सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘बलियो र साहसी हुनुहोस्‌!’

‘बलियो र साहसी हुनुहोस्‌!’

‘बलियो र साहसी हुनुहोस्‌!’

“साहस गर, मैले संसारलाई जितेको छु।”—यूहन्‍ना १६:३३, नयाँ संशोधित संस्करण।

१. इस्राएलीहरूले कनानमा सामना गर्नुपर्ने परिस्थितिलाई ध्यानमा राख्दै तिनीहरूले कस्तो प्रोत्साहन पाए?

 इस्राएलीहरू यर्दन नदी तरेर प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा मोशाले तिनीहरूलाई यसो भने: “बलियो र साहसी होओ! न डराओ! तिनीहरूसित त्रासित नहोओ! किनभने परमप्रभु परमेश्‍वरनै तिमीहरूसँग जानुहुन्छ।” तब मोशाले इस्राएलीहरू कनानमा प्रवेश गर्दा तिनीहरूको नेतृत्व गर्ने यहोशूलाई बोलाए अनि तिनलाई साहसी हुने सल्लाह व्यक्‍तिगत तवरमा फेरि दिए। (व्यवस्था ३१:६, ७) पछि, यहोवा स्वयम्‌ले यहोशूलाई यसरी प्रोत्साहन दिनुभयो: “बलियो र खूब साहसी बन्‌ . . . केवल बलियो र अति साहसी [हो]।” (यहोशू १:६, ७, ९) यी शब्दहरू सामयिक थिए। यर्दनपारिका शक्‍तिशाली शत्रुहरूको सामना गर्न इस्राएलीहरूलाई साहस चाहिन्थ्यो।

२. हामी अहिले आफूलाई कस्तो परिस्थितिमा पाउँछौं र हामीलाई के चाहिन्छ?

आज, साँचो मसीहीहरू पनि चाँडै नयाँ संसारमा प्रवेश गर्नै लागेका छन्‌ र तिनीहरू यहोशूजस्तै साहसी हुनु आवश्‍यक छ। (२ पत्रुस ३:१३; प्रकाश ७:१४) यद्यपि, हाम्रो परिस्थिति यहोशूको भन्दा भिन्‍न छ। यहोशूले तरवार र भालाको मदतले लडाइँ लडे। यद्यपि, हामी आध्यात्मिक लडाइँ लड्‌छौं र कहिल्यै पनि साँच्चैको हतियार उठाउँदैनौं। (यशैया २:२-४; एफिसी ६:११-१७) साथै, प्रतिज्ञा गरिएको देशमा प्रवेश गरिसकेपछि समेत यहोशूले थुप्रै भीषण लडाइँहरू लड्‌नुपऱ्‍यो। तर हामीले भने नयाँ संसारमा प्रवेश गर्नुभन्दा अघि नै अर्थात्‌ अहिल्यै भीषण संघर्षहरू अनुभव गर्छौं। आउनुहोस्‌, हामीलाई साहसको आवश्‍यकता पर्ने केही परिस्थितिहरूबारे विचार गरौं।

हामीले किन संघर्ष गर्नुपर्छ?

३. हाम्रो प्रमुख विरोधीबारे बाइबलले कुन कुरा प्रस्ट पार्छ?

प्रेरित यूहन्‍नाले यसप्रकार लेखे: “हामी जान्दछौं, कि हामी परमेश्‍वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यी शब्दहरूद्वारा मसीहीहरूले आफ्नो विश्‍वास कायम राख्नको लागि संघर्ष गर्नुपर्ने आवश्‍यकताबारे एउटा महत्त्वपूर्ण कारण प्रस्ट हुन्छ। कुनै मसीहीले आफ्नो निष्ठा कायम राख्दा शैतान अर्थात्‌ दियाबल केही हदसम्म पराजित हुन्छ। त्यसकारण, विश्‍वासी मसीहीहरूलाई धम्काउन र निल्न शैतान “गर्जने सिंहझैं” हिंड्‌छ। (१ पत्रुस ५:८) निस्सन्देह, त्यसले अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सँगीहरू विरुद्ध युद्ध गर्छ। (प्रकाश १२:१७) यस युद्धमा त्यसले मानिसहरूलाई चलाउँछ र तिनीहरूले जानाजानी वा अन्जानमै त्यसको उद्देश्‍य पूरा गर्छन्‌। शैतान तथा त्यसका सबै चम्चाहरू विरुद्ध दृढ रहन साहस चाहिन्छ।

४. येशूले कस्तो चेतावनी दिनुभयो तर साँचो मसीहीहरूले कुन गुण प्रदर्शन गरेका छन्‌?

