सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था

प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था

प्रारम्भिक मसीहीहरू तथा मोशालाई दिइएको व्यवस्था

“हामीलाई ख्रीष्टमा ल्याउनालाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।”—गलाती ३:२४.

१, २. मोशालाई दिइएको व्यवस्था होसियारीसाथ पालन गर्ने इस्राएलीहरूले पाएका केही लाभहरू के-के थिए?

 यहोवाले, सा.यु.पू. १५१३ मा इस्राएलीहरूलाई व्यवस्थाको संग्रह दिनुभयो। तिनीहरूले उहाँको कुरा सुने भने उहाँले तिनीहरूलाई आशिष्‌ दिनुहुनेछ र तिनीहरूले आनन्दमय तथा सन्तोषजनक जीवन पाउनेछन्‌ भनी उहाँले मानिसहरूलाई बताउनुभयो।—प्रस्थान १९:५, ६.

मोशालाई दिइएको व्यवस्था वा “व्यवस्था” मात्रै पनि भनिने व्यवस्थाको उक्‍त संग्रह “पवित्र, धर्मी र असल” थियो। (रोमी ७:१२) यसले दया, इमानदारिता, नैतिकता र छिमेकीपनजस्ता सद्‌गुणहरूलाई बढवा दिन्थ्यो। (प्रस्थान २३:४, ५; लेवी १९:१४; व्यवस्था १५:१३-१५; २२:१०, २२) यस व्यवस्थाले यहूदीहरूलाई आपसमा प्रेम गर्न पनि उत्प्रेरित गर्थ्यो। (लेवी १९:१८) साथै, तिनीहरूले व्यवस्थाको अधीनमा नभएका अन्यजातिका मानिसहरूसँग घुलमिल वा बिहेवारी गर्नु हुँदैनथ्यो। (व्यवस्था ७:३, ४) यहूदी तथा अन्यजातिहरूबीच “बार” जस्तो भएर, मोशालाई दिइएको व्यवस्थाले परमेश्‍वरका जनहरूलाई झूटो धर्मका सोचाइ तथा प्रचलनहरूबाट प्रदूषित हुनदेखि जोगाउँथ्यो।—एफिसी २:१४, १५; यूहन्‍ना १८:२८.

३. कसैले पनि व्यवस्था पूर्णतया पालन गर्न नसक्ने भएकोले यसले कस्तो असर पाऱ्‍यो?

यद्यपि, एकदमै होसियार यहूदीहरूले समेत परमेश्‍वरको व्यवस्था पूर्णतया पालन गर्न सकेनन्‌। के यहोवाले तिनीहरूबाट बढ्‌तै माग गरिरहनुभएको थियो त? अहँ, थिएन। इस्राएललाई व्यवस्था दिनुको एउटा कारण “अपराधको कारणले” हो। (गलाती ३:१९) व्यवस्थाले निष्कपट यहूदीहरूलाई एक जना मुक्‍तिदाता अत्यावश्‍यक परेको छ भन्‍ने कुराबारे सजग गराउँथ्यो। ती मुक्‍तिदाता आउँदा विश्‍वासी यहूदीहरू हर्षित भए। तिनीहरूले पाप र मृत्युको सरापबाट छुटकारा पाउने समय नजिकै थियो!—यूहन्‍ना १:२९.

४. कुन अर्थमा व्यवस्था “ख्रीष्टमा ल्याउनालाई . . . जिम्मावाल” थियो?

