सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षकहरूको हैसियतमा हामीलाई सुसज्जित पार्ने व्यक्‍तिगत अध्ययन

शिक्षकहरूको हैसियतमा हामीलाई सुसज्जित पार्ने व्यक्‍तिगत अध्ययन

शिक्षकहरूको हैसियतमा हामीलाई सुसज्जित पार्ने व्यक्‍तिगत अध्ययन

“यी कुरामा परिश्रम [ “चिन्तन,” Nw] गर। तिनीहरूमानै लागिरह, र तिम्रो प्रगति सबैमा प्रकट होस्‌। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह।”—१ तिमोथी ४:१५, १६.

१. समय र व्यक्‍तिगत अध्ययनबारे कुन कुरा साँचो हो?

 “सबै कुराको लागि समय छ” भनी बाइबलले उपदेशक ३:१ मा बताउँछ। निस्सन्देह, व्यक्‍तिगत अध्ययनको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। समय वा ठाउँ अनुकूल छैन भने, धेरै व्यक्‍तिहरूलाई आध्यात्मिक कुराहरूबारे चिन्तन गर्न गाह्रो हुन्छ। उदाहरणका लागि, दिनभरिको कडा कामपश्‍चात्‌ बेलुका टन्‍न खाना खाएर आरामदायी कुर्सीमा वा टिभीअगाडि बस्नुभयो भने के तपाईंलाई पढ्‌न मन लाग्छ? सम्भवतः लाग्दैन। त्यसोभए, यसको समाधान के हो त? स्पष्टतः हामीले आफ्नो प्रयत्नबाट अधिकतम लाभ उठाउने हेतुले कहिले र कहाँ अध्ययन गर्ने भनी छनौट गर्नुपर्छ।

२. व्यक्‍तिगत अध्ययनको लागि अक्सर सबैभन्दा उपयुक्‍त समय कुन हो?

धेरै व्यक्‍तिहरूले बिहान सबेरै आफू चनाखो भएको बेला अध्ययन गर्नु सबैभन्दा उपयुक्‍त पाएका छन्‌। अरूले भने दिउँसो फुर्सतको समयमा केही बेर भए पनि अध्ययन गर्छन्‌। निम्न उदाहरणहरूमा महत्त्वपूर्ण आध्यात्मिक कुराहरूलाई समय दिएको कुरा ध्यान दिनुहोस्‌। पुरातन इस्राएलका राजा दाऊदले यसरी लेखे: “बिहान तपाईंको करुणा मलाई सुन्‍नलाउनुहोस्‌। किनकि तपाईंमानै म भरोसा गर्छु। जुन मार्गमा मैले चल्नुपर्छ, त्यो मलाई जान्‍नदिनुहोस्‌। किनकि म मेरो मन तपाईंतिर लगाउँछु।” (भजन १४३:८) अगमवक्‍ता यशैयाले पनि यस्तै मूल्यांकन व्यक्‍त गर्दै यसो भने: “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो सो जान्‍नसकूँ भनेर परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेहरूलाई झैं सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्छ।” मुख्य कुरा, चाहे जुनसुकै समय होस्‌, अध्ययन गर्दा र यहोवासँग कुराकानी गर्दा हामी मानसिक तवरमा चनाखो भएको हुनुपर्छ।—यशैया ५०:४, ५; भजन ५:३; ८८:१३.

३. प्रभावकारी अध्ययनको लागि कस्तो अवस्था हुनु राम्रो हो?

प्रभावकारी अध्ययन गर्ने अर्को उपाय हो, हामी आरामदायी कुर्सी वा सोफामा बस्नु हुँदैन। यसरी बस्दा हामी चनाखो रहन सक्दैनौं। अध्ययन गर्दा हाम्रो मन उत्सुक हुनुपर्छ तर एकदमै आरामदायी तरिकामा बस्दा त्यसो हुन पाउँदैन। साथै, अध्ययन र मननको लागि शान्त र कुनै हल्लाखल्ला नभएको वातावरण हुनु राम्रो हो। रेडियो, टिभी वा तपाईंको ध्यान खलबल्याउने बच्चाहरूसामु पढ्‌दा असल नतिजा प्राप्त गर्न सकिंदैन। येशू, मनन गर्नुपर्दा एकान्त ठाउँमा जानुहुन्थ्यो। उहाँले एकान्तमा प्रार्थना गर्नुको महत्त्वबारे पनि बताउनुभयो।—मत्ती ६:६; १४:१३; मर्कूस ६:३०-३२.

