सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?

के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?

के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?

“परमेश्‍वरको राज्य नजीक आइपुगेको छ। पश्‍चाताप गर, र सुसमाचारमा विश्‍वास गर।”—मर्कूस १:१५.

१, २. तपाईं मर्कूस १:१४, १५ लाई कसरी व्याख्या गर्नुहुन्छ?

 सा.यु. ३० को कुरा हो। येशू ख्रीष्टले भर्खरै मात्र गालीलमा आफ्नो महान्‌ सेवकाई सुरु गर्नुभएको थियो। उहाँले “परमेश्‍वरको सुसमाचार” प्रचार गरिरहनुभएको थियो र थुप्रै गालीलीहरू उहाँको यस भनाइबाट उत्प्रेरित भए: “समय पूरा भएको छ, औ परमेश्‍वरको राज्य नजीक आइपुगेको छ। पश्‍चाताप गर, र सुसमाचारमा विश्‍वास गर।”—मर्कूस १:१४, १५.

येशूको लागि आफ्नो सेवकाई सुरु गर्ने “समय” आइपुगेको थियो भने, मानिसहरूको लागि ईश्‍वरीय अनुमोदन प्राप्त गर्नको लागि निर्णय गर्ने समय आइपुगेको थियो। (लूका १२:५४-५६) ‘परमेश्‍वरको राज्य नजिकै आइपुगेको थियो’ किनभने नियुक्‍त राजाको हैसियतमा येशू त्यहीं हुनुहुन्थ्यो। उहाँको प्रचार कार्यले निष्कपट हृदय भएकाहरूलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गऱ्‍यो। तर तिनीहरूले कसरी “सुसमाचारमा विश्‍वास” गरे अनि हामी कसरी गर्न सक्छौं?

३. सुसमाचारमाथि विश्‍वास छ भन्‍ने कुरा मानिसहरूले कसरी देखाइरहेका छन्‌?

येशूले जस्तै प्रेरित पत्रुसले पनि मानिसहरूलाई पश्‍चात्ताप गर्न आग्रह गरे। सा.यु. ३३ पेन्तिकोसमा यरूशलेममा भेला भएका यहूदीहरूलाई सम्बोधन गर्दै पत्रुसले यसो भने: “पश्‍चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” हजारौंले पश्‍चात्ताप गरेर बप्तिस्मा लिए अनि येशूका अनुयायी भए। (प्रेरित २:३८, ४१; ४:४) सा.यु. ३६ मा पश्‍चात्तापी अन्यजातिहरूले पनि यस्तै कदम चाले। (प्रेरित १०:१-४८) आज हाम्रो समयमा पनि सुसमाचारमाथिको विश्‍वासले हजारौंलाई आफ्ना पापहरूको लागि पश्‍चात्ताप गर्न, परमेश्‍वरलाई समर्पण गर्न र बप्तिस्मा लिन उत्प्रेरित गरिरहेको छ। तिनीहरूले मुक्‍तिको सुसमाचार स्वीकारेका छन्‌ र येशूको छुडौतिको बलिदानमाथि विश्‍वास गरिरहेका छन्‌। साथै, तिनीहरू धार्मिक मार्गमा लागिरहेका छन्‌ र परमेश्‍वरको राज्यको पक्षमा खडा भएका छन्‌।

४. विश्‍वास भनेको के हो?

तर विश्‍वास भनेको के हो? प्रेरित पावलले लेखे: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) हाम्रो विश्‍वासको कारण हाम्रोलागि परमेश्‍वरका हरेक प्रतिज्ञाहरू साँच्चै पूरा भइसकेका जस्तै निश्‍चित छन्‌। यो कुनै सम्पत्ति हाम्रो हो भनी प्रमाणित गर्ने कानुनी कागजातजस्तै हो। विश्‍वास भनेको नदेखेका कुराहरू पत्यार गर्ने “प्रमाण” वा भरोसा गर्ने आधार पनि हो। हाम्रो मानसिक समझ र कृतज्ञताद्वारा भरिएको हृदयले हामीलाई आफूले नदेखेका कुराहरू पनि वास्तविक हुन्‌ भनी विश्‍वस्त गराउँछ।—२ कोरिन्थी ५:७; एफिसी १:१८.

हामीलाई विश्‍वास चाहिन्छ!

५. किन विश्‍वास एकदमै महत्त्वपूर्ण छ?

