सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रभुको साँझको भोज किन मनाउने?

प्रभुको साँझको भोज किन मनाउने?

प्रभुको साँझको भोज किन मनाउने?

“मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ।”—१ कोरिन्थी ११:२३.

१, २. सा.यु. ३३, निस्तार चाडको रातमा येशूले के गर्नुभयो?

 यहोवाको एक मात्र पुत्र उपस्थित हुनुहुन्थ्यो। ‘उहाँको परीक्षामा उहाँसितै रहेका’ ११ जना मानिस पनि त्यहाँ थिए। (लूका २२:२८) यो सा.यु. ३३, मार्च ३१, बिहीबारको साँझ थियो र सम्भवतः यरूशलेमको आकाशमा पूर्णिमाको जून चम्किरहेको थियो। येशू ख्रीष्ट र उहाँका प्रेरितहरूले भर्खर मात्रै निस्तार चाड मनाउन सिध्याएका थिए। धोकेबाज यहूदा इस्करयोतीलाई बाहिर पठाइसकिएको थियो तर अरूहरूको लागि भने त्यो ठाउँ छोड्‌ने समय भएको थिएन। किन? किनभने येशूले एकदमै महत्त्वपूर्ण कुरा गर्नै लाग्नुभएको थियो। त्यो के थियो?

सुसमाचारको पुस्तकका लेखक मत्ती त्यहाँ उपस्थित भएको हुनाले घटना विवरण तिनीबाटै सुनौं। तिनले यस्तो लेखे: “येशूले रोटी लिएर आशीर्वाद गरी भाँच्नुभयो, र चेलाहरूलाई दिएर भन्‍नुभयो, ‘लेओ, खाओ, यो मेरो शरीर हो।’ तब कचौरा पनि लिएर धन्यवाद गरी उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्‍चितको लागि, बहाइन्छ।’ ” (मत्ती २६:२६-२८) के यो एक पटक मात्र मनाइने थियो? यसको कस्तो महत्त्व थियो? के यसले हाम्रो लागि अहिले कुनै अर्थ राख्छ?

“यो अक्सर गर्नेगर”

३. येशूले सा.यु. ३३, नीसान १४ को रात गर्नुभएको कुरा किन महत्त्वपूर्ण थियो?

सा.यु. ३३, नीसान १४ को रातमा येशूले जे गर्नुभयो सो उहाँको जीवनमा संयोगवश भएको घटना थिएन। प्रेरित पावलले कोरिन्थका अभिषिक्‍त मसीहीहरूलाई लेख्दा तिनले यसबारे छलफल गरे अनि येशूले यो चाड स्थापना गर्नुभएको २० वर्षभन्दा पछिसम्म पनि तिनीहरूले यो नमुना पछ्याइरहेका थिए। पावल सा.यु. ३३ मा येशू र ११ जना प्रेरितहरूसँगै नभए तापनि त्यतिबेला के भएको थियो भन्‍ने कुरा तिनले अरू प्रेरितहरूबाट पक्कै थाह पाएका थिए। साथै, पावलले यस घटनाको दौडान भएका कुराहरूबारे प्रेरित प्रकटीकरणद्वारा पुष्टि पाइसकेका थिए। पावलले भने: “मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ, अर्थात्‌, जुन रात उहाँ पक्राउ पर्नुभयो त्यस रात प्रभु येशूले रोटी लिनुभयो, औ धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्‍नुभयो, ‘यो तिमीहरूका निम्ति मेरो शरीर हो। यो मेरो सम्झनाको निम्ति गर।’ त्यसैगरी खाइसक्नुभएपछि कचौरा लिएर यसो भन्‍नुभयो, ‘यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्नेगर।’ ”—१ कोरिन्थी ११:२३-२५.

४. मसीहीहरूले प्रभुको साँझको भोज किन मनाउनुपर्छ?

