सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“जागा रहो”!

“जागा रहो”!

“जागा रहो”!

“जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ”—मर्कूस १३:३७.

१, २. (क) आफ्नो सम्पत्तिलाई सुरक्षित राख्नेबारे एक जना मानिसले कस्तो पाठ सिके? (ख) एउटा चोरबारे येशूले दिनुभएको दृष्टान्तबाट, हामी जागा रहनेबारे के सिक्छौं?

 जुआनले आफ्ना बहुमूल्य वस्तुहरू घरैमा राखे। तिनले ती सबै चीजहरू आफ्नो खाटमुनि राखेका थिए। तिनको विचारमा यो नै तिनको घरको सबैभन्दा सुरक्षित ठाउँ थियो। तथापि, एक रात, जुआन र तिनकी पत्नी सुतिरहेको बेला सुत्ने कोठाभित्र चोर छिऱ्‍यो। स्पष्टतः त्यस चोरलाई बहुमूल्य वस्तुहरूको लागि कहाँ हेर्नुपर्छ भन्‍ने थाह थियो। त्यसले खाटमुनिबाट सबै बहुमूल्य वस्तुहरू झिक्यो। साथै जुआनले खाटको छेउमै रहेको टेबलको घर्रामा राखेका पैसा पनि सुटुक्क निकाल्यो। बिहान भएपछि, जुआनले चोरी भएको कुरा थाह पाए। तिनले यस घटनाबाट सिकेको यो तीतो पाठ हतपती बिर्सने छैनन्‌: निदाएको मान्छेले आफ्नो सम्पत्तिको रक्षा गर्न सक्दैन।

आध्यात्मिक अर्थमा पनि यो कुरा लागू हुन्छ। हामी निदायौं भने हामीले आफ्नो आशा र विश्‍वासलाई सुरक्षित राख्न सक्दैनौं। त्यसकारण, पावल यस्तो आग्रह गर्छन्‌: “अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” (१ थिस्सलोनिकी ५:६) जागा रहनु कत्तिको महत्त्वपूर्ण छ भनी देखाउन येशूले एउटा चोरको दृष्टान्त चलाउनुभयो। आफू न्यायकर्ताको रूपमा आउनुअघि हुने घटनाहरूबारे वर्णन गरिसकेपछि, उहाँले यस्तो चेतावनी दिनुभयो: “यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ। तर यो जान, कि घरको मालिकले चोर कुन पहरमा आउँछ भनी जानेको भए, उ जागो रहनेथियो, र आफ्नो घर फोरिन दिने थिएन। यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४२-४४) चोरले आफू आउनुअघि खबर पठाउँदैन। ऊ कसैले नचिताएको बेला आउँछ। त्यसै गरी, येशूले भन्‍नुभएझैं यस रीतिरिवाजको अन्त पनि ‘हामीले नचिताएको बेलामा हुनेछ।’

“होशियार बस, विश्‍वासमा दृढ भइबस”

३. विवाह भोजबाट फर्किने आफ्ना मालिकलाई पर्खिरहेका दासहरूको दृष्टान्त चलाउँदै येशूले जागा रहनुपर्ने महत्त्व कसरी देखाउनुभयो?

लूकाको सुसमाचारको पुस्तकमा लिपिबद्ध वचनहरूमा, येशूले मसीहीहरूलाई विवाह भोजबाट फर्किने आफ्ना मालिकलाई पर्खिरहेका दासहरूसँग तुलना गर्नुभयो। तिनी फर्कंदा जागै हुन र तिनलाई स्वागत गर्न तिनीहरू सजग हुनुपर्थ्यो। त्यसै गरी, येशूले भन्‍नुभयो: “तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।” (लूका १२:४०) वर्षौंदेखि यहोवाको सेवा गर्दै आएकाहरूले समेत हामी बाँचिरहेको समयको सन्दर्भमा अविलम्बी भाव गुमाउन सक्छन्‌। तिनीहरू अन्त आउन अझ निकै समय बाँकि छ भन्‍ने निष्कर्षमा समेत पुग्न सक्छन्‌। तर यस्तो सोचाइले हाम्रो ध्यान आध्यात्मिक कुराहरूमा नभई भौतिक लक्ष्य तथा अलमल्याउने कुराहरूतर्फ खिच्न सक्छ जसले हामीलाई आध्यात्मिक तवरमा निदाउरो बनाउन सक्छ।—लूका ८:१४; २१:३४, ३५.

