सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिलेभन्दा अहिले झनै जागा रहनुहोस्‌!

पहिलेभन्दा अहिले झनै जागा रहनुहोस्‌!

पहिलेभन्दा अहिले झनै जागा रहनुहोस्‌!

“अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” —१ थिस्सलोनिकी ५:६.

१, २. (क) पोम्पी र हर्कुलानियम कस्ता शहरहरू थिए? (ख) पोम्पी र हर्कुलानियमका थुप्रै बासिन्दाहरूले कस्तो चेतावनीलाई बेवास्ता गरे र यसको परिणाम के भयो?

 सामान्य युग प्रथम शताब्दीमा, भसुभीयस पर्वतको काखमा पोम्पी र हर्कुलानियम नामका दुई संवृद्ध रोमी शहरहरू थिए। सम्पन्‍न रोमीहरू आफ्नो छुट्टी मनाउन त्यहाँ जान्थे। त्यहाँ एक हजारभन्दा बढी दर्शकहरू अटाउने क्षमता भएका रंगशालाहरू थिए र पोम्पीमा भएको एउटा ठूलो रंगशालामा त झनै त्यस शहरका लगभग सम्पूर्ण बासिन्दाहरू नै अटाउँथे। पोम्पीको उत्खनन गर्नेहरूले त्यहाँ ११८ वटा भट्टी भएको कुरा पत्ता लगाएका छन्‌ र तीमध्ये कतिपय जूवाघर वा वेश्‍यालय थिए। भित्ते चित्र तथा अरू भग्नावशेषहरूले देखाएअनुसार त्यहाँ अनैतिकता र भौतिकवाद व्याप्त थियो।

सा.यु. ७९, अगस्त २४ मा भसुभीयस पर्वतमा ज्वालामुखी विस्फोट हुन थाल्यो। ज्वालामुखी विशेषज्ञहरूका अनुसार पहिलो पटक ज्वालामुखी विस्फोट भएर दुईवटा शहरमा आग्नेय पत्थर र खरानीको वर्षा हुँदा मानिसहरूले चाहेको भए सायद सजिलै भाग्न सक्थे। निस्सन्देह, धेरै जना भागेको पनि हुनुपर्छ। तथापि, यसले त्यति धेरै हानि पुऱ्‍याउँदैन होला भनी सोच्ने तथा यस चेतावनीमूलक संकेतलाई बेवास्ता गर्नेहरू भने त्यहीं बसिरहे। तर मध्यराततिर एक्कासि ठूलो गडगडाहटका साथ हर्कुलानियममाथि असाध्यै तातो ग्याँस, आग्नेय पत्थर तथा चट्टानहरू वर्षिन थाल्यो र शहरमा भएका सबै मानिसहरू निसासिएर मरे। पोम्पीमा पनि बिहान सबेरै यस्तै खालको ज्वालामुखी वर्षाले गर्दा सबै मरे। चेतावनीमूलक संकेतहरूलाई ध्यान नदिंदा कस्तो दुःखदायी नतिजा भयो!

यहूदी रीतिरिवाजको अन्त

३. यरूशलेमको विनाश तथा पोम्पी र हर्कुलानियमको विनाशबीच कस्तो समानता छ?

यो घटना घट्‌नुभन्दा नौ वर्षअघि, यरूशलेमको विनाश मानिसहरूद्वारा भएको भए तापनि उक्‍त विपत्ति पोम्पी र हर्कुलानियमको डरलाग्दो विनाशभन्दा पनि अझ विध्वंसात्मक थियो। “सम्पूर्ण इतिहासकै सबैभन्दा भयानक घेराबन्दी” भनेर बताइएको यस घटनामा दस लाखभन्दा बढी यहूदीहरूको मृत्यु भयो। तथापि, पोम्पी र हर्कुलानियमको विनाशजस्तै यरूशलेमको विनाश पनि विना चेतावनी भएको थिएन।

४. त्यस बेलाको रीतिरिवाजको अन्त नजिकै छ भनी चेतावनी दिन येशूले आफ्ना अनुयायीहरूलाई कस्तो भविष्यसूचक चिह्न दिनुभयो र प्रथम शताब्दीमा कसरी यसको प्रारम्भिक पूर्ति भयो?

