“परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” आनन्दसाथ भेला हुन्छन्
“परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” आनन्दसाथ भेला हुन्छन्
नैतिक, आर्थिक र राजनैतिक संकटले विश्वलाई हल्लाइरहेको छ। तथापि, यी सबै गोलमालको बावजुद यहोवाका साक्षीहरू शान्तिपूर्ण ढंगमा तीन दिने “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” जिल्ला अधिवेशनका लागि भेला भए। मे २००२ को सुरुदेखि संसारभरि यसप्रकारका भेलाहरू आयोजना गरिएको थियो।
अधिवेशनहरू साँच्चै आनन्ददायी अवसरहरू साबित भए। आउनुहोस्, हामी बाइबलआधारित उत्थानदायी कार्यक्रम छोटकरीमा पुनरावृत्ति गरौं।
पहिलो दिनले येशूको जोसलाई जोड दिन्छ
अधिवेशनको पहिलो दिनको विषय “हाम्रा प्रभु येशूको जोस अनुकरण गर्नुहोस्” थियो। (यूहन्ना २:१७) “परमेश्वरको राज्यका उद्घोषकहरूको हैसियतमा एकसाथ भेला हुन पाएकोमा रमाउनुहोस्” भन्ने भाषणले त्यहाँ उपस्थित सबैलाई आनन्दमा सहभागी हुन न्यानो निमन्त्रणा दिएको थियो, जुन आनन्द परमेश्वरका जनहरूको अधिवेशनको चिनारी हो। (व्यवस्था १६:१५) यस भाषणपछि सुसमाचारका जोसिला प्रचारकहरूसित अन्तरवार्ता लिइएको थियो।
“यहोवामा आनन्दित हुनुहोस्” भन्ने भाषणले भजन ३७:१-११ का पदहरू एक-एक गरी छलफल गरेको थियो। दुष्टहरूको क्षणिक सफलता देखेर “व्याकुल” नहुन हामीलाई आग्रह गरिएको थियो। दुष्टहरूले हाम्रो विरुद्धमा झूटा कुराहरू फैलाए तापनि यहोवाले आफ्नो समयमा उहाँका विश्वासी जनहरू वास्तवमा को हुन् भनेर स्पष्ट पार्नुहुनेछ। “धन्यवादी मनोभाव झल्काउनुहोस्” भन्ने भाषणमा हामी परमेश्वरप्रति कसरी कृतज्ञता देखाउन सक्छौं भनेर छलफल गरिएको थियो। सबै मसीहीहरूले यहोवालाई “ओठको फल” चढाउनै पर्छ। (हिब्रू १३:१५) निस्सन्देह, यहोवाको सेवामा बिताउने समय हाम्रो मूल्यांकन र परिस्थितिमा भर पर्छ।
मुख्य भाषणको विषय “परमेश्वरको राज्यका उद्घोषकहरू जोसले उत्प्रेरित” भन्ने थियो। यस भाषणमा हाम्रो जोसको उत्कृष्ट उदाहरण येशू ख्रीष्टलाई संकेत गरिएको थियो। सन् १९१४ मा स्वर्गमा राज्य स्थापित भएपछि, त्यो सुसमाचार घोषणा गर्न साँचो मसीहीहरू जोसिलो हुनु परेको थियो। वक्ताले सन् १९२२ मा सं.रा.अ.-को सिडार प्वाइन्ट, ओहायोमा सम्पन्न अधिवेशनबारे उल्लेख गरे र त्यहाँ गरिएको ऐतिहासिक आह्वानबारे हामीलाई सम्झाइयो: “राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्”! अन्ततः परमेश्वरका विश्वासी जनहरूको जोसले उनीहरूलाई सबै राष्ट्रका मानिसहरूलाई अद्भुत राज्य सत्य उद्घोषणा गर्न उत्प्रेरित गऱ्यो।
पहिलो दिनको अपराह्नमा प्रस्तुत गरिएको “यहोवा हामीसित हुनुहुन्छ भनी थाह पाएर साहसी हुनुहोस्” भन्ने भाषणले परमेश्वरका जनहरू शैतानको विशेष तारो हुन् भन्ने कुरा प्रस्ट पाऱ्यो। तथापि, हामीले सामना गर्ने सतावटको बावजुद बाइबलकालीन तथा आधुनिक समयका थुप्रै विश्वासी पुरुषहरूको उदाहरणलाई विचार यशैया ४१:१०.
