सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌

काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌

काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌

“त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर [ “काँधमा काँध मिलाएर,” नयाँ संशोधित संस्करण] उहाँको सेवा गर्नेछन्‌।”—सपन्याह ३:९.

१. सपन्याह ३:९ को पूर्तिमा के भइरहेको छ?

 अहिले संसारमा लगभग ६,००० भाषा बोलिन्छ। साथै, विभिन्‍न क्षेत्रीय भाषाहरू वा भाषाका स्थानीय रूपहरू पनि छन्‌। मानिसहरूले अंग्रेजी र हौसाजस्ता एकदमै भिन्‍न भाषाहरू बोले तापनि परमेश्‍वरले एउटा अति नै उल्लेखनीय कुरा गर्नुभएको छ। उहाँले जहाँसुकैका मानिसहरूको लागि पनि एउटै शुद्ध भाषा सिक्न र बोल्न सम्भव तुल्याउनुभएको छ। अगमवक्‍ता सपन्याहद्वारा गरिएको प्रतिज्ञाको पूर्तिमा यो भइरहेको छ: “[म यहोवा परमेश्‍वरले] देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु [“ओठ शुद्ध पार्नेछु,” नयाँ संशोधित संस्करण], र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर [ “काँधमा काँध मिलाएर,” नयाँ संशोधित संस्करण] उहाँको सेवा गर्नेछन्‌।”—सपन्याह ३:९.

२.“शुद्ध भाषा” भनेको के हो र यसले के सम्भव तुल्याएको छ?

“शुद्ध भाषा” भनेको परमेश्‍वरको वचन बाइबलमा पाइने सत्य कुरा हो। विशेष गरी यो परमेश्‍वरको राज्यबारेको सच्चाइ हो, जुन राज्यले यहोवाको नाउँको पवित्रिकरण गर्नेछ, उहाँको सार्वभौमिकता उच्च पार्नेछ र मानिसजातिमाथि आशिष्‌ ल्याउनेछ। (मत्ती ६:९, १०) आध्यात्मिक अर्थमा पृथ्वीको एक मात्र सफा भाषाको रूपमा सबै देश र जातिका मानिसहरूले शुद्ध भाषा बोल्छन्‌। यसले तिनीहरूलाई “काँधमा काँध मिलाएर” यहोवाको सेवा गर्न समर्थ बनाउँछ। त्यसकारण, तिनीहरू एकताबद्ध भएर वा “एकै हृदयको भएर” उहाँको सेवा गर्छन्‌।

पक्षपात हुनु हुँदैन

३. कुन कुराले हामीलाई एकताबद्ध भएर यहोवाको सेवा गर्न समर्थ बनाउँछ?

हामीहरूबीच भएको बहुभाषिक एकताको कारण मसीहीहरूको हैसियतमा हामी कृतज्ञ छौं। हामीले विभिन्‍न भाषामा राज्यको सुसमाचार प्रचार गर्ने भए तापनि हामीले एकतामा परमेश्‍वरको सेवा गरिरहेका छौं। (भजन १३३:१) पृथ्वीको जुनसुकै भागमा बसे तापनि यहोवाको प्रशंसा गर्न हामीले एउटै शुद्ध भाषा बोल्ने भएकोले यो सम्भव भएको हो।

४. परमेश्‍वरका जनहरूमाझ किन पक्षपात हुनु हुँदैन?

परमेश्‍वरका जनहरूबीच पक्षपात हुनु हुँदैन। सा.यु. ३६ मा अन्यजातिका सैनिक कप्तान कर्नीलियसको घरमा प्रचार गर्दा प्रेरित पत्रुसले यस कुरालाई स्पष्ट पार्दै यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) यो कुरा साँचो भएकोले मसीही मण्डलीमा पक्षपात, गुट-उपगुट वा कृपावादले स्थान पाउनु हुँदैन।

५. मण्डलीमा गुटहरू खडा गर्नतिर लाग्नु किन गलत हो?