येशू ख्रीष्टले त्यस शहरको विनाशबारे अगमवाणी गर्नुभएको थियो र उहाँले उक्‍त घटना घट्‌नुअघि युद्ध, अनिकाल, भुइँचालो र अधर्मजस्ता अशान्ति मच्चाउने घटनाहरू हुनेछन्‌ भनेर पनि बताउनुभएको थियो। झूटा अगमवक्‍ताहरू सक्रिय हुनेछन्‌ तैपनि परमेश्‍वरको राज्यको सुसमाचार संसारभरि प्रचार गरिनेछ। (मत्ती २४:४-७, ११-१४) येशूका शब्दहरूको बृहत्‌ पूर्ति आज भए तापनि केही हदसम्म त्यतिबेला पनि पूर्ति भयो। यहूदियामा ठूलो अनिकाल परेको थियो भन्‍ने कुरा इतिहासमा लेखिएको छ। (प्रेरित ११:२८) यहूदी इतिहासकार जोसेफसका अनुसार यरूशलेमको विनाश हुनुभन्दा केही समयअघि शहरमा भुइँचालो गएको थियो। यरूशलेमको अन्त नजिकिंदै जाँदा निरन्तरजसो विद्रोह, यहूदी राजनैतिक गुटहरूबीच अन्तरद्वन्द्व र यहूदी तथा अन्यजातिहरूको मिश्रित बसोबास भएका शहरहरूमा काटमार मच्चिन थाल्यो। यद्यपि, “स्वर्गमनि भएका सारा सृष्टिमा” परमेश्‍वरको राज्यको सुसमाचार पनि प्रचार गरिंदै थियो।—कलस्सी १:२३.

५, ६. (क) सा.यु. ६६ मा येशूका कुन भविष्यसूचक शब्दहरू पूरा भए? (ख) अन्ततः सा.यु. ७० मा यरूशलेमको विनाश हुँदा मृतकहरूको संख्या किन त्यति धेरै पुग्यो?

अन्ततः सा.यु. ६६ मा यहूदीहरूले रोम विरुद्ध विद्रोह गरे। यरूशलेमलाई घेरा हाल्न सेस्टियस ग्यालस फौजका साथ आउँदा, येशूका अनुयायीहरूले उहाँका यी शब्दहरू सम्झे: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँड़ाहरूतिर भागून्‌। औ शहरभित्र हुनेहरू निस्किजाऊन्‌, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्‌।” (लूका २१:२०, २१) यरूशलेमबाट भाग्ने समय आइपुगेको थियो। तर त्यहाँबाट कसरी भाग्न सकिन्थो र? अचानक ग्यालस आफ्नो फौजसहित फर्के अनि यसले गर्दा यरूशलेम र यहूदियामा भएका मसीहीहरू येशूका शब्दहरू पालन गरेर डाँडाहरूतिर भाग्न सके।—मत्ती २४:१५, १६.

यहूदीहरूको विद्रोहलाई दबाउन कटिबद्ध सेनापति टाइटसको नेतृत्वमा रोमी फौज चार वर्षपछि निस्तार चाडको समयतिर फेरि फर्क्यो। तिनको सेनाले यरूशलेमलाई “मोर्चा बाँधेर घेरा” हालेपछि त्यहाँबाट भाग्न असम्भव भयो। (लूका १९:४३, ४४) युद्धको खतरा हुँदाहुँदै पनि निस्तार चाड मनाउन रोमी साम्राज्यभरिका यहूदीहरू यरूशलेममा भेला भएका थिए। अब तिनीहरू भित्रै थुनिए। जोसेफसका अनुसार रोमी घेराबन्दीको दौडान मर्नेहरूमा प्रायजसो यी निस्सहाय आगन्तुकहरू थिए। a अन्ततः यरूशलेमको विनाश हुँदा रोमी साम्राज्यमा भएका सबै यहूदीहरूमध्ये सात भागको एक भाग यहूदीहरू मरे। यरूशलेम र त्यहाँको मन्दिरको विनाशको अर्थ यहूदी राज्य र मोशाको व्यवस्थामा आधारित यसको धार्मिक प्रणालीको अन्त हुनु थियो। bमर्कूस १३:१, २.

