तपाईंको विश्वास कत्तिको बलियो छ?
तपाईंको विश्वास कत्तिको बलियो छ?
“विश्वासबाटनै तिमीहरू स्थिर छौ।”—२ कोरिन्थी १:२४.
१, २. हामीमा किन विश्वास हुनै पर्छ र यो कसरी अझ बलियो हुन सक्छ?
यहोवाका सेवकहरूलाई आफूमा विश्वास हुनै पर्छ भन्ने कुरा थाह छ। वास्तवमा भन्ने हो भने, ‘विना विश्वास परमेश्वरलाई रिझाउन असम्भव छ।’ (हिब्रू ११:६) त्यसैकारण, हामी बुद्धिमान् हुँदै पवित्र आत्मा र यसको आकर्षक फल, विश्वासको लागि प्रार्थना गर्छौं। (लूका ११:१३; गलाती ५:२२, २३) सँगी विश्वासीहरूको विश्वासको अनुकरण गर्दा हामीमा यो गुण झनै सुदृढ हुन सक्छ।—२ तिमोथी १:५; हिब्रू १३:७.
२ परमेश्वरको वचनले सबै मसीहीहरूको लागि निर्धारण गरेको मार्ग पछ्यायौं भने हाम्रो विश्वास अझ बलियो हुनेछ। दिनहुँ बाइबल पढ्नुका साथै ‘विश्वासी भण्डारेद्वारा’ प्रबन्ध गरिएका प्रकाशनहरूको मदत लिएर धर्मशास्त्रको लगनशील अध्ययन गर्दा विश्वास बढ्न सक्छ। (लूका १२:४२-४४; यहोशू १:७, ८) मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा नियमित तवरमा उपस्थित हुँदा हामी एकअर्काको विश्वासबाट प्रोत्साहित हुन्छौं। (रोमी १:११, १२; हिब्रू १०:२४, २५) अनि सेवकाईमा अरूसँग कुराकानी गर्दा हाम्रो विश्वास अझ सुदृढ हुन्छ।—भजन १४५:१०-१३; रोमी १०:११-१५.
३. विश्वासको सन्दर्भमा हामी मायालु मसीही प्राचीनहरूबाट कस्तो मदत पाउँछौं?
३ धर्मशास्त्रीय सल्लाह तथा प्रोत्साहन दिएर मायालु मसीही प्राचीनहरूले हाम्रो विश्वास बढाउन मदत दिन्छन्। तिनीहरूको मनोभाव प्रेरित पावलको जस्तै छ, जसले कोरिन्थका मसीहीहरूलाई यसो भने: “[हामी] तिमीहरूका आनन्दका सहयोगी हौं, किनकि विश्वासबाटनै तिमीहरू स्थिर छौ।” (२ कोरिन्थी १:२३, २४) अर्को एउटा अनुवादमा यसो भनिएको छ: “तिमीहरूलाई खुसी तुल्याउन हामी तिमीहरूसँगै काम गरिरहेका छौं, किनकि तिमीहरूको विश्वास बलियो छ।” (कन्टेम्पररी इंग्लिश भर्सन) धर्मी विश्वासैद्वारा जिउँछ। निस्सन्देह, हाम्रोलागि अरू कसैले विश्वास देखाउन सक्दैन न त हामीलाई वफादार र निष्ठावान् नै बनाउन सक्छ। यस मामिलामा ‘हामी हरेकले आफ्नै निज भार उठाउनुपर्छ।’—गलाती ३:११; ६:५.
४. परमेश्वरका विश्वासी सेवकहरूको धर्मशास्त्रीय विवरणहरूले कसरी हाम्रो विश्वास बलियो बनाउन मदत गर्न सक्छ?
४ धर्मशास्त्रमा विश्वास देखाउनेहरूको प्रशस्त उदाहरण पाइन्छ। हामीलाई तिनीहरूले गरेका थुप्रै उल्लेखनीय कार्यहरूबारे थाह छ होला तर तिनीहरूले आफ्नो दैनिक जीवन र सम्भवतः आफ्नो जीवनभर देखाएको विश्वासबारे नि? हाम्रोजस्तै परिस्थितिमा तिनीहरूले यो गुण कसरी प्रदर्शित गरे भनी विचार गर्दा, यसले हाम्रो विश्वास बलियो बनाउन मदत गर्न सक्छ।
विश्वासले हामीलाई साहस दिन्छ
५. विश्वासले हामीलाई साहसी भई परमेश्वरको वचन घोषणा गर्न सुदृढ बनाउँछ भन्ने कस्तो धर्मशास्त्रीय प्रमाण छ?