जवाफ दिन हामीलाई सुसज्जित पार्ने व्यक्‍तिगत अध्ययन

४, ५. चाहनुहुन्छ पुस्तिकाले कसरी व्यावहारिक मदत दिन्छ?

विशेष गरी हामीले कसैले सोधेका निष्कपट प्रश्‍नहरूको जवाफ दिनुपर्दा, त्यस विषयमा अझ गहिरिएर खोजी गर्नको लागि विभिन्‍न बाइबल सहायकहरू प्रयोग गरेर गरिएको व्यक्‍तिगत अध्ययन सन्तोषजनक हुन्छ। (१ तिमोथी १:४; २ तिमोथी २:२३) सुरुमा, थुप्रै नयाँ व्यक्‍तिहरूले हाल २६१ भाषामा उपलब्ध परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? a पुस्तिकाबाट अध्ययन गरिरहेका छन्‌। यो पूर्णतया बाइबल आधारित, एकदमै सरल अनि स्पष्ट प्रकाशन हो। यसले पाठकहरूलाई साँचो उपासनाको लागि परमेश्‍वर के चाहनुहुन्छ भनी तुरुन्तै बुझ्न मदत गर्छ। तथापि, हरेक विषयमा विस्तृत अध्ययन गर्नको लागि भने यो पर्याप्त छैन। त्यसकारण, तपाईंका बाइबल विद्यार्थीले छलफल गरिंदै गरेका बाइबल विषयहरूबारे गहिरा प्रश्‍नहरू उठाएमा तिनको प्रश्‍नको जवाफ दिन तपाईं थप जानकारीहरू कहाँ पाउन सक्नुहुन्छ?

आफ्नो भाषाको वाचटावर लाइब्रेरी सिडि-रोममा छ भने, तिनीहरूले कम्प्युटरमार्फत सजिलै अपार जानकारी पाउन सक्छन्‌। तर यी सामग्रीहरू उपलब्ध नहुने व्यक्‍तिहरूले नि? विशेष गरी, कसैले परमेश्‍वर को हुनुहुन्छ र येशू साँच्चै कस्तो खालको व्यक्‍ति हुनुहुन्थ्यो भन्‍नेजस्ता प्रश्‍नहरू उठाएमा हामी कसरी आफ्नो समझ अझ बढाउन र यस्ता प्रश्‍नहरूको विस्तृत जवाफ दिन सक्छौं भनी बुझ्न चाहनुहुन्छ पुस्तिकामा छलफल गरिएका दुईवटा विषयहरूबारे छलफल गरौं।—प्रस्थान ५:२; लूका ९:१८-२०; १ पत्रुस ३:१५.

परमेश्‍वर को हुनुहुन्छ?

६, ७. (क) परमेश्‍वरबारे कस्तो प्रश्‍न खडा हुन्छ? (ख) एक जना पादरीले आफ्नो भाषणमा कुन महत्त्वपूर्ण कुरा छुटाए?

चाहनुहुन्छ पुस्तिकाको पाठ २ ले परमेश्‍वर को हुनुहुन्छ भन्‍ने महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिन्छ। यो आधारभूत बुँदा हो किनकि कसैलाई उहाँ को हुनुहुन्छ भन्‍ने थाह छैन वा उहाँको अस्तित्वबारे नै शंका छ भने उसले साँचो परमेश्‍वरको उपासना गर्न सक्दैन। (रोमी १:१९, २०; हिब्रू ११:६) तर परमेश्‍वर को हुनुहुन्छ भन्‍नेबारे संसारभरका मानिसहरूको फरक-फरक विचारधारहरू छन्‌। (१ कोरिन्थी ८:४-६) परमेश्‍वरको परिचयबारे हरेक धर्मदर्शनले भिन्‍ना-भिन्‍नै जवाफ दिन्छन्‌। मसीहीजगत्‌का प्रायजसो धर्महरूले परमेश्‍वरलाई त्रिएकको रूपमा हेर्छन्‌। संयुक्‍त राज्य अमेरिकाका एक जना प्रमुख पादरीले “के तपाईं परमेश्‍वरलाई चिन्‍नुहुन्छ?” भन्‍ने विषयमा भाषण दिए र तिनले कयौं पटक हिब्रू धर्मशास्त्रबाट उद्धरण गरे तापनि आफ्नो भाषणमा एक पटक पनि परमेश्‍वरको नाउँ उल्लेख गरेनन्‌। निस्सन्देह, तिनले यहोवा वा यहवे लेखिएको बाइबल अनुवादको सट्टा धेरै अर्थ लाग्ने र नाउँ नै प्रस्ट नहुने गरी “परमप्रभु” वा “प्रभु” लेखिएको अनुवादचाहिं चलाए।

