सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिमीहरूको आपसमा प्रेम होस्‌’

‘तिमीहरूको आपसमा प्रेम होस्‌’

‘तिमीहरूको आपसमा प्रेम होस्‌’

“तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५.

१. आफ्नो मृत्यु हुनुअघि येशूले कुन गुणलाई जोड दिनुभयो?

 “ए साना बालक हो।” (यूहन्‍ना १३:३३) आफ्नो मृत्यु हुनुअघिको साँझ येशूले आफ्ना प्रेरितहरूलाई सम्बोधन गर्न उक्‍त कोमल अभिव्यक्‍ति प्रयोग गर्नुभयो। येशूले यो अनुकम्पापूर्ण अभिव्यक्‍ति यसअघि प्रयोग गर्नुभएको हामी सुसमाचारका पुस्तकहरूमा कतै पनि पाउँदैनौं। तथापि, आफ्ना अनुयायीहरूप्रति येशूले महसुस गर्नुहुने गहिरो प्रेम प्रकट गर्न त्यो विशेष रात उहाँ यस्तो स्नेहपूर्ण ढंगमा सम्बोधन गर्न उत्प्रेरित हुनुभयो। वास्तवमा, येशूले त्यो रात प्रेमबारे लगभग ३० चोटि कुरा गर्नुभयो। उहाँले यस गुणलाई किन यत्तिको जोड दिनुभयो?

२. प्रेम देखाउनु किन मसीहीहरूको लागि एकदमै महत्त्वपूर्ण कुरा हो?

येशूले प्रेम किन यत्तिको महत्त्वपूर्ण छ भनेर बुझाउनुभयो। उहाँले यसो भन्‍नुभयो, “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५; १५:१२, १७) ख्रीष्टको अनुयायी हुनु र एकअर्कालाई भ्रातृप्रेम देखाउनु बीच नजिकको सम्बन्ध छ। साँचो मसीहीहरू बेग्लै पहिरन वा असाधारण प्रचलनले नभई तिनीहरूले आपसमा देखाउने न्यानो तथा कोमल प्रेमबाट चिनिन्छन्‌। यसअघिको लेखमा उल्लेख गरिएअनुसार ख्रीष्टको चेलामा हुनुपर्ने तीनवटा प्रमुख आवश्‍यकतामध्ये दोस्रो, यही उल्लेखनीय प्रेम हो। यो आवश्‍यकता पूरा गरिरहन हामीलाई कुन कुराले मदत गर्नेछ?

“अझै बढ्‌दै जाओ”

३. पावलले प्रेमको सन्दर्भमा कस्तो सल्लाह दिए?

प्रथम शताब्दीमा ख्रीष्टका अनुयायीहरूमाझ भएझैं, आज यो उल्लेखनीय प्रेम ख्रीष्टका साँचो चेलाहरूमाझ पनि प्रस्टै देखिन्छ। प्रथम शताब्दीका मसीहीहरूलाई प्रेरित पावलले यस्तो लेखे: “भाइहरूप्रतिको प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्न पर्ने केही दरकार छैन। किनकि आपसमा प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ। किनकि . . . भाइहरूतर्फ तिमीहरू साँच्चिनै त्यसै गर्दछौ।” तैपनि, पावलले अझ यसो भने: “अझै बढ्‌दै जाओ।” (१ थिस्सलोनिकी ३:१२; ४:९, १०) हामीले पनि पावलको सल्लाहलाई हृदयंगम गर्नुपर्छ अनि “अझै बढ्‌दै” एकअर्कालाई प्रेम देखाउने प्रयास गर्नुपर्छ।

४. पावल र येशूका अनुसार हामीले कसलाई विशेष ध्यान दिनुपर्छ?

