सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नम्रता—एउटा अत्यावश्‍यक मसीही गुण

नम्रता—एउटा अत्यावश्‍यक मसीही गुण

नम्रता—एउटा अत्यावश्‍यक मसीही गुण

“नम्रता . . . धारण गर।”—कलस्सी ३:१२.

१. नम्रता एउटा उल्लेखनीय गुण हुनुको कारण के हो?

 कुनै व्यक्‍ति नम्र वा भद्र स्वभावको छ भने, उसित समय बिताउनु रमाइलो हुन्छ। यद्यपि, “मीठो बोलीले कड़ा हड्डीलाई पनि गलाउनसकिन्छ” भनी बुद्धिमान्‌ राजा सुलेमानले बताए। (हितोपदेश २५:१५) नम्रता भनेको रमाइलोपन र शक्‍ति दुवै झल्कने एउटा उल्लेखनीय गुण हो।

२, ३. नम्रता र पवित्र आत्माबीच कस्तो सम्बन्ध छ र यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

गलाती ५:२२, २३ मा वर्णन गरिएको आत्माको फलको सूचीमा पावलले नम्रतालाई पनि समावेश गरेका छन्‌। न्यु वर्ल्ड ट्रान्सलेसन-को पद २३ मा “नम्रता” भनी अनुवाद गरिएको युनानी शब्दलाई अरू कतिपय बाइबल संस्करणहरूमा “विनय” वा “भद्रता” भनेर पनि अनुवाद गरिएको छ। साँच्चै भन्‍ने हो भने, प्रायजसो भाषाहरूमा यस युनानी शब्दको हुबहु अर्थ दिने शब्द भेट्टाउन गाह्रो छ किनभने मूल शब्दले बाहिरबाट हेर्दा मात्र भद्र वा विनीत देखिने नभई भित्री नम्रता र अनुग्रह अनि कसैको बानीबेहोरा मात्र होइन तर उसको मन तथा हृदयको अवस्थालाई बुझाउँछ।

नम्रताको अर्थ र महत्त्वबारे अझ राम्ररी बुझ्न हामी बाइबलबाट चारवटा उदाहरण विचार गरौं। (रोमी १५:४) यसरी यो गुण के हो भन्‍ने कुरा मात्र होइन तर यो कसरी हासिल गर्न तथा व्यवहारमा उतार्न सकिन्छ भनेर पनि हामी सिक्नेछौं।

“परमेश्‍वरको दृष्टिमा ठूलो मोलको”

४. यहोवाले नम्रतालाई मूल्यवान्‌ ठान्‍नुहुन्छ भनी हामी कसरी थाह पाउँछौं?

परमेश्‍वरको आत्माका फलहरूमध्ये नम्रता पनि एउटा भएकोले परमेश्‍वरको अद्‌भुत व्यक्‍तित्वसँग यसको नजिकको सम्बन्ध हुनु व्यावहारिक देखिन्छ। प्रेरित पत्रुसले “नम्र र शान्त आत्मा . . . परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ” भनी लेखे। (१ पत्रुस ३:४) निस्सन्देह, नम्रता एउटा ईश्‍वरीय गुण हो र यहोवाले यसलाई एकदमै मूल्यवान्‌ ठान्‍नुहुन्छ। यसैकारण पनि परमेश्‍वरका सबै सेवकहरूले नम्रता खेती गर्नुपर्छ। तथापि, यस ब्रह्‍माण्डका सर्वोच्च अख्तियारवाला, सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसरी नम्रता देखाउनुहुन्छ?

५. यहोवाको नम्रताको कारण हामीसित कस्तो प्रत्याशा छ?

