सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ?

प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ?

प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ?

“जसले अयोग्यसाथ प्रभुको रोटी खान्छ, कि कचौराबाट पिउँछ भने, त्यो प्रभुका शरीर र रगतको दोषी हुनेछ।”—१ कोरिन्थी ११:२७.

१. सन्‌ २००३ को लागि योजना गरिएको सबैभन्दा महत्त्वपूर्ण अवसर कुन हो र यसको सुरुवात कसरी भयो?

 सन्‌ २००३ को लागि योजना गरिएको यस वर्षको सबैभन्दा महत्त्वपूर्ण अवसर अप्रिल १६ मा सूर्यास्तपछि हुनेछ। त्यसबेला यहोवाका साक्षीहरू येशू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला हुनेछन्‌। अघिल्लो लेखले देखाएअनुसार, येशू र उहाँका प्रेरितहरूले सा.यु. ३३, नीसान १४ मा निस्तार चाड मनाइसकेपछि, येशूले प्रभुको साँझको भोज पनि भनिने यस उत्सवको स्थापना गर्नुभयो। स्मरणार्थ उत्सवका प्रतीकहरू, अखमिरे रोटी तथा रातो दाखमद्यले ख्रीष्टको पापरहित शरीर र उहाँले बगाउनुभएको रगतलाई संकेत गर्छ अर्थात्‌ मानिसजातिलाई वंशानुगत पाप तथा मृत्युबाट छुटकारा दिन सक्ने यही बलिदान मात्र हो।—रोमी ५:१२; ६:२३.

२. पहिलो कोरिन्थी ११:२७ मा कस्तो चेतावनी लिपिबद्ध छ?

स्मरणार्थ उत्सवका प्रतीकहरू खानेहरूले उचित ढंगमा खानुपर्छ। प्राचीन कोरिन्थका मसीहीहरूलाई लेख्दा पावलले यो कुरा स्पष्ट पारे किनकि तिनीहरूले प्रभुको साँझको भोज ठीकसँग मनाइरहेका थिएनन्‌। (१ कोरिन्थी ११:२०-२२) पावलले लेखे: “जसले अयोग्यसाथ प्रभुको रोटी खान्छ, कि कचौराबाट पिउँछ भने, त्यो प्रभुका शरीर र रगतको दोषी हुनेछ।” (१ कोरिन्थी ११:२७) यी शब्दहरूको अर्थ के हो?

कसै-कसैले अयोग्यसाथ मनाए

३. कोरिन्थका थुप्रै मसीहीहरूले प्रभुको साँझको भोजमा कस्तो व्यवहार गरिरहेका थिए?

कोरिन्थका थुप्रै मसीहीहरूले स्मरणार्थ उत्सवमा अयोग्यसाथ खाए। तिनीहरूबीच फूट थियो र कहिलेकाहीं त कसै-कसैले बेलुकीको खाना सभास्थलमै ल्याएर सभाअघि वा सभाको दौडान खान्थे अनि तिनीहरू अक्सर अत्यधिक मात्रामा खानपीन गर्थे। तिनीहरू मानसिक तथा आध्यात्मिक तवरमा सजग थिएनन्‌। यसले तिनीहरूलाई “प्रभुका शरीर र रगतको दोषी” बनायो। बेलुकीको खाना नहुनेहरू भोकाउँथे र तिनीहरूको ध्यान अलमलिन्थ्यो। हो, धेरै जना यो अवसरको गम्भीरताबारे राम्ररी नबुझी र यसप्रति आदर नदेखाई सहभागी भए। तिनीहरूले आफूमाथि दण्डको आज्ञा ल्याउनु कुनै नौलो कुरा थिएन!—१ कोरिन्थी ११:२७-३४.

४, ५. स्मरणार्थ उत्सवका प्रतीकहरू खाँदै आएकाहरूले आत्म-परीक्षण गर्नु किन अत्यावश्‍यक छ?

हरेक वर्ष स्मरणार्थ उत्सव नजिकिंदै जाँदा, प्रतीक खाँदै आएकाहरूले आत्म-परीक्षण गर्नु अत्यावश्‍यक छ। यस सहभोजमा ठीकसँग भाग लिन तिनीहरू स्वस्थ आध्यात्मिक अवस्थामा हुनुपर्छ। येशूको बलिदानप्रति अनादार देखाउने वा हेला गर्ने व्यक्‍ति, इस्राएलीहरूको समयमा अशुद्ध अवस्थामा मेलबलिको मासु खाने व्यक्‍तिजस्तै ‘परमेश्‍वरका जनहरूको समाजबाट बहिष्कार’ हुन सक्छ।—लेवी ७:२०; हिब्रू १०:२८-३१.

