सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कामप्रति सन्तुलित दृष्टिकोण कसरी खेती गर्ने

कामप्रति सन्तुलित दृष्टिकोण कसरी खेती गर्ने

कामप्रति सन्तुलित दृष्टिकोण कसरी खेती गर्ने

वर्तमान संसारको विश्‍व बजार, कठोर प्रतिस्पर्धा र मनग्य उत्पादनको अचाक्ली दबाबले भरिएको वातावरणमा थुप्रै मानिसहरू हरेक दिन काममा जान त्यति उत्सुक नहुन सक्छन्‌। यद्यपि, हामीले आफ्नो कामबाट आनन्द उठाउनुपर्छ। किन? किनभने मानिसहरू परमेश्‍वरको स्वरूपमा सृजिएका हुन्‌ र परमेश्‍वर आफ्नो कामबाट आनन्द उठाउनुहुन्छ। उदाहरणका लागि, सृष्टि गर्न छ “दिन” वा लामो समयावधि बिताइसक्नुभएपछि आफूले गरेका कामहरूलाई पुनरावलोकन गर्नुभयो र “आफुले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो” भनेर उत्पत्ति १:३१ मा उल्लेख गरिएको छ।

त्यसैले, यहोवालाई “परमधन्य [आनन्दित, NW] परमेश्‍वर” भनिएको छ किनभने उहाँलाई काम मन पर्छ। (१ तिमोथी १:११) उसोभए, हामी उहाँको जति धेरै अनुकरण गर्छौं, त्यति नै आनन्दित हुन्छौं भन्‍ने कुरा के युक्‍तिसंगत छैन र? यस सन्दर्भमा पुरातन इस्राएलका एकदमै उल्लेखनीय निर्माता तथा व्यवस्थापक राजा सुलेमानले यस्तो लेखे: “आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”—उपदेशक ३:१३.

तीव्र गतिमा परिवर्तन भइरहेको वर्तमान संसारको कार्यथलोमा कामप्रति सन्तुलित तथा स्वास्थ्यकर दृष्टिकोण खेती गर्नु चुनौतीपूर्ण हुन सक्छ। तर मायालु निर्देशन पालन गर्नेहरूलाई यहोवा परमेश्‍वर आशिष्‌ दिनुहुन्छ। (भजन ११९:९९, १००) त्यस्ता व्यक्‍तिहरू बहुमूल्य अनि भरपर्दा कामदारहरू हुने भएकोले तिनीहरूले जागिर गुमाउनुपर्ने सम्भावना निकै कम हुन्छ। तिनीहरूले आफ्नो जीवन र कामलाई भौतिक होइन तर आध्यात्मिक दृष्टिकोणबाट हेर्न सिक्छन्‌। यसले तिनीहरूलाई जीवनमा गम्भीर निर्णयहरू गर्न मदत गर्नुका साथै आफ्नो आनन्द तथा सुरक्षाको अनुभूति जागिर वा अक्सर उतारचढाउ भइरहने जागिरजगत्‌मा आधारित हुँदैन भनी बुझ्न सक्षम तुल्याउँछ। (मत्ती ६:३१-३३; १ कोरिन्थी २:१४, १५) यसले तिनीहरूलाई कामप्रति साँच्चै सन्तुलित आचारसंहिता खेती गर्न मदत गर्छ।

कामप्रति ईश्‍वरीय आचारसंहिता खेती गर्नुहोस्‌

कोही-कोही मानिसहरूलाई काम गर्ने लत लागिसकेको हुन्छ। अरूचाहिं राजाको काम कहिले जाला घाम भनेझैं कुनबेला समय हुन्छ र घर जाऊँला भन्‍ने दृष्टिकोण राख्दै काम गरिरहेका हुन्छन्‌। उसोभए, सन्तुलित दृष्टिकोण के हो त? बाइबल यस्तो जवाफ दिन्छ: “परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुइ मुट्ठी भन्दा शान्तिसित एक मुट्ठी भएको अझ असल हो।” (उपदेशक ४:६, नयाँ संशोधित संस्करण) अचाक्ली परिश्रम वा धेरैभन्दा धेरै घण्टा काम गर्दा आफूले सोचेभन्दा उल्टो परिणाम निस्कन्छ अर्थात्‌ त्यो “बतासलाई खेदेको” जस्तै व्यर्थ हुन्छ। किन? किनभने त्यसो गर्दा हामीले आफूलाई असीम आनन्द दिने कुराहरूलाई नै बेवास्ता गरिरहेका हुन्छौं; जस्तै: हाम्रो परिवार तथा मित्रहरूसितको सम्बन्ध, आध्यात्मिकता, स्वास्थ्य र दिर्घायु। (१ तिमोथी ६:९, १०) सन्तुलित दृष्टिकोण राख्नु भनेको संघर्ष, वेदना अनि अत्यधिक कामले लादिनु नभई भौतिक सम्पत्ति थोरै भए तापनि केही हदसम्म शान्ति पाउनु हो।

