सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोशूले कहल्यै नबिर्सेको कुरा

यहोशूले कहल्यै नबिर्सेको कुरा

यहोशूले कहल्यै नबिर्सेको कुरा

“मेरो दास मोशा मऱ्‍यो यसकारण उठ्‌, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राइलीहरू लाई दिने देशमा जा,” भनेर यहोवाले भन्‍नुभयो। (यहोशू १:२) यहोशूले साह्रै कठिन काम पाए! तिनले झन्डै ४० वर्ष मोशाको सेवा गरे। तर अहिले तिनलाई आफ्नो मालिकको जिम्मेवारी सम्हालेर अक्सर गनगन गर्ने इस्राएलका सन्तानहरूलाई प्रतिज्ञा गरिएको देशमा डोऱ्‍याउन भनियो।

यहोशूले भविष्यबारे विचार गर्दा सायद आफूले भोगेका र विजय हासिल गरेका परीक्षाहरू पनि तिनले सम्झे होलान्‌। यहोशूले बिर्सन नसकेका कुराहरू पक्कै पनि तिनको लागि असाध्यै मदतकारी साबित भएको थियो भने आज मसीहीहरूको लागि पनि ती मदतकारी साबित हुन सक्छन्‌।

दासदेखि प्रधान सेनापतिसम्म

यहोशूले दासत्वमा बिताउनुपरेका वर्षहरू बिर्सेका थिएनन्‌। (प्रस्थान १:१३, १४; २:२३) यहोशूले त्यसबेला कस्तो दुःख भोग्नुपऱ्‍यो होला भनी हामी कल्पना मात्र गर्न सक्छौं किनभने बाइबलले तिनले भोग्नुपरेका दुःखबारे केही पनि बताएको छैन। मिश्रमा सेवा गर्दा तिनले कसरी राम्रो प्रबन्धक हुन सकिन्छ भन्‍ने कुरा सिकेको हुनुपर्छ अनि तिनले त्यस देशबाट हिब्रूहरू र “एक मिश्रित-दल[लाई]” डोऱ्‍याउने कामको प्रबन्ध मिलाउन सहयोग पनि गरेका हुन सक्छन्‌।—प्रस्थान १२:३८.

यहोशू एप्रैम कुलका थिए। तिनका हजुरबुबा एलीशामा कुलनायक थिए र इस्राएलको फौजलाई तीन भागमा विभाजित गरिंदा १,०८,१०० जना सामेल भएको सशस्त्र फौजको नेतृत्व लिए। (गन्ती १:४, १०, १६; २:१८-२४; १ इतिहास ७:२०, २६, २७) यद्यपि, इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेको केही समय नबित्दै अमालेकीहरूले

आक्रमण गर्दा तिनीहरूको प्रतिकार गर्ने बन्दोबस्त मिलाउन मोशाले यहोशूलाई अह्राए। (प्रस्थान १७:८, ९) तिनका हजुरबुबा, बुबा अथवा अरू कसैलाई नभई किन यहोशूलाई नै अह्राइएको? एउटा कारण: “एकदम महत्त्वपूर्ण कुल एप्रैमका कुलनायक र व्यवस्थापन दक्षता भएका व्यक्‍ति हुनुका साथै सबै मानिसहरूले तिनलाई एकदमै विश्‍वास गर्थे। त्यसकारण मोशाले [यहोशूलाई] नै नेतृत्व लिन र फौजीहरूलाई चुन्‍ने बन्दोबस्त मिलाउन योग्य ठाने।”

कारण जे होस्‌, यहोशूले आफू नियुक्‍त भएपछि मोशाले आज्ञा गरेझैं सबै गरे। इस्राएल राष्ट्र युद्धको क्षेत्रमा अनुभवहीन भए तापनि यहोशू ईश्‍वरीय मदत पाइनेछ भन्‍ने कुरामा विश्‍वस्त थिए। त्यसैले मोशाले “भोलि म परमप्रभुको लहुरो मेरो हातमा लिएर डाँडाको टाकुरामा खडा हुनेछु” भनेर बताउनु नै तिनको निम्ति पर्याप्त थियो। यहोवाले त्यसबेलाको सबैभन्दा शक्‍तिशाली सैन्यशक्‍तिलाई भर्खरै मात्र नाश गर्नुभएको कुरा यहोशूले सम्झिरहेको हुनुपर्छ। अर्को दिन मोशाले घाम नअस्ताउन्जेल आफ्नो हात उठाइरहे र यसले गर्दा कुनै पनि शक्‍ति इस्राएलीहरूको अगाडि टिक्न सकेनन्‌ र अमालेकीहरू पनि हारे। त्यसपछि यहोवाले मोशालाई यो ईश्‍वरीय आज्ञा एउटा पुस्तकमा लेखेर ‘यहोशूलाई बताउन’ अह्राउनुभयो: “म अमालेकको स्मृति आकाशमनिदेखि बिलकुलै मेटिदिनेछु।” (प्रस्थान १७:९ख-१४) हो, यहोवाले त्यो दण्डाज्ञा पक्कै पूरा गर्नुहुने थियो।

