सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्‌

अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्‌

अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्‌

“परमप्रभुले मानिसले झैं हेर्दैनन्‌।”—१ शमूएल १६:७.

१, २. एलीआबप्रति यहोवाको दृष्टिकोण शमूएलको भन्दा कसरी भिन्‍न थियो र हामी यसबाट के सिक्न सक्छौं?

 सा.यु.पू. ११ औं शताब्दीमा, शमूएल अगमवक्‍तालाई यहोवाले एउटा गोप्य कामको लागि पठाउनुभयो। उहाँले यी अगवक्‍तालाई यिशै नाउँ गरेका मानिसको घरमा गएर तिनका छोराहरूमध्ये एक जनालाई इस्राएलको भावी राजा अभिषेक गर्ने आज्ञा दिनुभयो। शमूएल यिशैको जेठो छोरा, एलीआबलाई देख्दा, परमेश्‍वरले छान्‍नुभएको व्यक्‍ति यिनी नै हुन्‌ भन्‍ने कुरामा निर्धक्क भए। तर यहोवाले यसो भन्‍नुभयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्‌। म त्यसलाई इन्कार गर्छु। परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:६, ७) शमूएलले एलीआबलाई यहोवाको दृष्टिकोणबाट हेरेका थिएनन्‌। a

मानिसहरूले कत्ति सजिलै अरूको गलत लेखाजोखा गर्न सक्छन्‌! एकातर्फ, हामी बाहिरबाट निकै आकर्षकजस्तो देखिने तर भित्री स्वभाव भने भ्रष्ट भएका मानिसहरू चिन्‍न नसकौंला। फेरि अर्कोतर्फ, कसैको व्यक्‍तित्व हामीलाई मन परेन भन्दैमा निष्कपट व्यक्‍तिहरूसित समेत हामी कठोर र अरट्ठो व्यवहार गर्न सक्छौं।

३, ४. (क) दुई जना मसीहीबीच समस्या खडा भयो भने, तिनीहरू दुवै के गर्न कटिबद्ध हुनुपर्छ? (ख) कुनै सँगी विश्‍वासीसित हाम्रो गम्भीर मतभिन्‍नता हुँदा, हामीले आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

हामीले वर्षौंदेखि चिनेको व्यक्‍तिबारे समेत अड्‌कल काटिहाल्दा, समस्याहरू खडा हुन सक्छन्‌। कुनै समय तपाईंको एकदमै घनिष्ठ साथी भएको कुनै मसीहीसँग सायद तपाईंको ठूलै खटपट परेको थियो होला। के तपाईं यो फाटो मेटाउन चाहनुहुन्छ? यसो गर्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?

आफ्नो मसीही भाइ वा बहिनीबारे असल, दीर्घकालीन र सकारात्मक दृष्टिकोण राखेर सोचे कसो होला? अनि यसो गर्दा येशूका यी शब्दहरूलाई मनमा राख्नुहोस्‌: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) त्यसपछि, आफैलाई सोध्नुहोस्‌: ‘यहोवाले ती व्यक्‍तिलाई आफ्नो पुत्रतर्फ किन खिच्नुभयो? तिनीमा कस्ता असल गुणहरू छन्‌? कतै मैले तिनका यी गुणहरूलाई बेवास्ता गर्ने वा मूल्यहीन ठान्‍ने त गरिरहेको छैन? सुरुमा हामी किन एक-अर्काको साथी बन्यौं? कुन कुराले गर्दा म तिनीसित नजिकिएँ?’ सुरुमा, अझ विशेष गरी, त्यस व्यक्‍तिले तपाईंको चित्त दुखाएको कुरा बिर्सनुभएको छैन भने, तपाईंलाई तिनका असल गुणहरूबारे सोच्न गाह्रो हुन सक्छ। तथापि, यो तपाईंहरू दुईबीचको फाटो मेटाउने महत्त्वपूर्ण कदम हो। यसो गर्ने तरिकाबारे बुझ्न, दुई जना यस्ता व्यक्‍तिहरूको सकारात्मक गुणहरू विश्‍लेषण गरौं, जसको नाउँ कहिलेकाहीं नकारात्मक गुणसँग जोडिने गर्छ। तिनीहरू अगमवक्‍ता योना र प्रेरित पत्रुस हुन्‌।

योनालाई निष्पक्षतासाथ हेर्दा

५. योनालाई के काम दिइएको थियो र तिनले कस्तो प्रतिक्रिया देखाए?