मोशालाई दिइएको व्यवस्था अस्थायी प्रबन्ध थियो। सँगी विश्‍वासीहरूलाई लेख्दा, पावलले यसलाई “ख्रीष्टमा ल्याउनालाई . . . जिम्मावाल” भनेर वर्णन गरे। (गलाती ३:२४) पुरातन समयमा जिम्मावालले बच्चाहरूलाई स्कूल लैजाने र ल्याउने काम गर्थे। साधारणतया तिनी आफै शिक्षक नभई बच्चाहरूलाई शिक्षकसम्म पुऱ्‍याउने काम गर्थे। त्यसै गरी, मोशालाई दिइएको व्यवस्था पनि परमेश्‍वरको भय राख्ने यहूदीहरूलाई ख्रीष्टसम्म डोऱ्‍याउन तयार पारिएको थियो। येशूले आफ्ना अनुयायीहरूलाई “सब दिन, . . . जगत्‌को अन्तसम्म” तिनीहरूको साथमा हुने प्रतिज्ञा गर्नुभयो। (मत्ती २८:२०) मसीही मण्डली स्थापना भएपछि, “जिम्मावाल” अर्थात्‌ व्यवस्थाको कुनै आवश्‍यकता परेन। (रोमी १०:१४; गलाती ३:२५) तर कतिपय यहूदी मसीहीहरूले भने यो महत्त्वपूर्ण सत्य तुरुन्तै बुझ्न सकेनन्‌। फलस्वरूप, तिनीहरूले येशूको पुनरुत्थानपछि पनि व्यवस्थाका केही नियमहरू पालन गरिरहे। यद्यपि, अरूले भने आफ्नो सोचाइमा छाँटकाँट गरे। यसरी तिनीहरूले आज हाम्रोलागि राम्रो उदाहरण बसाले। कसरी? आउनुहोस्‌, हामी हेरौं।

मसीही सिद्धान्तमा रोमाञ्चकारी प्रगतिहरू

५. दर्शनमा पत्रुसले कस्ता निर्देशनहरू पाए र तिनी किन स्तब्ध भए?

सा.यु. ३६ मा, मसीही प्रेरित पत्रुसले एउटा उल्लेखनीय दर्शन देखे। त्यतिबेला स्वर्गबाट सुनिएको एउटा आवाजले तिनलाई व्यवस्थाअन्तर्गत अशुद्ध ठानिने चरा तथा जनावरहरू मारेर खाने आज्ञा दियो। पत्रुस स्तब्ध भए! तिनले “कहिल्यै केही अपवित्र र अशुद्ध थोक खाए[का]” थिएनन्‌। तर त्यस आवाजले तिनलाई यसो भन्यो: “परमेश्‍वरले जे जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अशुद्ध नतुल्याऊ।” (प्रेरित १०:९-१५) अरट्ठो हुँदै व्यवस्थालाई पछ्याइरहनुको सट्टा पत्रुसले आफ्नो दृष्टिकोणमा छाँटकाँट गरे। यसपछि तिनले परमेश्‍वरका उद्देश्‍यहरूबारे अचम्मलाग्दा कुराहरू बुझ्न सके।

६, ७. अब अन्यजातिहरूलाई पनि प्रचार गर्न सकिन्छ भन्‍ने निष्कर्षमा पत्रुस कसरी पुगे र सम्भवतः तिनले कस्ता थप निष्कर्षहरू पनि निकालेको हुनुपर्छ?

घटना यस्तो थियो। पत्रुसलाई कर्नीलियस नाउँ गरेका खतना नगरिएका भक्‍तालु अन्यजातिको घरमा जाने आग्रह गर्न तीन जना मानिसहरू पत्रुस बसिरहेको घरमा गए। पत्रुसले तिनीहरूलाई घरभित्र बोलाएर तिनीहरूलाई अतिथि सत्कार गरे। यस दर्शनको अर्थ बुझेर भोलिपल्ट पत्रुस तिनीहरूसँगै कर्नीलियसको घरमा गए। त्यहाँ पत्रुसले येशू ख्रीष्टबारे विस्तृत साक्षी दिए। त्यसबेला पत्रुसले यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” कर्नीयलियसले मात्र होइन तर तिनका नातेदार तथा घनिष्ठ साथीहरूले समेत येशूमाथि विश्‍वास राखे र “वचन सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो।” यसमा यहोवाकै हात भएको कुरा थाह पाएर पत्रुसले “उनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे।”—प्रेरित १०:१७-४८.

मोशालाई दिइएको व्यवस्थाको अधीनमा नभएका अन्यजातिहरू अब येशू ख्रीष्टका अनुयायीहरू हुन सक्छन्‌ भन्‍ने निष्कर्षमा पत्रुस कसरी पुग्न सके? आध्यात्मिक विवेकले गर्दा। खतना नगरेका अन्यजातिहरूमाथि परमेश्‍वरले आफ्नो पवित्र आत्मा खन्याएर तिनीहरूप्रति अनुमोदन व्यक्‍त गरिसक्नुभएको कारण तिनीहरूलाई बप्तिस्मा दिन सकिन्छ भनी पत्रुसले बुझे। साथै, अन्यजातिका मसीहीहरूले बप्तिस्मा लिनको लागि मोशालाई दिइएको व्यवस्था पालन गरेको आशा परमेश्‍वरले गर्नुहुन्‍न भन्‍ने कुरा पनि पत्रुसले स्पष्टसित बुझेको हुनुपर्छ। त्यतिबेला तपाईं हुनुभएको भए, के तपाईं आफ्नो दृष्टिकोणमा छाँटकाँट गर्न पत्रुस जत्तिकै इच्छुक हुनुहुने थियो?