मोशाको सेवक

अमालेकीहरूसितको यस घटनाले यहोशू र मोशाबीचको सम्बन्ध झन्‌ प्रगाढ भएको हुनुपर्छ। यहोशूले आफ्नो “युवावस्थादेखि” मोशा बाँचुन्जेल लगभग ४० वर्ष तिनको व्यक्‍तिगत सेवक वा “सहायक” भई सेवा गर्ने सम्मान पाए।—गन्ती ११:२८, नयाँ संशोधित संस्करण।

त्यस कार्यभारको अर्थ तिनले सेवाका विशेष सुअवसरहरू र जिम्मेवारीहरू पाउनु थियो। उदाहरणका लागि, मोशा, हारून, हारूनका छोराहरू र इस्राएलका ७० जना वृद्ध पुरुषहरू सीनै पर्वतमा यहोवाको महिमाको दर्शन हेर्न जाँदा यहोशू पनि गएका हुन सक्छन्‌। सेवकको रूपमा तिनी मोशासितै पर्वतको चुचुरोसम्म गए र यहोवाको उपस्थितिलाई संकेत गर्ने बादलभित्र मोशा प्रवेश गर्दा तिनी अलि टाढै कुरिरहेको देखिन्छ। अझ उल्लेखनीय कुरो यहोशू पनि ४० दिन ४० रातसम्म पर्वतमै बसेको हुनुपर्छ। तिनले वफादारीसाथ आफ्ना मालिकको बाटो हेरे किनभने मोशा साक्षीका पाटी लिएर तल ओर्लदै गर्दा यहोशूले तिनलाई भेटे।—प्रस्थान २४:१, २, ९-१८; ३२:१५-१७.

इस्राएलीहरूले सुनको बाछोलाई पूजेको घटनापछि पनि यहोशूले भेट हुने पालको ढोकामा मोशाको सेवकको रूपमा काम गरि नै रहे। त्यहाँ यहोवाले मोशासित आमनेसामने कुरा गर्नुभयो। तर मोशा छाउनीमा फर्कंदा “यहोशू, त्यस पालबाट निस्कँदैन थिए।” सायद, इस्राएलीहरूलाई तिनीहरूको अशुद्ध अवस्थामै त्यस पालभित्र पस्न नदिन तिनी त्यहाँ जरुरी थियो। यहोशूले त्यस जिम्मेवारीलाई कस्तो गम्भीरतासाथ लिए!—प्रस्थान ३३:७, ११.

इतिहासकार जोसेफसअनुसार आफूभन्दा ३५ वर्ष जेठो मोशासितको संगतिले यहोशूको यहोवाप्रतिको विश्‍वासलाई पक्कै पनि अझ बलियो बनाएको हुनुपर्छ। तिनीहरूको सम्बन्धलाई “परिपक्व र जवान, गुरु र चेलाबीचको संगति” भनेर वर्णन गरिएको छ। यसले गर्दा यहोशू “दृढ अनि भरोसायोग्य व्यक्‍ति” हुन सके। आज हामी माझ मोशा जस्ता अगमवक्‍ता त छैनन्‌ तर यहोवाका जनको मण्डलीहरूमा अनुभव र आध्यात्मिक तवरमा वृद्ध भइसकेकाहरू छन्‌ र तिनीहरू बल र प्रोत्साहनका वास्तविक स्रोत हुन्‌। के तपाईं तिनीहरूको मूल्यांकन गर्नुहुन्छ? अनि के तिनीहरूसितको संगतिको लाभ उठाइरहनुभएको छ?