यी पादरीले यर्मिया ३१:३३, ३४ उद्धरण गर्दा, तिनले महत्त्वपूर्ण बुँदा नै छुटाए: “कसैले आफ्नो छिमेकीलाई वा दाज्यूभाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, ‘परमप्रभुलाई चिन’ [हिब्रू, “यहोवालाई चिन”], किनभने सानादेखि ठूलासम्म सबैले मलाई चिन्‍नेछन्‌।” तिनले प्रयोग गरेको अनुवादमा अरूभन्दा भिन्‍नै छुट्टिने ईश्‍वरीय नाउँ, यहोवा [“यहवे,” पादटिप्पणी] मेटाइएको थियो।—प्रस्थान ६:३.

८. परमेश्‍वरको नाउँ प्रयोग गर्नुको महत्त्व केले प्रकाश पार्छ?

यहोवाको नाउँ प्रयोग गर्नु किन यति धेरै महत्त्वपूर्ण छ भनी भजन ८:९NW] ले प्रकाश पार्छ: “हे यहोवा हाम्रा प्रभु, समस्त पृथ्वीभरि तपाईंको नाउँ कति गौरवमय छ!” तर कतिपय बाइबल अनुवादहरूमा भने यसो भनिएको छ: “हे प्रभो, हाम्रा परमप्रभु, समस्त पृथ्वीभरि तपाईंको नाउँ कति उत्तम छ!” (नयाँ संशोधित संस्करण पनि हेर्नुहोस्‌) तथापि, अघिल्लो लेखमा बताइएझैं परमेश्‍वरको वचनको ज्योति आफूमाथि चम्कन दियौं भने हामीले “परमेश्‍वरको ज्ञान” प्राप्त गर्नेछौं। तर कुन बाइबल अध्ययन सहायकले ईश्‍वरीय नाउँको महत्त्वबारे हाम्रा प्रश्‍नहरूको जवाफ सजिलै दिन्छ?—हितोपदेश २:१-६.

९. (क) हामीलाई कुन प्रकाशनले ईश्‍वरीय नाउँ प्रयोग गर्नुको महत्त्वबारे बुझाउन मदत गर्न सक्छ? (ख) कसरी थुप्रै अनुवादकहरू परमेश्‍वरको नाउँप्रति सम्मान देखाउन चुकेका छन्‌?

हामी १३१ भाषामा अनुवाद गरिएको पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक हेर्न सक्छौं। b “परमेश्‍वरउहाँ को हुनुहुन्छ?” भन्‍ने शीर्षक भएको चौथो अध्यायले (पृष्ठ ४१-४४, अनुच्छेद १८-२४) पुरातन हिब्रू पदहरूमा हिब्रू टेट्राग्रामाटन (युनानी अर्थ “चार अक्षर”) लगभग ७,००० पटक देखा पर्छ भनी स्पष्टसँग देखाउँछ। तथापि, यहूदीधर्म र मसीहीजगत्‌का पादरी तथा अनुवादकहरूले तिनीहरूका अधिकांश बाइबल अनुवादहरूबाट यसलाई जानाजानी हटाइदिएका छन्‌। c तिनीहरू परमेश्‍वरलाई पुकार्दा उहाँको नाउँसमेत प्रयोग गर्न चाहँदैनन्‌ भने, तिनीहरूले कसरी परमेश्‍वरलाई चिनेको र उहाँको अनुमोदन प्राप्त सम्बन्ध भएको दाबी गर्न सक्छन्‌ र? उहाँको साँचो नाउँले उहाँका उद्देश्‍यहरू के-के हुन्‌ र उहाँ को हुनुहुन्छ भनी बुझ्ने ढोका खोलिदिन्छ। साथै, परमेश्‍वरको नाउँ नै प्रयोग नगर्ने हो भने, येशूको आदर्श प्रार्थना “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌” भन्‍ने भागको के नै अर्थ रह्‍यो र?—मत्ती ६:९; यूहन्‍ना ५:४३; १७:६.

