सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचन अध्ययन गर्नुअघि र पछिको जीवन

परमेश्‍वरको वचन अध्ययन गर्नुअघि र पछिको जीवन

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ”

परमेश्‍वरको वचन अध्ययन गर्नुअघि र पछिको जीवन

टोनीलाई भर्खरै किशोरावस्थामा प्रवेश गरेको बेला भेट्‌नुभएको भए, तपाईंले तिनलाई अक्सर अष्ट्रेलियाको सिड्‌नीका केही निन्दित ठाउँहरू चहार्दै हिंड्‌ने एक अशिष्ट अनि हिंस्रक ठिटोको रूपमा पाउनुहुने थियो। उनका साथीहरू गिरोहका सदस्यहरू थिए। तिनीहरू अक्सर घर फोर्ने, गिरोह-गिरोहबीच झगडा गर्ने अनि सडकमा गोली हानाहान गर्ने काममा संलग्न हुन्थे।

टोनीले नौं वर्षको उमेरमा धूम्रपान गर्न थाले। चौध वर्षको उमेरमा तिनी गाँजाका दुर्व्यसनी भए र अनैतिक जीवन बिताउन थाले। सोह्र वर्षको उमेरमा तिनी हेरोइनको दुर्व्यसनी भए र त्यसपछि तिनले कोकिन, एल एस डी-को सेवन गर्न थाले। तिनकै शब्दमा भन्‍नुपर्दा तिनले “आफूलाई लट्ठ्याउने कुनै पनि चीज सेवन गर्न बाँकी” राखेनन्‌। त्यसपछि तिनले लागूपदार्थ बेचबिखन गर्न दुईवटा कुख्यात अपराधिक संगठनहरूसित सम्बन्ध गाँसे। छिट्टै, टोनी अष्ट्रेलियाको पूर्वीय सामुद्रिक तटमा सबैभन्दा भरपर्दो लागू पदार्थ वितरकको रूपमा चिनिन थाले।

हेरोइन र गाँजा सेवन गर्ने बानीले गर्दा टोनीको दिनमै १६० देखि ३२० अमेरिकी डलरसम्म खर्च हुन्थ्यो। तर तिनको परिवारले योभन्दा ठूलो मूल्य चुकाउनु परिरहेको थियो। तिनी यसो भन्छन्‌, “घरमा रहेका लागू पदार्थ र नगदको लागि अपराधीहरूले धेरै पटक म र मेरी श्रीमतीको अनुहारमा बन्दुक र छुरी तेर्साएका थिए।” तीन चोटि जेलमा परिसकेपछि टोनी आफ्नो जीवन शैलीले आफूलाई कतातिर लगिरहेको छ भनी जाँच्न बाध्य भए।

तिनी चर्च जाने गरेको भए तापनि पापीहरूलाई सजायस्वरूप अनन्तकालसम्म नरकमा जलाउन सक्ने परमेश्‍वरसित तिनले घनिष्ठता महसुस गरेनन्‌। यद्यपि, दुई जना यहोवाका साक्षीहरू आफूकहाँ आएर परमेश्‍वर त्यस्तो हुनुहुन्‍न भनी बताएपछि टोनी छक्क परे। अनि आफ्नो जीवनलाई सही बाटोमा लान र परमेश्‍वरबाट आशिष्‌ पाउन सक्ने भएकोले टोनी खुसी भए। येशू ख्रीष्टको यस भनाइबाट टोनी उत्प्रेरित भए: “परमेश्‍वरलाई सबै सम्भव हुन्छ।” (मर्कूस १०:२७) विशेष गरी यस प्रोत्साहनदायी शब्दहरूले टोनीको मन छोयो: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

टोनीले अब आफ्नो जीवनलाई बाइबलका स्तरहरूअनुरूप चलाउनुपर्ने चुनौती सामना गरे। तिनी यसो भन्छन्‌: “मैले सबैभन्दा पहिला धूम्रपान गर्न छोडें, जसलाई छोड्‌न मैले पहिला लाख कोसिस गरेको थिएँ तर सकेको भने थिइनँ। यहोवाको शक्‍तिले गर्दा १५ वर्षसम्म मलाई वशमा पार्ने हेरोइन र गाँजाजस्ता लागू पदार्थको दुर्व्यसनलाई मैले छोड्‌न सकें। यस्ता बानीहरू छोड्‌न सक्छु होला भनेर त मैले सपनामा पनि सोचेको थिइनँ।”