हामी जन्मँदा आध्यात्मिक आवश्‍यकतासहित जन्मिएका हुन्छौं, विश्‍वाससहित होइन। वास्तवमा भन्‍ने हो भने, “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) तथापि, परमेश्‍वरका प्रतिज्ञाहरूको हकदार हुन मसीहीहरूमा विश्‍वास हुनै पर्छ। (हिब्रू ६:१२) विश्‍वासका थुप्रै उदाहरणहरूबारे उल्लेख गरिसकेपछि पावलले यस्तो लेखे: “हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग दौडौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” (हिब्रू १२:१, २) “हामीलाई सजिलैसित अल्मल्याउने पाप” के हो? यो विश्‍वासको कमी वा विगतमा आफूसँग भएको विश्‍वाससमेत गुमाउनु हो। बलियो विश्‍वास कायम राखिरहन हामीले उत्सुकतासाथ ‘येशूलाई हेर्नुपर्छ’ र उहाँको उदाहरण पछ्याउनुपर्छ। हामीले अनैतिकतालाई तिरस्कार गर्नुपर्छ, शरीरका कामहरू विरुद्ध संघर्ष गर्नुपर्छ अनि भौतिकवाद, सांसारिक दर्शन तथा गैर-धर्मशास्त्रीय परम्पराहरूबाट जोगिनुपर्छ। (गलाती ५:१९-२१; कलस्सी २:८; १ तिमोथी ६:९, १०; यहूदा ३, ४) साथै, हामीले परमेश्‍वर हामीसित हुनुहुन्छ र उहाँको वचनमा दिइएका सल्लाहहरू साँच्चै उपयोगी छन्‌ भनी विश्‍वास गर्नुपर्छ।

६, ७. विश्‍वासका लागि प्रार्थना गर्नु किन उचित हो?

हामी आफ्नै इच्छाशक्‍तिले आफूमा विश्‍वास उत्पन्‍न गर्न सक्दैनौं। विश्‍वास परमेश्‍वरको पवित्र आत्मा वा सक्रिय शक्‍तिको भाग हो। (गलाती ५:२२, २३) त्यसोभए, हाम्रो विश्‍वासलाई अझ बलियो बनाउन आवश्‍यक परेको छ भने नि? येशूले यसो भन्‍नुभयो: “तिमीहरू . . . आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ़ता गरेर पवित्र आत्मा दिनुहुनेछ।” (लूका ११:१३) हो, हामी पवित्र आत्माको लागि प्रार्थना गरौं किनभने यसले अत्यन्तै कठिन परिस्थितिहरूमा समेत हामीमा परमेश्‍वरको इच्छा गर्न आवश्‍यक पर्ने विश्‍वास उत्पन्‍न गर्न सक्छ।—एफिसी ३:२०.

थप विश्‍वासको लागि प्रार्थना गर्नु उचित हो। येशूले एउटा ठिटोबाट भूतात्मा निकाल्न लाग्नुहुँदा तिनको बुबाले यसरी बिन्ती गरे: “म विश्‍वास गर्दछु, मेरो अविश्‍वासलाई मदत गर्नुहोस्‌।” (मर्कूस ९:२४) येशूका चेलाहरूले यसो भने: “हामीहरूको विश्‍वास बढ़ाइदिनुहोस्‌।” (लूका १७:५) त्यसकारण, परमेश्‍वरले यस्ता प्रार्थनाहरूको जवाफ दिनुहुन्छ भनी विश्‍वस्त हुँदै हामी विश्‍वासका लागि प्रार्थना गरौं।—१ यूहन्‍ना ५:१४.

परमेश्‍वरको वचनमा विश्‍वास गर्नु अत्यावश्‍यक

८. परमेश्‍वरको वचनमाथिको विश्‍वासले हामीलाई कसरी मदत गर्न सक्छ?

आफ्नो बलिदानरूपी मृत्यु हुनुभन्दा केही समयअघि येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूको हृदय विचलित नहोस्‌, तिमीहरू परमेश्‍वरलाई विश्‍वास गर्दछौ, मलाई पनि विश्‍वास गर।” (यूहन्‍ना १४:१) मसीहीहरूको हैसियतमा हामी परमेश्‍वर र उहाँको पुत्रमाथि विश्‍वास गर्छौं। तर परमेश्‍वरको वचनमाथि नि? हाम्रोलागि यो नै सबैभन्दा उत्तम सल्लाह तथा निर्देशन हो भन्‍ने कुरामा पूर्णतया विश्‍वस्त हुँदै यसलाई पढ्यौं र प्रयोगमा ल्यायौं भने यसले हामीलाई लाभ पुऱ्‍याउन सक्छ।—हिब्रू ४:१२.

