सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मेरो बच्चालाई स्कूल पठाउनुपर्छ?

के मेरो बच्चालाई स्कूल पठाउनुपर्छ?

के मेरो बच्चालाई स्कूल पठाउनुपर्छ?

तपाईंले यस पृष्ठमा लेखिएका कुराहरू पढ्‌न नसक्नुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? तपाईंले आफ्नो देशको आधिकारिक भाषा बोल्न नजानेको भए के हुन्थ्यो? अनि विश्‍वको मानचित्रमा आफ्नो देश कहाँ पर्छ भनेर देखाउन नसकेको भए? हो, असंख्य बालबालिकाहरू त्यस्तै अवस्थामा हुर्किन्छन्‌। तपाईंको बच्चा नि?

के तपाईंको बच्चालाई स्कूल पठाउनुपर्छ? थुप्रै देशहरूमा प्राथमिक तथा माध्यमिक शिक्षा अनिवार्य छ र अक्सर निश्‍शुल्क हुन्छ। बाल-अधिकारसम्बन्धी अधिवेशनले औपचारिक शिक्षालाई तिनीहरूको आधारभूत अधिकार मानेको छ। त्यही कुरा मानव-अधिकारसम्बन्धी विश्‍वव्यापी घोषणापत्रले पनि उल्लेख गरेको छ। तथापि, कुनै कुनै देशमा निश्‍शुल्क पढाइने व्यवस्था नहुन सक्छ र यसले गर्दा आमाबाबुमाथि आर्थिक बोझ पर्न सक्छ। आउनुहोस्‌, आफ्ना छोराछोरी औपचारिक शिक्षा वा अन्य तरिकाबाट शिक्षित बनाउन चाहने मसीही आमाबाबुको दृष्टिकोणबाट यस विषयलाई नियालौं।

साक्षरतासम्बन्धी बाइबलीय उदाहरण

बाइबलमा उल्लेख गरिएका अधिकांश परमेश्‍वरका सेवकहरू पढ्‌न र लेख्न जान्दथे। येशूका प्रेरितहरू पत्रुस र यूहन्‍ना यहूदी माझीहरू भए तापनि तिनीहरूले बाइबल पुस्तकहरू आफू बसोबास गर्ने ठाउँ गालीलको लिपिमा होइन तर युनानी भाषामा लेखे। a स्पष्टतः तिनीहरूका आमाबाबुले आफ्ना छोराछोरीहरूले आधारभूत शिक्षा पाऊन्‌ भनेर सुनिश्‍चित गरे। त्यस्तै पृष्ठभूमिबाट आएका अन्य बाइबल लेखकहरू गोठालो काम गर्ने दाऊद, खेतीपाती गर्ने आमोस अनि येशूको सौतेनी भाइ यहूदा थिए जो सायद सिकर्मी थिए।

अय्यूब पनि पढ्‌न र लेख्न जान्दथे अनि तिनकै नाउँमा लेखिएको बाइबलको पुस्तकले तिनमा विज्ञानसम्बन्धी ज्ञानसमेत थियो भन्‍ने संकेत गर्छ। साहित्यमा पनि तिनको दखल हुनुपर्छ किनभने अय्यूबको पुस्तकमा उद्धृत गरिएका भनाइहरू कवितात्मक शैलीमा छन्‌। अनि प्रारम्भिक मसीहीहरू साक्षर थिए भनी हामीलाई थाह छ किनभने तिनीहरूका सम्भाव्य शास्त्रीय टिपोटहरू खपटा अर्थात्‌ माटाका भाँडाका टुक्राहरूमा पाइएका छन्‌।

मसीहीहरूका लागि शिक्षा जरुरी छ

परमेश्‍वरलाई खुसी तुल्याउने हो भने सबै मसीहीहरू बाइबलको शिक्षामा बढ्‌दै जानुपर्छ। (फिलिप्पी १:९-११; १ थिस्सलोनिकी ४:१) धर्मशास्त्र तथा बाइबल आधारित सामग्रीहरूको लगनशील प्रयोगले आध्यात्मिक उन्‍नति गराउँछ। परमेश्‍वरले आफ्नो लिखित वचन उपलब्ध गराउनुभएको हुनाले उहाँ आफ्ना उपासकहरू सम्भव भएसम्म साक्षर होऊन्‌ भन्‍ने आशा गर्नुहुन्छ। बाइबल बुझेर पढ्‌दा त्यसका सल्लाहहरू पालन गर्न सजिलो हुन्छ। हो, हामीले त्यसका अंशहरू राम्रोसित बुझ्न र मनन गर्न दोहोऱ्‍याएर पढ्‌नु आवश्‍यक पर्न सक्छ।—भजन ११९:१०४; १४३:५; हितोपदेश ४:७.

