सतावटमाथि तिनीहरू विजयी भए
सतावटमाथि तिनीहरू विजयी भए
डेनमार्कमा सन् १९११ मा फ्रीडा जेसको जन्म भयो र तिनी आफ्नो आमाबाबुसित जर्मनीको उत्तरी भागमा पर्ने हुसुममा बसाइँ सरिन्। वर्षौंपछि तिनले मेग्डेबर्गमा जागिर पाइन् र १९३० मा त्यसबेला बाइबल विद्यार्थी भनेर चिनिने यहोवाका साक्षीको रूपमा बप्तिस्मा लिइन्। हिटलर सन् १९३३ मा सत्तामा आए र यो घटनाले फ्रीडाको जीवनमा एउटा मात्र होइन तर दुइटा एकदलीय व्यवस्थाको हातबाट कठोर सजाय भोग्नुपर्ने अवस्था निम्त्यायो।
सन् १९३३ मार्चमा जर्मन सरकारले आमनिर्वाचन गर्ने घोषणा गऱ्यो। हाम्बर्ग नजिकै नोएनग्याम कन्सन्ट्रेशन क्याम्प मेमोरियलका प्रमुख डा. डेटलेफ गार्ब यसो भन्छन्: “राष्ट्रिय समाजवादीहरू अधिकांश मानिसहरूलाई आफ्ना चान्सलर तथा नेता अडोल्फ हिटलरको पक्षमा मतदान गर्ने दबाब दिन चाहन्थे।” यहोवाका साक्षीहरूले राजनीतिमा तटस्थ रहनु र ‘संसारको नहुनु’ भन्ने येशूको सल्लाह पालन गरे र मतदान गरेनन्। परिणाम के भयो? साक्षीहरूमाथि प्रतिबन्ध लगाइयो।—यूहन्ना १७:१६.
फ्रीडाले लुकीछिपी भएपनि आफ्नो मसीही गतिविधिलाई कायम राखिन् र प्रहरीधरहरा पत्रिका प्रकाशन गर्नसमेत मदत गरिन्। “केही पत्रिकाहरू यातना शिविरमा रहेका हाम्रा सँगी विश्वासीहरूसम्म लुकीछिपी पुऱ्याइन्थ्यो,” भनी तिनी बताउँछिन्। तिनलाई १९४० मा गिरफ्तार गरियो र गेस्टापोले तिनीसित सोधपुछ गरेपछि केही महिनासम्म एकान्त कारावासमा थुनियो। तिनले कसरी धैर्य धारण गरिन्? तिनी भन्छिन्: “मेरो आश्रय भनेकै प्रार्थना थियो। म बिहान सबेरै अनि दिनमा थुप्रैपल्ट प्रार्थना गर्थें। प्रार्थनाले मलाई बलियो बनाउनुका साथै अचाक्ली फिक्री नगर्न मदत गऱ्यो।”—फिलिप्पी ४:६, ७.
