सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌

परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌

परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनबाट आनन्द उठाउनुहोस्‌

“म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।”—भजन ७७:१२.

१, २. (क) हामीले किन मनन गर्न समय छुट्याउनुपर्छ? (ख) “मनन” र “चिन्तन” गर्नुको अर्थ के हो?

 येशू ख्रीष्टका चेलाहरूको हैसियतमा, परमेश्‍वरसँगको हाम्रो सम्बन्ध र उहाँको सेवा गर्नुपछाडिको कारणबारे हामीले गहिरो चासो लिनुपर्छ। तथापि, अचेल मानिसहरू यति व्यस्त छन्‌ कि तिनीहरूसँग मनन गर्ने फुर्सतै छैन। तिनीहरू भौतिकवाद, थुप्रै मालसामान थुपार्न र व्यर्थको सुखविलासको खोजीजस्ता कहिल्यै नटुंगिने कुराहरूमा चुर्लुम्मै डुबेका छन्‌। हामी यस्ता व्यर्थका कुराहरूमा फस्नदेखि कसरी जोगिन सक्छौं? हामीले खाने र सुत्नेजस्ता अत्यावश्‍यक कुराहरूको लागि हरेक दिन केही निश्‍चित समय छुट्याएझैं, यहोवाका क्रियाकलाप तथा व्यवहारबारे मनन गर्न पनि हरेक दिन समय छुट्याउनुपर्छ।—व्यवस्था ८:३; मत्ती ४:४.

के तपाईं कहिल्यै मनन गर्नुहुन्छ? मनन गर्नु भनेको के हो? एउटा शब्दकोशले यस शब्दलाई “मन लगाएर कुनै कुरा सोच्नेसम्झने काम वा प्रयास; विचार; चिन्तन” भनेर वर्णन गर्छ। अनि “चिन्तन” भन्‍ने शब्दको अर्थ “कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया; गम्भीर रूपले सोचेर प्रश्‍नको समाधान निकाल्ने प्रक्रिया” हो। यसले हाम्रोलागि कस्तो अर्थ राख्छ?

३. आध्यात्मिक प्रगतिको केसँग प्रत्यक्ष सम्बन्ध छ?

एउटा त, यसले हामीलाई प्रेरित पावलले आफ्ना सँगी सेवक तिमोथीलाई लेखेका कुरा सम्झाउनुपर्छ: “म नआउञ्जेल धर्मशास्त्र पढाइ, अर्ती र शिक्षामा ध्यान देऊ। . . . यी कुरामा परिश्रम [“चिन्तन,” NW] गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌।” हो, तिनले प्रगति तथा उन्‍नति गरेको आशा गरिन्थ्यो र पावलका शब्दहरूले आध्यात्मिक कुराहरूबारे चिन्तन गर्नु तथा प्रगति गर्नुबीच प्रत्यक्ष सम्बन्ध छ भनी देखायो। आज पनि यही कुरा लागू हुन्छ। आध्यात्मिक प्रगति गर्दा पाइने सन्तुष्टि महसुस गर्न हामीले परमेश्‍वरको वचनमा बताइएका कुराहरू “चिन्तन” गर्नुका साथै त्यसैमा ‘लागिरहनुपर्छ।’—१ तिमोथी ४:१३-१५.

४. नियमित तवरमा यहोवाको वचन चिन्तन गर्न तपाईं कस्ता साधनहरू प्रयोग गर्न सक्नुहुन्छ?

