सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उपासनास्थल के हामीलाई त्यसको आवश्‍यकता छ?

उपासनास्थल के हामीलाई त्यसको आवश्‍यकता छ?

उपासनास्थल के हामीलाई त्यसको आवश्‍यकता छ?

‘देशका विभिन्‍न भागबाट आएका रङ्‌गीबिरङ्‌गी लुगा लगाएका तीर्थयात्रीहरू, स्पेनीहरूले दक्षिण अमेरिका जित्नुअघिदेखि चलिआएको भनी दाबी गरिएको नृत्यमा ड्रमको तालसँगै झुमिरहेका अमेरिकी आदिवासीहरू र ठूलो कष्ट सहेर भीडलाई छिचोल्दै घुँडा टेकेर पवित्रस्थलसम्म ओइरिरहेका भक्‍तजनहरूले गर्दा गिर्जाघर वरिपरिको प्राङ्‌गण र सडक खचाखच थियो।’

डिसेम्बर २००१ को विशाल भीडलाई इल इकोनोमिस्टा भन्‍ने अखबारले यसरी वर्णन गऱ्‍यो। भर्जिन अफ गाउडालुपप्रति आफ्नो विश्‍वास व्यक्‍त गर्न त्यतिबेला करिब ३० लाख मानिसहरूले मेक्सिको सिटीमा रहेको गिर्जाघरको भ्रमण गरे। रोमस्थित सेन्ट पिटर्स बासिलिका जस्ता अन्य धेरै भव्य धार्मिकस्थलहरूले पनि थुप्रै आगन्तुकहरूलाई आकर्षित गर्छ।

परमेश्‍वरको उपासना गर्न चाहने धेरैको हृदयमा धार्मिकस्थलहरूले एउटा विशेष स्थान जमाएको हुन्छ। ब्राजिलकी मारिया यसो भन्छिन्‌: “मेरोलागि चर्च एउटा यस्तो स्थान थियो, जहाँ म परमेश्‍वरसित घनिष्ठ हुन सक्थें। यो एउटा पवित्रस्थल थियो। चर्च जाँदा शुद्ध हुन्छु जस्तो लाग्थ्यो र हरेक आइतबार मास र कन्फेशनमा नजानु पाप हो भनी म विश्‍वास गर्थें।” मेक्सिकोकी कोन्सविलो यसो भन्छिन्‌, “चर्चले मभित्रका भावनाहरूलाई जगाउने गर्थ्यो; म चर्चको अति कदर गर्थें। त्यहाँ रहँदा मलाई आफू स्वर्गै पुगेको जस्तो लाग्थ्यो।”

कसै-कसैले चर्चलाई ठूलो महत्त्व दिए तापनि कतिपयलाई उपासनास्थलको आवश्‍यकतामाथि शंका लाग्छ। चर्चको दयनीय उपस्थिति संख्याबारे इंग्ल्याण्डका एक क्याथोलिक पादरी यसो भन्छन्‌, “[मानिसहरूले] धर्मको आफूलाई मनपर्ने भागहरू मात्र पालन गर्ने गर्छन्‌। धेरैजसो वृद्धहरू क्याथोलिक छन्‌ र तिनीहरू आफ्नो विश्‍वासअनुरूप जीवन बिताउँछन्‌ तर युवाहरूमा उत्तरदायित्त्वको कुनै बोध नै छैन।” नोभेम्बर २०, १९९८ को लण्डनस्‌ डेली टेलिग्राफ-ले यसो भन्यो: “इंग्ल्याण्डमा एकातिर १९७९ देखि यता ४९५ चर्चहरू खुलेका र १५० चर्चहरू पुनःनिर्माण भएका छन्‌ भने अर्कोतिर १५०० चर्चहरू बन्द भएका छन्‌।”

जर्मनीको म्युनिकबाट प्रकाशित हुने सुडोइच जाइटुङ नामक पत्रिकाले १९९७ मा यस्तो रिपोर्ट दियो: “चर्चहरू सिनेमा हल र अपार्टमेन्टहरूमा परिणत भए; विश्‍वासीहरू चर्च धाइरहेका छैनन्‌, उपासनास्थलहरूलाई अन्य उद्देश्‍यका लागि प्रयोग गरिएका छन्‌। . . . जुन कुरा नेदरल्याण्ड वा इंग्ल्याण्डमा पहिले नै भइसकेको थियो त्यो अहिले जर्मनीमा भइरहेको छ।” उक्‍त पत्रिकाले अझै यसो भन्छ: “गत केही वर्षभित्र जर्मनीमा ३० वा ४० वटा चर्चहरूको बेच-बिखन भएको कुरा उल्लेखनीय छ!”

के परमेश्‍वरको उपासनाको लागि धार्मिक भवनहरू साँच्चै आवश्‍यक छन्‌ त? के गिर्जाघर र सजिसजाउ चर्चहरूको कुनै धर्मशास्त्रीय आधार छ? सत्य अनि जीवित परमेश्‍वरको उपासनासित कस्ता भवनहरू सम्बन्धित छन्‌? यी भवनहरूबाट उपासनास्थलको आवश्‍यकता र उपासनास्थल कस्तो हुनुपर्छ भन्‍ने सन्दर्भमा हामी के सिक्न सक्छौं?