फ्रीडालाई छोड्न त छोडियो तर सन् १९४४ मा गेस्टापोले फेरि गिरफ्तार गऱ्यो। यसपल्ट तिनलाई वाल्डाइमको झ्यालखानामा सात वर्ष जेल सजाय तोकियो। फ्रीडा अझ भन्छिन्: “झ्यालखानाका गार्डहरूले मलाई बाथरूम सफा गर्न केही आइमाईहरूसित खटाए। म अक्सर चेकोस्लोभाकियाकी कैदीसित हुन्थें, त्यसैले तिनीसित यहोवा र आफ्नो धार्मिक विश्वासबारे धेरै कुरा गर्ने गर्थें। त्यस्ता कुराकानीहरूले मेरो विश्वासलाई बलियो बनाइराख्यो।”
थोरै समयको लागि मात्र छुटकारा
वाल्ढेमको झ्यालखानाका कैदीहरूलाई सन् १९४५ मे महिनामा सोभियत सेनाले छुटकारा दियो र फ्रीडा फेरि म्याग्डेबर्ग फर्केर आफ्नो जन सेवकाईमा लाग्न स्वतन्त्र भइन् तर थोरै समयको लागि मात्र। यसपल्ट भने सोभियतहरूको नियन्त्रण क्षेत्रका अधिकारीहरूबाट साक्षीहरू फेरि वैरभावको सिकार हुनुपऱ्यो। हानारेन्ट इन्स्टिच्युट फर रिसर्च इन्टु टोटलिटरियनिज्मका जेराल्ड ह्याक यस्तो
लेख्छन्: “जर्मन भूमीमा दुवै तानाशाही शासनबाट निरन्तर सतावट भोग्ने थोरै सामाजिक समुदायहरूमध्ये यहोवाका साक्षीहरू पनि पर्छन्।”फेरि वैरभाव राखिनुको कारण के थियो? अहिले पनि मुख्य विषय मसीही तटस्थता नै थियो। सन् १९४८ मा पूर्वी जर्मनीमा प्रत्येक जनताको राय बुझ्न जनमत-संग्रहको आयोजना गरियो। ह्याकको भनाइअनुसार “[यहोवाका साक्षीहरू सताइनुको] मुख्य कारण नै तिनीहरूले जनमत-संग्रहमा भाग नलिनु थियो।” सन् १९५० अगस्तमा यहोवाका साक्षीहरूमाथि पूर्वी जर्मनीमा प्रतिबन्ध लगाइयो। फ्रीडालगायत सयौंलाई गिरफ्तार गरियो।
फ्रीडालाई फेरि अदालतमा उभ्याइयो। त्यहाँ तिनलाई छ वर्षको जेल सजाय सुनाइयो। “यसपल्ट म अरू सँगी विश्वासीहरूसँगै परें र त्यस्तो संगतिले मलाई धेरै मदत गऱ्यो।” सन् १९५६ मा जेल मुक्त भएपछि तिनी पश्चिम जर्मनीमा बसाइँ सरिन्। अहिले ९० वर्ष पुगिसकेकी फ्रीडा अझै साँचो परमेश्वर यहोवाको उपासना गर्दै छिन्।
दुईवटा तानाशाही शासनअन्तर्गत फ्रीडाले २३ वर्षसम्म सतावट भोगिन्। “नाजीहरूले मलाई शारीरिक तवरमा खत्तम पार्न खोजे भने साम्यवादीहरूले चाहिं मेरो मनोबल कमजोर पार्न खोजे। मैले कसरी बल पाएँ? स्वतन्त्र हुँदा बाइबल अध्ययन गर्ने राम्रो बानी, एक्लै हुँदा गरेको निरन्तर प्रार्थना, सम्भव हुँदा सँगी विश्वासीहरूलाई भेट्ने बानी अनि मौका पाउने बित्तिकै अरूलाई आफ्नो धार्मिक विश्वासबारे बताएकोले।”
हंगेरीको फासिज्म
यहोवाका साक्षीहरूले दशकौंसम्म वैरभाव सहनुपरेको अर्को मुलुक हंगेरी हो। त्यहाँ कसै-कसैले दुइटा होइन तर तीनवटा एकदलीय व्यवस्थाका शासकहरूका हातबाट सतावट भोग्नुपऱ्यो। तिनीहरूमध्ये एक हुन् आडम जिङगर। सन् १९२२ मा हंगेरीको पाक्सस्थित प्रोटेस्टेन्ट धर्मावलम्बी परिवारमा आडमको जन्म भयो। सन् १९३७ मा तिनको घरमा केही बाइबल विद्यार्थीहरू आए र तिनीहरूको सन्देश सुन्ने बित्तिकै तिनले त्यसमाथि चासो देखाउन थाले। बाइबलको ज्ञान सिक्दै गएपछि चर्चमा सिकाइने कुराहरू बाइबल आधारित रहेनछन् भन्ने कुरामा तिनी विश्वस्त भए। त्यसैले तिनले प्रोटेस्टेन्ट चर्च छोडेर बाइबल विद्यार्थीहरूसित जन सेवकाईमा भाग लिन थाले।