मनन गर्ने सबैभन्दा उपयुक्‍त समय तपाईं र तपाईंको परिवारको तालिकामा भर पर्छ। थुप्रैले बिहान सबेरै दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट एउटा बाइबल पद चिन्तन गर्छन्‌। वास्तवमा, संसारभरका बेथेल गृहहरूमा रहेका लगभग २०,००० स्वयम्‌सेवकहरूले हरेक दिनको सुरुमा त्यस दिनको बाइबल पदबारे १५ मिनेट विचार गर्छन्‌। हरेक बिहान बेथेल परिवारका केही सदस्यहरूले मात्र टिप्पणी दिन्छन्‌ तर बाँकी अरूले चाहिं भन्दै र पढ्‌दै गरेको कुरामा चिन्तन गर्छन्‌। अरू साक्षीहरूले भने काममा जाँदाजाँदै यहोवाको वचन चिन्तन गर्छन्‌। तिनीहरूले बाइबल अनि प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का श्रव्यक्यासेटहरू सुन्छन्‌, जुन कुनै-कुनै भाषाहरूमा उपलब्ध छन्‌। थुप्रै गृहिणीहरूले भने घरायसी कामकाजहरू गर्दै यी क्यासेटहरू सुन्छन्‌। यसो गर्दा वास्तवमा तिनीहरूले भजनहार आसापको अनुकरण गरिरहेका हुन्छन्‌। तिनले यसप्रकार लेखे: “परमप्रभुका कार्यहरूको म चर्चा गर्नेछु, किनकि म तपाईंका तादिका आश्‍चर्यकामहरू सम्झनेछु। म तपाईंका सबै कामहरूमा पनि ध्यान गर्नेछु, र तपाईंका कार्यहरूमा घोरिन्छु।”—भजन ७७:११, १२.

सही मनोवृत्तिले सकारात्मक परिणाम ल्याउँछ

५. व्यक्‍तिगत अध्ययन हाम्रोलागि किन महत्त्वपूर्ण हुनुपर्छ?

टिभी, भिडियो र कम्प्युटरको हाम्रो आधुनिक युगमा मानिसहरूको पढ्‌ने बानीमा ह्रास आएको छ। अझ भन्‍ने हो भने, पढ्‌ने बानी हराउँदै गएको छ। तर यहोवाका साक्षीहरूमाझ भने यस्तो हुनु हुँदैन। आखिर, बाइबल पढाइ भनेको हामीलाई यहोवाको सम्पर्कमा राख्ने जीवनरक्‍तजस्तै हो। आजभन्दा हजारौं वर्षअघि, यहोशूले मोशापछि इस्राएलीहरूको नेतृत्व लिने जिम्मेवारी सम्हाले। यहोवाको आशिष्‌ पाउने हो भने यहोशू आफैले परमेश्‍वरको वचन पढ्‌नुपर्थ्यो। (यहोशू १:८; भजन १:१, २) आज पनि यसै गर्न आवश्‍यक छ। तथापि, धेरै लेखपढ नगरेको कारण कसै-कसैलाई पढ्‌न गाह्रो वा धेरै मेहनत गर्नुपर्ने हुन सक्छ। त्यसोभए, परमेश्‍वरको वचन पढ्‌ने र अध्ययन गर्ने इच्छा हामी कसरी जगाउन सक्छौं? हितोपदेश २:१-६ मा लिपिबद्ध राजा सुलेमानका शब्दहरूमा यसको जवाफ पाउन सकिन्छ। कृपया तपाईंहरूको बाइबल खोल्नुहोस्‌ र यी पदहरू पढ्‌नुहोस्‌। त्यसपछि हामी सँगै मिलेर यी पदहरू छलफल गर्नेछौं।

६. हामीले परमेश्‍वरको ज्ञानप्रति कस्तो मनोवृत्ति देखाउनुपर्छ?

सुरुमा हामी यस्तो आग्रह गरिएको पाउँछौं: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्‍तिमा लगाइस्‌ भने, . . . ” (हितोपदेश २:१, २) हामी यी शब्दहरूबाट के सिक्छौं? यही कि, परमेश्‍वरको वचन अध्ययन गर्ने जिम्मेवारी हामी हरेकको हो। “यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ . . . भने” भनेर शर्त राखिएको कुरालाई ध्यान दिनुहोस्‌। यहाँ “यदि” भन्‍ने शब्दलाई जोड दिइएको छ किनकि अधिकांश मानिसहरू परमेश्‍वरको वचनप्रति कुनै ध्यानै दिंदैनन्‌। परमेश्‍वरको वचन अध्ययन गरेर आनन्द उठाउन चाहन्छौं भने, हामी यहोवाले भन्‍नुभएका कुराहरू सुन्‍न इच्छुक हुनुपर्छ र त्यसलाई गुमाउन नचाहने सम्पत्तिको रूपमा हेर्नुपर्छ। हामी दैनिक क्रियाकलापहरूको कारण परमेश्‍वरको वचनप्रति चासो नदेखाउने वा यसप्रति शंका उब्जने हदसम्म व्यस्त हुनु वा अलमलिनु हुँदैन।—रोमी ३:३, ४.

