सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘हे परमेश्‍वर, किन यो सबै हुन दिनुभएको?’

‘हे परमेश्‍वर, किन यो सबै हुन दिनुभएको?’

हे परमेश्‍वर, किन यो सबै हुन दिनुभएको?’

रिकार्डोलाई आफ्नी श्रीमती मारियासँग डाक्टरको प्रतीक्षालयमा पर्खिरहेको त्यो क्षण अझै पनि याद छ। a तिनीहरू दुवैलाई मारियाको स्वास्थ्य परीक्षणको सबैभन्दा पछिल्लो रिपोर्ट हेर्ने आँटसम्म पनि थिएन। त्यसपछि रिकार्डोले खाम खोले अनि चिकित्सा भाषामा लेखिएको रिपोर्ट हतारहतार हेर्न थाले। तिनीहरूले हेर्दै जाँदा “क्यान्सर” भन्‍ने शब्द देखे र दुवै जनाले यस शब्दको पूरा अर्थ बुझेकोले धुरुधुरु रुन थाले।

रिकार्डो सम्झन्छन्‌, “डाक्टर एकदमै दयालु थिए। तर तिनलाई निश्‍चय पनि परिस्थिति कति गम्भीर छ भनी थाह थियो। त्यसकारण तिनले हामीलाई परमेश्‍वरमाथि भरोसा राख्नु, भनिरहे।”

रेडियो विकिरण उपचार सुरु गर्नुअघि मारियाको डाक्टरले तिनको दायाँ खुट्टामा केही अनौठो चलहल याद गरे। थप परीक्षणहरू पछि क्यान्सर तिनको दिमागसम्म फैलिएको निदान भयो। एक हप्तापछि नै रेडियो विकिरण उपचार बन्द गरियो। त्यसपछि मारिया होसमा पनि थिइनन्‌ र दुई महिनापछि तिनको मृत्यु भयो। “उनले धेरै सास्ती भोग्न नपरेकोमा मलाई अलि ढुक्क लागे तापनि उनको अभाव यति धेरै खड्‌किन्थ्यो कि मलाई आफू पनि मरे हुन्छ जस्तो लाग्थ्यो। अक्सर परमेश्‍वरलाई यसो भन्दै म रुन्थें: ‘तपाईंले मलाई नै यो किन हुन दिनुभएको?’ ”

विपत्ति आइपर्दा प्रश्‍नहरू खडा हुन्छन्‌

संसारका असंख्य मानिसहरू रिकार्डो जस्तै दुःखकष्टको भुमरीमा परेका छन्‌। अक्सर निर्दोष मानिसहरू यस्तो चपेटामा पर्छन्‌। सशस्त्र युद्धका कारण मानिसहरूले भोग्ने हृदयविदारक दुःखलाई विचार गर्नुहोस्‌। अथवा बलात्कार, बाल दुर्व्यवहार, घरेलु हिंसा र मानिसहरूले गर्ने अन्य दुष्ट कार्यहरूको कारण हुने पीडालाई सम्झनुहोस्‌। इतिहास केलाएर हेर्ने हो भने, पुरुष तथा महिलाहरूले एकअर्कामाथि ल्याएका अन्याय र पीडाको कुनै सीमा छैन जस्तो देखिन्छ। (उपदेशक ४:१-३) अनि त्यसमाथि प्राकृतिक प्रकोप वा भावनात्मक, मानसिक र शारीरिक बिमारीको कारण हुने वेदना त छँदैछ। यसकारण थुप्रै मानिसहरूले यस्तो प्रश्‍न गर्दा छक्क पर्नुपर्ने कुनै कारण छैन, “परमेश्‍वरले किन यस्तो दुःखकष्ट रहिरहन दिनुहुन्छ?”

धार्मिक आस्था भएकाहरूलाई समेत दुःखकष्टको सामना गर्न सजिलो हुँदैन। तपाईं पनि यस्तो सोच्नुहुन्छ होला, मायालु तथा शक्‍तिशाली परमेश्‍वरले किन मानिसजातिलाई दुःख भोग्न दिइरहनुहुन्छ। यो अलमल्याउँदो प्रश्‍नको सन्तोषदायी तथा साँचो जवाफ पाउनु हाम्रो मनोशान्ति तथा परमेश्‍वरसितको हाम्रो सम्बन्धको लागि अत्यावश्‍यक छ। बाइबलले त्यो प्रश्‍नको जवाफ दिन्छ। यसबारे बाइबलले के भन्छ, कृपया अर्को लेख पढेर विचार गर्नुहोस्‌।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ३-मा भएका चित्रहरू]

डाक्टरले हामीलाई परमेश्‍वरमाथि भरोसा राख्नु भनिरहे