४. कस्तो विश्‍वस्तताले हामीलाई जागा रहन उत्प्रेरित गर्छ र येशूले यो कुरा कसरी देखाउनुभयो?

येशूको दृष्टान्तबाट हामी अर्को पाठ पनि सिक्न सक्छौं। ती दासहरूलाई आफ्नो मालिक कुन घडी आइपुग्नेछन्‌ भन्‍ने थाह नभए तापनि तिनीहरूलाई तिनी कुन रात आउनेछन्‌ भनी थाह भएको हुनुपर्छ। तिनीहरूलाई आफ्नो मालिक कुन रात आउँछन्‌ भन्‍ने थाह नभएको भए रातभरि जागा रहन गाह्रो हुनेथियो। तर तिनीहरूलाई आफ्नो मालिक कुन रात आउनेछन्‌ भन्‍ने थाह थियो र यसले तिनीहरूलाई जागा रहने जोडदार उत्प्रेरणा दियो। त्यसै गरी, बाइबल भविष्यवाणीहरूले हामी अन्तको समयमा बाँचिरहेका छौं भनी स्पष्टसँग देखाउँछ; तर ती भविष्यवाणीहरूले अन्त आउने दिन वा घडीबारे भने बताउँदैन। (मत्ती २४:३६) अन्त आउँदैछ भन्‍ने विश्‍वासले हामीलाई जागा रहन मदत गर्छ तर हामी यहोवाको दिन एकदमै नजिक छ भनी विश्‍वस्त छौं भने यसले हामीलाई जागा रहन अझ बढी उत्प्रेरित गर्छ।—सपन्याह १:१४.

५. हामी कसरी “होशियार बस” भनी पावलले दिएको सल्लाह पालन गर्न सक्छौं?

पावलले, कोरिन्थीका मसीहीहरूलाई लेख्दा, यस्तो सल्लाह दिए: “होशियार बस, विश्‍वासमा दृढ भइबस।” (१ कोरिन्थी १६:१३) हो, होसियार बस्नुलाई मसीही विश्‍वासमा दृढ हुनुसँग जोडिएको छ। हामी कसरी होसियार बस्न सक्छौं? परमेश्‍वरको वचनको अझ गहिरो ज्ञान हासिल गरेर। (२ तिमोथी ३:१४, १५) व्यक्‍तिगत अध्ययन गर्ने राम्रो बानी र सभाहरूको नियमित उपस्थितिले हामीलाई हाम्रो विश्‍वास बलियो बनाउन मदत गर्छ। अनि यहोवाको दिनलाई मनमा राख्नु हाम्रो विश्‍वासको अर्को एउटा महत्त्वपूर्ण पक्ष हो। हामी यस रीतिरिवाजको अन्तको समयको नजिकै बाँचिरहेका छौं भन्‍ने धर्मशास्त्रीय प्रमाणहरू बेलाबेलामा पुनरावलोकन गर्दा, यसले हामीलाई आउँदै गरेको अन्तसम्बन्धी महत्त्वपूर्ण सत्यहरू नबिर्सन मदत गर्छ। a संसारमा घटिरहेका, बाइबल भविष्यवाणीहरू पूरा गर्ने घटनाहरूमा ध्यान दिनु पनि लाभकारी हुन्छ। जर्मनीका एक जना भाइले लेखे: “हरेक पटक समाचारमा देख्ने युद्ध, भुइँचालो, हिंसा र हाम्रो ग्रहको प्रदूषणले मलाई अन्त नजिकै छ भनी अझ विश्‍वस्त बनाउँछ।”

६. समय बित्दै जाँदा, आध्यात्मिक सजगता बिस्तारै गुम्न सक्छ भनी येशूले कसरी प्रकाश पार्नुभयो?