आफू राज्यभवन जाँदाको अनुभवबारे कलेजकी एक जना विद्यार्थीले यसो भनिन्‌: “चर्चहरूमा साधारणतया खास जात र वर्गका सदस्यहरूलाई आकर्षित गरिन्छ। . . . यद्यपि, यहोवाका साक्षीहरू गुट बनाएर होइन तर सबै एकैसाथ बसेका थिए।” तथापि, पुरातन कोरिन्थ मण्डलीका केही सदस्यहरूले भने फूट उत्पन्‍न गराइरहेका थिए। आपसमा कलह गरेर तिनीहरूले परमेश्‍वरको आत्मालाई काम गर्नदेखि रोकिरहेका थिए, किनभने परमेश्‍वरको आत्माले त एकता अनि शान्तिलाई बढवा दिन्छ। (गलाती ५:२२) हामीले मण्डलीमा गुटहरू खडा गऱ्‍यौं भने हामी आत्माको डोऱ्‍याइ विरुद्ध चलिरहेका हुनेछौं। त्यसकारण, हामी प्रेरित पावलले कोरिन्थीहरूलाई भनेका शब्दहरू मनमा राखौं: “ए भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्‌, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका होओ।” (१ कोरिन्थी १:१०) एफिसीहरूलाई लेखेको पत्रमा पनि पावलले एकताबारे जोड दिए।—एफिसी ४:१-६, १६.

६, ७. कृपावादबारे याकूबले कस्तो सल्लाह दिए अनि तिनका शब्दहरू हामीलाई कसरी लागू हुन्छ?

मसीहीहरू सधैं नै निष्पक्ष हुनुपर्छ। (रोमी २:११) प्रथम शताब्दीमा मण्डलीका कोही-कोहीले धनीहरूलाई मात्र काखी च्यापेको कारण चेला याकूबले यसरी लेखे: “हे मेरा भाइ हो, महिमाका प्रभु, अर्थात्‌ हाम्रा प्रभु येशू ख्रीष्टको विश्‍वास मुख हेरेर नगर। किनभने यदि कोही मानिस सुनको औंठी र राम्रा लुगा लगाएर तिमीहरूको सभाघरमा आयो र कुनै एउटा गरीब पनि झुत्रो लुगा लाएर आयो भने, औ तिमीहरूले सो राम्रो लुगा लाउनेलाई आदर गरेर, ‘यहाँ राम्रो ठाउँमा बस’ भन्छौ, र त्यस गरीबलाई चाहिं ‘तँ त्यही उभिबस्‌, अथवा मेरो पाउदानमनि बस्‌’ भन्छौ भने, के तिमीहरू आफ्नै बीचमा पक्षपाती र कुविचारले न्याय गर्ने ठहरिएनौ?”—याकूब २:१-४.

धनी अविश्‍वासीहरू सुनको औंठी र ठाँटिलो लुगा लगाएर अनि गरिब अविश्‍वासीहरू झुत्रो लुगा लगाएर मसीही सभामा आए भने धनीलाई विशेष स्वागत गरिन्थ्यो। तिनीहरूलाई “राम्रो ठाउँमा” बसालिन्थ्यो जब कि गरिबहरूलाई भने उभिन वा कसैको खुट्टानेर भुइँमा बस्न भनिन्थ्यो। तर परमेश्‍वर निष्पक्ष हुनुहुन्छ। अनि उहाँले येशूको छुडौतीको बलिदान धनी र गरिब दुवैको लागि प्रबन्ध गर्नुभएको हो। (अय्यूब ३४:१९; २ कोरिन्थी ५:१४) त्यसकारण, हामी यहोवालाई खुसी तुल्याउन र काँधमा काँध मिलाएर उहाँको सेवा गर्न चाहन्छौं भने, कृपावाद देखाउनु हुँदैन अर्थात्‌ ‘लाभको खातिर मानिसको पक्षपात गर्नु’ हुँदैन।—यहूदा ४, १६.

गनगन गर्नदेखि जोगिनुहोस्‌

८. गनगन गरेको कारण इस्राएलीहरूले कस्तो नतिजा भोग्नुपऱ्‍यो?

