सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“अरारत देशमा” सर्वोच्च अदालतले साँचो उपासनाको समर्थन गर्छ

“अरारत देशमा” सर्वोच्च अदालतले साँचो उपासनाको समर्थन गर्छ

“अरारत देशमा” सर्वोच्च अदालतले साँचो उपासनाको समर्थन गर्छ

आरमेनियाली मूलका केश फुलिसकेका, तीन जना छोराछोरीका बुबा आफ्नो देशको सर्वोच्च अदालतसामु हाजिर छन्‌। तिनीलगायत तिनका थुप्रै सँगी विश्‍वासीहरूको स्वतन्त्रता खतरामा परेको छ। तिनले आफ्नो विश्‍वासबारे बाइबलबाट उद्धृत गर्दै दिएको विवरण अदालतले सुन्छ। यो सुनवाइ त्यस देशमा साँचो उपासनाको लागि कसरी ठूलो विजयी साबित भयो भनी बुझ्न पहिला त्यहाँ के-कस्ता घटनाहरू भए, जाँचौं।

आरमेनिया, टर्कीको पूर्व र विशाल ककेसस पर्वतमालाको दक्षिणतिर पर्छ। यस देशको जनसंख्या तीस लाखभन्दा बढी छ। यस देशको राजधानी यरेभानबाट अरारतका पहाडका दुइटा चुचुराको मनमोहक दृश्‍य देखिन्छ जहाँ विश्‍वव्यापी जलप्रलयपछि नूहको जहाज अडिएको थियो भनिन्छ।—उत्पत्ति ८:४. a

यहोवाका साक्षीहरूले १९७५ देखि आरमेनियामा आफ्नो मसीही गतिविधि सञ्चालन गर्दै आएका छन्‌। भूतपूर्व सोभियत संघबाट १९९१ मा आरमेनिया स्वतन्त्र भइसकेपछि धार्मिक संगठनहरू दर्ता गर्न धार्मिक मामिलासम्बन्धी राज्य परिषद्‌ गठन गरियो। तथापि, यस संगठनले यहोवाका साक्षीहरूको मसीही तटस्थताको कारण देखाई बारम्बार नाउँ दर्ता गर्न इन्कार गरेको छ। यसैले गर्दा, १९९१ देखि १०० भन्दा बढी जवान साक्षीहरूलाई आरमेनियामा सैन्य सेवाको मामिलामा बाइबल आधारित अडान लिएको कारण दोषी ठहऱ्‍याएर जेल सजाय दिइएको छ।

परिषद्‌ले सरकारी अभियोक्‍ताको कार्यालयलाई ल्योभा मार्गाऱ्‍यानको धार्मिक गतिविधिमा छानबिन गर्न पनि आग्रह गऱ्‍यो। ल्योभा मार्गाऱ्‍यान मसीही प्राचीन हुनुका साथै स्थानीय आणविक पावर प्लान्टमा काम गर्ने परिश्रमी वकिल थिए। पछि, भाइ मार्गाऱ्‍यानलाई धारा २४४ अन्तर्गत आरोप लगाइयो। यो नियम ख्रुश्‍चेभको शासनकालमा यहोवाका साक्षीहरू तथा अन्य धार्मिक समूहहरूको गतिविधिमा रोक लगाउन र अन्ततः निर्मूल गर्न पारित गरिएको सोभियत नियमको सानो अंश थियो।

त्यस नियमले धार्मिक विश्‍वास प्रचार गर्ने नाउँमा ‘दर्ता नभएको धर्मका धार्मिक सभाहरूमा उपस्थित हुन जवानहरूलाई लोभ्याउने’ र ‘सदस्यहरूलाई आफ्नो नागरिक दायित्व इन्कार गर्न लगाउने’ धार्मिक समूह संगठित गर्नु वा डोऱ्‍याउनुलाई अपराध ठहर गर्छ। यस्तो आरोपको प्रमाण जुटाउन अभियोक्‍ताहरूले भाइ मार्गाऱ्‍यानले मेट्‌सामोर शहरमा सञ्चालन गरेका सभाहरूमा नबालिगहरूको उपस्थितिबारे बताए। अभियोक्‍ताहरूले भाइ मार्गाऱ्‍यानले मण्डलीका जवान सदस्यहरूलाई सैन्य सेवा इन्कार गर्न दबाब दिएको भन्‍ने आरोप पनि लगाए।

