सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना

दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना

दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको भन्‍ने प्रश्‍नले थुप्रै दर्शनशास्त्री तथा शास्त्रविद्‌हरूलाई अलमल्लमा पारेको दशकौं भइसक्यो। परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुभएकोले सबै दुःखकष्टको लागि उहाँ नै जिम्मेवार हुनुहुन्छ भन्‍ने निष्कर्षमा कोही-कोही पुगेका छन्‌। द क्लिमेन्टाइन होम्लिज्‌ भन्‍ने दोस्रो शताब्दीको एउटा अप्रमाणित पुस्तकले दाबी गरेअनुसार आफ्नो दुवै हातले परमेश्‍वरले संसारमाथि शासन गर्नुहुन्छ। आफ्नो “बायाँ हात” अर्थात्‌ दियाबलद्वारा उहाँले दुःख अनि पीडा ल्याउनुहुन्छ र “दायाँ हात” अर्थात्‌ येशूद्वारा बचाउनुका साथै आशिष्‌ दिनुहुन्छ।

परमेश्‍वरले दुःखकष्ट ल्याउनुहुन्‍न तर परमेश्‍वरले नै दुःखकष्ट रहिरहन दिनुभएको हो भनेर स्वीकार्न गाह्रो मान्‍ने अरू कतिपयले चाहिं दुःखकष्ट छ भनेर स्वीकार्नै इन्कार गर्छन्‌। “दुष्टता भनेको एउटा भ्रम मात्र हो, यसको साँचो आधार छैन” भनी मेरी बेकर एडीले लेखिन्‌। “पाप, रोगबिमार र मृत्यु केही पनि होइन भनी विश्‍वास गरेको खण्डमा त्यो सबै हराउनेछ।”— साइन्स एण्ड हेल्थ विथ कि टु द स्क्रिप्चर्स।

प्रथम विश्‍वयुद्धदेखि अहिले हाम्रो दिनसम्म भएका दुःखद्‌ घटनाहरूको कारण थुप्रै मानिसहरू परमेश्‍वर दुःखकष्ट हटाउन सक्षम हुनुहुन्‍न भन्‍ने निष्कर्षमा पुगेका छन्‌। “नाजीहरूको बर्बताको कारण परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ भन्‍ने धारणालाई नै पत्याउन छोडेका छन्‌” भनी यहूदी शास्त्रविद्‌ डेविड वुल्फ सिल्भरम्यानले लेखे। तिनी अझ यसो भन्छन्‌: “परमेश्‍वरलाई कुनै न कुनै तरिकामा बुझ्न सकिन्छ भने उहाँको भलाइ र दुष्टताको अस्तित्वबीच सामञ्जस्य हुनुपर्छ र यो उहाँ सर्वशक्‍तिमान्‌ हुनुहुन्‍न भने मात्र सम्भव हुने कुरा हो।”

तथापि, परमेश्‍वर कुनै न कुनै तरिकामा हाम्रो दुःखको लागि दोषी हुनुहुन्छ, उहाँले दुःख हटाउन सक्नुहुन्‍न वा दुःखकष्ट भनेको केवल हाम्रो परिकल्पना हो भन्‍ने जस्ता कुराहरूले दुःखकष्टको चपेटामा परेकाहरूलाई पक्कै पनि सान्त्वना दिंदैन। अनि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, त्यस्ता विश्‍वासहरू बाइबलमा वर्णन गरिएको न्यायी, प्रभावकारी र मायालु परमेश्‍वरको विवरणसित पटक्कै मेल खाँदैनन्‌। (अय्यूब ३४:१०, १२; यर्मिया ३२:१७; १ यूहन्‍ना ४:८) त्यसोभए आजसम्म दुःखकष्ट रहिरहन दिनुको कारणबारे बाइबलले के बताउँछ?

दुःखकष्ट कसरी सुरु भयो?