कसै-कसैले “जिम्मावाल[लाई]” नै पछ्याइरहे

८. यरूशलेममा बसोबास गर्ने कोही-कोही मसीहीहरूले खतनाबारे पत्रुसको भन्दा कस्तो भिन्‍न दृष्टिकोणलाई बढवा दिए र किन?

कर्नीलियसको घरबाट निस्केपछि, पत्रुस यरूशलेम गए। “अन्यजातिहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन्‌” भन्‍ने समाचार त्यहाँको मण्डलीमा पुगिसकेको थियो र कतिपय यहूदी चेलाहरूलाई यो कुरा चित्त बुझेको थिएन। (प्रेरित ११:१-३) “खतना लिनेहरू[ले]” अन्यजातिका मानिसहरू पनि येशूका अनुयायीहरू हुन सक्छन्‌ भन्‍ने कुरा स्वीकारे तापनि उद्धार पाउने हो भने गैर-यहूदी राष्ट्रका यी मानिसहरूले व्यवस्था पालन गर्नै पर्छ भन्‍ने अडान तिनीहरूले लिए। अर्कोतर्फ, अधिकांश अन्यजाति र थोरै मात्र यहूदीहरू बसोबास गर्ने क्षेत्रहरूमा भने खतना कुनै विवादको विषय भएन। लगभग १३ वर्षसम्म यी दुई दृष्टिकोण रहिरह्‍यो। (१ कोरिन्थी १:१०) प्रारम्भिक मसीहीहरू र अझ विशेष गरी यहूदी क्षेत्रमा बसिरहेका अन्यजातिहरूको लागि यो कत्ति ठूलो परीक्षा भएको हुनुपर्छ!

९. खतनाको विवाद सुल्झाउनु किन अत्यावश्‍यक थियो?

सा.यु. ४९ मा यरूशलेमका मसीहीहरू पावलले प्रचार गरिरहेको ठाउँ, सिरियाको एन्टिओकमा आएपछि यो विवाद चरम बिन्दुमा पुग्यो। तिनीहरूले धर्म परिवर्तन गरेका अन्यजातिहरूले व्यवस्थाअनुसार खतना गर्नै पर्छ भनेर सिकाउन थाले। अनि तिनीहरू र पावल तथा बर्णाबासबीच ठूलै मतभेद भयो! यो विवाद बेलैमा नसुल्झाइएमा, चाहे यहूदी पृष्ठभूमिका होऊन्‌ वा अन्यजातिका, केही मसीहीहरूले ठक्कर खाने थिए। त्यसकारण, पावल तथा अरू कोही-कोही यरूशलेम गएर मसीही परिचालक निकायलाई यो विवाद तुरुन्तै सदाको लागि सुल्झाउन लगाउने प्रबन्ध मिलाइयो।—प्रेरित १५:१, २, २४.

निष्कपट मतभिन्‍नता—त्यसपछि, एकता!

१०. अन्यजातिहरूबारे निर्णय गर्नुअघि परिचालक निकायले कस्ता बुँदाहरूमाथि विचार गऱ्‍यो?

१० कुरा स्पष्ट छ, यस विवाद सुल्झाउन आयोजित सभामा कोही-कोहीले खतना गर्ने पक्षमा वकालत गरे भने अरूले त्योभन्दा भिन्‍न दृष्टिकोण पेस गरे। तर कोही पनि आवेगमा भने आएनन्‌। थुप्रै वादविवाद भइसकेपछि, प्रेरित पत्रुस र पावलले खतना नभएकाहरूबीच यहोवाले गर्नुभएका चिह्नहरूबारे बताए। तिनीहरूले खतना नभएका अन्यजातिहरूमाथि परमेश्‍वरले पवित्र आत्मा खन्याउनुभएको कुरा पनि बताए। साँच्चै भन्‍ने हो भने, तिनीहरूले यस्तो प्रश्‍न गरे: ‘परमेश्‍वरले स्वीकार्नुभएका मानिसहरूलाई मसीही मण्डलीले तिरस्कार गर्नु ठीक होला र?’ त्यसपछि चेला याकूबले धर्मशास्त्रको एउटा अंश पढे, जसले उपस्थित सबैलाई यस मामिलामा यहोवाको इच्छा बुझ्न मदत गऱ्‍यो।—प्रेरित १५:४-१७.

