सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बदलिंदो परिस्थितिको सदुपयोग गर्नुहोस्‌

बदलिंदो परिस्थितिको सदुपयोग गर्नुहोस्‌

बदलिंदो परिस्थितिको सदुपयोग गर्नुहोस्‌

पम, यान, ड्रेइस र ओटो चारै जना नेदरल्याण्ड्‌समा बसोबास गर्ने प्राचीनहरू हुन्‌ र तिनीहरूमाझ धेरै कुरा समान पाइन्छ। सबै विवाहित हुन्‌ र बालबच्चा छन्‌। साथै, केही वर्षअघिसम्म तिनीहरूको पूर्ण-समय जागिर थियो र सुविधा सम्पन्‍न घरमा बस्थे। तथापि, तिनीहरू सबैले आफ्नो जागिर छोडेर परमेश्‍वरको राज्यसम्बन्धी काम विस्तार गर्न समय र शक्‍ति खर्च गर्न थाले। तिनीहरूलाई कुन कुराले यस्तो परिवर्तन गर्न मदत दियो? तिनीहरू चारै जनाले बदलिंदो परिस्थितिको सदुपयोग गरे।

बदलिंदो परिस्थितिले आखिरमा हामी सबैलाई असर गर्छ। विवाह, बच्चाहरू वा वृद्ध आमाबाबुको हेरचाहजस्ता परिवर्तनहरूले थप जिम्मेवारीहरू ल्याउँछ। तथापि, कहिलेकाहीं यस्ता परिवर्तनले हाम्रो मसीही सेवकाई विस्तार गर्न बढी स्वतन्त्रता दिन्छ। (मत्ती ९:३७, ३८) उदाहरणका लागि, हाम्रा हुर्किसकेका छोराछोरी अलग्गै बस्लान्‌ वा हामीले जागिरबाट अवकाश पाऔंला।

साथै, हाम्रो चाहना होस्‌ वा नहोस्‌, परिस्थिति परिवर्तन हुन सक्छ तर कोही-कोही मसीहीहरूले आफ्नो परिस्थिति आफैले परिवर्तन गरेर सेवकाईमा सहभागिता बढाउने बाटो खोजेका छन्‌। पम, यान, ड्रेइस र ओटोले यस्तै गरे। कसरी?

जब छोराछोरी अलग्गै बस्छन्‌

पम एउटा औषधी कम्पनीमा लेखापालको काम गर्थे। तिनी र तिनकी पत्नी आनी आफ्ना दुई जना छोरीसित अक्सर सहायक अग्रगामी गर्थे। पम र आनीले अग्रगामी सेवकाईमा लागेका अरू व्यक्‍तिहरूसँगै मनोरञ्जन गर्न पनि समय मिलाउँथे। “यसो गर्दा अन्य प्रकारका सरसंगतिले ल्याउन सक्ने समस्याहरूबाट सुरक्षित भयौं,” भनी तिनीहरू बताउँछन्‌। आफ्ना आमाबाबुको उदाहरणबाट प्रभावित भएर दुवै छोरीले स्कूलको पढाइ सिध्याएपछि नियमित अग्रगामी गर्न थाले।

तिनीहरूका छोरीहरू अलग्गै बस्न थाल्दा पम र आनीले यस बदलिंदो परिस्थितिमा थप स्वतन्त्रता पाउनुका साथै खर्च बचेको महसुस गरे। यसलाई तिनीहरूले रमाइलो ठाउँहरूमा घुम्न जान वा अन्य प्रकारका मनोरञ्जनमा प्रयोग गर्न सक्थे। तथापि, यी दम्पतीले यो बदलिंदो परिस्थितिलाई आफ्नो मसीही सेवकाई विस्तार गर्न प्रयोग गर्ने निधो गरे। अतः पमले आफ्नो मालिकसित हप्तामा एक दिन कम काम गर्ने अनुमति मागे। पछि, पमले बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म काम गर्ने प्रबन्ध मिलाए। निस्सन्देह, थोरै समय काम गर्दा कम खर्चले सबै बन्दोबस्त मिलाउनुपऱ्‍यो। तैपनि, तिनीहरू सफल भए अनि सन्‌ १९९१ मा नियमित अग्रगामी गर्न पमले आफ्नी पत्नीलाई साथ दिए।