येशूले दिनुभएको निम्न आज्ञालाई सुसमाचारका लेखक लूकाले पनि पुष्टि गर्छन्‌: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) यी शब्दहरूलाई यसरी पनि अनुवाद गरिएको छ: “मेरो संस्मरणमा यो गर” (टुडेज्‌ इंग्लिश भर्सन) र “मेरो स्मरणार्थको रूपमा यो गर।” (द जेरूशलेम बाइबल) वास्तवमा, यस उत्सवलाई अक्सर ख्रीष्टको मृत्युको स्मरणार्थ भनिन्छ। पावलले यसलाई प्रभुको साँझको भोज भनेका छन्‌ र यसो भन्‍नु उपयुक्‍त छ किनभने यो उत्सव राति स्थापना गरिएको थियो। (१ कोरिन्थी ११:२०, NW) मसीहीहरूलाई प्रभुको साँझको भोज मनाउने आज्ञा दिइएको छ। तर यस उत्सवको स्थापना किन गरियो?

यसको स्थापना किन गरियो

५, ६. (क) येशूले स्मरणार्थ उत्सव स्थापना गर्नुको एउटा कारण के थियो? (ख) प्रभुको साँझको भोज स्थापना गरिनुको अर्को कारण बताउनुहोस्‌।

स्मरणार्थ उत्सव स्थापना गर्नुको एउटा कारण येशूको मृत्युले पूरा गरेको उद्देश्‍यसित सम्बन्धित छ। उहाँ स्वर्गमा बस्नुहुने आफ्नो पिताको सार्वभौमिकतालाई उच्च पार्ने व्यक्‍तिको रूपमा मर्नुभयो। यसरी मानिसहरूले आफ्नो स्वार्थको लागि मात्रै परमेश्‍वरको सेवा गर्छन्‌ भनी दाबी गर्ने शैतान अर्थात्‌ दियाबललाई उहाँले झूटा साबित गर्नुभयो। (अय्यूब २:१-५) मृत्युसम्मै विश्‍वासी रहेर येशूले यस दाबीलाई झूटा साबित गर्नुभयो र यहोवाको हृदयलाई आनन्दित तुल्याउनुभयो।—हितोपदेश २७:११.

प्रभुको साँझको भोज स्थापना गर्नुको अर्को कारण सिद्ध, पापरहित मानवको रूपमा आफ्नो मृत्युद्वारा येशूले ‘धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनुभयो’ भनी हामीलाई सम्झाउनु थियो। (मत्ती २०:२८) प्रथम मानिसले परमेश्‍वर विरुद्ध पाप गर्दा तिनले सिद्ध मानव जीवन र यसका सबै प्रत्याशाहरू गुमाए। तथापि, येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) वास्तवमा, “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) प्रभुको साँझको भोजले हामीलाई येशूको बलिदानरूपी मृत्युद्वारा यहोवा र उहाँको पुत्रले देखाउनुभएको महान्‌ प्रेमको सम्झना गराउँछ। हामीले त्यस्तो प्रेमको कत्ति धेरै मूल्यांकन गर्नुपर्छ!

यो कहिले मनाउने?

७. अभिषिक्‍त मसीहीहरू कसरी स्मरणार्थ उत्सवमा “जहिले” पनि सहभागी हुन्छन्‌?

प्रभुको साँझको भोजबारे पावलले यसो भने: “जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुको मृत्युको प्रचार गर्दछौ।” (१ कोरिन्थी ११:२६) प्रत्येक अभिषिक्‍त मसीहीहरूले आफ्नो मृत्यु नहोउन्जेल स्मरणार्थका प्रतीकहरू खान्छन्‌। यसो गरेर तिनीहरू येशूको छुडौतीको बलिदानमार्फत परमेश्‍वरले गर्नुभएको प्रबन्धमाथि यहोवा परमेश्‍वर र संसारसामु बारम्बार आफ्नो विश्‍वास प्रकट गर्छन्‌।

८. अभिषिक्‍त मसीहीहरूको समूहले प्रभुको साँझको भोज कहिलेसम्म मनाउने थिए?