११. खतनासम्बन्धी निर्णय गर्दा त्यसमा कुन कुरा समावेश थिएन र उक्‍त निर्णयमाथि यहोवाको आशिष्‌ थियो भनी कसरी देखिन्छ?

११ अब सबैको ध्यान परिचालक निकायतिर थियो। तिनीहरू यहूदी पृष्ठभूमिका भएका हुनाले के तिनीहरूको निर्णय खतना गर्ने पक्षमा हुने थियो? अहँ, त्यस्तो होइन। यी विश्‍वासी मानिसहरू धर्मशास्त्र तथा परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइ पछ्याउन कटिबद्ध थिए। सम्बन्धित सबै प्रमाण सुनिसकेपछि, परिचालक निकाय, अन्यजातिका मसीहीहरूले खतना गर्न र मोशालाई दिइएको व्यवस्था पालन गर्न आवश्‍यक छैन भन्‍ने सर्वसम्मत निर्णयमा पुग्यो। यो निर्णय भाइहरूलाई सुनाएपछि, तिनीहरू खुसी भए र मण्डलीहरू “गन्तीमा दिनहुँ बढ़दै गए।” स्पष्ट ईश्‍वरतान्त्रिक निर्देशनको अधीनतामा बस्ने मसीहीहरूले ठोस, धर्मशास्त्रीय जवाफ पाए। (प्रेरित १५:१९-२३, २८, २९; १६:१-५) अझै, एउटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउन भने बाँकी नै थियो।

यहूदी मसीहीहरू नि?

१२. कुन प्रश्‍नको जवाफ प्रस्ट हुन बाँकी नै थियो?

१२ अन्यजातिका मसीहीहरूले खतना गर्नु पर्दैन भनी परिचालक निकायले स्पष्टसित बताइसकेको थियो। तर यहूदी मसीहीहरूले नि? परिचालक निकायको निर्णयमा यस प्रश्‍नको प्रस्ट जवाफ पाइँदैनथ्यो।

१३. उद्धार पाउनको लागि मोशालाई दिइएको व्यवस्था पालन गर्नु आवश्‍यक छ भन्‍ने निष्कर्षमा पुग्नु किन गलत थियो?

१३ “व्यवस्थामा खुरन्धार” लागिरहने केही यहूदी मसीहीहरूले आफ्ना बच्चाहरूको खतना गर्ने र व्यवस्थाका खास पक्षहरू पालन गर्ने गरिरहे। (प्रेरित २१:२०) अझै अरूले त उद्धार पाउने हो भने यहूदी मसीहीहरूले व्यवस्था पालन गर्नुपर्छ भन्‍ने अडानसमेत लिए। यसरी तिनीहरूले पूर्णतया गलत सोचाइ राखिरहेका थिए। उदाहरणका लागि, कुनै मसीहीले पापको क्षमाको लागि कसरी पशुबलि चढाउन सक्थ्यो र? ख्रीष्टको बलिदानले यसलाई बदर गरिसकेको थियो। अन्यजातिका मानिसहरूसित घनिष्ठ नहुनु भनी व्यवस्थाले यहूदीहरूलाई दिएको नियम नि? यी प्रतिबन्धहरूको अधीनमा रहेर अन्यजातिहरूलाई येशूले सिकाउनुभएका सबै कुराहरू सिकाउने कार्यभार पूरा गर्न जोसिला मसीही प्रचारकहरूलाई असाध्यै गाह्रो भएको हुनुपर्छ। (मत्ती २८:१९, २०; प्रेरित १:८; १०:२८) a परिचालक निकायको सभामा यस मामिलालाई स्पष्ट पारिएको थियो भन्‍ने कुनै संकेत छैन। तथापि, मण्डली अलपत्र छोडिएको भने थिएन।

१४. व्यवस्थाको सन्दर्भमा पावलका प्रेरित पत्रहरूले कस्तो डोऱ्‍याइ प्रदान गऱ्‍यो?