पछि, पमलाई यहोवाका साक्षीहरूको सम्मेलन भवनको सहायक रखवाला हुन आग्रह गरियो। यो निमन्त्रणा स्वीकार्नुको मतलब यी दम्पतीले ३० वर्ष बिताएको घर छोडेर सम्मेलन भवनको अपार्टमेन्टमा सर्नुपर्ने थियो। तिनीहरू त्यहाँ सरे। के यसो गर्न गाह्रो भयो? आनी भन्छिन्‌, जब जब उनलाई आफ्नो घर सम्झेर न्यास्रो लाग्थ्यो, उनी आफैलाई यस्तो प्रश्‍न गर्थिन्‌, ‘के म लूतकी पत्नीजस्तै हुँ र?’ उनले “पछाडि फर्केर” हेरिनन्‌।—उत्पत्ति १९:२६; लूका १७:३२.

पम र आनी आफूले गरेको निर्णयबाट थुप्रै आशिष्‌ पाएको महसुस गर्छन्‌। अरू थुप्रै कुराहरूमध्ये तिनीहरूलाई सम्मेलन भवनको हेरचाह, जिल्ला अधिवेशनको लागि तयारी अनि उक्‍त भवनमा भाषण दिने क्षेत्रीय निरीक्षकहरूलाई (परिभ्रमण सेवकहरू) भेट्‌न पाउँदा रमाइलो लाग्छ। कहिलेकाहीं पमले कायममुकायम क्षेत्रीय निरीक्षकको हैसियतमा सेवा गर्ने हुँदा तिनीहरू विभिन्‍न मण्डलीहरूमा भ्रमण गर्न जान्छन्‌।

यसरी आफ्नो सेवा विस्तार गर्न यी दम्पती कसरी सफल हुन सके? पम यसो भन्छिन्‌: “तपाईंको जीवनमा ठूलो परिवर्तन आउँदा त्यो नयाँ परिस्थितिको यथासम्भव सदुपयोग गर्न कटिबद्ध हुनुपर्छ।”

जीवन सरल बनाउने

यान र तिनकी पत्नी वोटका तीन जना छोराछोरी छन्‌। पम र तिनको परिवारजस्तै यानले आफ्नो बदलिंदो परिस्थितिको पूरापूर सदुपयोग गरे। यानले राम्रो आय आर्जन हुने बैंकको जागिर खाएको वर्षौं भइसकेको थियो। तिनले आफ्नो परिवारको लागि आरामदायी जीवन दिइरहेका थिए। तथापि, तिनले आफ्नो सेवकाई विस्तार गर्ने निकै चाहना गर्न थाले। तिनी यसो भन्छन्‌: “समयको दौडान सत्य र यहोवाप्रति मेरो प्रेमको मूल्यांकन गहिरिंदै गयो।” त्यसैले सन्‌ १९८६ मा यानले आफ्नो परिस्थितिमा परिवर्तन गर्न थाले। तिनी यसो भन्छन्‌: “मैले अफिसमा भएको पुनर्गठनको फाइदा उठाएर कम घण्टा काम गर्न थालें। तीन छक परेका मेरा सहकर्मीहरूले मलाई डिवोडो भन्‍न थाले किनभने म डिन्सडाग [मंगलबार], वोन्सडाग [बुधबार] र डोन्डरडाग [बिहीबार] मात्र काम गर्थें। यसो गर्दा मेरो तलब ४० प्रतिशतले कम भयो। मैले हाम्रो घर बेचें अनि राज्य प्रकाशकहरूको बढी आवश्‍यकता भएको ठाउँमा सेवा गर्न हाउसबोट किनें। पछि मैले चाँडै अवकाश लिने प्रबन्धको फाइदा उठाएँ; मेरो आम्दानी थप २० प्रतिशतले कम भयो तर सन्‌ १९९३ मा मैले नियमित अग्रगामीको रूपमा सेवा थाल्न सकें।