बाइबलमा कतै नपाइने सिद्धान्त अर्थात्‌ मानिसजातिलाई नरकमा अनन्तकालीन सास्ती दिने परमेश्‍वरसित डराउनुको सट्टा टोनी र उनकी पत्नीले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राख्न पुगे। (भजन ३७:१०, ११; हितोपदेश २:२१) टोनी स्वीकार्छन्‌, “आफ्नो जीवनलाई परमेश्‍वरका स्तरहरूअनुरूप चलाउन मलाई धेरै समय लाग्यो र मैले लगनशील भई प्रयत्न पनि गर्नुपऱ्‍यो तर यहोवाको आशिष्‌ले गर्दा म सफल भएँ।”

हो, पहिलेका यी लागू पदार्थ दुर्व्यसनी एक जना मसीही बने। आफ्नो समय तथा भौतिक स्रोतसाधनहरू स्वेच्छाले अपर्ण गरेर तिनी र तिनकी पत्नीले बाइबल शैक्षिक कार्यमा हजारौं घण्टा बिताएका छन्‌। तिनीहरू दुई जना ईश्‍वरभीरु छोराछोरी हुर्काउन पनि व्यस्त छन्‌। परमेश्‍वरको वचन, बाइबलको प्रबल शक्‍तिद्वारा नै यस्तो आमूल परिवर्तन सम्भव भयो। वास्तवमा, प्रेरित पावलले भनेझैं साँच्चै “परमेश्‍वरको वचन जीवित र प्रबल छ।”—हिब्रू ४:१२.

यस्ता प्रोत्साहनजनक उदाहरणहरू हुँदाहुँदै पनि कसै-कसैले कुनै आधारै विना यहोवाका साक्षीहरूको बाइबल आधारित शैक्षिक कार्यले परिवार टुक्राउने र युवा जनहरूबीच स्वास्थ्यकर मूल्य तथा मान्यताहरू खस्काउने काम गर्छ भन्‍ने आरोप लगाउँछन्‌। टोनीको घटनाले त्यस्ता भनाइलाई सोह्रै आना गलत साबित गर्छ।

टोनीले जस्तै धेरैले घातक दुर्व्यसनहरूमाथि विजय हासिल गर्न सकिन्छ भनी बुझेका छन्‌। कसरी? परमेश्‍वरमाथिको विश्‍वास, उहाँ अनि उहाँको वचनमाथिको भरोसाका साथै ख्याल राख्ने र मायालु मसीही साथीहरूको सहयोगद्वारा। अन्तमा प्रसन्‍न मुद्रामा टोनी यसो भन्छन्‌: “बाइबलका सिद्धान्तहरूले मेरा छोराछोरीहरूलाई सुरक्षा प्रदान गरेको मैले देखेको छु। बाइबल शिक्षाहरूले मेरो विवाह जोगाएको छ। अनि मेरा छिमेकीहरू पहिले भन्दा सुरक्षित महसुस गर्छन्‌ किनकि अब मेरो कारणले गर्दा तिनीहरू डराउनुपर्दैन।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

‘पन्ध्र वर्षसम्म मलाई वशमा पार्ने लागूपदार्थको दुर्व्यसनलाई यहोवाको शक्‍तिले गर्दा मैले छोड्‌न सकें’

[पृष्ठ ९-मा भएको पेटी]

बाइबल सिद्धान्तहरूले काम गर्छ

विभिन्‍न बाइबल सिद्धान्तहरूले लागू पदार्थका धेरै दुर्व्यसनीहरूलाई शिथिल पार्ने खराब बानी त्याग्न मदत गरेका छन्‌। त्यसमध्ये केही सिद्धान्तहरू तल दिइएका छन्‌:

“शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) लागू पदार्थ सेवन गर्नु परमेश्‍वरको व्यवस्था विरुद्ध हो।

“परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुडकिलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्‍ति हो।” (हितोपदेश ९:१०) यहोवाको सही ज्ञान र स्तरहरूमा आधारित उहाँप्रतिको श्रद्धाले धेरैलाई लागूपदार्थको प्रभावबाट मुक्‍त हुन मदत गरेको छ।

“तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) परमेश्‍वरमाथिको गहिरो विश्‍वास अनि पूर्ण भरोसाद्वारा विनाशकारी बानीहरू त्याग्न सकिन्छ।