योआशका छोरा राजा यारोबाम द्वितीयको शासनकालमा, योनाले इस्राएलको उत्तरी राज्यमा अगमवक्‍ताको रूपमा सेवा गरे। (२ राजा १४:२३-२५) एक दिन, यहोवाले योनालाई इस्राएल छोडेर शक्‍तिशाली अश्‍शूरी साम्राज्यको राजधानी, निनवे जान आज्ञा दिनुभयो। तिनलाई कस्तो काम दिइएको थियो? त्यस ठूलो शहर नाश हुँदैछ भनेर त्यहाँका बासिन्दाहरूलाई चेतावनी दिने। (योना १:१, २) परमेश्‍वरको निर्देशन पालन गर्नुको सट्टा, योना भागे! तिनी निनवेभन्दा निकै टाढा, तर्शीश जाने जहाजमा चढे।—योना १:३.

६. निनवे जान यहोवाले योनालाई किन रोज्नुभयो?

योनाबारे सोच्दा तपाईंको मनमा कुन कुरा आउँछ? के तपाईं तिनलाई अनाज्ञाकारी अगमवक्‍ताको रूपमा हेर्नुहुन्छ? तिनलाई झट्ट हेर्दा यस्तै निष्कर्षमा पुग्न सकिन्छ। तर तिनी अनाज्ञाकारी भएकै कारण परमेश्‍वरले तिनलाई अगमवक्‍ता नियुक्‍त गर्नुभएको हो र? पक्कै होइन! योनामा पक्कै पनि केही राम्रा गुणहरू भएको हुनुपर्छ। अगमवक्‍ताको रूपमा तिनको रेकर्डलाई विचार गर्नुहोस्‌।

७. योनाले कस्तो परिस्थितिको बावजुद इस्राएलमा यहोवाको सेवा गरिरहेका थिए र यो कुरा थाह पाउँदा, तिनीप्रति तपाईंको दृष्टिकोणमा यसले कसरी असर पार्छ?

साँच्चै भन्‍ने हो भने, योनाले एकदमै भावशून्य इलाका, इस्राएलमा विश्‍वासीपूर्वक परिश्रम गरेका थिए। योनाकै समयतिरका अगमवक्‍ता आमोसले त्यस समयका इस्राएलीहरूलाई भौतिक सुखविलासका प्रेमीहरू भनी वर्णन गरे। b त्यस देशमा दुष्ट कामहरू भइरहेका थिए तर इस्राएलीहरूलाई यसको वास्तै थिएन। (आमोस ३:१३-१५; ४:४; ६:४-६) तैपनि, योनाले तिनीहरूलाई प्रचार गर्ने आफ्नो काम दिनहुँ विश्‍वासीपूर्वक पूरा गरे। तपाईं सुसमाचारको उद्‌घोषक हुनुहुन्छ भने, आत्म-सन्तुष्ट तथा भावशून्य व्यक्‍तिहरूसित कुरा गर्न कत्ति गाह्रो हुन्छ भन्‍ने कुरा तपाईंलाई थाह छ। त्यसकारण, हामी योनाका कमजोरीहरूलाई स्वीकार्दै, अविश्‍वासी इस्राएलीहरूलाई प्रचार गर्दा तिनले देखाएको वफादारिता र धैर्यताजस्ता गुणहरूलाई बेवास्ता नगरौं।

८. एक जना इस्राएली अगमवक्‍ताले निनवेमा कस्ता चुनौतीहरूको समाना गर्नुपर्ने थियो?

निनवे जाने जिम्मेवारीमा एउटा झनै गाह्रो चुनौती समावेश थियो। त्यस शहरसम्म पुग्न योनाले ८०० किलोमिटर पैदल यात्रा गर्नुपर्थ्यो र यो कठिन यात्रा पूरा गर्न लगभग एक महिना लाग्थ्यो। त्यहाँ पुगेपछि, यी अगमवक्‍ताले क्रूरताको लागि कुख्यात अश्‍शूरीहरूलाई प्रचार गर्नुपर्थ्यो। क्रूर सतावट दिनु तिनीहरूको युद्धको विशेषता थियो। तिनीहरू आफ्नो क्रूरतालाई लिएर गर्वसमेत गर्थे। त्यसकारण निनवेलाई “हत्यारा शहर” भन्‍नु कुनै छक्कलाग्दो कुरा थिएन!—नहूम ३:१, ७.