हाम्रो एकता कायम राख्न र ईश्‍वरीय अनुमोदन पाइरहन हामीले पावलको सल्लाह सुन्‍नुपर्छ: “गनगनाइ . . . नगरीकन सबै काम गर्दैजाओ।” (फिलिप्पी २:१४, १५) मिश्रको दासत्वबाट स्वतन्त्र भएका विश्‍वासघाती इस्राएलीहरूले मोशा तथा हारून अनि यहोवा परमेश्‍वर विरुद्धसमेत गनगन गरे। त्यसकारण, विश्‍वासी यहोशू र कालेब अनि लेवीहरूबाहेक २० वर्ष वा सोभन्दा माथि उमेरका कुनै पनि पुरुषहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्‌ तर तिनीहरू इस्राएलीहरूको ४० वर्षे यात्राको दौडान उजाडस्थानमै मरे। (गन्ती १४:२, ३, २६-३०; १ कोरिन्थी १०:१०) गनगन गरेको कारण तिनीहरूले कत्ति ठूलो मूल्य चुकाउनुपऱ्‍यो!

९. गनगन गरेको कारण मरियमले कस्तो सजाय भोगिन्‌?

गनगन गर्ने राष्ट्रले कस्तो नतिजा भोग्नुपर्ने हुन सक्छ भनी यसबाट स्पष्ट हुन्छ। तर गनगन गर्ने व्यक्‍तिविशेषहरूबारे के भन्‍न सकिन्छ नि? मोशाकी दिदी मरियमलगायत तिनको दाइ हारूनले यसो भन्दै गनगन गरे: “के परमप्रभु केवल मोशासँग मात्र कुरा गर्नुभएको छ र? के उहाँले हामीसित पनि कुरा गर्नुभएको छैन र?” विवरण अझै यसो भन्छ: “परमप्रभुले यो कुरा सुन्‍नुभयो।” (गन्ती १२:१, २) यसको परिणाम? सायद सबैभन्दा बढी गनगन गर्ने मरियमलाई परमेश्‍वरले नम्र तुल्याउनुभयो। कसरी? तिनी कोरी भइन्‌ अनि शुद्ध नहोउन्जेल सात दिन छाउनीबाहिरै बस्न बाध्य भइन्‌।—गन्ती १२:९-१५.

१०, ११. गनगनलाई रोकथाम गरिएन भने कस्तो नतिजा हुन सक्छ? उदाहरण दिनुहोस्‌।

१० गनगन गर्नु भनेको गलत कार्यको सिकायत गर्नु मात्र होइन। सधैं गनगन गर्ने व्यक्‍तिहरूले आफ्नै सोचाइ वा ओहदालाई बढ्‌ता महत्त्व दिंदै अरूको ध्यान परमेश्‍वरतर्फभन्दा आफूतर्फ आकृष्ट गर्छन्‌। यसलाई रोकथाम गरिएन भने यसले आध्यात्मिक भाइहरूबीच फूट ल्याउँछ अनि काँधमा काँध मिलाएर यहोवाको सेवा गर्ने तिनीहरूको प्रयत्नमा बाधा पुऱ्‍याउँछ। किनभने गनगन गर्नेहरू अरूले आफूप्रति सहानुभूति देखाउनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त हुँदै लगातार सिकायत गरिरहन्छन्‌।

११ उदाहरणका लागि, कसैले एक जना प्राचीनले मण्डलीमा आफ्नो भाग सञ्चालन गर्ने वा आफ्ना जिम्मेवारीहरू पूरा गर्ने तरिकाको आलोचना गर्न सक्छ। हामीले त्यस सिकायत गर्ने व्यक्‍तिको कुरा सुन्यौं भने हामी पनि उसको जस्तै सोचाइ राख्न थाल्न सक्छौं। हाम्रो मनमा असन्तुष्टीको बीउ नरोपिउन्जेल ती प्राचीनका क्रियाकलापहरूले हामीलाई कुनै असर नगरेको हुन सक्छ तर अब भने तिनको कामले हामीलाई पिरोल्न थाल्छ। अन्तमा ती प्राचीनले गरेका कुनै पनि काम हामीलाई चित्त नबुझ्ने हुन्छ र हामी पनि तिनी विरुद्ध सिकायत गर्न थाल्न सक्छौं। यस्तो व्यवहार यहोवाका जनहरूको मण्डलीमा सुहाउँदैन।

१२. गनगन गर्दा परमेश्‍वरसँगको हाम्रो सम्बन्धमा कस्तो असर पर्न सक्छ?