येशू ख्रीष्ट को हुनुहुन्छ?

१०. हामी येशूको जीवन र सेवकाईबारे पूर्ण विवरण कसरी थाह पाउन सक्छौं?

१० चाहनुहुन्छ पुस्तिकाको पाठ ३ को विषय हो, “येशू ख्रीष्ट को हुनुहुन्छ?” यसले जम्मा छवटा अनुच्छेदमा नै येशूको परिचय, उहाँको सुरुवात र उहाँ पृथ्वीमा आउनुको उद्देश्‍यबारे संक्षिप्तमा बताउँछ। तथापि, तपाईं उहाँको जीवनीबारे पूर्णतया जान्‍न चाहनु हुन्छ भने, सुसमाचारका पुस्तकको विवरणबाहेक, १११ भाषामा उपलब्ध आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष जति अत्युत्तम साधन अरू कुनै छैन। चारवटा सुसमाचारका पुस्तकहरूमा आधारित यो पुस्तकले येशूको जीवन र शिक्षाबारे पूर्ण ऐतिहासिक विवरण दिन्छ। यसका १३३ वटा अध्यायले येशूको जीवन र सेवकाईका घटनाहरूलाई समेट्‌छ। अर्को बेग्लै शैली अर्थात्‌ विश्‍लेषणात्मक शैलीमा बुझ्न चाहनुहुन्छ भने, तपाईं इन्साइट, खण्ड २ मा “येशू ख्रीष्ट” भन्‍ने शीर्षकअन्तर्गत हेर्न सक्नुहुन्छ।

११. (क) येशूमाथिको विश्‍वासको सन्दर्भमा यहोवाका साक्षीहरू कसरी भिन्‍न छन्‌? (ख) त्रिएकको सिद्धान्तलाई स्पष्टसित खण्डन गर्ने केही बाइबल पदहरू कुन-कुन हुन्‌ र यस सन्दर्भमा कुन प्रकाशन मदतकारी छ?

११ मसीहीजगत्‌को विवाद येशू “परमेश्‍वरको पुत्र”-का साथै “पुत्र परमेश्‍वर” हुनुहुन्छ वा हुनुहुन्‍न भन्‍ने विषयमा केन्द्रित छ। अर्को शब्दमा भन्‍ने हो भने, क्याटेकिज्म अफ द क्याथोलिक चर्च-ले “मसीही सिद्धान्तको प्रमुख रहस्य” भनेर बताएको त्रिएकबारे नै विवाद छ। तथापि, मसीहीजगत्‌का धर्महरूको विपरीत यहोवाका साक्षीहरू भने, येशूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो तर उहाँ नै परमेश्‍वर भने हुनुहुन्‍न भनी विश्‍वास गर्छन्‌। यस विषयको उत्कृष्ट छलफल ९५ भाषाहरूमा अनुवाद गरिएको शुड यु विलिभ इन द ट्रिनिटी? पुस्तिकामा पाइन्छ। d त्रिएकको सिद्धान्तलाई खण्डन गर्न यसमा चलाइएका कयौं शास्त्रपदहरूमध्ये मर्कूस १३:३२; १ कोरिन्थी १५:२४, २८ पनि हुन्‌।

१२. हामीले कस्ता थप प्रश्‍नहरूबारे ध्यान दिनु आवश्‍यक छ?

१२ परमेश्‍वर र येशूबारे माथि गरिएको छलफलले हामी कसरी बाइबल सत्यबारे थाह नभएका व्यक्‍तिहरूलाई सही ज्ञान भेट्टाउन मदत दिने हेतुले व्यक्‍तिगत अध्ययन गर्न सक्छौं भनी प्रकाश पार्छ। (यूहन्‍ना १७:३) तथापि, वर्षौंदेखि मसीही मण्डलीसँग संगत गर्दै आएकाहरूबारे नि? तिनीहरूमा बाइबल ज्ञानको भण्डार भए तापनि के तिनीहरूले अझै पनि यहोवाको वचनको व्यक्‍तिगत अध्ययनमा ध्यान दिनुपर्छ?