अभिषिक्‍त मसीहीहरूको समूहले ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव कहिलेसम्म मनाउनेछ? पावलले भने, “उहाँ नआउञ्जेल।” यसको अर्थ हो, पुनरुत्थानद्वारा आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई स्वर्ग लैजान येशू आफ्नो “आगमन[को]” दौडान नआउनुभएसम्म यो उत्सव मनाइनेछ। (१ थिस्सलोनिकी ४:१४-१७) यो कुरा येशूले ११ जना वफादार प्रेरितहरूलाई भन्‍नुभएका शब्दहरूसँग मेल खान्छ: “यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।”—यूहन्‍ना १४:३.

९. मर्कूस १४:२५ मा लिपिबद्ध येशूका शब्दहरूको अर्थ के हो?

स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा, येशूले दाखमद्यको कचौरातर्फ संकेत गर्दै आफ्ना विश्‍वासी प्रेरितहरूलाई यसो भन्‍नुभयो: “म फेरि दाखको फलबाट त्यस दिनसम्म पिउनेछैन, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ पिउँदिनँ।” (मर्कूस १४:२५) येशूले स्वर्गमा साँच्चैको दाखमद्य त पिउनुहुने थिएन, त्यसैकारण पक्कै पनि येशूले यतिबेला दाखमद्यले संकेत गर्ने आनन्दबारे कुरा गरिरहनुभएको थियो। (भजन १०४:१५; उपदेशक १०:१९) उहाँ र उहाँको पाइलामा टेकेर हिंड्‌ने अनुयायीहरूले उत्सुकतासाथ प्रतिक्षा गरेको राज्यमा सँगै हुन पाउँदा ठूलो आनन्द अनुभव हुनेछ।—रोमी ८:२३; २ कोरिन्थी ५:२.

१०. स्मरणार्थ उत्सव कति पटक मनाउनुपर्छ?

१० के येशूको मृत्युको स्मरणार्थ उत्सव हरेक महिना, हरेक हप्ता वा दिनहुँ मनाउनुपर्छ? अहँ, पर्दैन। येशूले प्रभुको साँझको भोजको स्थापना गर्नुभयो र उहाँ निस्तार चाडको दिन मारिनुभयो। यस दिनलाई इस्राएलीहरूले सा.यु.पू. १५१३ मा मिश्रको दासत्वबाट छुटकारा पाएको “स्मरणीय दिन[को]” रूपमा मनाउँथे। (प्रस्थान १२:१४) निस्तार चाड यहूदी महिना नीसानको १४ औं दिनमा वर्षको एक पटक मात्र मनाइन्थ्यो। (प्रस्थान १२:१-६; लेवी २३:५) यसले येशूको मृत्युको स्मरणार्थ उत्सव महिनैपिच्छे, हप्तावारी वा दिनहुँ होइन तर निस्तार चाडजस्तै वर्षको एक पटक मात्र मनाउनुपर्छ भनेर संकेत गर्छ।

११, १२. स्मरणार्थ उत्सव मनाउने प्रारम्भिक प्रचलनबारे इतिहासले के प्रकट गर्छ?

११ त्यसकारण स्मरणार्थ उत्सव वार्षिक रूपमा नीसान १४ का दिन मनाउनु उपयुक्‍त छ। एउटा पुस्तक यसो भन्छ: “एसिया माइनरका मसीहीहरूले सधैं नीसान १४ मा नै पास्का [प्रभुको साँझको भोज] मनाउने हुँदा तिनीहरूलाई क्वार्टोडेसिमन्स [चौधेहरू] भनिन्थ्यो . . . यो मिति शुक्रबार वा हप्ताको अरू कुनै पनि दिनमा पर्न सक्थ्यो।”— न्यु शाफहर्टसोक इन्साइक्लोपीडिया अफ रिलिजस्‌ नलेज, खण्ड ४, पृष्ठ ४४.