१२ परमेश्‍वरको बगालको गोठालो गर्ने जिम्मा पाएका मानिसहरूबारे गनगन गर्दा यसले आलोचना गर्नतर्फ डोऱ्‍याउन सक्छ। यस्तो गनगन गर्दा वा तिनीहरूलाई धिक्कार्दा यसले यहोवासँगको हाम्रो सम्बन्धमा नराम्रो असर पार्न सक्छ। (प्रस्थान २२:२८) गाली गर्ने अपश्‍चात्तापीहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌। (१ कोरिन्थी ५:११; ६:१०) चेला यहूदाले गनगन गर्नेहरूबारे लेखे, जसले ‘प्रभुत्वलाई तुच्छ ठानिरहेका थिए र उच्च पदाधिकारीहरू’ वा मण्डलीका जिम्मेवार व्यक्‍तिहरूको ‘निन्दा गरिरहेका थिए।’ (यहूदा ८) ती गनगन गर्नेहरूमाथि ईश्‍वरीय अनुमोदन थिएन। त्यसकारण, हामी बुद्धिमानीपूर्वक तिनीहरूको जस्तो दुष्ट मार्ग त्याग्छौं।

१३. सबै सिकायतहरू किन गलत हुँदैनन्‌?

१३ तथापि, सबै नै सिकायतहरू परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने हुँदैनन्‌। उहाँले सदोम र गमोराको विरुद्धमा उठेको “ठूलो आवाज[लाई]” बेवास्ता गर्नुभएन तर ती दुष्ट शहरहरूलाई नाश गर्नुभयो। (उत्पत्ति १८:२०, २१; १९:२४, २५) सा.यु. ३३ को पेन्तिकोसको केही समयपछि, यरूशलेममा “हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे किनभने दिनहुँको सेवामा तिनीहरूका विधवाहरूको वास्ता राखिएको थिएन।” फलस्वरूप, खानेकुरा बाँड्‌ने “काममा” “नाउँ चलेका सात जना मानिस” नियुक्‍त गरेर “बाह्रै चेलाहरू[ले]” उक्‍त परिस्थिति सुल्झाए। (प्रेरित ६:१-६) आजका प्राचीनहरूले पनि जायज सिकायतदेखि कान फर्काउनु हुँदैन। (हितोपदेश २१:१३) अनि सँगी विश्‍वासीहरूको आलोचना गर्नुको सट्टा प्राचीनहरू प्रोत्साहनदायी तथा उत्थानदायी हुनुपर्छ।—१ कोरिन्थी ८:१.

१४. गनगन गर्नदेखि जोगिन विशेष गरी कुन गुण चाहिन्छ?

१४ सिकायत गर्ने झुकाव आध्यात्मिक तवरमा अस्वास्थ्यकर भएकोले हामी सबै गनगन गर्नदेखि जोगिनुपर्छ। यस्तो मनोभावले हाम्रो एकता खलबल्याउँछ। बरु, सधैं पवित्र आत्मालाई हामीमा प्रेम उत्पन्‍न गर्न देऔं। (गलाती ५:२२) ‘प्रेमको शाही व्यवस्थाअनुरूप’ चल्दा यसले हामीलाई काँधमा काँध मिलाएर यहोवाको सेवा गरिरहन मदत गर्नेछ।—याकूब २:८; १ कोरिन्थी १३:४-८; १ पत्रुस ४:८.

निन्दा गर्नदेखि होसियार रहनुहोस्‌

१५. तपाईं निन्दोचर्चो र बदनामबीचको भिन्‍नता कसरी छुट्याउनुहुन्छ?