७. यरूशलेमको विनाश हुँदा विश्‍वासी मसीहीहरू किन बचे?

सा.यु. ७० मा, यहूदी मसीहीहरू पनि यरूशलेममा भएका अरूहरूसँगै मारिन वा दास बनाएर लगिन सक्थे। तथापि, ऐतिहासिक प्रमाणले देखाएअनुसार तिनीहरूले ३७ वर्षअघि येशूले दिनुभएको चेतावनी सुने। तिनीहरूले शहर छाडे र फेरि फर्केर आएनन्‌।

प्रेरितहरूबाट समसामयिक चेतावनीहरू

८. पत्रुसले कस्तो आवश्‍यकता महसुस गरे र सम्भवतः तिनको मनमा येशूका कुन शब्दहरू थिए?

आज, यस सम्पूर्ण रीतिरिवाजको अन्त गर्ने त्योभन्दा झनै भयानक विनाशको बादल मडारिंदैछ। यरूशलेमको विनाश हुनुभन्दा छ वर्षअघि प्रेरित पत्रुसले विशेष गरी हाम्रो समयका मसीहीहरूलाई लागू हुने एकदमै जरुरी तथा यस्तो समसामयिक सल्लाह दिए: सचेत रहो! मसीहीहरूले ‘प्रभु येशू ख्रीष्टको आज्ञालाई’ बेवास्ता नगरून्‌ भनेर तिनीहरूमा “निर्मल मन” जागृत गराउनुपर्ने आवश्‍यकता पत्रुसले देखे। (२ पत्रुस ३:१, २) मसीहीहरूलाई सचेत रहन आग्रह गर्दा, येशूले आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि आफ्ना प्रेरितहरूलाई भन्‍नुभएको यो कुरा पत्रुसको मनमा भएको हुनुपर्छ: “होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।”—मर्कूस १३:३३.

९. (क) कसै-कसैले कस्तो खतरनाक मनोवृत्ति विकास गर्नेछन्‌? (ख) किन शंकालु मनोवृत्ति विशेष गरी खतरनाक हुन्छ?

आज, कोही-कोही खिसी गर्दै सोध्छन्‌: “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो?” (२ पत्रुस ३:३, ४) स्पष्टतः ती व्यक्‍तिहरू परिस्थितिमा खासै परिवर्तन भएको छैन तर सृष्टिको सुरुदेखि सबै कुरा यस्तै चलिआएका छन्‌ भन्ठान्छन्‌। यस्तो शंका खतरनाक हुन्छ। शंकाले हाम्रो अविलम्बी भावलाई कमजोर बनाएर हामीलाई आत्म-विलासितातर्फ धकेल्न सक्छ। (लूका २१:३४) साथै, पत्रुसले औंल्याएझैं खिसी गर्ने मानिसहरूले संसारको पूरै रीतिरिवाजलाई नाश गरेको नूहको दिनको जलप्रलय बिर्सन्छन्‌। त्यतिबेला संसार साँच्चै परिवर्तन भएको थियो!—उत्पत्ति ६:१३, १७; २ पत्रुस ३:५, ६.

१०. अधीर हुनेहरूलाई पत्रुस कुन शब्दहरूद्वारा प्रोत्साहन दिन्छन्‌?

