सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एक ठाउँमा भेला हुन नछोड्‌नुहोस्‌

एक ठाउँमा भेला हुन नछोड्‌नुहोस्‌

एक ठाउँमा भेला हुन नछोड्‌नुहोस्‌

धर्मशास्त्र यसो भन्छ, “कति जनाको सङ्‌गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिं एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजीक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्साहन देओ।” (हिब्रू १०:२५, नयाँ संशोधित संस्करण) स्पष्टतः साँचो उपासकहरू “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्न” उपासनास्थलमा एकसाथ भेला हुनैपर्छ।—हिब्रू १०:२४.

प्रेरित पावलले सामान्य युगको प्रथम शताब्दीमा माथि उल्लिखित शब्दहरू लेख्दा यरूशलेममा भएको भव्य मन्दिर यहूदीहरूको उपासनास्थल थियो। त्यतिबेला सभाघरहरू पनि थिए। येशूले “सभाघरमा र मन्दिरमा शिक्षा” दिनुभएको थियो “जहाँ सबै यहूदीहरू जम्मा [हुन्थे]।”—यूहन्‍ना १८:२०.

एउटाले अर्कोलाई प्रोत्साहन दिन एक ठाउँमा भेला हुने सल्लाह दिंदा पावलले कस्तो प्रकारको भेला हुने ठाउँबारे बताइरहेका थिए? के मसीहीजगत्‌का भव्य धार्मिक स्थलहरू यरूशलेमको मन्दिरका प्रबन्धहरूअनुरूप थिए? मसीही भनौदाहरूले कहिलेदेखि भव्य धार्मिक भवनहरू बनाउन थाले?

‘मेरो नाउँको सम्मानको निम्ति भवन’

परमेश्‍वरको उपासना गर्ने स्थलबारे पहिलो निर्देशन बाइबलको पुस्तक प्रस्थानमा पाइन्छ। यहोवा परमेश्‍वरले आफूले छान्‍नुभएका जाति, इस्राएलीहरूलाई “पवित्र-स्थान” वा “भेट हुने पाल” निर्माण गर्ने निर्देशन दिनुभयो। त्यहाँ करारको सन्दुकका साथै अन्य विविध पवित्र भाँडाकुडाँहरू राख्नुपर्थ्यो। सा.यु.पू. १५१२ मा यसको निर्माणकार्य पूरा हुँदा “परमप्रभुको महिमाले पवित्रस्थान भरियो।” एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने त्यस पालले चार शताब्दीभन्दा बढी समय परमेश्‍वरसित नजिकिने उहाँको प्रबन्धमा प्रमुख भूमिका खेल्यो। (प्रस्थान, अध्याय २५-२७; ४०:३३-३८) बाइबलले यस पाललाई “परमप्रभुको मन्दिर” र “परमप्रभुको भवन” भनेर पनि संकेत गर्छ।—१ शमूएल १:९, २४.

पछि, दाऊद यरूशलेममा राजा हुँदा उनले यहोवाको महिमाको लागि एउटा स्थायी भवन बनाउने दृढ इच्छा व्यक्‍त गरे। तर दाऊद धेरै युद्धहरूमा मुछिएको हुनाले यहोवाले उनलाई यसो भन्‍नुभयो: “मेरो नाउँको सम्मानको निम्ति तैंले त्यो भवन निर्माण गर्नेछैनस्‌।” त्यसको सट्टा उहाँले दाऊदको छोरा सुलेमानलाई मन्दिर निर्माण गर्न छान्‍नुभयो। (१ इतिहास २२:६-१०) साढेसात वर्षको निर्माण कार्यपश्‍चात्‌ सा.यु.पू. १०२६ मा सुलेमानले उक्‍त मन्दिरको उद्‌घाटन गरे। यहोवाले यसो भन्‍नुभएर उक्‍त भवनलाई अनुमोदन दिनुभयो: “सधैंभरि मेरो नाउँ राख्नलाई तैंले बनाएको यस भवनलाई मैले पवित्र पारेको छु, औ मेरो नजर र मेरो हृदय त्यसमा सधैंभरिनै रहनेछ।” (१ राजा ९:३) जबसम्म इस्राएलीहरू विश्‍वासी रहिरहने थिए तबसम्म यहोवाले त्यस भवनमाथि अनुग्रह देखाउनुहुन्थ्यो। तर तिनीहरू सही कुराबाट तर्केको खण्डमा यहोवाले उक्‍त भवनबाट आफ्नो अनुग्रह हटाउनुहुने थियो र ‘भवन नाशको ढेर हुनेथियो।’—१ राजा ९:४-९; २ इतिहास ७:१६, १९, २०.