१४ यस सन्दर्भमा परिचालक निकायको पत्रद्वारा त होइन तर प्रेरितहरूद्वारा लिखित थप प्रेरित पत्रहरूद्वारा डोऱ्‍याइ प्राप्त भयो। उदाहरणका लागि, पावलले रोममा बस्ने यहूदी तथा अन्यजातिहरूलाई एउटा जोडदार सन्देश पठाए। तिनीहरूलाई पठाएको पत्रमा पावलले “भित्र मनका यहूदी हुनेनै यहूदी हो, . . . आत्मामा हृदयको खतना हुने चाहिं खतनाको हो” भनी बताए। (रोमी २:२८, २९) मसीहीहरू व्यवस्थाको अधीनमा छैनन्‌ भन्‍ने कुरा प्रमाणित गर्न पावलले त्यस पत्रमा एउटा उदाहरण चलाए। एउटी स्त्रीले एकै पटकमा दुई जना पुरुषसँग विवाह गर्न सक्दिनन्‌ भनी तिनले तर्क गरे। तर तिनको पतिको मृत्यु भएको खण्डमा तिनी पुनर्विवाह गर्न स्वतन्त्र हुने थिइन्‌। त्यसपछि, पावलले यो उदाहरण चलाउँदै, अभिषिक्‍त मसीहीहरू मोशालाई दिइएको व्यवस्था र ख्रीष्टको अधीनता दुवैमा एकै पटक रहन सक्दैनन्‌ भनी देखाए। ख्रीष्टसित एकताबद्ध हुन तिनीहरू “व्यवस्थाको लेखि मरेका” हुनुपर्थ्यो।—रोमी ७:१-५.

कुरा बुझ्न ढिलो

१५, १६. कोही-कोही यहूदी मसीहीहरूले व्यवस्थाबारे बताइएको कुरा किन बुझ्न सकेनन्‌ र यसले आध्यात्मिक तवरमा जागा रहनुपर्ने आवश्‍यकताबारे के देखाउँछ?

१५ व्यवस्थाबारे पावलको तर्क अकाट्य थियो। त्यसोभए, केही यहूदी मसीहीहरूले यो कुरा किन बुझेनन्‌ त? एउटा कुरा त, तिनीहरूमा आध्यात्मिक विवेकको कमी थियो। उदाहरणका लागि, तिनीहरूले खँदिलो आध्यात्मिक भोजनको वास्तै गरेनन्‌। (हिब्रू ५:११-१४) तिनीहरू मसीही सभाहरूमा पनि नियमित तवरमा उपस्थित हुँदैनथे। (हिब्रू १०:२३-२५) अरू कतिपयले व्यवस्थाको सारै नबुझेको कारण पनि कुरा प्रस्ट नभएको हुन सक्छ। यो मन्दिर र पूजाहारी वर्गजस्ता देख्न, महसुस गर्न र छुन सकिने कुराहरूमा केन्द्रित थियो। मसीही धर्मका सिद्धान्तहरू अदृश्‍य वास्तविकतामा आधारित भएको हुनाले आध्यात्मिकतामा कमजोर व्यक्‍तिहरूको लागि यसलाई पछ्याउनभन्दा मोशालाई दिइएको व्यवस्थाको अधीनमा बस्न सजिलो थियो।—२ कोरिन्थी ४:१८.

१६ मसीही भएको दाबी गर्ने कोही-कोही व्यवस्था पालन गरिरहन अग्रसर हुनुको अझ अर्को कारणबारे पावलले गलातीहरूलाई लेखेको आफ्नो पत्रमा संकेत गरे। ती मानिसहरू आदरयोग्य र प्रचलित धर्मका सदस्यहरूको रूपमा चिनिन चाहन्थे भनी तिनले बताए। समाजमा अरूभन्दा भिन्‍नै व्यक्‍तिको रूपमा चिनिनुको सट्टा अरूजस्तै देखिनको लागि तिनीहरू जस्तोसुकै सम्झौता गर्न पनि इच्छुक थिए। तिनीहरू परमेश्‍वरको भन्दा मानिसहरूको अनुमोदन पाउन चाहन्थे।—गलाती ६:१२.