त्यही प्रेरित पत्रमा पावलले सँगी विश्‍वासीहरूलाई “हरेश खानेलाई दिलाशा देओ” र “कमजोरीहरूलाई मदत गर” भनी प्रोत्साहन दिए। (१ थिस्सलोनिकी ५:१४) अर्को अवसरमा, तिनले मसीहीहरूलाई “बलियाहरूले निर्धाहरूका निर्बलतालाई सहनु पर्दछ” भनी सम्झाए। (रोमी १५:१) निर्बलहरूलाई मदत गर्ने सन्दर्भमा येशूले पनि निर्देशन दिनुभयो। आफू गिरफ्तार हुने रात पत्रुसले त्याग्नेछन्‌ भनी बताइसक्नुभएपछि येशूले पत्रुसलाई यसो भन्‍नुभयो: “फेरि एकपल्ट फिरेपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।” किन? किनभने तिनीहरूले पनि येशूलाई त्याग्ने हुँदा मदत चाहिनेथियो। (लूका २२:३२; यूहन्‍ना २१:१५-१७) यसर्थ, परमेश्‍वरको वचनले हामीलाई आध्यात्मिक तवरमा कमजोर तथा मसीही मण्डलीबाट टाढिएकाहरूलाई प्रेम देखाउने निर्देशन दिन्छ। (हिब्रू १२:१२) हामीले किन यसो गर्नुपर्छ? येशूले दिनुभएको दुईवटा ज्वलन्त दृष्टान्तले यसको जवाफ दिन्छ।

हराएको भेडा र हराएको सिक्का

५, ६. (क) येशूले कुन दुईवटा छोटो दृष्टान्त बताउनुभयो? (ख) यी दृष्टान्तहरूले यहोवाबारे के कुरा प्रकट गर्छ?

बरालिएकाहरूप्रति यहोवाको दृष्टिकोण बुझाउन येशूले आफ्ना श्रोताहरूलाई दुईवटा छोटो दृष्टान्त बताउनुभयो। एउटा दृष्टान्त गोठालोबारे थियो। येशूले यसो भन्‍नुभयो: “तिमीहरूमध्ये कुन चाहिं मानिस होला, जसको सय भेड़ा भएर तीमध्ये एउटा हराउँदा उनान्सयलाई वनमा छोड़ेर त्यो हराएको पछि लागेर त्यसलाई नपाउञ्जेल खोजिगर्दैन? औ भेट्टाएपछि रमाउँदै त्यसलाई आफ्नो काँधमा राख्छ, औ घरमा आएर उसले आफ्ना मित्रहरूलाई यसो भन्छ, ‘मसित रमाओ, किनभने मैले आफ्नो हराएको भेड़ा भेट्टाएको छु।’ म तिमीहरूलाई भन्दछु, ‘यसरी पश्‍चाताप गर्न नपर्ने उनान्सय धार्मिक जनहरूप्रति भन्दा पश्‍चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ’।’ ”—लूका १५:४-७.

दोस्रो दृष्टान्त, एउटी स्त्रीको थियो। येशूले यसो भन्‍नुभयो: “कुन चाहिं स्त्रीको साथमा दश चाँदीको सिक्का भएर एउटा हराई भने बत्ती बालेर घर बढ़ारीकन मेहनतसँग नभेट्टाउञ्जेल त्यसलाई खोज्दिन? औ भेट्टाएपछि त्यसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, ‘मसित रमाओ, किनभने मैले मेरो हराएको सिक्का भेट्टाएकी छु।’ म तिमीहरूलाई भन्दछु, ‘यसरीनै परमेश्‍वरका दूतहरूका सामने पश्‍चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।’ ”—लूका १५:८-१०.

७. हराएको भेडा र हराएको सिक्कासम्बन्धी दृष्टान्तबाट हामी कुन दुईवटा पाठ सिक्न सक्छौं?

