पहिले राज्यको खोजी गर्दा सुरक्षित तथा आनन्दित जीवन
जीवनी
पहिले राज्यको खोजी गर्दा सुरक्षित तथा आनन्दित जीवन
जेथा सुनालको वृत्तान्तमा आधारित
बिहानको चमेनापछि हामीले रेडियोमा यस्तो घोषणा सुन्यौं: “यहोवाका साक्षीहरू गैरकानुनी हुन्, तिनीहरूको काममा प्रतिबन्ध लगाइएको छ।”
त्यो वर्ष थियो, सन् १९५० र हामी चार जना २० वर्ष नाघिसकेका केटीहरू डोमिनिकन गणतन्त्रमा यहोवाका साक्षीहरूको मिसनरीको हैसियतमा सेवा गर्दै थियौं। हामी त्यहाँ गएको एक वर्ष भइसकेको थियो।
मिसनरी सेवा सधैं मेरो जीवनको लक्ष्य थिएन। हो, बच्चा छँदा म चर्च जान्थें। तर मेरो बुबाले प्रथम विश्वयुद्धको दौडान चर्च जान छोड्नुभयो। सन् १९३३ मा इपिस्कोपल चर्चले मलाई ग्रहण गर्ने दिनमा विशपले बाइबलबाट जम्मा एउटा शास्त्रपद पढे अनि त्यसपछि राजनीतिबारे कुरा गर्न थाले। आमालाई यत्ति सारो रिस उठ्यो कि उहाँले त्यस दिनदेखि चर्चमा कहिल्यै पाइला टेक्नुभएन।
हाम्रो जीवन शैली परिवर्तन भयो
मेरो आमाबुबा विलियम कार्ल र मेरी आडम्सको पाँच छोराछोरी थिए। छोराहरू चाहिं डन, जोयल र कार्ल थिए। मेरी बहिनी जोइ सबैभन्दा कान्छी थिइन् भने मचाहिं सबैभन्दा जेठी थिएँ। म १३ वर्षजतिको थिएँ होला, एक दिन स्कूलबाट घर फर्कंदा यहोवाका साक्षीहरूद्वारा प्रकाशित पुस्तिका आमाले पढिरहनुभएको थियो। त्यस पुस्तिकाको शीर्षक, द किंगडम, द होप अफ द वर्ल्ड थियो। उहाँले मलाई “सत्य यही हो” भन्नुभयो।
आमाले हामी सबैलाई उहाँले बाइबलबाट सिकिरहनुभएको कुरा बताउनुहुन्थ्यो। आफ्नो काम र वचन दुवैद्वारा उहाँले हामीलाई येशूको सल्लाहको महत्त्व बुझाउनुभयो: ‘पहिले उहाँको राज्य खोजी गर।’—मत्ती ६:३३.
म सधैं आमाको कुरा ध्यान दिएर सुन्दिनथें। एक चोटि मैले यसो भनें: “आमा, मलाई प्रचार गर्न बन्द गर्नुहोस् नत्र भने म अबदेखि भाँडा पुछ्ने काम गर्दिनँ।” तर उहाँले मसँग चतुऱ्याइँसाथ कुरा गरिरहनुभयो। उहाँले नियमित तवरमा हामी बच्चाहरूलाई सं.रा.अ.-को इलेनोइमा हाम्रो घर एल्महर्स्टको नजिकै बस्ने क्लारा रायनको घरमा बाइबल अध्ययनको लागि लैजानुहुन्थ्यो।
क्लाराले पियानो पनि सिकाउने गर्थिन्। वर्षेनी उनका विद्यार्थीहरूको पियानो-वादन कार्यक्रममा तिनले परमेश्वरको राज्य तथा पुनरुत्थानको आशाबारे कुरा गर्थिन्। मलाई संगीतमा चासो भएकोले मैले सात वर्षको उमेरदेखि भायोलिन बजाउन थालेकी हुँदा क्लाराको कुरा सुन्थें।