९. ठूलो आँधीको कारण नविकहरूको ज्यान खतरामा पर्दा, योनाले कस्ता गुणहरू देखाए?

यहोवाको आज्ञा पालन गर्न अनिच्छुक हुँदै योना एउटा जहाजमा चढे र यसले तिनलाई आफ्नो कार्यभारबाट टाढा पुऱ्‍यायो। तैपनि, यहोवाले आफ्नो अगमवक्‍तादेखि हार खाएर तिनको सट्टामा अरू कसैलाई चलाउनुभएन। बरु, यहोवाले योनाको घैंटोमा घाम लगाउने प्रयास गर्नुभयो। यहोवाले समुद्रमा ठूलो आँधी चलाइदिनुभयो। छालहरूले योना चढेको जहाजलाई ओल्टाइपल्टाइ गर्न थाल्यो। योनाको कारण निर्दोष मानिसहरूको ज्यान खतरामा थियो! (योना १:४) योनाले कस्तो प्रतिक्रिया देखाउने थिए? आफ्नो कारणले जहाजका अरू मानिसहरूको पनि ज्यान नगुमोस्‌ भनेर योनाले तिनीहरूलाई यसो भने: “मलाई उचालेर समुद्रमा फालिदेऊ, र समुद्र तिमीहरूप्रति शान्त हुनेछ।” (योना १:१२) अन्ततः नाविकहरूले योनालाई उचालेर जहाजबाट फालिदिंदा, यहोवाले तिनलाई समुद्रबाट बचाउनुहुनेछ भनेर सोच्ने कुनै आधार थिएन। (योना १:१५) तथापि, जहाजमा हुनेहरू नमरून्‌ भनेर योना आफ्नो ज्यानको बाजी लगाउनसमेत तयार थिए। के हामीले यहाँ साहस, नम्रता र प्रेमजस्ता गुणहरू देखेनौं र?

१०. यहोवाले योनालाई फेरि जिम्मेवारी दिनुभएपछि के भयो?

१० पछि, यहोवाले योनालाई बचाउनुभयो। योनाले भर्खरै गरेका कामहरूको कारण के तिनी फेरि परमेश्‍वरको प्रतिनिधिको रूपमा सेवा गर्न अयोग्य ठहरिए? अहँ, यहोवाले तिनीप्रति दया र माया देखाउँदै तिनलाई निनवेवासीहरूकहाँ गएर प्रचार गर्ने काम फेरि दिनुभयो। योना निनवेमा पुगेपछि, तिनले त्यहाँका बासिन्दाहरूलाई तिनीहरूको दुष्ट्याइँ परमेश्‍वरको नजरको सामने पुगेको छ र ४० दिनपछि तिनीहरूको शहर नाश हुँदैछ भनेर सहासपूर्वक बताए। (योना १:२; ३:४) योनाको स्पष्ट सन्देश सुनेपछि, निनवेवासीहरूले पश्‍चात्ताप गरे र तिनीहरूको शहर जोगियो।

११. योनाले एउटा मूल्यवान्‌ पाठ सिके भनी कुन कुराले संकेत गर्छ?

११ योनाले अझै पनि आफ्नो दृष्टिकोण सच्याएका थिएनन्‌। तथापि, यहोवाले बाहिरी रूप मात्र हेर्नुहुन्‍न भन्‍ने कुरा सिक्न एउटा वास्तविक उदाहरण चलाएर योनालाई धैर्यतापूर्वक मदत गर्नुभयो। उहाँले हृदय हेर्नुहुन्छ। (योना ४:५-११) योनाले एउटा मूल्यावान्‌ पाठ सिके भन्‍ने कुरा तिनी आफैले लेखेका इमानदारपूर्ण विवरणबाट प्रस्ट हुन्छ। आफ्ना कमी-कमजोरीहरू विस्तृत तवरमा लिपिबद्ध गर्न इच्छुक हुनु तिनको नम्रताको थप प्रमाण हो। गल्ती स्वीकार्न साहस चाहिन्छ!