हामी यी छोटो दृष्टान्तबाट के सिक्न सक्छौं? त्यसले (१) कमजोरहरूप्रति हामीले कस्तो महसुस गर्नुपर्छ अनि (२) तिनीहरूलाई मदत गर्न के गर्नुपर्छ भनेर देखाउँछ। आउनुहोस्‌, हामी यी बुँदाहरूमा ध्यान देऔं।

हराएको तर अनमोल

८. (क) गोठालो र स्त्रीले आफ्नो केही कुरा हराउँदा कस्तो प्रतिक्रिया देखाए? (ख) तिनीहरूको प्रतिक्रियाबाट हराएको सम्पत्तिप्रति कस्तो दृष्टिकोण झल्किन्छ?

दुवै दृष्टान्तमा केही कुरा गुमेको थियो तर मालिकहरूको प्रतिक्रियालाई ध्यान दिनुहोस्‌। गोठालोले यसो भनेनन्‌: ‘एउटा हराएर के भयो र, मसँग अझै ९९ वटा त छँदैछ नि? त्यो एउटा नभए मलाई केही फरक पर्दैन।’ त्यस स्त्रीले यसो भनिनन्‌: ‘बेकारमा एउटा सिक्काको लागि किन चिन्ता गर्ने? बाँकी नौवटा त मसँग छँदैछ नि।’ बरु, गोठालोले आफ्नो भेडा त्यही एउटै मात्र भएझैं गरी हराएको भेडा धुइँधुइँती खोजे। अनि त्यस स्त्रीले पनि आफूसित अरू केही नभएझैं गरी हराएको सिक्का खोजिन्‌। दुवै घटनामा आफूले हराएको कुरा मालिकको लागि अनमोल थियो। यसले के देखाउँछ?

९. गोठालो र स्त्रीले देखाएको चासोबाट के प्रस्ट हुन्छ?

दुवै अवस्थामा येशूको निष्कर्षलाई ध्यान दिनुहोस्‌: “पश्‍चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ” र “यसरीनै परमेश्‍वरका दूतहरूका सामने पश्‍चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ। तसर्थ, गोठालो र स्त्रीको चासोले सानै तरिकामा भए पनि यहोवा र उहाँका स्वर्गीय प्राणीहरूको भावना झल्काउँछ। आफूले हराएको कुरा गोठालो र स्त्रीको नजरमा अनमोल रहेझैं परमेश्‍वरका जनहरूबाट बरालिएर टाढिएकाहरू पनि यहोवाको नजरमा अनमोल रहिरहन्छन्‌। (यर्मिया ३१:३) त्यस्ता व्यक्‍तिहरू आध्यात्मिक तवरमा कमजोर हुँदैमा तिनीहरूलाई विद्रोही भन्‍न मिल्दैन। तिनीहरूको कमजोर अवस्थाको बावजुद तिनीहरूले कुनै न कुनै तरिकामा अझै यहोवाले चाहनुभएका कुराहरू पूरा गरिरहेका हुन सक्छन्‌। (भजन ११९:१७६; प्रेरित १५:२९) यसर्थ, विगतमा झैं यहोवा “तिनीहरूलाई अझै आफ्नो दृष्टिदेखि निकाल्न” हतार गर्नुहुन्‍न।—२ राजा १३:२३.

१०, ११. (क) मण्डलीबाट बरालिएकाहरूप्रति हामी कस्तो दृष्टिकोण राख्न चाहन्छौं? (ख) येशूका दुईवटा दृष्टान्तअनुसार हामी तिनीहरूप्रति कसरी चासो व्यक्‍त गर्न सक्छौं?