७. हामी किन सकेसम्म मसीही सभाहरूमा उपस्थित हुनुका साथै ध्यान दिनुपर्छ?

हाम्रा मसीही सभाहरूमा परमेश्‍वरको वचनको व्याख्या गरिंदा, के हामी साँच्चै “ध्यान” दिएर होसियारीसाथ सुन्छौं? (एफिसी ४:२०, २१) के हामी समझशक्‍ति प्राप्त गर्नमा ‘मन लगाउँछौं?’ सायद वक्‍ता त्यत्ति अनुभवी नहोलान्‌ तर पनि तिनले परमेश्‍वरको वचनबाट छलफल गर्दा हामीले तिनको कुरामा ध्यान दिनुपर्छ। निस्सन्देह, यहोवाको बुद्धिमा ध्यान दिन हामी सकेसम्म मसीही सभाहरूमा उपस्थित हुनुपर्छ। (हितोपदेश १८:१) सा.यु. ३३ पेन्तिकोसमा यरूशलेमको माथिल्लो तलाको कोठामा भएको सभा छुटाउनेहरू कत्ति पछुताए होलान्‌, कल्पना गर्नुहोस्‌ त! हुन त हाम्रा सभाहरू त्यस्तो चमत्कारपूर्ण त नहोलान्‌ तापनि यहाँ हाम्रो मुख्य पाठ्यपुस्तक बाइबल छलफल गरिन्छ। त्यसकारण, हामीले ध्यान दियौं र सँगसँगै बाइबल पढ्यौं भने हरेक सभा नै हाम्रोलागि आशिष्‌ हुन सक्छ।—प्रेरित २:१-४; हिब्रू १०:२४, २५.

८, ९. (क) व्यक्‍तिगत अध्ययन गर्न हामीले के गर्नुपर्छ? (ख) तपाईं सुनको मूल्य र परमेश्‍वरको ज्ञानको समझलाई कसरी तुलना गर्नुहुन्छ?

बुद्धिमान्‌ राजाले अझै यसो भने: “तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌ . . . ” (हितोपदेश २:३) यी शब्दहरूले हामीलाई कस्तो मनोवृत्ति वा झुकाव राख्नुपर्ने कुरा बताउँछ? हो, यहोवाको वचन बुझ्ने उत्सुक चाहना! यसको मतलब समझशक्‍ति प्राप्त गर्ने र यहोवाको इच्छा बुझ्ने हेतुले अध्ययन गर्न इच्छुक हुनुपर्छ। निस्सन्देह, यसको लागि प्रयत्न चाहिन्छ र यसले हामीलाई सुलेमानको अर्को सुझाव तथा दृष्टान्ततर्फ डोऱ्‍याउँछ।—एफिसी ५:१५-१७.

तिनी अझै यसो भन्छन्‌: “यदि तैंले त्यसलाई [विवेक] चाँदीझैं खोजिस्‌ र गाड़-धनझैं त्यो खनिस्‌ भने, . . . ” (हितोपदेश २:४) यसले हामीलाई बहुमूल्य धातु भनेर चिनिने चाँदी र सुन खोज्न शताब्दीयौंदेखि खानीहरूमा काम गर्ने मानिसहरूको सम्झना गराउँछ। मानिसहरूले सुनको लागि अरूको हत्या गरेका छन्‌। अरूले भने आफ्नो सारा जीवन नै यसैको खोजीमा बिताएका छन्‌। तथापि, सुनको वास्तविक मूल्य कत्तिको छ त? तपाईं मरुभूमीमा हराउनुभयो र तिर्खाले छट्‌पटाइरहनुभएको छ भने, एक लाप्सो सुन र एक गिलास पानीमा कुनचाहिं रोज्नुहुन्छ? सुनको मूल्य कृत्रिम तथा घटबढ भइरहने भए तापनि मानिसहरूले कत्ति उत्साहसाथ यसको खोजी गर्छन्‌! a त्यसोभए हामीले बुद्धि, समझशक्‍ति अनि परमेश्‍वर तथा उहाँको इच्छाको ज्ञान अझ कत्ति उत्साहसाथ खोज्नुपर्छ होला! तर यसरी खोजी गर्दा कस्ता लाभहरू हुन्छन्‌?—भजन १९:७-१०; हितोपदेश ३:१३-१८.