९, १०. याकूब १:५-८ मा विश्‍वासबारे बताइएको कुरालाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

हामी मानिसहरू असिद्ध भएको कारण जीवन दुःखकष्टले भरिएको छ। तथापि, परमेश्‍वरको वचनमाथिको विश्‍वासले हामीलाई साँच्चै मदत गर्न सक्छ। (अय्यूब १४:१) उदाहरणका लागि, मानिलिनुहोस्‌ कुनै खास परीक्षाहरूको सामना कसरी गर्ने भनी हामीलाई थाह छैन। परमेश्‍वरको वचनले हामीलाई यस्तो सल्लाह दिन्छ: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ। तर त्यसले केही पनि सन्देह नगरी विश्‍वाससाथ मागोस्‌। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ। किनकि त्यस मानिसले यस्तो नसम्झोस्‌, कि उसले प्रभुबाट केही पाउनेछ। दोहोरो मन भएको मानिस उसको सबै चाल-चलनमा चञ्चल हुन्छ।”—याकूब १:५-८.

१० बुद्धिको कमी भएकोले र त्यसको लागि प्रार्थना गर्दा यहोवा परमेश्‍वरले हामीलाई हप्काउनु हुन्‍न। बरु, उहाँले हामीलाई परीक्षाहरूप्रति सही दृष्टिकोण राख्न मदत दिनुहुनेछ। सँगी विश्‍वासीहरूद्वारा वा बाइबल अध्ययन गर्दा हाम्रो ध्यान अचानक मदतकारी शास्त्रपदहरूतिर पुग्न सक्छ। अथवा यहोवाको पवित्र आत्माले हामीलाई अरू नै तरिकामा डोऱ्‍याउन सक्छ। हामीले “केही पनि सन्देह नगरी विश्‍वाससाथ [माग्यौं]” भने, स्वर्गमा बस्नुहुने हाम्रो पिताले हामीलाई परीक्षाहरूको सामना गर्ने बुद्धि दिनुहुनेछ। हामी बतासले उचाल्दै र पछार्दै गरेका समुद्रका लहरसमान भयौं भने, हामीले परमेश्‍वरबाट कुनै पनि कुरा प्राप्त गर्ने आशा गर्न सक्दैनौं। किन? किनभने यसको अर्थ हामी प्रार्थनामा अथवा अरू कुनै तरिकामा अनि विश्‍वास प्रदर्शन गर्ने सन्दर्भमा समेत दोहोरो मन भएको वा अस्थिर थियौं। त्यसकारण, हामीले परमेश्‍वरको वचन र यसले प्रदान गर्ने डोऱ्‍याइमाथि दृढ विश्‍वास राख्नुपर्छ। परमेश्‍वरको वचनले कसरी मदत र निर्देशन दिन्छ, हामी केही उदाहरणहरू विचार गरौं।

विश्‍वास र जीविकोपार्जन

११. परमेश्‍वरको वचनमाथिको विश्‍वासले हामीलाई आफ्नो दैनिक आवश्‍यकताबारे कस्तो आश्‍वासन दिन्छ?

११ हामीले गाँसबासको अभाव महसुस गरिरहेका छौं वा गरिबीको चपेटामा परेका छौं भने नि? परमेश्‍वरको वचनमाथिको विश्‍वासले हामीलाई यहोवाले हाम्रा दैनिक आवश्‍यकताहरूको ख्याल गर्नुहुनेछ र अन्ततः उहाँलाई प्रेम गर्नेहरू सबैको लागि उहाँले प्रचुर मात्रामा प्रबन्ध गर्नुहुनेछ भन्‍ने कुराको निश्‍चयता दिन्छ। (भजन ७२:१६; लूका ११:२, ३) यहोवाले आफ्ना अगमवक्‍ता एलियालाई अनिकालको दौडान कसरी खानेकुरा जुटाइदिनुभयो भनी विचार गर्नु हाम्रोलागि प्रोत्साहनदायी हुन सक्छ। पछि, परमेश्‍वरको चमत्कारद्वारा पीठो र तेल कहिल्यै सिद्धिएन र यसरी एउटी आइमाई, तिनको छोरा र एलिया जीवित रहन सके। (१ राजा १७:२-१६) त्यस्तै गरी, बेबिलोनी सेनाले यरूशलेमलाई घेरा हाल्दा अगमवक्‍ता यर्मियाको लागि पनि यहोवाले आवश्‍यक कुराहरूको प्रबन्ध गरिदिनुभयो। (यर्मिया ३७:२१) यर्मिया र एलियाले पेटभरि खान नपाए तापनि यहोवाले तिनीहरूको हेरविचार गर्नुभयो। उहाँमा विश्‍वास गर्नेहरूको लागि आज पनि यहोवाले त्यसै गर्नुहुन्छ।—मत्ती ६:११, २५-३४.

