सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌

आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌

आफ्नो सारा भरोसा यहोवामाथि राख्नुहोस्‌

“तपाईंको नाउँ जान्‍नेहरू जत्ति चाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌।”—भजन ९:१०.

१, २. मानिसहरूले सुरक्षाको लागि भरोसा राखेका केही व्यर्थका चीजहरू के-के हुन्‌?

 आज, थुप्रै कुराहरूले हाम्रो हितलाई खतरामा पारिरहेको हुनाले सुरक्षाको लागि कोही व्यक्‍ति वा केही चीजको मुख ताक्नु स्वाभाविकै हो। कोही-कोही प्रशस्त पैसा भयो भने आफ्नो भविष्य सुरक्षित हुनेछ भनी सोच्छन्‌ तर वास्तवमा पैसाले स्थायी सुरक्षा दिन सक्दैन। बाइबल यसो भन्छ: “आफ्नो धन-सम्पत्तिमा भरोसा गर्नेको पतन हुन्छ।” (हितोपदेश ११:२८) अरूहरूले भने मानव नेताहरूको मुख ताक्छन्‌ तर जतिसुकै राम्रा नेताहरूले पनि गल्ती गर्छन्‌। अनि अन्ततः तिनीहरू सबै मर्छन्‌। बाइबलले यस्तो बुद्धिमानी सल्लाह दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” (भजन १४६:३) यी प्रेरित वचनहरूले हामीलाई आफ्नै बल-बर्कतमा भर नपर्न पनि चेतावनी दिन्छ। आखिर, हामी पनि ‘मानिसै’ हौं।

अगमवक्‍ता यशैयाले आफ्ना समयका इस्राएली नेताहरूको निन्दा गरे किनभने तिनीहरूले “झूटको शरणस्थान[मा]” भरोसा गरे। (यशैया २८:१५-१७) सुरक्षाको खोजीमा तिनीहरूले छिमेकी राष्ट्रहरूसित राजनैतिक साँठगाँठ गरे। यस्तो साँठगाँठ भरपर्दो थिएन अर्थात्‌ झूट थियो। त्यसै गरी, आज थुप्रै धार्मिक नेताहरूले राजनैतिक नेताहरूसँग सम्बन्ध बढाउँछन्‌। यी साँठगाँठहरू पनि “झूट” साबित हुनेछन्‌। (प्रकाश १७:१६, १७) यसले स्थायी सुरक्षा दिनेछैन।

यहोशू र कालेबको असल उदाहरण

३, ४. यहोशू तथा कालेबको रिपोर्ट अरू दस जना जासुसहरूको भन्दा कसरी भिन्‍न थियो?

त्यसोभए, हामीले सुरक्षाका लागि कहाँ भर पर्नुपर्छ त? मोशाको समयमा यहोशू र कालेब जहाँ भर परे त्यहीं। इस्राएलले मिश्रबाट छुटकारा पाएको केही समयपछि, उक्‍त राष्ट्र प्रतिज्ञा गरिएको देश, कनानमा प्रवेश गर्ने तयारीमा थियो। त्यस देशको जासुसी गर्न १२ जना मानिसहरूलाई पठाइयो र ४० दिनपछि फर्केर तिनीहरूले आ-आफ्नो रिपोर्ट सुनाए। यहोशू र कालेब दुई जनाले मात्र इस्राएलीहरू कनानमा सफल हुन सक्छन्‌ भन्‍ने सकारात्मक रिपोर्ट सुनाए। अरूहरूले चाहिं त्यो देश असल छ भन्‍ने कुरा स्वीकारे तापनि यसो भने: “त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन्‌ र शहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला ठूला रहेछन्‌। . . . ती मानिसहरूका विरुद्ध जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्‌।”—गन्ती १३:२७, २८, ३१.

इस्राएलीहरूले दस जना जासुसहरूको कुरा सुने र तिनीहरू डराएर मोशा विरुद्ध गनगनसमेत गर्न थाले। अन्ततः यहोशू र कालेबले उत्साहका साथ यसो भने: “हामी भेद लिन गएका देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुहुन्छ भने, उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ, र त्यो दूध र मह बहने देश हामीलाई दिनुहुनेछ। केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। त्यस देशका मानिसहरूसित न डराओ।” (गन्ती १४:६-९) तैपनि, इस्राएलीहरूले तिनीहरूको कुरा सुन्‍न इन्कार गरे र फलस्वरूप, तिनीहरू प्रतिज्ञा गरिएको देशमा त्यसबेला प्रवेश गर्न पाएनन्‌।

५. यहोशू र कालेबले किन सकारात्मक रिपोर्ट दिए?