गर्दा त्यसले परीक्षा तथा प्रलोभनहरू निडरतासाथ सामना गर्ने साहस दिन्छ।—त्यसपछिको कार्यक्रममा “मीकाको भविष्यवाणीले हामीलाई यहोवाको नाउँमा हिंड्न बल प्रदान गर्छ” भन्ने विषयको तीन भागमा बाँडिएको गोष्ठी थियो। पहिलो वक्ताले मीकाको समयको नैतिक पतन, धर्मत्याग र भौतिकवादलाई हामी बाँचिरहेको समयमा व्याप्त अवस्थासित तुलना गरे। तिनले यसो भने: “हामीले आज्ञाकारी हृदय बनायौं, हाम्रो आचरण पवित्र बनायौं, ईश्वरीय भक्तिका कामहरू गरेर जीवन बितायौं र यहोवाको दिन आउनेछ भनेर कहिल्यै बिर्सेनौं भने भविष्यको लागि हाम्रो आशा पक्का हुनेछ।”—२ पत्रुस ३:११, १२.
गोष्ठीको दोस्रो वक्ताले मीकाले यहूदाका धर्मगुरुहरूको निन्दा गरेको कुरा उल्लेख गरे। तिनीहरूले गरिब र निस्सहाय मानिसहरूलाई थिचोमिचो गरे। तर मिकाले साँचो उपासनाको विजयबारे पनि भविष्यवाणी गरे। (मीका ४:१-५) यहोवाको पवित्र आत्माको शक्ति पाएर हामी यस स्फूर्तिदायी आशाको सन्देश उद्घोषणा गर्न कटिबद्ध छौं। तर कुनै रोग वा अन्य केही कुरा बाधक भएको महसुस गऱ्यौं भने नि? तेस्रो वक्ताले यसो भने: “यहोवाले हामीबाट चाहनुहुने कुरा व्यावहारिक तथा हामीले गर्न सक्ने खालका छन्।” तिनले मीका ६:८ का विभिन्न पक्षहरू छलफल गरे जहाँ यसो भनिएको छ: “परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्वरसित नम्र भएर हिंड़नू।”
संसारको खस्कँदो नैतिकताले मसीहीहरूलाई पनि असर गर्न सक्ने भएको हुँदा हामी सबैले “नैतिक तवरमा स्वच्छ रहँदै आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्” भन्ने शीर्षकको भाषणबाट लाभ उठायौं। उदाहरणका लागि, स्वच्छ रहँदा सुखमय वैवाहिक जीवन कायम राख्न मदत पाउँछौं। मसीहीहरूको हैसितयमा हामीले यौन अनैतिकतामा संलग्न हुने विचारसमेत गर्नु हुँदैन।—१ कोरिन्थी ६:१८.
“छलछामदेखि सावधान रहनुहोस्” भन्ने भाषणले धर्मत्यागीहरूले फैलाएको टेढो, अर्धसत्य र पूर्णतया झूटा कुरालाई हामी विषको रूपमा लिन्छौं भनी देखायो। (कलस्सी २:८) त्यस्तै गरी, गम्भीर नतिजा नभोगिकनै आफ्ना पापी इच्छाहरू पूरा गर्न सक्छौं भन्ने गलत सोचाइ राखेर आफैलाई धोका दिनु हुँदैन।
पहिलो दिनको अन्तिम भाषणको शीर्षक “एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्” थियो। यस संसारको अवस्था जसै झन्-झनै डरलाग्दो हुँदै जान्छ, यहोवाले चाँडै उहाँको धार्मिक नयाँ संसार स्थापना गर्नुहुनेछ भन्ने कुरा थाह पाउनु कस्तो प्रोत्साहनदायी कुरा हो! त्यहाँ को-को बाँच्नेछन्? यहोवालाई उपासना गर्नेहरू मात्र। हामी आफ्ना छोराछोरी तथा बाइबल विद्यार्थीहरूलाई यो लक्ष्य प्राप्त गर्न मदतको लागि वक्ताले वर्सिप दी ओन्ली ट्रु गड शीर्षक भएको नयाँ पुस्तक विमोचन गरे। यो पुस्तक पाउँदा हामी एकदमै हर्षित भयौं!