१० परमेश्‍वरले अक्सर तुरुन्तै कदम नचाल्नुको कारण सम्झाएर पत्रुस आफ्ना पाठकहरूलाई धीरज खेती गर्न मदत दिन्छन्‌। सर्वप्रथम, पत्रुस यसो भन्छन्‌: “प्रभुमा एक दिन हजार वर्षझैं र हजार वर्ष एक दिनझैं हुन्छ।” (२ पत्रुस ३:८) यहोवा सदा सर्वदा रहिरहने हुनुभएकोले उहाँले सबै कुराहरूलाई विचार गरेर कामकुरा गर्ने सबैभन्दा उत्तम समय रोज्न सक्नुहुन्छ। त्यसपछि पत्रुस सबै मानिसहरूले पश्‍चात्ताप गरून्‌ भन्‍ने यहोवाको इच्छातर्फ औंल्याउँछन्‌। परमेश्‍वरले तुरुन्तै कदम नचाली धीरज देखाउनुभएको कारण विनाश हुन सक्ने थुप्रै व्यक्‍तिहरूले समेत उद्धार पाउन सक्छन्‌। (१ तिमोथी २:३, ४; २ पत्रुस ३:९) तथापि, यहोवा धीरजी हुनुहुन्छ भन्‍नुको मतलब उहाँले कहिल्यै कदम चाल्नुहुन्‍न भन्‍ने होइन। “प्रभुको दिन चोर जस्तैगरी आउनेछ” भनी पत्रुस बताउँछन्‌।—२ पत्रुस ३:१०.

११. कुन कुराले हामीलाई आध्यात्मिक तवरमा जागा रहन मदत गर्नेछ र यसले कसरी यहोवाको दिनको ‘गति बढाउन लगाएझैं’ हुनेछ?

११ पत्रुसले गरेको तुलना विचारणीय छ। चोरलाई समात्न सजिलो छैन तर बेला बेलामा झप्प निदाउने पहरेदारले भन्दा रातभरि जागा रहने पहरेदारले चोर आएको थाह पाउने सम्भावना धेरै हुन्छ। पहरेदार कसरी जागा रहन सक्छ? रातभरि एकै ठाउँमा बसिरहनुभन्दा यताउति घुमिरह्‍यो भने चनाखो रहन सजिलो हुन्छ। त्यसै गरी, आध्यात्मिक तवरमा सक्रिय रह्‍यौं भने, मसीहीहरूको हैसियतमा हामीलाई जागा रहन मदत मिल्नेछ। त्यसकारण, पत्रुस हामीलाई “पवित्र जीवन र भक्‍तिमा” व्यस्त हुने सल्लाह दिन्छन्‌। (२ पत्रुस ३:११) यस्तो कामले हामीलाई “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै” बस्न मदत गर्नेछ। “बाटो हेर्दै” भन्‍ने अर्थ बुझाउन चलाइएको युनानी शब्दलाई शाब्दिक अर्थमा “गति बढाउन लगाउनु” भनी अनुवाद गर्न सकिन्छ। (२ पत्रुस ३:१२) हो, हामी यहोवाको समय तालिका परिवर्तन गर्न सक्दैनौं। उहाँको दिन उहाँले तोक्नुभएको समयमै आउनेछ। तर उहाँको सेवामा व्यस्त भयौं भने, हामीले समय बितेको पत्तै पाउनेछैनौं।—१ कोरिन्थी १५:५८.

१२. यहोवाले गर्नुभएको धैर्य धारणबाट हामीले कसरी व्यक्‍तिगत रूपमा लाभ उठाउन सक्छौं?