अरू दस जना जासुसहरूले खराब रिपोर्ट दिए तापनि यहोशू र कालेबले चाहिं किन असल रिपोर्ट दिए? बाह्रै जनाले त्यही बलिया शहरहरू र संवृद्ध राष्ट्र देखेका थिए। अनि इस्राएलीहरूले त्यस देशलाई जित्न सक्दैनन्‌ भनेर ती दस जनाले ठिकै भनिरहेका थिए। यो कुरा यहोशू र कालेबलाई पनि थाह थियो। तथापि, ती दस जनाले कामकुरालाई मानव दृष्टिकोणबाट हेरे। अर्कोतर्फ, यहोशू र कालेबले यहोवामाथि भरोसा राखे। तिनीहरूले मिश्र, लाल समुद्र र सिनै पर्वतको बेंसीमा उहाँका शक्‍तिशाली कामहरू देखेका थिए। यसैकारण त दशकौंपछि, यी कामहरूबारे सुनेको भरमा यरिहोकी राहाब यहोवाका जनहरूको खातिर आफ्नो ज्यानको बाजी लगाउनसमेत तयार भइन्‌! (यहोशू २:१-२४; ६:२२-२५) यहोवाका कामहरूको प्रत्यक्षदर्शी, यहोशू र कालेबमा परमेश्‍वरले आफ्ना जनहरूका खातिर लडिरहनुहुन्छ भन्‍ने पूर्ण भरोसा थियो। चालीस वर्षपछि, यहोशूको नेतृत्वमा इस्राएलीहरूको नयाँ पुस्ता कनानमा प्रवेश गरेर त्यस देशमाथि विजय हासिल गर्दा, तिनीहरूको भरोसा सत्य साबित भयो।

हामीले किन यहोवामाथि पूर्ण भरोसा राख्नुपर्छ

६. आज मसीहीहरू किन दबाबमा छन्‌ र तिनीहरूले आफ्नो भरोसा कहाँ राख्नुपर्छ?

यस “डरलाग्दो समय[मा],” इस्राएलीहरूले जस्तै हामीले पनि आफूभन्दा बलिया शत्रुहरूको सामना गर्नुपर्छ। (२ तिमोथी ३:१) हामीले नैतिक, आध्यात्मिक र कहिलेकाहीं त शारीरिक दबाबसमेत सामना गर्छौं। हामी आफ्नै बल-बर्कतले यस्ता दबाबहरूसामु खडा रहन सक्दैनौं किनभने यसको स्रोत मानिस नभई शैतान अर्थात्‌ दियाबल हो। (एफिसी ६:१२; १ यूहन्‍ना ५:१९) त्यसोभए, हामी कसमाथि भर पर्न सक्छौं त? यहोवालाई प्रार्थना गर्दा, प्राचीन समयका एक जना विश्‍वासी मानिसले यसो भने: “तपाईंको नाउँ जान्‍नेहरू जत्ति चाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌।” (भजन ९:१०) हामीले यहोवाबारे साँच्चै जानेका छौं र उहाँको नाउँले कुन कुरालाई संकेत गर्छ भनी बुझेका छौं भने, हामी यहोशू र कालेबजस्तै विश्‍वस्त भई उहाँमा भरोसा गर्नेछौं।—यूहन्‍ना १७:३.

७, ८. (क) सृष्टिले हामीलाई कसरी यहोवामाथि भरोसा राख्ने कारणहरू दिन्छ? (ख) बाइबलले हामीलाई यहोवामाथि भरोसा राख्ने कस्ता कारणहरू दिन्छ?