यहोवाका जनहरूले हरेक वर्ष “विश्‍वासी र बुद्धिमान दास[को]” निर्देशनमा तयार पारिएका थुप्रै लाभदायी लिखित सामग्रीहरू प्राप्त गर्छन्‌। (मत्ती २४:४५-४७) त्यस्ता साहित्यहरूमा पारिवारिक जीवन, संस्कृति, धर्म, विज्ञान र अन्य थुप्रै विषयहरूमा चर्चा गरिएका हुन्छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसमा आध्यात्मिक विषयमा धर्मशास्त्रीय निर्देशनहरू पाइन्छन्‌। तपाईंका छोराछोरीलाई पढ्‌न आउँदैन भने तिनीहरू यस्ता महत्त्वपूर्ण जानकारीहरूबाट वञ्चित हुनेछन्‌।

मानिसजातिको इतिहास सिक्नु जरुरी छ किनभने यसले परमेश्‍वरको राज्यको आवश्‍यकता किन छ भन्‍ने कुरा बुझ्न मदत गर्छ। भूगोलसम्बन्धी आधारभूत ज्ञान हुनु पनि राम्रो हो। बाइबलले इस्राएल, मिश्र र युनानजस्ता थुप्रै ठाउँबारे बताउँछ। के तपाईंको बच्चाले विश्‍व-मानचित्रमा ती ठाउँहरू भेट्टाउन सक्छ? के उसले आफ्नो देश भेट्टाउन सक्छ? नक्सा पढ्‌न नजान्‍ने व्यक्‍तिलाई आफूले पाएको क्षेत्रमा सेवकाई पूरा गर्न पनि गाह्रो हुन सक्छ।—२ तिमोथी ४:५.

मण्डलीमा सुअवसरहरू

मसीही प्राचीन तथा सेवकाई सेवकहरूले थुप्रै जिम्मेवारीहरू बहन गर्नुपर्ने हुन्छ, जसलाई पूरा गर्न तिनीहरूले पढ्‌न जानेको हुनुपर्छ। उदाहणका लागि, तिनीहरूले मण्डलीका सभामा पाएका भागहरूको लागि तयारी गर्नुपर्ने हुन्छ। त्यस्तै गरी साहित्य तथा अनुदानहरूको अभिलेख राख्नुपर्छ। आधारभूत शिक्षा नभएको व्यक्‍तिलाई यस्ता जिम्मेवारी प्रभावकारी ढंगमा बहन गर्न गाह्रो हुन्छ।

स्वयंसेवकहरू संसारभर बेथेल घरहरूमा सेवा गर्छन्‌। यी स्वयंसेवकहरूले एक अर्कासित कुरा गर्ने, साहित्यहरू अनुवाद गर्ने अनि यन्त्रहरू मर्मत गर्ने जस्ता आफ्ना कार्यभार पूरा गर्न आफू बसिरहेको देशको आधिकारिक भाषा पढ्‌न र लेख्न जानेको हुनुपर्छ। तपाईंको बच्चाले पनि यस्ता सुअवसरहरूको आनन्द उठाउने हो भने आधारभूत शिक्षा हासिल गर्नु अत्यावश्‍यक छ। तपाईंको बच्चा स्कूल जानुपर्ने अन्य के कस्ता व्यावहारिक कारणहरू छन्‌?

गरिबी तथा अन्धविश्‍वास

गरिबीमा जीवन गुजारिरहेका मानिसहरू केही खास अवस्थाहरूमा लाचार हुन्छन्‌। तथापि, अर्कोतर्फ उचित मात्रामा शिक्षा हासिल गरेको छ भने आफू र आफ्नो बालबालिकालाई आइपर्न सक्ने अनावश्‍यक झमेलाहरूबाट जोगिन सकिन्छ। अशिक्षित व्यक्‍तिहरूको जीवन असुरक्षित हुन सक्छ। बालबच्चा तथा आमाबाबुहरू समेत थोरै आम्दानीका कारण उपचार गर्न नसकेर कहिलेकाहीं मर्छन्‌। अक्सर अशिक्षित व्यक्‍तिहरूनै कुपोषण र गरिबीको चपेटामा परेको देखिन्छ। यस सन्दर्भमा शिक्षा अथवा कमसे कम लेखपढ गर्न सक्दा केही मदत पुग्न सक्छ।