१२ त्यसकारण, यहोवाको दिनले ढिलो गर्दैछ जस्तो लाग्नेहरूले यहोवाको तोकिएको दिनलाई धैर्यपूर्वक पर्खनू भन्‍ने पत्रुसको सल्लाह पालन गर्नुपर्छ। साँच्चै, परमेश्‍वरले धैर्य धारण गर्नुभएकोले हामी बचेखुचेको समय बुद्धिमानीसाथ प्रयोग गर्न सक्छौं। उदाहरणका लागि, हामी महत्त्वपूर्ण मसीही गुणहरू खेती गरिरहनुका साथै अझ धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउन सक्छौं। हामी जागा रह्‍यौं भने यस रीतिरिवाजको अन्तमा यहोवाले हामीलाई ‘निष्खोट र निष्कलंक अनि शान्तिमा भएको’ पाउनुहुनेछ। (२ पत्रुस ३:१४, १५) त्यो कत्ति ठूलो आशिष्‌ हुनेछ!

१३. थिस्सलोनिकीका मसीहीहरूलाई पावलले भनेका कुन शब्दहरू आज विशेष गरी उपयुक्‍त छन्‌?

१३ थिस्सलोनिकीका मसीहीहरूलाई लेखेको पहिलो पत्रमा पावलले पनि जागा रहनुपर्ने आवश्‍यकताबारे बताउँछन्‌। तिनी यस्तो सल्लाह दिन्छन्‌: “अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” (१ थिस्सलोनिकी ५:२, ६) आज, संसारको सम्पूर्ण रीतिरिवाजको विनाश नजिकिंदै गएकोले यो झनै कत्ति महत्त्वपूर्ण छ! यहोवाका उपासकहरू आध्यात्मिक कुराहरूप्रति भावशून्य संसारमा बस्ने भएकोले यसले तिनीहरूलाई पनि असर गर्न सक्छ। त्यसकारण पावल यस्तो सल्लाह दिन्छन्‌: “विश्‍वास र प्रेमको छातीको पाता र मुक्‍तिको आशाको टोप पहिरेर सचेत रहौं।” (१ थिस्सलोनिकी ५:८) परमेश्‍वरको वचनको नियमित अध्ययन र सभाहरूमा हाम्रा भाइहरूसँगको नियमित संगतिले हामीलाई पावलको सल्लाह पछ्याउन तथा अविलम्बी भाव कायम राख्न मदत दिनेछ।—मत्ती १६:१-३.

लाखौं व्यक्‍तिहरू जागा रहेका छन्‌

१४. जागा रहनू भनी पत्रुसले दिएको सल्लाह आज थुप्रैले पछ्याइरहेका छन्‌ भन्‍ने कुरा कस्तो तथ्यांकले देखाउँछ?

१४ के आज थुप्रै व्यक्‍तिहरूले सचेत रहनू भन्‍ने प्रेरित प्रोत्साहनलाई ध्यान दिएका छन्‌? हो, छन्‌। सन्‌ २००२ सेवा वर्षको दौडान, सन्‌ २००१ को भन्दा ३.१ प्रतिशत बढी, ६३,०४,६४५ प्रकाशकहरूको शिखर संख्याले परमेश्‍वरको राज्यबारे अरूसँग कुरा गर्न १,२०,२३,८१,३०२ घण्टा बिताएर आध्यात्मिक तवरमा सचेत रहेको प्रमाण दियो। तिनीहरूले यो काम झारा टार्ने हिसाबले गरेका थिएनन्‌। यो त तिनीहरूको जीवनकै महत्त्वपूर्ण भाग थियो। तिनीहरूमध्ये थुप्रैको मनोवृत्ति एल साल्भाडोरका एड्‌वार्डो र नोइमीको उदाहरणद्वारा स्पष्ट हुन्छ।

१५. थुप्रै व्यक्‍तिहरू आध्यात्मिक तवरमा सचेत छन्‌ भनी एल साल्भाडोरको कुन अनुभवले देखाउँछ?