५ विश्वासले हामीलाई साहसी भई परमेश्वरको वचन घोषणा गर्न बलियो बनाउँछ। हनोकले ईश्वरीय न्यायको कार्यान्वयनबारे साहसी भई अगमवाणी गरे। तिनले यसो भने: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।” (यहूदा १४, १५) यस्ता वचनहरू सुनेर हनोकका अभक्त शत्रुहरू पक्कै पनि तिनलाई मार्न चाहन्थे। तैपनि, विश्वासको कारण तिनले निर्भयतासाथ बोले र तिनले मृत्युको पीडा भोग्नु नपरी स्वयम् परमेश्वरले तिनलाई मृत्युको निद्रामा “उठाइलानुभयो।” (उत्पत्ति ५:२४; हिब्रू ११:५) हामी यस्ता चमत्कारहरू त अनुभव गर्दैनौं तर यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुने भएकोले हामी विश्वासी र साहसी भई उहाँको वचन घोषणा गर्न सक्छौं।—प्रेरित ४:२४-३१.
६. ईश्वरप्रदत्त विश्वास र साहसले नूहलाई कसरी मदत गऱ्यो?
६ विश्वासैबाट “आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे।” (हिब्रू ११:७; उत्पत्ति ६:१३-२२) आफ्ना समकालीन मानिसहरूसामु साहसी भई परमेश्वरको चेतावनी घोषणा गर्ने नूह “धार्मिकताका प्रचारक” पनि थिए। (२ पत्रुस २:५, नयाँ संशोधित संस्करण) हामीले चाँडै नै वर्तमान रीतिरिवाजको विनाश हुँदैछ भन्ने धर्मशास्त्रीय प्रमाण दिंदा कसै-कसैले हामीलाई खिसी गरेजस्तै, आउँदै गरेको जलप्रलयबारे तिनको सन्देशको पनि तिनीहरूले खिसी गरेको हुनुपर्छ। (२ पत्रुस ३:३-१२) तथापि, ईश्वरप्रदत्त विश्वास र साहसको कारण हनोक र नूहले जस्तै हामी पनि यो सन्देश घोषणा गर्न सक्छौं।
विश्वासले हामीलाई धीरजी बनाउँछ
७. अब्राहाम तथा अरूले कसरी विश्वास र धीरज प्रदर्शित गरे?
७ विशेष गरी, यस दुष्ट रीतिरिवाजको अन्त हुने समयको प्रतीक्षा गर्दा हामीलाई विश्वास र धीरज चाहिन्छ। ‘विश्वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूमा’ परमेश्वरको भय राख्ने कुलपिता अब्राहाम पनि पर्छन्। (हिब्रू ६:११, १२) विश्वासैबाट तिनले ऊर शहर तथा त्यहाँका सबै सुखसुविधाहरू छोडे अनि परमेश्वरले तिनलाई प्रतिज्ञा गर्नुभएको विदेशी भूमिमा प्रवासी भए। इसहाक र याकूब पनि त्यस प्रतिज्ञाको हकदार भए। तथापि, “यी सबै प्रतिज्ञाहरू नपाईकन . . . विश्वासैमा तिनी मरे।” विश्वासैबाट ‘तिनीहरूले झन् उत्तम देश, अर्थात् स्वर्गीय देशको इच्छा गरे।’ त्यसैअनुरूप, परमेश्वरले “तिनीहरूका निम्ति एउटा शहर तयार गरिदिनुभयो।” (हिब्रू ११:८-१६) हो, अब्राहाम, इसहाक र याकूब अनि तिनीहरूका ईश्वरभीरु पत्नीहरूले धैर्यपूर्वक परमेश्वरको स्वर्गीय राज्यको प्रतीक्षा गरे र यसै राज्यअन्तर्गत तिनीहरूको पृथ्वीमा पुनरुत्थान हुनेछ।
८. कुन कुराको बावजुद अब्राहाम, इसहाक अनि याकूबले धीरज र विश्वास देखाए?
