सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के खराबीको जीत भएको छ?

के खराबीको जीत भएको छ?

के खराबीको जीत भएको छ?

असल र खराबका शक्‍तिहरूबीचको विश्‍वव्यापी द्वन्द्वले गर्दा इतिहासभरिका लेखक तथा दार्शनिकहरूले कहिल्यै नटुंगिने अड्‌कलबाजीहरू काट्‌ने गरेका छन्‌। यद्यपि, एउटा पुस्तकमा परमेश्‍वर र दियाबलबीच भएको द्वन्द्वको यथार्थ विवरणहरू लिपिबद्ध गरिएका छन्‌। त्यो पुस्तक बाइबल हो। यस पुस्तकले यस द्वन्द्वमा मुछिएका विवादहरूलाई स्पष्ट पार्नुका साथै यस द्वन्द्वका वास्तविक विजेता ठम्याउन मदत गर्छ।

प्रथम पुरुष र स्त्रीलाई सृष्टि गरिएको केही समयपछि एक अदृश्‍य आत्मिक प्राणी शैतान अर्थात्‌ दियाबलले परमेश्‍वरको शासनाधिकारलाई चुनौती दियो। कसरी? परमेश्‍वरले आफ्नो सृष्टिबाट असल कुराहरू वञ्चित गर्नुभएको छ अनि उहाँबाट स्वतन्त्र भएर मानिसजातिले अझ राम्रो जीवन बिताउन सक्नेछन्‌ भनी छलीपूर्वक बताएर त्यसले यसो गऱ्‍यो।—उत्पत्ति ३:१-५; प्रकाश १२:९.

पछि, कुलपिता अय्यूबको दिनमा शैतानले अर्को विवाद खडा गऱ्‍यो। अय्यूबको निष्ठालाई तोड्‌ने प्रयास गर्दै शैतानले यसो भन्यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यूब २:४) सबैलाई मुछ्‌ने त्यो कस्तो प्रश्‍न! अय्यूब नाउँ नलिई “मानिस” भन्‍ने जातिवाचक नाउँको प्रयोग गरेर शैतानले सारा मानवजातिको निष्ठामाथि शंका उब्जायो। वास्तवमा, त्यसले यसो भन्यो: ‘मानिसले आफ्नो ज्यान बचाउन सबै थोक गर्नेछ। मलाई मौका दिनुहोस्‌, म सबैलाई परमेश्‍वरबाट बहकाउन सक्छु।’

निम्न दुई प्रश्‍नहरूको जवाफद्वारा परमेश्‍वर र दियाबलबीचको द्वन्द्वको विजेता निर्धारण गर्न सकिन्छ: के मानिसले सफलतासाथ आफूमाथि शासन गर्न सकेको छ? के दियाबलले सबैलाई साँचो परमेश्‍वरबाट बहकाउन सकेको छ?

के मानिसजातिले सफलतासाथ शासन गर्न सक्छ?

हजारौं वर्ष लगाएर मानिसजातिले विभिन्‍न प्रकारका शासन प्रणालीहरूको परीक्षण गरेर हेरिसकेका छन्‌। इतिहासको कालक्रममा राजतन्त्र, सामन्तवाद, प्रजातन्त्र, तानाशाही, फासिज्म र साम्यवादीजस्ता विभिन्‍न प्रकारका सरकारहरू गठन भइसकेका छन्‌। के यस परीक्षणले यी विविध शासन प्रणालीहरू असक्षम छन्‌ भन्‍ने कुरा प्रमाणित गर्दैन र?

सन्‌ १९२२ मा प्रकाशित अ हिस्ट्री अफ द वर्ल्ड-मा इतिहासकार एच. जि. वेल्सले यस्तो लेख्छन्‌, “रोमीहरू विशाल प्रशासनिक परीक्षणमा चालै नपाई मुछिन पुगे।” उनी अझै यसो भन्छन्‌, “प्रशासनिक प्रणाली सधैं परिवर्तन भइरहन्थ्यो, कहिल्यै स्थायी रहेन। एक अर्थमा भन्‍नुपर्दा, परीक्षण असफल रह्‍यो। अर्को अर्थमा भन्‍नुपर्दा, परीक्षण अधुरो रह्‍यो र आज युरोप अनि अमेरिका रोमीहरूले प्रथम पटक सामना गर्नुपरेको देश चलाउने त्यही प्रशासनिक कलाका जटिल समस्याहरू सुल्झाउने अझै प्रयास गर्दैछन्‌।”