किन ‘होसियार रहनुपर्ने’?

१३. व्यक्‍तिगत अध्ययनको सन्दर्भमा कसै-कसैको कस्तो गलत दृष्टिकोण हुन सक्छ?

१३ मसीही मण्डलीको सदस्य भएको थुप्रै वर्ष भइसकेका कोही-कोहीमा यहोवाको साक्षीको हैसियतमा आफूले सुरु-सुरुमा हासिल गरेको बाइबल ज्ञानमै चित्त बुझाएर बस्ने बानी हुन सक्छ। यस्तो तर्क गर्न सजिलो हुन्छ: “मैले नयाँहरूले जत्तिको गम्भीरतासाथ अध्ययन गर्नु पर्दैन। साँच्चै भन्‍ने हो भने, वर्षौंको दौडान मैले कति हो कति पटक बाइबल र बाइबल आधारित प्रकाशनहरू पढिसकें।” यो त यसो भन्‍नु बराबरै हो: “मैले अहिले आफ्नो खानपीनमा त्यत्ति ध्यान दिनुपर्दैन किनभने जति ध्यान दिनुपर्ने थियो मैले पहिल्यै दिइसकें।” हामीलाई थाह छ, हाम्रो शरीरलाई स्वस्थ र स्फूर्त राख्न पोषिलो र राम्रोसित तयार पारिएको खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ। त्यसोभए, हाम्रो आध्यात्मिक स्वास्थ्य र बल कायम राखिरहन यो झनै कत्ति महत्त्वपूर्ण छ होला!—हिब्रू ५:१२-१४.

१४. हामी किन आफूबारे सधैं होसियार रहनुपर्छ?

१४ त्यसकारण चाहे हामी लामो समयदेखिका बाइबल विद्यार्थीहरू होऔं वा भर्खरका, हामीले प्रेरित पावलले परिपक्व र जिम्मेवार निरीक्षक भइसकेका तिमोथीलाई दिएको सल्लाह पालन गर्नुपर्छ: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१५, १६) हामीले किन पावलको सल्लाहलाई हृदयंगम गर्नुपर्छ? नबिर्सनुहोस्‌, पावलले हाम्रो लडाइँ “शैतानका युक्‍तिहरूका [धूर्त कामहरू] विरुद्धमा” र “स्वर्गीय स्थानहरूमा दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्धमा” हो भनी औंल्याए। साथै, प्रेरित पत्रुसले पनि दियाबल “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर” “खोजेर हिंड्‌छ” भनी चेतावनी दिए। अनि त्यसले “कसलाई भेट्टाऊँ” भनेर खोजेको व्यक्‍ति हामीमध्ये जोसुकै पनि पर्न सक्छ। कुनै खतरा आइपर्दैन होला भनेर हामी निर्धक्क हुनु नै त्यसले खोजेजस्तै मौका हुन सक्छ।—एफिसी ६:११, १२; १ पत्रुस ५:८.

१५. हामीसँग कस्तो आध्यात्मिक बचावटको साधन छ र हामी यसको स्याहार-सम्भार कसरी गर्न सक्छौं?

१५ त्यसोभए, हामीसँग कस्तो बचावटको साधन छ त? प्रेरित पावल हामीलाई यसरी सम्झाउँछन्‌: “परमेश्‍वरका सारा हात-हतियार उठाओ, र खराब दिनमा सामना गर्न र सबै काम गरेर खड़ा हुनसक्ने होओ।” (एफिसी ६:१३) त्यो आध्यात्मिक हात-हतियारको प्रभावकारिता, सुरुमा यो कुन अवस्थामा थियो त्यसमा मात्र होइन तर यसको नियमित स्याहार-सम्भारमा पनि भर पर्छ। त्यसकारण, परमेश्‍वरका सारा हात-हतियारमा परमेश्‍वरको वचनको नवीनतम ज्ञान पनि समावेश गर्नै पर्छ। यसले, यहोवाले आफ्नो वचन तथा विश्‍वासी र बुद्धिमान्‌ दास वर्गद्वारा खुलस्त पार्नुहुने सच्चाइको नवीनतम समझबारे परिचित हुनुको महत्त्व दर्शाउँछ। हाम्रो आध्यात्मिक हात-हातियारको स्याहार-सम्भारको लागि नियमित रूपमा बाइबल तथा बाइबल प्रकाशनहरूको व्यक्‍तिगत अध्ययन गर्नु महत्त्वपूर्ण छ।—मत्ती २४:४५-४७; एफिसी ६:१४, १५.