८ अब्राहाम, इसहाक र याकूबले विश्वास गुमाएनन्। तिनीहरूले प्रतिज्ञा गरिएको देशमाथि अधिकार गर्न पाएनन् अनि अब्राहामको सन्तानद्वारा सबै जातिहरू आशीर्वादी भएको पनि देख्न पाएनन्। (उत्पत्ति १५:५-७; २२:१५-१८) ‘परमेश्वरद्वारा तयार गरिएको शहर’ शताब्दीयौंपछि मात्रै वास्तविकतामा परिणत हुने भए तापनि यी मानिसहरूले आफ्नो जीवनभर विश्वास र धीरज देखाउन छोडेनन्। अहिले त मसीही राज्य स्वर्गमा खडा भइसकेको कारण हामीले झनै यसो गर्नुपर्छ।—भजन ४२:५, ११; ४३:५.
विश्वासले हामीलाई सर्वश्रेष्ठ लक्ष्यहरू राख्न मदत गर्छ
९. विश्वासले लक्ष्य तथा उद्देश्यहरूमा कस्तो असर पार्छ?
९ विश्वासी कुलपिताहरूले कहिल्यै पनि कनानीहरूको पतित जीवन शैली अपनाएनन् किनभने तिनीहरूको लक्ष्य तथा उद्देश्य श्रेष्ठ थियो। त्यसै गरी, विश्वासले हामीलाई पनि आध्यात्मिक लक्ष्यहरू राख्न मदत गर्छ, जसले हामीलाई दुष्ट शैतान अर्थात् दियाबलको अधीनमा परेको संसारसँग छ्यासमिस हुनदेखि जोगिन सक्षम बनाउँछ।—१ यूहन्ना २:१५-१७; ५:१९.
१०. यूसुफ सांसारिक प्रतिष्ठाभन्दा पनि अझ उच्च लक्ष्यको पछि लागे भनी हामी कसरी थाह पाउँछौं?
१० ईश्वरीय डोऱ्याइद्वारा याकूबका छोरा यूसुफले मिश्रका खाद्य प्रशासकको रूपमा काम गरे तापनि तिनको लक्ष्य यस संसारमा ठूलो मानिस बन्नु थिएन। यहोवाका प्रतिज्ञाहरू पूरा हुन्छन् भन्ने कुरामा विश्वस्त हुँदै ११० वर्षीय यूसुफले आफ्ना दाजुभाइहरूलाई यसो भने: “मेरो मर्ने बेला भयो, तर परमेश्वरले निश्चयनै तिमीहरूको हेरविचार गर्नुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर दिनुभएको देशमा यस देशबाट तिमीहरूलाई लैजानुहुनेछ।” यूसुफले आफ्नो मृत शरीरलाई प्रतिज्ञा गरिएको देशमा लगेर गाडिदिन आग्रह गरे। तिनको मृत्यु भएपछि तिनको लाशलाई लेपन गरेर मिश्रमा नै बाकसमा हालेर राखियो। तर जब इस्राएलीहरू मिश्रको दासत्वबाट मुक्त भए, अगमवक्ता मोशाले यूसुफको अस्थिलाई गाड्नको लागि प्रतिज्ञा गरिएको देशसम्म लैजाने प्रबन्ध मिलाए। (उत्पत्ति ५०:२२-२६; प्रस्थान १३:१९) यूसुफको जस्तो विश्वासले हामीलाई सांसारिक प्रतिष्ठाभन्दा पनि अझ उच्च लक्ष्यको पछि लाग्न उत्प्रेरित गर्नुपर्छ।—१ कोरिन्थी ७:२९-३१.
११. मोशाले आफ्नो आध्यात्मिक लक्ष्य भएको कुरा कसरी प्रमाणित गरे?
११ मोशाले मिश्रको शाही परिवारको शिक्षित सदस्यको हैसियतमा ‘केही समयसम्म पापको सुख भोग्नभन्दा बरु परमेश्वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।’ (हिब्रू ११:२३-२६; प्रेरित ७:२०-२२) फलस्वरूप तिनले सांसारिक प्रतिष्ठा र सम्भवतः झकिझकाउ भएको बाकसभित्र मिश्रको कुनै प्रख्यात ठाउँमा गाडिने सुअवसर गुमाए। तर “परमेश्वरका जन,” व्यवस्थाको करारका मध्यस्थ, यहोवाको अगमवक्ता र बाइबल लेखक हुने सुअवसरको तुलनामा ती सबै के नै थियो र? (२ इतिहास ३०:१६) तपाईं सांसारिक प्रतिष्ठा चाहनुहुन्छ कि विश्वासको कारण अझ उच्च आध्यात्मिक लक्ष्य हासिल गर्न चाहनुहुन्छ?
