सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्ना छोराछोरीको हृदयलाई डोऱ्‍याइविना नछोड्‌नुहोस्‌!

आफ्ना छोराछोरीको हृदयलाई डोऱ्‍याइविना नछोड्‌नुहोस्‌!

आफ्ना छोराछोरीको हृदयलाई डोऱ्‍याइविना नछोड्‌नुहोस्‌!

एक जना कुशल कुमालेले मूल्यहीन माटोको डल्लोलाई एउटा आर्कषक भाँडोमा परिणत गर्छ। थोरै कालिगढहरूले मात्र केही मूल्यहीन वस्तुबाट धेरै परिमाणमा आकर्षक अनि उपयोगी वस्तुहरूको सृजना गर्छन्‌। हजारौं वर्षदेखि कप, प्लेट, पकाउने भाँडा, सामान राख्ने भाँडा अनि सजाउने कलाकृतिहरूका लागि मानव समाज कुमालेमा भर पर्दै आएको छ।

आफ्ना छोराछोरीको आचरण अनि व्यक्‍तित्वलाई आकार दिएर आमाबाबुले पनि समाजमा अमूल्य योगदान पुऱ्‍याउँछन्‌। बाइबलले हामी प्रत्येकलाई माटोसित तुलना गर्छ। अनि आमाबाबुलाई “माटो” रूपी आफ्ना छोराछोरीहरूलाई आकार दिने महत्त्वपूर्ण जिम्मेवारी परमेश्‍वरले सुम्पनुभएको छ। (अय्यूब ३३:६; उत्पत्ति १८:१९) माटोको सुन्दर कलाकृति सृजना गर्नुजस्तै एउटा बच्चालाई एक जिम्मेवार अनि सन्तुलित वयस्कमा परिणत गर्नु सजिलो काम होइन। केवल संयोगको भरमा यो परिवर्तन सम्भव छैन।

हाम्रा छोराछोरीको हृदयलाई आकार दिन अरू धेरै प्रभावहरू क्रियाशील हुन्छन्‌। दुःखको कुरा, यस्ता केही प्रभावहरू विनाशकारी हुन्छन्‌। त्यसैले बुद्धिमान्‌ आमाबाबुले छोराछोरीको हृदयलाई डोऱ्‍याइविना छोड्‌नुको सट्टा “वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर” नजाओस्‌ भन्‍ने आत्मविश्‍वास लिएर “ऊ हिंड्‌नुपर्ने बाटोमा” छोराछोरीलाई प्रशिक्षण दिन्छन्‌।—हितोपदेश २२:६.

छोराछोरीलाई हुर्काउने लामो अनि महत्त्वपूर्ण यात्रामा बुद्धिमान्‌ मसीही आमाबाबुले आफ्नो छोराछोरीको हृदयलाई हानि गर्ने नकारात्मक प्रभावहरूलाई हटाउन समय दिनुपर्ने हुन्छ। आफ्ना छाराछोरीलाई “मसीही लालनपालनअनुसार निर्देशन दिंदा अनि सुधार गर्दा” तिनीहरूको प्रेम धेरै पटक जाँचिनेछ। (एफिसी ६:४, द न्यु इंग्लिस बाइबल) आमाबाबुले बेलैमा आकार दिने काम थालेमा निश्‍चय पनि तिनीहरूको यो काम धेरै सजिलो हुनेछ।

बेलैमा थाल्ने

कुमालेले आकार दिन मिल्ने लचिलो अनि आकार दिइसकेपछि आकार लिन सक्ने माटो प्रयोग गर्न रुचाउँछन्‌। माटोलाई प्रशोधन गरिसकेपछि तिनीहरू यसलाई छ महिना भित्रमा प्रयोग गर्न रुचाउँछन्‌। त्यसरी नै, आफ्ना छोराछारीको हृदय सबैभन्दा ग्रहणशील र आकार दिन सजिलो हुने सयम नै आमाबाबुहरूको लागि आकार दिन सुरु गर्ने सबैभन्दा उपयुक्‍त समय हो।