१२. विश्‍वासले रोजीरोटी जुटाउन कसरी मदत गर्नेछ?

१२ विश्‍वाससहित बाइबल सिद्धान्तहरू व्यवहारमा उतार्दैमा हामी भौतिक तवरमा सम्पन्‍न त हुँदैनौं तर यसले हामीलाई रोजीरोटी जुटाउन मदत गर्नेछ। उदाहरणका लागि: बाइबलले हामीलाई इमानदार, योग्य र परिश्रमी व्यक्‍ति हुन सल्लाह दिन्छ। (हितोपदेश २२:२९; उपदेशक ५:१८, १९; २ कोरिन्थी ८:२१) असल कामदारको रूपमा कमाएको नाउँलाई हामीले कहिल्यै हल्कासित लिनुहुँदैन। राम्रो जागिर पाउन गाह्रो हुने ठाउँहरूमा समेत इमानदार, सिपालु र मेहनती कामदारहरूले अरूले भन्दा बढी सुअवसरहरू पाउँछन्‌। यस्ता कामदारहरू भौतिक तवरमा सपन्‍न नभए तापनि तिनीहरूका आधारभूत आवश्‍यकताहरू अक्सर पूरा भइरहेका हुन्छन्‌ र तिनीहरू आफ्नो मेहनतको कमाइ खाँदाको सन्तुष्टि अनुभव गर्छन्‌।—२ थिस्सलोनिकी ३:११, १२.

विश्‍वासले हामीलाई शोक सहन मदत गर्छ

१३, १४. विश्‍वासले कसरी हामीलाई शोक सहन मदत गर्छ?

१३ वास्तवमा, आफ्नो प्रियजनको मृत्यु हुँदा शोक गर्नु स्वाभाविकै हो भनी परमेश्‍वरको वचनले देखाउँछ। विश्‍वासी कुलपिता अब्राहामले आफ्नी प्यारी पत्नी, साराको मृत्यु हुँदा शोक गरे। (उत्पत्ति २३:२) आफ्नो छोरो अब्शालोमको मृत्यु भएको खबर सुन्दा दाऊद शोकित भए। (२ शमूएल १८:३३) आफ्नो मित्र लाजरसको मृत्यु हुँदा सिद्ध मानव येशूसमेत रुनुभयो। (यूहन्‍ना ११:३५, ३६) प्रियजनको मृत्यु हुँदा हामी अत्यन्तै शोकाकुल हुन सक्छौं तर परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरूमाथिको विश्‍वासले हामीलाई यस्तो शोक सहन मदत दिन सक्छ।

१४ पावलले ‘धर्मी र अधर्मीहरूको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु’ भने। (प्रेरित २४:१५) असंख्य व्यक्‍तिहरूलाई फेरि ब्यूँताउने परमेश्‍वरको प्रबन्धमाथि हामीले विश्‍वास राख्नुपर्छ। (यूहन्‍ना ५:२८, २९) तिनीहरूमध्ये मृत्युको चीर निद्रामा परमेश्‍वरको नयाँ संसारमा पुनरुत्थान हुने दिनको बाटो कुरिरहेका अब्राहाम र सारा, इसहाक र रिबेका, याकूब र लेआ पनि पर्छन्‌। (उत्पत्ति ४९:२९-३२) प्रियजनहरू मृत्युको त्यो चीर निद्राबाट ब्यूँझिएर सधैंभरिका लागि यस पृथ्वीमा बस्न आउँदा कस्तो आनन्द हुनेछ! (प्रकाश २०:११-१५) तर अहिले, विश्‍वासले सबै शोकहरू त हटाउँदैन तर यसले हामीलाई परमेश्‍वरको नजिक बनाउँछ र उहाँले हामीलाई शोक सहन मदत दिनुहुन्छ।—भजन १२१:१-३; २ कोरिन्थी १:३.