विश्वासले इनामदायी जीवन दिन्छ
१२. राहाबको जीवनमा विश्वासले कस्तो प्रभाव पाऱ्यो?
१२ विश्वासले मानिसहरूलाई उच्च लक्ष्यहरू मात्र होइन तर इनामदायी जीवन पनि दिन्छ। यरीहोकी राहाबलाई आफू वेश्या हुँदा आफ्नो जीवन व्यर्थ लागेको हुनुपर्छ। तथापि, तिनले विश्वास प्रदर्शित गर्दा तिनको जीवनमा कत्ति आमूल परिवर्तन भयो! तिनले ‘इस्राएली दूतहरूलाई सत्कार गरेर तिनीहरूलाई अर्कै बाटो पठाइन्, तब सो विश्वासको कामैबाट तिनी ठीक ठहरिन्’ भने ती दूतहरू पनि आफ्ना कनानी शत्रुहरूको हातबाट बच्न सफल भए। (याकूब २:२४-२६) यहोवालाई साँचो परमेश्वरको रूपमा स्वीकार्नुका साथै वेश्यावृत्ति पनि छोडेर राहाबले विश्वास देखाइन्। (यहोशू २:९-११; हिब्रू ११:३०, ३१) तिनले अविश्वासी कनानीसँग होइन तर यहोवाको सेवकसँग विवाह गरिन्। (व्यवस्था ७:३, ४; १ कोरिन्थी ७:३९) राहाबले मसीहको पुर्खा हुने महान् सुअवसर पाइन्। (१ इतिहास २:३-१५; रूथ ४:२०-२२; मत्ती १:५, ६) अनैतिक जीवन त्यागेका अरू कोही-कोही व्यक्तिहरूले जस्तै तिनले अर्को पनि इनाम पाउनेछिन्। त्यो हो, पार्थिव प्रमोदवनमा पुनरुत्थान।
१३. दाऊदले बेतशेबासँग कस्तो पाप गरे तर तिनले कस्तो मनोवृत्ति देखाए?
१३ आफ्नो पापपूर्ण जीवन शैली त्यागिसकेपछि राहाबले इज्जतको जिन्दगी बिताएको हुनुपर्छ। तथापि, लामो समयदेखि यहोवाप्रति समर्पित भएकाहरूले घोर पाप गरेका छन्। राजा दाऊदले बेतशेबासँग व्यभिचार गरे, तिनको पतिलाई युद्धमा मार्न लगाए र तिनलाई आफ्नी पत्नी बनाए। (२ शमूएल ११:१-२७) एकदमै पश्चात्ताप गर्दै दाऊदले यसरी बिन्ती गरे: “मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्।” दाऊदले परमेश्वरको आत्मा गुमाएनन्। यहोवा दयालु हुनुभएकोले उहाँ “चूर्ण र पूरा पश्चतापी हृदयलाई” तुच्छ ठान्नुहुन्न भन्ने विश्वास तिनमा थियो। (भजन ५१:११, १७; १०३:१०-१४) तिनीहरूको विश्वासको कारण दाऊद र बेतशेबाले मसीहको पुर्खा हुने इनाम पाए।—१ इतिहास ३:५; मत्ती १:६, १६; लूका ३:२३, ३१.
आश्वासनद्वारा बलियो भएको विश्वास
१४. गिदोनले कस्तो आश्वासन पाए र यस विवरणले हाम्रो विश्वासलाई कसरी असर गर्न सक्छ?