त्यस्तो सन्तुलित दृष्टिकोण राख्न प्रोत्साहित गरेर बाइबलले अल्छी हुन प्रोत्साहन दिइरहेको होइन। (हितोपदेश २०:४) अल्छीपनले आत्मसम्मान अनि अरूले आफूप्रति देखाउने सम्मानलाई बिगार्दै लैजान्छ। त्योभन्दा पनि नराम्रो कुरा त, यसले परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई खत्तम पार्छ। काम गर्न नचाहने मानिस अर्काको कमाइको खाना खानसमेत योग्य हुँदैन भनेर बाइबलले स्पष्टै बताउँछ। (२ थिस्सलोनिकी ३:१०) बरु, तिनले आफ्नो बानी सुधारेर परिश्रम गर्नुपर्छ र यसरी आफू अनि आफूमा आश्रित व्यक्‍तिहरूलाई पालनपोषण गर्नुपर्छ। परिश्रम गऱ्‍यो भने तिनले साँच्चै खाँचोमा परेकाहरूलाई समेत मदत गर्न सक्छन्‌ र परमेश्‍वरको वचनले यसो गर्ने प्रोत्साहन दिन्छ।—हितोपदेश २१:२५, २६; एफिसी ४:२८.

कामलाई सम्मान गर्न बाल्यकालदेखि नै प्रशिक्षित

काम गर्ने असल बानीहरू संयोगले हुने नभई बाल्यावस्थामा सिकिने कुरा हो। तसर्थ, बाइबलले आमाबाबुलाई यस्तो अर्ती दिन्छ: “बालकलाई [वा बालिकालाई] ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) काम गर्ने सन्दर्भमा आफूले असल उदाहरण बसाल्नुका साथै बुद्धिमान्‌ आमाबाबुले आफ्ना छोराछोरीलाई घरमा तिनीहरूको उमेर सुहाउँदा कामहरू गर्न अह्राएर सिकाउन थाल्छन्‌। छोराछोरीहरूलाई घरका कुनै-कुनै काम गर्न झिजो लागे तापनि राम्रोसित काम पूरा गरेकोमा आमाबुबाले तिनीहरूलाई स्याबासी दिंदा तिनीहरूले आफू परिवारको बहुमूल्य सदस्य भएको महसुस गर्नेछन्‌। दुःखको कुरा, छोराछोरीले जसो भन्यो त्यसै गरेर कोही-कोही आमाबाबुहरूले आफ्ना छोराछोरीलाई पुलपुल्याउँछन्‌। त्यस्ता आमाबाबुले हितोपदेश २९:२१ मा भनिएका कुराहरूलाई विचार गर्नु बेस हुनेछ, जहाँ यसो भनिएको छ: “दास [वा सन्तानलाई] बाल्यकालदेखिनै खूब लाड-प्यार गऱ्‍यो भने आखिरमा त्यो कृतघ्न हुन्छ।”

जिम्मेवार आमाबाबुहरूले आफ्ना छोराछोरीहरूको शिक्षामा चासो दिन्छन्‌ र तिनीहरूलाई स्कूलमा लगनशील भई पढ्‌ने प्रोत्साहन दिन्छन्‌। यसो गर्दा तिनीहरू ठूलो भएर कार्य क्षेत्रमा प्रवेश गरेपछि थुप्रै लाभहरू उठाउन सक्नेछन्‌।