समयको अन्तरालमा इस्राएलीहरू साँच्चै नै साँचो उपासनाबाट तर्के। (२ राजा २१:१-५) “यसैकारण [यहोवाले] तिनीहरूका विरुद्धमा कल्दीहरूका राजालाई ल्याउनुभयो, जसले . . . परमप्रभुको भवन जलाइदिए, र यरूशलेम शहरको पर्खाल जमीनसम्मै भत्काइदिए। शहरका सबै सुन्दर सुन्दर घरहरू र तिनीहरूका सबै दामी दामी सामानहरू सर्वनाश नहोउञ्जेल जलाइदिए। तरवारबाट उम्केकाहरूलाई तिनले कैद गरेर बाबेलमा लगे, . . . तिनीहरू उनका र उनका छोराहरूका दास-दासी भए।” बाइबलअनुसार यो घटना सा.यु.पू. ६०७ मा भएको थियो।—२ इतिहास ३६:१५-२१; यर्मिया ५२:१२-१४.

अगमवक्‍ता यशैयाले भविष्यवाणी गरेझैं यहूदीहरूलाई बेबिलोनीहरूको शक्‍तिबाट मुक्‍त गर्न परमेश्‍वरले फारसको राजा कोरेसलाई चलाउनुभयो। (यशैया ४५:१) सा.यु.पू. ५३७ मा ७० वर्षको निर्वासनपछि तिनीहरू त्यस मन्दिर पुनर्निर्माण गर्ने उद्देश्‍यले यरूशलेम फर्के। (एज्रा १:१-६; २:१, २; यर्मिया २९:१०) पुनर्निर्माण कार्यमा भएको ढिलाइले गर्दा अन्ततः सा.यु.पू. ५१५ मा मन्दिरको पुनर्निर्माण पूरा भयो र परमेश्‍वरको शुद्ध उपासना पुनःस्थापित भयो। यो मन्दिर सुलेमानको मन्दिरजस्तो भव्य नभए तापनि लगभग ६०० वर्ष जति टिक्यो। यद्यपि, इस्राएलीहरूले यहोवाको उपासनालाई हेलचेक्य्राइँ गरेको हुनाले यो मन्दिर मर्मत गरिएन। पछि, येशू ख्रीष्ट पृथ्वीमा आउनुहुँदा राजा हेरोदद्वारा यस मन्दिरको पुनर्निर्माण कार्य द्रुतगतिमा भइरहेको थियो। अब यो मन्दिरलाई के हुने थियो?

“एउटा ढुंगामाथि अर्को ढुंगा सम्म पनि रहनेछैन”

यरूशलेममा रहेको मन्दिरलाई संकेत गर्दै येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “यो भत्केर एउटा ढुंगामाथि अर्को ढुंगा सम्म पनि रहनेछैन।” (मत्ती २४: १, २) शताब्दीयौंसम्म परमेश्‍वरको उपासनाको केन्द्रबिन्दु रहेको यो भवन येशूले भन्‍नुभएझैं सा.यु. ७० मा यहूदीहरूको विद्रोह साम्य पार्न आएका रोमी सेनाहरूद्वारा नष्ट गरियो। a त्यसपछि त्यस मन्दिरको कहिल्यै पुनर्निर्माण भएन। सातौं शताब्दीमा यहूदीहरूको त्यस उपासनास्थलको ठाउँमा डोम अफ द रोक नामक मुसलमानहरूको उपासनास्थल निर्माण गरियो र यो आजसम्म पनि छ।