१५ केही वर्षअघि एड्‌वार्डो र नोइमीले पावलका यी शब्दहरूलाई ध्यान दिए: “यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:३१) तिनीहरूले आफ्नो जीवन सरल बनाए अनि पूर्ण-समय अग्रगामी सेवा सुरु गरे। समय बित्दै जाँदा तिनीहरूले थुप्रै तरिकामा आशिष्‌हरू पाए र क्षेत्र तथा जिल्लाको काममा पनि भाग लिए। गम्भीर समस्याहरू भोग्नुपरे तापनि पूर्ण-समय सेवाको लागि भौतिक सुख-सुविधाहरू त्यागेर आफूले सही निर्णय गरेका छौं भन्‍ने कुरामा एड्‌वार्डो र नोइमी विश्‍वस्त छन्‌। एल साल्भाडोरमा २,४५४ अग्रगामीहरूलगायत २९,२६९ प्रकाशकहरूमध्ये थुप्रैले यस्तै प्रकारको आत्मत्यागी भाव देखाएका छन्‌। त्यस देशका प्रकाशकहरूको संख्यामा गत वर्ष २ प्रतिशत वृद्धि हुनुको एउटा कारण यो पनि हो।

१६. कोट डे’भ्वाका एक जना जवान भाइले कस्तो मनोवृत्ति देखाए?

१६ कोट डे’भ्वामा एक जना मसीही जवानले पनि यस्तै मनोवृत्ति देखाए। तिनले शाखा कार्यालयलाई यस्तो पत्र लेखे: “म सेवकाई सेवकको हैसियतमा सेवा गर्दैछु। तर आफैले राम्रो उदाहरण नबसाली म अरू भाइहरूलाई अग्रगामी गर्नुस्‌ भन्‍न सक्दिनँ। त्यसकारण, मैले राम्रो तलब पाउने जागिर छोडेर सेवकाईको लागि अझ बढी समय निकाल्न सक्ने आफ्नै व्यापार सुरु गरेको छु।” यी जवान कोट डे‘भ्वाका ९८३ जना अग्रगामीहरूमध्ये एक भए। गत वर्ष यस देशमा ६,७०१ जना प्रकाशकहरूले रिपोर्ट दिए, जुन ५ प्रतिशतले वृद्धि हो।

१७. पूर्वाग्रहको कारण आफू डराएकी छैन भन्‍ने कुरा बेल्जियमकी एक जवान साक्षीले कसरी देखाइन्‌?

१७ असहिष्णुता, पूर्वाग्रह र भेदभावले बेल्जियमका २४,९६१ राज्य प्रकाशकहरूलाई पिरोल्न छोडेको छैन। तैपनि, तिनीहरू जोसिला र निडर छन्‌। स्कूलमा नैतिक शिक्षाको कक्षामा यहोवाका साक्षीहरूलाई गुट भनेर वर्णन गरेको सुन्दा, एक जना १६ वर्षीया साक्षीले आफ्नोतर्फबाट पनि केही भनाइ राख्न पाऊँ भन्‍ने अनुमति मागिन्‌। जेहोभाज्‌ विट्‌नेसेज—दी अर्गनाइजेसन बिहाइन्ड द नेम भिडियो र यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? पुस्तिका प्रयोग गरेर तिनले वास्तवमा यहोवाका साक्षीहरू को हुन्‌ भनी बताइन्‌। त्यस जानकारीको धेरै नै मूल्यांकन गरियो र अर्को हप्ता विद्यार्थीहरूको जाँच लिंदा सबै प्रश्‍नहरू यहोवाका साक्षीहरूको मसीही धर्मसित सम्बन्धित थिए।

१८. आर्थिक समस्याहरूले अर्जेन्टिना र मोजाम्बिकका प्रकाशकहरूको ध्यान यहोवाको सेवा गर्नदेखि यताउता अलमल्याएन भन्‍ने कस्तो प्रमाण छ?