चाँडै, हामी बच्चाहरू आमासँग शिकागोको पश्चिमी भागको मण्डलीका सभाहरू धाउन थाल्यौं। बस तथा स्ट्रीट-कारमा लामो यात्रा गर्नुपर्थ्यो तर यो पहिले परमेश्वरको राज्य खोजी गर्ने हाम्रो प्रारम्भिक प्रशिक्षणको भाग थियो। सन् १९३८ मा आमाले बप्तिस्मा लिनुभएको तीन वर्षपछि म उहाँसँग शिकागोमा यहोवाका साक्षीहरूको अधिवेशनको लागि गएँ। यस अवसरको लागि फोनद्वारा जोडिएको ५० शहरहरूमध्ये त्यो एउटा थियो। त्यहाँ मैले सुनेको कुराले मेरो हृदय छोयो।
तैपनि संगीतमा मेरो अझै लगाव थियो। सन् १९३८ मा मेरो स्कूलको पढाइ सिद्धियो र बुबाले मलाई शिकागोमा अमेरिकन कन्सर्भेटरी अफ म्युजिकमा पढ्नको लागि मिलाइदिनुभएको थियो। त्यसैले त्यसपछिका दुई वर्ष मैले संगीत पढें, दुइटा अर्केस्ट्रामा बजाएँ र त्यसै क्षेत्रमा आफ्नो पेसा बनाउने विचार गरें।
भायोलिनको मेरो शिक्षक हर्बट बटलर युरोप छोडेर संयुक्त राज्य अमेरिका आउनुभएको थियो। त्यसैले मैले, उहाँले पढ्नुहुन्छ होला भनेर रेफुजी a भन्ने पुस्तिका दिएँ। उहाँले पढ्नुभयो र अर्को हप्ता मेरो कक्षापछि उहाँले यसो भन्नुभयो: “जेथा, तिमी एकदमै राम्रो बजाउँछ्यौ र तिमीले यससम्बन्धी पढाइ छाडिनौ भने तिमीले रेडियोको अर्केस्ट्रामा वा संगीत सिकाउने क्षेत्रमा काम पाउन सक्छ्यौ। तर . . . ” मैले उहाँलाई दिएको पुस्तिकातर्फ देखाउँदै भन्नुभयो, “मलाई तिम्रो मन यसमा छ जस्तो लाग्छ। त्यसकारण यसलाई नै तिम्रो जीवनको पेसा बनाए कसो होला?”
मैले यसबारे गम्भीरतासाथ सोचें। संगीत स्कूलमै मेरो शिक्षा पूरा गर्नुको सट्टा मैले डिटरोइट, मिशिगनमा
जुलाई १९४० मा यहोवाका साक्षीहरूको अधिवेशन जाने आमाको निमन्त्रणा स्वीकारें। अस्थायी पाल र ट्रेलरहरूमा हामी बस्यौं। मैले आफ्नो भायोलिन सँगै लगें र अधिवेशनको अर्केस्ट्रामा बजाएँ। तर त्यस अस्थायी आवास क्षेत्रमा मैले थुप्रै अग्रगामीहरू (पूर्ण-समय सुसमाचारकहरू) भेटें। तिनीहरू सबै आनन्दित मानिसहरू थिए। मैले बप्तिस्मा लिएर अग्रगामी सेवाको लागि आवेदन बुझाउने निर्णय गरें। मैले यहोवालाई जिन्दगीभर पूर्ण-समय सेवकाईमा लाग्न मदतको लागि प्रार्थना गरें।मैले आफ्नै गृह नगरमा अग्रगामीको काम थालें। पछि म शिकागो गएँ। सन् १९४३ मा चाहिं केन्टकी सरें। त्यस वर्षको गर्मीमा जिल्ला अधिवेशनअघि मैले गिलियड स्कूलको दोस्रो कक्षामा सहभागी हुने निमन्त्रणा पाएँ र त्यहाँ मैले मिसनरी सेवाको लागि प्रशिक्षण पाउने थिएँ। त्यो कक्षा सेप्टेम्बर सन् १९४३ मा सुरु हुने थियो।