१६. हाम्रो “विश्‍वासको ढाल[लाई]” दुरुस्त राख्न हामी के गर्न सक्छौं?

१६ पावल हाम्रो सुरक्षात्मक हात-हतियारको अत्यावश्‍यक भाग, “विश्‍वासको ढाल[बारे]” प्रकाश पार्छन्‌, जसद्वारा हामी झूटा आरोप र धर्मत्यागी शिक्षाहरूको शैतानको अग्निबाणलाई तर्काउन र निभाउन सक्छौं। (एफिसी ६:१६) त्यसकारण, हाम्रो विश्‍वासको ढाल कत्तिको बलियो छ र यसको स्याहार-सम्भार गर्न तथा यसलाई बलियो बनाउन हामीले के गरेका छौं भनी जाँच्नु अत्यावश्‍यक छ। उदाहरणका लागि, तपाईं यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘म साप्ताहिक बाइबल अध्ययनको लागि प्रहरीधरहरा प्रयोग गर्दै कसरी तयारी गर्छु? के मैले सभाहरूको दौडान राम्ररी सोचविचार गरिएको जवाफ दिएर अरूलाई “प्रेम र सुकर्ममा उत्तेजित” गराउन सक्ने गरी अध्ययन गरेको छु? के म उल्लेख गरिएका तर उद्धृत नगरिएका शास्त्रपदहरू बाइबल खोलेर पढ्‌छु? सभाहरूमा उत्साहपूर्वक भाग लिएर के म अरूलाई प्रोत्साहन दिन्छु? हाम्रो आध्यात्मिक खाना खँदिलो खानेकुरा भएकोले यसबाट पूर्णतया लाभ उठाउने हो भने हामीले यसलाई पूर्ण रूपमा पचाउनुपर्छ।—हिब्रू ५:१४; १०:२४.

१७. (क) हाम्रो आध्यात्मिकतालाई कमजोर बनाउने कोसिस गर्न शैतानले कस्तो विष प्रयोग गरिरहेको छ? (ख) शैतानको विषलाई केले प्रतिरोध गर्छ?

१७ शैतानलाई पतित शरीरका कमजोरीहरूबारे थाह छ र त्यसका धुर्त्याइँहरू कपटपूर्ण हुन्छन्‌। त्यसले आफ्नो खराब प्रभाव फैलाउने एउटा तरिका, टिभी, इन्टरनेट, भिडियो र मुद्रित प्रकाशनहरूमा अश्‍लील कुराहरू सजिलै उपलब्ध गराएर हो। कतिपय मसीहीहरूले यस विषले आफ्नो कमजोर बचावटको साधनलाई तोड्‌न दिएर मण्डलीका सुअवसरहरू गुमाएका छन्‌ वा त्योभन्दा पनि अझ गम्भीर नतिजासमेत भोगेका छन्‌। (एफिसी ४:१७-१९) शैतानको आध्यात्मिक विषको प्रतिरोध कसरी गर्न सकिन्छ? हामीले व्यक्‍तिगत बाइबल अध्ययन, मसीही सभाहरू र परमेश्‍वरको सारा हात-हतियारलाई बेवास्ता गर्नु हुँदैन। यी सबैले हामीलाई असल र खराबबीचको भिन्‍नता छुट्याउन र परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्न समर्थ बनाउँछ।—भजन ९७:१०; रोमी १२:९.

१८. हाम्रो आध्यात्मिक लडाइँमा “आत्माको तरवार[ले]” कसरी मदत गर्न सक्छ?