परमेश्‍वरले मानिसजाति दुःखकष्टको चपेटामा बाँचोस्‌ भन्‍ने उद्देश्‍य राखेर सृष्टि गर्नुभएको थिएन। त्यसको विपरीत, उहाँले प्रथम मानव दम्पती आदम र हव्वालाई सिद्ध मन अनि शरीर दिनुभएको थियो। तिनीहरूलाई अत्यन्तै सुन्दर बगैंचारूपी घर र अर्थपूर्ण तथा सन्तोषदायी काम पनि दिनुभएको थियो। (उत्पत्ति १:२७, २८, ३१; २:८) तथापि, आनन्दित रहिरहन तिनीहरूले परमेश्‍वरको शासन तथा असल र खराब छनौट गर्ने उहाँको अधिकारलाई स्वीकार्नुपर्थ्यो। यस ईश्‍वरीय आज्ञालाई “असल र खराबको ज्ञान दिने रूख[ले]” प्रतिनिधित्व गर्थ्यो। (उत्पत्ति २:१७) त्यस रूखबाट नखानू भनेर दिइएको आज्ञा पालन गरेको खण्डमा आदम र हव्वाले परमेश्‍वरको अधीनमा बसेको प्रमाण दिनेथिए। a

दुःखको कुरा, आदम र हव्वाले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌। पछि शैतान अर्थात्‌ दियाबल भनी चिनिएको एक विद्रोही आत्मिक प्राणीले हव्वालाई परमेश्‍वरको आज्ञा पालन गर्नुमा केही फाइदा छैन भनेर विश्‍वस्त गरायो। वास्तवमा परमेश्‍वरले तिनलाई एउटा अत्यन्तै मनमोहक कुराबाट वञ्चित गरिरहनुभएको थियो: स्वतन्त्रता अर्थात्‌ आफैले असल र खराब छनौट गर्न सक्ने अधिकार। त्यस रूखबाट खायो भने ‘तिनीहरूको आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिनीहरू पनि परमश्‍वरजस्तै हुनेछौ’ भनी शैतानले दाबी गऱ्‍यो। (उत्पत्ति ३:१-६; प्रकाश १२:९) स्वतन्त्रताको प्रत्याशामा बहकिएर हव्वाले त्यो फल खाइन्‌ र नभन्दै आदमले पनि खायो।

त्यही दिनदेखि आदम र हव्वाले आफ्नो विद्रोहको नतिजा भोग्न थाले। ईश्‍वरीय शासनलाई तिरस्कार गरेकाले तिनीहरूले परमेश्‍वरको अधीनमा बस्दा पाएको सुरक्षा र आशिष्‌ सबै गुमाए। परमेश्‍वरले तिनीहरूलाई प्रमोदवनबाट निकाल्नुभयो र आदमलाई यसो भन्‍नुभयो: “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैंले खानेछस्‌। औ माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌।” (उत्पत्ति ३:१७, १९) आदम र हव्वा रोगबिमार, पीडा, वृद्धावस्था र मृत्युको सिकार भए। दुःखकष्ट मानिसजातिको एउटा भाग नै भयो।—उत्पत्ति ५:२९.

विवाद सुल्झाउने

कसै-कसैले यस्तो प्रश्‍न गर्लान्‌, ‘के परमेश्‍वरले आदम र हव्वाको पापलाई बेवास्ता गर्न सक्नुहुन्‍न थियो र?’ अहँ, सक्नुहुन्‍न थियो किनभने यसले उहाँको अख्तियारप्रतिको आदरलाई झन्‌ कमजोर बनाउनेथियो र अझ विद्रोहका आवाज उठ्‌नुका साथै दुःखकष्ट बढ्‌नेथियो। (उपदेशक ८:११) यसबाहेक, त्यस्तो अनाज्ञाकारिताप्रति आँखा चिम्लिंदा परमेश्‍वरले पनि गलतको पक्ष लिइरहनुभएको हुनेथियो। बाइबल लेखक मोशा हामीलाई यसरी सम्झाउँछन्‌: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।” (व्यवस्था ३२:४) आफू स्वयम्‌सँग इमानदार हुन परमेश्‍वरले आदम र हव्वालाई आफ्नो अनाज्ञाकारिताको नतिजा भोग्न दिनुपर्थ्यो।

परमेश्‍वरले किन प्रथम मानव दम्पतीका साथै तिनीहरूलाई विद्रोह गर्न उक्साउने अदृश्‍य शैतानलाई तुरुन्तै नाश गर्नुभएन? उहाँसँग त्यसो गर्ने शक्‍ति पनि थियो। आदम र हव्वाले दुःखकष्ट र मृत्युको वशमा परेर सन्तान जन्माउने थिएनन्‌। तथापि, त्यस्तो ईश्‍वरीय शक्‍तिको प्रदर्शनले आफ्ना बुद्धिमान्‌ प्राणीहरूमाथि परमेश्‍वरको अख्तियारको औचित्य प्रमाणित हुँदैनथ्यो। यसबाहेक, आदम र हव्वा निःसन्तान मरेका भए तिनीहरूको सिद्ध सन्तानद्वारा पृथ्वी भर्ने परमेश्‍वरको उद्देश्‍य पूरा हुने थिएन। (उत्पत्ति १:२८) “परमेश्‍वर मानिस जस्तो हुनुहुन्‍न . . . उहाँले भनेपछि, त्यो गर्नुहुन्छ। उहाँले बोलेपछि त्यो पूरा गर्नुहुन्छ?”—गन्ती २३:१९, टुडेज इंग्लिस भर्सन।