बाल-विषेशज्ञहरूको भनाइअनुसार बच्चा आठ महिनाको भइसकेपछि तिनले आफ्नो मातृभाषाको आवाज ठम्याउन, आफ्ना आमाबाबुसित घनिष्ठ सम्बन्ध स्थापना गर्न, बुझ्ने क्षमता विकास गर्न र आफू वरपरको संसारको खोजीनिती गर्न सिकिसकेको हुन्छ। बच्चाको हृदयलाई आकार दिन सुरु गर्ने उपयुक्‍त समय बाल्यकाल नै हो। तिमोथीले जस्तै तपाईंका छोराछोरीले “बाल्यकालदेखि पवित्र लेखोटहरू जानेको” खण्डमा तिनीहरूले कत्ति धेरै लाभ उठाउँछन्‌ होला!—२ तिमोथी ३:१५. a

बच्चाहरूले स्वाभाविकतः आमाबाबुको नक्कल गर्छन्‌। आवाज, बोली र हाउभाउको नक्कल गर्नुको अलावा आफ्ना आमाबाबुले प्रेम, दया र अनुकम्पा जस्ता गुणहरू प्रदर्शित गरेको देखेमा बच्चाले यी गुणहरूबारे सिक्छन्‌। यदि हामी यहोवाको व्यवस्थाअनुसार आफ्ना बच्चालाई प्रशिक्षण दिन चाहन्छौं भने सर्वप्रथम परमेश्‍वरको आज्ञाहरूले हाम्रो हृदयलाई छोएको हुनुपर्छ। परमेश्‍वरको व्यवस्थाप्रति यस्तो हार्दिक कृतज्ञताले आमाबाबुलाई यहोवा अनि उहाँको वचनबारे आफ्ना छोराछोरीसित नियमित रूपमा कुरा गर्न उत्प्रेरित गर्नेछ। बाइबलले यस्तो अर्ती दिन्छ: “घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।” (व्यवस्था ६:६, ७) आफ्ना दुई जना बच्चाहरूसित फ्रान्सिस्को र रोसाले कसरी यो अर्ती लागू गरे भन्‍ने सन्दर्भमा तिनीहरू यसो भन्छन्‌। b

“दैनिक कुराकानीको अलावा हामी आफ्ना छोराछोरीसित हरेक दिन कम्तीमा पनि १५ मिनेट छुट्टाछुट्टै कुराकानी गर्ने प्रयास गर्छौं। कुनै समस्या भएको सुइँको पायौं भने हामी अझ धेरै समय बिताउँछौं अनि समस्याको समाधान गर्ने गर्छौं। उदाहरणका लागि, हालैको कुरा हो, हाम्रो पाँच वर्षीया छोराले एक दिन स्कूलबाट घर फर्केपछि यहोवाप्रति आफ्नो विश्‍वास नभएको कुरा बतायो। उसको एक जना सहपाठीले उसको खिसी गरेर परमेश्‍वर छैन भनेको रहेछ।”

आफ्ना छोराछोरीले सृष्टिकर्ताप्रति विश्‍वास खेती गर्नुपर्ने आवश्‍यकता यी आमाबाबुले महसुस गरे। तिनीहरूलाई मनपर्ने परमेश्‍वरको सृष्टिबाट यस्तो प्रकारको विश्‍वास खेती गर्न सकिन्छ। जनावरहरू छुन, जंगली फूलहरू टिप्न वा समुद्री किनारमा बालुवामा खेल्न बच्चाहरू असाध्यै मन गर्छन्‌! सृष्टि र सृष्टिकर्ताबीचको सम्बन्ध स्थापना गर्न आमाबाबुले तिनीहरूलाई मदत गर्न सक्छन्‌। (भजन १००:३; १०४:२४, २५) यहोवाको सृष्टिका लागि तिनीहरूले विकास गर्ने श्रद्धा र आदर तिनीहरूको जीवनकालभरि नै रहिरहन सक्छ। (भजन १११:२, १०) यी सब कुरालाई राम्ररी बुझ्नुको अलावा बच्चाले परमेश्‍वरलाई प्रसन्‍न पार्ने इच्छा र उहाँ अप्रसन्‍न हुनुहोला भन्‍ने भय विकास गर्न सक्छ। यसले तिनलाई “खराबबाट फर्कन’ उत्प्रेरित गर्नेछ।—हितोपदेश १६:६.