पावलले स्मरणार्थ उत्सवलाई प्राचीन इस्राएलको सामूहिक भोजसँग तुलना गरे। ख्रीष्टसँगै खानेहरूबारे बताइसकेपछि तिनले यसो भने: “तिमीहरूले प्रभुको कचौरा र भूत-प्रेतहरूको कचौरा दुवैबाट पिउनसक्‍तैनौ। तिमीहरूले प्रभुको टेबल र भूत-प्रेतहरूको टेबल दुवैबाट खानसक्‍तैनौं।” (१ कोरिन्थी १०:१६-२१) सधैंजसो स्मरणार्थ उत्सवका प्रतीकहरू खाने व्यक्‍तिले गम्भीर पाप गरे भने, तिनले यहोवासामु आफ्नो पाप स्वीकार्नुका साथै मण्डलीका धर्मगुरुहरूबाट आध्यात्मिक मदत माग्नुपर्छ। (हितोपदेश २८:१३; याकूब ५:१३-१६) तिनले साँच्चै पश्‍चात्ताप गरेर त्यसैअनुसार फल फलाउँछन्‌ भने, तिनले अयोग्यसाथ खाइरहेका हुनेछैनन्‌।—लूका ३:८.

आदर देखाउने दर्शकहरूको रूपमा उपस्थित हुने

६. प्रभुको साँझको भोजमा खाने सुअवसर परमेश्‍वरले कसको लागि छुट्याएर राख्नुभएको छ?

अहिले ख्रीष्टका १,४४,००० शेष भाइहरूप्रति भलाइ गरिरहेकाहरूले के प्रभुको साँझको भोजमा खानुपर्छ? (मत्ती २५:३१-४०; प्रकाश १४:१) अहँ, पर्दैन। यो सुअवसर परमेश्‍वरले “ख्रीष्टसँग साझे-हकवाला” हुन पवित्र आत्माद्वारा अभिषिक्‍त गरिएका व्यक्‍तिविशेषको लागि छुट्याएर राख्नुभएको छ। (रोमी ८:१४-१८; १ यूहन्‍ना २:२०) त्यसोभए, परमेश्‍वरको राज्य शासनअन्तर्गत विश्‍वव्यापी प्रमोदवनमा सधैंभरि बाँच्ने आशा भएकाहरूको स्थान के हो त? (लूका २३:४३; प्रकाश २१:३, ४) तिनीहरूसित ख्रीष्टसँग साझे-हकवाला हुने स्वर्गीय आशा नभएकोले, तिनीहरू स्मरणार्थ उत्सवमा आदर देखाउने दर्शकहरूको रूपमा उपस्थित हुन्छन्‌।—रोमी ६:३-५.

७. प्रथम शताब्दीका मसीहीहरूले आफूले स्मरणार्थ उत्सवको प्रतीक खानुपर्छ भनेर थाह पाउन सक्नुको कारण के थियो?

प्रथम शताब्दीका साँचो मसीहीहरू पवित्र आत्माद्वारा अभिषिक्‍त भएका थिए। तिनीहरूमध्ये थुप्रैले विभिन्‍न भाषाहरूमा बोल्नेजस्ता आत्माका एक वा सोभन्दा बढी चमत्कारपूर्ण वरदानहरू प्रयोग गर्न सके। त्यसकारण, यस्ता व्यक्‍तिहरूलाई आफू आत्मा-अभिषिक्‍त व्यक्‍ति हो र आफूले स्मरणार्थ उत्सवका प्रतीकहरू खानुपर्छ भनी थाह पाउन गाह्रो थिएन। यद्यपि, हाम्रो समयमा भने यस्ता प्रेरित वचनहरूको आधारमा यो कुरा निर्धारण गर्न सकिन्छ: “जति जनालाई परमेश्‍वरका आत्माले डोऱ्‍याएका हुन्छन्‌ तिनीहरूनै परमेश्‍वरका छोराहरू हुन्‌। किनभने फेरि भयभीत हुनालाई बन्धनको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं।”—रोमी ८:१४, १५.