हामीले किन यहोवामाथि भरोसा राख्नुपर्छ? यहोशू र कालेबले यसो गर्नुको एउटा कारण हो, तिनीहरूले उहाँको शक्‍तिको प्रदर्शन देखेका थिए। त्यसै गरी, हामीले पनि देखेका छौं। उदाहरणका लागि, अरबौं तारापुञ्ज सहितको ब्रह्‍माण्डलगायत, यहोवाको सृष्टिका कामहरूलाई विचार गर्नुहोस्‌। निस्सन्देह, यहोवाको नियन्त्रणमा रहेका असीम भौतिक शक्‍तिहरूले उहाँ सर्वशक्‍तिमान्‌ हुनुहुन्छ भनी देखाउँछ। सृष्टिका अद्‌भुत कार्यहरूबारे विचार गर्दा हामी अय्यूबसँग सहमत हुन्छौं, जसले यहोवाबारे यसो भने: “कसले उहाँलाई फर्काएर ल्याउनसक्छ र? उहाँ के गर्नुहुन्छ भनी कसले उहाँलाई सोध्नुसक्छ?” (अय्यूब ९:१२) वास्तवमा, यहोवा हाम्रो पक्षमा हुनुहुन्छ भने, हामी संसारको कोहीसँग पनि डराउनु पर्दैन।—रोमी ८:३१.

यहोवाको वचन, बाइबललाई पनि विचार गर्नुहोस्‌। ईश्‍वरीय बुद्धिको यो अपार स्रोत, गलत प्रचलनहरू त्याग्न र यहोवाको इच्छाअनुसार आफ्नो जीवन बिताउन हामीलाई मदत दिन प्रभावशाली छ। (हिब्रू ४:१२) बाइबलद्वारा नै हामीले यहोवाको नाउँ थाह पायौं र उहाँको नाउँको अर्थ बुझ्यौं। (प्रस्थान ३:१४) आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा उहाँको इच्छाअनुसार मायालु पिता, धार्मिक न्यायकर्ता, विजयी योद्धा जेसुकै पनि हुन सक्नुहुन्छ भनी हामीले बुझेका छौं। अनि हामीले उहाँको वचन कसरी सधैं सत्य साबित हुन्छ भनेर देखेका छौं। परमेश्‍वरको वचन अध्ययन गर्दा, भजनहारजस्तै हामी पनि यसो भन्‍न उत्प्रेरित हुन्छौं: “म तपाईंको वचनमा भरोसा राख्तछु।”—भजन ११९:४२; यशैया ४०:८.

९. छुडौती र येशूको पुनरुत्थानले कसरी यहोवामाथि हाम्रो भरोसा अझ बलियो बनाउँछ?

यहोवामाथि भरोसा राख्नुको अर्को कारण छुडौतीको प्रबन्ध हो। (मत्ती २०:२८) परमेश्‍वरले हाम्रो छुडौतीको लागि आफ्नो पुत्रलाई मर्न पठाउनु कस्तो अद्‌भुत कुरा हो! अनि त्यो छुडौती साँच्चै शक्‍तिशाली छ। यसले पश्‍चात्ताप गरेर इमानदार हृदयसाथ यहोवातर्फ फर्कने सबै मानिसजातिका पापहरू ढाक्छ। (यूहन्‍ना ३:१६; हिब्रू ६:१०; १ यूहन्‍ना ४:१६, १९) येशूको पुनरुत्थान छुडौतीको मोल तिर्ने प्रकियाको एउटा भाग थियो। सयौं प्रत्यक्षदर्शीहरूद्वारा साँचो प्रमाणित भएको यो चमत्कार, यहोवामाथि भरोसा राख्नुपर्ने अर्को कारण हो। यो हाम्रो आशा निराशामा परिणत हुनेछैन भन्‍ने कुराको ग्यारेन्टी हो।—प्रेरित १७:३१; रोमी ५:५; १ कोरिन्थी १५:३-८.

१०. हामीसँग यहोवामाथि भरोसा राख्ने कस्ता व्यक्‍तिगत कारणहरू छन्‌?

१० यी त हामीले यहोवामा पूर्ण भरोसा राख्न सक्ने र राख्नुपर्ने केही कारणहरू मात्र हुन्‌। यस्ता कारण अरू पनि थुप्रै छन्‌ र तीमध्ये कतिपय व्यक्‍तिगत कारणहरू पनि छन्‌। उदाहरणका लागि, जीवनमा हामी सबैले समय-समयमा कठिन परिस्थितिहरूको सामना गर्नुपर्ने हुन्छ। यसको समाधान गर्न हामीले यहोवाको डोऱ्‍याइ खोज्यौं भने, यो डोऱ्‍याइ कत्तिको व्यावहारिक छ भन्‍ने कुरा हामीले बुझ्नेछौं। (याकूब १:५-८) हामी आफ्नो दैनिक जीवनमा जति धेरै यहोवामा भर पर्छौं र यसको असल नतिजा देख्छौं, उहाँमाथिको हाम्रो भरोसा पनि त्यति नै बलियो हुन्छ।

दाऊदले यहोवामाथि भरोसा राखे

११. कस्तो परिस्थितिको बावजुद दाऊदले यहोवामाथि भरोसा राखे?