हंगेरीमा फासिज्मको प्रभाव बढ्दै थियो। थुप्रैपल्ट प्रहरीहरूले आडमलाई घरघर प्रचार गरिरहेको देखे र लगेर केरकार गरे। साक्षीहरूमाथिको दबाब बढ्यो र १९३९ मा तिनीहरूको क्रियाकलापलाई गैरकानुनी घोषणा गरियो। आडमलाई १९४२ मा गिरफ्तार गरी झ्यालखानामा लगियो र बेस्सरी पिटियो। मात्र १९ वर्षको उमेरमा त्यस्तो पीडा र महिनौंको कारावास सजाय भोग्न तिनलाई कुन कुराले मदत गऱ्यो? “घरैमा हुँदा मैले बाइबल राम्रोसित अध्ययन गरेर यहोवाका उद्देश्यहरूबारे आधारभूत समझ पाइसकेको थिएँ।” झ्यालखानाबाट छुटेपछि मात्र यहोवाको एक जना साक्षीको रूपमा तिनले बप्तिस्मा लिए। त्यो पनि, अगस्त सन् १९४२ को एउटा अँध्यारो रात आफ्नै घर नजिकैको नदीमा।
हंगेरीको झ्यालखाना र सर्बियाको श्रम शिविर
दोस्रो विश्वयुद्धतिर सोभियत संघ विरुद्ध हंगेरीले जर्मनीलाई साथ दियो र १९४२ को शरद् ऋतुमा आडमलाई पनि सैनिक सेवामा भर्ती हुने आदेश दिइयो। तिनी यसो भन्छन्: “बाइबलबाट सिकेको कुराहरूअनुसार म सैन्य सेवामा लाग्न सक्दिनँ भनेर बताएँ। मैले आफ्नो तटस्थताबारे बताएँ।” तिनलाई ११ वर्षको जेल सजाय सुनाइयो। तर आडमले हंगेरीमा धेरै समय बिताउनु परेन।
सन् १९४३ मा लगभग १६० जना यहोवाका साक्षीहरूलाई विभिन्न ठाउँबाट जम्मा गरेर डुंगामा राखियो र डानुबे नदी हुँदै सर्बिया पुऱ्याइयो। आडम पनि तिनीहरूमध्ये एक थिए। सर्बियामा तिनीहरू हिटलरको तेस्रो राइकको नियन्त्रणमा थिए। तिनीहरूलाई बोरको श्रम शिविरमा थुनियो र तामा खानीमा जबरजस्ती काम गराइयो। झण्डै एक वर्षपछि, तिनीहरूलाई हंगेरीमै फिर्ता लगियो र १९४५ को वसन्त ऋतुमा आडमलाई सोभियत सेनाले छुटकारा दियो।
साम्यवादी नियन्त्रणमा परेको हंगेरी
तर त्यो स्वतन्त्रता पनि धेरै दिन टिक्न सकेन। युद्धअघि फासिस्टहरूले गरेझैं साम्यवादीहरूले पनि १९४० दशकको अन्तसम्ममा हंगेरीभित्र यहोवाका साक्षीहरूको गतिविधिलाई निषेध गरिसकेका थिए। विवाह गरी दुई बच्चाका बाबुसमेत भइसकेका २९ वर्षीय आडमलाई सन् १९५२ मा फेरि एकपल्ट सैन्य सेवा गर्न इन्कार गरेको अभियोगमा गिरफ्तार गरियो। आडमले अदालतमा यसो