दोस्रो दिनले भलाइको निम्ति उत्सुक हुने विषयलाई प्रकाश पार्छ
अधिवेशनको दोस्रो दिनको विषय “भलाइको निम्ति उत्सुक हुनुहोस्” भन्ने थियो। (१ पत्रुस ३:१३) पहिलो वक्ताले त्यस दिनको बाइबल पद छलफल गरे। अर्थपूर्ण ढंगमा नियमित तवरमा दैनिक पद छलफल गर्दा हाम्रो जोस बढ्छ भनी तिनले जोड दिए।
त्यसपछिको भाग “आफ्नो सेवकाईको महिमा गर्ने परमेश्वरको राज्यका उद्घोषकहरू” भन्ने गोष्ठी थियो। पहिलो भागले परमेश्वरको वचन ठीकसँग प्रयोग गर्ने बुँदामा जोड दिएको थियो। (२ तिमोथी २:१५) हामीले बाइबल ठीकसँग प्रयोग गर्दा मानिसहरूको जीवनमा यो “प्रबल” हुन दिन्छौं। (हिब्रू ४:१२) हामीले बाइबलतर्फ ध्यान खिचेर प्रभावकारी ढंगमा तर्क गर्नुपर्छ। गोष्ठीको दोस्रो भागले जिज्ञासु व्यक्तिहरूकहाँ बारम्बार जान आग्रह गऱ्यो। (१ कोरिन्थी ३:६) चासो देखाएका सबैकहाँ तुरुन्तै जान तयारी र साहस चाहिन्छ। गोष्ठीको तेस्रो भागले हामीले भेट्ने प्रत्येक मानिसलाई सम्भाव्य चेलाको रूपमा हेर्न सुझाव दियो र सुरुकै भेटमा बाइबल अध्ययन गर्ने प्रस्ताव राख्दा व्यक्तिविशेषलाई चेला बन्न मदत गर्ने सुअवसरको आनन्द उठाउन पनि सक्छौं भनी देखायो।
अर्को भाषणको विषय “किन ‘निरन्तर प्रार्थना’ गर्ने” भन्ने थियो। बाइबलले जीवनको हरेक क्षेत्रमा परमेश्वरको डोऱ्याइ खोज्न मसीहीहरूलाई सल्लाह दिन्छ। हामीले व्यक्तिगत तवरमा प्रार्थना गर्न समय निकाल्नुपर्छ। यसबाहेक, हामी प्रार्थनामा अटुटसँग लागिरहनुपर्छ किनभने उहाँको जवाफ स्पष्ट नभएसम्म यहोवाले निरन्तर प्रार्थनामा लागिरहन दिन पनि सक्नुहुन्छ।—याकूब ४:८.
“आध्यात्मिक कुराकानीले उन्नति गराउँछ” भन्ने भाषणले आफ्नो र अरूको लाभको लागि बोल्ने क्षमता प्रयोग गर्न आग्रह गऱ्यो। (फिलिप्पी ४:८) वैवाहिक जोडी र छोराछोरीसँग दिनहुँ केही आध्यात्मिक कुराकानी गर्नुपर्छ। यसो गर्न परिवारहरूले प्रत्येक दिन कमसेकम एक चोटि भए पनि सँगै खाने कोसिस गर्नुपर्छ र त्यतिबेला प्रोत्साहनदायी कुराकानी गर्न सकिन्छ।
बिहानको कार्यक्रमको अन्तमा “समर्पण र बप्तिस्माले कसरी उद्धारतर्फ डोऱ्याउँछ” भन्ने हृदयस्पर्शी भाषण दिइयो। बप्तिस्मा लिन तयार व्यक्तिहरूले ज्ञान हासिल गरिसकेका थिए, विश्वास तथा पश्चात्ताप गर्नुका साथै गलत कार्यलाई त्यागेर आफूलाई परमेश्वरमा समर्पण गरिसकेका थिए। बप्तिस्मा लिएपछि पनि तिनीहरू आध्यात्मिकतामा बढिरहनुपर्छ र जोस तथा असल आचरण कायम राख्नुपर्छ भनेर वक्ताले टिप्पणी गरे।—फिलिप्पी २:१५, १६.