१२. (क) येशूले मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहुन्छ भन्‍ने कुरा हामी कसरी थाह पाउँछौं? (ख) हामीले सुसमाचार प्रचार गर्ने व्यक्‍तिहरूप्रति कस्तो दृष्टिकोण राख्न हामीलाई प्रोत्साहन दिइएको छ? (पृष्ठ १८ को पेटी हेर्नुहोस्‌।)

१२ शताब्दीयौंपछि, येशू ख्रीष्टले योनाको जीवनमा घटेको एउटा घटनाबारे सकारात्मक टिप्पणी गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थियो, उसरीनै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन र तीन रात रहनेछ।” (मत्ती १२:४०) येशूले आफू चिहानमा भएको समयलाई ती अगमवक्‍ताको जीवनमा आएको अन्धकारमय समयावधिसित तुलना गर्नुभयो भन्‍ने कुरा योनाले तिनको पुनरुत्थान भएपछि थाह पाउनेछन्‌। आफ्ना सेवकहरूले गल्ती गरे भन्दैमा तिनीहरूदेखि हार नखानुहुने परमेश्‍वरको सेवा गर्न पाउँदा के हामी खुसी छैनौं र? भजन रचयिताले यस्तो लेखे: “जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्‌, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनहुन्छ।” (भजन १०३:१३, १४) निस्सन्देह, परमेश्‍वरको पवित्र आत्माको मदतद्वारा आजका असिद्ध मानिसहरू अर्थात्‌ यो “माटो[ले]” थुप्रै काम पूरा गर्न सक्छन्‌!

पत्रुसप्रतिको सन्तुलित दृष्टिकोण

१३. पत्रुसका कस्ता गुणहरू हाम्रो मनमा आउन सक्छ तर येशूले तिनलाई किन प्रेरितको रूपमा छान्‍नुभयो?

१३ अब हामी दोस्रो उदाहरण, प्रेरित पत्रुसबारे छोटकरीमा विचार गरौं। तपाईंलाई पत्रुसबारे वर्णन गर्न भनियो भने, के तपाईंको मनमा तिनको हडबडे स्वभाव, तुरुन्तै जोसिने वा अहंकारीजस्ता गुणहरू आइहाल्छ? पत्रुसले कहिलेकाहीं त्यस्तो व्यवहार पनि गरे। तथापि, पत्रुस साँच्चै हडबडे, तुरुन्तै जोसिने वा अहंकारी भएको भए येशूले तिनलाई १२ जना प्रेरितमध्येका हुनलाई छान्‍नुहुन्थ्यो होला र? (लूका ६:१२-१४) पक्कै होइन! प्रस्ट छ, येशूले पत्रुसका यी अवगुणहरूको वास्ता गर्नुको सट्टा तिनका असल गुणहरूलाई ध्यान दिनुभयो।

१४. (क) पत्रुस हत्त न पत्त अघि सरेर बोलिहालेजस्तो देखिनुको कारण के हुन सक्छ? (ख) पत्रुसले बारम्बार प्रश्‍नहरू सोधेको कारण हामी किन कृतज्ञ हुनुपर्छ?

१४ कहिलेकाहीं पत्रुस अरू चेलाहरूको प्रवक्‍ता पनि हुन्थे। कतिपय व्यक्‍तिहरूले यसलाई तिनीमा विनम्रताको कमी थियो भन्‍ने कुराको प्रमाण ठान्लान्‌। तर के यो कुरा साँचो हो त? भनिन्छ, पत्रुस अरू चेलाहरूभन्दा र सायद येशूभन्दा पनि जेठो थिए। यदि यो कुरा साँचो हो भने, पत्रुस हत्त न पत्त अघि सरेर बोलिहाल्नुको कारण बुझ्न सक्छौं। (मत्ती १६:२२) तथापि, विचार गर्नुपर्ने अर्को कुरा पनि छ। पत्रुस आध्यात्मिक मानिस थिए। अझ बढी ज्ञान हासिल गर्ने तिर्सनाको कारण तिनी प्रश्‍नहरू सोध्थे। यसले गर्दा हामीलाई नै लाभ भएको छ। पत्रुसका प्रश्‍नहरूको जवाफ दिनुहुँदा, येशूले थुप्रै मूल्यवान्‌ कुराहरू बताउनुभयो र यी कुराहरू बाइबलमा सुरक्षित छन्‌। उदाहरणका लागि, पत्रुसको भनाइको प्रतिक्रिया स्वरूप येशूले ‘विश्‍वासी भण्डारेबारे’ बताउनुभयो। (लूका १२:४१-४४) अनि पत्रुसको यस प्रश्‍नबारे पनि विचार गर्नुहोस्‌: “हामीले ता सबै थोक छोड़ेर तपाईंका पछि लाग्यौं हामीले के पाउनेछौं?” यसको प्रत्युत्तरमा येशूले अझ सुदृढ पार्ने यस्तो प्रतिज्ञा गर्नुभयो: “जस जसले मेरो नाउँको निम्ति घर दाज्यू-भाइ, कि दिदी-बहिनी, अथवा बाबु, कि आमा, कि छोरा-छोरीहरू, कि जग्गा-जमीनहरू छोड़छ, त्यसले सय गुणा पाउनेछ, र अनन्त जीवनको अधिकार गर्नेछ।”—मत्ती १५:१५; १८:२१, २२; १९:२७-२९.