शैतान र त्यसका चम्चाहरूले सुसमाचार विरुद्ध भएभरको बल लगाउनेछन्‌ भन्‍ने कुरा येशूलाई थाह भएको कारण उहाँले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) यी शब्दहरू प्रथम शताब्दीका साथै आज पनि सत्य साबित भएका छन्‌। साँच्चै, वर्तमान समयका केही यहोवाका साक्षीहरूले इतिहासभरिकै कठोर सतावट सहेका छन्‌। तैपनि, साँचो मसीहीहरू यस्तो दबाबसामु साहसी छन्‌। तिनीहरूलाई “मानिसको डर त्यसको निम्ति पासो हो” भन्‍ने कुरा थाह छ र तिनीहरू पासोमा पर्न चाहँदैनन्‌।—हितोपदेश २९:२५.

५, ६. (क) कस्ता परिस्थितिहरूले गर्दा हामीलाई साहस चाहिन्छ? (ख) आफ्नो साहस परीक्षामा पर्दा विश्‍वासी मसीहीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

सतावटबाहेक अन्य चुनौतीहरूको कारण पनि हामीलाई साहसको आवश्‍यकता पर्छ। कसै-कसैको लागि आफूले नचिनेका व्यक्‍तिहरूलाई सुसमाचार सुनाउनु एउटा चुनौती हुन सक्छ। स्कूलमा राष्ट्रिय गान गाउन वा देश तथा झण्डाप्रति वफादार रहने वाचा बाँध्न लगाइँदा केही केटाकेटीहरूको साहसको परीक्षा हुन्छ। यस्तो वाचा धार्मिक अभिव्यक्‍तिसित मुछिएको हुने भएकोले साहसी हुँदै मसीही केटाकेटीहरूले परमेश्‍वरलाई खुसी तुल्याउने मार्ग पछ्याउने निर्णय गरेका छन्‌ र तिनीहरूको उत्कृष्ट कदम हृदयस्पर्शी छ।

विरोधीहरूले सञ्चार माध्यमको प्रयोग गरेर परमेश्‍वरका सेवकहरूबारे खराब रिपोर्ट फैलाउँदा वा तिनीहरूले “नियमद्वारा” साँचो उपासनामा रोक लगाउने कोसिस गर्दा पनि हामीलाई साहस चाहिन्छ। (भजन ९४:२०) उदाहरणका लागि, अखबार, रेडियो वा टेलिभिजनमा यहोवाका साक्षीहरूबारे भ्रमपूर्ण वा झूटा कुरा सुन्दा हामी कस्तो महसुस गर्छौं? के हामी छक्क पर्नुपर्छ? अहँ, पर्दैन। यस्ता कुराहरू हुनेछन्‌ भनी हामी आशा गर्न सक्छौं। (भजन १०९:२) अनि कसै-कसैले यस्ता झूट वा भ्रमहरू पत्याए भन्दैमा हामी छक्क पर्दैनौं किनकि “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ।” (हितोपदेश १४:१५) तथापि, वफादार मसीहीहरू भने आफ्ना भाइहरूबारे गरिएका टीकाटिप्पणीहरूमा विश्‍वास गर्दैनन्‌ र खराब प्रचारबाजीको प्रभावमा परेर पक्कै पनि मसीही सभाहरू छुटाउने, क्षेत्र सेवकाईमा कम भाग लिने वा आफ्नो विश्‍वासमा ढलपल हुने गर्दैनन्‌। बरु, तिनीहरू “आफैलाई परमेश्‍वरका सेवकजस्तो [देखाउँछन्‌] . . . महिमा र अनादरले, बदनाम र सुनामले, ठगाहाझैं, तैपनि [वास्तवमा] सच्चा” हुन्छन्‌।—२ कोरिन्थी ६:४, ८.