१०. परमेश्‍वरको वचन अध्ययन गऱ्‍यौं भने हामीले के प्राप्त गर्न सक्छौं?

१० सुलेमान अझै यसरी वर्णन गर्दै जान्छन्‌: “तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।” (हितोपदेश २:५) हामीजस्ता पापी मानवहरूले ब्रह्‍माण्डका सार्वभौम प्रभु, यहोवा “परमेश्‍वरको ज्ञान” प्राप्त गर्न सक्नु कस्तो उदेकलाग्दो कुरा हो! (भजन ७३:२८; प्रेरित ४:२४) दार्शनिक र बुद्धिमान्‌ भनौंदाहरूले जीवन र ब्रह्‍माण्डका रहस्यहरू बुझ्ने कोसिस गरेको शताब्दीयौं भइसक्यो। तथापि, तिनीहरू “परमेश्‍वरको ज्ञान” प्राप्त गर्न सफल भएका छैनन्‌। किन? हजारौं वर्षअघिदेखि नै यो ज्ञान परमेश्‍वरको वचन बाइबलमा उपलब्ध भए तापनि तिनीहरूले यसलाई हल्का ठान्दै बेवास्ता गर्छन्‌ अनि यसलाई स्वीकार्दैनन्‌ र बुझ्दैनन्‌।—१ कोरिन्थी १:१८-२१.

११. व्यक्‍तिगत अध्ययनका केही लाभहरू के-के हुन्‌?

११ सुलेमानले प्रोत्साहन दिएको अर्को बुँदा यस्तो छ: “किनभने बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्‍ति उहाँबाटनै आउँछन्‌।” (हितोपदेश २:६) बुद्धि, ज्ञान र समझ-शक्‍ति खोज्ने जोसुकैलाई यहोवाले राजीखुसी र उदारतासाथ यी कुराहरू दिनुहुन्छ। परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययन गर्न प्रयत्न, अनुशासन र त्याग चाहिने भए तापनि हामीसँग यसप्रति मूल्यांकन व्यक्‍त गर्नुपर्ने हर कारण छ। कमसेकम हामीसित बाइबलका मुद्रित प्रतिहरू त छन्‌। अनि हामीले प्राचीन समयका मानिसहरूले जस्तो हस्तलिखित प्रतिहरू बनाउनुपरेको छैन!—व्यवस्था १७:१८, १९.

यहोवाको योग्य चालमा चल्न

१२. परमेश्‍वरको ज्ञान खोजी गर्नुपछाडिको हाम्रो मनसाय के हुनुपर्छ?

१२ व्यक्‍तिगत अध्ययन गर्नुपछाडिको हाम्रो मनसाय के हुनुपर्छ? के अरूभन्दा असल देखिन हो? विशिष्ट ज्ञान देखाउन हो कि? वा बाइबलको ज्ञानमा खप्पिस हुन मात्र पो हो कि? होइन। हाम्रो लक्ष्य भनेको हिंड्‌दा, कुराकानी गर्दा अनि जीवनको हरेक क्षेत्रमा मसीही हुनु र ख्रीष्टको जस्तो स्फूर्तिदायी मनोभाव राखेर अरूलाई मदत गर्न सधैं तत्पर हुनु हो। (मत्ती ११:२८-३०) प्रेरित पावलले यस्तो चेतावनी दिए: “ज्ञानले घमण्ड बढ़ाउँछ, तर प्रेमले उन्‍नति गराउँछ।” (१ कोरिन्थी ८:१) त्यसकारण, हामीमा मोशाको जस्तो विनम्र मनोवृत्ति हुनुपर्छ। तिनले यहोवालाई यसो भन्दा उक्‍त मनोवृत्ति प्रकट गरे: “मलाई तपाईंको मार्ग देखाउनुहोस्‌, र म तपाईंलाई चिन्‍नसकूँ र तपाईंको दृष्टिमा निगाह पाऊँ।” (प्रस्थान ३३:१३) हो, हामीले परमेश्‍वरलाई खुसी तुल्याउन ज्ञानको चाहना गर्नुपर्छ, मानिसहरूलाई प्रभावित पार्न होइन। हामी परमेश्‍वरको योग्य र विनम्र सेवकहरू हुन चाहन्छौं। हामी कसरी यो लक्ष्य हासिल गर्न सक्छौं?