अधिकांश बच्चाहरू सिक्न छिटो र उत्सुक भए तापनि तिनीहरूमा आज्ञाकारिता भने सजिलै नआउन सक्छ। (भजन ५१:५) तिनीहरू कहिलेकाहीं आफ्नै कुरामा जिद्दी गर्ने वा आफूले चाहे जस्तै गर्नुपर्ने हुन सक्छन्‌। यस्ता आचरणहरूले जरा गाड्‌न नदिन आमाबाबुले दृढ र, धीरजी भई व्यवहार गर्नुका साथै अनुशासन दिनुपर्छ। (एफिसी ६:४) सफलतासाथ आफ्ना पाँच जना छोराछोरी हुर्काउने फिलिस र पलको पनि यस्तै अनुभव छ।

फिलिस सम्झिन्छिन्‌: “प्रत्येक बच्चाहरूको व्यक्‍तित्व फरक भए तापनि सबै आफूले भने जस्तै गर्न खोज्थे। अन्ततः तिनीहरूले ‘हुँदैन’ भनेपछि ‘हुँदैन’ भनेर राम्ररी बुझे। तिनका पति पलले यसो भने: “तिनीहरूको उमेर कुरा बुझ्न सक्ने भइसकेको छ भने हामी अक्सर तिनीहरूलाई हामीले गर्ने कुनै पनि निर्णयको कारण बताउँथ्यौं। हामी मायालु हुने सक्दो प्रयास त गर्थ्यौं तर हामीले तिनीहरूलाई परमेश्‍वरले हामीलाई दिनुभएको अख्तियारको आदर गर्न सिकायौं।”

बाल्यकालमा समस्या त आउँछ नै तर अधिकांश आमाबाबु किशोरावस्था नै ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्ने समय हो भनी मानिलिन्छन्‌। किनभने किशोरावस्थामै छोराछोरीको अपरिपक्व हृदयले धेरै नयाँ परीक्षाहरूको सामना गर्नुपर्ने हुन्छ।

किशोर-किशोरीको हृदयसम्म पुग्ने

माटो सुक्नु अघि नै कुमालेले माटोलाई आकार दिन थाल्नुपर्छ। आकार दिन बढी समय चाहिएमा तिनले माटोलाई गिलो र नरम बनाउन पानी हाल्न सक्छन्‌। त्यसरी नै आफ्ना किशोर-किशोरीहरूको हृदयलाई कठोर हुन नदिन आमाबाबुले कडा परिश्रम गर्नैपर्छ। निस्सन्देह, तिनीहरूको मुख्य औजार बाइबल हो जसबाट तिनीहरूले ‘अर्ती दिन, सच्याउन र आफ्ना छोराछोरीलाई सुकर्ममा सुसज्जित गर्न’ सक्छन्‌।—२ तिमोथी ३:१५-१७.

यद्यपि, बाल्यकालमा जस्तो किशोर-किशोरीले आमाबाबुको सल्लाह सजिलै नस्वीकार्न पनि सक्छन्‌। किशोर-किशोरीहरूले आफ्ना साथीभाइलाई बढी ध्यान दिन सक्ने भएकोले तिनीहरू आफ्ना आमाबाबुसित खुलस्त कुराकानी गर्न हिचकिचाउन सक्छन्‌। आमाबाबु र छोराछोरी दुवैको भूमिका नयाँ चरणमा प्रवेश गर्दा थप धैर्य र कौशलता चाहिन्छ। किशोर-किशोरीले शारीरिक अनि भावनात्मक परिवर्तनहरूसित आफूलाई छाँटकाँट गर्नुपर्ने हुन्छ। तिनले आफ्नो बाँकी जीवनलाई असर गर्न सक्ने निर्णय अनि लक्ष्यहरू निर्धारण गर्न सुरु गर्नुपर्ने हुन्छ। (२ तिमोथी २:२२) यस्तो चुनौतीपूर्ण समयको दौडान तिनले आफ्नो हृदयमा विनाशकारी प्रभाव पार्न सक्ने शक्‍तिसित सामना गर्नैपर्छ—त्यो हो साथीहरूको दबाब।