मर्कूस १३ अध्यायमा, हामी येशूले आफ्ना अनुयायीहरूलाई जागा रहन प्रोत्साहन दिनुभएको अर्को विवरण पाउँछौं। यस अध्यायमा बताइएअनुसार, येशूले तिनीहरूको परिस्थितिलाई आफ्नो मालिक परदेशबाट फर्कने घडीको प्रतिक्षा गरिरहेको ढोकेसँग तुलना गर्नुहुन्छ। ढोकेलाई आफ्नो मालिक फर्कने घडी थाह थिएन। तिनी जागा रहिरहनुपर्थ्यो। येशूले मालिक आइपुग्न सक्ने चार भिन्‍ना-भिन्‍नै घडीहरूबारे संकेत गर्नुभयो। चौथो घडी लगभग तीन बजेदेखि सूर्योदयसम्म पर्थ्यो। त्यस अन्तिम घडीमा ढोकेका आँखा सजिलै लोलाउन सक्थे। रिपोर्टहरूअनुसार, सिपाहीहरूका लागि आफ्नो शत्रु पक्रने सबैभन्दा उपयुक्‍त समय सूर्योदयभन्दा केही अघिको समय हो किनकि यति बेला ऊ त्यति सजग हुँदैन। त्यसै गरी, यो अन्तिम घडीमा, हामी वरपरको संसार आध्यात्मिक अर्थमा मस्तसँग निदाइरहेको बेला, हामीलाई जागा रहन असाध्यै गाह्रो हुन सक्छ। (रोमी १३:११, १२) त्यसकारण, येशू आफ्नो दृष्टान्तमा बारम्बार यस्तो सल्लाह दिनुहुन्छ: “होशियार रहो, जागा बस . . . यसकारण जागा रहो . . . जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ”—मर्कूस १३:३२-३७.

७. कस्तो वास्तविक खतरा छ र यस सन्दर्भमा बाइबलले हामीलाई बारम्बार कस्तो चेतावनी दिन्छ?

येशूले आफ्नो सेवकाईको दौडान र पुनरुत्थानपछि पनि थुप्रै पटक होसियार रहनुपर्ने आवश्‍यकताबारे बताउनुभयो। साँच्चै भन्‍ने हो भने, धर्मशास्त्रले यस रीतिरिवाजको अन्तबारे संकेत गर्दा, हरेक पटक नै हामीलाई जागा रहन वा होसियार बस्न चेतावनी दिन्छ। b (लूका १२:३८, ४०; प्रकाश ३:२; १६:१४-१६) स्पष्टतः आध्यात्मिक तवरमा लोलाउनु वास्तविक खतरा हो। हामी सबैलाई यस्तो चेतावनी चाहिन्छ!—१ कोरिन्थी १०:१२; १ थिस्सलोनिकी ५:२, ६.

जागा रहन नसकेका तीन जना प्रेरित

८. येशूका तीन जना चेलाहरूले जागा रहनु भनी उहाँले तिनीहरूलाई गर्नुभएको आग्रहप्रति गेतसमनीको बगैंचामा कस्तो प्रतिक्रिया देखाए?

पत्रुस, याकूब र यूहन्‍नाको उदाहरणले देखाएअनुसार जागा रहन असल मनसाय भएर मात्र पुग्दैन। यी तीनै जना वफादारपूर्वक येशूलाई पछ्याउने र उहाँलाई गहिरो प्रेम गर्ने आध्यात्मिक पुरुषहरू थिए। तथापि, सा.यु. ३३, निसान १४ को रात तिनीहरू जागा रहन सकेनन्‌। माथिल्लो तलाको कोठामा निस्तार चाड मनाउन सिद्धिएपछि, तीन जना चेलाहरू येशूसँगसँगै गेतसमनीको बगैंचामा गए। त्यहाँ पुगेपछि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरो प्राण मरणान्त अति शोकित भएको छ। तिमीहरू यहाँ बसेर मसँग जागा रहो।” (मत्ती २६:३८) येशूले स्वर्गमा बस्नुहुने आफ्नो पितालाई तीन पटकसम्म व्यग्र प्रार्थना गर्नुभयो र उहाँ आफ्ना मित्रहरूकहाँ फर्केर आउनुहुँदा तीनै पटक तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो।—मत्ती २६:४०, ४३, ४५.