८. मत्ती अध्याय १३ मा उल्लिखित “गहुँ” र “सामा[ले]” कसलाई प्रतिनिधित्व गर्छ?

शताब्दीयौंको दौडान, साँचो अभिषिक्‍त जनहरू “सामा” अर्थात्‌ झूटा मसीहीहरूबीच “गहुँ” हुर्किएझैं बढे। (मत्ती १३:२४-३०, ३६-४३) सन्‌ १८७० को दशकदेखि “गहुँ” प्रस्टै छुट्टिन थाल्यो। त्यसकारण, यसको केही वर्षपछि अभिषिक्‍त मसीही निरीक्षकहरूलाई यसो भनिएको थियो: “[स्मरणार्थ उत्सवको लागि] भेला भएकाहरूले निम्न शर्तहरू पालना गरेका छन्‌ कि छैनन्‌ भनी प्राचीनहरूले पक्का गर्नुपर्छ—(१) [ख्रीष्टको] रगतमा विश्‍वास; र (२) आफूलाई मृत्युसम्मै प्रभु र उहाँको सेवामा अर्पण गरेको हुनुपर्छ। तिनीहरूले यस्तो मनोभाव भएका व्यक्‍तिहरू सबैलाई निमन्त्रणा दिनुपर्छ र प्रभुको मृत्युको उत्सवमा सहभागी गराउनुपर्छ।”— स्टडिज इन द स्क्रिप्चर्स, खण्ड ४, द न्यु क्रिएशन, पृष्ठ ४७३. a

“अरू भेडा” खोज्ने

९. सन्‌ १९३५ मा “ठूलो भीड[को]” चिनारी कसरी स्पष्ट पारियो र स्मरणार्थ उत्सवका प्रतीकहरू खाँदै आएका कोही-कोहीलाई यसले कसरी असर गऱ्‍यो?

समयमा, यहोवाको संगठनले ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूबाहेक अरूलाई पनि ध्यान दिन थाल्यो। यस सन्दर्भमा सन्‌ १९३० को दशकको बीचतिर उल्लेखनीय प्रगति हुन थाल्यो। यसभन्दा अघि परमेश्‍वरका जनहरूले प्रकाश ७:९ को “ठूलो भीड” ख्रीष्टकी दुलहीका सँगीनी वा सहेलीहरू जस्तै हुन्‌ र तिनीहरू पुनरुत्थान गरिएका १,४४,००० जनहरूसँगै स्वर्ग जाने दोस्रो दर्जाको आत्मिक वर्ग हुन्‌ भन्ठान्थे। (भजन ४५:१४, १५; प्रकाश ७:४; २१:२, ९) तर मे ३१, १९३५ मा, संयुक्‍त राज्य अमेरिकाको वाशिंगटन डि.सि.-मा भएको यहोवाका साक्षीहरूको एउटा अधिवेशनमा “ठूलो भीड[ले]” अन्तको समयमा बाँचिरहेका “अरू भेडा[लाई]” संकेत गर्छ भनी धर्मशास्त्रबाट स्पष्ट पारियो। (यूहन्‍ना १०:१६) यस अधिवेशनपछि कोही-कोहीले स्मरणार्थ उत्सवका प्रतीकहरू खान छोडे किनकि तिनीहरूले आफ्नो आशा स्वर्गीय नभई पार्थिव हो भन्‍ने कुरा बुझे।

१०. आधुनिक समयका “अरू भेडा[को]” आशा तथा जिम्मेवारीहरू तपाईं कसरी वर्णन गर्नुहुन्छ?

१० विशेष गरी सन्‌ १९३५ देखि “अरू भेडा” मध्येको हुने, छुडौतीमा विश्‍वास राख्ने, आफूलाई परमेश्‍वरप्रति समर्पित गर्ने र अभिषिक्‍त “सानो बगाल[लाई]” राज्य प्रचारको क्रियाकलापमा सहयोग गर्नेहरूको खोजी हुँदैछ। (लूका १२:३२) यी अरू भेडा सधैंभरि पृथ्वीमा बाँच्ने आशा राख्छन्‌ तर अरू तरिकाहरूमा भने तिनीहरू र राज्यका वर्तमान शेष उत्तराधिकारीहरूबीच खासै भिन्‍नता छैन। यहोवाको उपासना गर्ने र व्यवस्थाको अधीनमा बस्ने प्राचीन इस्राएलका विदेशीहरू जस्तै आजका अरू भेडाले पनि आध्यात्मिक इस्राएलका सदस्यहरूसित मिलेर सुसमाचार प्रचार गर्नेजस्ता मसीही जिम्मेवारीहरू सम्हाल्छन्‌। (गलाती ६:१६) तथापि, कुनै पनि विदेशी इस्राएलको राजा वा पूजाहारी बन्‍न नपाएजस्तै अरू भेडामध्येका कसैले पनि स्वर्गीय राज्यमा शासन गर्न वा पूजाहारीको रूपमा सेवा गर्न सक्दैनन्‌।—व्यवस्था १७:१५.