१२ सा.यु. दोस्रो शताब्दीको प्रचलनबारे टिप्पणी गर्दै इतिहासकार जे. एल. फोन मोशाइम भन्छन्‌, क्वार्टोडेसिमन्सले नीसान १४ मा स्मरणार्थ उत्सव मनाउँथे किनकि “तिनीहरूले ख्रीष्टको उदाहरणलाई नै आज्ञाको प्रमुख आधार मान्थे।” अर्का इतिहासकार यसो भन्छन्‌: “एसियाका चर्चहरूका क्वार्टोडेसिमन्स र यरूशलेमको चर्चले यो उत्सव एकै प्रकारले मनाउँथे। दोस्रो शताब्दीतिर नीसान १४ मा पास्का मनाउने दिनमा यी चर्चहरूले ख्रीष्टको मृत्युले सम्भव तुल्याएको छुटकाराको उत्सव पनि मनाउँथे।”— स्टुडिया पाट्रिस्टिका, खण्ड ५, १९६२, पृष्ठ ८.

रोटीको अर्थ

१३. प्रभुको साँझको भोजको स्थापना गर्नुहुँदा येशूले कस्तो खालको रोटी प्रयोग गर्नुभयो?

१३ येशूले स्मरणार्थ उत्सवको स्थापना गर्नुहुँदा “उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर [प्रेरितहरूलाई] दिनुभयो।” (मर्कूस १४:२२) यस उत्सवमा चलाइएको रोटी भर्खरै मात्र निस्तार चाडमा चलाइएको जस्तै खालको थियो। (प्रस्थान १३:६-१०) खमिर नहालीकन बनाइएको हुनाले यो रोटी पातलो तथा सजिलै टुक्रा पार्न सकिने थियो र यसलाई बाँड्‌नुअघि भाँच्नुपर्थ्यो। येशूले चमत्कारद्वारा हजारौं व्यक्‍तिहरूलाई खुवाउनुहुँदा, त्यो रोटी पनि झुरुमझुरुम जाने खालको थियो किनभने उहाँले बाँड्‌नुअघि रोटी भाँच्नुभएको थियो। (मत्ती १४:१९; १५:३६) त्यसकारण, स्मरणार्थ उत्सवको रोटी भाँच्नुको पछाडि कुनै प्रकारको आध्यात्मिक महत्त्व छैन भनी स्पष्ट छ।

१४. (क) स्मरणार्थ उत्सवको रोटी अखमिरे हुनु किन उपयुक्‍त हो? (ख) प्रभुको साँझको भोजमा प्रयोग गर्न कस्तो खालको रोटी किन्‍न वा बनाउन सकिन्छ?

१४ स्मरणार्थ उत्सव स्थापना गर्दा प्रयोग गरिएको रोटीबारे येशूले यसो भन्‍नुभयो: “यो तिमीहरूका निम्ति मेरो शरीर हो।” (१ कोरिन्थी ११:२४; मर्कूस १४:२२) रोटी अखमिरे हुनु एकदमै उपयुक्‍त थियो। किन? किनभने खमिरले कुकर्म, दुष्टता वा पापलाई संकेत गर्न सक्छ। (१ कोरिन्थी ५:६-८) रोटीले छुडौतीको बलिदानको रूपमा अर्पण गरिएको येशूको सिद्ध, पापरहित मानव शरीरको प्रतिनिधित्व गर्थ्यो। (हिब्रू ७:२६; १०:५-१०) यहोवाका साक्षीहरू यो कुरा मनमा राख्छन्‌ र स्मरणार्थ उत्सवमा अखमिरे रोटी प्रयोग गरेर येशूले बसाल्नुभएको उदाहरण पछ्याउँछन्‌। कहिलेकाहीं तिनीहरू यहूदीहरूले निस्तार चाडमा खाने, प्याज वा अण्डाजस्ता खाद्यपदार्थहरू नमिसाइएको एक प्रकारको रोटी प्रयोग गर्छन्‌। होइन भने, शुद्ध अन्‍नको अलिकति पीठो (सम्भव भएसम्म गहुँको) र थोरै पानी मिसाएर अखमिरे रोटी बनाउन सकिन्छ। मुछेको पीठोलाई पातलो हुने गरी बेल्नुपर्छ अनि रोटी सुख्खा तथा झुरुमझुरुम नहोउन्जेलसम्म अलिकता तेल दलेको तावामा पकाउन सकिन्छ।

दाखमद्यको अर्थ

१५. येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा प्रयोग गरिएको कचौरामा के थियो?