९. सम्भवतः के कारणले गर्दा प्रेरितहरूका आँखा लोलाएका हुन सक्छन्‌?

यो रात यी तीन जना विश्‍वासी पुरुषहरूले येशूलाई किन निराश तुल्याए? एउटा कारण त शारीरिक थकावट थियो। रात निकै छिप्पिसकेको थियो। सायद, मध्यरात पनि नाघिसकेको थियो अनि निद्राको कारण “तिनीहरूका आँखा लोलाएका थिए।” (मत्ती २६:४३) तैपनि येशूले यसो भन्‍नुभयो: “जागा रह, र प्रार्थना गर, र परीक्षामा नपर। आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।”—मत्ती २६:४१.

१०, ११. (क) येशू थकित हुनुभए तापनि गेतसमनीको बगैंचामा जागा रहन उहाँलाई केले मदत गऱ्‍यो? (ख) येशूले आफ्ना तीन जना प्रेरितहरूलाई जागा रहन भन्‍नुभए तापनि तिनीहरूले जे गरे, त्यसबाट हामी के सिक्न सक्छौं?

१० निस्सन्देह, त्यस ऐतिहासिक रातमा येशू पनि थकित हुनुहुन्थ्यो। तथापि, निदाउनुको सट्टा उहाँले स्वतन्त्रताका ती महत्त्वपूर्ण अन्तिम घडीहरू व्यग्र प्रार्थनामा बिताउनुभयो। केही दिन पहिले, उहाँले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न यसरी आग्रह गर्नुभएको थियो: “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३६; एफिसी ६:१८) प्रार्थनाको सन्दर्भमा हामीले येशूको सल्लाह पालन गर्नुका साथै उहाँको असल उदाहरण अनुकरण गऱ्‍यौं भने, यहोवाप्रतिको हाम्रो हृदयदेखिको अन्तरबिन्तीले हामीलाई आध्यात्मिक तवरमा जागा रहन मदत गर्नेछ।

११ पक्कै पनि येशूलाई आफू चाँडै नै पक्राउ पर्नेछु र आफूलाई मृत्युदण्ड दिइनेछ भन्‍ने कुरा थाह थियो। तर उहाँका चेलाहरूलाई यतिबेलासम्म यो कुरा थाह थिएन। उहाँले शूलीमा अत्यधिक पीडा अनुभव गर्नुपर्ने थियो। येशूले आफ्ना प्रेरितहरूलाई यसबारे पहिल्यै चेतावनी दिइसक्नुभएको थियो तर तिनीहरूले उहाँले भन्‍नुभएका कुराहरू बुझेका थिएनन्‌। त्यसकारण उहाँ जागा रहेर प्रार्थना गरिरहनुहुँदा तिनीहरू भने निदाए। (मर्कूस १४:२७-३१; लूका २२: १५-१८) ती प्रेरितहरूको जस्तै हाम्रो शरीर पनि कमजोर छ र कति कुराहरू हामीलाई थाहै छैन। त्यसकारण हामी बाँचिरहेको समय ढिलासुस्ती गर्ने समय होइन भन्‍ने कुरा बिर्स्यौं भने, हामी पनि आध्यात्मिक तवरमा निदाउन सक्छौं। सजग रह्‍यौं भने मात्र हामी जागा रहन सक्छौं।

तीन अत्यावश्‍यक गुणहरू

१२. पावल हामी सचेत रहन आवश्‍यक पर्ने कुन तीनवटा गुणहरूबारे बताउँछन्‌?