“विनम्र हुनुहोस् र आफ्नो आँखा निर्मल राख्नुहोस्” भन्ने दिउँसोको भाषणअन्तर्गत दुइटा मुख्य बुँदामा जोड दिइएको थियो। विनम्र हुनुको अर्थ आफ्नो सीमितता र परमेश्वरसामु आफ्नो स्थानबारे व्यावहारिक दृष्टिकोण राख्नु हो। विनम्रताले हामीलाई आफ्नो आँखा “निर्मल” राख्न अर्थात् भौतिक कुराहरूमा होइन तर परमेश्वरको राज्यमा केन्द्रित गर्न मदत गर्नेछ। यसो गऱ्यौं भने हामीले फिक्री गरिरहनुपर्दैन किनभने यहोवाले हाम्रो आवश्यकता पूरा गर्नुहुनेछ।—मत्ती ६:२२-२४, ३३, ३४.
त्यसपछिको वक्ताले किन “दुःखको बेला सम्पूर्ण भरोसा यहोवामाथि राख्नु[पर्छ]” भन्ने विषयमा प्रकाश पारे। हामी कसरी व्यक्तिगत कमजोरी, आर्थिक वा स्वास्थ्य समस्याजस्ता कुराको सामना गर्न सक्छौं? यहोवासँग व्यावहारिक बुद्धि मागौं र अरूलाई मदतको लागि आग्रह गरौं। आत्तिनु वा निराश हुनुको सट्टा परमेश्वरको वचन पढेर उहाँमाथिको हाम्रो भरोसा बलियो बनाउनुपर्छ।—रोमी ८:३५-३९.
अधिवेशनको अन्तिम गोष्ठीको विषय थियो, “विभिन्न परीक्षाहरूद्वारा हाम्रो विश्वासको जाँच हुन्छ।” गोष्ठीको पहिलो भागले सबै मसीहीहरूले सतावट भोग्नुपर्छ भनी सम्झाएको थियो। यसले गवाही दिन्छ, हाम्रो विश्वास बलियो बनाउँछ र परमेश्वरप्रति वफादारिता देखाउने मौका दिन्छ। हामी अनावश्यक ढंगमा आफ्नो जीवनलाई खतरामा पार्दैनौं १ पत्रुस ३:१६.
न त सतावटबाट बच्न गैरधर्मशास्त्रीय तरिका नै अपनाउँछौं।—गोष्ठीको दोस्रो वक्ताले तटस्थतासित सम्बन्धित प्रश्नहरूबारे छलफल गरे। प्रथम शताब्दीका मसीहीहरू शान्तिवादी थिएनन् तर तिनीहरूको वफादारी परमेश्वरतर्फ हो भनी बुझेका थिए। त्यस्तै गरी, आज पनि यहोवाका साक्षीहरूले यस सिद्धान्तलाई दृढतासाथ पक्रिराखेका छन्: “तिमीहरू यस संसारका होइनौ।” (यूहन्ना १५:१९) तटस्थतासम्बन्धी जाँच कुनै पनि बेला आउन सक्ने भएकोले यससम्बन्धी बाइबल निर्देशनहरू पुनरावृत्ति गर्न परिवारहरूले समय निकाल्नुपर्छ। यस गोष्ठीको तेस्रो भागले औंल्याएझैं शैतानको लक्ष्य हामीलाई मार्ने होइन तर अवफादार हुन दबाब दिने हो। गिल्ला, अनैतिक दबाब, भावनात्मक पीडा र अशक्तताहरू हरेस नखाई सह्यौं भने हामीले यहोवाको प्रशंसा गरिरहेका हुन्छौं।