१५ अखमिरे रोटी बाँडिसक्नुभएपछि येशूले कचौरा लिनुभयो र “धन्यवाद दिनुभएपछि उहाँले [प्रेरितहरूलाई] दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए।” येशूले भन्‍नुभयो: “यो करारको मेरो रगत हो, जो धेरैका निम्ति बहाइन्छ।” (मर्कूस १४:२३, २४) कचौरामा के थियो? अंगुरको शुद्ध रस होइन तर मर्चा मिसाइएको दाखमद्य थियो। धर्मशास्त्रले दाखमद्यबारे बताउँदा यसले अंगुरको शुद्ध रसलाई संकेत गर्दैन। उदाहरणका लागि, येशूको भनाइअनुसार अंगुरको रसले होइन तर मर्चा मिसाइएको दाखमद्यले “पुराना छालाका भाँडा” फुटाउँछ। अनि येशूका शत्रुहरूले उहाँलाई “जँड़याहा” भन्‍ने आरोप लगाए। यदि उक्‍त दाखमद्य अंगुरको रस मात्रै भएको भए यस्तो आरोप लगाउनुको कुनै अर्थ हुने थिएन। (मत्ती ९:१७; ११:१९) निस्तार चाड मनाउँदा दाखमद्य पिइन्थ्यो र आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा ख्रीष्टले यही दाखमद्य प्रयोग गर्नुभयो।

१६, १७. स्मरणार्थ उत्सवका लागि कस्तो प्रकारको दाखमद्य उपयुक्‍त हुन्छ र किन?

१६ कचौरामा भएको वस्तुले प्रतिनिधित्व गर्ने येशूको बगेको रगतको उपयुक्‍त प्रतीक रातो दाखमद्य मात्र हो। उहाँ आफैले यसो भन्‍नुभयो: “यो करारको मेरो रगत हो, जो धेरैका निम्ति बहाइन्छ।” अनि प्रेरित पत्रुसले यस्तो लेखे: “[तिमी अभिषिक्‍त मसीहीहरूले] यो जानेर, कि नाश हुने पदार्थहरू, अर्थात्‌ चाँदी अथवा सुनले तिमीहरूका पिता-पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाई किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलंक, निर्दोष र अनमोल रगतले, अर्थात्‌ ख्रीष्टको रगतले किनिएका हौ।”—१ पत्रुस १:१८, १९.

१७ निस्सन्देह, स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा येशूले रातो अंगुरबाट बनेको दाखमद्य प्रयोग गर्नुभएको थियो। तथापि, आजभोलिका राता दाखमद्यहरूमध्ये कतिपय प्रयोग गर्न मिल्दैन किनकि कडा बनाउनको लागि त्यसमा स्पिरिट वा ब्रान्डी मिसाइएको हुन्छ वा जडिबुटी तथा मसलाहरू हालिएको हुन्छ। छुडौतीको बलिदानको लागि येशूको रगत नै पर्याप्त थियो, त्यसमा अरू केही मिसाउन आवश्‍यक थिएन। त्यसकारण, पोर्ट, शेरी र भरमथजस्ता दाखमद्यहरू प्रयोग गर्नु उपयुक्‍त हुँदैन। स्मरणार्थ उत्सवको कचौरामा गुलियो र कडा बनाउने पदार्थ नमिसाइएको रातो दाखमद्य राख्नुपर्छ। गुलियो नमिसाईकन घरैमा बनाइएको रातो अंगुरको दाखमद्यका साथै रातो बर्गन्डी र क्लारेटजस्ता दाखमद्यहरू पनि प्रयोग गर्न सकिन्छ।

१८. स्मरणार्थ उत्सवमा चलाइएको रोटी र दाखमद्यको सन्दर्भमा येशूले किन चमत्कार गर्नुभएन?