१४ हामी विश्वासद्वारा हिंडे तापनि कहिलेकाहीं हामीलाई ईश्वरीय मदतको आश्वासन चाहिन्छ। “विश्वासद्वारा राज्यहरू कब्जा” गर्ने न्यायकर्ता गिदोनको सन्दर्भमा पनि यो कुरा साँचो साबित भयो। (हिब्रू ११:३२, ३३) मिद्यानीहरू र तिनीहरूका सहयोगी राष्ट्रहरूले इस्राएलमाथि आक्रमण गर्दा गिदोनमाथि परमेश्वरको आत्मा आयो। परमेश्वर आफूसँग हुनुहुन्छ भनी आश्वस्त हुन तिनले भेडाको ऊन रातभरि खलामा राखेर परीक्षण गर्ने प्रस्ताव राखे। पहिलो परीक्षणमा ऊन मात्रै शीतले भिज्यो र जमिनचाहिं सुक्खै रह्यो। दोस्रो परीक्षणमा यसको ठीक विपरीत भयो। यी आश्वासनहरूद्वारा बलियो भएर होसियार गिदोनले विश्वाससहित काम गरे अनि इस्राएलीहरूका शत्रुहरूलाई पराजित गरे। (न्यायकर्त्ता ६:३३-४०; ७:१९-२५) कुनै निर्णय गर्नुपर्दा हामीले आश्वासन खोज्यौं भने, यसको अर्थ हामीमा विश्वासको कमी भएको होइन। वास्तवमा भन्ने हो भने, निर्णयहरू गर्नुपर्दा बाइबल तथा बाइबल आधारित प्रकाशनहरूको मदत लिएर अनि पवित्र आत्माको डोऱ्याइको लागि प्रार्थना गरेर हामी विश्वास देखाउँछौं।—रोमी ८:२६, २७.
१५. बाराकको विश्वासबारे विचार गर्दा हामीले कसरी मदत पाउन सक्छौं?
१५ प्रोत्साहनको रूपमा पाएको आश्वासनद्वारा न्यायकर्ता बाराकको विश्वास बलियो भयो। अगमवादिनी दबोराले तिनलाई कनानी राजा याबीनको थिचोमिचोबाट इस्राएलीहरूलाई छुटकारा दिलाउनको लागि कदम चाल्न प्रोत्साहित गरिन्। विश्वासद्वारा र ईश्वरीय समर्थनको आश्वासन पाएर बाराक राम्रा हातहतियारसमेत नभएका १०,००० जनाको फौज लिएर युद्ध गर्न गए अनि सीसराको नेतृत्वमा आएको याबीनको ठूलो फौजमाथि विजय हासिल गरे। दबोरा र बाराकले हर्षोल्लासको गीत गाएर यो विजयोत्सव मनाए। (न्यायकर्त्ता ४:१–५:३१) दबोराले बाराकलाई इस्राएलको लागि परमेश्वरद्वारा नियुक्त नेताको हैसियतमा काम गर्न प्रोत्साहन दिइन् अनि तिनी यहोवाका सेवकहरूमध्ये एक जना थिए, जसले विश्वासद्वारा “विदेशीहरूका फौजलाई भगाए।” (हिब्रू ११:३४) बाराकले विश्वाससहित काम गरेको कारण परमेश्वरले तिनलाई कसरी आशिष् दिनुभयो भन्ने कुरा विचार गर्दा, त्यसले हामीलाई यहोवाको सेवामा कुनै चुनौतीपूर्ण कार्यभार पूरा गर्न आनाकानी गरिरहेका छौं भने कदम चाल्न उत्प्रेरित गर्न सक्छ।
विश्वासले शान्तिलाई बढवा दिन्छ
१६. लूतसित शान्ति कायम राख्ने सन्दर्भमा अब्राहामले कस्तो राम्रो उदाहरण बसाले?
१६ विश्वासले हामीलाई परमेश्वरको सेवामा आफ्ना जिम्मेवारीहरू पूरा गर्न मदत दिएझैं यसले शान्ति र स्थायीत्वलाई पनि बढवा दिन्छ। अब्राहाम र लूतका गोठालाहरूबीच झगडा भएको कारण तिनीहरू दुई जना छुट्टिनुपर्दा वृद्ध अब्राहामले आफूभन्दा कान्छो भतिजालाई राम्रोचाहिं चरन छान्ने मौका दिए। (उत्पत्ति १३:७-१२) यो समस्या सुल्झाउनको लागि अब्राहामले विश्वाससहित परमेश्वरलाई प्रार्थना गरेको हुनुपर्छ। आफ्नै चाहनालाई प्राथमिकता दिनुको सट्टा तिनले शान्तिपूर्वक विवाद सुल्झाए। आफ्नो मसीही भाइसँग खटपट भयो भने, हामी पनि मायालु चासोसम्बन्धी अब्राहामको उदाहरणलाई मनमा राख्दै विश्वाससहित प्रार्थना गरौं र “शान्तिको खोजी” गरौं।—१ पत्रुस ३:१०-१२, नयाँ संशोधित संस्करण।
१७. पावल, बर्णाबास र मर्कूस समावेश भएको, स्पष्टसँग देखिने मतभिन्नता शान्तिपूर्ण ढंगमा सुल्झियो भनी हामी किन भन्न सक्छौं?