१५. पत्रुस साँच्चै वफादार थिए भनी किन भन्‍न सकिन्छ?

१५ पत्रुसको अर्को पनि असल गुण थियो—तिनी वफादार थिए। येशूको एउटा शिक्षा राम्रोसित नबुझ्दा धेरै चेलाहरू उहाँको पछि लाग्न छोडे तर पत्रुसले भने १२ जना प्रेरितहरूको पक्षबाट यसो भने: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।” (यूहन्‍ना ६:६६-६८) यी शब्दहरूले येशूको हृदयलाई कत्ति न्यानो तुल्याएको हुनुपर्छ! पछि, आफ्नो मालिकलाई पक्रन एउटा भीड आउँदा, उहाँका अधिकांश चेलाहरू भागे। तथापि, पत्रुस भने टाढैबाट भीडको पछि लागे र प्रधान पूजाहारीको घरको चोकभित्र समेत पसे। तिनी काँतर होइन तर साहसी भएको कारण त्यहाँ जान सके। येशूलाई केरकार गरिंदा, पत्रुस आगो तापिरहेका यहूदीहरूको समूहमा गएर तिनीहरूसँगै बसे। प्रधान पूजाहारीका दासहरूमध्ये एक जनाले तिनलाई चिने र तिनले पत्रुस पनि येशूसँगै थिए भनेर आरोप लगाए। हो, पत्रुसले आफ्ना मालिकलाई इन्कार गरे तर हामी यो कुरा पनि नबिर्सौं कि येशूका अधिकांश चेलाहरूले यस परिस्थितिको सामना गर्न आँट गरेनन्‌ तर पत्रुस भने येशूप्रतिको वफादारिता र चिन्ताले गर्दा नै त्यस्तो खतरनाक परिस्थितिमा परेका थिए।—यूहन्‍ना १८:१५-२७.

१६. हामीले योना र पत्रुसका सकारात्मक गुणहरूबारे विचार गर्नुको व्यावहारिक कारण के हो?

१६ पत्रुसका सकारात्मक गुणहरूको तुलनामा तिनका कमजोरीहरू नगण्य थिए। योनाको सन्दर्भमा पनि यसै भन्‍न सकिन्छ। हामीले योना र पत्रुसबारे अघिपछिभन्दा अझ सकारात्मक दृष्टिकोणले विचार गऱ्‍यौं। त्यसै गरी, वर्तमान समयका आफ्ना आध्यात्मिक भाइबहिनीहरूको मूल्यांकन गर्दा पनि हामीले आफूलाई अझ बढी सकारात्मक हुन प्रशिक्षण दिनुपर्छ। यसो गर्दा तिनीहरूसित अझ राम्रो सम्बन्ध कायम हुनेछ। किन यस्तो दृष्टिकोण राख्नु वास्तवमै खाँचो छ?

यसबाट सिकेको पाठलाई आज व्यवहारमा उतार्ने

१७, १८. (क) मसीहीहरूबीच किन मतभेद उत्पन्‍न हुन सक्छ? (ख) कुन बाइबल सल्लाहले हामीलाई सँगी विश्‍वासीहरूसितको विवाद सुल्झाउन मदत दिन सक्छ?