मुद्दा सुरु हुन्छ

सन्‌ २००१, जुलाई २० का दिन न्यायाधीश मान्भेल सिमोन्यानको इजलासमा आर्माभिर जिल्ला अदालतमा मुद्दा सुरु भयो। यो मुद्दा अगस्त महिनासम्मै चल्यो। अभियोक्‍ता पक्षका गवाहीहरूले बयान दिने क्रममा भाइ मार्गाऱ्‍यान विरुद्धको लिखित बयानका केही भाग नेशनल सेक्युरिटि मिनिस्ट्रीले (पहिलाको के जि बि) लेख्न लगाएर जबरजस्ती गवाही दिन लगाएको कुरा स्वीकारे। एक चोटि, एक जना महिलाले रक्षा मन्त्रालयका अधिकारीले तिनलाई “यहोवाका साक्षीहरू हाम्रो सरकार र धर्मको विरुद्ध छन्‌” भन्‍न लगाएको बताइन्‌। ती महिलाले आफूले व्यक्‍तिगत रूपमा कोही पनि यहोवाका साक्षीहरूलाई नचिनेको तर सरकारी टेलिभिजनमा तिनीहरू विरुद्ध अभियोग मात्र सुनेको कुरा बताइन्‌।

आफ्नो पालो आउँदा भाइ मार्गाऱ्‍यानले नाबालिग केटाकेटीहरू आफ्ना आमाबाबुको अनुमति लिएर मात्र यहोवाका साक्षीहरूको सभामा आउँछन्‌ भनी बयान दिए। तिनले सैन्य सेवा पनि व्यक्‍तिगत निर्णयको कुरा हो भनी बताए। अभियोक्‍ताहरूको केरकार केही दिनसम्म चलिरह्‍यो। भाइ मार्गाऱ्‍यानले बाइबल चलाउँदै शान्तपूर्वक आफ्नो विश्‍वासबारे सबै प्रश्‍नको जवाफ दिए र वकिलले चाहिं आफ्नै बाइबलमा शास्त्रपदहरू जाँचे।

सेप्टेम्बर १८, २००१ का दिन न्यायाधीशले मार्गाऱ्‍यानको गतिविधिमा “अपराधको कुनै छनक पनि नभएको” उल्लेख गर्दै तिनी “निर्दोष” भएको ठहर गरे। एसोसिएटेड प्रेसमा यस मुद्दाबारे एउटा विचारणीय रिपोर्ट छापिएको थियो। उक्‍त रिपोर्टमा यस्तो लेखिएको थियो: “आरमेनियामा यहोवाका साक्षीहरूको प्रमुखलाई धर्म परिवर्तन र जवानहरूलाई सैन्य सेवा छल्न जबरजस्ती गरेको अभियोगबाट दोषमुक्‍त गरिएको छ। दुई महिनासम्म मुद्दा चलेपछि अदालतले नेता ल्योभा मार्गाऱ्‍यान विरुद्ध पर्याप्त प्रमाणहरू नभेटिएको बतायो। तिनलाई पाँच वर्षको जेल सजाय हुन सक्थ्यो। . . . आरमेनियाको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरे तापनि प्रभावशाली आरमेनियन अपोस्टलिक चर्चको कारण त्यहाँ नयाँ धार्मिक समूहहरू दर्ता गर्न गाह्रो छ।” सेप्टेम्बर १८, २००१ को अर्गनाइजेसन फर सेक्युरिटि एण्ड कर्पोरेसन इन युरोप (ओ एस सि इ) नामक संगठनको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख गरियो: “यो निर्णय खुसीसाथ स्वीकारे तापनि ओ एस सि इ कार्यालय यो मुद्दा सुरु गरिएकोमा नै खेद प्रकट गर्छ।”