१८ यस भोजको स्थापना गर्नुहुँदा येशूले यी प्रतीकहरूलाई चमत्कारपूर्ण ढंगमा आफ्नो साँच्चैको शरीर र रगतमा परिवर्तन गर्नु भएन। मानिसको मासु र रगत खानु भनेको त नरभक्षी हो र यसो गर्दा परमेश्‍वरको नियम उल्लंघन हुन्छ। (उत्पत्ति ९:३, ४; लेवी १७:१०) त्यस रात येशूको सिंगो शरीरका साथै उहाँको रगत जस्ताको तस्तै थियो। त्यही यहूदी दिन, नीसान १४ को अपराह्न उहाँको शरीर सिद्ध बलिदानको रूपमा चढाइयो र उहाँको रगत खन्याइयो। त्यसकारण, स्मरणार्थ उत्सवमा प्रयोग गरिने रोटी र दाखमद्य ख्रीष्टको शरीर र रगतको प्रतिनिधित्व गर्ने प्रतीकहरू मात्र हुन्‌। a

स्मरणार्थ उत्सव—एउटा सहभोज

१९. प्रभुको साँझको भोज मनाउँदा किन एकभन्दा बढी प्लेट तथा गिलास प्रयोग गर्न सकिन्छ?

१९ येशूले स्मरणार्थ उत्सवको स्थापना गर्नुहुँदा उहाँले आफ्ना विश्‍वासी प्रेरितहरूलाई एउटै कचौराबाट पिउन निम्तो दिनुभयो। मत्तीको सुसमाचारको पुस्तक यसो भन्छ: “कचौरा पनि लिएर धन्यवाद गरी [येशूले] तिनीहरूलाई यसो भनेर दिनुभयो, ‘तिमीहरू सबैले यसबाट पिओ।’ ” (मत्ती २६:२७) थुप्रै कचौराहरू प्रयोग गर्नुको सट्टा एउटा मात्रै “कचौरा” प्रयोग गर्दा कुनै समस्या उत्पन्‍न भएन किनभने त्यस अवसरमा ११ जना मात्र सहभागी थिए र स्पष्टतया तिनीहरू एउटै टेबलमा भएको कारण तिनीहरूले कचौरा सजिलै घुमाउन सक्थे। यो वर्ष, प्रभुको साँझको भोजको लागि विश्‍वभरका यहोवाका साक्षीहरूको ९४,००० भन्दा बढी मण्डलीहरूमा लाखौं व्यक्‍तिहरू भेला हुनेछन्‌। यो उत्सव मनाउन एकै रातमा त्यत्ति धेरै सभाहरू हुने हुनाले सायद सबैको लागि एउटै कचौरा प्रयोग गर्न सकिंदैन। तर छोटो समयमा नै उपस्थित व्यक्‍तिहरू सबैलाई प्रतीक घुमाउन सकियोस्‌ भनेर ठूला मण्डलीहरूले थुप्रै कचौराहरू प्रयोग गरेर यस सिद्धान्तलाई पछ्याउँछन्‌। त्यसै गरी, रोटीको लागि पनि एकभन्दा बढी प्लेटहरू प्रयोग गर्न सकिन्छ। कचौरा वा गिलासको डिजाइन यस्तै हुनुपर्छ भनेर धर्मशास्त्रले कुनै संकेत दिएको छैन। तथापि, यसले र प्लेटले यो समारोहको गरिमा झल्काउनुपर्छ। गिलासमा दाखमद्य टन्‍न भर्नु बुद्धिमानी हुनेछैन किनकि गिलास घुमाउँदा पोखिन सक्छ।

२०, २१. स्मरणार्थ उत्सवलाई किन सहभोज भन्‍न सकिन्छ?