७. हामी आफैलाई कस्ता विचारणीय प्रश्‍नहरू सोध्न सक्छौं?

तिमोथीलाई पावलले यस्तो लेखे: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति[को] . . . आत्मा दिनुभएको छ। यसकारण हाम्रा प्रभुको साक्षीको शर्म नमान।” (२ तिमोथी १:७, ८; मर्कूस ८:३७) यी शब्दहरू पढेर हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘के म आफ्नो विश्‍वासदेखि सर्माउँछु वा साहसी छु? मैले काम गर्ने ठाउँमा (वा स्कूलमा) के अरूलाई म यहोवाको साक्षी हुँ भनी थाह दिन्छु वा यो वास्तविकता लुकाउन खोज्छु? के अरूभन्दा भिन्‍न हुनदेखि म सर्माउँछु वा यहोवासितको मेरो सम्बन्धको कारण भिन्‍न भएकोमा गर्व गर्छु?’ कोही सुसमाचार प्रचार गर्न वा अलोकप्रिय जस्तो देखिने कदम चाल्न हिचकिचाइरहेको छ भने, उसले यहोवाले यहोशूलाई दिनुभएको यो सल्लाह सम्झोस्‌: “बलियो र खूब साहसी बन्‌।” हाम्रा सहकर्मी वा स्कूलका साथीहरूको विचार महत्त्वपूर्ण होइन तर यहोवा र येशूको दृष्टिकोण महत्त्वपूर्ण हो भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।—गलाती १:१०.

साहसको खेती कसरी गर्ने

८, ९. (क) एउटा अवसरमा, प्रारम्भिक मसीहीहरूको साहस कसरी परीक्षामा परेको थियो? (ख) धम्कीहरूसामु पत्रुस तथा यूहन्‍नाले कस्तो प्रतिक्रिया देखाए अनि तिनीहरू र तिनका भाइहरूले कस्तो अनुभव गरे?

यस कठिन समयको दौडान, हाम्रो निष्ठा कायम राखिरहन सक्षम बनाउने किसिमको साहस हामी कसरी खेती गर्न सक्छौं? प्रारम्भिक मसीहीहरूले साहसको खेती कसरी गरे? यरूशलेममा मुख्य पूजाहारी तथा बूढा-प्रधानहरूले पत्रुस र यूहन्‍नालाई येशूको नाउँमा प्रचार गर्न बन्द गर्ने आदेश दिंदा के भयो विचार गर्नुहोस्‌। ती चेलाहरू तिनीहरूको आज्ञा मान्‍न तयार भएनन्‌ र त्यसपछि तिनीहरूलाई धम्काएर छोडियो। त्यसपछि, तिनीहरू भाइहरूकहाँ फर्केर आए अनि सबै जना मिलेर यसरी प्रार्थना गरे: “हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्‌, र तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।” (प्रेरित ४:१३-२९) यस प्रार्थनाको जवाफमा यहोवाले तिनीहरूलाई पवित्र आत्माद्वारा बलियो पार्नुभयो र पछि तिनीहरूले आफ्नो शिक्षाद्वारा ‘सारा यरूशलेम भरिसके’ भन्‍ने कुरा यहूदी नेताहरूले समेत स्वीकारे।—प्रेरित ५:२८.

