सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी कसरी यहोवासामु आफ्ना दिनहरू मूल्यवान्‌ बनाउन सक्छौं?

हामी कसरी यहोवासामु आफ्ना दिनहरू मूल्यवान्‌ बनाउन सक्छौं?

हामी कसरी यहोवासामु आफ्ना दिनहरू मूल्यवान्‌ बनाउन सक्छौं?

“हिजो सूर्योदयदेखि सूर्यास्तबीचमा हीराका साठी-साठीवटा मिनेटहरू भएका दुई सुनौला घण्टाहरू हराएका छन्‌। फेला पार्नुहुने महानुभावलाई कुनै पुरस्कार दिइनेछैन, किनकि ती कहिल्यै फेला पार्न सकिंदैन।”—लिडिया एच. सिगार्नी, अमेरिकी लेखिका (सन्‌ १७९१-१८६५)।

हाम्रो जीवन अत्यन्तै छोटो अनि क्षणिकजस्तो लाग्छ। भजनहार दाऊद, जीवनको क्षणिकताबारे विचार गरेपछि यसरी प्रार्थना गर्न उत्प्रेरित भए: “हे परमप्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ, सो पनि जान्‍ने ज्ञान दिनुहोस्‌ म कस्तो निफर छु, सो मलाई थाह होस्‌। हेर्नुहोस्‌, तपाईंले मेरो दिन मुठीभरिको तुल्याउनुभएको छ। र मेरो आयु तपाईंको सामने केही पनि छैन।” दाऊद आफ्नो बोली र कामकुरा दुवैद्वारा यहोवालाई प्रसन्‍न तुल्याउने जीवन कसरी बिताउन सकिन्छ भनी चिन्तित थिए। परमेश्‍वरमाथिको आफ्नो निर्भरताबारे बताउँदै तिनले यसो भने: “मेरो आशा ता तपाईंमानै छ।” (भजन ३९:४, ५, ७) यहोवाले सुन्‍नुभयो। निस्सन्देह, उहाँले दाऊदका क्रियाकलापहरूको लेखाजोखा गर्नुभयो र तिनलाई त्यसैअनुसार इनाम दिनुभयो।

दिनको हरेका पल व्यस्त हुन अनि बेफुर्सदी र तीनथुप्रो क्रियाकलापहरूले भरिपूर्ण जीवनमा अलमलिन निकै सजिलो छ। यसको कारण हामी चिन्तित हुन सक्छौं किनकि गर्नुपर्ने कामहरू थुप्रै हुन्छन्‌ तर समय भने एकदमै थोरै हुन्छ। हाम्रो चिन्ताको विषय पनि दाऊदको जस्तै अर्थात्‌ परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने तरिकामा जीवन बिताउने छ? निस्सन्देह, यहोवाले हामी सबैलाई नियाल्नुहुन्छ र होसियारीसाथ जाँच गर्नुहुन्छ। आजभन्दा लगभग ३,६०० वर्षअघि, परमेश्‍वरसँग डराउने अय्यूबले, यहोवाले तिनको चाल देख्नुहुन्छ र हरेक पाइला गन्‍नुहुन्छ भनी स्वीकारे। अलंकारयुक्‍त भाषामा अय्यूबले यसरी सोधे: “उहाँले हस्तक्षेप गर्नुहुँदा मैले के जवाफ दिने?” (अय्यूब ३१:४-६, १४) आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिएर, उहाँका आज्ञाहरू पालन गरेर र बुद्धिमानीसाथ आफ्नो समय प्रयोग गरेर हामी यहोवासामु आफ्ना दिनहरू मूल्यवान्‌ बनाउन सक्छौं। यी कुराहरूमा हामी अझ गहिरिएर ध्यान देऔं।

आध्यात्मिक कुराहरूलाई हाम्रो चिन्ताको मुख्य विषय बनाउनुहोस्‌

प्रेरित धर्मशास्त्रले हामीलाई आध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिन यसरी आग्रह गर्छ: “जे उत्तम छ सो तिमीहरू खुट्ट्याउन सक।” यी उत्तम कुराहरू के हुन्‌? यसमा “ज्ञान र अन्तर्दृष्टि” समावेश छ। (फिलिप्पी १:९, १०, नयाँ संशोधित संस्करण) यहोवाको उद्देश्‍यको ज्ञान हासिल गर्न बुद्धिमानीसाथ समयको सदुपयोग गर्नुपर्छ। तथापि, आध्यात्मिक कुराहरूलाई हाम्रो चिन्ताको मुख्य विषय बनायौं भने, हामी इनामदायी र सन्तुष्ट जीवन पाउने कुरामा ढुक्क हुन सक्छौं।