कनानमा जासुसी

इस्राएलीहरूले व्यवस्था पाएको केही समयपछि भएको घटनाले यहोशूको जीवनमा एकदम ठूलो मोड ल्यायो। तिनलाई आफ्नो कुलको प्रतिनिधित्व गर्दै प्रतिज्ञा गरिएको देशमा जासुसी गर्न पठाइयो। यो कथा लोकप्रिय छ। यहोवाले प्रतिज्ञा गर्नुभएझैं त्यस देशमा “दूध र मह बग्दो रहेछ” भनेर ती बाह्रै जना जासुसहरूले स्वीकारे। तथापि, इस्राएलीहरूले त्यो देश जित्न सक्लान्‌ भन्‍ने कुरा दस जनाले भने पत्याउनै सकेनन्‌। यहोशू र कालेबले मात्र मानिसहरूलाई यहोवा साथमा हुनुहुन्छ, त्यसकारण डराएर विद्रोह नगर्नु भन्‍ने आग्रह गरे। त्यस कुराप्रति सम्पूर्ण समुदायले विरोध गरे र ती दुईलाई ढुंगाले हान्‍न तम्तयार भए। यहोवाले आफ्नो महिमा प्रकट गरेर हस्तक्षेप नगरेको भए सायद तिनीहरूले त्यसो गरिसक्ने पनि थिए। तिनीहरूको विश्‍वास दह्रो नभएकोले गणना भएका र २० वर्ष नाघेकाहरू कोही पनि कनानमा पस्न पाउनेछैनन्‌ भनेर परमेश्‍वरले घोषणा गर्नुभयो। यहोशू, कालेब र लेवीहरू मात्र बचे।—गन्ती १३:१-१६, २५-२९; १४:६-१०, २६-३०.

यहोवाले मिश्रमा गर्नुभएको शक्‍तिशाली कार्यहरू सबै मानिसले देखेका होइनन्‌ र? उसोभए अधिकांश मानिसहरूले शंका गरेको परमेश्‍वरले गर्नुहुने मदतमाथि यहोशूले चाहिं कसरी विश्‍वास गर्न सके? यहोवाले गर्नुभएको प्रतिज्ञा र त्यसको पूर्ति यहोशूले बिर्सेका थिएनन्‌ र तिनले ती कुराहरूमै मनन गरे। वर्षौंपछि तिनले ‘यहोवाले इस्राएलीहरूलाई भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। ती सबै पुगेको छ,’ भनेर बताउन सके। (यहोशू २३:१४) यसरी यहोवाले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरू पनि एक-एक पूरा हुनेछ भन्‍ने कुरामा तिनले विश्‍वास राख्न सके। (हिब्रू ११:६) यसले कुनै पनि व्यक्‍तिलाई यो प्रश्‍न सोच्न बाध्य पार्नुपर्ने हो: ‘म नि? के मैले अध्ययन गर्न र यहोवाका प्रतिज्ञाहरूमाथि विचार गर्न बिताएको समयले ती कुराहरू भरपर्दा छन्‌ भन्‍ने कुरामा विश्‍वस्त हुन मदत गरेको छ? परमेश्‍वरले आउँदै गरेको महासंकष्टमा उहाँका जनहरूका साथमा मलाई पनि बचाउन सक्नुहुन्छ भन्‍ने कुरामा के म विश्‍वास गर्छु?’

यहोशूले विश्‍वास मात्र देखाएनन्‌ तर नैतिक साहस पनि देखाए। तिनी र कालेब दुई जना मात्र यहोवाको पक्षमा खडा भए र बाँकी भीडचाहिं सबै तिनीहरूलाई ढुंगाले हान्‍न तम्तयार भए। तपाईंले भए कस्तो महसुस गर्नुहुने थियो? त्रसित? तर यहोशू त्रसित भएनन्‌। तिनी र कालेबले जे कुरा विश्‍वास गर्थे ती कुराहरू दृढता साथ बताए। कुनै बेला हामीले पनि त्यस्तो परिस्थिति सामना गर्नुपर्दा यहोवाप्रति वफादार भई त्यसै गर्नुपर्ने हुन सक्छ।