आउनुहोस्‌, त्यस अवसरमा के भयो, हामी जाँचौं। यहूदी नेताहरूले धम्काउँदा, चेलाहरूले त्यस दबाबसामु घुँडा टेक्ने विचारसमेत गरेनन्‌। बरु, चेलाहरूले प्रचार गरिरहन साहसको लागि प्रार्थना गरे। त्यसपछि, तिनीहरूले आफ्नो प्रार्थनाअनुरूप कदम चाले र यहोवाले तिनीहरूलाई आफ्नो आत्माद्वारा सुदृढ पार्नुभयो। केही वर्षपछि पावलले अर्कै प्रसंगमा लेखेका शब्दहरू सतावट आउँदा मसीहीहरूलाई लागू हुन्छ भनी तिनीहरूको अनुभवले देखाउँछ। पावलले भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

१०. स्वभावैले लजालु व्यक्‍तिहरूलाई यर्मियाको अनुभवले कसरी मदत गर्छ?

१० तथापि, मानिलिनुहोस्‌, कोही व्यक्‍ति स्वभावैले लजालु छ। के तिनले पनि विरोधसामु साहसपूर्वक यहोवाको सेवा गर्न सक्छन्‌? पक्कै सक्छन्‌! यहोवाले यर्मियालाई अगमवक्‍ता नियुक्‍त गर्नुहुँदा तिनको प्रतिक्रिया सम्झनुहोस्‌। ती युवकले यसो भने: “मता बच्चै छु।” पक्कै पनि तिनलाई आफू अयोग्य छु जस्तो लाग्यो। तैपनि, यहोवाले तिनलाई यी शब्दहरूद्वारा प्रोत्साहन दिनुभयो: “ ‘मता बच्चै छु,’ भनी नभन्‌, किनभने जसकहाँ म तँलाई पठाउनेछु ती सबैकहाँ तँ जानैपर्छ। औ जे जे म तँलाई आज्ञा गर्छु, ती तैंले [भन्‍नै पर्छ]। तिनीहरूसँग नडरा, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु।” (यर्मिया १:६-१०) यर्मियाको भरोसा यहोवामाथि थियो, फलस्वरूप यहोवाको बलद्वारा तिनी आफ्नो हिचकिचाहटमाथि विजयी हुनुका साथै इस्राएलमा अत्यन्तै साहसी साक्षीको रूपमा चिनिए।

११. आज मसीहीहरूलाई यर्मियाजस्तै हुन कुन कुराले मदत गर्छ?

११ आज अभिषिक्‍त मसीहीहरूले पनि यर्मियाको जस्तै जिम्मेवारी पाएका छन्‌ र “अरू भेडा[का]” “ठूलो भीड[को]” सहयोग पाएर तिनीहरू भावशून्यता, खिसी र सतावटको बावजुद यहोवाका उद्देश्‍यहरूबारे घोषणा गरिरहन्छन्‌। (यूहन्‍ना १०:१६; प्रकाश ७:९) तिनीहरू यहोवाले यर्मियालाई भन्‍नुभएको यो शब्दद्वारा प्रोत्साहित हुन्छन्‌: “नडरा।” यो जिम्मेवारी परमेश्‍वरबाट प्राप्त भएको हो र उहाँकै सन्देश प्रचार गरिरहेका छौं भन्‍ने कुरा तिनीहरू कहिल्यै बिर्संदैनन्‌।—२ कोरिन्थी २:१७.

साहसका अनुकरणीय उदाहरणहरू

१२. येशूले साहसको कस्तो उत्कृष्ट उदाहरण बसाल्नुभयो र उहाँले आफ्ना अनुयायीहरूलाई कसरी प्रोत्साहन दिनुभयो?

१२ यर्मियाजस्तै अरू पनि साहसी व्यक्‍तिहरूको उदाहरण मनन गर्दा, साहस बढाउने हाम्रो प्रयत्नमा मदत पाउन सक्छौं। (भजन ७७:१२) उदाहरणका लागि, येशूको सेवकाईलाई जाँच्ने हो भने, शैतानले प्रलोभनमा पार्दा र यहूदी नेताहरूको तीव्र दबाबसामु उहाँले देखाउनुभएको साहसबाट हामी प्रभावित हुन्छौं। (लूका ४:१-१३; २०:१९-४७) यहोवाको बलद्वारा येशू दृढ रहनुभयो र आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “संसारमा तिमीहरूलाई संकष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।” (यूहन्‍ना १६:३३, नयाँ संशोधित संस्करण; १७:१६) येशूका चेलाहरूले उहाँको उदाहरण पछ्याएमा तिनीहरू पनि विजयी हुने थिए। (१ यूहन्‍ना २:६; प्रकाश २:७, ११, १७, २६) तर तिनीहरूले ‘साहस गर्नुपर्ने’ थियो।

१३. पावलले फिलिप्पीहरूलाई कस्तो प्रोत्साहन दिए?