१७. व्यवस्था पालन गर्नेबारे सही दृष्टिकोण कहिले पूर्णतया स्पष्ट भयो?

१७ पावल तथा अरूका ईश्‍वर-प्रेरित लेखोटहरू होसियारीसाथ अध्ययन गरेका विवेकशील मसीहीहरू व्यवस्थाबारे सही निष्कर्षमा पुगे। तथापि, मोशालाई दिइएको व्यवस्थाप्रति राख्नुपर्ने सही दृष्टिकोणबारे सा.यु. ७० भन्दा अघि सबै यहूदी मसीहीहरूले स्पष्टसित बुझिसकेका थिएनन्‌। परमेश्‍वरले यरूशलेम, यसको मन्दिर र पूजाहारी वर्गसित सम्बन्धित रेकर्डहरू नष्ट हुनदिनुभएपछि मात्र तिनीहरूले यो कुरा राम्ररी बुझे। यसपछि कसैले पनि व्यवस्थाको सबै पक्ष पालन गर्न असम्भव भयो।

यसबाट सिकेको पाठलाई आज व्यवहारमा उतार्ने

१८, १९. (क) आध्यात्मिक तवरमा स्वस्थ रहन हामीले कस्तो मनोवृत्ति अपनाउनुपर्छ र कस्तो मनोवृत्तिबाट जोगिनुपर्छ? (ख) जिम्मेवार भाइहरूबाट प्राप्त हुने निर्देशन पछ्याउने सन्दर्भमा पावलको उदाहरणले हामीलाई के सिकाउँछ? (पृष्ठ २४ को पेटी हेर्नुहोस्‌।)

१८ धेरै समयअघि घटेका यी घटनाहरूबारे विचार गरेपछि, सायद तपाईं यस्तो सोचिरहनुभएको होला: ‘म त्यतिबेला भएको भए, परमेश्‍वरको इच्छा क्रमबद्ध ढंगमा प्रकट हुँदै जाँदा मैले कस्तो प्रतिक्रिया देखाउने थिएँ होला? के म परम्परागत दृष्टिकोणहरूप्रति कट्टर रहने थिएँ? वा सही समझ प्रस्ट नहोउन्जेल धीरजी हुने थिएँ? अनि सही समझ प्रस्ट भएपछि, के मैले यसलाई भित्री हृदयदेखि समर्थन गर्ने थिएँ?’

१९ निस्सन्देह, हामी त्यतिबेला भएको भए हामीले कस्तो प्रतिक्रिया देखाउने थियौं भनी ठोकुवा गरेर भन्‍न त सक्दैनौं। तर हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘आज बाइबल समझबारे थप स्पष्टिकरण प्राप्त हुँदा त्यसप्रति म कस्तो प्रतिक्रिया देखाउँछु? (मत्ती २४:४५) धर्मशास्त्रीय निर्देशन प्राप्त हुँदा, के म व्यवस्थामा लेखिएका कुराहरू मात्र पालन गर्ने होइन तर यसको मर्मअनुसार चल्ने कोसिस गर्छु? (१ कोरिन्थी १४:२०) केही प्रश्‍नहरूको जवाफ तुरुन्तै नपाउँदा के म धैर्यतासाथ यहोवामा पर्खन्छु?’ हामीले आज उपलब्ध आध्यात्मिक खानाको सदुपयोग गर्नु अत्यावश्‍यक छ, नत्रता हामी “तर्केर जानेछौं।” (हिब्रू २:१) यहोवाले आफ्नो वचन, आत्मा र पार्थिव संगठनद्वारा निर्देशनहरू प्रदान गर्नुहुँदा, हामी ध्यान दिएर सुनौं। हामीले यसो गऱ्‍यौं भने, यहोवाले हामीलाई अनन्त जीवनको आशिष्‌ दिनुहुनेछ, जुन आनन्दमयका साथै सन्तोषजनक पनि छ।

[फुटनोट]

a पत्रुस सिरियाको एन्टिओक जाँदा, तिनले त्यहाँ अन्यजातिका विश्‍वासीहरूसँगको न्यानो संगतिको आनन्द उठाए। तथापि, यरूशलेमका यहूदी मसीहीहरू त्यहाँ आएपछि पत्रुस “खतनाकाहरूसँग डराएर . . . अलग्गै हटे।” सबैले आदर गर्ने प्रेरितले आफूहरूसँग खान इन्कार गर्दा धर्म परिवर्तन गरेका अन्यजातिहरूको हृदयमा कत्ति चोट पुग्यो होला हामी कल्पना गर्न सक्छौं।—गलाती २:११-१३.