आफ्नो सिद्ध बुद्धिको कारण यहोवा परमेश्‍वरले विद्रोहीहरूलाई सीमित समयको लागि रहन दिने निर्णय गर्नुभयो। विद्रोहीहरूले परमेश्‍वरबाट स्वतन्त्र हुँदाका असरहरू अनुभव गर्ने प्रशस्त मौका पाउनेथिए। मानिसजातिलाई ईश्‍वरीय निर्देशनको आवश्‍यकता छ र मानिस वा शैतानको भन्दा परमेश्‍वरको शासन सर्वोत्कृष्ट छ भन्‍ने कुराको गवाही इतिहासले दिनेथियो। त्यति नै बेला, परमेश्‍वरले पृथ्वीमा आफ्नो सुरुको उद्देश्‍य पूरा गर्न पनि कदम चाल्नुभयो। उहाँले ‘शैतानको शिर कुच्याउने’ “सन्तान[को]” प्रतिज्ञा गर्नुभयो जसले सधैंको लागि त्यसको विद्रोह र हानिकारक प्रभाव नामेट पार्नेछ।—उत्पत्ति ३:१५.

प्रतिज्ञा गरिएको त्यो सन्तान येशू ख्रीष्ट हुनुहुन्थ्यो। पहिलो यूहन्‍ना ३:८ मा हामी यस्तो लेखिएको पाउँछौं, “शैतानका कामहरू नष्ट पार्नालाईनै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।” यसको लागि उहाँले आफ्नो सिद्ध शरीर बलिदानको रूपमा अर्पण गर्नुभयो र पाप र मृत्युको दास भएका आदमका सन्तानलाई छुटकारा दिन मोल तिर्नुभयो। (यूहन्‍ना १:२९; १ तिमोथी २:५, ६) येशूको छुडौतीको बलिदानमा साँच्चै विश्‍वास गर्नेहरूले दुःखकष्टबाट सधैंको लागि छुटकारा पाउने प्रतिज्ञा गरिएको छ। (यूहन्‍ना ३:१६; प्रकाश ७:१७) यो कहिले हुनेछ?

दुःखकष्टको अन्त

परमेश्‍वरको अख्तियारलाई तिरस्कार गर्दा अवर्णनीय दुःखकष्ट भोग्नुपरेको छ। त्यसकारण मानिसजातिको दुःखकष्ट अन्त गर्न र पृथ्वीको लागि आफ्नो सुरुको उद्देश्‍य पूरा गर्न परमेश्‍वरले आफ्नो अख्तियार विशेष तरिकामा चलाउनु उपयुक्‍त छ। येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउँदा यस ईश्‍वरीय प्रबन्धबारे उल्लेख गर्नुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, . . . तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

परमेश्‍वरले मानिसजातिलाई आफै शासन गरेर हेर्न दिनुभएको समय अब अन्त हुन लागेको छ। बाइबल भविष्यवाणीअनुरूप १९१४ मा स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भयो र येशू ख्रीष्ट यसको राजा बनाइनुभयो। b चाँडै यसले सबै मानव सरकारहरू नामेट पार्नेछ।—दानियल २:४४.

आफ्नो छोटो पार्थिव सेवकाईको दौडान येशूले ईश्‍वरीय शासन पुनःस्थापित भएपछि मानिसजातिले अनुभव गर्ने आशिष्‌हरूको पूर्वझलक दिनुभयो। सुसमाचारको पुस्तकले येशूले मानव समाजका गरिब तथा भेदभाव सहनुपरेकाहरूलाई अनुकम्पा देखाउनुभयो भनी प्रमाणित गर्छ। उहाँले बिरामीहरूलाई निको पार्नुभयो, भोकोहरूलाई खुवाउनुभयो र मरेकाहरूको पुनरुत्थान गर्नुभयो। प्रकृतिले समेत उहाँको आज्ञा पालन गऱ्‍यो। (मत्ती ११:५; मर्कूस ४:३७-३९; लूका ९:११-१६) येशूले सबै आज्ञाकारी मानिसजातिको फाइदाको लागि आफ्नो छुडौतीको बलिदानको निवारण शक्‍ति प्रयोग गर्नुहुँदा कस्तो हुनेछ, कल्पना गर्नुहोस्‌! ख्रीष्टको शासनद्वारा परमेश्‍वरले “सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन” भनी बाइबलले प्रतिज्ञा गर्छ।—प्रकाश २१:४.

दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना

हाम्रो मायालु र शक्‍तिशाली परमेश्‍वर यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ र उहाँले चाँडै मानिसजातिको उद्धार गर्नुहुनेछ भनी थाह पाउनु कत्ति प्रोत्साहनदायी कुरा हो! साधारणतया अत्यन्तै सिकिस्त बिरामीले आफ्नो रोग निको हुने हो भने अत्यन्तै पीडादायी उपचार पनि स्वीकार्न राजी हुन्छ। त्यस्तै गरी, परमेश्‍वरले कामकुराहरू सम्हाल्नुहुने तरिकाबाट हामीले अनन्त आशिष्‌ पाउनेछौं भनी थाह हुँदा त्यो ज्ञानले हामीलाई जस्तै दुःख भोग्नुपरे तापनि सम्हाल्नेछ।

सुरुको लेखमा उल्लिखित रिकार्डोले पनि बाइबलका प्रतिज्ञाहरूद्वारा सान्त्वना प्राप्त गर्न सिके। तिनी सम्झन्छन्‌, “मेरी श्रीमतीको मृत्युपछि अरू मानिससँग हेलमेल गर्ने इच्छा नै मऱ्‍यो तर फेरि यसो गर्दैमा मेरी श्रीमती फर्कने छैनन्‌ र मेरो भावनात्मक अवस्था मात्र झन्‌-झन्‌ खत्तम हुँदै जानेछ भनी मैले बुझें।” त्यसो नगरी रिकार्डोले मसीही सभाहरू धाउने र अरूसँग बाइबल सन्देश बाँड्‌ने आफ्नो तालिकालाई कायमै राखे। रिकार्डो भन्छन्‌, “जब मैले यहोवाको मायालु समर्थन र स-साना कुराहरूमा पनि उहाँले मेरो प्रार्थनाको जवाफ दिनुभएको महसुस गरें, म उहाँसँग झनै घनिष्ठ भएँ। परमेश्‍वरको यही प्रेमले गर्दा मैले जीवनको सबैभन्दा पीडादायी समयको सामना गर्न सकें।” तिनी अझ यस्तो स्वीकार्छन्‌: “मलाई अझै मेरी श्रीमतीको याद आउँछ तर अब भने यहोवाले हामीमाथि कुनै पनि चिरकालीन हानि हुन दिनुहुन्‍न भनी म विश्‍वस्त छु।”

के तपाईं पनि रिकार्डोलगायत अन्य लाखौं मानिसहरूजस्तै अहिले भोगिरहेको दुःखको ‘सम्झना नआउने नता स्मरणमा आउने’ दिनको प्रतीक्षामा हुनुहुन्छ? (यशैया ६५:१७) बाइबलको निम्न सल्लाह पालन गर्नुभयो भने परमेश्‍वरका राज्य आशिष्‌हरू तपाईंले पाउन सक्नुहुन्छ भनी विश्‍वस्त हुनुहोस्‌: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनुहुँदानै उहाँलाई पुकार।”—यशैया ५५:६.

यसो गर्ने मदतको लागि परमेश्‍वरको वचनको पढाइ र गहिरो अध्ययनलाई आफ्नो जीवनमा प्राथमिकता दिनुहोस्‌। परमेश्‍वर र उहाँले पठाउनुभएको येशू ख्रीष्टलाई चिन्‍नुहोस्‌। परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउने कोसिस गर्नुहोस्‌ अनि उहाँको सार्वभौमिकताको अधीनमा बस्ने इच्छुकता देखाउनुहोस्‌। अहिले सामना गर्नुपर्ने परीक्षाहरूको बावजुद त्यस्तो मार्गले आनन्द ल्याउनेछ। अनि भविष्यमा तपाईंले दुःखकष्टरहित संसारमा जीवनको आनन्द उठाउन सक्नुहुनेछ।—यूहन्‍ना १७:३.