१३ येशूको मृत्यु भएको केही वर्षपछि, पावल र सिलासलाई झ्यालखानामा हालिएको थियो। पछि, पावलले फिलिप्पीको मण्डलीलाई “सुसमाचारको विश्‍वासको निम्ति एउटै मनको भई, यत्न गरेर एउटै आत्मामा दृढ [रहिरहो।] . . . विरोधीहरूसँग केही कुरामा नडराओ” भनी प्रोत्साहन दिए। यस कामको लागि बलियो बनाउन पावलले यसो भने: “यो [मसीहीहरूले भोग्ने सतावट] तिनीहरूका [सतावट दिनेहरूका] निम्ति विनाशको, तर तिमीहरूका निम्ति चाहिं मुक्‍तिको प्रत्यक्ष चिह्न हो, र यो परमेश्‍वरबाट हो, किनभने यो तिमीहरूले उहाँमाथि विश्‍वास गर्नालाई मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नालाई [हो]।”—फिलिप्पी १:२७-२९.

१४. पावलको साहसको कारण रोममा के भयो?

१४ पावलले फिलिप्पीको मण्डलीलाई लेख्दा, यतिबेलाचाहिं तिनी रोमको झ्यालखानामा थिए। तैपनि, तिनले साहसपूर्वक अरूलाई प्रचार गरिरहे। यसको नतिजा कस्तो भयो? तिनले लेखे: “महलका सारा गारत र सबै बाँकीकहाँ पनि मेरो बन्धन ख्रीष्टको निम्ति भएको हो भन्‍ने जाहेर भएको छ। औ प्रभुमा धेरैजस्ता भाइहरू मेरो बन्धनले आँटिला भएर निष्फिक्रीसँग परमेश्‍वरको वचन बोल्नालाई झन्‌ सुरिएका छन्‌।”—फिलिप्पी १:१३, १४.

१५. साहसी हुने हाम्रो कटिबद्धतालाई बलियो पार्ने, विश्‍वासका उदाहरणहरू हामी कहाँ पाउन सक्छौं?

१५ पावलको उदाहरणले हामीलाई प्रोत्साहन दिन्छ। त्यसै गरी, तानाशाह वा पादरीको शासन भएका देशहरूमा सतावट सहेका वर्तमान मसीहीहरूले बसालेका राम्रा उदाहरणहरूले पनि हामीलाई प्रोत्साहित पार्छ। प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू र यरबूक अफ जोहोभाज्‌ विट्‌नेसेज-मा यस्ता थुप्रै विवरणहरू पाइन्छन्‌। तपाईंले ती इतिहासहरू पढ्‌नुहुँदा, तिनीहरू पनि हामीजस्तै साधारण व्यक्‍तिहरू थिए तर तिनीहरू असाध्यै कठिन परिस्थितिहरूमा पर्दा यहोवाले तिनीहरूलाई असामान्य शक्‍ति दिनुभयो र तिनीहरूले धैर्य धारण गरे भनी नबिर्सनुहोस्‌। आवश्‍यक परेको खण्डमा उहाँले हाम्रोलागि पनि त्यसै गर्नुहुनेछ भनी हामी पक्का हुन सक्छौं।

हाम्रो साहसी अडानले यहोवालाई खुसी तुल्याउँछ र उहाँको आदर गर्छ

१६, १७. आज हामी साहसी मनोवृत्ति कसरी विकास गर्न सक्छौं?