१० यहोवा र येशूले जस्तै हामी पनि कमजोर तथा मसीही मण्डलीदेखि टाढिएका व्यक्‍तिहरूको गहिरो चासो राख्छौं। (इजकिएल ३४:१६; लूका १९:१०) हामी आध्यात्मिक तवरमा कमजोर व्यक्‍तिलाई कुनै आशै नभएको मानिसजस्तो नभई हराएको भेडासरह ठान्छौं। हामी यस्तो तर्क गर्दैनौं: ‘कमजोर व्यक्‍तिको किन वास्ता गर्ने? त्यो व्यक्‍ति नहुँदा मण्डलीलाई केही फरक पर्दैन।’ बरु, बरालिएका तर फर्कन चाहनेहरूलाई हामी यहोवाले जस्तै मूल्यवान्‌ ठान्छौं।

११ यद्यपि, हामी कसरी तिनीहरूप्रति आफ्नो चासो व्यक्‍त गर्न सक्छौं? येशूको दुईवटा दृष्टान्तले देखाएझैं (१) आफू अग्रसर भएर, (२) कोमल अनि (३) निष्कपट भएर त्यसो गर्न सक्छौं। आउनुहोस्‌, हामी यी बुँदाहरू एक-एक गरी केलाएर हेरौं।

आफू अग्रसर हुनुहोस्‌

१२. ‘हराएको पछि लाग्छन्‌’ भन्‍ने अभिव्यक्‍तिले गोठालोको मनोवृत्तिबारे के बताउँछ?

१२ दुईवटा दृष्टान्तमध्ये पहिलोमा येशूले गोठालो ‘हराएको पछि लाग्छन्‌’ भन्‍नुभयो। गोठालो आफै अग्रसर भएर हराएको भेडा खोज्न ठोस कदम चाल्छ। कठिनाइ, खतरा र दूरीको कारण तिनी हरेस खाँदैनन्‌। यसको विपरीत, तिनले ‘नपाउञ्जेल खोजि गर्छ।’—लूका १५:४.

१३. पुरातन समयका विश्‍वासी मानिसहरूले कमजोरहरूको आवश्‍यकतामा कसरी ध्यान पुऱ्‍याए अनि हामी ती बाइबल उदाहरणहरू कसरी अनुकरण गर्न सक्छौं?

१३ त्यस्तै गरी, प्रोत्साहनको खाँचो परेको व्यक्‍तिलाई मदत गर्न बलियो व्यक्‍ति अग्रसर हुनुपर्छ। पुरातन समयका विश्‍वासी मानिसहरूले यो कुरा बुझेका थिए। उदाहरणका लागि, राजा शाऊलका छोरा, जोनाथनले आफ्नो अति प्रिय मित्र दाऊदलाई प्रोत्साहन चाहिएको कुरा थाह पाएपछि जोनाथन होरेशमा “तिनीकहाँ आए, र तिनलाई परमेश्‍वरको नाउँमा अझै उत्साह दिए।” (१ शमूएल २३:१५, १६) शताब्दीयौंपछिको कुरा हो, नहेम्याहले आफ्ना केही यहूदी भाइहरू निरुत्साहित भएको देख्ने बित्तिकै “झट्टै” गएर ‘परमप्रभुको सम्झना गर्ने’ प्रोत्साहन दिए। (नहेम्याह ४:१४) आज हामी पनि कमजोरहरूलाई बल दिनको निम्ति ‘खडा हुन’ आफै अग्रसर हुन चाहनुपर्ने हो। तर मण्डलीमा यो कसले गर्नुपर्ने काम हो?

१४. कमजोरहरूलाई मदत गर्न मसीही मण्डलीमा को अघि सर्नुपर्छ?

