पाठकहरूका प्रश्नहरू
पाठकहरूका प्रश्नहरू
पावलले यसो भन्नुको अर्थ के थियो: “जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ”?
येशूको मृत्युको स्मरणार्थ उत्सवको स्थापनालाई संकेत गर्दै पावलले यस्तो लेखे: “जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।” (१ कोरिन्थी ११:२५, २६) कसै-कसैलाई यो “जहिले जहिले” भन्ने शब्दले येशूको मृत्युको उत्सव पटक-पटक अर्थात् धेरै चोटि मनाउनुपर्छ भनेको हो जस्तो लाग्न सक्छ। तसर्थ, तिनीहरू यो उत्सव वर्षमा धेरै चोटि मनाउने गर्छन्। के पावलले भन्न खोजेको कुरा पनि यही थियो?
येशूले आफ्नो मृत्युको स्मरणार्थ सुरु गर्नुभएको लगभग २,००० वर्ष बितिसक्यो। त्यसैकारण, वर्षको एक चोटि स्मरणार्थ मनाउनु भनेको पनि सा.यु ३३ देखि यता यो धेरै चोटि मनाइसकियो। तथापि, १ कोरिन्थी ११:२५, २६ को सन्दर्भमा कुरा गर्ने हो भने, पावलले स्मरणार्थ कति चोटि नभई यो कसरी मनाइनुपर्छ भनेर बताइरहेका थिए। मौलिक युनानीमा, तिनले “अक्सर” वा “बारम्बार” अर्थ लाग्ने पोलाकिस शब्द प्रयोग गरेनन्। बरु, तिनले ओसाकिस भन्ने शब्द प्रयोग गरे, जसको अर्थ “जहिले जहिले” हुन्छ र यसलाई तुक्कामा ढाल्ने हो भने, यसको अर्थ “जहिले” “हरेक पटक जब” हुन्छ। वास्तवमा पावलले यसो भनिरहेका थिए: ‘हरेक पटक यसो गर्दा, तिमीहरूले प्रभुको मृत्युको प्रचार गर्दछौ।’
उसोभए, येशूको मृत्युको स्मरणार्थ कति चोटि मनाइनुपर्छ? यो, वर्षको एक चोटि मात्र मनाउनु उपयुक्त छ। यो साँच्चै स्मरणार्थ हो र साधारणतया स्मरणार्थहरू वर्षमा एक चोटि मात्र मनाइन्छ। यसको अलावा, वर्षको एक चोटि मनाइने यहूदी निस्तार चाडको दिन येशूको मृत्यु भएको थियो। त्यसैकारण त पावलले येशूलाई “हाम्रो निस्तार चाड, जो ख्रीष्ट हुनुहुन्छ” भन्नुभयो किनभने प्रथम निस्तार चाडको बलिदानले जन्मजात इस्राएलीहरूको जेठो छोराहरूलाई जीवित राख्नुका साथै पूरै राष्ट्रलाई दासत्वबाट मुक्त गर्ने बाटो खोलेझैं येशूको बलिदानरूपी मृत्युले आध्यात्मिक इस्राएलको निम्ति जीवनको बाटो खोलिदियो। (१ कोरिन्थी ५:७; गलाती ६:१६) यसको सम्बन्ध यहूदीहरूले वार्षिक रूपमा मनाउने निस्तार चाडसित भएकोले येशूको मृत्युको स्मरणार्थ पनि वर्षको एक चोटि मात्रै मनाउनुपर्छ भन्ने कुरा यसबाट अझ प्रमाणित हुन्छ।
यसबाहेक, पावलले येशूको मृत्युलाई यहूदीहरूले मनाउने अर्को वार्षिक चाड अर्थात् प्रायश्चितका दिनसित सम्बन्धित छ भने। हिब्रू ९:२५, २६ मा हामी यस्तो लेखिएको पाउँछौं: “अझै बारम्बार आफैलाई अर्पण गरौं भनेर होइन, जसरी प्रधान पूजाहारी सालिन्दा [प्रायश्चितका दिन] आफ्नै होइन तर अर्काकै रगत लिएर पवित्रस्थानभित्र पस्ने गर्दछन्, नत्रता संसारको उत्पत्तिदेखिनै उहाँले वारंवार दुःख भोग्नुपर्थ्यो, तर अब युगको अन्तमा आफ्नै बलिदानले पाप हटाउनालाई उहाँ एकैचोटी प्रकट हुनुभएको छ।” येशूको बलिदानले वार्षिक प्रायश्चितका दिन चढाइने बलिदानलाई रद्द गरेको कारण उहाँको मृत्युको स्मरणार्थ वार्षिक रूपमा मनाउनु उपयुक्त छ। त्योभन्दा धेरै चोटि स्मरणार्थ उत्सव मनाउने कुनै धर्मशास्त्रीय कारण छैन।
यही बुँदालाई समर्थन गर्दै इतिहासकार लरेन्स भोन मोसिम के रिपोर्ट गर्छन् भने, एसिया माइनरमा बसोबास गर्ने दोस्रो शताब्दीका मसीहीहरूले येशूको मृत्युको स्मरणार्थ उत्सव “पहिलो यहूदी महिनाको [नीसान] चौधौं दिनमा” मनाउने गर्थे। पछि गएर मात्र यो उत्सव मसीहीजगत्मा वर्षको एक चोटि नभई धेरै चोटि मनाउने चलन भयो।