१६ कसैले सत्य र धार्मिकताको पक्षमा दृढ अडान लिन्छ भने ऊ साहसी व्यक्‍ति हो। कसैले भित्र-भित्रै डराएर भए पनि यस्तो अडान लिन्छ भने ऊ झनै साहसी हो। निस्सन्देह, कोही मसीही साँच्चै यहोवाको इच्छा गर्न चाहन्छ भने, विश्‍वासी रहन कटिबद्ध छ भने, सधैंभरि परमेश्‍वरमा भर पर्छ भने र आफूजस्ता अनगन्ती व्यक्‍तिहरूलाई उहाँले विगतमा बल दिइसक्नुभएको छ भन्‍ने कुरा सधैं सम्झन्छ भने, तिनीहरू हरेक साहसी हुन सक्छन्‌। साथै, हाम्रो साहसी अडानले यहोवालाई खुसी तुल्याउँछ र उहाँको आदर गर्छ भन्‍ने थाह पाउँदा, हामी कमजोर नहुन अझै कटिबद्ध हुन्छौं। हामी खिसी वा दुर्व्यवहार सहन तयार छौं किनभने हामी उहाँलाई असाध्यै प्रेम गर्छौं।—१ यूहन्‍ना २:५; ४:१८.

१७ आफ्नो विश्‍वासको खातिर दुःख भोग्दा, हामीले खराब काम गरेको कारण दुःख भोगेका होइनौं भन्‍ने कुरा नबिर्सनुहोस्‌। (१ पत्रुस ३:१७) हामीले यहोवाको सार्वभौमिकतालाई उच्च पारेको कारण, असल गरेको कारण र यस संसारको भाग नभएको कारण दुःख भोगेका हौं। यस सन्दर्भमा प्रेरित पत्रुसले यसो भने: “तिमीहरूले असल गरेर दुःख भोग्नुपर्दा धीरजसँग सहँदछौ भने, यो ता परमेश्‍वरमा ग्रहणयोग्य हुन्छ।” पत्रुसले यसो पनि भने: “परमेश्‍वरको इच्छाबमोजिम दुःख भोग्नेहरूले पनि भलाइ गरेर आफ्ना आफ्ना प्राण विश्‍वासयोग्य सृष्टिकर्त्ताकहाँ सुम्पून्‌।” (१ पत्रुस २:२०; ४:१९) हो, हाम्रो विश्‍वासले हाम्रा मायालु परमेश्‍वर, यहोवालाई खुसी तुल्याउँछ र उहाँको आदर गर्छ। साहसी हुनुपर्ने कस्तो जोडदार कारण!

अख्तियारवालाहरूसँग बोल्ने

१८, १९. न्यायाधीशसामु साहसी अडान लिंदा, वास्तवमा हामीले कस्तो सन्देश सुनाइरहेका हुन्छौं?

१८ येशूले आफ्ना अनुयायीहरूलाई तिनीहरू सताइनेछन्‌ भनी बताउनुहुँदा, उहाँले यसो पनि भन्‍नुभयो: “[मानिसहरूले] तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन्‌, र तिनीहरूका सभाघरहरूमा कोर्रा लाउनेछन्‌। तिनीहरूलाई र अन्यजातिहरूलाई साक्षीको निम्ति मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्‍ने तिमीहरूलाई खडा गराउनेछन्‌।” (मत्ती १०:१७, १८) झूटा आरोपहरूको कारण न्यायाधीश वा शासकसामु खडा हुन साहस चाहिन्छ। तैपनि, हामीले साहसपूर्वक यस्ता अवसरहरू ती व्यक्‍तिहरूलाई साक्षी दिन चलायौं भने हामीले कठिन परिस्थितिलाई महत्त्वपूर्ण काम पूरा गर्ने सुअवसरमा परिणत गरिरहेका हुन्छौं। वास्तवमा, हामीले हाम्रो न्याय गर्नेहरूलाई भजनको दोस्रो अध्यायमा लिपिबद्ध यहोवाका यी शब्दहरू बताइरहेका हुन्छौं: “हे राजा हो, बुद्धिमान होओ। हे पृथ्वीका न्यायाधीश हो, शिक्षा लेओ। डरसँग परमप्रभुको सेवा गर।” (भजन २:१०, ११) यहोवाका साक्षीहरूमाथि अदालतमा झूटो मुद्दा लगाइँदा, न्यायाधीशहरूले अक्सर उपासनाको स्वतन्त्रतालाई मान्यता दिएका छन्‌ र हामी यसको मूल्यांकन गर्छौं। तथापि, केही न्यायाधीशहरू भने विरोधीहरूको दबाबमा परेका छन्‌। तिनीहरूलाई धर्मशास्त्र यसो भन्छ: “शिक्षा लेओ।”