येशू ख्रीष्टका अनुयायीहरूको लागि उपासना गर्न के-कस्ता प्रबन्धहरू मिलाइनुपर्ने थियो? के यहूदी पृष्ठभूमिबाट आएका प्रारम्भिक मसीहीहरूले नाश हुनै लागेको त्यस मन्दिरमै परमेश्‍वरको उपासना गरिरहने थिए? गैरयहूदी मसीहीहरूले परमेश्‍वरलाई कहाँ उपासना गर्ने थिए? के मसीहीजगत्‌का धार्मिकस्थलहरूले त्यस मन्दिरको ठाउँ लिने थियो? एउटी सामरी आइमाईसितको येशूको वार्तालापले यस विषयमा हामीलाई अन्तरदृष्टि दिन्छ।

शताब्दीयौंदेखि सामरीहरूले सामरियास्थित गीरिज्जीम पर्वतमा रहेको एउटा विशाल मन्दिरमा परमेश्‍वरको उपासना गर्थे। त्यस सामरी आइमाईले येशूलाई यसो भनिन्‌: “हाम्रा पुर्खाहरूले यस डाँडामा पूजा गरे। औ तपाईंहरू भन्‍नुहुन्छ कि पुज्नपर्ने स्थान यरूशलेममा छ।” येशूले यस्तो जवाफ दिनुभयो: “ए नारि, मलाई विश्‍वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू नता यस डाँडामा, न यरूशलेममा, पितालाई पुज्नेछौ।” अब भौतिक मन्दिर यहोवाको उपासनामा आवश्‍यक थिएन किनकि येशूले यसरी व्याख्या गर्नुभयो: “परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्‍ना ४:२०, २१, २४) पछि प्रेरित पावलले एथेन्सवासीहरूलाई यसो भने: “जुन परमेश्‍वरले संसार र त्यसमा भएका यावत्‌ थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका परमप्रभु भईकन हातले बनाएको मन्दिरमा बास गर्नुहुन्‍न।”—प्रेरित १७:२४.

स्पष्टतः मसीहीजगत्‌का धार्मिक भवनहरूको मसीहीयुग पूर्वको मन्दिरको प्रबन्धसित कुनै सम्बन्ध छैन। अनि प्रथम शताब्दीका मसीहीहरूको लागि यस्ता भवनहरूको निर्माण गर्ने कुनै आधारै थिएन। यद्यपि, प्रेरितहरूको मृत्युपश्‍चात्‌ भविष्यवाणीअनुरूप कतिपय व्यक्‍तिहरू साँचो शिक्षाबाट तर्किए अर्थात्‌ धर्मत्याग उत्पन्‍न भयो। (प्रेरित २०:२९, ३०) रोमी सम्राट्‌ कन्स्टेन्टाइनले सा.यु. ३१३ मा मसीही धर्म अपनाएको दाबी गरेको धेरै वर्ष पहिले नै मसीही भनौदाहरू येशूले सिकाएका शिक्षाहरूबाट तर्किन थाले।

