सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धार्मिक सतावट किन?

धार्मिक सतावट किन?

धार्मिक सतावट किन?

तपाईंको विचारमा धर्मको कारण मानिसहरूलाई सताउनु ठीक हो? सायद होइन। भनौं भने, तिनीहरूले अरूको अधिकारमा हस्तक्षेप गर्दैनन्‌ भने त्यसो गर्नु ठीक देखिंदैन। तथापि, धार्मिक सतावटको लामो इतिहास छ र अहिले पनि सतावट छँदैछ। उदाहरणको लागि, युरोप तथा विश्‍वका अन्य भागमा बसोबास गर्ने यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रता बारम्बार हनन गरियो र २० औं शताब्दीको धेरैजसो समय तिनीहरूमाथि निर्दयी दुर्व्यवहार भयो।

त्यस अवधिभर यहोवाका साक्षीहरूले युरोपका दुई प्रमुख एकदलीय शासनअन्तर्गत अमानवीय ढंगमा, एक पछि अर्को गर्दै लामो समयसम्म सतावट भोग्नुपऱ्‍यो। तिनीहरूको अनुभवले हामीलाई धार्मिक सतावटबारे कस्तो पाठ सिकाउँछ? अनि तिनीहरूले सतावटप्रति देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं?

“संसारका होइनन्‌”

यहोवाका साक्षीहरू नियम पालन गर्ने, शान्तिप्रिय अनि नैतिक तवरमा निष्ठावान्‌ हुने प्रयास गर्छन्‌। तिनीहरू सरकारको विरोध गर्ने वा निहुँ खोज्ने गर्दैनन्‌ नता शहीद हुने चाहनाले सतावटमा पर्ने कोसिस गर्छन्‌। यी मसीहीहरू राजनैतिक तवरमा तटस्थ रहन्छन्‌। यो कुरा येशूका यी शब्दहरूसित मेल खान्छ: “जस्तो म संसारको होइनँ, [मेरा अनुयायीहरू] पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१६) प्रायजसो सरकारहरूले साक्षीहरूको तटस्थतालाई मान्यता दिन्छन्‌। तर एकदलीय व्यवस्थाका शासकहरूले भने मसीहीहरू यस संसारका भाग हुनुहुँदैन भन्‍ने बाइबलको आवश्‍यकतालाई त्यति आदर गर्दैनन्‌।

त्यसो हुनुको कारणबारे नोभेम्बर २००० मा जर्मनीको हाइडलवर्ग विश्‍वविद्यालयमा भएको गोष्ठीमा व्याख्या गरियो। त्यस गोष्ठीको मुख्य विषय, “दमन तथा आत्म-कटिबद्धता: यहोवाका साक्षीहरू राष्ट्रिय समाजवादी तथा साम्यवादी तानाशाहहरूका अधीनमा” भन्‍ने थियो। हानारेन्ट इन्स्टिच्युट फर रिसर्च इन्टु टोटलिटरियनिज्मका डा. क्लेमेन्स फोल्हानासले यसो भने: “एकदलीय व्यवस्थाले आफ्नो गतिविधि राजनीतिमा मात्र सीमित राख्दैन। तिनीहरू हरेकलाई नै पूर्णतया आफ्नो अधीनमा राख्न चाहन्छन्‌।”

साँचो मसीहीहरूले आफूलाई “पूर्णतया” मानव सरकारको सामु आत्मसमर्पण गर्न सक्दैनन्‌। किनभने तिनीहरूले आफ्नो पूरा निष्ठा यहोवा परमेश्‍वरप्रति मात्र कायम राख्ने शपथ खाइसकेका छन्‌। एकदलीय तानाशाहहरूको अधीनमा बाँचिरहेका साक्षीहरू कहिलेकाहीं राज्यले गरेको माग र आफ्नो धार्मिक विश्‍वासअनुरूप गर्नुपर्ने काम एकअर्कासित बाझिएको पाउँछन्‌। त्यस्तो परिस्थिति आइपर्दा तिनीहरूले के गरेका छन्‌? इतिहासअनुसार यहोवाका साक्षीहरूले आफ्नो जीवनमा येशू ख्रीष्टका चेलाहरूले व्यक्‍त गरेको यो सिद्धान्त पालन गरेका छन्‌: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९.

अत्यन्तै निर्दयी सतावटको बावजुद हजारौं साक्षीहरूले आफ्नो विश्‍वासमा निष्ठावान्‌ रहेर राजनैतिक गतिविधिहरूमा तटस्थ रहे। तिनीहरूले कसरी धैर्य धारण गर्न सके? तिनीहरूले त्यसो गर्ने बल कहाँबाट पाए? त्यसको जवाफ तिनीहरूले नै दिऊन्‌। अनि हामी चाहे साक्षी हौं वा नहोऔं, तिनीहरूको अनुभवबाट कस्तो पाठ सिक्न सक्छौं, हेरौं।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

जर्मनीमा यहोवाका साक्षीहरूले २० औं शताब्दीमा स्थापित दुइटै एकदलीय शासनहरूमा लामो समयसम्म अमानवीय सतावट भोगे

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“एकदलीय व्यवस्थाले आफ्नो गतिविधि राजनीतिमा मात्र सीमित राख्दैन। तिनीहरू हरेकलाई नै पूर्णतया आफ्नो अधीनमा राख्न चाहन्छन्‌।”—डा. क्लेमेन्स फोल्हानास

[पृष्ठ ४-मा भएको चित्र]

आफ्नो विश्‍वासको सम्झौता गर्न इन्कार गर्दा कुसेरो परिवारको स्वतन्त्रता हनन गरियो

[पृष्ठ ४-मा भएको चित्र]

आफ्नो धार्मिक विश्‍वासका कारण जोहानेस हार्म्सलाई नाजी झ्यालखानामा मृत्युदण्ड दिइयो