यस जासुसीको कथाले हामीलाई यहोशूको नाउँ परिवर्तन गरिएको विषयमा पनि जानकारी दिन्छ। तिनको पुरानो नाउँ होशे थियो र त्यसको अर्थ “उद्धार” हो तर मोशाले तिनको नाउँमा ईश्‍वरीय नाउँ अर्थ लाग्ने शब्दांश थपेर यहोशूआ वा यहोशू राखिदिए जसको अर्थ हुन्छ “यहोवा उद्धार हुनुहुन्छ।” सेप्टुआजिन्टले तिनको नाउँलाई “येशू” भनेर पनि अनुवाद गरेको छ। (गन्ती १३:८, १६) साँच्चै आफ्नो नाउँअनुसारै यहोशूले यहोवा उद्धार हुनुहुन्छ भनी साहसी भई घोषणा गरे। यहोशूको नाउँ त्यतिकै परिवर्तन गरिएको हुन सक्दैन। यसले यहोशूको गुण र प्रतिज्ञा गरिएको देशमा नयाँ पुस्तालाई डोऱ्‍याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्न तिनले पाएको सुअवसरलाई मोशाले कत्तिको श्रद्धा गर्थे भन्‍ने कुरा देखिन्छ।

इस्राएलीहरू ४० वर्षसम्म उजाडस्थान भौंतारिरहँदा तिनीहरूका बुढापाकाहरू थुप्रैको मृत्यु भयो। त्यस अवधिभर यहोशूले के-कस्ता कामहरू गरे हामीलाई केही थाह छैन। तथापि, यसबाट तिनले धेरै पाठ सिकेको हुनुपर्छ। तिनले कोरह, दातान र अबिरामलगायत तिनीहरूलाई साथ दिने र पोरको बाललाई उपासना गर्ने भ्रष्ट मानिसहरूलाई परमेश्‍वरले दिनुभएको दण्ड पनि देखेको हुनुपर्छ। त्यस्तै गरी मोशासमेत मरिबाको पानीको सन्दर्भमा यहोवाको महिमा गर्न चुकेको हुनाले त्यस प्रतिज्ञा गरिएको देशमा पस्न नपाउने भएको दुःखपूर्ण कुरा पनि तिनले पक्कै थाह पाएको हुनुपर्छ।—गन्ती १६:१-५०; २०:९-१३; २५:१-९.

मोशाको उत्तराधिकारी नियुक्‍त

आफ्नो मृत्युको घडी नजिकिंदै जाँदा इस्राएलीहरू “गोठालो नभएका भेड़ाझैं नहोस्‌” भनेर आफ्नो कुनै उत्तराधिकारी नियुक्‍त गरिदिन मोशाले परमेश्‍वरलाई आग्रह गरे। यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? यसरी डोऱ्‍याउन सक्ने “आत्मा भएको” यहोशूलाई सबै समुदायको अगाडि नियुक्‍त गरियो। तिनीहरूले उनको कुरा सुन्‍नुपर्ने थियो। कस्तो राम्रो सिफारिस! यहोवाले यहोशूको विश्‍वास र दक्षता देख्नुभएको थियो। इस्राएलको नेतृत्त्व लिने दायित्व एक जना दक्ष व्यक्‍तिको हातमा सुम्पियो। (गन्ती २७:१५-२०) तैपनि, यहोशूले भीषण चुनौतीहरूको सामना गर्नुपर्छ भन्‍ने कुरा मोशालाई थाह थियो। त्यसैले मोशाले आफ्ना उत्तराधिकारीलाई “बलियो र साहसी,” हुन आग्रह गरे किनभने यहोवा तिनको साथमा सदा रहिरहनु हुनेथियो।—व्यवस्था ३१:७, ८.

परमेश्‍वरले पनि यहोशूलाई त्यही प्रोत्साहन दिनुभयो र भन्‍नुभयो: “मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्‌। त्यसबाट दाहिनेतिर देब्रेतिर नफर्की। तँ जहींगए पनि सफलता पाउनेछस्‌ व्यवस्थाको यो पुस्तक तेरो ओंठबाट नहटोस्‌, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌। तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”—यहोशू १:७-९.

यहोवाको यस्तो वचन सुनेर अनि तिनले बटुलेका अनुभवहरूले गर्दा यहोशूको मनमा शंका आओस्‌ पनि कसरी? त्यस देशमाथि विजय त हुने नै थियो। कठिनाइहरू त आउने नै थिए र ती कुनै पनि बाढी आइरहेको यर्दन नदी पार गर्ने पहिलो चुनौतीभन्दा कम सजिलो हुने थिएन। यद्यपि, यहोवा आफैले यस्तो आज्ञा दिनुभएको थियो: “उठ्‌, . . . र यर्दन पारि . . . जा।” त्यसैले कस्तो समस्या पो पार गर्न नसकिएला र?—यहोशू १:२.