१७ विश्वाससहित मसीही सिद्धान्त व्यवहारमा उतार्दा, यसले कसरी हामीलाई शान्तिलाई बढवा दिन मदत गर्छ भन्ने कुरा विचार गर्नुहोस्। पावलले आफ्नो दोस्रो मिसनरी यात्रा सुरु गर्न लाग्दा, बर्णाबास तिनीहरू पहिल्यै गइसकेका साइप्रस र एसिया माइनरका मण्डलीहरूमा फेरि जान राजी भए। तथापि, बर्णाबास आफ्नो भाइ पर्ने मर्कूसलाई पनि सँगै लैजान चाहन्थे। तर पावल यस कुरामा सहमत भएनन् किनभने मर्कूसले पहिले पनि तिनीहरूलाई प्याम्फिलिया पुगेर छोडेका थिए। तिनीहरूबीच “चर्को मतभेद” भयो र यसकारण तिनीहरू छुट्टिए। बर्णाबास मर्कूसलाई लिएर साइप्रसतिर लागे भने पावल सिलासलाई आफ्नो सहयोगीको रूपमा लिएर “मण्डलीलाई स्थिर गराउँदै सिरिया र सिलिसियाभरि गए।” (प्रेरित १५:३६-४१) पछि, तिनीहरूबीचको मतभिन्नता सुल्झियो किनभने मर्कूस पावलसँग रोममा थिए र प्रेरित पावलले तिनीबारे सकारात्मक कुरा गरे। (कलस्सी ४:१०; फिलेमोन २३, २४) सा.यु. ६५ तिर पावल रोमको कैदमा हुँदा तिनले तिमोथीलाई यसो भने: “मर्कूसलाई लिएर तिम्रो साथैमा ल्याऊ, किनभने तिनी सेवाको कामको निम्ति मलाई उपयोगी छन्।” (२ तिमोथी ४:११) निस्सन्देह, पावलले बर्णाबास र मर्कूससँगको आफ्नो सम्बन्धलाई विश्वासको प्रार्थनाको विषय बनाएको हुनुपर्छ र परिणामस्वरूप तिनीहरूबीच शान्ति कायम भयो, जुन “परमेश्वरको शान्ति[सित]” सम्बन्धित छ।—फिलिप्पी ४:६, ७.
१८. इयोदिया र सिन्तकेको सन्दर्भमा के भएको हुनुपर्छ?
१८ निस्सन्देह, असिद्ध भएको कारण “धेरै कुरामा हामी चुक्तछौं।” (याकूब ३:२) दुई मसीही स्त्रीहरूबीच खडा भएको विवादबारे पावलले यस्तो लेखे: “म, इयोदिया र सिन्तकेलाई प्रभुमा एउटै मनका होओ भनेर अर्ती दिन्छु। . . . यी स्त्रीहरूलाई मदत गर। किनभने यिनीहरूले मसँग सुसमाचारमा परिश्रम गरे।” (फिलिप्पी ४:१-३) यी ईश्वरभक्त स्त्रीहरूले मत्ती ५:२३, २४ मा लिपिबद्ध गरिएजस्ता सल्लाहहरू प्रयोगमा ल्याएर शान्तिपूर्ण ढंगमा समस्या समाधान गरेको हुनुपर्छ। आज पनि विश्वाससहित धर्मशास्त्रीय सिद्धान्तहरू प्रयोगमा ल्याउँदा शान्ति कायम राख्न ठूलो योगदान मिल्छ।
विश्वासले हामीलाई सहन सक्षम बनाउँछ
१९. कस्तो कठिन परिस्थितिले इसहाक र रिबेकाको विश्वासलाई कहिल्यै खत्तम पार्न सकेन?