विश्‍वासले निराश भएकाहरूलाई बलियो बनाउँछ

१५, १६. (क) विश्‍वास गर्नेहरू निराश हुनु कुनै अचम्मलाग्दो कुरा होइन भनी हामी किन भन्‍न सक्छौं? (ख) निराशासँग जुध्न के गर्न सकिन्छ?

१५ परमेश्‍वरमाथि विश्‍वास गर्नेहरूसमेत निराशाको सिकार हुन सक्छन्‌ भनी परमेश्‍वरको वचनले देखाउँछ। कठिन परीक्षाको बेला अय्यूबले आफूलाई यहोवाले त्याग्नुभएको महसुस गरे। (अय्यूब २९:२-५) यरूशलेम र यसको पर्खालको भताभुंग अवस्थाले नहेम्याहलाई उदास बनायो। (नहेम्याह २:१-३) येशूलाई इन्कार गरेपछि पत्रुस यति दुःखी भए कि तिनी “धुरूधुरू रोए।” (लूका २२:६२) अनि पावलले थिस्सलोनिकाको मण्डलीका सँगी विश्‍वासीहरूलाई “हरेस खानेलाई दिलाशा देओ” भनी आग्रह गरे। (१ थिस्सलोनिकी ५:१४) त्यसकारण, आज पनि विश्‍वास गर्नेहरू निराश हुनु कुनै अचम्मलाग्दो कुरा होइन। त्यसोभए, निराशाको सामना गर्न हामी के गर्न सक्छौं?

१६ एकै चोटि तीन थुप्रो गम्भीर समस्याहरू आइपर्दा हामी निराश हुन सक्छौं। ती सबैलाई एउटा ठूलो समस्याको रूपमा हेर्नुको साटो बाइबल सिद्धान्तहरू चलाउँदै हामी ती समस्याहरूलाई एक-एक गरी समाधान गर्न सक्षम हुन सक्छौं। यसले हाम्रो निराशा कम गर्न मदत दिन सक्छ। सन्तुलित क्रियाकलाप र पर्याप्त आराम गर्नु पनि मदतकारी हुन सक्छ। एउटा कुरा भने पक्का छ: परमेश्‍वर तथा उहाँको वचनमाथिको विश्‍वासले हाम्रो आध्यात्मिक भलाइ गर्छ किनभने यसले परमेश्‍वरले साँच्चै हाम्रो ख्याल गर्नुहुन्छ भन्‍ने हाम्रो निश्‍चयतालाई अझ सुदृढ बनाउँछ।

१७. यहोवाले हाम्रो ख्याल गर्नुहुन्छ भनी हामी कसरी थाह पाउँछौं?

१७ पत्रुस हामीलाई यस्तो सान्त्वनादायी आश्‍वासन दिन्छन्‌: “परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:६, ७) भजनहारले यसरी गाए: “पतन भएकाहरू सबैलाई परमप्रभुले सम्हाल्नुहुन्छ, निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।” (भजन १४५:१४) हामीले यी आश्‍वासनहरूमाथि विश्‍वास गर्नुपर्छ किनकि यी परमेश्‍वरको वचनमा दिइएका हुन्‌। निराशा सबै नहटे तापनि हामीले आफ्ना सारा फिक्रीहरू स्वर्गमा बस्नुहुने हाम्रा मायालु पितामाथि बिसाउन सक्छौं भनी थाह पाउँदा हाम्रो विश्‍वास कत्ति बलियो हुन्छ!

विश्‍वास तथा अरू परीक्षाहरू

१८, १९. विश्‍वासले कसरी हामीलाई रोग बिमारको सामना गर्न र बिरामी परेका सँगी विश्‍वासीहरूलाई सान्त्वना दिन मदत गर्छ?