११ यहोवामाथि भरोसा राख्नेहरूमा पुरातन इस्राएलका दाऊद पनि हुन्‌। दाऊदले तिनलाई मार्न चाहने, राजा शावल र इस्राएलमाथि कब्जा गर्न खोज्ने, पलिश्‍तीहरूको शक्‍तिशाली सेनाको धम्कीको सामना गर्नुपऱ्‍यो। तैपनि, तिनी जीवित रहे र विजयी पनि भए। किन? दाऊद आफै यसो भन्छन्‌: “परमप्रभु मेरो ज्योति र मलाई मुक्‍ति दिने हुनुहुन्छ, मैले कसको डर मान्‍नु? परमप्रभुनै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्‍नु?” (भजन २७:१) यसै गरी, यहोवामाथि भरोसा राख्यौं भने, हामीले पनि सफलता पाउनेछौं।

१२, १३. विरोधीहरूले आफ्नो जिब्रोलाई हामी विरुद्ध हतियारको रूपमा चलाए तापनि हामीले यहोवामाथि भरोसा राख्नुपर्छ भनी दाऊदले कसरी देखाए?

१२ एक पटक दाऊदले यस्तो प्रार्थना गरे: “मैले उजूर गर्दा मेरो सोर सुन्‍नुहोस्‌, हे परमेश्‍वर, शत्रुको डरबाट मेरो ज्यानलाई जोगाउनुहोस्‌। कुकर्मीहरूको गुप्त सल्लाहबाट, र अधर्म काम गर्नेहरूको हल्लाबाट मलाई लुकाउनुहोस्‌। जसले आफ्ना जिब्रोलाई तरवारझैं शान लगाएका छन्‌, औ तीता वचनरूपी काँडहरूले ताकेका छन्‌। गुप्त ठाउँहरूमा सुधाहरूलाई हान्‍नाको निम्ति।” (भजन ६४:१-४) दाऊद किन यी शब्दहरू लेख्न उत्प्रेरित भए भन्‍ने वास्तविकता त हामीलाई थाह छैन। तर त्यसै गरी आज विरोधीहरूले बोलीलाई युद्धको हतियारको रूपमा चलाएर ‘आफ्नो जिब्रोलाई शान लगाउँछन्‌’ भनी हामीलाई थाह छ। तिनीहरूले निर्दोष मसीहीहरूलाई ‘काँड हान्‍न’ गलत अर्थ लगाउने वचन वा लिखित शब्दहरू प्रयोग गर्छन्‌। हामीले यहोवामा दृढ भरोसा राख्यौं भने, यसको नतिजा कस्तो हुनेछ?

१३ दाऊद अझै यसो भन्छन्‌: “परमेश्‍वरले तिनीहरूलाईनै हान्‍नुहुनेछ, एउटै काँडले तिनीहरू अचानक घायल हुनेछन्‌। यसैले तिनीहरूको जिब्रोनै तिनीहरूको विरुद्धमा भएर तिनीहरूले ठक्कर खानेछन्‌। . . . धर्मात्माहरूचाहिं परमप्रभुमा आनन्दित हुनेछन्‌, र उहाँमाथिनै भरोसा गर्नेछन्‌।” (भजन ६४:७-१०) हो, शत्रुहरूले हाम्रो विरुद्ध आफ्नो जिब्रोलाई शान लगाए तापनि अन्तमा ‘तिनीहरूको जिब्रोनै तिनीहरूको विरुद्धमा हुन्छ।’ अन्ततः यहोवाले कामकुराहरूलाई हाम्रै पक्षमा पार्नुहुन्छ र उहाँमाथि भरोसा राख्नेहरू उहाँमा रमाउन सक्छन्‌।

हिजकियाहको भरोसा व्यर्थमा गएन

१४. (क) कस्तो विषम परिस्थितिसामु हिजकियाहले यहोवामाथि भरोसा राखे? (ख) हिजकियाहले अश्‍शूरीहरूको झूट नपत्याएको कुरा तिनले कसरी देखाए?

