सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको जन्म—कसरी र किन भयो

येशूको जन्म—कसरी र किन भयो

येशूको जन्म—कसरी र किन भयो

“असम्भव!” येशूको जन्मको विवरण सुनिसकेपछि धेरै गैर-मसीहीहरूले यसो भन्लान्‌। यौन सम्बन्ध नै नराखी एउटी कुमारी केटीले गर्भधारण गरेर एक जना पुत्रलाई जन्माउन सक्छे भनी विश्‍वास गर्नु बिलकुलै अवैज्ञानिक कुरा हो भन्‍ने तिनीहरूलाई लाग्छ। तपाईंलाई कस्तो लाग्छ?

सन्‌ १९८४ मा द टाइम्स अफ लण्डन-ले यस विषयमा तर्क गर्दै एउटा पत्र प्रकाशित गऱ्‍यो: “चमत्कारलाई गलत साबित गर्न विज्ञानको प्रयोग गर्नु तर्कसंगत कुरा होइन। चमत्कार हुन सक्दैन भनेर विश्‍वास गर्नु भनेको चमत्कार हुन सक्छ भनेर विश्‍वास गर्नु जत्तिकै हो।” यस पत्रमा बेलाइती विश्‍वविद्यालयहरूका १४ जना विज्ञानका प्राध्यापकहरूले हस्ताक्षर गरेका थिए। तिनीहरूले यसो भने: “हामी कुमारीबाट जन्म, सुसमाचारको पुस्तकका चमत्कारहरू र ख्रीष्टको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा खुसीसाथ स्वीकार्छौं।”

यद्यपि, येशूको जन्म कुमारीबाट भएको हो भन्‍ने विवरण पहिलो पटक सुन्दा कुनै पनि व्यक्‍ति चकित पर्न सक्छ। परमेश्‍वरको स्वर्गदूतले यसो भन्दा येशूकी कुमारी आमा स्वयम्‌ पनि आश्‍चर्यचकित भइन्‌: “अब हेर, तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू।” यसको प्रत्युत्तरमा मरियमले यस्तो प्रश्‍न सोधिन्‌: “यो कसरी होला? किनकि मेरो विवाह भएको छैन।” त्यसपछि परमेश्‍वरले आफ्नो पवित्र आत्माद्वारा यो चमत्कार गर्नुहुनेछ भनी बताउँदै स्वर्गदूतले यसो भने: ‘परमेश्‍वरतर्फबाट हुने केही कुरो असम्भव हुँदैन।’ (लूका १:३१, ३४-३७) निस्सन्देह, विस्मयकारी मानव प्रजनन प्रणालीका रचनाकारको लागि एउटी नबिटुलिएकी कुमारीको गर्भधारण गराउनु र त्यस कुमारीबाट येशूको जन्म गराउनु कुनै ठूलो कुरो होइन। यदि विश्‍व ब्रह्‍माण्ड र यसका सुव्यवस्थित नियमहरू सृष्टि गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ भने उहाँले एक जना सिद्ध मानव पुत्रको जन्मको लागि मरियमको डिम्बाशयको डिम्ब पनि प्रयोग गर्न सक्नुहुन्थ्यो।

यो किन आवश्‍यक थियो

ईश्‍वरभीरु पुरुष यूसुफको मरियमसित मगनी हुँदा मरियमले गर्भधारण गरेकी थिइन्‌। सपनामा परमेश्‍वरको स्वर्गदूतले यूसुफलाई तिनकी भावी कुमारी दुलही गर्भवती हुनुको अद्‌भुत कारणबारे बताए। स्वर्गदूतले यसो भने: “तिम्री पत्नी मरियमलाई तिमीकहाँ ल्याउनालाई नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाटकै हुनुहुन्छ। औ तिनले एउटा पुत्र जन्माउनेछन्‌, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” (मत्ती १:२०, २१) हिब्रू भाषामा येशू नाउँको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।” यसले पाप र मृत्युबाट हामी सबैलाई मुक्‍ति चाहिन्छ र यहोवाले येशूमार्फत यस मुक्‍तिको प्रबन्ध गर्नुहुनेछ भन्‍ने कुराको सम्झना दिलाउँछ।

प्रथम पुरुष आदमले पाप गरेको हुनाले तिनका सबै सन्ततिहरू असिद्ध जन्मिए र परमेश्‍वरको व्यवस्था भंग गर्ने झुकाव तिनीहरूको थियो। (रोमी ५:१२) आदमका सन्ततिहरूले कसरी पापबाट जोगिन अनि सिद्धता हासिल गर्न सक्थे? न्यायको तराजुलाई बराबर गर्न आदमको मूल्य बराबरको अर्को सिद्ध मानवले जीवनको मूल्य चुकाउनु पर्थ्यो। त्यसैकारण परमेश्‍वरले सिद्ध पुरुष येशूको चमत्कारी ढंगबाट जन्म गराउनुभयो अनि येशूले आफ्नो प्राण आफ्ना शत्रुहरूको हातमा सुम्पिदिनुभयो। (यूहन्‍ना १०:१७, १८; १ तिमोथी २:५, ६) आफ्नो पुनरुत्थान पश्‍चात्‌ स्वर्गमा जानुहुँदा येशूले निर्धक्कसाथ यसो भन्‍न सक्नुभयो: “म मरेको थिएँ, हेर, म सधैंको निम्ति जीवित छु, औ मृत्यु र पातालका [“हेडिस,” NW] [मानिसजातिको सामान्य चिहान] साँचाहरू मसँग छन्‌।”—प्रकाश १:१८.