१८ हामीले नियमित तवरमा बाइबल अध्ययन गर्ने बानी बसाल्यौं भने, परमेश्‍वरको वचनको ज्ञानको कारण हामीले भरपर्दो सुरक्षा मात्र प्राप्त गर्नेछैनौं तर “आत्माको तरवार जो चाहिं परमेश्‍वरको वचन हो” त्यसद्वारा प्रभावकारी आक्रमण पनि गर्न सक्नेछौं। परमेश्‍वरको वचन “कुनै दुइ-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड़ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (एफिसी ६:१७; हिब्रू ४:१२) हामी यो “तरवार” प्रयोग गर्न सिपालु भयौं भने प्रलोभनहरूको सामना गर्नुपर्दा, अहानिकारक र रमाइलोजस्तो देखिने कुराहरूको पछाडि लुकेको, त्यस दुष्टको मृत्युजन्य पासो पहिल्याउन सक्छौं। बाइबल ज्ञान तथा समझको हाम्रो भण्डारले हामीलाई खराब कामहरूलाई तिरस्कार गर्न र असल काम गर्न मदत गर्नेछ। त्यसकारण हामी सबैले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘मेरो तरवार भरपर्दो छ वा खिया लगिसकेको छ? के मलाई आक्रमण अझ सुदृढ बनाउन सक्ने बाइबल पदहरू सम्झन गाह्रो पर्छ?’ हामी व्यक्‍तिगत बाइबल अध्ययन गर्ने आफ्नो राम्रो बानी कायमै राखेर दियाबलको प्रतिरोध गरौं।—एफिसी ४:२२-२४.

१९. व्यक्‍तिगत अध्ययन गऱ्‍यौं भने हामीले कस्ता लाभहरू प्राप्त गर्न सक्छौं?

१९ पावलले यस्तो लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।” तिमोथीलाई दिइएको उक्‍त सल्लाह हृदयंगम गऱ्‍यौं भने हामीले आफ्नो आध्यात्मिकता बलियो बनाउनुका साथै हाम्रो सेवकाईलाई अझ प्रभावकारी बनाउन सक्छौं। आध्यात्मिक प्राचीन तथा सेवकाई सेवकहरूले मण्डलीमा ठूलो लाभ पुऱ्‍याउन सक्छन्‌ र हामी सबै विश्‍वासमा दृढ रहन सक्छौं।—२ तिमोथी ३:१६, १७; मत्ती ७:२४-२७.

[फुटनोटहरू]

a साधारणतया, नवजिज्ञासुहरूले चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन सिद्धिएपछि ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकबाट अध्ययन गर्छन्‌। यी दुवै यहोवाका साक्षीहरूद्वारा प्रकाशित हुन्‌। यहाँ दिइएका सुझावहरूले आध्यात्मिक प्रगतिका अवरोधहरू हटाउन मदत गर्नेछन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित। आफ्नै भाषामा इन्साइट अन द स्क्रिप्चर्स भएकाहरूले खण्ड २ मा “यहोवा” शीर्षकअन्तर्गत हेर्न सक्छन्‌।

c कतियप स्पेनिश र क्याटालोनियन अनुवादहरू भने यसका अपवाद हुन्‌। किनभने तिनीहरूले हिब्रू ट्रेटाग्रामाटनलाई “याभे,” “याहवे,” “जाहवे” र “जेहोभा” भनी अनुवाद गरेका छन्‌।

d यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईंले सम्झनुभएको छ?

• कस्तो परिस्थितिमा व्यक्‍तिगत अध्ययन गर्नु प्रभावकारी हुन्छ?

• परमेश्‍वरको नाउँको सन्दर्भमा थुप्रै बाइबल अनुवादहरूले कस्तो गल्ती गरेका छन्‌?

• त्रिएकको सिद्धान्तलाई खण्डन गर्न तपाईं कुन-कुन बाइबल पदहरू चलाउनुहुनेछ?

• हामी साँचो मसीहीहरू भएको वर्षौं भइसके तापनि आफूलाई शैतानका युक्‍तिहरूदेखि जोगाउन के गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

प्रभावकारी अध्ययनको लागि आफ्नो ध्यान खलबल्याउने कुराहरू सकेसम्म कम भएको उपयुक्‍त वातावरण चाहिन्छ

[पृष्ठ २३-मा भएको चित्र]

तपाईंको “तरवार” भरपर्दो छ वा खिया लागिसकेको छ?