तपाईं के भन्‍नुहुन्छ?

• कुन अर्थमा मोशालाई दिइएको व्यवस्था “ख्रीष्टमा ल्याउनालाई . . . जिम्मावाल[जस्तै]” थियो?

• सत्यको समझमा भएको छाँटकाँटप्रति पत्रुस र “खतना लिनेहरू[ले]” देखाएका प्रतिक्रियाबीचको भिन्‍नतालाई तपाईं कसरी वर्णन गर्नुहुन्छ?

• आज यहोवाले सत्य प्रकट गर्ने तरिकाबारे तपाईंले के सिक्नुभएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

पावल परीक्षासामु विनम्र रहन्छन्‌

सफल मिसनरी यात्रापछि, सा.यु. ५६ मा पावल यरूशलेम आइपुगे। त्यहाँ तिनले एउटा परीक्षा सामना गर्नुपर्ने थियो। तिनले व्यवस्था रद्द भइसक्यो भनी सिकाउँदै छन्‌ भन्‍ने समाचार मण्डलीको कानमा पुगिसकेको थियो। पावलले व्यवस्थाबारे खुलमखुल्ला कुरा गर्दा भर्खरै धर्म परिवर्तन गरेका यहूदी मसीहीहरूले ठक्कर खालान्‌ र तिनीहरू मसीहीहरूले यहोवाका प्रबन्धहरूप्रति आदर देखाउँदैनन्‌ भन्‍ने निष्कर्षमा पुग्लान्‌ भनी धर्म-गुरुहरू डराएका थिए। मण्डलीमा भाकल गरेका चार जना यहूदी मसीहीहरू थिए। सायद तिनीहरूले नाजिरीको भाकल गरेका थिए। आफ्नो भाकल पूरा गर्नको लागि तिनीहरू मन्दिरमा जानुपर्थ्यो।

धर्म-गुरुहरूले पावललाई ती चार जनासँगै मान्दिरमा जान र तिनीहरूको खर्च भरिदिन आग्रह गरे। तिनले लेखेका कम्तीमा पनि दुईवटा प्रेरित पत्रमा पावलले उद्धारको लागि व्यवस्था पालन गर्न आवश्‍यक छैन भनेर तर्क गरिसकेका थिए। तथापि, तिनले अरूको अन्तस्करणको पनि ख्याल गरे। तिनले पहिला यस्तो लेखेका थिए: “व्यवस्थाका अधीनमा रहनेहरूलाई हात पारूँ भनेर . . . व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा भएको जस्तै म भएँ।” (१ कोरिन्थी ९:२०-२३) पावलले महत्त्वपूर्ण धर्मशास्त्रीय सिद्धान्तहरू बिथोलित भएको मामिलामा कहिल्यै सम्झौता गरेनन्‌ तर तिनले धर्म-गुरुहरूको सल्लाह पालन गर्न सकिन्छ भन्‍ने महसुस गरे। (प्रेरित २१:१५-२६) तिनले यसो गर्नु गलत थिएन। भाकलको प्रबन्ध कुनै गैरशास्त्रीय कुरा थिएन र मन्दिर मूर्तिपूजाको लागि नभई शुद्ध उपासनाको लागि प्रयोग गरिन्थ्यो। त्यसकारण, अरूलाई बाधा नपुगोस्‌ भनेर पावलले धर्म-गुरुहरूको सल्लाहअनुसारै गरे। (१ कोरिन्थी ८:१३) यसको लागि पावललाई पक्कै पनि विनम्रताको आवश्‍यकता पऱ्‍यो। यसले तिनीप्रति हाम्रो मूल्यांकन अझ बढाउँछ।

[पृष्ठ २२, २३-मा भएको चित्र]

केही वर्षसम्म, मसीहीहरूमाझ मोशालाई दिइएको व्यवस्थाबारे भिन्‍ना-भिन्‍नै दृष्टिकोण रहिरह्‍यो