[फुटनोटहरू]

a द न्यु जेरुशलेम बाइबल-मा उत्पत्ति २:१७ को पादटिप्पणीमा यसो भनिएको छ: “असल र खराबको ज्ञानलाई” “निर्णय गर्ने शक्‍ति ठानेर . . . सही र गलत निर्धारण गर्न आफू स्वतन्त्र छु भन्‍ने दाबी गर्छ अनि आफू कसैद्वारा सृष्टि गरिएको हो भन्‍ने कुरालाई इन्कार गर्छ।” त्यहाँ थप यसो भनिएको छ: “त्यो प्रथम पाप परमेश्‍वरको सार्वभौमिकतामाथि प्रत्यक्ष आक्रमण थियो।”

b सन्‌ १९१४ सम्बन्धी बाइबल भविष्यवाणीबारे विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय १० र ११ हेर्नुहोस्‌।

[पृष्ठ ६, ७-मा भएको पेटी]

हामी कसरी दुःखकष्टको सामना गर्न सक्छौं?

“तिमीहरूका सारा फिक्री [ परमेश्‍वरमाथि] राखिदेओ।” (१ पत्रुस ५:७) आफूले वा हामीले प्रेम गर्ने कुनै व्यक्‍तिले दुःखकष्ट भोगिरहेको देख्दा अलमल्ल, रिस र त्यागिएको महसुस गर्नु स्वाभाविकै हो। तैपनि, यहोवाले हाम्रा भावनाहरू बुझ्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। (प्रस्थान ३:७; यशैया ६३:९) पुरातन समयका विश्‍वासी पुरुषहरूले जस्तै हामी पनि उहाँलाई आफ्ना भित्री भावनाहरू र शंका तथा फिक्रीहरू पोख्न सक्छौं। (प्रस्थान ५:२२; अय्यूब १०:१-३; यर्मिया १४:१९; हबकूक १:१३) उहाँले चमत्कारपूर्ण ढंगमा हाम्रा परीक्षाहरू नहटाउनुभए तापनि हाम्रो हृदयस्पर्शी प्रार्थनाको प्रत्युत्तरमा उहाँले हामीलाई परीक्षा सामना गर्ने बुद्धि र बल दिन सक्नुहुन्छ।—याकूब १:५, ६.

“तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परि आउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ।” (१ पत्रुस ४:१२) यहाँ पत्रुसले सतावटबारे कुरा गर्दै थिए तर तिनका शब्दहरू मसीहीले सामना गर्ने दुःखकष्टमा पनि त्यत्तिकै लागू हुन्छ। मानिसहरूले अभाव, बिरामी र प्रिय जनहरूको मृत्युको पीडा भोग्छन्‌। “समय र अवसरले” सबैलाई अधीनमा पारेको हुन्छ भनी बाइबलले बताउँछ। (उपदेशक ९:११) त्यस्तो अवस्थाबाट अहिले मानिसहरू उम्कन सक्दैनन्‌। यो कुरा बुझ्दा दुःखकष्ट र समस्या आइपर्दा त्यसलाई सामना गर्ने मदत पाउन सक्छौं। (१ पत्रुस ५:९) सबैभन्दा महत्त्वपूर्ण कुरा त, “परमप्रभुका नजर धर्मात्मातर्फ हुन्छन्‌, र उहाँका कान तिनीहरूका पुकारा सुन्‍न खुला हुन्छन्‌” भन्‍ने आश्‍वासन सम्झँदा सान्त्वना पाउनेछौं।—भजन ३४:१५; हितोपदेश १५:३; १ पत्रुस ३:१२.

“आशामा आनन्द गर।” (रोमी १२:१२) हामीले गुमाएका आनन्दलाई सम्झिरहनुभन्दा हामीले सबै दुःखकष्ट अन्त गर्ने परमेश्‍वरको प्रतिज्ञामा मनन गर्न सक्छौं। (उपदेशक ७:१०) हेल्मेटले टाउकोलाई बचाएझैं यस दृढ आशाले हामीलाई बचाउनेछ। आशाले जीवनका समस्याहरूलाई कम गर्छ र हाम्रो मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यमा घातक प्रभाव पार्ने कुराबाट सुरक्षा प्रदान गर्छ।—१ थिस्सलोनिकी ५:८.

[पृष्ठ ५-मा भएको चित्र]

आदम र हव्वाले ईश्‍वरीय शासन तिरस्कार गरे

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरले दुःखकष्टरहित स्वन्तन्त्र संसार प्रतिज्ञा गर्नुभएको छ