प्रेरित पावल हामीलाई, “प्रभुलाई मनपर्ने के हो, सो जाँचेर” हेरिरहन सम्झाउँछन्‌। जाँचेर हेर्नुमा आफ्नो मनसाय र हृदयका चाहनाहरू जाँच्नु पनि सामवेश हुनुपर्छ। प्रेरित अझै यसो भन्छन्‌: “प्रभुको इच्छा के रहेछ, सो बुझ।” (एफिसी ५:१०, १७) त्यसो भए, यहोवालाई कुन कुरा स्वीकार्य हुन्छ? एउटा बाइबल हितोपदेश यसरी जवाफ दिन्छ: “सर्वप्रथम कुरा बुद्धि प्राप्त गर्नु हो। तँसँग भएका सबै कुरा त्याग्नु परे तापनि समझ-शक्‍ति प्राप्त गर्‌। त्यसलाई कदर गर्‌ र त्यसले तँलाई आदर दिनेछ।” (हितोपदेश ४:७, ८) ईश्‍वरीय बुद्धि प्राप्त गर्ने र यसको अभ्यास गर्ने व्यक्‍तिहरूसँग यहोवा खुसी हुनुहुन्छ। (हितोपदेश २३:१५) यस्तो बुद्धिको सुन्दरता भनेको नै यसलाई कसैले खोसेर लैजान नसक्नु वा यसलाई नाश गर्न नसक्नु हो। वास्तवमा, यसले “खराब चालबाट र छली कुरा गर्ने मानिसहरूबाट” जोगाउँछ र सुरक्षा दिन्छ।—हितोपदेश २:१०-१५.

त्यसकारण, आध्यात्मिक कुराहरूलाई हल्कासित लिने झुकाव नराख्नु कत्ति बुद्धिमानी हो! हामीले यहोवाका सल्लाहहरूप्रति मूल्यांकनका साथै उहाँप्रति स्वास्थ्यकर भय खेती गर्नुपर्छ। (हितोपदेश २३:१७, १८) यस्तो मानसिक प्रवृति जीवनको जुनसुकै उमेरमा पनि हासिल गर्न सकिने भए तापनि जवान छँदा नै ठीक तरिकाले चल्नु र आफ्नो व्यक्‍तित्वमा बाइबलका सिद्धान्तहरू लागू गर्नु बेस हुन्छ। “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌” भनी बुद्धिमान्‌ राजा सुलेमान भन्छन्‌।—उपदेशक १२:१.

यहोवाप्रति मूल्यांकन खेती गर्ने सबैभन्दा उत्तम तरिका हरेक दिन उहाँलाई व्यक्‍तिगत प्रार्थना गर्नु हो। यहोवामा भर पर्नुको महत्त्व स्वीकार्दै दाऊदले यसरी बिन्ती गरे: “हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌। मेरो पुकारामा कान लगाउनुहोस्‌। मेरो आँसुप्रति मौन नहुनुहोस्‌।” (भजन ३९:१२) के हाम्रो परमेश्‍वरसँग एकदमै घनिष्ठ सम्बन्ध भएको कारण यसले हाम्रा भावनाहरू छुँदा कहिलेकाहीं हामी आँसुसमेत झार्छौं? निस्सन्देह, हामीले आफ्नो भित्री भावनाहरू उहाँलाई जति धेरै पोखाउँछौं र उहाँको वचन मनन गर्छौं, उहाँसँग त्यति नै घनिष्ठ हुन्छौं।—याकूब ४:८.