१५ गनगन गर्दा यसले हानिकारक निन्दोचर्चो गर्नतर्फ धकेल्न सक्ने हुनाले हामी के बोल्दै छौं भन्‍नेबारे होसियार हुनुपर्छ। निन्दोचर्चो भनेको अरू मानिस र तिनीहरूको कामबारे फोकटको गफ गर्नु हो। तथापि, बदनाम गर्नु भनेको अर्को व्यक्‍तिको इज्जतमा दाग लगाउने हेतुले झूटो कुरा बताउनु हो। यस्तो कुराकानी द्वेषपूर्ण र भ्रष्ट हुन्छ। त्यसकारण, परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “मानिसहरूका बीचमा कुरा ओसार्ने भएर तल र माथि नगर।”—लेवी १९:१६.

१६. पावलले निन्दोचर्चो गर्ने खास व्यक्‍तिविशेषबारे के भने अनि तिनको सल्लाहले हामीलाई कस्तो असर गर्नुपर्छ?

१६ फोकटको गफले बदनामतर्फ डोऱ्‍याउन सक्ने हुनाले पावलले निन्दोचर्चो गर्ने खास व्यक्‍तिविशेषबारे बताए। मण्डलीलाई सहयोग गर्न योग्य विधवाहरूबारे बताएपछि तिनले त्यस्ता विधवाहरूबारे बताए, जसले “घरघर डुल्ने भई अल्छी हुन सिक्छन्‌, औ केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हात हाल्ने, बोल्न नहुने कुराहरू बोल्ने, हुन्छन्‌।” (१ तिमोथी ५:११-१५) कुनै मसीही स्त्रीले आफूमा बदनामतर्फ डोऱ्‍याउने कुराकानी गर्ने बानी भएको थाह पाइन्‌ भने तिनले “गम्भीर, अर्कालाई दोष नलाउने” हुनु भन्‍ने पावलको सल्लाह पालन गर्नुपर्छ। (१ तिमोथी ३:११) निस्सन्देह, मसीही पुरुषहरू पनि हानिकारक निन्दोचर्चो गर्नदेखि होसियार रहनुपर्छ।—हितोपदेश १०:१९.

अर्काको निसाफ नगर्नुहोस्‌!

१७, १८. (क) आफ्नो भाइको निसाफ गर्नेबारे येशूले के भन्‍नुभयो? (ख) निसाफ गर्नेबारे येशूका शब्दहरू हामी कसरी प्रयोगमा ल्याउन सक्छौं?

१७ हामीले कसैको बदनाम नगरे तापनि अरूको निसाफ नगर्न भने उत्कट प्रयत्न गर्नुपर्ने हुन सक्छ। यस्तो मनोभावको निन्दा गर्दै येशूले यसो भन्‍नुभयो: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस। किनभने जुन निसाफले तिमीहरू निसाफ गर्दछौ, उसैगरी तिमीहरूको पनि निसाफ गरिनेछ, र जुन नापले तिमीहरू नाप्तछौ, त्यसैले तिमीहरूलाई नापिदिनेछ। किन तिमी आफ्नो भाइको आँखामा भएको कसिंगर देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढ़ा चाहिं थाह पाउँदैनौ? अथवा हेर, जब तिम्रो आफ्नै आँखामा मूढ़ा छ भने, कसरी तिमी तिम्रो भाइलाई भन्‍नसक्छौ, ‘पर्ख, मलाई तिम्रो आँखाबाट कसिंगर निकाल्नदेऊ।’ ए कपटी, पहिले आफ्नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट कसिंगर निकाल्नालाई छर्लंगै देख्नसक्नेछौ।”—मत्ती ७:१-५.