१२ हामी कसरी अविलम्बी भाव कायम राख्न सक्छौं? हामीले प्रार्थनाको महत्त्व र यहोवाको दिनलाई मनमा राख्नुको आवश्‍यकताबारे बुझिसकेका छौं। साथै, पावल हामीले खेती गर्नुपर्ने तीनवटा अत्यावश्‍यक गुणहरू उल्लेख गर्छन्‌। तिनी भन्छन्‌: “हामी चाहिं दिनका हुनाले विश्‍वास र प्रेमको छातीको पाता र मुक्‍तिको आशाको टोप पहिरेर सचेत रहौं।” (१ थिस्सलोनिकी ५:८) हामीलाई आध्यात्मिक तवरमा जागा राख्न विश्‍वास, आशा र प्रेमले खेल्ने भूमिकाबारे संक्षिप्तमा विचार गरौं।

१३. हामीलाई सजग राख्न विश्‍वासले कस्तो भूमिका खेल्छ?

१३ यहोवाको अस्तित्व छ र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्‍ने हामीमा दृढ विश्‍वास हुनुपर्छ। (हिब्रू ११:६) येशूले अन्तबारे गर्नुभएको भविष्यवाणीको प्रथम शताब्दीमा भएको प्रारम्भिक पूर्तिले हाम्रो समयमा हुने यसको अझ ठूलो पूर्तिबारे हाम्रो विश्‍वास झनै सुदृढ पार्छ। अनि हाम्रो विश्‍वासको कारण हामी “[त्यस भविष्यसूचक दर्शन] निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन” भन्‍ने कुरामा निर्धक्क हुँदै उत्सुकतासाथ यहोवाको दिन पर्खन सक्छौं।—हबकूक २:३.

१४. जागा रहनको लागि आशा कसरी अत्यावश्‍यक छ?

१४ हाम्रो पक्का आशा “प्राणको लङ्‌गर जस्तो” हो, जसले हामीलाई परमेश्‍वरका केही खास प्रतिज्ञाहरू पूरा हुने दिनको बाटो कुर्नुपरे तापनि कठिनाइहरू सहन सक्षम बनाउँछ। (हिब्रू ६:१८, १९) सत्तरी वर्षभन्दा पनि अघि बप्तिस्मा लिएकी अनि अहिले ९० वर्ष नाघिसकेकी एक अभिषिक्‍त बहिनी, मार्गारेट यसो भन्छिन्‌: “सन्‌ १९६३ मा क्यान्सरको कारण मेरो पतिको मृत्यु हुँदा, मलाई अन्त चाँडै आइदिए कत्ति राम्रो हुन्थ्यो होलाजस्तो लागेको थियो। तर अहिले, त्यति बेला मैले आफ्नो फाइदा मात्रै हेरिरहेकी थिएँ भनी बुझेकी छु। संसारभरि कुन हदसम्म यो कार्य फैलिनेछ भनी हामीलाई त्यति बेला थाह थिएन। अहिले पनि कतिपय ठाउँहरूमा भर्खर-भर्खर मात्रै यो कार्य सुरु भएको छ। त्यसकारण, यहोवाले धीरज देखाउनुभएकोमा म असाध्यै खुसी छु।” प्रेरित पावल हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “धीरजले सदाचार [उत्पन्‍न गराउँछ], र सदाचारले आशा, औ आशाले निराश गराउँदैन।”—रोमी ५:३-५.

१५. हामीले लामो समयदेखि पर्खिरहेको जस्तो लागे तापनि प्रेमले हामीलाई कसरी उत्प्रेरित गर्नेछ?