१४ यहोवामाथि राखेको आफ्नो भरोसा व्यर्थमा नजाने अर्का व्यक्‍ति राजा हिजकियाह थिए। हिजकियाहको शासनकालमा, शक्‍तिशाली अश्‍शूरी सेनाले यरूशलेमलाई धम्कायो। उक्‍त फौजले अरू थुप्रै राष्ट्रहरूलाई जितिसकेको थियो। यस फौजले यहूदाका शहरहरूलाई समेत जितिसकेको थियो र अब यरूशलेम मात्र जित्न बाँकी थियो अनि सनहेरीबले त्यो शहर पनि जित्नेछु भनी हाँक दिए। तिनले सहयोगको लागि मिश्रको भर पर्नु व्यर्थ छ भनी रबशाकेमार्फत खबर पठाए, जुन कुरा साँचो पनि थियो। तथापि, त्यसपछि तिनले यसो पनि भने: “जुन परमेश्‍वरमाथि तैंले भरोसा राखेको छस्‌ तिनले यरूशलेम अश्‍शूरका राजाको हातमा दिनेछैनन्‌ भनी तँलाई छल नगरून्‌।” (यशैया ३७:१०) यद्यपि, हिजकियाहलाई यहोवा छली हुनुहुन्‍न भनी थाह थियो। त्यसकारण, तिनले यसरी प्रार्थना गरे: “हे हाम्रा परमप्रभु परमेश्‍वर, हामीलाई तिनका [अश्‍शूरीहरूका] हातबाट बचाउनुहोस्‌, र पृथ्वीका सारा राज्यहरूले थाह पाऊन्‌ कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ।” (यशैया ३७:२०) यहोवाले हिजकियाहको प्रार्थना सुन्‍नुभयो। एकै रातमा, एउटा स्वर्गदूतले १,८५,००० अश्‍शूरी सिपाहीहरूलाई मारे। यरूशलेम विनाशबाट जोगियो र सनहेरीबले यहूदाको भूमि छोडे। यस घटनाबारे सुन्‍नेहरू सबैले यहोवाको महानता थाह पाए।

१५. यस अस्थिर संसारमा हामीमाथि आइपर्न सक्ने जस्तोसुकै कठिन परिस्थितको लागि तयार हुन हामीलाई कुन कुराले मात्र मदत गर्नेछ?

१५ हिजकियाहजस्तै आज हामी पनि युद्धको जस्तै अवस्थामा छौं। हाम्रो युद्धचाहिं आध्यात्मिक हो। तैपनि, आध्यात्मिक योद्धाको हैसियतमा हामीले बचावटका उपायहरू सिक्नुपर्छ। भावी आक्रमणहरूबारे हामी पहिल्यै सचेत हुनुपर्छ र त्यसको प्रतिरोध गर्न सक्ने हुन आफूलाई तयार पार्नुपर्छ। (एफिसी ६:११, १२, १७) यस अस्थिर संसारमा जुनसुकै बेला पनि परिस्थितिमा परिवर्तन आउन सक्छ। अचानक गृहकलह मच्चिन सक्छ। धार्मिक सहिष्णुताको इतिहास बोकेका राष्ट्रहरू असहिष्णु हुन सक्छन्‌। हिजकियाहले जस्तै हामीले पनि यहोवामा दृढ भरोसा खेती गरेर आफूलाई तयार पारेका छौं भने मात्र हामी भविष्यमा हुने जस्तोसुकै परिस्थितिको लागि तयार रहन सक्छौं।

यहोवामाथि भरोसा राख्नुको अर्थ के हो?

१६, १७. यहोवामाथि भरोसा राख्छौं भन्‍ने कुरा हामी कसरी देखाउँछौं?