१८ यी अन्तिम दिनहरूको दौडान अधिकांश मसीहीहरूले गम्भीर समस्याहरू झेल्नुपर्छ। तैपनि, तिनीहरू आफ्नो ध्यान यताउता नअलमल्याउने कोसिस गर्छन्‌। अर्जेन्टिनामा आर्थिक मन्दी छाएको कुरा त सबैलाई थाहै छ, तैपनि त्यहाँ गत वर्ष १,२६,७०९ साक्षीहरूको नयाँ शिखर पुग्यो। मोजाम्बिकमा अझै पनि गरिबी व्याप्त छ। तैपनि, ३७,५६३ जनाले साक्षी कार्यमा भाग लिएको रिपोर्ट गरे, जुन ४ प्रतिशतले वृद्धि हो। अल्बेनियामा जीवन धान्‍न असाध्यै कठिन भए तापनि त्यस देशमा १२ प्रतिशत राम्रो वृद्धि भएर प्रकाशकहरूको संख्या २,७०८ पुग्यो। स्पष्टतः यहोवाका सेवकहरूले राज्यसम्बन्धी गतिविधिहरूलाई प्रथम स्थान दिएको खण्डमा अप्ठ्यारा परिस्थितिहरूले उहाँको पवित्र आत्मालाई कुनै बाधा पुऱ्‍याउन सक्दैन।—मत्ती ६:३३.

१९. (क) बाइबल सत्यको लागि भोकाएका थुप्रै भेडाखाले व्यक्‍तिहरू अझै छन्‌ भनी कुन कुराले प्रमाणित गर्छ? (ख) यहोवाका सेवकहरू आध्यात्मिक तवरमा जागा रहिरहेका छन्‌ भनी वार्षिक रिपोर्टका अरू कस्ता विवरणहरूले देखाउँछ? (पृष्ठ १२-१५ को चार्ट हेर्नुहोस्‌।)

१९ गत वर्ष विश्‍वभरबाट रिपोर्ट गरिएको ५३,०९,२८९ बाइबल अध्ययनहरूको मासिक औसतले बाइबल सत्यको लागि भोकाएका थुप्रै भेडाखाले व्यक्‍तिहरू अझै छन्‌ भनी देखाउँछ। स्मरणार्थमा उपस्थित भएका १,५५,९७,७४६ जनाको नयाँ शिखर संख्यामध्येका अधिकांशले अझै पनि सक्रियतासाथ यहोवाको सेवा गर्न थालेका छैनन्‌। तिनीहरू यहोवा र भ्रातृत्व दुवैको ज्ञान तथा प्रेममा बढ्‌दै जाऊन्‌। “अरू भेडा[को]” “ठूलो भीड[ले]” आफ्ना आत्म-अभिषिक्‍त भाइहरूसँग मिलेर सृष्टिकर्तालाई “दिन-रात उहाँको मन्दिरमा” सेवा गर्दा तिनीहरू फलदायी भएको देख्न पाउनु साह्रै रोमाञ्चकारी कुरा हो।—प्रकाश ७:९, १५; यूहन्‍ना १०:१६.

लूतबाट पाठ

२०. लूत र तिनकी पत्नीको उदाहरणबाट हामी के सिक्छौं?

२० निस्सन्देह, परमेश्‍वरका विश्‍वासी सेवकहरूले समेत कहिलेकाहीं अविलम्बी भाव गुमाउन सक्छन्‌। अब्राहामको भतिजा लूतलाई विचार गर्नुहोस्‌। तिनले आफूकहाँ आएका दुई जना स्वर्गदूतहरूमार्फत परमेश्‍वरले सदोम र गमोरालाई नाश गर्न लाग्नुभएको छ भन्‍ने कुरा थाह पाए। “दुष्टहरूका कामुक जीवनबाट अति दुःखित भएका धार्मिक लूतलाई” यो खबर अनौठो नलागेको हुनुपर्छ। (२ पत्रुस २:७) तैपनि, दूई जना स्वर्गदूतहरू तिनलाई शहरबाहिरसम्म पुऱ्‍याउन आउँदा तिनले “आले-टाले गरिरहे।” स्वर्गदूतहरूले तिनी र तिनको परिवारलाई तान्दै शहर बाहिरसम्म लैजानु परेको थियो। अन्ततः लूतकी पत्नीले पछाडि फर्केर नहेर्नू भनी स्वर्गदूतहरूले दिएको चेतावनीलाई बेवास्ता गरिन्‌। चेतावनीलाई गम्भीरतासाथ नलिएको कारण तिनले अति नै ठूलो मूल्य चुकाउनुपऱ्‍यो। (उत्पत्ति १९:१४-१७, २६) येशूले पनि “लूतको स्वास्नीलाई सम्झ” भनी चेतावनी दिनुभयो।—लूका १७:३२.

