सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरको बगालको गोठालो होओ”

“परमेश्‍वरको बगालको गोठालो होओ”

“मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” Nw] दिनेछु”

“परमेश्‍वरको बगालको गोठालो होओ”

“तपाईंहरू हाम्रो कुरा सुन्‍न सधैं तत्पर हुनुहुन्छ र बाइबलका कुराहरू हामीसित बाँडेर हाम्रो मनोबल बढाउनुहुन्छ।”—पामेला।

“तपाईंहरूले हाम्रो खातिर गर्नुभएका सबै कामहरूको लागि धन्यवाद। यसले साँच्चै नै फरक पार्छ।”—रबर्ट।

पामेला र रबर्ट आ-आफ्नो मण्डलीका मसीही प्राचीनहरूलाई मूल्यांकनका उपरोक्‍त शब्दहरू लेख्न उत्प्रेरित भए। “परमेश्‍वरको बगालको गोठालो” गर्नेहरूबाट पाएको अटूट समर्थन र हेरचाहको लागि विश्‍वभरका अन्य परमेश्‍वरका सेवकहरू पनि धन्यवादी छन्‌। (१ पत्रुस ५:२) निस्सन्देह, प्राचीनहरूले तिनीहरूको खातिर गरिदिने तीनथुप्रो कामहरू र ती कामहरू गर्ने तरिकाको लागि यहोवाका जनहरू कृतज्ञ छन्‌।

‘प्रशस्त गर्नुपर्ने’

मसीही प्राचीनहरूलाई थुप्रै जिम्मेवारीहरू सुम्पिएका छन्‌। (लूका १२:४८) तिनीहरूले मण्डलीका सभाहरूको लागि भाषणहरू तयार पार्छन्‌ र जनसमक्ष परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा भाग लिन्छन्‌। तिनीहरूको जिम्मेवारीमा सँगी विश्‍वासीहरूलाई गोठालोरूपी भेट गर्नु पनि समावेश छ। यी प्राचीनहरूले आफ्नो परिवारको आध्यात्मिक अनि भौतिक अवस्थाको ख्याल राख्नुका साथै विशेष हेरविचारको खाँचो परेका वृद्धहरू तथा अरूको लागि समय खर्च गर्छन्‌। (अय्यूब २९:१२-१५; १ तिमोथी ३:४, ५; ५:८) कोही-कोही प्राचीनहरूले राज्यभवनहरू बनाउन सहयोग गर्छन्‌। अरूले भने अस्पताल सम्पर्क समिति वा बिरामी भेट्‌ने समूहका सदस्यका रूपमा सेवा गर्छन्‌। अनि तिनीहरूमध्ये थुप्रैले सम्मेलन वा अधिवेशनहरूमा स्वयम्‌सेवकको रूपमा काम गर्छन्‌। हो, प्राचीनहरूले “प्रभुको काममा प्रशस्त” गर्नुपर्ने छ। (१ कोरिन्थी १५:५८) तिनीहरूको जिम्मामा सुम्पिएको बगालले यस्ता परिश्रमी प्राचीनहरूको गहिरो मूल्यांकन गर्नु कुनै अनौठो कुरा होइन!—१ थिस्सलोनिकी ५:१२, १३.

आध्यात्मिक प्रोत्साहन दिन सँगी मसीहीहरूलाई घरमा वा अन्त कतै नियमित तवरमा भेट्‌ने प्राचीनहरू प्रोत्साहनका स्रोत हुन्‌। बुबाविनाको परिवारमा हुर्केका थोमसले यसो भने: “प्राचीनहरूको मायालु सहयोग र प्रोत्साहन नपाएको भए, सायद म अहिले यहोवाको पूर्ण-समय सेवकको रूपमा सेवा गरिरहेको हुन्‍नथें होला।” आमा वा बुबा मात्र भएको परिवारमा हुर्केका थुप्रै जवानहरूले प्राचीनहरूबाट प्राप्त गरेको मदतले आफूलाई परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध विकास गर्न मदत गरेको कुरा स्वीकारेका छन्‌।