त्यस गर्मीमा अधिवेशनको दौडान म एक जना साक्षीसित बसेकी थिएँ र उनले मलाई उनको छोरीका लुगाहरू देखाएर मलाई मन लाग्ने सबै लिए हुन्छ भनिन्। उनकी छोरी सेनामा गएकी रहेछिन् र उनले आफ्नी आमालाई उनका लुगाहरू सबै अरूलाई दिइदिनु भनेकी रहेछिन्। मलाई त यी सबै येशूको प्रतिज्ञाको पूर्ति थियो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) गिलियडमा पाँच महिना चाँडै बित्यो र जनवरी ३१, १९४४ मा स्नातकपछि म मिसनरी सेवामा जान उत्सुक थिएँ।
तिनीहरूले पनि पूर्ण-समय सेवा रोजे
आमाले सन् १९४२ देखि पूर्ण-समय सेवा थाल्नुभएको थियो। त्यतिबेला मेरा तीन जना भाइ र बहिनी स्कूलमा पढ्दै थिए। आमाले तिनीहरूलाई अक्सर स्कूलपछि क्षेत्र सेवकाईमा लैजानुहुन्थ्यो। उहाँले तिनीहरूलाई घरको काम गर्न पनि सिकाउनुभयो। उहाँ आफै पनि दिउँसोको समय सेवकाईमा जानको लागि राति अबेरसम्म लुगा इस्त्री गर्ने र अरू घरधन्दा गर्नुहुन्थ्यो।
जनवरी १९४३ मा म केन्टकीमा छँदै मेरो भाइ डनले अग्रगामी गर्न थाले। तर बुबा खुसी हुनुहुन्न थियो किनभने आमा र उहाँले जस्तै आफ्ना सबै बच्चाहरूले कलेजको शिक्षा हासिल गरेको चाहनुहुन्थ्यो। झन्डै दुई वर्ष अग्रगामी गरेपछि डनलाई न्यु योर्कको ब्रूकलिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा सेवा गरेर पूर्ण-समय सेवकाईलाई निरन्तरता दिन निमन्त्रणा दिइयो।
जोयलले घरमै छँदा जून १९४३ देखि अग्रगामी गर्न थाले। त्यतिबेला तिनले बुबालाई अधिवेशन जान मनाउन धेरै प्रयास गरे तर उहाँ मान्नुभएन। तथापि, जोयलले त्यस इलाकामा बाइबल अध्ययन स्थापना गर्ने धेरै प्रयास गरे तापनि कोही नपाएपछि बुबा “द ट्रुथ श्याल मेक यु फ्रि” पुस्तकबाट अध्ययन गर्न राजी हुनुभयो। उहाँले प्रश्नको जवाफ त सजिलै दिनुहुन्थ्यो तर उहाँले जोयललाई पुस्तकमा लेखिएका कुराहरूको धर्मशास्त्रीय प्रमाण सोध्नुहुन्थ्यो। यसले जोयललाई सच्चाइ आफ्नै बनाउन मदत गऱ्यो।
डनलाई सेवक भएको कारण सैन्य सेवाबाट छुट दिएको सेलेक्टिभ सर्भिस बोर्डले आफूलाई पनि छुट दिनेछ भनी जोयलले आशा गरेका थिए। तर त्यो बोर्डले जोयल भर्खरको केटा भएकोले तिनलाई सेवकको रूपमा वर्गीकरण गर्न इन्कार गऱ्यो र सैन्य सेवाको लागि हाजिर हुन सूचना पठायो। सेनामा भर्ती हुन इन्कार गरेपछि तिनलाई पक्राउ पुर्जी दिइयो। एफ बि आइ-ले तिनलाई भेट्टाएपछि तिनले कूक काउन्टी जेलमा तीन दिन बिताउनुपऱ्यो।