१३. परमेश्‍वरको योग्य सेवक बन्‍न के गर्नुपर्छ?

१३ परमेश्‍वरलाई कसरी खुसी तुल्याउने भन्‍ने सन्दर्भमा पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” (२ तिमोथी २:१५) “ठीकसँग प्रयोग गरेर” भन्‍ने वाक्यांश “सोझो काट्‌नु” वा ‘सीधा काट्‌नु’ भन्‍ने अर्थ लाग्ने युनानी भाषाको मिलित क्रियाबाट लिइएको हो। (किङ्‌डम इन्टरलिनियर) केही शास्त्रविद्‌हरूका अनुसार, यसले नमूनाअनुरूप सूचीकारले कपडा काट्‌ने काम, किसानले हलो जोत्ने काम वा त्यस्तै अरू कामलाई बुझाउँछ। यी जुनसुकै अवस्थामा पनि अन्तिम परिणाम ठीक वा सोझो हुनुपर्छ। भनाइको मतलब, परमेश्‍वरको योग्य र अनुमोदनप्राप्त सेवक बन्‍न तिमोथीले आफ्नो शिक्षा र व्यवहार सत्यको वचनअनुरूप छ भनी पक्का गर्न ‘यथाशक्य’ गर्नुपर्थ्यो।—१ तिमोथी ४:१६.

१४. हाम्रो व्यक्‍तिगत अध्ययनले हाम्रो काम र बोलीमा कसरी असर गर्नुपर्छ?

१४ पावलले कलस्सीका सँगी मसीहीहरूलाई “हरेक असल काममा फलिफाप हुँदै परमेश्‍वरको ज्ञानमा बढदै गएर” “हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न” आग्रह गर्दा पनि यही कुरालाई दोहोऱ्‍याए। (कलस्सी १:१०) यहाँ पावलले यहोवाको योग्य हुनुलाई “हरेक असल काममा फलिफाप” हुनु र “परमेश्‍वरको ज्ञानमा बढ्‌दै” जानुसँग जोडेका छन्‌। अर्को शब्दमा भन्‍ने हो भने, यहोवाको नजरमा महत्त्वपूर्ण कुरा भनेको हामीले ज्ञानको कदर कत्तिको गर्छौं भन्‍ने होइन तर हाम्रो काम र बोलीमा परमेश्‍वरको वचन कत्तिको पछ्याउँछौं भन्‍ने हो। (रोमी २:२१, २२) यसको अर्थ, हामी परमेश्‍वरलाई खुसी तुल्याउन चाहन्छौं भने, हाम्रो व्यक्‍तिगत अध्ययनले हाम्रो सोचाइ र व्यवहारमा असर गर्नुपर्छ।

१५. हामी कसरी आफ्नो मन तथा विचारलाई सुरक्षित र नियन्त्रणमा राख्न सक्छौं?

१५ आज शैतान हामीभित्र अन्तर्द्वन्द्व मच्चाएर हाम्रो आध्यात्मिकता खत्तम पार्न तल्लीन छ। (रोमी ७:१४-२५) त्यसकारण, हाम्रा परमेश्‍वर, यहोवासामु योग्य ठहरिन हामीले आफ्नो मन तथा विचारलाई सुरक्षित र नियन्त्रणमा राख्नै पर्छ। हामीसँग हतियारको रूपमा “परमेश्‍वरको ज्ञान” छ र यसले “हरेक विचारलाई ख्रीष्टको आज्ञा मान्‍नालाई अधीनमा” पार्न सक्छ। आफ्नो मनबाट स्वार्थी र सांसारिक विचारहरू निकाल्ने हाम्रो चाहना, हामीले दैनिक बाइबल अध्ययनमा ध्यान दिनुपर्ने अर्को कारण हो।—२ कोरिन्थी १०:५.

बुझ्नका लागि सहायकहरू

१६. यहोवाले हामीलाई सिकाउनुहुँदा हामी कसरी लाभ उठाउन सक्छौं?