१९ यहोवा परमेश्‍वरको कानुन नै सर्वश्रेष्ठ कानुन हो भन्‍ने कुराप्रति न्यायाधीशहरू सजग हुनुपर्छ। न्यायाधीशहरू लगायत सबै मानिसहरू यहोवा परमेश्‍वर र येशू ख्रीष्टप्रति जवाफदेही छन्‌ भनी तिनीहरूले बिर्सनु हुँदैन। (रोमी १४:१०) अनि हामीले मानव न्यायाधीशबाट चाहे न्याय पाऔं वा नपाऔं, हामीसँग साहसी हुने हर कारण छ किनकि यहोवाले हामीलाई सहायता गर्नुहुन्छ। बाइबल यसो भन्छ: “उहाँको शरण लिनेहरू सबै धन्यका हुन्‌।”—भजन २:१२.

२०. हामीले सतावट वा निन्दा सहनुपऱ्‍यो भने पनि हामी किन खुसी हुन सक्छौं?

२० डाँडाको उपदेशमा येशूले यसो भन्‍नुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरीनै तिमीहरूका अघिका अगमवक्‍ताहरूलाई तिनीहरूले खेदो गरेथे।” (मत्ती ५:११, १२) हो, सतावट आफैमा रमाइलो कुरा त होइन तर सञ्चार माध्यममार्फत फैलाइने निन्दाजनक रिपोर्टहरूका साथै सतावटको बावजुद पनि दृढ रह्‍यौं भने हामी आनन्दित हुन सक्छौं। यसरी हामीले यहोवालाई खुसी तुल्याइरहेका हुन्छौं र उहाँबाट इनाम पाउनेछौं। हाम्रो साहसले हामीमा साँचो विश्‍वास छ भनेर देखाउँछ अनि हामीसँग परमेश्‍वरको अनुमोदन छ भनी आश्‍वस्त पार्छ। निस्सन्देह, यसले हामी यहोवामाथि पूर्ण भरोसा राख्छौं भनेर पनि देखाउँछ। मसीहीहरूको लागि यस्तो भरोसा अत्यावश्‍यक छ, जुन कुरा अर्को लेखले देखाउनेछ।

तपाईंले के सिक्नुभयो?

• कस्ता परिस्थितिहरूले गर्दा आज साहस चाहिन्छ?

• हामी कसरी साहस खेती गर्न सक्छौं?

• साहसका केही राम्रा उदाहरणहरू को-को हुन्‌?

• हामी किन साहसपूर्वक कदम चाल्न चाहन्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएका चित्रहरू]

जर्मनीकी सिमोन आर्नोल्ड (अहिले लिब्सटर), मलावीका विड्डास माडोना र युक्रेनका लिडिया तथा ओलेक्सी कुर्डासले साहस देखाए र दुष्टको प्रतिरोध गरे

[पृष्ठ १०-मा भएका चित्रहरू]

हामी सुसमाचारदेखि सर्माउँदैनौं

[पृष्ठ ११-मा भएको चित्र]

पावलले झ्यालखानामा देखाएका साहसले सुसमाचारको पक्षमा थुप्रै काम पूरा गऱ्‍यो

[पृष्ठ १२-मा भएको चित्र]

हामीले न्यायाधीशलाई हाम्रो धर्मशास्त्रीय अडानबारे साहसपूर्वक बतायौं भने, हामीले महत्त्वपूर्ण सन्देश सुनाइरहेका हुन्छौं