१५ मसीही प्रेम एउटा उल्लेखनीय गुण हो किनभने यो हामीले गर्ने हरेक कामको उत्प्रेरक तत्त्व हो। यहोवाको समय-तालिका जस्तोसुकै भए तापनि हामी उहाँको सेवा गर्छौं किनकि हामी उहाँलाई प्रेम गर्छौं। परमेश्‍वरको इच्छाअनुसार हामीले जति नै लामो समयसम्म प्रचार गर्नुपरे तापनि वा एउटै घरमा दोहोऱ्‍याइ-तेहऱ्‍याइ जानुपरे तापनि छिमेकीहरूप्रतिको प्रेमले हामीलाई राज्यको सुसमाचार प्रचार गर्न उत्प्रेरित गर्छ। पावलले लेखेअनुसारै “विश्‍वास, आशा, प्रेम, यी तीन रहन्छन्‌, र यिनमा सर्वोत्तम चाहिं प्रेम हो।” (१ कोरिन्थी १३:१३) प्रेमले हामीलाई स्थिर र जागा रहन मदत गर्छ। “[प्रेमले] सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।”—१ कोरिन्थी १३:७, ८.

“तिमीसँग जे छ त्यसलाई पक्रिराख”

१६. ढिलासुस्ती गर्नुको सट्टा, हामीले कस्तो मनोवृत्ति खेती गर्नुपर्छ?

१६ संसारमा भइरहेका घटनाहरूले हामी अन्तिम दिनको पनि अन्तिम तथा निर्णायक घडीमा बाँचिरहेका छौं भनी बताउँछ। (२ तिमोथी ३:१-५) अहिले ढिलासुस्ती गर्ने होइन तर ‘हामीसँग जे छ त्यसलाई पक्रिराख्ने’ समय हो। (प्रकाश ३:११, नयाँ संशोधित संस्करण) “प्रार्थनामा सचेत” भएर तथा विश्‍वास, आशा र प्रेम खेती गरेर हामी आफूलाई परीक्षाको घडीमा तयार रहेको साबित गर्नेछौं। (१ पत्रुस ४:७) हामीले प्रभुको काममा प्रशस्त गर्नुपर्नेछ। ईश्‍वरीय भक्‍तिका कामहरूमा व्यस्त हुँदा यसले हामीलाई पूर्णतया जागा रहन मदत गर्नेछ।—२ पत्रुस ३:११.

१७. (क) कहिलेकाहीं आउने निरुत्साहले हामीलाई किन निराश पार्न दिनुहुँदैन? (पृष्ठ २१ को पेटी हेर्नुहोस्‌।) (ख) हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं र यसो गर्नेहरूले कस्तो आशिष्‌ पाउँछन्‌?

१७ यर्मियाले लेखे: “परमप्रभुनै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु। परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चूपचाप परमप्रभुको उद्धारको बाटो हेर्नु, मानिसहरूलाई असल हुन्छ।” (विलाप ३:२४-२६) हामीमध्ये कसै-कसैले केही समयअघिदेखि मात्रै बाटो हेरिरहेका छौं। अरूले भने यहोवाको उद्धारको बाटो हेरेको वर्षौं भइसक्यो। तथापि, हाम्रो अघि भएको अनन्त जीवनको तुलनामा यो पर्खाइ कत्ति छोटो छ! (२ कोरिन्थी ४:१६-१८) यहोवाको तोकिएको दिन पर्खंदै गर्दा हामी आवश्‍यक मसीही गुणहरू खेती गर्नुका साथै अरूलाई यहोवाको धैर्यबाट लाभ उठाउन र सच्चाइ अँगाल्न मदत दिन सक्छौं। त्यसकारण हामी सबै जना जागा रहौं। हामी यहोवाको अनुकरण गर्दै धीरजी होऔं र उहाँले हामीलाई दिनुभएको आशाको लागि धन्यवादी होऔं। अनि विश्‍वासीपूर्वक जागा रहनुका साथै अनन्त जीवनको आशालाई बलियो गरी पक्रिराखौं। यसो गऱ्‍यौं भने यी भविष्यसूचक प्रतिज्ञाहरू हामीमाथि पनि अवश्‍य पूरा हुनेछन्‌: “[यहोवाले] तँलाई देश अधिकार गर्न बढाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्‌।”—भजन ३७:३४.