आज, यान अस्पताल सम्पर्क समितिको सदस्य अनि नियमित तवरमा अधिवेशन निरीक्षकको हैसियतमा सेवा गर्दैछन्‌। कमजोर स्वास्थ्यको बावजुद वोट बेलाबेलामा सहायक अग्रगामी गर्छिन्‌। तीनै जना छोराछोरीको विवाह भइसक्यो र तिनीहरू आ-आफ्ना जोडीसित परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरूको हैसियतमा सेवा गर्दैछन्‌।

यान र वोटले कसरी कम खर्चले जीविका चलाउन सकेका छन्‌? यान भन्छन्‌, “हामीसित प्रशस्त सरसम्पत्ति हुँदा हामीले कहिले पनि भौतिक कुराहरूप्रति मोह विकास गरेनौं। अहिले कहिलेकाहीं कुनै कुरा पाउन अलि पर्खनुपर्दा अप्ठ्यारो त हुन्छ तर त्यो अभाव हामीले प्रशस्त मात्रामा पाएको आध्यात्मिक आशिष्‌ र सुअवसरको तुलनामा केही पनि होइन।”

यान र वोटजस्तै ड्रेइस र तिनकी पत्नी जेनीले पनि परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई प्राथमिकता दिन आफ्नो जीवन सरल बनाउने निर्णय गरे। ड्रेइस र जेनी, बच्चा जन्मनुअघिसम्म अग्रगामी गरिरहेका थिए। पछि आफ्नो परिवारको हेरचाह गर्न ड्रेइसले एउटा ठूलो कम्पनीमा सेक्रेटरीको हैसियतमा काम गरे। तिनका मालिकहरूले तिनको काम देखेर खुसी भई पदोन्‍नति गर्ने प्रस्ताव राखे। तथापि, ड्रेइसले यो पदोन्‍नति स्वीकारेनन्‌ किनभने यसो गर्दा मसीही गतिविधिको लागि कम समय मात्र हुनेथियो।

परिवारको लालनपालनका साथै जेनीको बिरामी आमाको स्याहार गर्नुपर्दा दम्पतीले आफ्नो समय र शक्‍ति निकै खर्च गर्नुपऱ्‍यो। तैपनि, तिनीहरूले अग्रगामी मनोभाव खेती गर्न कहिल्यै छोडेनन्‌। यसो गर्न तिनीहरूलाई कुन कुराले मदत गऱ्‍यो? जेनी यसरी बताउँछिन्‌: “हामीसित अग्रगामीहरू बस्थे, हामीले अग्रगामीहरूलाई भोजनको निम्तो अनि क्षेत्रीय निरीक्षकहरूलाई बास दिन्थ्यौं।” ड्रेइस अझ यसो भन्छन्‌: “हामीले जीवन सरल बनायौं र ऋणको बोझ बोकेनौं। हामीले ठूलठूला व्यापारिक कारोबारमा हात हाल्ने वा घर किन्‍ने जस्ता कुराहरू नगर्ने निर्णय गरेका थियौं र यसो गर्दा भविष्यमा ती कुराहरूको जञ्जालमा पर्ने थिएनौं।”

ड्रेइस र जेनीले राज्यसम्बन्धी गतिविधिलाई बढी समय दिने परिस्थिति बनाउँदा इनामदायी परिणामहरू पाए। अहिले तिनका दुवै जना छोरा प्राचीन भएका छन्‌ अनि एक जनाले तिनकी पत्नीसित अग्रगामी गर्छन्‌। ड्रेइस र जेनीले विशेष अग्रगामीको हैसियतमा सेवा गरे र पछि जेनीले ड्रेइसलाई क्षेत्रीय कार्यमा पनि साथ दिए। अहिले तिनीहरू बेथेलमा स्वयंसेवक भएर काम गर्छन्‌ र ड्रेइस शाखा समितिका सदस्य छन्‌।