साक्षर हुँदा अन्धविश्‍वासहरूले त्यति प्रभाव पार्न सक्दैन। हो, अन्धविश्‍वास शिक्षित तथा अशिक्षित दुवै वर्गका मानिसहरूबीच व्याप्त छ। तर अशिक्षित व्यक्‍तिहरूले त्यस्ता छली कुराहरूको पर्दाफास गरिएका सामग्रीहरू पढ्‌न नसक्ने हुनाले तिनीहरू सजिलै छल र शोषणको सिकार हुन सक्छन्‌। तसर्थ, तिनीहरू झन्‌ बढी अन्धविश्‍वासी हुन्छन्‌ र प्रेत आत्मा खेलाउने मानिसहरूले चमत्कारी ढंगमा निवारण गर्न सक्छ भन्‍ने विश्‍वास गर्छन्‌।—व्यवस्था १८:१०-१२; प्रकाश २१:८.

शिक्षा भनेको जागिर खानको लागि मात्र होइन

आज थुप्रै मानिसहरू शिक्षा हासिल गर्नुको मुख्य उद्देश्‍य भनेको पैसा कमाउनु नै हो भन्ठान्छन्‌। तथापि, केही शिक्षित मानिसहरू बेरोजगार छन्‌ र आफ्ना आधारभूत आवश्‍यकता पूरा गर्न चाहिने पैसासमेत कमाउन सक्दैनन्‌। त्यसकारण केही आमाबाबु आफ्ना छोराछोरीलाई स्कूल पठाउनुमा केही फाइदा छैन भन्‍ने विचार गर्न सक्छन्‌। तर पढाइले कुनै पनि व्यक्‍तिलाई पैसा कमाउन मात्र नभई सामान्य जीवन बिताउनसमेत बच्चाहरूलाई सुसज्जित बनाउँछ। (उपदेशक ७:१२) कुनै व्यक्‍तिलाई आफ्नो देशको आधिकारिक भाषा बोल्न, पढ्‌न र लेख्न आउँछ भने चिकित्सकहरू, निजामती अख्तियारवाला वा बैंकका कर्मचारीहरूसित व्यवहार गर्नुपर्दा डर होइन तर सामान्य महसुस गर्न सक्छन्‌।

कुनै-कुनै ठाउँमा शिक्षा नपाएका बच्चाहरूलाई ईंटा बिछ्याउने, माछा मार्ने, सिलाइ वा अन्य कामकुराहरू सिकाउन अरूकहाँ तालिम लिन पठाइन्छ। हुन त कुनै व्यवसाय सिक्नु राम्रो कुरा हो तर बच्चाहरूले स्कूलको शिक्षा हासिल गरेका छैनन्‌ भने तिनीहरूले राम्ररी लेख्न र पढ्‌न असमर्थ हुन सक्छन्‌। तिनीहरूले आधारभूत शिक्षा हासिल गरेपछि व्यवसाय गर्न सिके भने अरूको शोषणको सिकार हुनबाट जोगिन र अझ बढी सन्तोषजनक जीवन बिताउन सक्नेछन्‌ भन्‍ने कुरामा कुनै सन्देह छैन।

नासरतका येशू एक जना सिकर्मी हुनुहुन्थ्यो र उहाँले पनि आफ्ना धर्मपिता यूसुफबाट केही तालिम लिनुभएको हुनुपर्छ। (मत्ती १३:५५; मर्कूस ६:३) येशू साक्षर पनि हुनुहुन्थ्यो किनभने उहाँले १२ वर्षकै उमेरमा मन्दिरका शिक्षित मानिसहरूसित अर्थपूर्ण छलफल गर्न सक्नुभयो। (लूका २:४६, ४७) येशूको सन्दर्भमा हेर्ने हो भने उहाँले व्यवसाय सिक्नुभए तापनि अन्य प्रकारका शिक्षादीक्षा लिन उहाँलाई त्यसले कुनै बाधा पुऱ्‍याएन।

छोरीलाई पनि शिक्षा दिनुपर्छ र?