१४ “कमजोर हातहरू बलिया बनाऊ, र दुर्बल घुँड़ाहरू सोझो पार। हृदय डरले भरिएकाहरूलाई भन, ‘साहस गर, न डराऊ’ ” भन्‍ने मुख्य जिम्मेवारी प्राचीनहरूको हो। (यशैया ३५:३, ४; १ पत्रुस ५:१, २) तथापि, ध्यान दिनुहोस्‌, “हरेस खानेलाई दिलाशा देओ” र “कमजोरीहरूलाई मदत गर” भन्‍ने पावलको सल्लाह प्राचीनहरूलाई मात्र दिइएको थिएन। बरु, पावलका यी शब्दहरू “थिस्सलोनिकीहरूका मण्डलीलाई” दिइएको थियो। (१ थिस्सलोनिकी १:१; ५:१४) अतः कमजोरहरूलाई मदत गर्ने जिम्मेवारी सबै मसीहीहरूको हो। दृष्टान्तको गोठालोजस्तै सबै मसीहीहरू ‘हराएको पछि लाग्न’ उत्प्रेरित हुनुपर्छ। निस्सन्देह, प्राचीनहरूसित मिलेर यसो गर्दा सबैभन्दा प्रभावकारी हुन्छ। मण्डलीमा कुनै कमजोर व्यक्‍तिलाई मदत गर्न के तपाईंले केही कदम चाल्न सक्नुहुन्छ?

कोमल हुनुहोस्‌

१५. गोठालोले किन त्यस्तो व्यवहार गरे होलान्‌?

१५ गोठालोले आफ्नो हराएको भेडा बल्लतल्ल भेट्टाएपछि के गर्छ? “त्यसलाई आफ्नो काँधमा राख्छ।” (लूका १५:५) कस्तो हृदयस्पर्शी तथा प्रभावकारी विवरण! हराएको भेडा नौलो ठाउँमा दिन रात सिकारी सिंहहरूको आक्रमणबाट जोगिंदै भौंतारिनुपऱ्‍यो होला। (अय्यूब ३८:३९, ४०) खानाको अभावमा भेडा पक्कै कमजोर भए होलान्‌। साँच्चै भन्‍ने हो भने, बगालमा फर्कनको लागि बाटोमा आइपर्ने बाधाहरू उछिन्‍ने बलसमेत त्यससित छैन। त्यसकारण, गोठालोले निहुरिएर त्यसलाई कोमलतासाथ उठाउँछ अनि सबै बाधाहरू पार गर्दै गोठमा लैजान्छ। यस गोठालोले देखाएको हेरचाह हामी कसरी झल्काउन सक्छौं?

१६. बरालिएको भेडाप्रति गोठालोले देखाएको कोमलता हामीले पनि किन देखाउनुपर्छ?

१६ मण्डलीसित सम्बन्ध गुमाएको व्यक्‍ति आध्यात्मिक तवरमा लखतरान भएको हुन सक्छ। गोठालोबाट तर्किएको भेडाजस्तै त्यस्तो हराएको व्यक्‍ति संसारको वैरभावपूर्ण इलाकामा विना कुनै लक्ष्य भौंतारिएको हुन सक्छ। गोठ अर्थात्‌ मसीही मण्डलीको सुरक्षा नपाउँदा तिनी “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर” हिंड्‌ने दियाबलको आक्रमणको सजिलै सिकार हुन सक्छ। (१ पत्रुस ५:८) साथै, आध्यात्मिक भोजनको अभावमा तिनी कमजोर भएको हुन्छ। यसर्थ, मण्डलीमा फर्कनको लागि बाटोमा आइपर्ने बाधाहरू आफ्नै शक्‍तिको भरमा पार गर्न नसक्ने गरी कमजोर भइसकेको हुन सक्छ। त्यसकारण, मानौं निहुरिएर कमजोरहरूलाई कोमलतासाथ उठाएर हामीले बगालमा फिर्ता ल्याउनुपर्छ। (गलाती ६:२) हामी त्यो कसरी गर्न सक्छौं?

१७. कमजोर भएकालाई भेट्‌न जाँदा हामी कसरी प्रेरित पावलको अनुकरण गर्न सक्छौं?