तिनलाई छुटाउन बुबाले हाम्रो घर जमानतमा राख्नुभयो। त्यसपछि त्यस्तै परिस्थितिमा परेका अरू जवान साक्षीहरूको लागि पनि उहाँले त्यसै गर्नुभयो। यस्तो अन्याय देखेर बुबा क्रोधित हुनुभयो र अपिल गर्न सम्भव छ कि छैन भनेर बुझ्न
उहाँ जोयलसँग वाशिंगटन डि.सी. जानुभयो। बल्लतल्ल जोयललाई सेवक भनेर वर्गीकरण गरियो र तिनी विरुद्ध लगाइएको मुद्धा रद्द भयो। म मिसनरी सेवामा छँदा बुबाले मलाई पत्रमा यस्तो लेख्नुभयो, “सायद हामीले यस जीतको लागि यहोवालाई श्रेय दिनुपर्छ!” अगस्त १९४६ को अन्ततिर जोयललाई पनि ब्रूकलिनमा मुख्यालयको सदस्यको रूपमा सेवा गर्न निम्तो आइसकेको थियो।कार्लले पनि १९४७ को सुरुतिर स्कूल बिदा हुँदा समय-समयमा अग्रगामी गर्थे र स्कूल सिद्धिएपछि चाहिं नियमित अग्रगामी सुरु गरे। त्यतिबेलासम्म बुबाको स्वास्थ्य कमजोर हुन थालिसकेको थियो। त्यसैले कार्ल अर्कै ठाउँमा अग्रगामी सेवाको लागि नजाउन्जेल तिनले उहाँलाई व्यापारमा सघाए। सन् १९४७ को अन्ततिर कार्ल पनि डन र जोयलसँग ब्रूकलिन बेथेल परिवारको सदस्यको रूपमा मुख्यालयमा सेवा गर्न थाले।
जोइले पनि स्कूल सिद्धिएपछि अग्रगामी गर्न थालिन्। त्यसपछि १९५१ मा तिनले पनि आफ्ना दाइहरूसँगै बेथेलमा सेवा गर्न थालिन्। तिनले हाउसकिपिङ र ग्राहक विभागमा काम गरिन्। सन् १९५५ मा तिनले बेथेल परिवारकै एक जना सदस्य रजर मोर्गनसित विवाह गरिन्। विवाह गरेको सात वर्षपछि आफ्नो परिवार बसाल्न तिनीहरूले बेथेल छोडे। समयको अन्तरालमा तिनीहरूको छोरा र छोरी भए अनि उनीहरूले पनि यहोवाकै सेवा गर्छन्।
सबै बच्चाहरू पूर्ण-समय सेवामा लागेपछि आमाले बुबालाई पनि यहोवाप्रति आफ्नो जीवन समर्पण गर्न आवश्यक प्रोत्साहन दिनुभयो र उहाँले पनि १९५२ मा बप्तिस्मा लिनुभयो। त्यसपछिको १५ वर्ष उहाँको मृत्यु नभएसम्म आफ्नो रोगको कारण त्यति चलहल गर्न नसके तापनि बुबाले अरूलाई राज्यको सत्य बताउने नयाँ नयाँ तरिकाहरू भेट्टाउनुभयो।
बुबाको बिमारीको कारण केही समयको लागि अग्रगामी कार्य छोड्नुभए तापनि आमाले पछि आफ्नो मृत्युसम्म अग्रगामी गर्नुभयो। उहाँले कहिल्यै गाडी चलाउनुभएन न ता साइकल नै चढ्नुभयो। आमा, सानो कदको हुनुहुन्थ्यो र जता पनि हिंडेर नै जानुहुन्थ्यो अनि अक्सर परको गाउँसम्म बाइबल अध्ययन सञ्चालन गर्न पुग्नुहुन्थ्यो।
मिसनरी सेवामा