भने: “मैले सैन्य सेवा गर्न इन्कार गरेको यो पहिलोपल्ट होइन। यही कारणले गर्दा युद्धको दौडान म कैदी भएँ र सर्बियामा निर्वासनमा पठाइएँ। मैले आफ्नो अन्तस्करणका कारण सैन्य सेवामा भाग लिन इन्कार गरेको हुँ। म यहोवाको एक जना साक्षी हुँ र राजनैतिक तवरमा तटस्थ रहन्छु।” आडमले पाएको सजाय आठ वर्षको कैद थियो तर पछि त्यसलाई घटाएर चार वर्ष गरियो।आफ्ना आमाबाबुको घरमा बाइबल विद्यार्थीहरू पहिलोपल्ट आएको बेलादेखि ३५ वर्षभन्दा बढी बितिसकेपछि पनि आडमले १९७० दशकको बीचसम्म वैरभावको सामना गरिरहनुपऱ्यो। यस अवधिभर तिनले छवटा अदालतबाट २३ वर्षको कैद सजाय पाउनुका साथै तिनले दसवटाभन्दा बढी झ्यालखाना र शिविरहरूमा जीवन बिताइसकेका थिए। युद्धअघिको हंगेरीमा फासिस्ट शासन, जर्मनीको सर्बियामा राष्ट्रिय समाजवादीहरू र शीतयुद्ध ताकाको हंगेरीमा शासन गर्ने साम्यवादीहरू गरी एकपछि अर्को गर्दै तीनवटा शासन अन्तर्गत सतावट भोगे।
आडम अहिले पनि पाक्सस्थित आफ्नो गृहनगरमा बसोबास गर्छन् र वफादार भई परमेश्वरको सेवा गरिरहेका छन्। कठिनाइहरूमाथि विजयी हुन के तिनीसित कुनै असाधारण क्षमता थियो? होइन। तिनी भन्छन्:
“बाइबल अध्ययन, प्रार्थना र सँगी विश्वासीहरूसितको संगति नै महत्त्वपूर्ण कुरा थिए। तर म अरू दुई कुराहरूबारे पनि बताउन चाहन्छु। प्रथम, बलको स्रोत यहोवा हुनुहुन्छ। उहाँसितको घनिष्ठ सम्बन्ध नै मेरो बाँच्ने आधार थियो। दोस्रोचाहिं, रोमी अध्याय १२ लाई मैले आफ्नो मनमा राखेको थिएँ। त्यहाँ यस्तो लेखिएको छ: ‘बदला नलेओ।’ त्यसैले मैले कहिल्यै पनि इख राखिनँ। मलाई सताउनेहरूसित बदला लिने थुप्रै मौका पाएँ तर मैले त्यसो गरिनँ। यहोवाले दिनुभएको बललाई हामीले कहिल्यै पनि खराबीको बदला लिन प्रयोग गर्नु हुँदैन।”
सबै सतावटको अन्त
फ्रीडा र आडमले अहिले कुनै बाधा अड्चनविना यहोवाको उपासना गर्न सकेका छन्। यद्यपि, धार्मिक सतावटसम्बन्धी ती अनुभवहरूले के देखाउँछ? त्यस्ता सतावटहरू सफल हुँदैनन्। त्यस्ता सतावटहरूको निशाना साँचो मसीहीहरू भएका छन् भने त झनै सफल हुँदैनन्। यहोवाका साक्षीहरूलाई सताउन थुप्रै खर्च गरिनुका साथै कठोर पीडा पनि दिइयो तर ती सबै खेर गए। कुनै समय दुई ठूलठूला तानाशाही शासनको प्रभुत्व रहेको आजको युरोपमा यहोवाका साक्षीहरूको फलिफाप भइरहेको छ।
साक्षीहरूले सतावटप्रति कस्तो प्रतिक्रिया देखाए? फ्रीडा र आडमको अभिलेखले देखाएझैं तिनीहरूले बाइबलको यो सल्लाहलाई पालन गरे: “खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।” (रोमी १२:२१) के भलाइले साँच्चै खराबीलाई जित्न सक्छ? सक्छ। यदि त्यो परमेश्वरमाथिको बलियो विश्वासमा आधारित छ भने। युरोपमा यहोवाका साक्षीहरूले सतावटमाथि पाएको विजय परमेश्वरको आत्माको विजय थियो र नम्र मसीहीहरूमा पवित्र आत्माले फलाएको विश्वासमा आधारित भलाइ कत्तिको प्रबल छ भन्ने नमुना थियो। (गलाती ५:२२, २३) आजको हिंसात्मक संसारमा सबैले गम्भीरतासाथ विचार गर्नुपर्ने पाठ यही हो।
[पृष्ठ ५-मा भएका चित्रहरू]
फ्रीडा जेस (हाल थिएले) गिरफ्तार हुँदा र अहिले
[पृष्ठ ७-मा भएका चित्रहरू]
आडम जिङगर कैदी हुँदा र अहिले