२० रोटीको लागि एकभन्दा बढी प्लेट र दाखमद्यको लागि एकभन्दा बढी गिलास प्रयोग गरिए तापनि स्मरणार्थ उत्सव एउटा सहभोज हो। प्राचीन इस्राएलमा कुनै एक जना मानिसले परमेश्‍वरको मन्दिरमा जनावर ल्याएर सहभोजको प्रबन्ध गर्न सक्थ्यो, जहाँ उक्‍त जनावरलाई मारिन्थ्यो। जनावरको केही भाग वेदीमा जलाइन्थ्यो, केही भाग काम गर्ने पूजाहारीले पाउँथे र अरू भाग हारूनका पूजाहारी छोराहरूका साथै बलिदानको प्रबन्ध गर्ने व्यक्‍ति अनि तिनीसँगै भोजन गर्ने तिनका घरानाले पाउँथे। (लेवी ३:१-१६; ७:२८-३६) स्मरणार्थ उत्सव पनि एउटा सहभोज हो किनकि यसमा सँगै भाग लिइन्छ।

२१ यहोवा यो सहभोजको आयोजकको रूपमा यसमा सरिक हुनुहुन्छ। येशू बलि हुनुहुन्छ र अभिषिक्‍त मसीहीहरूले सहभागीको रूपमा सँगै प्रतीकहरू खान्छन्‌। यहोवाको टेबलमा खानुले सहभागीहरू उहाँसँग शान्तिमा छन्‌ भनी संकेत गर्छ। त्यसै गरी पावलले लेखे: “आशिषको त्यो कचौरा जसको निम्ति हामी आशिष माग्छौं, के त्यो ख्रीष्टको शरीरको सम्भागी होइन? त्यो रोटी जसलाई हामी भाँच्छौं, के त्यो ख्रीष्टको शरीरको सम्भागी होइन र? किनकि हामी धेरै छौं, तापनि एउटै रोटी—एउटै शरीर हौं, किनभने हामी सबै एउटै रोटीबाट खान्छौं।”—१ कोरिन्थी १०:१६, १७.

२२. हामीले स्मरणार्थ उत्सवबारे कस्ता प्रश्‍नहरू विचार गर्न बाँकी नै छ?

२२ यहोवाका साक्षीहरूले मनाउने एक मात्र वार्षिक धार्मिक उत्सव प्रभुको साँझको भोज हो। यो उपयुक्‍त छ किनभने येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” स्मरणार्थ उत्सवमा हामी येशूको मृत्युको उत्सव मनाउँछौं, जुन मृत्युले यहोवाको सार्वभौमिकतालाई उच्च तुल्यायो। हामीले बुझेअनुसारै, यो सहभोजमा रोटीले ख्रीष्टले बलिदान दिनुभएको उहाँको मानव शरीर र दाखमद्यले उहाँले बगाउनुभएको रगतलाई संकेत गर्छ। तथापि, प्रतीकात्मक रोटी र दाखमद्य एकदमै थोरै व्यक्‍तिहरूले मात्र खान्छन्‌। यसको कारण के हो? स्मरणार्थ उत्सवमा प्रतीकहरू नखाने लाखौं व्यक्‍तिहरूको लागि के यसले कुनै वास्तविक अर्थ राख्छ? वास्तवमा, प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्नुपर्छ?

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स-को खण्ड २, पृष्ठ २७१ हेर्नुहोस्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• येशूले किन प्रभुको साँझको भोज स्थापना गर्नुभयो?

• स्मरणार्थ उत्सव कति पटक मनाउनुपर्छ?

• स्मरणार्थ उत्सवमा प्रयोग गरिने अखमिरे रोटीको अर्थ के हो?

• स्मरणार्थ उत्सवमा प्रयोग गरिने दाखमद्यले केको प्रतिनिधित्व गर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

येशूले प्रभुको साँझको भोज स्थापना गर्नुभयो