गिलियड स्कूलबाट स्नातक गरेपछि यात्रा गर्नको लागि आवश्यक कागजातहरू तयार नभएसम्म हाम्रो एउटा समूहले एक वर्षको लागि न्यु योर्क शहरको उत्तरी भागमा अग्रगामी गऱ्यौं। बल्ल १९४५ मा हामी आफू खटाइएको देश क्युबा गयौं र बिस्तारै त्यहाँको रहनसहनमा घुलमिल हुन थाल्यौं। हाम्रो प्रचारकार्यप्रति मानिसहरूको प्रतिक्रिया राम्रो थियो र चाँडै थुप्रै बाइबल अध्ययनहरू सुरु भए। हामीले त्यहाँ केही वर्ष सेवा गऱ्यौं। त्यसपछि हामीलाई डोमिनिकन गणतन्त्रमा खटाइयो। एक दिन मैले एक जना आइमाई भेटेकी थिएँ र उनले मलाई सुज्यान इफ्रोइ नाउँ गरेको उनको फ्रान्सेली ग्राहकलाई भेट्न आग्रह गरिन् किनभने तिनी बाइबलबारे बुझ्ने मदत चाहन्थिन्।
सुज्यान यहूदी थिइन् र हिटलरले फ्रान्समा आक्रमण गर्दा तिनको पतिले तिनी र तिनको दुई जना बच्चालाई अर्को देशमा लगेका थिए। सुज्यानले आफूले सिकेको कुरा
चाँडै अरू मानिसहरूलाई बताउन थालिन्। तिनले सबैभन्दा पहिला मलाई तिनीसित भेटाइदिने महिलासित कुरा गरिन् र त्यसपछि फ्रान्सको साथी ब्लाँशेसित कुरा गरिन्। दुवै जनाले प्रगति गरेर बप्तिस्मा लिए।“मैले आफ्ना बच्चाहरूलाई कसरी मदत गर्न सक्छु?” भनेर सुज्यानले मलाई सोधिन्। तिनको छोराले चिकित्साशास्त्र पढिरहेको थियो भने छोरीचाहिं न्यु योर्कको रेडियो सिटी म्युजिक हलमा नाच्ने आशामा ब्यालेट सिक्दै थिइन्। सुज्यानले तिनीहरू दुवैलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाइदिए। फलस्वरूप सुज्यानको छोरा, बुहारी र बुहारीको जुम्ल्याह बहिनी सबै साक्षी भए। सुज्यानको श्रीमान् लुइ आफ्नी श्रीमतीले यहोवाका साक्षीहरूप्रति देखाएको चासो देखेर डराएका थिए किनभने त्यतिबेलासम्म डोमिनिकन गणतन्त्रको सरकारले हाम्रो काममा प्रतिबन्ध लगाइसकेको थियो। तर पूरै परिवार संयुक्त राज्य अमेरिकामा सरेपछि तिनी पनि साक्षी भए।
प्रतिबन्धित भए तापनि सेवा गर्दै
डोमिनिकन गणतन्त्रमा हामीलाई खटाइएको साल १९४९ को केही समय नबित्दै यहोवाका साक्षीहरूको काममा प्रतिबन्ध लगाइए तापनि हामी मानिसको भन्दा परमेश्वरको आज्ञा पालन गर्न कटिबद्ध थियौं। (प्रेरित ५:२९) येशूले आफ्ना अनुयायीहरूलाई निर्देशन दिनुभएझैं अरूलाई राज्यको सुसमाचार सुनाएर पहिले परमेश्वरको राज्यको खोजी गरिरह्यौं। (मत्ती २४:१४) तथापि, प्रचारकार्यमा जाँदा हामीले “सर्पझैं चनाखो र ढुकुरझैं सोझो” हुन सिक्यौं। (मत्ती १०:१६) उदाहरणका लागि, मेरो भायोलिन ठूलो मदत साबित भयो। बाइबल अध्ययन सञ्चालन गर्न जाँदा पनि म यो आफूसँगै लैजान्थें। मेरा विद्यार्थीहरू भायोलिन वादक त भएनन् तर थुप्रै परिवारहरू यहोवाका सेवक भए!