१७ आज विभिन्‍न आर्थिक अवस्था, शैक्षिक स्तर र जातीय पृष्ठभूमिका पुरुष, स्त्री तथा बच्चाहरूले एकताबद्ध भएर यहोवाको सेवा गरिरहेका छन्‌। (प्रकाश ७:९, १०) हामी मसीही मण्डलीमा कत्ति विविध व्यक्‍तित्वहरू देख्छौं! हामी एक-अर्काको अत्यन्तै नजिक रहेर यहोवाको सेवा गरिरहेको कारण पक्कै पनि कहिलेकाहीं मतभेद उत्पन्‍न हुन्छ।—रोमी १२:१०; फिलिप्पी २:३.

१८ हामीले भाइहरूको कमजोरी याद गरे तापनि हामी त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्दैनौं। हामी यहोवाको अनुकरण गर्ने प्रयत्न गर्छौं, जसबारे भजन रचयिताले यसरी गाए: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खडा हुनुसक्छ र?” (भजन १३०:३) हामीमाझ विभाजन ल्याउन सक्ने व्यक्‍तिगत आनीबानीहरूमा ध्यान दिनुको सट्टा हामी “शान्ति हुने र आपसमा सुधार्ने कुराहरूको पछि” लाग्छौं। (रोमी १४:१९) व्यक्‍तिविशेषका कमीकमजोरीहरूलाई वास्ता नगरी असल गुणहरूमा ध्यान केन्द्रित गरेर हामी तिनीहरूलाई यहोवाले झैं हेर्ने प्रयत्न गर्छौं। यसो गर्दा हामीले ‘एउटाले अर्कोलाई सहने’ मदत पाउँछौं।—कलस्सी ३:१३.

१९. गम्भीर मतभिन्‍नताहरू सुल्झाउन एक जना मसीहीले चाल्न सक्ने व्यावहारिक कदमहरू उल्लेख गर्नुहोस्‌।

१९ तर कुनै असमझदारीले हामीलाई पिरोलिरह्‍यो भने नि? (भजन ४:४) के तपाईं र कुनै सँगी विश्‍वासीबीच यस्तै भएको छ? उक्‍त विवाद सुल्झाउने प्रयत्न गरे कसो होला? (उत्पत्ति ३२:१३-१५) सर्वप्रथम, यहोवाको डोऱ्‍याइ माग्दै प्रार्थनामा उहाँसामु जानुहोस्‌। त्यसपछि, त्यस व्यक्‍तिका असल गुणहरू मनमा राख्दै “ज्ञानको नम्रतासित” तिनलाई भेट्‌नुहोस्‌। (याकूब ३:१३) तिनलाई तपाईंले शान्ति कायम गर्न चाहेको कुरा बताउनुहोस्‌। यो प्रेरित सल्लाह नबिर्सनुहोस्‌: “सुन्‍नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्‌।” (याकूब १:१९) “रिसाउनालाई धीमा होस्‌” भन्‍ने सल्लाहले अर्को व्यक्‍तिले तपाईंलाई रिस उठ्‌ने कुरा गर्न वा भन्‍न सक्छ भनी संकेत गर्छ। त्यस्तो भयो भने, आत्म-संयम कायम राख्नको लागि यहोवाको मदत माग्नुहोस्‌। (गलाती ५:२२, २३) आफ्नो भाइलाई तिनको कुरा बताउन दिनुहोस्‌ र ध्यानपूर्वक सुन्‍नुहोस्‌। तिनले भनेका सबै कुराहरू चित्त नबुझे तापनि तिनको कुरा बीचैमा नकाट्‌नुहोस्‌। तिनले गलत दृष्टिकोण राखेका हुन सक्छन्‌ तैपनि यो तिनको आफ्नो दृष्टिकोण हो। तिनको ठाउँमा आफूलाई राखेर उक्‍त समस्यालाई हेर्ने प्रयत्न गर्नुहोस्‌। यसमा तपाईंले आफूलाई आफ्नो भाइको दृष्टिकोणबाट हेर्नु पनि समावेश हुन सक्छ।—हितोपदेश १८:१७.

२०. मतभिन्‍नताहरू सुल्झाउँदा, कस्ता थप कदमहरूले मेलमिलाप कायम गर्न मदत दिन सक्छ?