सरकारहरूको परीक्षणको क्रम आज हाम्रो समयसम्म पनि जारी नै छ। बीसौं शताब्दीको अन्तसम्ममा प्रजातान्त्रिक शासनले पहिला कहिल्यै नपाएको समर्थन पायो। प्रजातन्त्रले सैद्धान्तिक रूपमा सबैलाई सरकारमा संलग्न गर्ने दाबी गर्छ। तर के मानिसजातिले परमेश्‍वरविना सफलतासाथ शासन गर्न सक्छ भन्‍ने कुरालाई प्रजातन्त्रले प्रमाणित गरेको छ? भारतका भूतपूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूले प्रजातान्त्रिक व्यवस्था असल छ त भने तर यसको साथै तिनले यसो पनि भने: “अन्य सबै प्रशासनिक प्रणालीहरू झनै काम नलाग्ने भएकोले मैले यसो भनेको हुँ।” फ्रान्सका भूतपूर्व राष्ट्रपति भ्यालीरी गिसकार्ड डिइस्टाइंगले यसो भने: “हामी जनताको प्रतिनिधित्व गर्ने प्रजातन्त्रको संकट टुलुटुलु हेरेर बसिरहेका छौं।”

सा.यु.पू. पाँचौं शताब्दीमै युनानी दार्शनिक प्लेटोले प्रजातान्त्रिक शासन प्रणालीमा त्रुटिहरू पत्ता लगाइसकेका थिए। अ हिस्ट्रि अफ पोलिटिकल थिओरी नामक पुस्तकअनुसार तिनले “राजनीतिज्ञहरूको अज्ञानता र अयोग्यता नै प्रजातन्त्रको ठूलो बिडम्बना हो” भनी तीव्र आलोचना गरे। आजका धेरैजसो राजनीतिज्ञहरूले सरकारमा बस्न योग्य, सक्षम व्यक्‍तिहरू भेट्टाउन गाह्रो भएको दुखेसो पोख्छन्‌। द वाल स्ट्रिट जर्नल-ले यसो भन्यो, मानिसहरू “ठूला समस्याहरूको सामना गर्नुपर्दा असक्षम देखा पर्ने नेताहरूदेखि रुष्ट छन्‌।” यसले अझै यसो भन्यो, “डोऱ्‍याइको लागि नेताहरूको मुख ताक्दा तिनीहरू असक्षम अनि भ्रष्ट पाउँदा जनताहरू दिक्क हुन्छन्‌।”

अब पुरातन इस्राएलका राजा सुलेमानको शासनलाई विचार गर्नुहोस्‌। यहोवा परमेश्‍वरले सुलेमानलाई असाधारण बुद्धि दिनुभयो। (१ राजा ४:२९-३४) सुलेमानको ४० वर्षे शासनकालमा इस्राएल राष्ट्र कसरी सफल भयो? बाइबलले यस्तो जवाफ दिन्छ, “यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैं असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे।” उक्‍त विवरणले अझै यसो भन्छ: “यहूदा र इस्राएल शान्तिसित रहन्थे, हरेक मानिस आफ्नो-आफ्नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्थ्यो।” (१ राजा ४:२०, २५, नयाँ संशोधित संस्करण) अदृश्‍य सर्वोच्च शासक यहोवा परमेश्‍वरको दृश्‍य प्रतिनिधिको हैसियतमा बुद्धिमान्‌ राजाले तिनीहरूमाथि शासन गरेको कारण त्यस राष्ट्रले अतुलनीय स्थायित्व, संवृद्धि र आनन्द अनुभव गऱ्‍यो।

मानिसको शासन र परमेश्‍वरको शासनबीच कस्तो आकाश पातालको भिन्‍नता! शासनसम्बन्धी विवादमा शैतानको विजयी भयो भनेर के कसैले इमानदारीसाथ भन्‍न सक्छ? कदापि सक्दैन, किनकि अगमवक्‍ता यर्मियाले यस्तो घोषणा गर्नु एकदमै उपयुक्‍त थियो: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

के शैतानले सबैलाई परमेश्‍वरबाट बहकाउन सक्छ?