१८ लाक्षणिक “मूढ़ा[को]” कारण सही निसाफ गर्ने हाम्रो आफ्नै क्षमता धमिलिएकोले हामीले आफ्नो भाइलाई मदत गर्न तिनको आँखामा भएको एउटा सानो “कसिंगर” झिक्ने दुस्साहस गर्नु हुँदैन। वास्तवमा भन्‍ने हो भने, हामीले परमेश्‍वर कत्ति दयालु हुनुहुन्छ भन्‍ने कुरा बुझेका छौं भने आफ्ना आध्यात्मिक भाइबहिनीहरूको निसाफ गर्ने हाम्रो झुकाव हुनेछैन। आखिर हामी तिनीहरूलाई स्वर्गमा बस्नुहुने हाम्रो पिताले जत्ति राम्ररी कहाँ बुझ्न सक्छौं र? त्यसकारण येशूले हामीलाई ‘अर्काको निसाफ नगर्नू र हामीहरूको निसाफ गरिनेछैन’ भनी चेतावनी दिनु कुनै छक्कलाग्दो कुरा होइन! इमानदार हुँदै आफ्ना असिद्धताहरूको लेखाजोखा गर्दा हामी निसाफ गर्नदेखि जोगिन्छौं किनकि परमेश्‍वरले यसलाई अधार्मिक ठान्‍नुहुन्छ।

कमजोर तर आदरयोग्य

१९. हामीले सँगी विश्‍वासीहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

१९ हामी सँगी विश्‍वासीहरूसँग काँधमा काँध मिलाएर सेवा गर्न कटिबद्ध छौं भने अरूको निसाफ गर्नदेखि मात्र जोगिनेछैनौं। तर तिनीहरूप्रति आदर देखाउन पनि अग्रसर हुनेछौं। (रोमी १२:१०) वास्तवमा, हामी आफ्नो होइन, तिनीहरूको भलाइ खोज्नेछौं र तिनीहरूको खातिर स-सानो कामसमेत आनन्दपूर्वक गर्नेछौं। (यूहन्‍ना १३:१२-१७; १ कोरिन्थी १०:२४) हामी कसरी यस्तो असल मनोभाव कायम राख्न सक्छौं? प्रत्येक विश्‍वासी यहोवाको नजरमा बहुमूल्य छन्‌ र मानव शरीरका हरेक अंगहरू एक-अर्कामाथि निर्भर भएजस्तै हामीलाई पनि एक-अर्काको साथ चाहिन्छ भन्‍ने कुरा मनमा राखेर।—१ कोरिन्थी १२:१४-२७.

२०, २१. हाम्रोलागि २ तिमोथी २:२०, २१ का शब्दहरूले कस्तो अर्थ राख्छ?

२० हो, मसीहीहरू सेवकाईको महिमित सम्पदा सुम्पिएको माटोका कमजोर भाँडाहरू हुन्‌। (२ कोरिन्थी ४:७) हामी यहोवाको प्रशंसा हुने तरिकामा यो पवित्र कार्य पूरा गर्न चाहन्छौं भने, उहाँ र उहाँको पुत्रसामु आदरयोग्य स्तर कायम राख्नै पर्छ। नैतिक अनि आध्यात्मिक तवरमा शुद्ध रहेर मात्र हामी परमेश्‍वरको प्रयोगको लागि छुट्याइएको आदरयोग्य भाँडा हुन सक्छौं। यस सन्दर्भमा पावलले यसरी लेखे: “ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, तर काठ र माटाका पनि हुन्छन्‌, औ कुनै आदर र कुनै अनादरको निम्ति हुन्छ। यसकारण यदि कुनै मानिस यी कुराबाट आफूलाई शुद्ध राख्छ भने, त्यो सबै असल काममा तंतयार रहेको, मालिकको प्रयोगको निम्ति आदरको योग्य, चोख्याइराखेको भाँडो हुनेछ।”—२ तिमोथी २:२०, २१.

२१ ईश्‍वरीय आवश्‍यकताअनुरूप नचल्ने व्यक्‍तिहरू ‘अनादरका भाँडाहरू’ हुन्‌। तथापि, ईश्‍वरीय मार्गअनुसार हिंड्यौं भने हामी ‘सबै असल काममा तंतयार रहेको, यहोवाको प्रयोगको निम्ति आदरको योग्य, चोख्याइराखेको भाँडो हुनेछौं।’ त्यसकारण, हामी आफैलाई सोध्न सक्छौं: ‘के म “आदरयोग्य भाँडा” हुँ? के मैले सँगी विश्‍वासीहरूमाथि राम्रो प्रभाव पारेको छु? के म मण्डलीको त्यस्तो सदस्य हुँ जसले सँगी उपासकहरूसँग काँधमा काँध मिलाएर सेवा गर्छ?’

काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌

२२. मसीही मण्डलीलाई केसित तुलना गर्न सकिन्छ?

२२ मसीही मण्डली एउटा परिवारजस्तै हो। परिवारका सबै सदस्यहरूले यहोवाको उपासना गर्दा परिवारमा मायालु, मदतकारी र आनन्दमय वातावरण छाउँछ। एउटा परिवार भिन्‍ना-भिन्‍नै व्यक्‍तित्व भएका व्यक्‍तिविशेषहरू मिलेर बनेको हुन सक्छ, तर पनि सबैको आदरयोग्य स्थान हुन्छ। मण्डलीमा पनि यही कुरा लागू हुन्छ। हामी सबै फरक-फरक र असिद्ध भए तापनि परमेश्‍वरले हामीलाई ख्रीष्टमार्फत आफूतिर खिच्नुभएको छ। (यूहन्‍ना ६:४४; १४:६) यहोवा र येशूले हामीलाई प्रेम गर्नुहुन्छ। अनि एकताबद्ध परिवारको हैसियतमा हामीले पनि एक-अर्काप्रति अवश्‍य प्रेम देखाउनुपर्छ।—१ यूहन्‍ना ४:७-११.

२३. हामीले कुन कुरा बिर्सनुहुँदैन र के गर्न कटिबद्ध हुनुपर्छ?

२३ हामीले परिवारमा जस्तै मण्डलीमा पनि वफादारिताको आशा गर्न सक्छौं। प्रेरित पावलले यसरी लेखे: “सबै ठाउँमा पुरुषहरूले पवित्र [“वफादार,” NW] हात उठाएर विना क्रोध र विवादसाथ प्रार्थना गरून्‌ भन्‍ने म चाहन्छु।” (१ तिमोथी २:८) पावलले वफादारितालाई मसीहीहरू भेला हुने “सबै ठाउँमा” गरिने सार्वजनिक प्रार्थनासँग जोडे। सार्वजनिक प्रार्थनामा वफादार व्यक्‍तिले मात्र मण्डलीको प्रतिनिधित्व गर्नुपर्छ। निस्सन्देह, परमेश्‍वरले हामी सबै उहाँप्रति र एक-अर्काप्रति वफादार भएको आशा गर्नुहुन्छ। (उपदेशक १२:१३, १४) त्यसकारण, हामी शरीरका अंगहरूझैं संगठित रूपमा एकसाथ काम गर्न कटिबद्ध होऔं। हामी यहोवाका उपासकहरूको परिवारको रूपमा एकताबद्ध भएर उहाँको सेवा गरौं। अझ सबैभन्दा ठूलो कुरा त, हामीलाई एक-अर्काको साथ चाहिन्छ अनि काँधमा काँध मिलाएर यहोवाको सेवा गरिरह्‍यौं भने हामीले ईश्‍वरीय अनुमोदन पाउनेछौं भनी कहिल्यै नबिर्सौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• कुन कुराले यहोवाका जनहरूलाई काँधमा काँध मिलाएर उहाँको सेवा गर्न समर्थ बनाउँछ?

• मसीहीहरूले किन पक्षपात गर्दैनन्‌?

• तपाईंको विचारमा के कारणले गर्दा गनगन गर्नु गलत हो?

• हामीले किन सँगी विश्‍वासीहरूको आदर गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

पत्रुसले ‘परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न’ भनी बुझे

[पृष्ठ १६-मा भएको चित्र]

के तपाईंलाई थाह छ, परमेश्‍वरले मरियमलाई किन नम्र तुल्याउनुभयो?

[पृष्ठ १८-मा भएको चित्र]

वफादार मसीहीहरू काँधमा काँध मिलाएर आनन्दपूर्वक यहोवाको सेवा गर्छन्‌