१६ यहोवामाथि भरोसा गर्छु भनेर मुखले भन्‍नु मात्र पर्याप्त छैन। यसमा हाम्रो हृदय समावेश छ र यो कुरा हाम्रो कामद्वारा देखिन्छ। हामी यहोवामा भरोसा गर्छौं भने, हामीले उहाँको वचन, बाइबलमा पूर्ण भरोसा गर्नेछौं। हामी यसलाई दिनहुँ पढ्‌नेछौं, यसबारे मनन गर्नेछौं र आफ्नो जीवन यसैअनुरूप चलाउनेछौं। (भजन ११९:१०५) यहोवामाथि भरोसा गर्नुमा पवित्र आत्माको शक्‍तिमाथि भरोसा गर्नु पनि समावेश छ। पवित्र आत्माको मदतद्वारा हामी यहोवालाई मनपर्ने फलहरू फलाउनुका साथै हामीमा गहिरो गरी जरा गाडेर बसेका खराब बानीहरूलाई हटाउन सक्छौं। (१ कोरिन्थी ६:११; गलाती ५:२२-२४) त्यसकारण, पवित्र आत्माको मदत पाएर धेरै जनाले धूम्रपान वा लागूपदार्थ सेवन गर्ने कुलत त्याग्न सकेका छन्‌। अरूले भने अनैतिक जीवन शैली त्यागेका छन्‌। हो, यहोवामाथि भरोसा राख्छौं भने, हामी आफ्नै बल-बर्कतले होइन तर उहाँको शक्‍तिमा काम गर्छौं।—एफिसी ३:१४-१८.

१७ साथै, यहोवामाथि भरोसा राख्नुको अर्थ उहाँले भरोसा गर्नुहुने व्यक्‍तिहरूमाथि भरोसा राख्नु हो। उदाहरणका लागि, राज्यसम्बन्धी पार्थिव गतिविधिहरूको रेखदेख गर्न यहोवाले “विश्‍वासी र बुद्धिमान दास[को]” प्रबन्ध गर्नुभएको छ। (मत्ती २४:४५-४७) हामी त्यस नियुक्‍तिलाई बेवास्ता गरेर आफूखुसी चल्न खोज्दैनौं किनकि हामी यहोवाको प्रबन्धमाथि भरोसा राख्छौं। साथै, स्थानीय मसीही मण्डलीमा प्राचीनहरूले सेवा गर्छन्‌ र प्रेरित पावलको भनाइअनुसार तिनीहरू पवित्र आत्माद्वारा नियुक्‍त भएका हुन्छन्‌। (प्रेरित २०:२८) मण्डलीमा गरिएको प्राचीनको प्रबन्धमा सहयोग गरेर हामी यहोवामाथि भरोसा राखेको कुरा देखाउँछौं।—हिब्रू १३:१७.

पावलको उदाहरण पछ्याउनुहोस्‌

१८. आज मसीहीहरूले कसरी पावलको उदाहरण पछ्याउँछन्‌ तर तिनीहरू आफ्नो भरोसा कसमाथि राख्छन्‌?

१८ हामीले जस्तै पावलले पनि आफ्नो सेवकाईमा थुप्रै दबाबहरूको सामना गरे। तिनको समयमा मसीही धर्मबारे अख्तियारवालाहरूको गलत धारणाहरू थिए र तिनले समय-समयमा यी गलत प्रभावहरूलाई सच्याउने वा प्रचार कार्यलाई कानुनी तवर स्थापित गर्ने कोसिस गरे। (प्रेरित २८:१९-२२; फिलिप्पी १:७) आज, मसीहीहरू तिनको उदाहरण पछ्याउँछन्‌। सम्भव भएसम्म र उपलब्ध भएसम्मका स्रोत-साधनहरू चलाएर हामी अरूहरूलाई हाम्रो कार्यबारे बुझ्ने मदत दिन्छौं। अनि हामी सुसमाचारको रक्षा गर्नुका साथै यसलाई कानुनी तवरमा स्थापित गर्छौं। तथापि, हामी यस्ता प्रयत्नहरूमाथि पूर्ण भरोसा भने राख्दैनौं किनकि अदालतमा मुद्दाहरू जित्नु वा मानिसहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्नुमा हाम्रो सफलता वा असफलता निर्भर हुन्छ भन्ठान्दैनौं। बरु, हामी यहोवामाथि भरोसा राख्छौं। हामी उहाँले प्राचीन इस्राएललाई दिनुभएको यो प्रोत्साहन सम्झन्छौं: “मौन बसेर भरोसा राख्दा तिमीहरूलाई शक्‍ति मिल्नेछ।”—यशैया ३०:१५.

१९. सतावट भोग्नु पर्दा, यहोवामाथिको हाम्रा भाइहरूको भरोसा कसरी व्यर्थ गएको छैन?