यस्तो दबाब अक्सर एकै पटक आउँदैन। बरु, अक्सर लगातार रूपमा तिनीहरूको मूल्यमान्यतालाई कमजोर बनाउने टिप्पणी र वातावरणको सृजनाद्वारा यस्तो दबाब आउने गर्छ। यस्ता टिप्पणी र वातावरणले अधिकांश जवान व्यक्‍तिहरूको कमजोरी अर्थात्‌ अरू जवानहरूले इन्कार गर्लान्‌ भन्‍ने बलियो भयमाथि आक्रमण गर्छ। अरूले के भन्लान्‌ भन्‍ने अचाक्ली चिन्तासित संघर्ष गर्नुपर्दा अनि अरूको अगाडि स्वीकार्य हुने चाहनाले गर्दा एक जना जवान व्यक्‍ति अन्य जवानहरूले उक्साएको भरमा ‘संसारमा भएका चीजहरूको’ पछि लाग्न सक्छन्‌।—१ यूहन्‍ना २:१५-१७; रोमी १२:२.

कामकुरालाई बिगार्ने अर्को कुरा, असिद्ध हृदयका स्वाभाविक चाहनाहरूले साथीहरूको प्रभावलाई अझ बलियो बनाउन सक्छ। “रमाइलो गर” अनि “आफूलाई जे मनलाग्छ त्यही गर” भन्‍ने सल्लाहहरू अत्यन्तै आकर्षक देखिन सक्छन्‌। मारिया आफ्नो अनुभव यसरी सुनाउँछिन्‌: “हामीलाई परिणामको केही मतलब हुँदैन, जवानहरूलाई पूरा रमाइलो गर्ने अधिकार छ भन्‍ने धारणा राख्ने सँगी किशोर-किशोरीहरूको कुरा म सुन्थें। म आफ्ना स्कूलका साथीहरू जस्तै गर्न चाहन्थें, एक चोटि त म झन्डै एउटा गम्भीर समस्यामा फसेको!” आमाबाबु भएको नाताले तपाईं आफ्ना जवान छोराछोरीलाई यस्ता दबाबहरूमाथि विजयी हुन मदत दिन चाहनुहुन्छ। तर कसरी तपाईं यो काम गर्न सक्नुहुन्छ?

तिनको ख्याल राख्छु भनेर पटक-पटक आफ्नो वचन र कार्यद्वारा तिनलाई विश्‍वस्त गराउनुहोस्‌। तिनले कुनै पनि कुराप्रति राख्ने दृष्टिकोण र तिनका समस्याहरू बुझ्ने कोसिस गर्नुहोस्‌ अनि तिनका समस्याहरू तपाईंले स्कूलमा छँदा सामना गर्नुभएका समस्याभन्दा धेरै जटिल हुन सक्छन्‌। विशेष गरी यो समयमा तपाईंको छोराछोरीले तपाईंलाई भरोसा गर्न सक्ने व्यक्‍तिको रूपमा हेर्नु खाँचो छ। (हितोपदेश २०:५) तिनी निराश वा अलमलमा परेका छन्‌ भने तिनको हाउभाउ अथवा मुड हेरेर तपाईंले थाह पाउन सक्नुहुन्छ। मुखले नबोले पनि तिनको मनभित्रको व्यथा बुझ्नुहोस्‌ र ‘तिनको हृदयलाई सान्त्वना दिनुहोस्‌।’—कलस्सी २:२.

निस्सन्देह, सही कुरामा अडान लिनु महत्त्वपूर्ण छ। अधिकांश आमाबाबुहरूको बेलाबेला आफ्ना छोराछोरीहरूसित विचारमा मतभेदहरू हुने गर्छन्‌ तर आफ्नो निर्णय अकाट्य भए तापनि आमाबाबुहरू त्यसमा अडान लिन सक्दैनन्‌। अर्कोतिर, मायालु अनुशासन दिने कि नदिने अनि दिनुपर्छ भने पनि कसरी दिने, सो निर्णय गर्नु अघि आफूले परिस्थितिलाई राम्ररी बुझेको छ कि छैन पक्का गर्नुहोस्‌।—हितोपदेश १८:१३.