१८ आफू वा आफ्ना प्रियजनहरू गम्भीर बिरामी हुँदा हामी आफ्नो विश्‍वासको ठूलो परीक्षा अनुभव गर्न सक्छौं। बाइबलमा इपाफ्रोडाइटस, तिमोथी र त्रोफिमसजस्ता मसीहीहरू चमत्कारपूर्ण ढंगमा निको भएको विवरण उल्लेख नगरिए तापनि निश्‍चय पनि यहोवाले तिनीहरूलाई धैर्य धारण गर्न मदत दिनुभयो। (फिलिप्पी २:२५-३०; १ तिमोथी ५:२३; २ तिमोथी ४:२०) साथै, ‘निर्धाहरूको चिन्ता गर्नेहरूबारे’ भजनहारले यसरी गाए: “परमप्रभुले त्यसलाई त्यसको बिरामी अवस्थामा पलङैमा सम्हाल्नुहुन्छ। त्यसलाई रोग लाग्दा तपाईंले त्यसको ओछ्यान बनाइदिनुहुन्छ।” (भजन ४१:१-३) बिरामी परेका सँगी विश्‍वासीहरूलाई सान्त्वना दिन भजनहारका शब्दहरूले हामीलाई कसरी मदत गर्न सक्छ?

१९ आध्यात्मिक सहयोग गर्ने एउटा तरिका बिरामी व्यक्‍तिसँगै वा बिरामी व्यक्‍तिको लागि प्रार्थना गर्नु हो। आज हामी चमत्कारपूर्ण ढंगमा निको पारिदिनुहोस्‌ भनी परमेश्‍वरलाई बिन्ती गर्दैनौं तर तिनीहरूलाई आफ्नो रोगबिमार सहने साहस र यस्ता कमजोरीहरूको दौडान धैर्य धारण गर्न आवश्‍यक आध्यात्मिक बल दिनुहोस्‌ भनी आग्रह भने गर्न सक्छौं। यहोवाले तिनीहरूलाई सम्हाल्नुहुनेछ र “त्यहाँका बासिन्दाहरूले . . . ‘म बिरामी परें’ ” नभन्‍ने समयको प्रतीक्षा गर्दा तिनीहरूको विश्‍वास अझ सुदृढ हुनेछ। (यशैया ३३:२४) पुनरुत्थान हुनुभएका येशू ख्रीष्ट र परमेश्‍वरको राज्यद्वारा विश्‍वासी मानिसजातिले पाप, रोग र मृत्युबाट सदाको लागि छुटकारा पाउनेछन्‌ भन्‍ने कुरा थाह पाउँदा कत्ति सन्त्वना मिल्छ! यस महान्‌ प्रत्याशाको लागि हामी ‘हाम्रा सबै रोगहरू निको पार्नुहुने’ यहोवालाई धन्यवाद दिन्छौं।—भजन १०३:१-३; प्रकाश २१:१-५.

२०. विश्‍वासले हामीलाई वृद्धावस्थाको “दुःखको समय[मा]” सम्हाल्न सक्छ भनी किन भन्‍न सकिन्छ?

२० विश्‍वासले हामीलाई वृद्धावस्थाको “दुःखको समय[मा]” सम्हाल्न सक्छ, जुन बेला स्वास्थ्य र बल कमजोर हुँदै जान्छ। (उपदेशक १२:१-७) त्यसकारण, हामीमाझ भएका वृद्धहरूले पनि उमेर ढल्कँदै गएका भजनहारको गीतमाझैं यसरी प्रार्थना गर्न सक्छन्‌: “हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, . . . बूढेसकालमा मलाई नत्याग्नुहोस्‌, मेरो बल घटेको बखतमा मलाई नछोडनुहोस्‌।” (भजन ७१:५, ९) परमेश्‍वरको सेवामा वृद्ध भएका हाम्रा थुप्रै सँगी विश्‍वासीहरूले जस्तै भजनहारले पनि यहोवाको समर्थनको आवश्‍यकता महसुस गरे। आफ्नो विश्‍वासको कारण, तिनीहरू आफूमाथि यहोवाको सनातनको बाहुको अटुट समर्थन छ भनी पक्का हुन सक्छन्‌।—व्यवस्था ३३:२७.

परमेश्‍वरको वचनमाथि विश्‍वास कायम राख्नुहोस्‌

२१, २२. हामीसँग विश्‍वास छ भने, परमेश्‍वरसँगको हाम्रो सम्बन्धमा यसले कसरी असर गर्छ?