११. कुनै व्यक्‍तिको समर्पण मिति किन तिनको आशासित सम्बन्धित हुन सक्छ?

११ स्वर्गीय वर्ग छान्‍ने काम प्रायजसो पूरा भइसक्यो भन्‍ने कुरा सन्‌ १९३० दशकसम्ममा बिस्तारै प्रस्ट हुँदै थियो। अहिले पार्थिव आशा भएका अरू भेडा खोज्न थालेको दशकौं भइसक्यो। अभिषिक्‍त जनमध्ये कोही अविश्‍वासी भएको खण्डमा १,४४,००० संख्या पूरा गर्न तिनको सट्टा सम्भवतः लामो समयदेखि विश्‍वासीपूर्वक यहोवाको सेवा गर्दै आएको, अरू भेडामध्येकै कसैलाई छानिन्छ।

कसै-कसैले किन गलत अनुमान लगाउँछन्‌

१२. कुनै व्यक्‍तिले कस्तो परिस्थितिमा स्मरणार्थ उत्सवका प्रतीकहरू खान बन्द गर्नुपर्छ र किन?

१२ अभिषिक्‍त मसीहीहरू आफूलाई स्वर्गीय बोलावट भएको छ भन्‍ने कुरामा एकदमै पक्का हुन्छन्‌। तर यस्तो बोलावट नभएकाहरू कसै-कसैले स्मरणार्थ उत्सवका प्रतीकहरू खाइरहेका छन्‌ भने नि? आफ्नो आशा स्वर्गीय होइन भन्‍ने कुराप्रति सचेत हुँदै अबदेखि तिनीहरूको अन्तस्करणले पक्कै पनि यो खानदेखि रोक्नेछ। आफूलाई स्वर्गीय राजा र पूजाहारी हुने बोलावट छैन भन्‍ने थाह हुँदा-हुँदै पनि आफूलाई उक्‍त बोलावट भएकोजस्तो देखाउने मानिसहरूलाई परमेश्‍वरले कृपाको नजरले हेर्नुहुने छैन। (रोमी ९:१६; प्रकाश २०:६) अहंकारी हुँदै हारूनको पूजाहारी पद खोजेको कारण यहोवाले लेवी कोरहमाथि विनाश ल्याउनुभयो। (प्रस्थान २८:१; गन्ती १६:४-११, ३१-३५) कोही मसीहीले आफूले अयोग्यतासाथ स्मरणार्थ उत्सवका प्रतीकहरू खाँदैछु भन्‍ने महसुस गरेमा तिनले प्रतीकहरू खान छोड्‌नुपर्छ र क्षमाको लागि विनम्रतासाथ यहोवासँग प्रार्थना गर्नुपर्छ।—भजन १९:१३.

१३, १४. कसै-कसैले किन आफूलाई स्वर्गीय बोलावट भएको गलत अनुमान लगाउन सक्छन्‌?

१३ कसै-कसैले किन आफूलाई स्वर्गीय बोलावट भएको गलत अनुमान लगाउन सक्छन्‌? आफ्नो विवाहित जोडीको मृत्यु वा अरू कुनै दुःखदायी घटनाको कारण पृथ्वीमा बाँच्ने तिनीहरूको इच्छा नै मर्न सक्छ। वा तिनीहरूमा अभिषिक्‍त मसीही भएको दाबी गर्ने आफ्नो घनिष्ठ साथीको जस्तै स्वर्गीय जीवन पाउने इच्छा जाग्न सक्छ। निस्सन्देह, अरूलाई यस सुअवसर प्राप्त गर्ने प्रोत्साहन दिने जिम्मेवारी परमेश्‍वरले कसैलाई पनि दिनुभएको छैन। अनि उहाँले राज्य उत्तराधिकारीहरू छान्‍नुहुँदा तिनीहरूलाई सन्देश दिन कुनै आवाज पनि दिनुहुन्‍न।