प्रतिबन्ध लगाएपछि हामी चार जना केटीहरू, मेरी आन्योल, सोफिया सोभियाक, एडिथ मोर्गान र मलाई सान फ्रान्सिसको डे माकोरिसको मिसनरी घरबाट राजधानी सान्टो डोमिंगोको शाखा कार्यालयमा रहेको मिसनरी घरमा सारियो। तर हरेक महिना म हाम्रो पुरानो असाइनमेन्टमा संगीत सिकाउन जान्थें। यसरी भायोलिनको बाकसमा मैले हाम्रा मसीही भाइहरूको लागि आध्यात्मिक भोजन लैजान सक्थें र फर्केर आउँदा तिनीहरूको प्रचार गतिविधिको रिपोर्ट लिएर आउँथे।
सान फ्रान्सिसको डे माकोरिसका भाइहरूलाई मसीही तटस्थताको कारण सान्टिगोमा कैदमा राख्दा मलाई उनीहरूको लागि पैसा र मिल्छ भने, बाइबल पनि लगिदिन अनि फर्केर आउँदा तिनीहरूको परिवारलाई तिनीहरूको सन्चोबिसन्चोको समाचार ल्याइदिन आग्रह गरियो। सान्टिगोको जेलमा गार्डहरूले मैले काखीमा भायोलिनको बाकस बोकेको देख्दा तिनीहरूले “त्यसको काम के हो?” भनेर सोधे। मैले जवाफमा “उहाँहरूको मनोरञ्जनको लागि” भनें।
मैले बजाएको गीतहरूमध्ये एउटा, एक जना साक्षीले नाजी यातना शिविरमा हुँदा लेखेको गीत थियो। अहिले त्यो गीत यहोवाका साक्षीहरूको संगीत पुस्तकमा २९ नम्बरमा छ। कैदमा परेका हाम्रा भाइहरूले गाउन सिकून् भनेर मैले यो गीत बजाएँ।
थुप्रै साक्षीहरूलाई सरकार प्रमुख ट्रुजिलोको फार्ममा लगिएको कुरा मैले थाह पाएँ।
त्यो ठाउँ बस रुटमा पर्दैन भनेर मलाई बताइयो। त्यसैले दिउँसोतिर बसबाट ओर्लेर त्यहाँ जाने बाटो साधें। एउटा सानो पसलको साहूले डाँडापारिको ठाउँतिर देखाए र तिनले मेरो भायोलिन ग्यारेन्टीको रूपमा छोडेको खण्डमा तिनको घोडा र डोऱ्याउन एक जना केटा पठाउने प्रस्ताव राखे।ती डाँडापारि हामीले नदी तर्नुपर्ने थियो र हामी दुवै जना घोडा चढेर तऱ्यौं। घामको किरणमा टिलपिल टल्किरहेको हरियो र नीला पखेटाहरू भएका सुगाहरूको एक बथान मैले देखें। त्यो दृश्य असाध्यै मनमोहक थियो! मैले प्रार्थना गरें: “हे यहोवा, तिनीहरूलाई असाध्यै राम्रो बनाउनुभएकोमा तपाईंलाई धन्यवाद छ।” बल्लतल्ल दिउँसो चार बजे हामी फार्ममा आइपुग्यौं। त्यहाँका सेना प्रमुखले मलाई दयापूर्वक भाइहरूसँग कुरा गर्न दिए र तिनले मैले आफूसँग ल्याएको सानो बाइबललगायत सबै कुरा दिने अनुमति दिए।
त्यहाँबाट फर्कंदा बाटोभरि प्रार्थना गर्दै आएँ किनभने अँध्यारो भइसकेको थियो। हामी पानीमा निथ्रुक्क भिज्दै त्यो पसलमा आइपुग्यौं। त्यस दिनको अन्तिम बस पनि हिंडिसकेकोले मैले साहूलाई एउटा ट्रक रोकिदिन भनें। म दुई जना अपरिचित मान्छेहरूसँग कसरी ट्रकमा जाने? तिनीहरूमध्ये एक जनाले मलाई सोधे: “तपाईंले सोफिलाई चिन्नुहुन्छ? तिनले मेरी बहिनीसँग अध्ययन गरेकी थिइन्।” यो यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभएको जस्तो लाग्यो! तिनीहरूले मलाई सुरक्षित रूपमा सान्टो डोमिंगोसम्म पुऱ्याइदिए।
सन् १९५३ मा न्यु योर्कको यांकी रंगशालामा यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशनमा डोमिनिकन गणतन्त्रबाट उपस्थित भएकाहरूमध्ये म पनि थिएँ। मेरो बुबालगायत मेरो सम्पूर्ण परिवार त्यहाँ थियो। डोमिनिकन गणतन्त्रमा प्रचारकार्यमा भएको प्रगति रिपोर्ट सुनाएपछि मेरो मिसनरी साथी मेरी आन्योल र मैले प्रतिबन्धको बेला हामी कसरी प्रचार कार्य गर्छौं भनेर सानो प्रदर्शन गरेर देखायौं।