बुद्धि पुऱ्‍याएर काम छान्‍नुहोस्‌

हामीले कस्तो काम गर्नुपर्छ भनेर बाइबलले नबताए तापनि यसले हामीलाई आध्यात्मिक उन्‍नति, परमेश्‍वरको सेवा र अन्य महत्त्वपूर्ण जिम्मेवारीलाई बाधा नपुऱ्‍याउने प्रकारका कामहरू छान्‍ने निर्देशन दिएको छ। उदाहरणका लागि, प्रेरित पावलले यस्तो लेखे: “समय अल्प भएको छ, र अब उप्रान्त . . . यस संसारका रीतिमा चल्नेहरू नच[ल्ने]हरूजस्ता होऊन्‌, किनभने यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:२९-३१) वर्तमान रीतिरिवाजमा कुनै पनि कुरा स्थायी वा पूर्णतया स्थिर छैन। त्यसमा हाम्रो पूरा समय र शक्‍ति प्रयोग गर्नुको अर्थ आफ्नो जीवनभर जोहो गरेको सम्पत्ति खर्च गरेर बाढी पहिरो आइरहने क्षेत्रमा घर बनाउनुजस्तै हो। कस्तो मूर्खतापूर्ण लगानी!

‘नचल्नेहरूजस्ता होऊन्‌’ भन्‍ने वाक्यांशलाई अन्य बाइबल अनुवादहरूले “लग्गू नभएर” र “केही चासो नभएजस्तै” भनेर अनुवाद गरेको छ। (द जेरूशलेम बाइबल; नयाँ संशोधित संस्करण) यस वर्तमान रीतिरिवाजको समय “अल्प” छ र त्यसैमा “लग्गू” हुँदा वा ‘पूरा चासो दिंदा’ पछि निराश हुनुका साथै पछुताउनुपर्नेछ भन्‍ने कुरा बुद्धिमान्‌ मानिसहरूले कहिल्यै बिर्संदैनन्‌।—१ यूहन्‍ना २:१५-१७.

‘परमेश्‍वरले तपाईंलाई कुनै रीतिले त्याग्नुहुने छैन’

यहोवालाई हाम्रा आवश्‍यकताहरू हामीलाई भन्दा राम्ररी थाह छ। साथै, उहाँको उद्देश्‍य पूरा हुने कुन समयमा हामी बाँचिरहेका छौं भन्‍ने कुरा पनि उहाँलाई थाह छ। तसर्थ, उहाँ हामीलाई यस्तो सम्झना दिलाउनुहुन्छ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि [परमेश्‍वर] आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोडनेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ” (हिब्रू १३:५) ती शब्दहरू कत्ति सान्त्वनादायी छन्‌! आफ्ना जनहरूका लागि परमेश्‍वरले देखाउनुभएको मायालु चिन्ता अनुकरण गर्दै येशूले डाँडाको प्रसिद्ध उपदेशमा आफ्ना चेलाहरूलाई काम र भौतिक कुराहरूप्रति कसरी सही दृष्टिकोण राख्ने भन्‍ने कुरा पनि बताउनुभयो।—मत्ती ६:१९-३३.

यहोवाका साक्षीहरू ती शिक्षाहरू पालन गर्ने प्रयास गर्छन्‌। उदाहरणका लागि, बिजुलीको काम गर्ने एक जना साक्षीलाई तिनको मालिकले सधैं थप समय काम गर्न आग्रह गर्थे तर तिनले अस्वीकार गरे। किन? किनभने आफ्नो परिवार तथा आध्यात्मिक कुराहरूको लागि छुट्याएको समय तिनी आफ्नो जागिरमा लगाउन चाहँदैन थिए। तिनी एक जना दक्ष अनि भरपर्दो कामदार भएको हुँदा मालिकले तिनका चाहनाहरूको कदर गरे। हो, परिस्थिति सधैं त्यस्तो हुँदैन अनि आफूले सन्तुलित जीवन शैली कायम राख्न अर्कै जागिर खोज्नुपर्ला। तैपनि, आफ्नो पूरा भरोसा यहोवामाथि राख्नेहरूले अक्सर आफ्ना असल आचरण तथा कामप्रतिको आचारसंहिता देखाएको कारण मालिकको अनुग्रह पाएका छन्‌।—हितोपदेश ३:५, ६.