१४ सबै असल व्यक्‍तिहरू स्वर्ग जान्छन्‌ भन्‍ने झूटा धार्मिक विचारधाराको कारण पनि कसै-कसैले आफूलाई स्वर्गीय बोलावट भएजस्तो ठान्‍न सक्छन्‌। त्यसकारण, हामी विगतका गलत दृष्टिकोण वा अन्य कुराहरूको प्रभावमा पर्नदेखि होसियार हुनुपर्छ। उदाहरणका लागि, कसैले आफूलाई यस्तो सोध्न सक्छन्‌: ‘के मैले सेवन गरिरहेको औषधीले मेरा भावनाहरूलाई असर गरिरहेको छ? के म कुनै कुराको गलत अर्थ लगाउने झुकाव भएको भावुक व्यक्‍ति हुँ?’

१५, १६. कोही-कोही आफू अभिषिक्‍त जन हो भन्‍ने गलत निष्कर्षमा किन पुग्न सक्छन्‌?

१५ अरूले भने आफूलाई यस्तो सोध्न सक्छन्‌: ‘के म अरूभन्दा श्रेष्ठ हुन चाहन्छु? के म अहिले वा भविष्यमा ख्रीष्टको साझे-हकवालाको रूपमा अख्तियार पाउन आतुर छु?’ प्रथम शताब्दीमा राज्य उत्तराधिकारी हुने बोलावट पाएकाहरूमध्ये सबैले मण्डलीमा गहन जिम्मेवारीहरू पाएका थिएनन्‌। स्वर्गीय बोलावट पाएकाहरू अरूभन्दा श्रेष्ठ हुन खोज्दैनन्‌ न त अभिषिक्‍त भएकोमा घमण्ड नै गर्छन्‌। तिनीहरू “ख्रीष्टको मन” भएकाहरूबाट आशा गरिने विनम्रता देखाउँछन्‌।—१ कोरिन्थी २:१६.

१६ कोही-कोही भने आफूमा बाइबलसम्बन्धी निकै ज्ञान हुनु नै आफूलाई स्वर्गीय बोलावट भएको चिह्न हो भन्‍ने निष्कर्षमा पुगेका हुन सक्छन्‌। तर आत्मा-अभिषिक्‍त हुँदैमा असामान्य समझ प्राप्त हुँदैन किनभने पावलले कोही-कोही अभिषिक्‍त जनहरूलाई निर्देशन र सल्लाह दिनुपरेको थियो। (१ कोरिन्थी ३:१-३; हिब्रू ५:११-१४) परमेश्‍वरले आफ्ना सबै जनहरूको लागि आध्यात्मिक खाना उपलब्ध गराउने प्रबन्ध मिलाउनुभएको छ। (मत्ती २४:४५-४७) त्यसकारण कसैले पनि अभिषिक्‍त जन भएको कारण आफूमा पार्थिव आशा भएकाहरूको भन्दा श्रेष्ठ बुद्धि हुन्छ भन्‍ने सोच्नु हुँदैन। धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ दिन, साक्षी दिन वा बाइबल भाषणहरू दिन पोख्त हुनु आत्मा-अभिषिक्‍त भएको चिह्न होइन। यस सन्दर्भमा पार्थिव आशा भएका मसीहीहरू पनि सिपालु हुन्छन्‌।

१७. आत्मा-अभिषिक्‍त हुने काम कुन कुरा र कसमाथि भर पर्छ?

१७ एक जना सँगी विश्‍वासीले स्वर्गीय बोलावटबारे प्रश्‍न सोधेमा प्राचीन वा अरू परिपक्व मसीहीले तिनीसँग यसबारे छलफल गर्न सक्छन्‌। तथापि, यस सन्दर्भमा कसैले पनि अरूको लागि निर्णय गरिदिन सक्दैन। कसैले साँच्चै स्वर्गीय बोलावट पाएको छ भने, तिनले आफ्नो उक्‍त आशाबारे अरूलाई सोधिरहनु आवश्‍यक छैन। अभिषिक्‍त जनहरू “परमेश्‍वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन, तर अविनाशी, वीर्यबाट, फेरि जन्मिएका” हुन्छन्‌। (१ पत्रुस १:२३) आत्मा र वचनद्वारा परमेश्‍वरले बीउ रोप्नुहुन्छ र यसले व्यक्‍तिविशेषलाई स्वर्गीय आशासहितको “नयाँ सृष्टि” बनाउँछ। (२ कोरिन्थी ५:१७) अनि रोज्ने काम यहोवाले नै गर्नुहुन्छ। अभिषेक गर्ने काम “नता इच्छा गर्नेको, न काम चलाउनेको, तर कृपा देखाउने परमेश्‍वरको हो।” (रोमी ९:१६) त्यसोभए आफूलाई स्वर्गीय बोलावट छ भनी कुनै व्यक्‍ति कसरी पक्का हुन सक्छ त?