कहिलेकाहीं आमाबाबु आफ्ना छोरालाई त स्कूल पठाउँछन्‌ तर छोरीलाई भने पठाउँदैनन्‌। सायद केही आमाबाबुको विचारमा आफ्नो छोरीलाई पढाउँदा धेरै पैसा खर्च गर्नुपर्छ त्यसैले दिनभर घरमै बसेर आमालाई मदत गर्दा तिनीहरू उपयोगी हुन सक्छन्‌। तर साक्षर नहुँदा छोरी मान्छे पनि निस्सहाय हुन्छन्‌। संयुक्‍त राष्ट्रसंघ बालकोष-को (युनिसेफ) एउटा प्रकाशनले यसो भन्छ: “धेरै अध्ययनहरूले देखाएअनुसार केटीहरूलाई शिक्षा दिनु भनेको गरिबी निवारण गर्ने एउटा सर्वोत्तम रणनीति हो।” (पोभर्टी एण्ड चिल्ड्रेन: लेसन्स अफ द नाइन्टिज फर लिस्ट डेभलप्ड कन्ट्रिज) शिक्षित छोरीहरू जीवनका समस्याहरूसित झेल्न सुसज्जित हुन्छन्‌ र परिवारका सबैलाई फाइदा हुने खालका बुद्धिमतापूर्ण निर्णयहरू गर्न सक्छन्‌।

पश्‍चिम अफ्रिकाको बेनिनमा शिशुहरूको अकाल मृत्युबारे गरिएको अध्ययनअनुसार अशिक्षित महिलाहरू १००० जनामध्ये १६७ जनाले पाँच वर्षमुनिका बच्चाहरू गुमाए भने माध्यमिक विद्यालयसम्म अध्ययन गरेका महिलाहरूमध्ये चाहिं ३८ जनाले मात्र आफ्नो शिशुको अकाल मृत्युको पीडा भोग्नुपऱ्‍यो। युनिसेफ निष्कर्षमा यसो भन्छ: “तसर्थ बेनिन तथा सारा संसारभर शिशु मृत्युदरलाई शिक्षाले धेरै असर पुऱ्‍याएको पाइन्छ।” त्यसकारण छोरीहरूलाई शिक्षा दिंदा थुप्रै फाइदाहरू हुन्छन्‌।

के साक्षरता कक्षाहरू पर्याप्त छन्‌?

आवश्‍यकताअनुसार यहोवाका साक्षीहरू मण्डलीका पढ्‌न नजान्‍ने सदस्यहरूका लागि साक्षरता कक्षाको आयोजना गर्छन्‌। b यस उपयोगी प्रबन्धले मानिसहरूलाई विशेष गरी स्थानीय भाषामा पढ्‌न सिकाउँछ। के यो औपचारिक शिक्षाको उपयुक्‍त विकल्प हुन सक्ला त? के स्कूलहरू हुँदा हुँदै तपाईंका छोराछोरीलाई पनि मण्डलीले नै यस्तो शिक्षा देओस्‌ भन्‍ने आशा गर्नु ठीक हो?

हुन त साक्षरता कक्षा यहोवाका साक्षीहरूको मण्डलीको एउटा मायालु प्रबन्ध भए तापनि यो खास गरी कहिल्यै स्कूलमा पढ्‌न नपाएर मर्कामा परेका वयस्कहरूको लागि मात्र हो। तिनीहरूका आमाबाबुलाई साक्षर हुनुको महत्त्व थाह नभएको वा त्यहाँ कुनै स्कूल नै नभएको हुन सक्छ। त्यस्ता व्यक्‍तिहरूले मण्डलीमा सञ्चालन हुने साक्षरता कक्षामा भाग लिएर मदत पाउन सक्छन्‌। तर यी कक्षाहरू स्कूलको विकल्प भने होइनन्‌ अनि प्राथमिक शिक्षा दिने उद्देश्‍यले तयार गरिएका छैनन्‌। विज्ञान, गणित तथा इतिहास जस्ता विषयहरूलाई यस्ता साक्षरता कक्षाहरूमा समावेश गरिंदैन। तथापि, ती विषयहरू स्कूलको शिक्षामा भने समावेश हुन्छन्‌।

अफ्रिकामा साक्षरता कक्षाहरू प्रायजसो देशको आधिकारिक भाषामा नभई जातीय भाषामा सञ्चालन हुन्छन्‌। यद्यपि, स्कूलमा भने अक्सर आधिकारिक भाषामै पठनपाठन गराइन्छ। यसले बच्चाहरूलाई थप लाभ पुऱ्‍याउँछ किनभने आधिकारिक भाषामा थुप्रै पुस्तकहरू र अन्य विभिन्‍न प्रकारका पाठ्यसामग्रीहरू उपलब्ध छन्‌। बच्चाले औपचारिक शिक्षाका साथै साक्षरता कक्षाबाट पनि सिक्न सक्ने भए तापनि यसले औपचारिक शिक्षाको ठाउँ भने ओगट्‌न सक्दैन। उसोभए सम्भव भएसम्म बच्चाहरूलाई औपचारिक शिक्षा दिनु व्यावहारिक होइन र?