“मसीही धर्म[लाई]” गैर-मसीही रोमी धर्मसित छ्यासमिस गर्ने श्रेय कन्स्टेनटाइनलाई जान्छ। दी इन्साइक्लोपीडिया ब्रिटानिका-ले यसो भन्छ, “कन्स्टेनटाइनले रोममा सेन्ट पिटर्स, सान पाउलो फुओरि लि मुरा र सान जोभान्‍नी इन लाटिरानोमा नामक तीनवटा विशाल क्रिश्‍चियन गिर्जाघरहरू बनाउने जिम्मा आफैले लिए। उनले . . . क्रूस आकारको नक्शा बनाए र मध्य-युगको दौडान पश्‍चिमी युरोपका चर्चहरूमा क्रूस अनिवार्य रूपमा राख्नै पर्ने प्रतीक बन्‍नपुग्यो।” रोमस्थित पुनर्निर्माण गरिएको सेन्ट पिटर्स बासिलिकालाई अहिले पनि रोमन क्याथोलिक चर्चको प्रमुख धार्मिकस्थलको रूपमा लिइन्छ।

इतिहासकार विल डुरान्ट यसो भन्छन्‌, “चर्चले रोममा प्रचलित केही मसीहीपूर्व समयका [गैर-मसीही] धार्मिक रीतिथिति र चलनहरू ग्रहण गरे। यसमा ‘गिर्जाघरहरूको वास्तुकला’ पनि समावेश थियो।” दस देखि पन्ध्रौं शताब्दीसम्म वास्तुकलालाई अत्यन्तै महत्त्व दिएर चर्च तथा गिर्जाघरहरू बनाउने बाढी नै आयो। त्यतिबेला बनेका मसीहीजगत्‌का धेरैजसो भव्य महलहरू आज पनि कलात्मक धरोहरको रूपमा अस्तित्वमा रहेका छन्‌।

के मानिसहरूले चर्चमा उपासना गरेर सधैं आध्यात्मिक स्फूर्ति र प्रोत्साहन पाउँछन्‌? ब्राजिलका फ्रान्सिस्को यसो भन्छन्‌, “मेरोलागि चर्च भनेको धर्ममा भएका वाक्क र झर्को लाग्दा कुराहरूको प्रतिनिधित्व गर्ने ठाउँ हो। मास एउटा घरी-घरी दोहोरिरहने निरर्थक समारोह हो र मेरा वास्तविक आवश्‍यकताहरू पूरा गर्न यो एक छेउ पनि काम लाग्दैन। यी समारोहहरू सकेपछि मलाई ठूलो बोझ हटेको महसुस हुन्छ।” यद्यपि, साँचो विश्‍वासीहरूलाई एक ठाउँमा भेला हुने आज्ञा दिइएको छ। तिनीहरूले भेला हुनको लागि के-कस्ता प्रबन्धहरूअनुरूप चल्नुपर्छ?

“तिनीहरूका घरमा भएका मण्डली”

प्रथम शताब्दीका विश्‍वासीहरू कसरी भेला हुन्थे भन्‍ने कुरालाई जाँचेपछि मात्र मसीहीहरू कसरी एकसाथ भेला हुनुपर्छ भनी थाह पाउन सक्छौं। तिनीहरू प्रायः निजी घरहरूमा भेला हुन्थे भनेर धर्मशास्त्रले देखाउँछ। उदाहरणका लागि, प्रेरित पावलले यस्तो लेखे: “प्रिस्का र अक्वीला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई सलाम भनिदेओ . . . र तिनीहरूका घरमा भएका मण्डलीलाई सलाम भनिदेओ।” (रोमी १६:३, ५; कलस्सी ४:१५; फिलेमोन २) “मण्डली[को]” लागि प्रयोग गरिएको युनानी शब्दलाई (एकलेसिया) किङ जेम्स भर्सन-जस्ता केही अंग्रेजी अनुवादहरूमा “चर्च” भनेर अनुवाद गरिएको छ। तर यो पदावलीले कुनै भवनलाई नभई कुनै एउटा साझा उद्देश्‍यको लागि एकसाथ भेला भएका मानिसहरूलाई बुझाउँछ। (प्रेरित ८:१; १३:१) साँचो मसीहीहरूले गर्ने उपासनाको लागि सजिसजाउ भव्य भवनहरूको आवश्‍यकता छैन।