२० तपाईंको बोल्ने पालो आउँदा अनुग्रहसाथ बोल्नुहोस्‌। (कलस्सी ४:६) तपाईंलाई मन पर्ने तिनका गुणहरूबारे बताउनुहोस्‌। असमझदारी उत्पन्‍न हुनुमा आफ्नो दोषको लागि माफी माग्नुहोस्‌। तपाईंको विनम्र प्रयासको कारण मेलमिलाप कायम भयो भने, यहोवालाई धन्यवाद दिनुहोस्‌। यदि भएन भने पनि यहोवाको डोऱ्‍याइ माग्दै शान्ति कायम गर्ने थप अवसरहरू खोज्नुहोस्‌।—रोमी १२:१८.

२१. अरूलाई यहोवाले झैं हेर्न यस छलफलले तपाईंलाई कसरी मदत गरेको छ?

२१ यहोवा आफ्ना सबै सेवकहरूलाई प्रेम गर्नुहुन्छ। हामी असिद्ध भए तापनि हामी सबैलाई आफ्नो सेवामा चलाउन पाउँदा उहाँ खुसी हुनुहुन्छ। अरूप्रति उहाँको दृष्टिकोणबारे हामी जति धेरै सिक्छौं, हाम्रा भाइबहिनीहरूप्रति हाम्रो प्रेम पनि त्यत्ति नै बढ्‌छ। कुनै सँगी मसीहीप्रति हाम्रो प्रेम सेलाएको छ भने, यसलाई फेरि जगाउन सकिन्छ। अरूप्रति सकारात्मक दृष्टिकोण राख्ने अर्थात्‌ तिनीहरूलाई यहोवाले झैं हेर्ने दृढ प्रयत्न गऱ्‍यौं भने, हामीले कत्ति ठूलो आशिष्‌ पाउनेछौं!

[फुटनोटहरू]

a एलीआब देख्नमा सुन्दर भए तापनि तिनमा इस्राएलको राजा बन्‍नको लागि आवश्‍यक गुणहरू थिएनन्‌ भन्‍ने कुरा पछि प्रस्ट भयो। पलिश्‍ती दैत्य गोल्यतले इस्राएलीहरूलाई लडाइँ गर्न धम्काउँदा, इस्राएलका अरू मानिसहरूजस्तै एलीआब पनि डरले लुत्रुक्क परे।—१ शमूएल १७:११, २८-३०.

b केही महत्त्वपूर्ण विजयहरू तथा आफ्नो पहिलेको भू-भाग पुनः फिर्ता गराएबापत अन्य देशहरूबाट प्राप्त करहरूको कारण यारोबाम द्वितीयले उत्तरी राज्यको धन-सम्पत्ति निकै बढाएको हुनुपर्छ।—२ शमूएल ८:६; २ राजा १४:२३-२८; २ इतिहास ८:३, ४; आमोस ६:२.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाले आफ्ना विश्‍वासी सेवकहरूको कमीकमजोरीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

• तपाईं योना र पत्रुसका कस्ता सकारात्मक गुणहरू बताउन सक्नुहुन्छ?

• तपाईं आफ्ना मसीही भाइहरूप्रति कस्तो दृष्टिकोण राख्न कटिबद्ध हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको पेटी]

अरूलाई परमेश्‍वरले कसरी हेर्नुहुन्छ विचार गर्नुहोस्‌

योनाको बाइबल विवरण मनन गर्दा, के तपाईंले नियमित रूपमा सुसमाचार प्रचार गर्नुहुने व्यक्‍तिहरूप्रति तपाईंले राख्नुभएको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्‍यकता देख्नुभयो? इस्राएलीहरूजस्तै तिनीहरू पनि आत्म-सन्तुष्ट वा भावशून्य देखिएलान्‌ वा परमेश्‍वरको सन्देशको विरोध गर्लान्‌। यद्यपि, यहोवा परमेश्‍वरले तिनीहरूलाई कसरी हेर्नुहुन्छ? योनाले प्रचार गर्दा निनवेको राजाले पश्‍चात्ताप गरेझैं, यस रीतिरिवाजमा निकै ठूलो ओहदामा भएका कोही-कोही व्यक्‍तिहरूसमेत कुनै दिन यहोवातर्फ फर्कन सक्छ।—योना ३:६, ७.

[पृष्ठ १५-मा भएको चित्र]

के तपाईं अरूलाई यहोवाले झैं हेर्नुहुन्छ?

[पृष्ठ १६, १७-मा भएको चित्र]

येशूले योनाको अनुभवबारे सकारात्मक कुरा फेला पारेर बताउनुभयो