१७ प्रेरित पावलले यसो भने: “को निर्धो छ, र म निर्धो छैनँ?” (२ कोरिन्थी ११:२९; १ कोरिन्थी ९:२२) पावलले कमजोरहरूलगायत सबैलाई समानुभूति देखाउँथे। हामी कमजोरहरूप्रति त्यस्तै सँगी भाव देखाउन चाहन्छौं। आध्यात्मिक तवरमा कमजोर मसीहीलाई भेट्‌न जानुहुँदा तिनी यहोवाको नजरमा मूल्यवान्‌ छन्‌ र तिनको अनुपस्थितिमा सँगी साक्षीहरूले असाध्यै न्यास्रो महसुस गरेका छन्‌ भनेर बताउनुहोस्‌। (१ थिस्सलोनिकी २:१७) तिनीहरू उनलाई मदत दिन तयार हुनुका साथै ‘दुःखमा साथ दिने भाइ’ हुन इच्छुक छन्‌ भनी थाह दिनुहोस्‌। (हितोपदेश १७:१७; भजन ३४:१८) हाम्रो हृदयस्पर्शी अभिव्यक्‍तिबाट तिनले कोमल ढंगमा बिस्तार-बिस्तारै प्रोत्साहन पाउन सक्छन्‌ र तिनी बगालमा फर्कन सक्नेछन्‌। यसपछि हामीले के गर्नुपर्छ? सिक्का हराएकी स्त्रीको दृष्टान्तले यस सन्दर्भमा निर्देशन प्रदान गर्छ।

निष्कपट हुनुहोस्‌

१८. (क) दृष्टान्तकी स्त्रीले किन पूरै आशा गुमाएकी थिइनन्‌? (ख) त्यस स्त्रीले निष्कपट भएर कस्तो उत्कट प्रयास गरिन्‌ र परिणाम के भयो?

१८ सिक्का हराउने स्त्रीलाई अवस्था चुनौतीपूर्ण भए तापनि हरेस खानुपर्ने कुनै कारण छैन भन्‍ने कुरा थाह छ। खुला मैदानको ठूलो झाडी वा गहिरो दलदले तालमा सिक्का हराएको भए त्यस स्त्रीले त्यो पाउने आशा गुमाउने थिइन्‌ होला। तथापि, सिक्का घरमा कतै, आफूले खोज्न सक्ने ठाउँमा हुनुपर्छ भनेर तिनले सबैतिर खोज्न थालिन्‌। (लूका १५:८) सबैभन्दा पहिला, तिनी आफ्नो अँध्यारो घरलाई उज्यालो बनाउन बत्ती बाल्छिन्‌। त्यसपछि सिक्काको टिङ आवाज सुन्‍ने आशमा घर बढार्छिन्‌। अन्तमा, बत्तीमा चाँदीको सिक्काको चमचम नदेखुन्जेल तिनले घरको कुनाकाप्चामा खोज्छिन्‌। स्त्रीको साँचो उत्कट प्रयासले इनाम पाउँछ!

१९. हराएको सिक्का खोज्ने स्त्रीको दृष्टान्तमा तिनको व्यवहारबाट कमजोरहरूलाई मदत गर्ने सन्दर्भमा कस्तो पाठ सिक्छौं?

१९ दृष्टान्तको यस विवरणले स्मरण गराएझैं कमजोर मसीहीलाई मदत गर्ने धर्मशास्त्रीय दायित्व हाम्रो क्षमताबाहिरको कुरा होइन। साथै, यसो गर्न प्रयास गर्नुपर्छ भनेर हामीले बुझ्यौं। त्यसैकारण, प्रेरित पावलले एफिससका प्राचीनहरूलाई यसो भने: “यही किसिमसित मेहनत गरेर निर्धाहरूलाई मदत गर्नु।” (प्रेरित २०:३५क) नबिर्सनुहोस्‌, स्त्रीले यताउता हेरेर वा सरसरती खोजेर त्यो हराएको सिक्का फेला पारेकी होइनन्‌। तिनले “नभेट्टाउञ्जेल” व्यवस्थित ढंगमा ‘त्यसलाई खोजेकीले’ भेट्टाउँछिन्‌। त्यस्तै गरी, आध्यात्मिक तवरमा कमजोर व्यक्‍तिलाई पुनः प्राप्त गर्ने हाम्रो प्रयास निष्कपट र अर्थपूर्ण हुनुपर्छ। हामी के गर्न सक्छौं?