आज्ञाकारिता सिक्नुहोस्‌

आफू परमेश्‍वरमाथि निर्भर छु भनी स्वीकार्ने अर्का विश्‍वासी व्यक्‍ति मोशा थिए। दाऊदले जस्तै मोशाले पनि जीवन दुःखकष्टले भरिएको छ भनी बुझेका थिए। त्यसकारण, तिनले परमेश्‍वरलाई ‘बुझ्ने हृदय पाउन सक्ने गरी आफ्नो दिन गनेर बस्न सिकाउन’ बिन्ती गरे। (भजन ९०:१०-१२) परमेश्‍वरका व्यवस्था र सिद्धान्तहरू सिक्दा अनि त्यसैअनुसार जीवन बिताउँदा मात्र बुझ्ने हृदय प्राप्त हुन्छ। मोशालाई यो कुरा थाह थियो र इस्राएल राष्ट्रले प्रतिज्ञा गरिएको देशमाथि अधिकार नगरुन्जेलसम्म तिनीहरूसामु परमेश्‍वरका व्यवस्था र नियमहरू बारम्बार दोहोऱ्‍याएर तिनले त्यस महत्त्वपूर्ण सत्यलाई जोड दिने कोसिस गरे। इस्राएलमाथि शासन गर्न यहोवाले भविष्यमा छान्‍नुहुने मानव राजाले व्यवस्थाको प्रति बनाउनुपर्थ्यो र आफ्नो जीवनभरि त्यो पढ्‌नुपर्थ्यो। किन? किनभने तिनले परमेश्‍वरको भय मान्‍न सिक्नुपर्थ्यो। यो राजाको आज्ञाकारिताको परीक्षा हुने थियो। यसले तिनलाई आफ्ना दाजुभाइहरूका बीचमा घमण्डले फुल्नदेखि जोगाउनेथियो र तिनको राज्यमा तिनको आयु लामो हुनेथियो। (व्यवस्था १७:१८-२०) यो प्रतिज्ञा दोहोऱ्‍याउँदै यहोवाले दाऊदको पुत्र सुलेमानलाई यसो भन्‍नुभयो: “तेरा पिता दाऊदले गरेझैं यदि तँ मेरो चालमा हिंड़िस्‌ र मेरा धर्म-विधिहरू र आज्ञाहरू पालन गरिस्‌ भने, म तँलाई दीर्घायु तुल्याउनेछु।”—१ राजा ३:१०-१४.

परमेश्‍वरले आज्ञाकारितालाई एकदमै गम्भीर रूपमा लिनुहुन्छ। यहोवाका आवश्‍यकता र आज्ञाका केही खास पक्षलाई महत्त्वहीन ठान्दै हामीले त्यसको बेवास्ता गऱ्‍यौं भने उहाँले पक्कै पनि त्यस्तो मनोभाव याद गर्नुहुन्छ। (हितोपदेश १५:३) कहिलेकाहीं यहोवाका ईश्‍वरीय निर्देशनहरूप्रति गहिरो श्रद्धा राख्न गाह्रो हुने भए तापनि यो कुरा थाह पाएपछि, हामी यसो गर्न उत्प्रेरित हुनुपर्छ। परमेश्‍वरको व्यवस्था र आज्ञाहरू पालन गर्ने कोसिस गर्दा, हामीलाई त्यसबाट ‘रोक्न’ शैतानले सकेजति गर्छ।—१ थिस्सलोनिकी २:१८.

विशेष गरी, उपासना र संगतिको लागि सँगै भेला हुने धर्मशास्त्रीय सल्लाह पालन गर्नु महत्त्वपूर्ण छ। (व्यवस्था ३२:१२, १३; हिब्रू १०:२४, २५) त्यसकारण, हामी आफैलाई यसरी सोध्न सक्छौं: ‘के ममा साँच्चै नै उचित कामहरू गर्न चाहिने कटिबद्धता र लगनशीलता छ?’ आर्थिक सुरक्षा प्राप्त गर्नको लागि मसीही सभाहरूमा पाइने संगति र निर्देशनलाई बेवास्ता गर्दा यहोवासँगको हाम्रो सम्बन्ध कमजोर हुन्छ। प्रेरित पावलले यसरी लेखे: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि [यहोवा] आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ” (हिब्रू १३:५) यहोवाका आज्ञाहरूप्रति इच्छुक आज्ञाकारिता देखाउँदा, उहाँले हाम्रो हेरविचार गर्नुहुन्छ भन्‍ने कुरामा हामी निर्धक्क छौं भनी देखिन्छ।

