सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के परमेश्‍वरलाई गरिने भाकलहरू हर हालतमा पूरा गर्नैपर्ने बाध्यता छ?

धर्मशास्त्रअनुसार भाकल गर्नु भनेको कुनै काम गर्न, उपहार चढाउन, विशेष सेवा वा कार्य सुरु गर्न अथवा अवैध नभए तापनि कुनै-कुनै कुराहरूदेखि टाढा बस्ने गम्भीर प्रतिज्ञा गर्दै परमेश्‍वरसित वाचा बाँध्नु हो। बाइबलमा दिइएका कतिपय भाकलहरू शर्तमा आधारित थियो अर्थात्‌ परमेश्‍वरले पहिला केही गरिदिनुभएको खण्डमा मात्र भाकल गर्ने व्यक्‍तिले त्यो पूरा गर्नेथियो। उदाहरणका लागि, अगमवक्‍ता शमूएलकी आमा, हन्‍नाले यस्तो “भाकल गरिन्‌: ‘हे सेनाहरूका परमप्रभु यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, औ त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।’ ” (१ शमूएल १:११) बाइबलले बताएअनुसार भाकल स्वेच्छाले गरिन्छ। धर्मशास्त्रीय भाकलहरू हर हालतमा पूरा गर्नैपर्ने कत्तिको बाध्यता छ?

पुरातन इस्राएलका राजा सुलेमान यसो भन्छन्‌: “परमेश्‍वरमा भाकल गर्दा त्यो पूरा गर्न ढीलो नगर्‌।” तिनी अझै यसो भन्छन्‌: “जे भाकल गर्दछस्‌ त्यो पूरा गर्‌। भाकल गरेर पनि पूरा नगर्नुभन्दा ता भाकलै नगरेको असल हो।” (उपदेशक ५:४, ५) मोशामार्फत इस्राएललाई दिइएको व्यवस्थामा यसप्रकार बताइएको छ: “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति कुनै भाकल गरेपछि त्यो पूरा गर, किनभने उहाँले त्यो पूरा भएको हेर्न चाहनुहुन्छ। नत्रता तिमीहरूलाई पाप लाग्नेछ।” (व्यवस्था २३:२१) स्पष्टतः परमेश्‍वरलाई भाकल गर्नु भनेको निकै गम्भीर कुरा हो। भाकल गर्दा सही मनसाय हुनु जरुरी छ र भाकल गरिसकेपछि भाकल पूरा गर्न सक्छु कि सक्दिनँ भन्‍ने कुरामा कुनै शंका हुनु हुँदैन। नत्र, भाकल नगर्नु नै बेस हुन्छ। यद्यपि, एक चोटि भाकल गरिसकेपछि के ती हर हालतमा पूरा गर्नैपर्ने बाध्यता छ?

भाकल त गऱ्‍यो तर पछि त्यो परमेश्‍वरको इच्छा विपरीत भएको थाह पाएमा नि? उदाहरणका लागि, साँचो उपासनाको लागि आफूले गरेको भाकलमा अनैतिक कुरा गर्नुपर्ने भयो भने के गर्ने? (व्यवस्था २३:१८) स्पष्टतः यस्तो भाकल पूरा गरिरहनु आवश्‍यक छैन। अझ भनौं भने, मोशालाई दिइएको व्यवस्थाअन्तर्गत त स्त्रीले गरेको भाकललाई तिनको बाबु अथवा पतिले रद्द गर्न सक्थे।—गन्ती ३०:३-१५.

अविवाहित रहनेछु भनी परमेश्‍वरलाई भाकल गरेर अहिले चाहिं दोधारमा परेका व्यक्‍तिविशेषलाई विचार गर्नुहोस्‌। आफूले गरेको भाकलअनुरूप जीवन बिताउँदा त्यसले आफूलाई नैतिकतासम्बन्धी ईश्‍वरीय स्तरहरू उल्लंघन गर्ने हदसम्म पुऱ्‍याएको तिनी महसुस गर्छन्‌। के यस्तो अवस्थामा पनि तिनले आफ्नो भाकल पूरा गर्नु आवश्‍यक छ? यस्तो भाकल पूरा गर्नुभन्दा बरु भाकल पूरा गर्न नसकेकोमा परमेश्‍वरको दया र क्षमा मागेर आफूलाई अनैतिकताको दोषी हुनदेखि जोगाउनु के तिनको लागि बेस हुँदैन र? यो तिनी आफैले निर्णय गर्ने कुरा हो। अन्य कुनै पनि मानिसले तिनको लागि निर्णय गरिदिन सक्दैन।

कसैले भाकल त गऱ्‍यो तर पछि उसलाई आफूले सोचविचारै नगरी भाकल गरेछु जस्तो लाग्यो भने नि? के अझै पनि तिनले भाकल पूरा गर्नुपर्छ? परमेश्‍वरमा आफूले गरेको भाकल पूरा गर्न यिप्तहलाई सजिलो नभए तापनि तिनले कर्त्तव्यनिष्ठ भएर त्यो पूरा गरे। (न्यायकर्त्ता ११:३०-४०) कुनै व्यक्‍तिले आफ्नो भाकल पूरा गर्न नसकेको खण्डमा परमेश्‍वर “रिसाउनुहुनेछ” र आफूले हासिल गरेका सबै सफलताहरू पनि बेकार हुनेछन्‌। (उपदेशक ५:६) भाकल पूरा गर्ने कुरालाई हल्कासित लिंदा परमेश्‍वरको अनुमोदन गुम्न सक्छ।

येशू ख्रीष्टले यसो भन्‍नुभयो: “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌। औ यीभन्दा बढता चाहिं दुष्टतर्फबाट हो।” (मत्ती ५:३७) एक जना मसीही परमेश्‍वरलाई आफ्नो भाकल पूरा गर्न मात्र नभई परमेश्‍वर र मानिसहरूसित पनि वचनको पक्का हुनुपर्छ। सुरुमा आफूले कुनै अर्को व्यक्‍तिसित राम्रै लागेर सम्झौता गरेको तर पछि राम्ररी केलाएर हेर्दा त त्यो मूर्खतापूर्ण भएको थाह पाउँदा नि? यस्ता कुराहरूलाई तिनले हल्कासित लिनुहुँदैन। तर राम्रो छलफल गरेपछि अर्को व्यक्‍तिले तिनलाई उक्‍त दायित्वदेखि मुक्‍त गर्ने निर्णय गर्न सक्छन्‌।—भजन. १५:४; हितोपदेश ६:२, ३.

भाकललगायत अन्य कुराहरूको सन्दर्भमा हाम्रो मुख्य चासोको विषय के हुनुपर्छ? हामी सधैं यहोवा परमेश्‍वरसित राम्रो सम्बन्ध कायम राक्ने कोसिस गरौं।

[पृष्ठ ३०, ३१-मा भएका चित्रहरू]

आफूले गरेको भाकल पूरा गर्न हन्‍ना हिचकिचाइनन्‌

[पृष्ठ ३०, ३१-मा भएका चित्रहरू]

भाकल पूरा गर्न यिप्तहलाई सजिलो नभए तापनि तिनले त्यो पूरा गरे