मण्डलीका वृद्धहरूले पनि गोठालो भेटको त्यत्तिकै मूल्यांकन गर्छन्‌। लगभग ८५ वर्ष पुग्न लागेका मिसनरी दम्पतीलाई दुई जना प्राचीनहरूले भेटेपछि, तिनीहरूले यस्तो लेखे: “तपाईंहरूको स्वागतयोग्य भेटको लागि हामी मूल्यांकन व्यक्‍त गर्न चाहन्छौं। तपाईंहरू फर्कनुभएपछि, हामीले फेरि तपाईंहरूले हामीसित छलफल गर्नुभएका शास्त्रपदहरू पढ्यौं। तपाईंहरूका प्रोत्साहनका शब्दहरू हामी कहिल्यै बिर्सनेछैनौं।” एक जना ७० वर्षीया विधवाले प्राचीनहरूलाई यसप्रकार लेखिन्‌: “मैले मदतका लागि यहोवासँग प्रार्थना गरिरहेकी थिएँ र उहाँले तपाईं दुई जना भाइहरूलाई मेरो घरमा पठाउनुभयो। तपाईंहरूले गर्नुभएको भेट मेरोलागि यहोवाबाटको आशिष्‌ थियो!” के तपाईंले पनि हालसालै आफ्नो मण्डलीका प्राचीनहरूको भेटबाट लाभ उठाउनुभएको छ? निस्सन्देह, आफ्नो जिम्मामा रहेका बगालको गोठालो गर्ने तिनीहरूको प्रयत्नको हामी सबै मूल्यांकन गर्छौं!

परमेश्‍वर र ख्रीष्टको अनुकरण गर्ने गोठालाहरू

यहोवा मायालु गोठालो हुनुहुन्छ। (भजन २३:१-४; यर्मिया ३१:१०; १ पत्रुस २:२५) येशू ख्रीष्ट पनि अतुलनीय आध्यात्मिक गोठालो हुनुहुन्छ। वास्तवमा भन्‍ने हो भने, उहाँलाई “असल गोठालो,” “महान्‌ गोठाला” र “मूल-गोठाला” भनिएको छ। (यूहन्‍ना १०:११; हिब्रू १३:२०; १ पत्रुस ५:४) आफ्नो चेला हुन चाहनेहरूसँग येशूले कस्तो व्यवहार गर्नुभयो? उहाँले तिनीहरूलाई यस्तो न्यानो निमन्त्रणा दिनुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु।”—मत्ती ११:२८.

त्यसै गरी, आज पनि प्राचीनहरू बगालको लागि स्फूर्ति र सुरक्षाको स्रोत हुने कोसिस गर्छन्‌। यस्ता मानिसहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” साबित हुन्छन्‌। (यशैया ३२:२) यस्ता दयालु संरक्षकहरूले स्फूर्ति प्रदान गर्छन्‌, बगालबाट सम्मान पाउँछन्‌ अनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन्‌।—फिलिप्पी २:२९; १ तिमोथी ५:१७.

तिनीहरूका पत्नीहरूबाट अनमोल समर्थन

परमेश्‍वरका जनहरू मसीही प्राचीनहरूप्रति र तिनीहरूले आफ्नी पत्नीबाट पाउने मायालु समर्थनको लागि आभारी छन्‌। यसरी समर्थन गर्नको लागि अक्सर यी स्त्रीहरूले त्याग गर्नुपर्ने हुन्छ। कहिलेकाहीं, तिनीहरूको पतिले मण्डलीका कामकुराहरूको हेरविचार गर्दा वा गोठालो भेटमा जाँदा तिनीहरू एक्लै घरमा बस्नुपर्ने हुन्छ। कहिलेकाहीं भने मण्डलीमा अकस्मात्‌ आइपर्ने समस्याहरूको कारण, पहिल्यै योजना बनाइसकेका व्यक्‍तिगत क्रियाकलापहरू समेत स्थगित गर्नुपर्ने हुन्छ। मीशेल यसो भन्छिन्‌: “यस्तो भए तापनि मेरो पति सभाहरूको तयारी वा गोठालो भेट गर्न कत्ति व्यस्त हुनुहुन्छ भन्‍ने कुरा देखेपछि, म उहाँले यहोवाको काम गरिरहनुभएको छ भन्‍ने कुरा मनमा राख्छु र जतिसक्दो उहाँलाई समर्थन गर्ने कोसिस गर्छु।”