परिभ्रमण कार्यमा विशेष आनन्द
त्यस वर्षको गर्मीमा मेरो भेट रुडोल्फ सुनालसँग भयो र त्यसपछिको वर्ष उहाँसँग मेरो विवाह भयो। उहाँको परिवार प्रथम विश्वयुद्धको केही समयपछि पेन्सल्भेनियास्थित एलेगेनीमा साक्षी भएको थियो। दोस्रो विश्वयुद्धको दौडान मसीही तटस्थताको कारण जेल सजाय भोगेपछि उहाँ न्यु योर्कको ब्रूकलिनमा बेथेल सेवा गर्दै हुनुहुन्थ्यो। हाम्रो विवाहको केही समयपछि उहाँलाई परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गर्न निमन्त्रणा दिइयो। त्यसपछिको अर्को १८ वर्ष म उहाँसँगै क्षेत्रीय काममा गएँ।
हामी क्षेत्रीय कामको सिलसिलामा पेन्सल्भेनिया, वेस्ट भर्जिनिया, न्यु ह्यामशायर र म्यासाचुसेट्सलगायत अरू ठाउँहरू गयौं। हामी अक्सर हाम्रा मसीही भाइहरूसँग बस्थ्यौं। उहाँहरूलाई राम्ररी चिनेर सँगसँगै यहोवाको सेवा गर्न पाउनु विशेष आनन्दको कुरा थियो। हामीप्रति देखाइएको प्रेम र आतिथ्य सधैं न्यानो र साँचो थियो। जोयलले मेरो पहिलेको मिसनरी साथी मेरी आन्योलसित विवाह गरेपछि तिनीहरूले पनि तीन वर्ष पेन्सल्भेनिया र मिशिगनका मण्डलीहरूमा परिभ्रमण कार्यमा बिताए। त्यसपछि
१९५८ मा जोयललाई फेरि यसपालि मेरीसँगै पुनः बेथेल परिवारको सदस्य हुन बोलाइयो।कार्ल बेथेलमै भएको सात वर्ष जति भइसकेको थियो र त्यसपछि तिनलाई थप अनुभव बटुल्न केही महिनाको लागि क्षेत्रीय काममा पठाइयो। पछि तिनी गिलियड स्कूलका प्रशिक्षक भए। सन् १९६३ मा तिनले बबीसँग विवाह गऱ्यो र बबीले सन् २००२ अक्टोबरमा आफ्नो मृत्यु नहोउन्जेल बेथेलमै विश्वासी रहेर सेवा गरिन्।
निकै वर्षको बेथेल सेवाको दौडान डन समय-समयमा शाखा कार्यलय तथा मिसनरी काम गरिरहेकाहरूलाई भेट्न विभिन्न देशहरूमा यात्रा गर्छन्। तिनी आफ्नो कार्यकै सिलसिलमा पूर्वीय देशहरू, अफ्रिका, युरोप र अमेरिकाको विभिन्न ठाउँमा पुगिसकेका छन्। डनकी वफादार पत्नी डोलरिस पनि अक्सर तिनीसँगै जान्छिन्।
हाम्रो परिस्थिति परिवर्तन भयो
धेरै लामो समयको बिरामीपछि बुबाको मृत्यु भयो तर मर्नुअघि उहाँले मलाई आफूले यहोवाको सेवा गर्ने छनौट गरेको कारण धेरै आनन्दित भएको कुरा बताउनुभयो। उहाँले हामीबाट चाहनुभएको कलेजको शिक्षा हासिल गरेको भए यति धेरै आशिष्हरू पाउँदैन थियौं भनेर बताउनुभयो। मेरी बहिनी जोइ भएको ठाउँ नजिकै सर्न आमालाई मदत गरेपछि मेरो श्रीमान् र मैले न्यु इंग्ल्याण्डमा अग्रगामीको काम स्वीकाऱ्यौं जसले गर्दा हामी सासुसँगै हुन सक्थ्यौं किनभने उहाँलाई हाम्रो मदतको आवश्यकता थियो। मेरी सासुको मृत्युपछि आमाले हामीसँग १३ वर्ष बिताउनुभयो। अनि जनवरी १८, सन् १९८७ मा उहाँले ९३ वर्षको उमेरमा आफ्नो पार्थिव सेवकाई पूरा गर्नुभयो।
साथीहरूले उहाँलाई बारम्बार सबै छोराछोरीलाई यहोवाको प्रेम र सेवामा हुर्काएको सराहना गर्दा आमाले नम्र भई यस्तो जवाफ दिनुहुन्थ्यो: “तिनीहरू सबै असल ‘जमीन’ भएकोले मात्र हो।” (मत्ती १३:२३) जोस र नम्रतामा असल उदाहरण बसाल्नुभएको ईश्वर-भीरु आमाबाबु हुनु कस्तो आशिष्को कुरा हो!