जब सबै काम इनामदायी हुनेछ

वर्तमान असिद्ध रीतिरिवाजमा जागिर तथा जागिरसम्बन्धी प्रत्याशाहरू समस्यारहित र निश्‍चित हुनेछैन। वास्तवमा, यो संसार अस्थिर अनि आर्थिक उथलपुथल भइरहने वा गर्ल्यामगुर्लुम ढल्न सक्ने भएकोले कामकुरा झनै बिग्रन सक्छ। तर यस्तो अवस्था सधैंभरि रहिरहनेछैन। चाँडै सबैले काम पाउनेछन्‌। त्योभन्दा पनि ठूलो कुरा त, सबै काम साँच्चै रहरलाग्दो अनि इनामदायी हुनेछ। त्यस्तो कसरी हुन सक्छ? त्यस्तो परिवर्तन कसरी आउनेछ?

आफ्ना अगमवक्‍ता यशैयामार्फत यहोवाले त्यस्तो समयलाई औंल्याउनुभयो। यहोवाले यसो भन्‍नुभयो, “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु,” “र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌।” (यशैया ६५:१७) उहाँ आफूले बनाउने नयाँ संसारबारे बताउँदै हुनुहुन्थ्यो, जसअन्तर्गत मानव समाज पूरै नयाँ र भिन्‍न हुनेछ।—दानियल २:४४.

त्यतिबेला मानिसहरूले बिताउने जीवन र गर्ने कामबारे उक्‍त भविष्यवाणी अझ यसो भन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌, किनकि तिनीहरू आफ्ना बाल–बच्चाहरूसमेत परमप्रभुको आशिष पाएको वंश हुन्‌।”—यशैया ६५:२१-२३.

परमेश्‍वरले डिजाइन गर्नुभएको त्यस नयाँ संसारले साँच्चै ठूलो परिवर्तन ल्याउनेछ! के तपाईं त्यस्तो संसारमा बाँच्न चाहनुहुन्‍न जहाँ तपाईंले ‘व्यर्थमा परिश्रम गर्नुपर्नेछैन’ र आफ्नो परिश्रमको “फल” पूरापूर उपभोग गर्न पाउनुहुनेछ? तथापि, त्यस्ता आशिष्‌को आनन्द उठाउने मानिसहरूबारे पनि ध्यान दिनुहोस्‌: “तिनीहरू आफ्ना बाल–बच्चाहरूसमेत परमप्रभुको आशिष पाएको वंश हुन्‌।” तपाईं पनि यहोवाबारे सिकेर अनि उहाँका आवश्‍यकताहरू पूरा गरेर त्यस्तो “आशिष पाएको” व्यक्‍तिहरूमध्ये हुन सक्नुहुन्छ। येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) परमेश्‍वरको वचन बाइबलको क्रमबद्ध अध्ययनद्वारा ती जीवनदायी ज्ञान तपाईंलाई दिन यहोवाका साक्षीहरू इच्छुक छन्‌।

[पृष्ठ ६-मा भएको पेटी]

“माग निरन्तर बढिरहेको छ”

बाइबल यसो भन्छ, “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले गर।” (कलस्सी ३:२३) स्पष्टतया, यस असल सिद्धान्तमा आधारित कामसम्बन्धी आचारसंहितामा चल्ने मानिसलाई सबैले जागिर दिन चाहन्छन्‌। त्यसैकारण, जे. जे. लुनाले आफ्नो पुस्तक हाउ टु बि इन्भिजिवल-मा कामदारहरूलाई खोज्दा केही खास धार्मिक समूहका सक्रिय सदस्यहरूलाई छान्‍ने सल्लाह दिएपछि थप यसो भन्छन्‌: “तर साँच्चै भन्‍ने हो भने, हामी सबै [यहोवाका] साक्षीहरूलाई नै जागिर दिने निर्णय गर्न पुग्छौं।” तिनले दिएका कारणहरूमध्ये एउटा तिनीहरू इमानदार व्यक्‍तिहरूको रूपमा चिरपरिचित छन्‌ र त्यसले गर्दा विभिन्‍न क्षेत्रमा तिनीहरूको “माग निरन्तर बढिरहेको छ।”

[पृष्ठ ५-मा भएका चित्रहरू]

कामको साथसाथै आध्यात्मिक गतिविधि र मनोरञ्जनलाई सन्तुलनमा राख्दा सन्तुष्टि पाइन्छ