आमाबाबुको दायित्व

मण्डलीको आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्ने कार्यमा नेतृत्व लिने मसीहीहरू उदाहरणीय हुनुपर्छ। तिनीहरूले आफ्नो घराना र बालबच्चाहरूलाई “राम्ररी” सिकाउनुपर्छ। (१ तिमोथी ३:४, १२) “राम्ररी” सिकाउनुमा बालबालिकाको भविष्यमा सफलता हासिल गर्न कठिनाइ नहोस्‌ भनी सक्दो मदत गर्नु पनि समावेश छ।

परमेश्‍वरले मसीही आमाबाबुलाई गहन जिम्मेवारी सुम्पनुभएको छ। तिनीहरूले आफ्ना छोराछोरीलाई उहाँको वचनअनुसार हुर्काउनु र ‘ज्ञानलाई प्रेम गर्ने’ बनाउनुपर्छ। (हितोपदेश १२:१; २२:६; एफिसी ६:४) प्रेरित पावलले यस्तो लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) हाम्रो बालबालिकालाई उपयुक्‍त शिक्षा पनि दिनुपर्छ।

कहिलेकाहीं विद्यालयले धेरै विद्यार्थी, अपर्याप्त पैसा वा कम तलबमा काम गरिरहेका असन्तुष्ट शिक्षकहरूका कारण बालबालिकालाई राम्ररी शिक्षा दिन सक्दैन। त्यसैले आमाबाबुले आफ्ना बालबालिकाहरूले स्कूलमा सिकिरहेका कुराहरूप्रति सक्रियता साथ चासो लिनुपर्छ। विशेष गरी हरेक शैक्षिक सत्रको सुरुमा शिक्षकहरूसित परिचित हुनु बुद्धिमानी हुनेछ अनि तिनीहरूसित आफ्नो बच्चालाई कसरी राम्रो विद्यार्थी बनाउन सकिन्छ भनेर सोध्न पनि सकिन्छ। यसो गर्दा शिक्षकहरू झन्‌ बढी उत्साहित भएर बच्चाहरूको शैक्षिक आवश्‍यकताहरू पूरा गर्न थप प्रयत्न गर्नेछन्‌।

बच्चाको विकासमा शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। “बुद्धिमान मानिसले ज्ञान सञ्चय गर्छ,” भनेर हितोपदेश १०:१४ बताउँछ। यो कुरा विशेष गरी बाइबलीय ज्ञानमा सत्य साबित हुन्छ। चाहे जवान होस्‌ वा वृद्ध यहोवाका जनहरू अरूलाई आध्यात्मिक तवरमा मदत गर्न र ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउन’ राम्रो ज्ञान पाएको हुनुपर्छ। (२ तिमोथी २:१५; १ तिमोथी ४:१५) उसोभए के तपाईंको छोराछोरीलाई स्कूल पठाउनु पर्दैन र? धेरै कुरा तपाईंको देशमा कसो गर्दा व्यावहारिक हुन्छ त्यसमा निर्भर भए तापनि तिनीहरू स्कूल जानुपर्छ भन्‍ने निष्कर्षमा तपाईं पुग्नुभयो भन्‍ने कुरामा कुनै सन्देह छैन। त्यसकारण मसीही आमाबाबुले यस महत्त्वपूर्ण प्रश्‍नको जवाफ दिनुपर्छ, ‘के मेरो बच्चा पनि शिक्षित हुनुपर्छ?’ तपाईं जहाँको बासिन्दा भए तापनि बालबालिकाले शिक्षा हासिल गर्नैपर्छ भन्‍ने कुरामा सहमत हुनुहुन्‍न र?