पुरातन मसीही मण्डलीहरूमा सभाहरू कसरी सञ्चालन गरिन्थे? चेला याकूबले मसीही सभालाई संकेत गर्न सिनागोग भन्‍ने युनानी शब्द चलाएका छन्‌। (याकूब २: २) यस युनानी शब्दको अर्थ “एकत्रित हुनु” हो र यो शब्दलाई एकलेसिया-को पर्यायवाची शब्दको रूपमा प्रयोग गरिन्थ्यो। यद्यपि, समयको अन्तरालमा “सिनागोग” नामक पदावलीले सम्मेलनहरू आयोजना हुने स्थल वा भवन भन्‍ने अर्थ लियो। प्रारम्भिक यहूदी मसीहीहरू सभाघरमा हुने कामकुराहरूसित राम्ररी परिचित थिए। b

यहूदीहरू वार्षिक चाडको लागि यरूशलेमको मन्दिरमा भेला हुन्थे भने सभाघरहरूलाई चाहिं यहोवाबारे सिक्ने अनि व्यवस्थामा रहेका शिक्षाहरू हासिल गर्ने ठाउँको रूपमा प्रयोग गरिन्थ्यो। सभाघरहरूमा प्रार्थना र धर्मशास्त्रको पढाइ हुनुका साथै धर्मशास्त्रबाट व्याख्या र उपदेश दिने जस्ता कामहरू हुने गरेको देखिन्छ। पावल र उनीसित भएका अन्य व्यक्‍तिहरू एन्टियोकको सभाघरहरूमा जाँदा “सभाघरका शासकहरूले तिनीहरूलाई यसो भनिपठाए, ‘ए भाइ हो, तपाईंहरूसित मानिसहरूको निम्ति केही अर्तीको कुरो छ भने भन्‍नुहोस्‌।’ ” (प्रेरित १३:१५) प्रथम यहूदी मसीहीहरू निजी घरमा भेला हुँदा तिनीहरूले सभाहरूलाई धर्मशास्त्रअनुरूप जानकारीमूलक र आध्यात्मिक रूपमा उत्थानदायी बनाएर यही नमूना पछ्याउँथे भन्‍ने कुरामा कुनै शंका छैन।

प्रोत्साहनका लागि मण्डलीहरू

प्रारम्भिक मसीहीहरूजस्तै आज पनि यहोवाका साक्षीहरू बाइबलमा भएका निर्देशनहरू प्राप्त गर्न र स्वास्थ्यकर संगतिबाट आनन्द उठाउन साधारण उपासनास्थलहरूमा भेला हुने गर्छन्‌। तिनीहरू धेरै वर्ष निजी घरहरूमा भेला भए र कुनै-कुनै ठाउँहरूमा तिनीहरू अझै पनि यसै गर्छन्‌। तर अहिले मण्डलीहरूको संख्या बढेर ९०,००० भन्दा धेरै पुगेको छ अनि तिनीहरूको भेला हुने मुख्य ठाउँलाई राज्यभवन भनिन्छ। यी भवनहरू न तडकभडकपूर्ण हुन्छन्‌ न त हेर्दा चर्चजस्तो नै देखिन्छ। परमेश्‍वरको वचनबाट सुन्‍न र सिक्नको लागि १०० देखि २०० जना सम्म भेला हुन मिल्ने गरी उपयुक्‍त र मर्यादित ढंगमा ती भवनहरूको निर्माण गरिएका हुन्छन्‌।