तिनीहरू किन पक्का छन्‌

१८. परमेश्‍वरको आत्माले कसरी अभिषिक्‍त जनको आत्मासँग गवाही दिन्छ?

१८ परमेश्‍वरको आत्माको साक्षीद्वारा अभिषिक्‍त मसीहीहरू आफ्नो आशा स्वर्गीय हो भन्‍ने कुरामा पक्का हुन्छन्‌। पावलले लेखे: “तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्‍वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्‍वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।” (रोमी ८:१५-१७) पवित्र आत्माले अभिषिक्‍त जनको आत्मा वा मनोभावमा प्रभाव पार्छ र तिनीहरू यहोवाका आध्यात्मिक छोराछोरीबारे धर्मशास्त्रमा बताइएअनुसारै काम गर्न उत्प्रेरित हुन्छन्‌। (१ यूहन्‍ना ३:२) परमेश्‍वरको आत्माले तिनीहरूलाई आफू परमेश्‍वरको पुत्र भएको कुरा थाह दिन्छ र तिनीहरूमा अद्‌भुत प्रत्याशा उत्पन्‍न गराउँछ। (गलाती ४:६, ७) हो, आफ्ना परिवारका सदस्य र साथीभाइहरूको माझ रहेर सिद्ध मानवको रूपमा यसै पृथ्वीमा अनन्त जीवन पाउनु असाध्यै मनमोहक हुनेछ तर परमेश्‍वरले तिनीहरूलाई यो आशा दिनुभएको छैन। परमेश्‍वरले आफ्नो आत्माद्वारा तिनीहरूमा यति प्रबल स्वर्गीय आशा उत्पन्‍न गराइदिनुभएको छ कि तिनीहरू सबै प्रकारका पार्थिव सम्बन्ध र प्रत्याशाहरू त्याग्न तयार हुन्छन्‌।—२ कोरिन्थी ५:१-५, ८; २ पत्रुस १:१३, १४.

१९. अभिषिक्‍त जनको जीवनमा नयाँ करारले कस्तो भूमिका निर्वाह गर्छ?

१९ अभिषिक्‍त मसीहीहरू नयाँ करारमा सहभागी हुने आफ्नो स्वर्गीय आशाबारे पक्का छन्‌। स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा येशूले यस सन्दर्भमा उल्लेख गर्दै यसो भन्‍नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।” (लूका २२:२०) नयाँ करार, परमेश्‍वर र अभिषिक्‍त जनहरूबीच बाँधिएको करार हो। (यर्मिया ३१:३१-३४; हिब्रू १२:२२-२४) येशू मध्यस्थकर्ता हुनुहुन्छ। ख्रीष्टले बगाउनुभएको रगतद्वारा क्रियाशील भएको यस नयाँ करारमा यहूदीहरू मात्र होइनन्‌ तर यहोवाको नाउँको निम्ति अन्यजातिहरूबाट लिएर अब्राहामको “वंश” बनाइएका जाति पनि समावेश छन्‌। (गलाती ३:२६-२९; प्रेरित १५:१४) यस “अनन्त करार[को]” कारण सबै आध्यात्मिक इस्राएलीहरूले पुनरुत्थानद्वारा स्वर्गमा अविनाशी जीवन पाउन सक्छन्‌।—हिब्रू १३:२०.

२०. अभिषिक्‍त जनहरू ख्रीष्टसित कुन करारमा बाँधिएका छन्‌?

२० अभिषिक्‍त जनहरू आफ्नो आशाबारे पक्का छन्‌। तिनीहरूसँग अर्को करार अर्थात्‌ राज्यको करार पनि बाँधिएको छ। तिनीहरूले ख्रीष्टसँगै भाग पाउने कुराबारे येशूले यसो भन्‍नुभयो: “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।” (लूका २२:२८-३०) ख्रीष्ट र उहाँका सहशासकहरूबीच बाँधिएको यो करार सधैंभरि क्रियाशील रहन्छ।—प्रकाश २२:५.