प्राचीनसँग विवाह गरेकी शेरिल पनि यसो भन्छिन्‌: “मण्डलीका भाइबहिनीलाई प्राचीनहरूसँग कुरा गर्नुपर्छ भनेर मलाई थाह छ। त्यसैले म तिनीहरूलाई तिनीहरूले चाहेको जुनसुकै समयमा मेरो पतिलाई भेट्‌न सक्छन्‌ भनी महसुस गराउन चाहन्छु।” मीशेल र शेरिलजस्ता सहयोगी स्त्रीहरूले, आफ्नो पतिले परमेश्‍वरको भेडाको रेखदेख गर्न सकून्‌ भनी स्वेच्छापूर्वक आत्म-त्यागहरू गर्छन्‌। तिनीहरूको सहयोगी मनोभावको लागि प्राचीनका पत्नीहरूको मूल्यांकन गरिन्छ।

तथापि, प्राचीनले आफू व्यस्त भइयो भन्दैमा आफ्नी पत्नी तथा छोराछोरीको आध्यात्मिक तथा अन्य आवश्‍यकताहरूको बेवास्ता गर्नु हुँदैन। विवाहित प्राचीन “निर्दोष, एउटै स्त्रीको पति, वशमा नआउने दंगा फसादको दोष नलागेको, विश्‍वासी छोरा-छोरीहरूका बाबु” हुनैपर्छ। (तीतस १:६) तिनले मसीही निरीक्षकहरूका लागि धर्मशास्त्रमा तोकिएका ईश्‍वरीय निर्देशनहरूअनुसार आफ्नो परिवारको हेरविचार गर्नैपर्छ।—१ तिमोथी ३:१-७.

व्यस्त प्राचीनको लागि सहयोगी पत्नी अनमोल हुन्छिन्‌! विचारशील विवाहित प्राचीनहरूले यस्तै महसुस गर्छन्‌। अनि बाइबलमा पनि यसै भनिएको छ: “[“असल,” NW] पत्नी पाउनेले असल कुरा पाउँछ।” (हितोपदेश १८:२२) यस्ता प्राचीनहरूले आफ्नो बोली र कामद्वारा आफ्नी पत्नीप्रति हार्दिक मूल्यांकन देखाउँछन्‌। यी विवाहित मसीही दम्पतीहरूले सँगै गरिने व्यग्र प्रार्थना तथा आनन्ददायक अध्ययनको अलावा समुद्री किनारमा डुल्ने, जंगलतिर घुम्न जाने वा पार्कमा टहल्नेजस्ता रमाइला क्रियाकलापहरूको लागि पनि समय छुट्याउँछन्‌। हो, आफ्नी पत्नीको मायालु हेरविचार गरेर प्राचीनहरूले आनन्द महसुस गर्छन्‌।—१ पत्रुस ३:७.

निःस्वार्थपूर्वक परमेश्‍वरको बगालको गोठालो गर्ने प्राचीनहरू यहोवाका जनहरूको लागि आध्यात्मिक स्फूर्तिका स्रोत हुन्‌। तिनीहरू साँच्चै नै “पुरुषहरूमध्ये वरदान” र मण्डलीका लागि आशिष्‌ हुन्‌।—एफिसी ४:८, ११-१३, NW.