सबैलाई परमेश्‍वरबाट बहकाउन सक्छु भनेर शैतानले गरेको दाबीमा के त्यो सफल भएको छ? बाइबलको पुस्तक हिब्रूको ११ औं अध्यायमा प्रेरित पावलले मसीही युगपूर्वका धेरै विश्‍वासी पुरुष तथा स्त्रीका नाउँहरू उल्लेख गरे। त्यसपछि तिनले यस्तो घोषणा गरे: “गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, औ दाऊद, शमूएल र अगमवक्‍ताहरूका बारेमा भन्‍न मलाई समयको अभाव हुन्छ।” (हिब्रू ११:३२) पावलले परमेश्‍वरका यी वफादार सेवकहरूलाई ‘गवाहीका ठूला मेघ’ भने। (हिब्रू १२:१) यहाँ “मेघ[को]” लागि प्रयोग गरिएको युनानी शब्दले कुनै निश्‍चित नाप र आकारको मेघलाई बुझाउँदैन तर कुनै आकार नभएको आकाशै ढाक्ने मेघहरूको थुप्रोलाई बुझाउँछ। विगतमा परमेश्‍वरका विश्‍वासी सेवकहरू धेरै भएकाले तिनीहरू आकाशै ढाक्ने मेघ बराबर थिए भन्‍नु उपयुक्‍त छ। हो, शताब्दीयौंदेखि अनगन्ती मानिसहरूको समूहले आफ्नो स्वतन्त्र इच्छा प्रयोग गरेका छन्‌ र यहोवा परमेश्‍वरलाई स्वेच्छाले आफ्नो भक्‍ति चढाएका छन्‌।—यहोशू २४:१५.

आज हाम्रो समयमा चाहिं हामी के देख्छौं? बीसौं शताब्दीको दौडान भीषण सतावट र विरोध सहनुपरे तापनि विश्‍वव्यापी रूपमा यहोवाका साक्षीहरूको संख्या वृद्धि भएर साठी लाख नाघेको छ। यसबाहेक, लगभग ९० लाख मानिसहरू तिनीहरूसित संगत गर्छन्‌ अनि तिनीहरूमध्ये धेरैले परमेश्‍वरसित व्यक्‍तिगत तवरमा घनिष्ठ सम्बन्ध राख्न निर्णायक कदम चाल्दैछन्‌।

मानिसजातिलाई यहोवाबाट बहकाउन सक्छु भन्‍ने शैतानको दाबीको सबैभन्दा अर्थपूर्ण जवाफ त परमेश्‍वरको आफ्नै पुत्र येशू ख्रीष्टले दिनुभयो। शासनाको शूलीमा दिइएको असह्‍य पीडाले समेत उहाँको निष्ठा तोडेन। अन्तिम सास लिनुहुँदा येशू यसरी कराउनुभयो: “हे पिता, म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु।”—लूका २३:४६.

शैतानले मानिसजातिलाई आफ्नो वशमा राख्न प्रलोभनहरूदेखि लिएर प्रत्यक्ष सतावटसम्म अर्थात्‌ आफ्नो शक्‍तिले भ्याए जति सबै थोक गरे। मानिसहरूलाई प्रलोभित पार्न “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी” चलाएर त्यसले यहोवाबाट टाढा लैजान वा बहकाउन खोज्छ। (१ यूहन्‍ना २:१६) शैतानले ‘ख्रीष्टको महिमाको सुसमचार तिनीहरूमाथि नचम्कोस्‌ भनेर अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।’ (२ कोरिन्थी ४:४) आफ्नो लक्ष्य हासिल गर्न मानिसहरूको धम्की र डर-त्रास चलाउनसमेत शैतान पछि हट्‌दैन।—प्रेरित ५:४०.

यद्यपि, परमेश्‍वरको पक्षमा हुनेहरू दियाबलबाट परास्त हुँदैनन्‌। तिनीहरूले यहोवालाई चिन्‍नुका साथै ‘आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले,र आफ्ना सारा समझले प्रेम’ गरेका छन्‌। (मत्ती २२:३७) हो, येशू ख्रीष्टलगायत असंख्य मानिसहरूको अटल निष्ठाले गर्दा शैतान अर्थात्‌ दियाबलको ठूलो हार भयो।

भविष्यमा के हुनेछ?

के मानिसजातिले सधैंभरि विभिन्‍न प्रकारका सरकारहरूको परीक्षण गरिरहनेछन्‌? अगमवक्‍ता दानियलले यस्तो भविष्यवाणी गरे: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४) स्वर्गका परमेश्‍वरले व्यवस्था गर्नुभएको राज्य येशू ख्रीष्टले शासन गर्ने एउटा स्वर्गीय सरकार हो। यो त्यही राज्य हो जसको विषयमा येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभएको थियो। (मत्ती ६:९, १०) त्यस राज्यले “[आउँदै गरेको] सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ[मा]” सारा मानव सरकारहरूलाई नष्ट गर्नेछन्‌ र सारा पृथ्वीमा शासन गर्नेछ।—प्रकाश १६:१४, १६.