[फुटनोटहरू]

a तिनीहरूको मातृभाषा अरामी भाषामा आधारित गालीली वा हिब्रूकै प्रान्तीय भाषा पनि हुन सक्छ। कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स खण्ड १ पृष्ठ १४४-६ हेर्नुहोस्‌।

b कृपया ब्यूँझनुहोस्‌! जनवरी १, २००१ को पृष्ठ ८, ९ हेर्नुहोस्‌।

[पृष्ठ १२, १३-मा भएको पेटी/चित्र]

स्कूलमा भर्ना गर्न असम्भव भएमा

कुनै कुनै परिस्थितिमा स्कूलमा भर्ना गर्न असम्भव हुन्छ। उदाहरणको लागि, रेफ्युजिज नामक पत्रिकाले रिपोर्ट गरेअनुसार पाँच मध्ये एक जना योग्य बच्चा मात्र शरणार्थी शिविरका स्कूलमा भर्ना हुन सक्छन्‌। कुनै-कुनै अवस्थामा हडतालहरूले गर्दा धेरै लामो समयसम्म विद्यालयहरू बन्द हुन्छन्‌। कुनै कुनै क्षेत्रमा स्कूल धेरै टाढा हुन्छन्‌ वा कतै त हुँदै हुँदैनन्‌। मसीहीहरूमाथिको सतावटले गर्दा बालबालिकालाई स्कूलबाट निकालिन सक्छ।

त्यस्तो परिस्थितिमा तपाईं आफ्नो बच्चालाई कसरी मदत गर्न सक्नुहुन्छ? तपाईंका थुप्रै छोराछोरीहरू छन्‌ र स्कूलको औपचारिक शिक्षा दिलाउन धेरै पैसा खर्च गर्नुपर्ने भएकोले स्कूल पठाउन सकिंदैन भने के गर्न सकिन्छ? त्यसो भएमा तपाईं एक वा दुई जना बच्चालाई मात्र भए पनि आध्यात्मिक खतरामा नपरून्‌ भनेर स्कूल पठाउन सक्नुहुन्छ कि? सक्नुहुन्छ भने तिनीहरूले स्कूलमा सिकिरहेका कुराहरू तपाईंका अरू बच्चाहरूलाई पनि सिकाउन सक्छन्‌।

केही देशहरूमा गृह शिक्षा भनिने कार्यक्रम सञ्चालन गरिएका छन्‌। c यस कार्यक्रममा परिवारका आमा अथवा बुबाले हरेक दिन आफ्नो बच्चालाई सिकाउन केही घण्टा बिताउँछन्‌। कुलपिताहरूको समयमा आफ्ना बच्चाहरूलाई सिकाउन आमाबाबुहरू सफल भएजस्तो देखिन्छ। आमाबाबुको राम्रो प्रशिक्षण पाएकोले याकूबको छोरा यूसुफले सानै छँदा अरूमाथि निगरानीको जिम्मेवारी वहन गर्न सकेको जस्तो देखिन्छ।

शरणार्थी शिविर जस्ता ठाउँहरूमा औपचारिक पाठ्यक्रम अर्थात्‌ शिक्षण कार्यक्रम पाउन गाह्रो हुन सक्छ तर आमाबाबुले सिकाउन प्रयोग गर्ने सामग्रीहरूको आधारको रूपमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित साहित्यहरू प्रयोग गर्न सक्छन्‌। उदाहरणका लागि, बाइबलका कथाहरू भएको मेरो पुस्तक साना केटाकेटीहरूलाई सिकाउन उपयोगी हुन सक्छ। ब्यूँझनुहोस्‌! पत्रिकामा विविध विषयमा लेखहरू पाइन्छ। लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? पुस्तक विज्ञानसम्बन्धी कुराहरू सिकाउन प्रयोग गर्न सकिन्छ। यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज पुस्तकमा एउटा सानो विश्‍व मानचित्र दिइएको हुन्छ र त्यसले विभिन्‍न मुलुकहरूको जीवन र प्रचार गतिविधिबारे बताउँछ।

राम्ररी अग्रिम तयारी गरेर बच्चाले बुझ्न सक्ने प्रकारले सिकाउँदा धेरै फाइदा हुन सक्छ। तिनीहरूले लेखपढ गर्ने बानी बसाले भने भविष्यमा स्कूल जान सम्भव हुँदा त्यहाँको वातावरणमा भिज्न सजिलो हुनेछ। आफैले नेतृत्व लिई प्रयास गर्नुभयो भने आफ्नो बच्चालाई शिक्षित बनाउन सक्नुहुन्छ। त्यो कत्ति इनामदायी हुन सक्छ!

[फुटनोट]

c कृपया अवेक! अप्रिल ८, १९९३ पृष्ठ ९-१२ सम्म “गृह शिक्षा—के तपाईंको लागि उपयुक्‍त छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

[चित्र]

तपाईं बसोबास गर्ने क्षेत्रमा बच्चालाई स्कूलमा पठाउन सकिंदैन भने के गर्न सकिन्छ?