त्यस दिनको अन्तिम भाषण “यहोवासित नजिक हुनुहोस्” भन्ने न्यानो निमन्त्रणा थियो। यहोवाका प्रमुख गुणहरूबारे थाह पाउँदा हामी उहाँप्रति आकर्षित हुन्छौं। उहाँले आफ्नो असीमित शक्ति विशेष गरी आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा जोगाउन प्रयोग गर्नुहुन्छ। उहाँको न्याय कठोर छैन तर यसले उहाँलाई उचित काम गर्ने हरेकलाई अनन्त जीवन उपलब्ध गराउन उत्प्रेरित गर्छ। परमेश्वरको बुद्धि असिद्ध मानिसहरूलाई बाइबल लेख्न चलाउनुभएको कुराबाट प्रस्ट हुन्छ। उहाँको सबैभन्दा आकर्षक गुण प्रेम हो, जसको कारण उहाँ मानिसहरूलाई येशू ख्रीष्टमार्फत उद्धारको प्रबन्ध गर्न उत्प्रेरित हुनुभयो। (यूहन्ना ३:१६) वक्ताले ड्र क्लोज टु जेहोभा भन्ने नयाँ पुस्तकको विमोचन गरेर आफ्नो भाषण टुंग्याए।
तेस्रो दिनले सुकर्ममा जोसिलो भन्ने विषयमा जोड दिन्छ
अधिवेशनको तेस्रो दिनको विषय थियो, “सुकर्ममा जोसिला मानिसहरू।” (तीतस २:१४) पारिवारिक रूपमा दैनिक पदको छलफल गरेर कार्यक्रमको राम्रो सुरुवात गरियो। त्यसपछि, “के तपाईंको भरोसा यहोवामाथि छ?” भन्ने भाषण थियो। राष्ट्रका मानिसहरूले आफ्नै बुद्धि र बलमा भरोसा गरेर गल्ती गरेका छन्। त्यसको विपरीत यहोवाका सेवकहरू साहस र आनन्दका साथ विपत्तिहरूको बावजुद उहाँमा भरोसा राख्छन्।—भजन ४६:१-३, ७-११.
“युवाहरू हो—यहोवाको संगठनमा आफ्नो भविष्य निर्माण गर्नुहोस्” भन्ने शीर्षक भएको भागमा यस्तो प्रश्न गरिएको थियो: युवाहरूले कसरी आफ्नो जीवन उत्तम ढंगमा बिताउन सक्छन्? यो पैसा, सरसम्पत्ति र प्रतिष्ठा हासिल गरेर प्राप्त गर्न सकिंदैन। हाम्रा सृष्टिकर्ताले युवाहरूलाई आफ्नो युवावस्थामै उहाँको सम्झना गर्ने मायालु आग्रह गर्नुभएको छ। वक्ताले युवावस्थामै मसीही सेवामा लागेका केही मसीहीहरूको अन्तरवार्ता लिए र हामीले तिनीहरूको आनन्द अनुभूति गर्न सक्यौं। अनि युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? भन्ने शीर्षक भएको पर्चा पाउनु कस्तो लाभदायी थियो! यस पर्चाले जवान साक्षीहरूलाई यहोवाको संगठनमा अनन्त भविष्य निर्माण गर्ने जग बसाल्न मदत गर्नेछ।
त्यसपछि सबैको ध्यान खिच्ने “संकटको बेला दृढ रहनुहोस्” भन्ने बाइबल नाटकको पालो आयो। नाटकमा यर्मियाको युवावस्थादेखि लिएर यरूशलेमको विनाशसम्मको लामो जीवनी संक्षिप्तमा देखाइएको थियो र त्यस अवधिभरि नै तिनले जोसका साथ अगमवाणी गरेका थिए। यर्मियाले आफू त्यस कार्यभारको लागि अयोग्य महसुस गरे तर सतावटको बेला पनि तिनले आफ्नो कार्यभार पूरा गरे र यहोवाले तिनलाई बचाउनुभयो।—यर्मिया १:८, १८, १९.
