन्‍ने कुरा स्पष्टै थियो।

अर्थोडक्स धर्मशास्त्रका विद्यार्थी तथा प्राध्यापकहरूले त्यसलाई “राष्ट्रका सबैभन्दा मूल्यवान्‌ अवशेषलाई ठट्‌टामा उडाउने” अर्थात्‌ पवित्र लेखोटहरूलाई दूषित तुल्याउने अनुवाद भने। कन्सटेन्टीनोपलका कुलपति योआकीम तेस्रोले त्यस अनुवादलाई निन्दा गर्दै एउटा वक्‍तव्य प्रकाशित गरे। यस विवादले राजनैतिक रूप लियो र यसलाई राजनैतिक शिविरहरूमा आक्रमण गर्न छली ढंगले प्रयोग गरियो।

पालीस अनुवाद र त्यसका समर्थकहरूलाई “नास्तिक,” “देशद्रोही” अनि युनानी समाजलाई भत्काउन खोज्ने “विदेशी शक्‍तिको माध्यम” भनेर एथेन्सका केही नाउँ चलेका पत्रपत्रिकाहरूले आरोप प्रत्यारोप लगाउन थाले। नोभेम्बर ५ देखि ८, १९०१ सम्ममा ग्रीक अर्थोडक्स चर्चका रूढिवादी तत्त्वहरूको प्रेरणा पाएर विद्यार्थीहरूले एथेन्समा हुलदंगा मच्चाउन थाले। तिनीहरूले द एक्रोपोलिस-का कार्यालयहरूमा आक्रमण गरे र राजदरबारअगाडि विरोध ऱ्‍यालीको आयोजना गरे अनि एथेन्सको विश्‍वविद्यालयलाई कब्जा गरेर सरकारको राजीनामा माग गरे। यस हुलदंगाको अन्तमा सेनासितको भिडन्तमा आठ जना मारिए। अर्को दिन राजाले आर्कविशप प्रोकोपियसको राजीनामा मागे र दुई दिनपछि पूरै मन्त्रीमण्डलले राजीनामा दियो।

त्यसको एक महिनापछि फेरि विद्यार्थीहरूले विरोध प्रदर्शन गरे र पालीस अनुवादका प्रतिहरू सार्वजनिक रूपमा जलाए। तिनीहरूले यसको बिक्री वितरणमा रोक लगाउने प्रस्ताव प्रकाशित गरे र आइन्दा कसैले त्यस्तो कार्य गरेको भेट्टिएमा तिनलाई कठोर सजाए दिन आग्रह गरे। यसले बाइबलको आधुनिक युनानी संशोधनहरूमाथि रोक लगाउन ठूलो भूमिका निर्वाह गऱ्‍यो। साँच्चै अन्धकारमय अवस्था थियो!

‘यहोवाको वचन सदासर्वदै रहिरहन्छ’

आधुनिक युनानी भाषामा बाइबल प्रयोग गर्न नपाइने नियम १९२४ मा मात्र खारेज भयो। त्यसबेलादेखि, मानिसहरूलाई बाइबल पढ्‌न नदिने ग्रीक अर्थोडक्स चर्चको प्रयास पूर्णतया विफल भएको छ। साथै, यहोवाका साक्षीहरूले अन्य थुप्रै मुलुकहरूमा जस्तै ग्रीसमा पनि बाइबल सिकाउनमा अग्रभूमिका निर्वाह गरिरहेका छन्‌। सन्‌ १९०५ देखि तिनीहरूले हजारौं युनानी बोल्ने मानिसहरूलाई बाइबल सत्यको ज्ञान सिकाउन भम्बास अनुवादको प्रयोग गरिरहेका छन्‌।

वर्षौंको दौडान थुप्रै शास्त्रविद्‌ तथा प्राध्यापकहरूले आधुनिक युनानी भाषामा बाइबल उत्पादन गर्न सराहनीय प्रयास गरेका छन्‌। हाल पूरा वा आंशिक गरेर लगभग ३० वटा बाइबल अनुवादहरू भइसकेका छन्‌ र प्रायजसो ग्रीकहरूले सजिलै बुझ्न सक्छन्‌। तीमध्ये एउटा साँचो रत्न न्यु वर्ल्ड ट्रान्सलेशन अफ द होलि स्क्रिप्चर्स-को ग्रीक संस्करण हो जुन संसारभरका युनानी भाषा बोल्ने १ करोड ६० लाख मानिसहरूको फाइदाको लागि सन्‌ १९९७ मा विमोचन गरिएको थियो। यहोवाका साक्षीहरूद्वारा प्रकाशित यस अनुवादले परमेश्‍वरको वचनलाई पढ्‌न अनि बुझ्न सजिलो किसिमले लेख्नुका साथै मौलिक शब्दहरूलाई विश्‍वासपूर्वक पछ्याएको छ।

आधुनिक युनानी भाषामा बाइबल प्रकाशित गर्न भएको त्यस संघर्षले एउटा महत्त्वपूर्ण तथ्यलाई पुष्टि गर्छ। यसबाट मानिसहरूले जतिसुकै नामेट गर्ने प्रयास गरे तापनि “प्रभुको वचन ता सदा सर्वदा रहिरहन्छ,” भन्‍ने कुरा प्रमाणित हुन्छ।—१ पत्रुस १:२५.

[फुटनोट]

a सिरेल लुकारिसबारे थप जानकारीको लागि प्रहरीधरहरा, फेब्रुअरी १५, २०००, पृष्ठ २६-२९ हेर्नुहोस्‌।

[पृष्ठ २७-मा भएको चित्र]

सिरेल लुकारिसले १६३० मा सम्पूर्ण युनानी धर्मशास्त्रको प्रथम युनानी अनुवादको उत्पादनमा प्रमुख नेतृत्व लिए

[स्रोत]

Bib. Publ. Univ. de Genève

[पृष्ठ २८-मा भएका चित्रहरू]

बोलीचालीमा प्रयोग गरिने युनानी भाषाका केही अनुवादहरू: भजनसंग्रहको पुस्तक प्रकाशित भएको साल: (१) सन्‌ १८२८ इलारियोनद्वारा, (२) सन्‌ १८३२ भम्बासद्वारा, (३) सन्‌ १६४३ जुयानसद्वारा। “पुरानो नियम” प्रकाशित भएको साल: (४) सन्‌ १८४० भम्बासद्वारा।

रानी ओल्गा

[स्रोत]

Bibles: National Library of Greece; Queen Olga: Culver Pictures

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Papyrus: Reproduced by kind permission of The Trustees of the Chester Beatty Library, Dublin

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Papyrus: Reproduced by kind permission of The Trustees of the Chester Beatty Library, Dublin