मण्डली भित्रसमेत परीक्षाहरू आउन सक्छन्‌

माटोको भाँडो तयार भएको जस्तो देखिए तापनि यसलाई भट्टीमा नपोलेसम्म पानी राख्नको लागि बनाइएको यो भाँडोलाई पानीले नै बिगार्न सक्छ। बाइबलले परीक्षा तथा कठिनाइहरूलाई यस्तो पोल्ने प्रक्रियासित तुलना गर्छ किनभने हामी वास्तवमा कस्ता किसिमका व्यक्‍तिहरू हौं भनेर यसले प्रमाणित गर्छ। निस्सन्देह, बाइबलले विशेष गरी विश्‍वासको परीक्षाबारे बताउँछ तर सामान्यतया अन्य परीक्षाहरूमा पनि यो बुँदा लागू हुन्छ। (याकूब १:२-४) अचम्मको कुरा त, जवानहरूले सामना गर्ने केही कठिन परीक्षाहरू मण्डली भित्रबाटै आउन सक्छन्‌।

तपाईंका किशोर-किशोरीहरूको आध्यात्मिक स्वास्थ्य राम्रो जस्तो देखिए तापनि भित्र-भित्रै तिनी दोधारमा परेका हुन सक्छन्‌। (१ राजा १८:२१) उदाहरणका लागि, मिगनलाई राज्यभवनमा आउने अरू जवानहरूका सांसारिक विचारहरूले असर गऱ्‍यो:

“मसीही धर्मलाई पट्टाइलाग्दो अनि रमाइलो कुराको वाधक ठान्‍ने जवानहरूको एउटा समूहले मलाई असर गऱ्‍यो। तिनीहरू यसो भन्‍ने गर्थे: ‘१८ वर्ष त पुगौं म सच्चाइ छोड्‌नेछु’ अथवा ‘मलाई त कहिले सच्चाइ छोडुँ जस्तो लागिरहेको छ।’ तिनीहरूसित सहमत नहुने जवानहरूलाई खूब पवित्र भइखाको भन्दै तिनीहरू छिःछिः दूरदूर गर्थे।”

एउटा समूहमा बाँकी रहेकाहरूलाई भड्‌काउन एक वा दुई जना मात्र खराब आचरण भएका व्यक्‍ति भए पुग्छ। अक्सर बहुमतले जे गऱ्‍यो समूहका सबैले त्यसै गर्छन्‌। मूर्खता अनि बहादुरी देखाउनेले बुद्धि र शिष्टतालाई बेवास्ता गर्न सक्छ। धेरै देशहरूमा समूहले जसो जसो गऱ्‍यो, त्यसै त्यसै गरेको कारण मसीही जवानहरू दुःखदायी घटनाहरूमा फसेका छन्‌।

हो, किशोर-किशोरीहरूलाई केही मात्रामा रमाइलो सरसंगति चाहिन्छ। तपाईं आमाबाबुले यसको प्रबन्ध कसरी गर्न सक्नुहुन्छ? तिनीहरूको मनोरञ्जनमा गम्भीर ध्यान दिनुहोस्‌ अनि परिवारसित वा जवान र वयस्क सबैलाई समावेश गराउने खालको रमाइला गतिविधिहरूको योजना बनाउनुहोस्‌। आफ्ना छोराछोरीको साथीहरूसित चिनजान बढाउनुहोस्‌। तिनीहरूलाई खानाको लागि बोलाउनुहोस्‌ वा तिनीहरूसित कुनै साँझ बिताउनुहोस्‌। (रोमी १२:१३) आफ्ना छोराछोरीलाई स्वास्थ्यकर गतिविधिहरू जस्तै, कुनै बाजा बजाउन सिक्न वा अर्को भाषामा सिपालु हुन वा कुनै सीप सिक्न प्रोत्साहित गर्नुहोस्‌। धेरै हदसम्म तिनले यी कामहरू आफ्नै घरको सुरक्षित वातावरणमा गर्न सक्छन्‌।