नाटकपछि “यर्मियाजस्तो हुनुहोस् र निर्भयता साथ परमेश्वरको वचन उद्घोषणा गर्नुहोस्” भन्ने शीर्षकको भाषण दिइयो। वर्तमान समयका राज्य उद्घोषकहरू अक्सर झूट र गलत अफवाहहरूको सिकार हुन्छन्। (भजन १०९:१-३) तर हामी पनि यर्मियाजस्तै यहोवाको वचनमा आनन्दित भएर निरुत्साह विरुद्ध लड्न सक्छौं। अनि हामी विरुद्ध लड्नेहरू विजयी हुनेछैनन् भन्ने कुरामा हामी विश्वस्त छौं।
“यस संसारको रूप बितेर जाँदैछ” भन्ने जनभाषणको विषय साँच्चै सामयिक थियो। हाम्रो समयमा नाटकीय परिवर्तनहरू भएका छन्। त्यस्ता अवस्थाहरूलगायत “शान्ति र सुरक्षा” भन्न थालेपछि परमेश्वरको डरलाग्दो न्यायको दिन आउनेछ भनी बाइबलमा भविष्यवाणी गरिएको छ। (१ थिस्सलोनिकी ५:३) यसले अद्भुत परिवर्तनहरू ल्याउनेछ; जस्तै: युद्ध, अपराध, हिंसा र रोगहरू सबैको अन्त हुनेछ। त्यसकारण, यस दुष्ट रीतिरिवाजमा भरोसा गर्नुको सट्टा यो ईश्वरीय भक्ति पछ्याएर असल आचरण कायम गर्ने समय हो।
त्यस हप्ताको प्रहरीधरहरा सारांशपछि “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरूको हैसियतमा सुकर्ममा प्रशस्त हुनुहोस्” भन्ने शीर्षकको अधिवेशनको अन्तिम भाषण दिइएको थियो। कार्यक्रमले हामीलाई कसरी आध्यात्मिक तवरमा उत्प्रेरित गर्नुका साथै यहोवामाथि भरोसा गर्न प्रोत्साहित गऱ्यो भनेर वक्ताले औंल्याए। अन्तमा, हामीलाई परमेश्वरको राज्यको स्वच्छ, मायालु र जोसिलो उद्घोषक हुन आग्रह गरियो।—१ पत्रुस २:१२.
नहेम्याहको दिनको यहोवाका सेवकहरूको जस्तै मनोभाव राखेर हामी निश्चय पनि “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” जिल्ला अधिवेशनबाट पाएको आध्यात्मिक आशिष्मा आनन्दित हुँदै घर फर्क्यौं। (नहेम्याह ८:१२) के यस जुरमुऱ्याउने अधिवेशनले तपाईंलाई परमेश्वरको राज्य उद्घोषकको हैसियतमा आनन्दित हुँदै अघि बढिरहन कटिबद्ध बनाएको छैन र?
[पृष्ठ २३-मा भएको पेटी/चित्र]
नयाँ अध्ययन सहायक!
अधिवेशनको पहिलो दिनको अन्तमा वर्सिप दी वन्ली ट्रु गड भन्ने नयाँ पुस्तक विमोचन हुँदा त्यहाँ उपस्थित सबै जना औधी हर्षित भए। यो विशेष गरी ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ भन्ने पुस्तक अध्ययन गरिसकेका व्यक्तिहरूसित अध्ययन गर्न तयार पारिएको हो र यसले “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[को]” विश्वास पक्कै बलियो बनाउनेछ।—प्रेरित १३:४८.
[स्रोत]
Image on book cover: U.S. Navy photo
[]
परमेश्वरसित नजिक हुनको लागि मदत
अधिवेशनको दोस्रो दिनको अन्तिम वक्ताले ड्र क्लोज टु जेहोभा भन्ने नयाँ पुस्तक विमोचन गरिएको घोषणा गरे। यस पुस्तकमा चारवटा मुख्य खण्ड छन्। प्रत्येक खण्डमा यहोवाका आधारभूत गुणहरू—शक्ति, न्याय, बुद्धि र प्रेमबारे छलफल गरिएको छ। पुस्तकको हरेक खण्डमा येशू ख्रीष्टले परमेश्वरका गुणहरू कसरी जीवन्त ढंगमा प्रदर्शन गर्नुभयो भनी बताइएको छ। यो नयाँ पुस्तकको मुख्य उद्देश्य हामी र हाम्रा बाइबल विद्यार्थीहरूलाई यहोवा परमेश्वरसित घनिष्ठ तथा बलियो सम्बन्ध विकास गर्न मदत गर्नु हो।
[पृष्ठ २६-मा भएको पेटी/चित्रहरू]
युवा जनहरूको लागि आध्यात्मिक डोऱ्याइ
अधिवेशनको तेस्रो दिनमा युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ? भन्ने शीर्षक भएको एउटा विशेष पर्चा विमोचन गरिएको थियो। आफ्नो भविष्यको लागि सही निर्णय गर्न जवान साक्षीहरूलाई मदत गर्ने हेतुले तयार पारिएको हुँदा यो नयाँ पर्चाले यहोवाको सेवामा अनन्तकालीन पेसा बनाउने धर्मशास्त्रीय सल्लाह दिन्छ।