२१. पहिलेभन्दा अहिले झनै जागा रहनु किन महत्त्वपूर्ण छ?

२१ पोम्पी र हर्कुलानियममा भएको विपत्ति तथा यरूशलेमको विनाश हुँदा भएका घटनाहरूका साथै नूहको दिनको जलप्रलय अनि लूतको उदाहरण सबैले चेतावनीहरूलाई गम्भीरतासाथ लिनुपर्छ भन्‍ने कुराको महत्त्वलाई प्रकाश पार्छ। यहोवाका सेवकहरू भएकाले हामी अन्तको समयको चिह्न ठम्याउन सक्छौं। (मत्ती २४:३) हामीले आफूलाई झूटो धर्मबाट अलग राखेका छौं। (प्रकाश १८:४) प्रथम शताब्दीका मसीहीहरूले जस्तै हामीले पनि ‘परमेश्‍वरको त्यस दिनको बाटो हेर्नुपर्छ।’ (२ पत्रुस ३:१२) हो, हामी पहिलेभन्दा अहिले झनै जागा रहनुपर्छ! जागा रहन हामीले कस्ता कदमहरू चाल्न र कस्ता गुणहरू विकास गर्न सक्छौं? यसबारे अर्को लेखमा विचार गरिनेछ।

[फुटनोटहरू]

a प्रथम शताब्दीको यरूशलेममा १,२०,००० भन्दा बढी बासिन्दाहरू नभएका हुन सक्छन्‌। युसिबियसको हिसाबअनुसार सा.यु. ७० को निस्तार चाड मनाउन यहूदियाको प्रान्तका ३,००,००० बासिन्दाहरूले यरूशलेमको यात्रा गरेका थिए। बाँकी मृतकहरू रोमी साम्राज्यका अन्य भागहरूबाट आएको हुनुपर्छ।

b निस्सन्देह, यहोवाको दृष्टिकोणबाट हेर्ने हो भने, मोशाको व्यवस्थालाई नयाँ करारले सा.यु. ३३ मा नै प्रतिस्थापन गरिसकेको थियो।—एफिसी २:१५.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• कस्तो घटनक्रमले गर्दा यहूदी मसीहीहरू यरूशलेमको विनाशबाट उम्कन सके?

• प्रेरित पत्रुस तथा पावलका लेखोटहरूमा पाइने सल्लाहले हामीलाई जागा रहन कसरी मदत गर्छ?

• आज पूर्ण जागा रहेको प्रमाण कसले दिएका छन्‌?

• लूत र तिनकी पत्नीको विवरणबाट हामी के पाठ सिक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १२-१५-मा भएको तालिका]

विश्‍वव्यापी यहोवाका साक्षीहरूको २००२ सेवा वर्ष रिपोर्ट

(छापिएको प्रकाशन हेर्नुहोस्‌)

[पृष्ठ ९-मा भएको चित्र]

सा.यु. ६६ मा यरूशलेमका मसीही समुदायले येशूको चेतावनी पालन गरे

[पृष्ठ १०-मा भएका चित्रहरू]

सक्रिय रहँदा मसीहीहरूलाई जागा रहन मदत मिल्छ