१६ यहोवाको शिक्षाले आध्यात्मिक तथा शारीरिक लाभहरू ल्याउँछ। यो भावशून्य र अव्यावहारिक धर्मदर्शन होइन। त्यसकारण, हामी यस्तो लेखिएको पढ्‌छौं: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।” (यशैया ४८:१७) यहोवाले हामीलाई कसरी उहाँको लाभदायक मार्गमा हिंड्‌न लगाउनुहुन्छ? सर्वप्रथम त, हामीसँग उहाँको प्रेरित वचन, बाइबल छ। यो हाम्रो मुख्य पाठ्यपुस्तक हो र हामी सधैं मदतको लागि यसैमा भर पर्छौं। त्यसकारण, मसीही सभाहरूमा आफ्नो बाइबल खोलेर वक्‍ताले भन्दै गरेको कुरा ध्यान दिएर सुन्‍नु राम्रो हो। यसो गर्दा कस्तो लाभकारी नतिजा पाउन सकिन्छ भनी प्रेरित अध्याय ८ मा लिपिबद्ध, एथियोपियाली नपुंसकको विवरणबाट देख्न सकिन्छ।

१७. एथियोपियाली नपुंसकको सन्दर्भमा कस्तो घटना घट्यो र यसले के देखाउँछ?

१७ यी एथियोपियाली नपुंसकले धर्म परिवर्तन गरेर यहूदी धर्म अपनाएका थिए। तिनी निष्कपटतासाथ परमेश्‍वरमा विश्‍वास गर्थे र धर्मशास्त्र अध्ययन गर्थे। आफ्नो रथमा यात्रा गरिरहँदा तिनले यशैयाको पुस्तक पढिरहेका थिए। त्यति नै बेला फिलिपले तिनीसँगसँगै दौडँदै यसरी सोधे: “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?” नपुंसकले कस्तो जवाफ दिए? “ ‘कसैले नबताईकन म कसरी बुझौंला र?’ अनि तिनले फिलिपलाई पनि चढेर तिनको साथमा बस्नालाई बिन्ती गरे।” त्यसपछि फिलिपले पवित्र आत्माको डोऱ्‍याइद्वारा नपुंसकलाई यशैयाको भविष्यवाणी बुझ्न मदत गरे। (प्रेरित ८:२७-३५) यसले के देखाउँछ? यही कि, आफू एक्लैले मात्र बाइबल पढ्‌नु पर्याप्त छैन। हामीले ठीक समयमा यहोवाको वचन बुझ्न सकोस्‌ भनेर उहाँले आफ्नो आत्माद्वारा विश्‍वासी र बुद्धिमान्‌ दास वर्गलाई चलाउनुहुन्छ। यो कसरी गरिन्छ?—मत्ती २४:४५-४७; लूका १२:४२.

१८. विश्‍वासी र बुद्धिमान्‌ दास वर्गले हामीलाई कसरी मदत गर्छन्‌?

१८ यी दास वर्गलाई “विश्‍वासी र बुद्धिमान” भनिए तापनि येशूले यिनीहरू अचूक छन्‌ भन्‍नुभएन। अभिषिक्‍त विश्‍वासी भाइहरूको यो समूह असिद्ध मसीहीहरू मिलेर बनेको छ। यिनीहरूको मनसाय असल हुँदाहुँदै पनि प्रथम शताब्दीका अभिषिक्‍त मसीहीहरूले झैं यिनीहरूले पनि भूल गर्न सक्छन्‌। (प्रेरित १०:९-१५; गलाती २:८; ११-१४) तथापि, यिनीहरूको मनसाय शुद्ध छ र परमेश्‍वरको वचन अनि उहाँका प्रतिज्ञाहरूमाथि हाम्रो विश्‍वास अझ बलियो बनाउने बाइबल अध्ययन सहायकहरू आपूर्ति गर्न यहोवाले यिनीहरूलाई चलाइरहनुभएको छ। व्यक्‍तिगत अध्ययन गर्न यी दासले हाम्रोलागि प्रबन्ध गरिदिएको सबैभन्दा प्रमुख साधन न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स हो। यो अहिले पूरै वा आंशिक गरी ४२ भाषामा उपलब्ध छ र विभिन्‍न संस्करणहरूमा गरेर ११ करोड ४० लाख प्रति छापिइसकेको छ। व्यक्‍तिगत अध्ययन गर्दा हामी यसलाई कसरी प्रभावकारी तरिकामा चलाउन सक्छौं?—२ तिमोथी ३:१४-१७.