छिट्टै अवकाश

ड्रेइस र जेनीजस्तै ओटो र तिनकी पत्नी जुडीले पनि छोरीहरू जन्मिनुअघिसम्म अग्रगामी गरे। जेठी छोरी पेटमा छँदा ओटोले शिक्षकको जागिर पाए।

छोरीहरू हुर्कंदै गर्दा तिनीहरूले पूर्ण-समय सेवकहरूको आनन्द देख्न सकून्‌ भनेर ओटो र जुडीले घरमा अक्सर अग्रगामीहरूलाई बोलाउने गर्थे। समयको दौडान तिनीहरूकी जेठी छोरीले अग्रगामी सेवा सुरु गरिन्‌। पछि उनी गिलियड स्कूलमा गइन्‌ अनि अहिले आफ्नो पतिसित मिलेर अफ्रिकी देशमा मिसनरी सेवा गर्दैछिन्‌। तिनीहरूकी कान्छी छोरीले सन्‌ १९८७ मा अग्रगामी गर्न थालिन्‌। केही समय नबित्दै जुडीले पनि सँगै अग्रगामी गर्न थालिन्‌।

बदलिंदो परिस्थितिले गर्दा स्कूलमा कम घण्टा मात्र काम गर्न सम्भव हुँदा ओटोले त्यो थप समयमा अग्रगामी गर्न थाले। पछि तिनले जागिरै छोडे। अहिले तिनी परिभ्रमण कार्यमा छन्‌ र शिक्षकको हैसियतमा आफ्नो क्षमता प्रयोग गरेर मण्डलीहरूलाई आध्यात्मिकतामा सुदृढ बनाउँछन्‌।

जागिरबाट छिट्टै अवकाश लिनेहरूलाई ओटो कस्तो सुझाव दिन्छन्‌? “अवकाश लिनुहुँदा एक दुई वर्षजति आराम गर्ने सोचाइ नराख्नुहोस्‌। पछि ‘आराम गर्ने’ बानी पर्न सक्छ। तपाईंले चाँडै अग्रगामी सेवाबारे बिर्सन थाल्नुहुनेछ। बरु, थप सेवकाई गतिविधि तुरुन्तै सुरु गर्नुहोस्‌।”

जीवनको अनुभवको सदुपयोग गर्दै

हुन त हो, पम, यान, ड्रेइस र ओटोजस्ता भाइहरूसित जवानीमा जस्तो बल र तागत छैन। तर तिनीहरूसित परिपक्वता, अनुभव र बुद्धि भने पक्कै छ। (हितोपदेश २०:२९) तिनीहरूलाई बुबा हुनु भनेको के हो भनेर थाह छ, अनि आफ्ना पत्नीहरूसित काम गरेको हुँदा आमा हुनुमा के-कस्ता कुरा बिथोलित छन्‌ भनेर पनि बुझेका छन्‌। आफ्ना पत्नीहरूसित मिलेर तिनीहरूले पारिवारिक समस्याहरू सुल्झाएका छन्‌ भने छोराछोरीको लागि ईश्‍वरतान्त्रिक लक्ष्यहरू पनि राखेका छन्‌। ओटो यसो भन्छन्‌: “क्षेत्रीय निरीक्षकको हैसियतमा परिवारसित सम्बन्धित विषयहरूमा सल्लाह दिंदा, मैले पनि परिवार हुर्काइसकेको हुँदा सजिलो हुन्छ।” त्यसरी नै, बुबा भइसकेका ड्रेइसले बेथेलका जवान कामदारहरूलाई सघाउन ठूलो योगदान दिन सक्छन्‌।

हो, व्यक्‍तिगत अनुभवले ती भाइहरूलाई मण्डलीमा विभिन्‍न आवश्‍यकताहरू पूरा गर्न मदत गर्छ। तिनीहरूको अनुभवले गर्दा मानौं, तिनीहरूको हतियार तिखो भएको छ अनि यसको भरपूर सदुपयोग गर्न सकेका छन्‌। (उपदेशक १०:१०) वास्तवमा, कुनै एउटा तोकिएको समयभित्र तिनीहरूले शारीरिक तवरमा बलिया तर कम अनुभवी व्यक्‍तिहरूले भन्दा बढी गर्न सक्छन्‌।