स्कूलको पढाइले सुरक्षा दिन सक्छ

किशोर-किशोरीको स्कूलको पढाइले पनि मनोरञ्जनलाई उचित स्थानमा राख्न मदत दिन सक्छ। एउटा ठूलो स्कूलमा २० वर्षसम्म प्रशासकको हैसियतमा काम गरेकी लोली यसो भन्छिन्‌: “मैले धेरै जवान साक्षीहरूको स्कूले जीवन देखेकी छु। धेरै जना आफ्ना आचरणमा प्रशंसा योग्य थिए तर कोही-कोही अन्य विद्यार्थीहरूभन्दा खासै फरक थिएनन्‌। आफ्नो पढाइमा ध्यान दिनेहरू सधैंभरि राम्रो उदाहरण भए। म आमाबाबुहरूलाई आफ्ना छोराछोरीहरूको शैक्षिक उन्‍नतिमा सक्रिय चासो लिन, तिनीहरूका शिक्षकहरूलाई राम्ररी चिन्‍न, आफ्ना छोराछोरीहरूलाई पढाइमा ल्याइने राम्रो अकंले ठूलो महत्त्व राख्छ भन्‍ने कुरामा विश्‍वस्त गराउन कडा सल्लाह दिन्छु। कोही-कोही उत्कृष्ट हुनेछन्‌ तर सबैले नै राम्रो गर्न सक्छन्‌ र आफ्ना शिक्षकहरूको आदर जित्न सक्छन्‌।”

यस्तो प्रकारको स्कूलको पढाइले किशोर-किशोरीहरूलाई आध्यात्मिक तवरमा उन्‍नति गर्न पनि मदत दिन सक्छ। यसले तिनीहरूलाई अध्ययन गर्ने राम्रो बानी, आत्म-अनुशासन र जिम्मेवारीको भाव सिकाउन सक्छ। राम्ररी पढ्‌न सक्ने अनि विचारहरू बुझ्न सक्ने तिनीहरूको क्षमताले तिनीहरूलाई परमेश्‍वरको वचनको राम्रो विद्यार्थी तथा शिक्षक बन्‍न प्रोत्साहित गर्नेछ भन्‍ने कुरामा कुनै शंका छैन। (नहेम्याह ८:८) स्कूलका कामहरू अनि आध्यात्मिक कुराहरूको अध्ययन गर्नुपर्ने आवश्‍यकताले तिनीहरूलाई मनोरञ्जनलाई उचित स्थानमा राख्न मदत दिन सक्छ।

यहोवा अनि तपाईंको लागि गर्वको कारण

पुरातन युनानमा धेरैजसो भाँडाहरूमा कुमाले अनि कलाकार दुवैको हस्ताक्षर हुन्थ्यो। परिवारमा अक्सर छोराछोरीहरूलाई आकार दिने काम मुख्यतः दुई जनाले गर्छन्‌। आमा र बुबा दुवैले छोराछोरीको हृदयलाई आकार दिने काम गर्छन्‌ अनि लाक्षणिक रूपमा तपाईंका छोराछोरीमा तपाईंहरू दुवै जनाको “हस्ताक्षर” हुन्छन्‌। एक जना सफल कुमाले र/अथवा कलाकारले जस्तै मूल्यवान्‌ अनि सुन्दर जवान मानिसहरूलाई आकार दिने आफ्नो काममा तपाईंहरूले गर्व गर्न सक्नुहुन्छ।—हितोपदेश २३:२४, २५.

यस महान्‌ कार्यको सफलता धेरै हदसम्म तपाईंले आफ्ना छोराछोरीको हृदयलाई कसरी आकार दिनुभयो, त्यसमा निर्भर हुन्छ। आशा गरौं, तपाईंले यसो भन्‍न सक्नुहुनेछ: “तिनको हृदयमा तिनका परमेश्‍वरको व्यवस्था रहन्छ, तिनका पाइलाहरू कुनै पनि चिप्लनेछैनन्‌।” (भजन ३७:३१) छोराछोरीको हृदयको अवस्था धेरै महत्त्वपूर्ण भएकोले कुनै पनि हालतमा डोऱ्‍याइविना छोड्‌न सकिंदैन।

[फुटनोटहरू]

a केही आमाबाबुले आफ्ना नयाँ जन्मेका बच्चालाई बाइबल पढेर सुनाउँछन्‌। शान्त आवाज अनि यस्तो प्रकारको आनन्ददायी अनुभवले जीवनभरि नै त्यस बालकलाई पढ्‌न रमाइलो लाग्न सक्छ।

b केही नाउँहरू परिवर्तन गरिएका छन्‌।