परमेश्वरको राज्य अझै पनि पहिलो
हामीले आफ्नो जीवनमा अझै पनि परमेश्वरको राज्यलाई नै प्राथमिकता दिएका छौं र अरूलाई उहाँबारे बताउने येशूको सल्लाह पालन गर्न कडा मेहनत गरेका छौं। (लूका ६:३८; १४:१२-१४) यहोवाले पनि उदारतासाथ हामीलाई आफ्ना आवश्यकताहरू पूरा गरिदिनुभएको छ। हाम्रो जीवन सुरक्षित तथा आनन्दित भएको छ।
रुडी र मलाई अझै पनि संगीत मन पर्छ। संगीत मन पराउने अन्य व्यक्तिहरू साँझ हाम्रो घरमा आएर सँगै बाजाहरू बजाउँदा रमाइलो हुन्छ। तर संगीत मेरो पेसा होइन। यो त जीवनको थप आनन्द मात्र हो। अहिले म र मेरो श्रीमान् हाम्रो अग्रगामी सेवकाईको फल अर्थात् हामीले वर्षौंको दौडान मदत गरेका मानिसहरूको उन्नति हेरेर रमाउँछौं।
अहिले स्वास्थ्य समस्याहरू भए तापनि ६० वर्ष पूर्ण-समय सेवकाईमा बिताएको हाम्रो जीवन आनन्दित तथा सुरक्षित भएको छ भनेर हामी भन्न सक्छौं। हरेक बिहान म उठेपछि पूर्ण-समय सेवकाईमा प्रवेश गर्नुअघि यहोवालाई प्रार्थना गर्दा उहाँले सुन्नुभएकोमा धन्यवाद दिन्छु र भन्छु, “अझै म कसरी पहिले राज्यको खोजी गर्न सक्छु?’
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।
[पृष्ठ २४-मा भएको चित्र]
सन् १९४८ मा हाम्रो परिवार (बायाँदेखि दायाँ): जोइ, डन, आमा, जोयल, कार्ल, म र बुबा
[पृष्ठ २५-मा भएको चित्र]
आमाले सेवकाईमा जोसिलो उदाहरण बसाल्नुभयो
[पृष्ठ २६-मा भएको चित्र]
आज कार्ल, डन, जोयल, जोइ र म झन्डै ५० वर्षपछि
[पृष्ठ २७-मा भएको चित्र]
बायाँदेखि दायाँ: म, मेरी आन्योल, सोफिया सोभियाक, एडिथ मोर्गान डोमिनिकन गणतन्त्रमा मिसनरीको हैसियतमा
[पृष्ठ २८-मा भएको चित्र]
मेरीसँग (बायाँ) यान्की रंगशालामा, १९५३
[पृष्ठ २९-मा भएको चित्र]
मेरो श्रीमान् क्षेत्रीय काममा हुँदा उहाँसँगै