१९. हाम्रो व्यक्‍तिगत अध्ययनको लागि मदतकारी हुन सक्ने, न्यु वर्ल्ड ट्रान्सलेसन—विथ रेफरेन्सेस्‌-का केही विशेषताहरू के-के हुन्‌?

१९ उदाहरणका लागि, न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स—विथ रेफरेन्सेस्‌-लाई लिनुहोस्‌। यसमा थप सन्दर्भको स्तम्भ, पादटिप्पणी, “सूचीबद्ध बाइबल शब्दहरू” र “सूचीबद्ध पादटिप्पणी शब्दहरू” भन्‍ने शीर्षक भएको संक्षिप्त शब्दकोश अनि ४३ वटा विषयहरूमा विस्तृत तवरमा बताउने, नक्सा तथा तालिकाहरूसहितको परिशिष्ट छ। यसमा यो अनुपम बाइबल अनुवाद तयार पार्न प्रयोग गरिएका विविध स्रोतहरूबारे वर्णन गरिएको “परिचय” पनि छ। तपाईंले बुझ्नुहुने भाषामा यो उपलब्ध छ भने, यी विशेषताहरूसँग यथाशक्य परिचित हुनुहोस्‌ र तिनको प्रयोग गर्नुहोस्‌। जे होस्‌, बाइबलबाटै हाम्रो अध्ययन कार्यक्रम सुरु हुन्छ र हामीसँग भएको न्यु वर्ल्ड ट्रान्सलेसन संस्करणले ईश्‍वरीय नाउँलाई ठीकसँग जोड दिनुका साथै परमेश्‍वरको राज्य शासनबारे प्रकाश पार्छ।—भजन १४९:१-९; दानियल २:४४; मत्ती ६:९, १०.

२०. व्यक्‍तिगत अध्ययनबारे कस्ता प्रश्‍नहरूको जवाफ चाहिन्छ?

२० अब हामी यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘बाइबल बुझ्न हामीलाई अरू थप कस्ता मदतहरू चाहिन्छ? व्यक्‍तिगत अध्ययनको लागि हामी कसरी समय निकाल्न सक्छौं? हामी कसरी आफ्नो अध्ययनलाई अझ प्रभावकारी बनाउन सक्छौं? हाम्रो अध्ययनले अरूलाई कस्तो प्रभाव पार्नुपर्छ?’ अर्को लेखमा हाम्रो मसीही प्रगतिका यी महत्त्वपूर्ण पक्षहरूबारे विचार गरिनेछ।

[फुटनोट]

a सन्‌ १९७९ देखि यता सुनको मूल्य सबैभन्दा बढी सन्‌ १९८० मा प्रति ३१ ग्रामको रू. ६६,३०० पुगेको थियो भने, सबैभन्दा कम सन्‌ १९९९ मा प्रति ३१ ग्रामको रू. १९,७१८ पुगेको थियो।

के तपाईंलाई सम्झना छ?

• “मनन” र “चिन्तन” गर्नु भन्‍नाले के बुझिन्छ?

• हामीले परमेश्‍वरको वचनको अध्ययनप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ?

• व्यक्‍तिगत अध्ययन गर्नुपछाडिको हाम्रो मनसाय के हुनुपर्छ?

• हामीसँग बाइबल बुझ्नको लागि कस्ता सहायकहरू छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

बेथेल परिवारका सदस्यहरूले हरेक दिनको सुरुमा एउटा बाइबल पद विचार गर्दा आध्यात्मिक तवरमा बलियो भएको महसुस गर्छन्‌

[पृष्ठ १५-मा भएका चित्रहरू]

यात्राको दौडान बाइबल क्यासेट सुनेर बहुमूल्य समयको सदुपयोग गर्न सकिन्छ

[पृष्ठ १६-मा भएको चित्र]

सुन भेट्टाउन मानिसहरूले कठोर र अविरल मेहनत गरे। परमेश्‍वरको वचन अध्ययन गर्न तपाईं कत्तिको प्रयत्न गर्नुहुन्छ?

[स्रोत]

Courtesy of California State Parks, 2002

[पृष्ठ १७-मा भएका चित्रहरू]

बाइबल अनन्त जीवनतर्फ डोऱ्‍याउन सक्ने सम्पत्ति हो