यहोशूको जीवनमा आइपरेका अन्य घटनाहरूमा यरीहोमाथि विजयी हुनु, आफ्ना शत्रुहरूलाई एकपछि अर्को गर्दै हराउनु र जमिनको बाँडफाँड गर्नु जस्ता कुराहरू समावेश थिए। ती सबै घटनाहरूबाट तिनले परमेश्‍वरका प्रतिज्ञाहरूलाई बिर्सेनन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ। यहोवाले इस्राएलीहरूलाई सबै शत्रुहरूबाट शान्ति दिनुहुँदा यहोशूले आफ्नो मृत्युअघि सबै मानिसहरूलाई भेला गरे। परमेश्‍वरले मानिसहरूसित गर्नुभएको व्यवहारबारे पुनरावलोकन गर्नुका साथै तिनले तिनीहरूलाई आफ्नो पूरा मनले उहाँको सेवा गर्न आग्रह गरे। परिणामस्वरूप इस्राएलले यहोवासितको करारलाई गम्भीरतासाथ नवीकरण गरे र आफ्नो नेताको उदाहरणद्वारा प्रेरित भएर नै “यहोशूका जीवनभरि . . . इस्राएलीहरूले परमप्रभुकै सेवा” गरे भन्‍नुमा कुनै सन्देह छैन।—यहोशू २४:१६, ३१.

यहोशूले हाम्रोलागि पनि विशिष्ट उदाहरण बसालेका छन्‌। आज मसीहीहरूले विश्‍वासका असंख्य परीक्षाहरू सामना गर्नुपर्छ। यहोवाको अनुमोदन पाउन र अन्तमा उहाँको प्रतिज्ञा प्राप्त गर्न ती परीक्षाहरूलाई सफलतासाथ सामना गर्नु अत्यावश्‍यक छ। यहोशूको सफलता तिनको बलियो विश्‍वासमै आधारित थियो। हो, हामीले यहोशूले जस्तै यहोवाका शक्‍तिशाली कार्यहरू त देखेका छैनौं तर कसैलाई यसमा शंका लाग्छ भने यहोवाले भन्‍नुभएका कुराहरू कति विश्‍वसनीय छन्‌ भन्‍ने कुराको प्रत्यक्षदर्शी विवरण बाइबलमा यहोशू नाउँको पुस्तकमा पाइन्छ। हामीले दिनहुँ परमेश्‍वरको वचन पढ्यौं र त्यसलाई व्यवहारमा होसियारी भई लागू गऱ्‍यौं भने यहोशूले जस्तै बुद्धि र सफलता पाउनेछौं भन्‍ने आश्‍वासन पाउँछौं।

के कहिलेकाहीं सँगी मसीहीहरूले तपाईंको चित्त दुखाएको महसुस गर्नुभएको छ? यहोशू आफ्नो कुनै गल्ती नहुँदा नहुँदै पनि उजाडस्थानमा अवफादार सँगीहरूसित ४० वर्षसम्म भौंतारिनु पर्दा धीरजी हुनुपरेको अवस्थाबारे विचार गर्नुहोस्‌। के तपाईं आफूले विश्‍वास गर्नुभएको कुराको प्रतिकार गर्न गाह्रो महसुस गर्नुहुन्छ? यहोशू र कालेबले के गरे सम्झनुहोस्‌। तिनीहरूले देखाएको विश्‍वास र आज्ञाकारिताले गर्दा प्रशस्त इनाम पाए। हो, यहोवाले आफ्ना सबै प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्‍ने कुरामा यहोशू साँच्चै विश्‍वास गर्थे। हामीमा पनि त्यस्तै विश्‍वास होस्‌।—यहोशू २३:१४.

[पृष्ठ १०-मा भएको चित्र]

मोशासितको संगतले यहोशूको विश्‍वास झन्‌ बलियो भयो

[पृष्ठ १०-मा भएको चित्र]

यहोशू र कालेबले

यहोवाको शक्‍तिमाथि भरोसा गरे

[पृष्ठ १०-मा भएको चित्र]

यहोशूको नेतृत्वले मानिसहरूलाई यहोवामा लीन भइरहन प्रेरित गऱ्‍यो