[फुटनोटहरू]

a जनवरी १५, २००० अंकको प्रहरीधरहरा, पृष्ठ १२-१३ मा दिइएको, हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भनी संकेत गर्ने छवटा कारणहरू पुनरावलोकन गर्नु मदतकारी हुन सक्छ।—२ तिमोथी ३:१.

b “जागा रहो” भन्‍ने अर्थ बुझाउने युनानी क्रियाबारे कोशकार डब्लु. इ. भाइनले बताएअनुसार, यसले शाब्दिक अर्थमा ‘निद्रा भगाउनु’ भन्‍ने बुझाउँछ र यसले “जागा रहनु मात्र नभई कुनै कुराबारे उत्सुक भएर चनाखो हुनु भन्‍ने अर्थ बुझाउँछ।”

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामी यस रीतिरिवाजको अन्त नजिकै छ भन्‍ने हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौं?

• पत्रुस, याकूब र यूहन्‍नाको उदाहरणबाट के सिक्न सकिन्छ?

• कुन तीनवटा गुणले हामीलाई आध्यात्मिक तवरमा सचेत रहन मदत गर्नेछ?

• अहिले किन ‘हामीसँग जे छ त्यसलाई पक्रिराख्ने’ समय हो?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको पेटी/चित्र]

“त्यो मानिस धन्यको हो जसले पर्खिरहन्छ।”—दानियल १२:१२

कल्पना गर्नुहोस्‌, एक जना पहरेदारलाई आफूले रेखदेख गरिरहेको हाताभित्र चोर पस्दैछ भन्‍ने शंका लागेको छ। जसै रात ढल्दै जान्छ, पहरेदारले चोर आएको संकेत दिन सक्ने हरेक आवाजलाई ध्यानपूर्वक सुन्छ। घण्टौंसम्म उसले कान र आँखा दुवै चनाखो राख्छ। हावाले रूखका पातहरू हल्लाउँदा वा छानामाथि बिरालो हामफाल्दा निस्कने आवाजको झूटो संकेतले समेत उसलाई कत्ति सजिलै छक्याउन सक्छ भनी तपाईंलाई थाहै होला।—लूका १२:३९, ४०.

“हाम्रा प्रभु येशू ख्रीष्टको प्रकाश पर्खिरहँदा” पनि पर्खिनेहरूलाई यस्तै हुन सक्छ। (१ कोरिन्थी १:७) प्रेरितहरूले येशूको पुनरुत्थान हुने बित्तिकै उहाँले “इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ” भनी सोचे। (प्रेरित १:६) वर्षौंपछि, थिस्सलोनिकाका मसीहीहरूलाई येशूको उपस्थिति भविष्यमा हुने कुरा हो भनी सम्झाउनुपऱ्‍यो। (२ थिस्सलोनिकी २:३, ८) तथापि, यहोवाको दिनबारे आफूले आशा गरेको कुरा पूरा भएन भन्दैमा येशूका प्रारम्भिक अनुयायीहरूले जीवनतर्फ लैजाने मार्ग त्यागेनन्‌।—मत्ती ७:१३.

हाम्रो समयमा पनि, यस रीतिरिवाजको अन्त आउन ढिलो भएजस्तो देखिए तापनि निराशाको कारण सजग रहन छोड्‌नुहुँदैन। चनाखो पहरेदार झूटा संकेतहरूको कारण झुक्किन सक्छन्‌ तर पनि तिनी जागा रहनै पर्छ! किनकि यो तिनको जिम्मेवारी हो। मसीहीहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।

[पृष्ठ १८-मा भएको चित्र]

के तपाईं यहोवाको दिन नजिकै छ भनी विश्‍वस्त हुनुहुन्छ?

[पृष्ठ १९-मा भएका चित्रहरू]

सभाहरू, प्रार्थना र अध्ययन गर्ने राम्रो बानीले हामीलाई जागा रहन मदत गर्छ

[पृष्ठ २२-मा भएको चित्र]

मार्गारेटजस्तै, हामी पनि धैर्यपूर्वक र सक्रियतासाथ जागा रहौं