शैतानलाई के हुनेछ? यस भावी घटनालाई बाइबलले यसरी व्याख्या गर्छ: “[यहोवाको एउटा दूतले] त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए।” (प्रकाश २०:१-३) शैतानलाई हजार वर्षको लागि अगाध खाँदमा फालिदिएपछि येशू ख्रीष्टको हजार वर्षीय शासन सुरु हुनेछ।

त्यतिबेला यो पृथ्वी कत्ति मनोहर हुनेछ! दुष्टता अनि यसका कारक तत्त्वहरूको नामोनिशान रहनेछैन। बाइबलले यस्तो प्रतिज्ञा गर्छ: “कुकर्मीहरू नष्ट हुनेछन्‌। . . . नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:९-११) तिनीहरूको शान्ति मानिस होस्‌ या पशु, कुनै स्रोतद्वारा पनि भंग हुनेछैन। (यशैया ११:६-९) अनजान अनि यहोवालाई चिन्‍ने मौका नपाई विगतमा दियाबलको पक्ष लिने करोडौं व्यक्‍तिहरूलाई समेत पुनर्जीवन र ईश्‍वरीय शिक्षा दिइनेछ।—प्रेरित २४:१५.

हजार वर्षीय शासनको अन्तमा पृथ्वीलाई प्रमोदवनको अवस्थामा ल्याइनेछ र त्यहाँ बास गर्ने मानवजातिलाई सिद्ध तुल्याइनेछ। त्यसपछि शैतानलाई “केही समयको निम्ति” फुकाइएपछि परमेश्‍वरको शासनको विरोधीहरूसितै सदाका लागि त्यसलाई नाश गरिनेछ।—प्रकाश २०:३, ७-१०.

तपाईंले कसको पक्ष लिनुहुनेछ?

बीसौं शताब्दीमा शैतानले यस पृथ्वीमा विध्वंश मच्चायो। यद्यपि, पृथ्वीको अवस्थाले त्यसको विजयको होइन तर हामी यस दुष्ट रीतिरिवाजको अन्तिम दिनहरूमा बाँचिरहेका छौं भन्‍ने कुराको संकेत दिन्छ। (मत्ती २४:३-१४; प्रकाश ६:१-८) पृथ्वीमा दुष्टताको बिगबिगी र बहुसंख्यक व्यक्‍तिहरूको दृष्टिकोण विजेता निर्धारण गर्ने तत्त्व होइन। कसको शासन प्रणाली उत्तम छ अनि प्रेमले उत्प्रेरित भएर परमेश्‍वरको सेवा गर्ने व्यक्‍तिहरू छन्‌ कि छैनन्‌ भन्‍ने सवाल नै विजेता निर्धारण गर्ने प्रमुख तत्त्व हो। यी दुवै पक्षमा यहोवाको जीत भएको छ।

शैतानलाई रहन दिनुभएको समयबाट नै त्यो गलत साबित भइसकेको कारण परमेश्‍वरले किन दुष्टता अझै रहिरहन दिनुहुन्छ? यहोवाले धैर्य धारण गरिरहनुभएको छ। उहाँ “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) परमेश्‍वरको इच्छा त “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” छ। (१ तिमोथी २:४) तपाईं पक्कै पनि बाँकी रहेको समयलाई बाइबल अध्ययन गर्न अनि ‘एकमात्र सत्य परमेश्‍वर र उहाँले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिन’ उपयोग गर्न चाहनुहुन्छ होला। (यूहन्‍ना १७:३) त्यस्तो ज्ञान हासिल गर्न तपाईंलाई मदत दिन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌, जसद्वारा तपाईं पनि दृढ भई विजेताको पक्षमा खडा भइरहेका लाखौं व्यक्‍तिहरूको समूहमा सामेल हुन सक्नुहुन्छ।

[पृष्ठ ५-मा भएका चित्रहरू]

निष्ठा कायम राखेर यहोवाका साक्षीहरूले शैतानको हार भएको कुरालाई पुष्टि गर्न थप प्रमाण दिएका छन्‌

[पृष्ठ ७-मा भएको चित्र]

यहोवाको पक्षमा धेरै वफादार जनहरू छन्‌