येशूले आज्ञाकारिता सिक्नुभयो र त्यसबाट लाभ उठाउनुभयो। हामी पनि त्यसै गर्न सक्छौं। (हिब्रू ५:८) हामी आज्ञाकरिताको खेती जति धेरै गर्छौं सानोभन्दा सानो कुरामा पनि आज्ञाकारिता देखाउन त्यति नै सजिलो हुन्छ। हुन त, हाम्रो निष्ठाको कारण हामीले अरूबाट नमीठो र क्रूर व्यवहारसमेत भोग्नु पर्ला। खास गरी, काम गर्ने ठाउँमा, स्कूलमा वा धार्मिक तवरमा विभाजित परिवारमा यस्तो अवस्था आउन सक्छ। तथापि, इस्राएलीहरूले ‘परमेश्‍वरको आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै उहाँलाई प्रेम गरेको खण्डमा उहाँले तिनीहरूलाई जीवन दिनुहुनेछ र तिनीहरू दीर्घायु हुनेछन्‌’ भनी गर्नुभएको प्रतिज्ञाबाट हामी सान्त्वना पाउन सक्छौं। (व्यवस्था ३०:२०) हामीलाई पनि यस्तै प्रतिज्ञा गरिएको छ।

समयको सदुपयोग गर्नुहोस्‌

समयको सदुपयोग गर्नाले हामी यहोवासामु आफ्ना दिनहरू मूल्यवान्‌ बनाउन सक्छौं। समयलाई पैसालाई जसरी साँचेर राख्न सकिन्‍न। यसलाई खर्च गरेन भने गुम्छ। बितेको समय कहिल्यै फर्केर आउँदैन। सधैं नै हामीले गर्नुपर्ने कामहरू हामीले गर्न सक्नेभन्दा बढी हुने भएकोले, के हामीले जीवनमा हाम्रो लक्ष्य जे छ सोहीअनुसार आफ्नो समय खर्च गरिरहेका छौं? सबै मसीहीहरूको प्रमुख लक्ष्य भनेको राज्यको प्रचार गर्ने र चेला बनाउने काममा नियमित तवरमा भाग लिने हुनुपर्छ।—मत्ती २४:१४; २८:१९, २०.

हामी समयको महत्त्वबारे सजग छौं भने मात्र यसको सदुपयोग गर्न सक्छौं। त्यसैकारण त एफिसी ५:१६ (नयाँ संशोधित संस्करण) ले हामीलाई “समयको पूरा सदुपयोग गर” भनी सल्लाह दिन्छ। अनि यसमा कम महत्त्वपूर्ण कुराहरूलाई त्यागेर समय “किन्‍नु” समावेश छ। यसको अर्थ हो, समय खाने कामकुराहरूमा छाँटकाँट गर्नु। टिभी हेर्न वा इन्टरनेटमा थुप्रो समय बिताउँदा, कुनै लाभ नपुऱ्‍याउने सांसारिक पत्र-पत्रिका पढ्‌दा वा मन बहलाउन तथा मनोरञ्जनको पछि अचाक्ली लाग्दा हामी थकित हुन सक्छौं। अझ, चाहिनेभन्दा बढी भौतिक समाग्रीहरू थुपार्दा, बुझ्ने हृदय प्राप्त गर्न आवश्‍यक पर्ने समय यसले खाइदिन सक्छ।

होसियारीसाथ समय-तालिका बनाउनुपर्छ भन्‍ने राय भएका व्यक्‍तिहरू यसो भन्छन्‌: “पहिल्यै निश्‍चित लक्ष्य नराख्ने हो भने समयको सदुपयोग गर्न असम्भव छ।” तिनीहरूले लक्ष्य राख्नको लागि पाँचवटा कुराहरूको सुझाव दिएका छन्‌: निश्‍चित, लेखाजोखा गर्न सकिने, पूरा गर्न सकिने, व्यावहारिक र तलिकायुक्‍त।

एउटा सार्थक लक्ष्य हाम्रो बाइबल पढाइमा उन्‍नति गर्ने हो। पहिलो कदम हो, पूरै बाइबल पढ्‌ने निश्‍चित लक्ष्य बनाउनु। दोस्रो कदम हाम्रो लक्ष्य लेखाजोखा गर्न सकिने बनाउनु हो। यसो गरेर हामी आफूले कति उन्‍नति गऱ्‍यौं भनेर पत्ता लगाउन सक्छौं। ती लक्ष्यहरूले हामीलाई अघि बढ्‌न प्रोत्साहन दिनुपर्छ र हाम्रो विकास गराउनुपर्छ। ती पूरा गर्न सकिने र व्यावहारिक पनि हुनुपर्छ। व्यक्‍तिगत क्षमता, सीप र उपलब्ध समयलाई विचार गर्नुपर्छ। कसैको लागि त्यो लक्ष्य पूरा गर्न बढी समय लाग्न सक्छ। अन्तमा, हाम्रो लक्ष्यको तालिका बनाउनुपर्छ। कुनै काम पूरा गर्ने मिति पहिल्यै निर्धारण गर्दा यो काम गर्न हामी अझ उत्प्रेरित हुन सक्छौं।