स्मरणार्थ उत्सवको समय—इनामदायी समय

२१. हामी कसरी स्मरणार्थ उत्सवको समयताका अझ बढी लाभ उठाउन सक्छौं?

२१ स्मरणार्थ उत्सवको समयका थुप्रै इनामहरू छन्‌। हामी यस समयको दौडान गरिने बाइबल अध्ययन तालिकाबाट लाभ उठाउन सक्छौं। विशेष गरी यो समय प्रार्थना गर्न, येशूको पार्थिव जीवन तथा मृत्युबारे मनन गर्न र राज्य-प्रचारकार्यमा भाग लिनको लागि उपयुक्‍त समय हो। (भजन ७७:१२; फिलिप्पी ४:६, ७) यस उत्सवले हामीलाई येशूको छुडौतीको बलिदानद्वारा परमेश्‍वर र ख्रीष्टले हामीप्रति देखाउनुभएको प्रेमको सम्झना दिलाउँछ। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) यस प्रबन्धले हामीलाई आशा र सान्त्वना दिन्छ अनि ख्रीष्टको जस्तो मार्ग पछ्याउने हाम्रो कटिबद्धतालाई अझ बलियो बनाउनुपर्छ। (प्रस्थान ३४:६; हिब्रू १२:३) स्मरणार्थ उत्सवले हामीलाई परमेश्‍वरको सेवकको हैसियतमा आफ्नो समर्पण पूरा गर्न र उहाँको प्रिय पुत्रको वफादार अनुयायी हुन बलियो पनि बनाउनुपर्छ।

२२. मानिसजातिको लागि परमेश्‍वरको सबैभन्दा ठूलो वरदान के हो र यसको लागि मूल्यांकन देखाउने एउटा तरिका के हो?

२२ यहोवाले हामीलाई कत्ति धेरै असल वरदानहरू दिनुहुन्छ! (याकूब १:१७) हामीसँग उहाँको वचनको डोऱ्‍याइ, उहाँको आत्माको मदत र अनन्त जीवनको आशा छ। परमेश्‍वरको सबैभन्दा ठूलो वरदान भनेकै अभिषिक्‍त जनहरूका साथै विश्‍वास गर्नेहरू सबैको पापका लागि येशूको बलिदानको प्रबन्ध गर्नु हो। (१ यूहन्‍ना २:१, २) यसकारण येशूको मृत्युले तपाईंको लागि कत्ति ठूलो अर्थ राख्छ? अप्रिल १६, २००३ को सूर्यास्तपश्‍चात्‌ प्रभुको साँझको भोज मनाउन भेला भएर यसप्रति कृतज्ञता देखाउनेहरूमाझ के तपाईं पनि हुनुहुनेछ?

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• स्मरणार्थ उत्सवका प्रतीकहरू कसले मात्र खानुपर्छ?

• “अरू भेडा” प्रभुको साँझको भोजमा किन आदर देखाउने दर्शकहरूको रूपमा मात्र उपस्थित हुन्छन्‌?

• ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा आफूले रोटी र दाखमद्य खानुपर्छ भनी अभिषिक्‍त मसीहीहरूले कसरी थाह पाउँछन्‌?

• स्मरणार्थ उत्सवको समय कुन कामको लागि उपयुक्‍त समय हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको ग्राफ/चित्रहरू]

स्मरणार्थ उपस्थिति

लाखमा

१,५५,९७,७४६

१५

१४

१,३१,४७,२०१

१३

१२

११

१०

 ९

 ८

 ७

 ६

 ५

४९,२५,६४३

 ४

 ३

 २

 १

८,७८,३०३

६३,१४६

१९३५ १९५५ १९७५ १९९५ २००२

[पृष्ठ १८-मा भएको चित्र]

के तपाईं यो वर्ष प्रभुको साँझको भोजमा उपस्थित हुनुहुनेछ?

[पृष्ठ २१-मा भएका चित्रहरू]

स्मरणार्थ उत्सवताकाको समय बाइबल पढाइ तथा राज्य-प्रचारकार्यमा अझ बढी भाग लिने उपयुक्‍त समय हो