मुद्दा अझै चल्छ

तर अभियोक्‍ताहरूले फेरि अपील गरे र मुद्दा अर्को चार महिना लम्बियो। मुद्दाको सुरुमा भाइ मार्गाऱ्‍यानको बयान दिने समय आउँदा तिनलाई न्यायिक समूहको एक जना न्यायाधीशले पहिलो प्रश्‍न सोधिन्‌। जसै भाइ मार्गाऱ्‍यानले प्रश्‍नको जवाफ दिन थाले अध्यक्षले बीचैमा तिनको कुरा काटेर चुनौती दिन थालिन्‌। त्यसपछि तिनले भाइ मार्गाऱ्‍यानलाई एउटा प्रश्‍नको जवाफ पनि पूरा गर्न दिइनन्‌। कारण नै नजनाई तिनले प्रतिवादीले सोधेका अधिकांश प्रश्‍नहरू रेकर्डमा समावेश गरिनन्‌। पुर्पक्षको दौडान साक्षी विरोधी धार्मिक कट्टरपन्थीहरू अदालतमा टन्‍नै थिए र तिनीहरूले बारम्बार भाइ मार्गाऱ्‍यान विरुद्ध अपशब्दहरू प्रहार गरे। त्यस पुर्पक्षपछि भाइ मार्गाऱ्‍यानले आफ्नो दोष स्वीकारेको भन्‍नेजस्ता थुप्रै झूटा तथा विकृत मुद्दासम्बन्धी रिपोर्टहरू टेलिभिजनमा प्रसारण गरियो।

मुद्दाको आधाआधी जति पुग्दा तीन सदस्यीय न्यायाधीशका समूहको अध्यक्षले धार्मिक मामिलासम्बन्धी राज्यपरिषद्‌को चिठी प्रस्तुत गरे जसमा भाइ मार्गाऱ्‍यान विरुद्ध कदम चाल्न अभियोक्‍ताको कार्यालयलाई निर्देशन दिइएको थियो। यो कदम देखेर अन्तरराष्ट्रिय पर्यवेक्षकहरू स्तब्ध भए किनभने काउन्सिल अफ युरोपको सदस्यताको आवेदनमा आरमेनियाले “सबै चर्चहरू वा विशेष गरी ‘गैर-परम्परागत’ भनी उल्लेख गरिएका धार्मिक समुदायहरूले कुनै भेदभावविना आफ्नो धर्मिक विश्‍वास अभ्यास गर्न पाउने कुरा सुनिश्‍चित गर्ने” दायित्व स्वीकारेको थियो।

त्यसपछिका हप्ताहरूमा मुद्दा लम्बिदै गएपछि वातावरण अझ तनावग्रस्त हुन थाल्यो। विरोधीहरूले साक्षीहरूलाई अदालत भित्र र बाहिर सताउन तथा आक्रमण गर्न थाले। महिला साक्षीहरूलाई पिडौंलामा लात्ती हिर्काए। एक जना साक्षीलाई कुटपीट गर्दा तिनले बदला लिन इन्कार गरेकोले तिनलाई पछाडिबाट मेरुदण्डमा हिर्काइयो र अस्पतालमा भर्ना हुनुपऱ्‍यो।

त्यति नै बेला मुद्दाको लागि प्रमुख न्यायाधीशमा अर्कै व्यक्‍ति नियुक्‍त भए। श्रोतागणमा रहेका केहीले प्रतिवादी पक्षका वकिललाई तर्साउने प्रयास गरे तापनि नयाँ प्रमुख न्यायाधीशले परिस्थितिलाई नियन्त्रणमा लिए र प्रतिवादी पक्षलाई धम्काइरहेकी महिलालाई बाहिर लैजान प्रहरीलाई आदेश दिए।

आरमेनियाको सर्वोच्च अदालतसम्म

अन्ततः मार्च ७, २००२ मा पुनरावेदन आदालतले पुर्पक्ष अदालतको निर्णयलाई समर्थन गऱ्‍यो। चाखलाग्दो कुरा के छ भने, यो निर्णय हुनुभन्दा एक दिनअघि धार्मिक मामिलासम्बन्धी राज्यपरिषद्‌ खारेज गरिएको घोषणा गरियो। फेरि एक चोटि अभियोक्‍ताले यो निर्णयलाई लिएर आरमेनियाको सर्वोच्च अदालत अर्थात्‌ कोर्ट अफ क्याशेशनमा अपील गरे। अभियोक्‍ताहरूले अभियोगीलाई “दोषी ठहऱ्‍याउन” मुद्दा फेरि पुर्पक्षको अदालतमा ल्याउन आग्रह गरे।

