सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले ब्राजिलमा परमेश्‍वरको राज्यको सन्देश “सुनिरहेका” छन्‌

तिनीहरूले ब्राजिलमा परमेश्‍वरको राज्यको सन्देश “सुनिरहेका” छन्‌

राज्य उद्‌घोषकहरूको रिपोर्ट

तिनीहरूले ब्राजिलमा परमेश्‍वरको राज्यको सन्देश “सुनिरहेका” छन्‌

बहिरा समुदायमा परमेश्‍वरको राज्यको सन्देश घोषणा गर्न ब्राजिलका थुप्रै यहोवाका साक्षीहरूले ब्राजिलको सांकेतिक भाषा सिक्ने चुनौती स्वीकारेका छन्‌। तिनीहरूको प्रयासको परिणाम राम्रो भइरहेको छ भनेर निम्न अनुभवले देखाउँछ।

ईभा, a साऊ पावलोमा बसोबास गर्ने बहिरा महिला हुन्‌ र तिनीलगायत तिनका तीन जना बालबच्चा एक जना बहिरो मानिससित सँगै बस्न थालेपछि सांकेतिक भाषा सिक्न थालिन्‌। बजार गएको बेला ईभा र तिनको प्रेमीले बहिरा साक्षीहरूको एउटा समूह भेटे र तिनीहरूलाई राज्यभवनको सभामा उपस्थित हुने निमन्त्रणा दिए। यो कुनै सामाजिक जमघट होला भनेर तिनीहरूले स्वीकारे।

ईभालाई सांकेतिक भाषाको सीमित ज्ञान मात्र भएको कारण तिनले सभामा भनिएको कुरा खासै बुझ्न सकिनन्‌। त्यसपछि, केही साक्षीहरूले तिनलाई घरमा खाजा खान बोलाए। पृथ्वीमा जीवनको आनन्द उठाउनुहोस्‌! भन्‍ने पुस्तिकाको चित्र देखाउँदै तिनीहरूले ईभालाई भावी पार्थिव प्रमोदवनबारे परमेश्‍वरको प्रतिज्ञा बुझाए। आफूले सिकेको कुरा ईभालाई मन पऱ्‍यो अनि नियमित तवरमा सभा धाउन थालिन्‌।

त्यसपछि केही समय नबित्दै ईभाले बाइबल स्तरअनुरूप जीवन बिताउन आफ्नो प्रेमीलाई छोडिन्‌। परिवारबाट भीषण विरोधको बावजुद तिनले आध्यात्मिक प्रगति गरिन्‌ र सन्‌ १९९५ मा बप्तिस्मा लिइन्‌। छ महिनापछि ईभाले अग्रगामी अर्थात्‌ पूर्ण-समय राज्य उद्‌घोषकको हैसियतमा सेवा गर्न थालिन्‌। त्यसबेला देखि यता तिनले चार जना बहिराहरूलाई समर्पण र बप्तिस्मा लिन मदत गरिसकेकी छिन्‌।

कार्लोस जन्मजात बहिरा थिए। सानैदेखि तिनी लागू पदार्थ, अनैतिकता र चोरीजस्ता काममा मुछिए। विरोधी गिरोहका सदस्यहरूले धम्की दिएको हुँदा तिनी साऊ पावलो भागे र केही समयको लागि झ्वाओसित बसे। कार्लोसजस्तै झ्वाओ पनि बहिरा थिए र अनैतिक जीवन बिताउँथे।

केही वर्षपछि कार्लोसले राज्य सन्देश सिके अनि सिकेअनुसार जीवनलाई सही बाटोमा ल्याउन उत्प्रेरित भए र आफ्नो विवाहलाई कानुनन बनाए। धर्मशास्त्रीय आवश्‍यकता पूरा गरेपछि कार्लोसले यहोवालाई आफ्नो जीवन समर्पण गर्दै बप्तिस्मा लिए। त्यतिन्जेल, झ्वाओले पनि सुसमाचार सुनेर जीवनमा थुप्रै परिवर्तनहरू गरिसकेको कुरा कार्लोसलाई थाहै थिएन। यहोवाले मूर्तिहरूको प्रयोग स्वीकार्नुहुन्‍न भनी थाह पाएपछि झ्वाओले आफूसित भएका “सन्तहरू”-को सबै मूर्ति फ्याँकिदिए। आफ्नो पुरानो जीवन शैली त्यागिसकेपछि झ्वाओले बप्तिस्मा लिए।

कार्लोस र झ्वाओको भेट राज्यभवनमा भयो र दुवैले आफ्नो जीवनमा गरेका परिवर्तनबारे थाह पाएपछि तिनीहरू हर्षविभोर भए! दुवै अहिले परिवारका जिम्मेवार शिर भएका छन्‌ र परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरूको हैसियतमा सेवा गर्छन्‌।

ब्राजिलमा हाल ३० वटा सांकेतिक भाषाको मण्डली र १५४ वटा समूहमा २,५०० भन्दा बढी प्रकाशकहरू छन्‌ र तीमध्ये १,५०० जना बहिरा हुन्‌। सन्‌ २००१ मा ब्राजिलमा बहिराहरूको लागि सम्पन्‍न “परमेश्‍वरको वचनका शिक्षकहरू” जिल्ला अधिवेशनमा ३,००० भन्दा बढी उपस्थित भए र ३६ जनाले बप्तिस्मा लिए। आशा छ, यहोवाको आशिष्‌ पाएर अरू थुप्रै बहिराहरूले राज्य सन्देश स्वीकार्नेछन्‌।

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।