यहोवाका साक्षीहरूको अधिकांश मण्डलीहरू हप्तामा तीन चोटि भेला हुन्छन्‌। एउटा सभा समसामयिक विषयमा आधारित जनभाषण हो। जनभाषणपछि स्रोत विषयवस्तुको रूपमा प्रहरीधरहरा पत्रिका प्रयोग गरेर बाइबल विषय वा भविष्यवाणीमा आधारित अध्ययन हुन्छ। अर्को सभा बाइबलको सन्देश प्रस्तुत गर्नको लागि प्रशिक्षण दिन तयार पारिएको स्कूल हो। स्कूलपछि विशेष गरी मसीही सेवकाईको लागि व्यावहारिक सल्लाहहरू दिन तयार पारिएको सभा हुन्छ। हप्ताको एक चोटि साक्षीहरू स-सनो झुण्डमा निजी घरहरूमा बाइबल अध्ययनको लागि पनि भेला हुन्छन्‌। यी सबै सभाहरू जनसाधरणका लागि खुला छन्‌। यहाँ कुनै प्रकारको चन्दा उठाइँदैन।

माथि उल्लिखित फ्रान्सिस्कोलाई राज्यभवनका सभाहरू निकै लाभदायी लाग्यो। उनी भन्छन्‌, “शहरको मध्यभागमा अवस्थित, मैले पहिलो चोटि भ्रमण गरेको सभा भवन आरामदायी थियो; यसले ममा राम्रो छाप पाऱ्‍यो। उपस्थित भएका व्यक्‍तिहरू मित्रैला थिए र मैले तिनीहरूबीच प्रेम पाएँ। मलाई तिनीहरूको सभामा फेरि कहिले फर्केर जाउँ जस्तो लाग्यो। साँच्चै भन्‍ने हो भने, त्यसपछि मैले आजसम्म एउटा सभा पनि छुटाएको छैन। यी मसीही सभाहरू उत्प्रेरणादायी छन्‌ र यसले मेरो आध्यात्मिक आवश्‍यकता पूरा गर्छ। कहिलेकाहीं कुनै कारणले गर्दा निरुत्साहित हुँदा पनि पक्कै प्रोत्साहित भएर फर्कनेछु भन्‍ने पूरा विश्‍वास लिएर म राज्यभवन जाने गर्छु।”

यहोवाका साक्षीहरूको सभाहरूमा बाइबल शिक्षा, उत्थानदायी संगति र परमेश्‍वरलाई प्रशंसा गर्ने अवसरहरूले पनि तपाईंलाई पर्खिरहेको छ। तपाईंको घर नजिकैको राज्यभवनमा उपस्थित हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा दिन्छौं। यदि तपाईंले त्यसो गर्नु भएको खण्डमा तपाईं खुसी हुनुहुनेछ।

[फुटनोटहरू]

a रोमीहरूले मन्दिरलाई पूर्णतया नाश गरे। टाढा-टाढाबाट धेरै यहूदीहरू प्रार्थनाको लागि आउने द वेलिङ वाल त्यस मन्दिरको भाग होइन। यो त्यस मन्दिरको चोकको पर्खालको केही भाग मात्र हो।

b ती सभाघरहरू, ७० वर्ष बेबिलोनीहरूको निर्वासनमा पर्दाको दौडान मन्दिरको अस्तित्व नरहेको बेला वा मन्दिरको पुनर्निर्माण भइरहेको समयमा निर्वासनबाट फर्केको लगत्तै स्थापना भएको जस्तो देखिन्छ। प्रथम शताब्दीसम्ममा त प्यालेस्टाइनको प्रत्येक शहरका आ-आफ्नै सभाघरहरू भइसकेका थिए र ठूला शहरहरूमा धेरै सभाघरहरू हुन्थे।

[पृष्ठ ४, ५-मा भएका चित्रहरू]

पहिले बासस्थान र पछि यी मन्दिरहरू यहोवाको उपासनाको उपयुक्‍त केन्द्र बन्यो

[पृष्ठ ६-मा भएको चित्र]

रोममा सेन्ट पिटर्स बासिलिका

[पृष्ठ ७-मा भएको चित्र]

प्रारम्भिक मसीहीहरू निजी घरमा भेला हुन्थे

[पृष्ठ ८,९-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरूले निजी घर तथा राज्यभवनहरूमा मसीही सभाहरू आयोजना गर्छन्‌