२१ सुसमाचार र परमेश्‍वरको सम्पूर्ण वचनमाथि विश्‍वास राख्दा यसले हामीलाई यहोवाको अझ नजिक हुन मदत गर्छ। (याकूब ४:८) हो, उहाँ हाम्रो सार्वभौम प्रभु हुनुहुन्छ तर उहाँ हाम्रो सृष्टिकर्ता तथा पिता पनि हुनुहुन्छ। (यशैया ६४:८; मत्ती ६:९; प्रेरित ४:२४) “तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्‍वर, र मलाई उद्धार गर्ने मेरो चटान” भनी भजनहारले गाए। (भजन ८९:२६) हामीले यहोवा र उहाँको प्रेरित वचनमाथि विश्‍वास गऱ्‍यौं भने, हामी पनि उहाँलाई ‘हाम्रो उद्धार गर्ने चटानको’ रूपमा हेर्न सक्छौं। कस्तो हृदयस्पर्शी सुअवसर!

२२ यहोवा आत्मा-अभिषिक्‍त मसीहीहरू र पार्थिव आशा भएका तिनीहरूका सँगीहरूको पिता हुनुहुन्छ। (रोमी ८:१५) अनि स्वर्गमा बस्नुहुने हाम्रो पितामाथिको विश्‍वासले हामीलाई कहिल्यै निराश तुल्याउँदैन। दाऊदले यसो भने: “किनकि मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।” (भजन २७:१०) साथै, हामीले यस्तो आश्‍वासन पनि पाएका छौं: “आफ्नो नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्यग्नुहुनेछैन।”—१ शमूएल १२:२२.

२३. यहोवासँग अनन्त सम्बन्धको आनन्द उठाउन हामीले कुन आवश्‍यकता पूरा गर्नुपर्छ?

२३ निस्सन्देह, यहोवासँग अनन्त सम्बन्धको आनन्द उठाउन सुसमाचारमाथि हाम्रो विश्‍वास हुनुपर्छ र बाइबललाई साँच्चै परमेश्‍वरको वचन हो भनी स्वीकार्नुपर्छ। (१ थिस्सलोनिकी २:१३) यहोवामाथि हाम्रो पूर्ण विश्‍वास हुनुपर्छ र उहाँको वचनलाई हाम्रो बाटोको निम्ति उज्यालो हुन दिनुपर्छ। (भजन ११९:१०५; हितोपदेश ३:५, ६) हामीमाथि उहाँको अनुकम्पा, दया र समर्थन छ भन्‍ने कुरामा निर्धक्क हुँदै उहाँलाई प्रार्थना गऱ्‍यौं भने हाम्रो विश्‍वास अझ बढ्‌नेछ।

२४. रोमी १४:८ मा कस्तो सान्त्वनादायी विचार दिइएको छ?

२४ विश्‍वासले हामीलाई सदाको लागि यहोवामा समर्पण गर्न उत्प्रेरित गऱ्‍यो। हामीसँग बलियो विश्‍वास भएको कारण हामी मऱ्‍यौं भने पनि पुनरुत्थानको आशासहित उहाँका समर्पित सेवककै रूपमा मर्छौं। हो, “चाहे हामी बाचौं, चाहे मरौं, हामी [यहोवाकै] हौं।” (रोमी १४:८) आउनुहोस्‌, परमेश्‍वरको वचनमा हाम्रो भरोसा कायम राख्दा अनि सुसमाचारमा विश्‍वास गरिरहँदा हामी यस सान्त्वनादायी विचारलाई हाम्रो हृदयमा राखिरहौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• विश्‍वास भनेको के हो र हामीलाई किन यो गुण चाहिन्छ?

• हामीले सुसमाचार र परमेश्‍वरको सम्पूर्ण वचनमाथि विश्‍वास गर्नु किन अत्यावश्‍यक छ?

• विश्‍वासले कसरी हामीलाई विभिन्‍न प्रकारका परीक्षाहरू सहन मदत गर्छ?

• विश्‍वास कायम राख्न हामीलाई कुन कुराले मदत गर्नेछ?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएका चित्रहरू]

यहोवाले यर्मिया र एलियालाई सम्हाल्नुभयो किनकि तिनीहरूसित विश्‍वास थियो

[पृष्ठ १२-मा भएका चित्रहरू]

अय्यूब, पत्रुस र नहेम्याहसित बलियो विश्‍वास थियो

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवासँग अनन्त सम्बन्धको आनन्द उठाउन, सुसमाचारमाथि हाम्रो विश्‍वास हुनुपर्छ