सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले “प्रशस्त गरी” क्षमा गर्नुहुन्छ

यहोवाले “प्रशस्त गरी” क्षमा गर्नुहुन्छ

यहोवाले “प्रशस्त गरी” क्षमा गर्नुहुन्छ

क्षमा भनेको गल्ती गर्ने व्यक्‍तिलाई माफी गर्ने कार्य हो; तिनको गल्तीको कारण तिनीप्रति द्वेष वा बदला लिने भाव नराख्नु हो।

इस्राएल राष्ट्रलाई दिइएको परमेश्‍वरको व्यवस्थाअनुसार परमेश्‍वर वा आफ्ना सँगी विरुद्ध पाप गरेका व्यक्‍तिको पाप क्षमा हुन व्यवस्थामा दिइएअनुसार गल्ती सुधार्नुपर्थ्यो अनि प्रायजसो अवस्थामा रगत बगाएर यहोवालाई भेटी चढाउनुपर्थ्यो। (लेवी ५:५-६:७) यसर्थ, पावलले यस्तो सिद्धान्त उद्धरण गरे: “वास्तवमा व्यवस्थाअनुसार ता रगतले झण्डै सबै थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापमोचन हुँदै हुँदैन।” (हिब्रू ९:२२) तर साँच्चै भन्‍ने हो भने, पशुबलिको रगतले नै पापमोचन हुने वा अन्तस्करण सफा बनाउने होइन। (हिब्रू १०:१-४; ९:९, १३, १४) यसो नभई भविष्यवाणी गरिएको नयाँ करारले येशू ख्रीष्टको छुडौतीको बलिदानको आधारमा साँचो क्षमा पाउन सम्भव तुल्यायो। (यर्मिया ३१:३३, ३४; मत्ती २६:२८; १ कोरिन्थी ११:२५; एफिसी १:७) येशू पृथ्वीमा छँदा पनि उहाँले पक्षघात भएको व्यक्‍तिलाई निको पार्नुभएर उहाँसित पाप क्षमा गर्ने अख्तियार भएको कुरा प्रदर्शन गर्नुभयो।—मत्ती ९:२-७.

यहोवाले “प्रशस्त गरी” क्षमा गर्नुहुन्छ भनेर उडन्ता पुत्र र दासको १०,००० टालेन्टको (६,००,००,००० दिनार वा ४,००,००,००० अमेरिकी डलर जति) ऋण क्षमा गर्ने राजाको उदाहरणबाट देखिन्छ तर यो दासले भने आफ्नो सँगी दासको केवल एक सय दिनार (७० डलर जति) क्षमा गर्न इन्कार गरेका थिए। (यशैया ५५:७; लूका १५:११-३२; मत्ती १८:२३-२५) तैपनि, यहोवाले भावनामा बहेर क्षमा गर्नुहुने होइन नता उहाँले कुख्यात कार्यहरूलाई दण्ड नदिई त्यत्तिकै छोड्‌नुहुन्छ। (भजन ९९:८) धर्मत्यागीहरूलाई यहोवाले सहनुहुनेछैन भनेर यहोशूले इस्राएललाई चेतावनी दिए।—यहोशू २४:१९, २०; तुलना गर्नुहोस्‌ यशैया २:६-९.

क्षमा माग्न र क्षमा पाउन हामीले परमेश्‍वरको तरिकाअनुसार गर्नुपर्छ। गल्ती गर्ने व्यक्‍तिले आफ्नो पाप स्वीकार्नुपर्छ, परमेश्‍वर विरुद्ध गल्ती गरेको कुरा मानिलिनुपर्छ, पूर्णतया पाप स्वीकार्नुपर्छ, गल्ती गरेको कारण भित्री हृदयदेखि दुःख लागेको हुनुपर्छ अनि त्यस्तो मार्गबाट उम्कने कटिबद्धता हुनुपर्छ। (भजन ३२:५; ५१:४; १ यूहन्‍ना १:८, ९; २ कोरिन्थी ७:८-११) आफूले गरेको गल्ती वा हानिलाई सुधार्न यथासक्दो गर्नुपर्छ। (मत्ती ५:२३, २४) त्यसपछि, ख्रीष्टको छुडौतीको बलिदानको आधारमा माफी माग्दै परमेश्‍वरसित प्रार्थना गर्नुपर्छ।—एफिसी १:७.

यसबाहेक, अरूले आफू विरुद्ध जति चोटि पाप गरे तापनि क्षमा गर्नु मसीही आवश्‍यकता हो। (लूका १७:३, ४; एफिसी ४:३२; कलस्सी ३:१३) अरूलाई क्षमा नगर्नेहरूलाई परमेश्‍वरले पनि क्षमा गर्नुहुन्‍न। (मत्ती ६:१४, १५) तथापि, गम्भीर पापको कारण “दुष्ट मानिसलाई” मसीही मण्डलीबाट हटाउँदासमेत तिनले साँचो पश्‍चात्ताप गरेको खण्डमा समयमा माफी दिन सकिन्छ। त्यतिबेला मण्डलीका सबैले तिनीप्रति आफ्नो प्रेमको प्रमाण दिन सक्छन्‌। (१ कोरिन्थी ५:१३; २ कोरिन्थी २:६-११) तथापि, कुनै पश्‍चात्ताप नगरी जानाजानी दुष्ट कार्य गर्नेलाई क्षमा दिनु आवश्‍यक छैन। त्यस्ताहरू परमेश्‍वरको शत्रु बन्छन्‌।—हिब्रू १०:२६-३१; भजन १३९:२१, २२.

अरूको अथवा सम्पूर्ण मण्डलीको खातिर परमेश्‍वरको क्षमाको लागि प्रार्थना गर्नु पनि उचित छ। मोशाले इस्राएल राष्ट्रको खातिर यस्तो गरे, तिनीहरूको राष्ट्रिय पाप स्वीकार्दै क्षमा मागे अनि यहोवाले तिनको प्रार्थना ग्रहण गर्नुभयो। (गन्ती १४:१९, २०) साथै, मन्दिरको समर्पण गर्दा सुलेमानले मानिसहरूले पाप गर्दा र पछि त्यो गलत मार्ग त्याग्दा क्षमाको लागि यहोवालाई प्रार्थना गरे। (१ राजा ८:३०, ३३-४०, ४६-५२) पुनर्स्थापित यहूदीहरूको पाप जनसमक्ष स्वीकार्दै सबैको प्रतिनिधित्व गर्दै एज्राले प्रार्थना गरे। तिनको हृदयस्पर्शी प्रार्थना तथा आग्रहले गर्दा मानिसहरू यहोवाका क्षमा पाउने कदम चाल्न अग्रसर भए। (एज्रा ९:१३–१०:४, १०-१९, ४४) आध्यात्मिक तवरमा बिरामी भएकाहरूलाई याकूबले तिनको लागि प्रार्थना गरिदिन मण्डलीका बूढा-प्रधानहरू बोलाउन अनि “त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ” भनेर प्रोत्साहन दिए। (याकूब ५:१४-१६) तथापि, पवित्र आत्मा विरुद्ध गरिएको पापले “मृत्यु” ल्याउनेछ र यस्तो जानाजानी गरिएको पाप क्षमा हुँदैन। यस्तो पाप गर्नेहरूको लागि मसीहीहरूले प्रार्थना गर्नु उचित हुनेछैन।—१ यूहन्‍ना ५:१६; मत्ती १२:३१; हिब्रू १०:२६, २७.