यहोवाका साक्षीहरूको मुख्यालय वा विश्‍वभर रहेका यसका कुनै पनि शाखाहरूमा सेवा गर्ने, विश्‍वव्यापी बेथेल परिवारका सबै सदस्यहरूले बेथेलमा आएको पहिलो वर्षभित्रमा पूरै बाइबल पढिसिध्याउने निश्‍चित लक्ष्य राख्छन्‌। यस्तो लाभदायी बाइबल पढाइले, तिनीहरूको आध्यात्मिकता विकास गर्छ र तिनीहरूको फाइदाको लागि सिकाउनुहुने यहोवा परमेश्‍वरसँग घनिष्ठ बनाउँछ भनेर तिनीहरूले महसुस गर्छन्‌। (यशैया ४८:१७) के हामी पनि नियमित बाइबल पढाइलाई आफ्नो लक्ष्य बनाउन सक्छौं?

आफ्ना दिनहरू मूल्यावान्‌ बनाउँदाका लाभहरू

आध्यात्मिक कुराहरूलाई सबैभन्दा बढी ध्यान दिंदा अनगन्ती आशिष्‌हरू प्राप्त हुन्छन्‌। एउटा कुरा, यसले आफूले महत्त्वपूर्ण उपलब्धि हासिल गरें र आफ्नो जीवनको उद्देश्‍य छ भन्‍ने भावना जगाउँछ। हृदयदेखिको प्रार्थनामार्फत नियमित तवरमा यहोवासँग कुराकानी गर्दा हामी उहाँसँग अझ नजिक हुन्छौं। प्रार्थना गरेकोबाट नै हामी उहाँमा भरोसा गर्छौं भन्‍ने कुरा देखिन्छ। बाइबल तथा “विश्‍वासी र बुद्धिमान दास[द्वारा]” प्रबन्ध गरिएको बाइबलआधारित प्रकाशनहरू दिनहुँ पढ्‌दा, हामी परमेश्‍वरले बोल्नुहुँदा उहाँलाई सुन्‍न इच्छुक छौं भनी प्रदर्शित हुन्छ। (मत्ती २४:४५-४७) यसले हामीलाई बुझ्ने हृदय प्राप्त गर्न मदत गर्छ, जसको कारण हामी जीवनमा सही निर्णय तथा छनौटहरू गर्न सक्छौं।—भजन १:१-३.

हामी यहोवाका आज्ञाहरू पालन गर्न खुसी हुन्छौं र हाम्रोलागि यो बोझ हुँदैन। (१ यूहन्‍ना ५:३) जसै हामी आफ्ना हरेक दिन यहोवासामु मूल्यवान्‌ बनाउँछौं, उहाँसँगको हाम्रो सम्बन्ध अझै बलियो हुन्छ। हामी हाम्रा सँगी मसीहीहरूको लागि पनि साँचो आध्यात्मिक सहारा बन्छौं। यस्तो कामले यहोवा परमेश्‍वरलाई खुसी तुल्याउँछ। (हितोपदेश २७:११) अनि अहिले र अनन्तकालसम्म यहोवाको अनुमोदन प्राप्त गर्नुभन्दा ठूलो इनाम अरू केही हुन सक्दैन!

[पृष्ठ २१-मा भएको चित्र]

मसीहीहरू आध्यात्मिक कुराहरूप्रति गम्भीर दृष्टिकोण राख्छन्‌

[पृष्ठ २२-मा भएका चित्रहरू]

के तपाईं आफ्नो समयको सदुपयोग गर्दै हुनुहुन्छ?

[पृष्ठ २३-मा भएको चित्र]

जसै हामी आफ्ना हरेक दिन यहोवासामु मूल्यवान्‌ बनाउँछौं, उहाँसँगको हाम्रो सम्बन्ध अझै बलियो हुन्छ