छ सदस्यीय न्यायाधीशहरूको अध्यक्षता न्यायाधीश मेर खाचाट्रानले ग्रहण गरेका थिए र यो अप्रिल १९, २००२ का दिन ११ बजे सुरु भयो। अघिका दुवै अदालतले भाइ मार्गाऱ्‍यानलाई दोषी ठहऱ्‍याउन असफल भएकोमा तिनले सुरुमै निकै आक्रोश व्यक्‍त गरे। तथापि, यसपालि भने वकिलको कुरा बीचैमा काटेर चार जना न्यायाधीशहरूले प्रतिप्रश्‍न गरे। एक जना न्यायाधीशले अभियोक्‍तालाई भाइ मार्गाऱ्‍यान विरुद्ध मुद्दा दायर गर्दा प्रचारकार्य र यहोवाका साक्षीहरूको दर्ता नभएको अवस्था समावेश गरेर अदालतलाई पूर्वाग्राही बनाउन खोजेकोमा चेतावनी दियो किनभने धारा २४४ अन्तर्गत उक्‍त कार्यलाई आपराधिक कार्य भनी वर्गीकरण गरिएको थिएन। त्यसपछि न्यायाधीशले अभियोक्‍ताहरूको कार्य “आपराधिक मुद्दाद्वारा सतावट दिने” दाउ भने। अर्का न्यायाधीशले विभिन्‍न युरोपेली अदालतहरूमा यहोवाका साक्षीहरूलाई “स्थापित धर्मको” रूपमा स्वीकारेको र युरोपेली मानव अधिकारसम्बन्धी महासन्धिले संरक्षण दिएको थुप्रै मुद्दाहरू उल्लेख गरे। यस समयको दौडान एक जना पादरीले यहोवाका साक्षीहरूले राष्ट्रमा विभाजन ल्याउँदैछन्‌ भनेर चिच्याए। अदालतले तिनलाई हल्ला नगर्ने आज्ञा दियो।

त्यसपछि न्यायाधीशले दर्शकमाझ बसिरहेका ल्योभा मार्गाऱ्‍यानलाई बोलाए जुन यस उच्च अदालतले चालेको उल्लेखनीय कदम थियो। भाइ मार्गाऱ्‍यानले विभिन्‍न विषयमा यहोवाका साक्षीहरूको मसीही अडानबारे राम्रो साक्षी दिए। (मर्कूस १३:९) केही समयको मध्यान्तरपछि अदालतमा बहस फेरि सुरु भयो र सबैको सर्वसम्मतिमा मार्गाऱ्‍यानलाई “निर्दोष” ठहर गरियो। भाइ मार्गाऱ्‍यानले ढुक्कको सास फेरे। अदालतले लिखित निर्णयमा यस्तो उल्लेख गरेको थियो: “अहिलेको नियमले [ल्योभा मार्गाऱ्‍यानको] गतिविधिलाई अपराध ठान्दैन र यस प्रकारको अभियोग आरमेनियाको संविधानको धारा २३ र युरोपेली महासन्धिको धारा ९ सँग मेल खाँदैन।”

निर्णयका असरहरू

अभियोक्‍ताहरू सफल भएका भए आरमेनियाभरिको मण्डलीका मसीही प्राचीनहरूमाथि कानुनी कारबाही थाल्ने बाटो खुल्थ्यो। आशा छ, अदालतले गरेको स्पष्ट निर्णयले त्यस्तो सतावट रोक्नेछ। हाम्रो विरुद्धमा निर्णय भएको भए यहोवाका साक्षीहरूको नाउँ दर्ता गर्न इन्कार भइरहन सक्थ्यो। खुसीको कुरा, अदालतले यस्तो झूटो पूर्वाधार हटाएको छ।

यस देशका ७,००० भन्दा बढी यहोवाका साक्षीहरूको संगठन दर्ता गर्न सकिने छ कि छैन भनेर समयले नै बताउनेछ। त्यतिन्जेल “अरारतको देश[मा]” साँचो उपासना अझ जिउँदै हुनुका साथै फस्टाइरहेको छ।

[फुटनोट]

a आरमेनियालीहरूले आफ्नो देशको सम्बन्ध अरारत पहाडसँग छ भन्‍नुको एउटा कारण यो पनि हो। पुरातन समयमा आरमेनिया एउटा विशाल राज्य थियो र यही इलाकाभित्र ती पहाडहरू पर्थे। त्यसकारण, युनानी सेप्टुआजिन्टको बाइबल अनुवादमा यशैया ३७:३८ मा “अरारत देश[लाई]” “आरमेनिया” भनी अनुवाद गरिएको छ। अरारत पहाड अहिले टर्कीको पूर्वी सीमासँगै पर्छ।

[पृष्ठ १२-मा भएको चित्र]

ल्योभा मार्गाऱ्‍यान आफ्नो पुर्पक्षको दौडान

[पृष्ठ १३-मा भएको चित्र]

भाइ मार्गाऱ्‍यान र तिनको परिवार