१९ विश्वासद्वारा हामी कठिनाइहरू पनि सहन सक्छौं। हामी आफ्नो परिवारको कुनै बप्तिस्माप्राप्त सदस्यले अर्कै धर्म मान्ने व्यक्तिसित विवाह गरेर परमेश्वरको आज्ञा उल्लंघन गरेको कारण दुःखित छौं होला। (१ कोरिन्थी ७:३९) आफ्नो छोरो एसावले परमेश्वरको उपासना नगर्ने स्त्रीहरूसँग विवाह गर्दा इसहाक र रिबेकाले दुःख भोगे। तिनकी हित्ती पत्नीहरूको कारण तिनीहरूको ‘जीवन यति अमिलो भयो’ कि रिबेकाले यसो भनिन्: “हेत वंशी स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले पनि यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गऱ्यो भने मैले बाँचेर के फायदा हुन्छ?” (उत्पत्ति २६:३४, ३५; २७:४६) तथापि, यस कठिन परिस्थितिले इसहाक र रिबेकाको विश्वासलाई कहिल्यै खत्तम पार्न सकेन। अप्ठ्यारा परिस्थितिहरूको चुनौती सामना गर्नुपर्दा हामी पनि बलियो विश्वास कायम राखौं।
२०. हामीसँग नाओमी र रूथको विश्वासको कस्ता उदाहरणहरू छन्?
२० वृद्ध हुँदै गइरहेकी नाओमी एक जना यहूदी थिइन् र तिनलाई कुनै यहूदी स्त्रीले मसीहको पुर्खालाई जन्म दिनेछिन् भन्ने कुरा थाह थियो। तिनका छोराहरू कुनै सन्तान नजन्माईकन मरिसकेका हुनाले र तिनको पनि सन्तान जन्माउन सक्ने उमेर कटिसकेको कारण तिनको परिवार मसीहको पुर्खा हुने सम्भावना एकदमै कम थियो। तैपनि, तिनकी विधवा बुहारी रूथले वृद्ध बोअजसँग विवाह गरेर एउटा छोरो जन्माइन् र येशू अर्थात् मसीहको पुर्खा भइन्! (उत्पत्ति ४९:१०, ३३; रूथ १:३-५; ४:१३-२२; मत्ती १:१, ५) नाओमी र रूथको विश्वासले तिनीहरूलाई अप्ठ्यारा परिस्थितिहरू सहन मदत गर्नुका साथै तिनीहरूलाई आनन्दित बनायो। प्रतिकूल परिस्थितहरूको बावजुद विश्वास कायम राख्यौं भने हामी पनि आनन्दित हुन सक्नेछौं।
२१. विश्वासले हाम्रोलागि के गर्छ र हामी के गर्न कटिबद्ध हुनुपर्छ?
२१ हुन त, भोलि हामीलाई के हुन्छ सो हामी जान्दैनौं तर विश्वासद्वारा हामी जस्तोसुकै चुनौती पनि सामना गर्न सक्छौं। विश्वासले हामीलाई साहसी र धीरजी बनाउँछ। यसले हामीलाई श्रेष्ठ लक्ष्य र इनामदायी जीवन दिन्छ। विश्वासले अरूसँगको हाम्रो सम्बन्धमा सकारात्मक प्रभाव पार्छ र अप्ठ्याराहरू सहन मदत गर्छ। त्यसकारण, हामी “आत्माको उद्धारको निम्ति विश्वास गर्नेहरूमध्येका” होऔं। (हिब्रू १०:३९) हाम्रा मायालु परमेश्वर, यहोवाको बल र उहाँको महिमामा हामी बलियो विश्वास खेती गरिरहौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• विश्वासले हामीलाई साहसी बनाउन सक्छ भन्ने कस्तो धर्मशास्त्रीय प्रमाण छ?
• विश्वासले हामीलाई इनामदायी जीवन दिन्छ भनी हामी किन भन्न सक्छौं?
• विश्वासले कसरी शान्तिलाई बढवा दिन्छ?
• विश्वासले हामीलाई अप्ठ्यारा परिस्थितिहरू सहन सक्षम बनाउँछ भन्ने कस्तो प्रमाण छ?
[प्रश्नहरू]
[पृष्ठ १६-मा भएका चित्रहरू]
विश्वासले नूह र हनोकलाई यहोवाका सन्देशहरू घोषणा गर्ने साहस दियो
[पृष्ठ १७-मा भएका चित्रहरू]
मोशाको जस्तो विश्वासले हामीलाई आध्यात्मिक लक्ष्यहरूको पछि लाग्न उत्प्रेरित गर्छ
[पृष्ठ १८-मा भएका चित्रहरू]
ईश्वरीय मदतको आश्वासनले बाराक, दबोरा र गिदोनको विश्वासलाई बलियो बनायो