ती भाइ अनि तिनीहरूका पत्नीहरू, यहोवाका जनहरूमाझ जवानहरूको लागि असल उदाहरण हुन्‌। यस्ता दम्पतीहरूले हाम्रा मसीही प्रकाशनहरूमा बताइएका थुप्रै चुनौती तथा आशिष्‌हरू अनुभव गरिसकेका छन्‌ भनेर जवानहरूले देख्न सक्छन्‌। थुप्रै पुरुष तथा स्त्रीहरूले आफ्नो ढल्कँदो उमेरको बावजुद कालेबको जस्तो मनोभाव देखाएर चुनौतीपूर्ण जिम्मेवारी स्वीकारेको देख्न पाउनु साँच्चै प्रोत्साहनदायी हो।—यहोशू १४:१०-१२.

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

के तपाईंले यस लेखमा बताइएका दम्पतीहरूको विश्‍वास र काम अनुकरण गर्न सक्नुहुन्छ? नबिर्सनुहोस्‌, तिनीहरूले सत्यलाई आफ्नो जीवनको मार्ग बनाए। तिनीहरूले आफ्ना छोराछोरीमा अग्रगामी गर्ने इच्छा जगाए। तिनीहरूले त्यो कसरी गरे भन्‍ने सन्दर्भमा यान यसो भन्छन्‌, “यहोवा र उहाँको संगठनप्रति प्रेम देखाउन आफै उदाहरण भएर, राम्रो सरसंगतिको लागि प्रबन्ध मिलाएर अनि छोराछोरीलाई आत्म-निर्भर हुन सिकाएर।” तिनीहरू सपरिवार मिलेर काम गर्थे अनि खेल्थे। पम भन्छिन्‌, “छुट्टीको समयमा हामी सधैंजसो बिहान प्रचारकार्यमा जान्थ्यौं अनि दिउँसो रमाइलो गर्थ्यौं।”

साथै, यी मसीहीहरूले पहिल्यै योजना बनाए अनि परिस्थिति परिवर्तन हुँदा तिनीहरूले नयाँ परिस्थितिबाट फाइदा उठाउन सके। तिनीहरूले लक्ष्य राखे अनि त्यो लक्ष्य प्राप्त गर्न सजिलो बनाउने निर्णयहरू गरे। तिनीहरूले जागिरमा कम समय बिताएर कम पैसाबाट खर्च टार्ने तरिकाहरू खोजे। (फिलिप्पी १:१०) पत्नीहरूले आफ्ना पतिहरूलाई पूरा समर्थन गरे। दुवैको ‘ठूलो अभिप्राय पूरा गर्न खुला भएको ढोकाबाट’ प्रवेश गर्ने उत्कट इच्छा थियो अनि परिणामस्वरूप यहोवाबाट प्रशस्त आशिष्‌ पाए।—१ कोरिन्थी १६:९; हितोपदेश १०:२२.

के तपाईं पनि सेवकाईलाई अझ विस्तार गर्ने इच्छा गर्नुहुन्छ? त्यसो हो भने, बदलिंदो परिस्थितिको सदुपयोग गर्नु महत्त्वपूर्ण छ।

[पृष्ठ २०-मा भएको चित्र]

पम र आनी, सम्मेलन भवनको हेरचाह गर्दै

[पृष्ठ २०-मा भएको चित्र]

जान र वोट, प्रचार कार्यमा भाग लिंदै

[पृष्ठ २१-मा भएको चित्र]

ड्रेइस र जेनी, बेथेलमा सेवा गर्दै

[पृष्ठ २१-मा भएको चित्र]

ओटो र जुडी, अर्को मण्डलीको भ्रमणमा जान तयारी गर्दै