मृत्यु र हेडिसका लाक्षणिक साँचाहरू प्राप्त गरिसक्नुभएपछि येशूले पापी मानवहरूको लागि आदमले गुमाएको सब थोक हासिल गर्ने बाटो खोलिदिनुहुन्छ। येशूले यसो भन्‍नुभयो: “पुनरुत्थान र जीवन मै हुँ, मलाई विश्‍वास गर्ने मऱ्‍यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्‍वास गर्ने प्रत्येक कहिल्यै पनि मर्नेछैन।” (यूहन्‍ना ११:२५, २६) कस्तो अद्‌भुत प्रतिज्ञा! अनि येशूको जन्म हुनुमा अझै ठूलो कारण विथोलित छ।

सबैभन्दा महत्त्वपूर्ण कारण

मरियमको गर्भमा रहेको येशूको भ्रूण नै उहाँको जीवनको सुरुवात थिएन। उहाँले स्पष्टसित यसो भन्‍नुभयो: “म . . . स्वर्गबाट ओर्लिआएको हुँ।” (यूहन्‍ना ६:३८) सृष्टिको सुरुदेखि नै येशू आफ्ना स्वर्गमा बस्नुहुने पितासित आत्मिक संसारमा बस्नुहुन्थ्यो। वास्तवमा, बाइबलले उहाँलाई “परमेश्‍वरको सृष्टिको सुरु” भनी वर्णन गर्छ। (प्रकाश ३:१४, NW) स्वर्गबाट येशूले परमेश्‍वरको शासन विरुद्ध प्रथम मानवहरूलाई उक्साउने दुष्ट स्वर्गदूतको विद्रोहलाई प्रत्यक्ष देख्नुभयो। यस घटना नै येशूको लागि परमेश्‍वरको सिद्ध मानव पुत्रको रूपमा जन्मनुपर्ने सर्वमहत्त्वपूर्ण कारण बन्यो। त्यो कारणचाहिं के थियो?

आफ्नो स्वर्गमा बस्नुहुने पिताको यस ब्रह्‍माण्डमा शासन गर्ने अधिकार छ भनेर प्रमाणित गर्नुपर्ने थियो। पृथ्वीमा हुँदा जन्मदेखि मृत्युसम्म विश्‍वासी रहनुभएर येशूले यहोवाको शासन पद्धतिको अधीनमा बस्ने इच्छुकता देखाउनुभयो। परमेश्‍वरका शत्रुहरूका हातबाट आफ्नो मृत्यु हुनुअघि उहाँले स्वेच्छापूर्वक जीवन बलिदान दिन चाहेको कारण स्पष्टसित बताउनुभयो। आफूले पितालाई प्रेम गर्छु भनेर सारा संसारले जानोस्‌ भन्‍ने हेतुले यसो गरेको भनेर उहाँले बताउनुभयो। (यूहन्‍ना १४:३१) यदि प्रथम दुई मानवहरू आदम र हव्वाले यस्तो प्रेम विकास गरेको भए तिनीहरूले सजिलो परीक्षामै आफूलाई विश्‍वासी साबित गर्न सक्थे।—उत्पत्ति २:१५-१७.

साथै, येशूको निष्ठाले दुष्ट स्वर्गदूत शैतानलाई झूटा साबित गऱ्‍यो। शैतानले स्वर्गमा रहेका स्वर्गदूतहरूको सामु यसो भनेर परमेश्‍वर र मानिसलाई झूटा लाञ्छना लगायो: “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यूब २:१, ४) शैतानले, सारा मानवजातिले आफ्नो ज्यान बचाउन परमेश्‍वरको आज्ञा उल्लंघन गर्नेछन्‌ भन्‍ने गलत आरोप लगायो।

माथि उल्लिखित विवादहरूले परमेश्‍वरको शासनको वैध अधिकारलाई चुनौती दियो। यी विवादहरूलाई टुंगो लगाउन येशू मानवको रूपमा जन्मन अनि मृत्युसम्मै आफूलाई विश्‍वासी प्रमाणित गर्न इच्छुक हुनुहुन्थ्यो।

त्यसैले, पृथ्वीमा आफ्नो जन्मको मुख्य कारणबारे येशू स्वयम्‌ले यसो भन्‍नुभयो: “त्यसैको [सत्यको] निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७) उहाँले वचन र कार्य दुवैले परमेश्‍वरको शासन पूर्णतया ठीक छ र यसको अधीनमा बस्दा स्थायी आनन्द प्राप्त हुन्छ भनी प्रदर्शन गरेर देखाउनुभयो। आफ्नो मानव जीवन “धेरैका छुटकाराको मोलको निम्ति” अर्पण गर्न अर्थात्‌ पापी मानवजातिहरूको लागि सिद्धता र अनन्त जीवन हासिल गर्ने बाटो खोल्न उहाँ यस पृथ्वीमा आउनुभएको हो भनेर पनि उहाँले बताउनुभयो। (मर्कूस १०:४५, नयाँ संशोधित संस्करण) यी अत्यन्तै महत्त्वपूर्ण कुरा मानिसजातिले बुझ्नुपर्ने भएकोले येशूको जन्मको विवरण अत्यावश्‍यक थियो। यसको अतिरिक्‍त, येशू जन्मनुहुँदा घटेका घटनाहरूमा अन्य महत्त्वपूर्ण पाठहरू पनि लुकेका छन्‌ जसबारे अर्को लेखमा छलफल गरिनेछ।

[पृष्ठ ४-मा भएका चित्रहरू]

आदमका सन्ततिहरूलाई पापबाट कसरी बचाउन सकिन्थ्यो?