१९ हाम्रो आधुनिक इतिहासको दौडान, पूर्वी तथा पश्‍चिमी युरोप, एसिया तथा अफ्रिकाका केही भागहरू र दक्षिण तथा उत्तर अमेरिकी देशहरूमा हाम्रो काममाथि समय-समयमा प्रतिबन्ध वा बन्देज लगाइएको छ। के यसको अर्थ यहोवामाथिको हाम्रो भरोसा व्यर्थ भएको छ? अहँ, छैन। यहोवाले आफ्नो खास उद्देश्‍य पूरा गर्नको लागि कहिलेकाहीं कटु सतावट भोग्न दिनुभए तापनि उहाँले सतावटको तारो भएकाहरूलाई मायालुपूर्वक बलियो बनाउनुभएको छ। सतावट भोग्नु पर्दा, थुप्रै मसीहीहरूले परमेश्‍वरमाथिको विश्‍वास र भरोसाको उल्लेखनीय उदाहरण बसालेका छन्‌।

२०. हामीले कानुनी स्वतन्त्रताहरूबाट लाभ उठाउन सक्ने भए तापनि कुन कुराहरूमा भने कहिल्यै पनि सम्झौता गर्नेछैनौं?

२० अर्कोतर्फ, थुप्रै देशहरूमा हामीले कानुनी मान्यता पाएका छौं अनि बेला-बेलामा सञ्चार माध्यहरूले हामीबारे सकारात्मक प्रचार-प्रसार पनि गर्छन्‌। हामी यसको लागि कृतज्ञ हुनुका साथै यसले पनि यहोवाको उद्देश्‍य पूरा गर्न मदत गर्छ भन्‍ने कुरा मानिलिन्छौं। हामी यो थप स्वतन्त्रता आफ्नो जीवन शैली सुधार्न होइन तर यहोवाको अशिष्‌ पाएर खुलमखुल्ला र पूर्ण रूपमा उहाँको सेवा गर्न चलाउँछौं। तथापि, अख्तियारवालाहरूसामु राम्रो देखिनको लागि हामी कहिल्यै पनि हाम्रो तटस्थताको सम्झौता गर्ने, प्रचारकार्यमा कम भाग लिने वा अरू कुनै तरिकामा यहोवाको सेवामा कमजोर हुनेछैनौं। हामी मसीही राज्यका प्रजाहरू हौं र यहोवाको सार्वभौमिकताको पक्षमा दृढ छौं। हामी यस रीतिरिवाजमा होइन तर यस पृथ्वीमाथि शासन गर्ने एक मात्र सरकार, स्वर्गीय मसीही राज्य अधीनस्थ नयाँ संसारमा आशा राख्छौं। त्यस सरकारलाई न त बम, न क्षेप्यास्त्र, न आणविक अक्रमणले नै हल्लाउन वा स्वर्गबाट सत्ताच्युत गर्न सक्नेछ। यो अजेय छ यसले यहोवाको उद्देश्‍य पूरा गर्नेछ।—दानियल २:४४; हिब्रू १२:२८; प्रकाश ६:२.

२१. हामी कस्तो मार्ग पछ्याउन कटिबद्ध छौं?

२१ पावल यसो भन्छन्‌: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।” (हिब्रू १०:३९) त्यसकारण, हामी सबैले अन्तसम्मै विश्‍वासी भएर यहोवाको सेवा गरिरहौं। हामीसँग अहिले र सधैंभरि हाम्रो पूर्ण भरोसा यहोवामाथि राख्न सक्ने हर कारण छ।—भजन ३७:३; १२५:१.

तपाईंले के सिक्नुभयो?

• यहोशू र कालेबले किन सकारात्मक रिपोर्ट ल्याए?

• हामीले यहोवामाथि पूर्ण भरोसा राख्नुपर्ने केही कारणहरू के-के हुन्‌?

• यहोवामाथि भरोसा राख्नुको अर्थ के हो?

• यहोवामाथि भरोसा राख्दै हामी कस्तो अडान लिन कटिबद्ध छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

यहोशू र कालेबले किन सकारात्मक रिपोर्ट दिए?

[पृष्ठ १६-मा भएका चित्रहरू]

सृष्टिले हामीलाई यहोवामाथि भरोसा राख्ने बलियो कारण दिन्छ

[स्रोत]

All three images: Courtesy of Anglo-Australian Observatory, photograph by David Malin

[पृष्ठ १८-मा भएको चित्र]

यहोवामाथि भरोसा राख्नुको अर्थ उहाँले भरोसा गर्नुहुने व्यक्‍तिहरूमाथि भरोसा राख्नु हो