२०. कमजोरहरूलाई मदत गर्न के गर्न सकिन्छ?

२० हामी कसरी कमजोर व्यक्‍तिलाई तिनको विश्‍वास र मूल्यांकन बढाउन मदत गर्न सक्छौं? उपयुक्‍त मसीही प्रकाशनबाट व्यक्‍तिगत बाइबल अध्ययन गर्नुपर्ने हुन सक्छ। निस्सन्देह, कमजोर व्यक्‍तिसित बाइबल अध्ययन सञ्चालन गर्दा तिनलाई नियमित तवरमा पूर्णतया मदत गर्ने मौका पाउँछौं। सम्भवतः त्यस्तो चाहिएको सहयोग दिन सेवा निरीक्षकले उपयुक्‍त व्यक्‍ति खटाउन सक्नेछन्‌। तिनले कुन विषयहरू अध्ययन गर्ने अनि कुन प्रकाशन मदतकारी हुनेछ भनी बताउन सक्छन्‌। दृष्टान्तमा बताइएको स्त्रीले मदतकारी साधनहरू प्रयोग गरेर आफ्नो काम पूरा गरेझैं आज हामीसित पनि कमजोरहरूलाई मदत गर्ने ईश्‍वरप्रदत्त जिम्मेवारी पूरा गर्न साधनहरू उपलब्ध छन्‌। यस्तो प्रयासमा दुईवटा नयाँ साधन वा प्रकाशन विशेष गरी मदतकारी हुनेछ। ती हुन्‌, वर्शिप दी ओन्ली ट्रु गडड्र क्लोज टु जेहोभा। a

२१. कमजोरहरूलाई मदत गर्दा कसरी सबैले आशिष्‌ पाउन सक्छन्‌?

२१ कमजोरहरूलाई मदत गर्दा सबैले आशिष्‌ पाउँछन्‌। यसरी मदत पाइरहेकाहरूले साँचो साथीहरूसित पुनर्मिलन हुँदाको आनन्द उपभोग गर्न सक्नेछन्‌। अरूलाई दिंदा प्राप्त हुने हृदयस्पर्शी आनन्द महसुस गर्न सक्छौं। (लूका १५:६, ९; प्रेरित २०:३५ख) मण्डलीका सबै सदस्यले एकअर्काप्रति मायालु चासो राख्दा सम्पूर्ण मण्डलीमा आत्मीयता बढ्‌छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त, आफ्ना पार्थिव सेवकहरूले कमजोरहरूलाई मदत गर्ने इच्छा देखाउँदा हाम्रा मायालु गोठालाहरू, यहोवा र येशूको आदर हुन्छ। (भजन ७२:१२-१४; मत्ती ११:२८-३०; १ कोरिन्थी ११:१; एफिसी ५:१) त्यसैकारण, ‘आपसमा प्रेम गरिरहने’ हामीसित कस्तो राम्रो कारण छ!

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• प्रेम देखाउनु किन हामी प्रत्येकको लागि अत्यावश्‍यक छ?

• हामीले किन कमजोरहरूलाई प्रेम देखाउनुपर्छ?

• हराएको भेडा र हराएको सिक्काको दृष्टान्तले हामीलाई कस्तो पाठ सिकाउँछ?

• कमजोर व्यक्‍तिलाई मदत गर्न हामी कस्तो व्यावहारिक कदम चाल्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

कमजोरहरूलाई मदत गर्दा हामी आफै अग्रसर हुनुका साथै कोमल भाव र साँचो मनसाय देखाउँछौं

[पृष्ठ १६, १७-मा भएको चित्र]

कमजोरहरूलाई मदत गर्दा सबैले आशिष्‌ पाउन सक्छन्‌