प्रथम मानव जोडी, आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखबाट नखानू भन्‍ने परमेश्‍वरको स्पष्ट आज्ञा उल्लंघन गरे र यो तिनीहरूले जानाजानी गरेका थिए। (उत्पत्ति २:१६, १७) त्यसरी जानाजानी अनाज्ञाकारी हुँदा तिनीहरू तथा तिनका भावी सन्ततिहरूले पाप र मृत्यु पाउनुका साथै परमेश्‍वरबाट टाढा भए। (रोमी ५:१२) यहोवाले त्यस्तो न्यायदण्ड सुनाउनु पूर्णतया जायज भए तापनि उहाँले मानव परिवारलाई सुधार्न वा सपार्नै नसकिने जस्तो ठानी चटक्कै त्याग्नुभएन। (भजन १३०:३) बरु, पापी मानिसजाति यहोवासामु जान र उहाँको अनुमोदन पाउन सक्ने प्रबन्ध मिलाउनुभएर उहाँले अनुग्रह तथा बढ्‌ता माग नगर्ने उहाँको इच्छुकता अर्थात्‌ नम्रता देखाउनुभयो। हो, आफ्नो पुत्र येशू ख्रीष्टलाई छुडौतीको बलिदानको उपहारस्वरूप दिनुभएर यहोवाले हामीलाई उहाँको उच्च सिंहासनसामु कुनै डर वा त्रासविना खडा हुने मौका दिनुभएको छ।—रोमी ६:२३; हिब्रू ४:१४-१६; १ यूहन्‍ना ४:९, १०, १८.

६. परमेश्‍वरले कयिनसित गर्नुभएको व्यवहारमा नम्रता कसरी प्रस्ट देखियो?

येशू पृथ्वीमा आउनुभन्दा निकैअघि आदमका छोराहरू कयिन तथा हाबिलले परमेश्‍वरलाई बलिदान चढाउँदा यहोवाको नम्रता प्रकट भइसकेको थियो। तिनीहरूको हृदयको अवस्था बुझ्नुभएर यहोवाले कयिनको भेटी अस्वीकार गर्नुभयो तर हाबिल तथा तिनको भेटी “ग्रहण गर्नुभयो।” विश्‍वासी हाबिल तथा तिनको बलिदानप्रति परमेश्‍वरले देखाउनुभएको दयालु मनोभावले कयिनमा वैरभाव उत्पन्‍न गऱ्‍यो। “कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो” भनी बाइबल विवरण बताउँछ। यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? के कयिनको खराब मनोवृत्तिको कारण उहाँले आफ्नो अपमान भएको महसुस गर्नुभयो? अहँ, गर्नुभएन। नम्रतासाथ उहाँले कयिनलाई तिनी रिसाउनुको कारण सोध्नुभयो। “ग्रहणयोग्य” हुनको लागि कयिनले के गर्न सक्छन्‌ भनेर समेत यहोवाले बताइदिनुभयो। (उत्पत्ति ४:३-७) साँच्चै, यहोवा नम्रताको मूर्तरूप हुनुहुन्छ।—प्रस्थान ३४:६.

नम्रताले आकर्षित गर्छ र स्फूर्ति दिन्छ

७, ८. (क) हामी कसरी यहोवाको नम्रता बुझ्न सक्छौं? (ख) मत्ती ११:२७-२९ का शब्दहरूले यहोवा र येशूबारे के प्रकट गर्छ?

यहोवाका अतुलनीय गुणहरूबारे बुझ्ने एउटा सर्वोत्तम तरिका, येशू ख्रीष्टको जीवन तथा सेवकाईबारे अध्ययन गरेर हो। (यूहन्‍ना १:१८; १४:६-९) येशूको प्रचार अभियानको दोस्रो वर्षको दौडान उहाँ गालीलमा हुनुहुँदा, कोराजिन, बेथसेदा, कफर्नहुम र यसको वरपरका ठाउँहरूमा उहाँले थुप्रै शक्‍तिशाली कार्यहरू गर्नुभयो। तथापि, अधिकांश व्यक्‍तिहरू घमण्डी तथा भावशून्य थिए र तिनीहरूले विश्‍वास गर्न इन्कार गरे। येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँले तिनीहरूको अविश्‍वासको नतिजाबारे स्पष्टसित चेतावनी दिनुभयो तर तिनीहरूमध्येका एमहारेट्‌स अर्थात्‌ तुच्छ ठानिएका सर्वसाधारणको दयनीय आध्यात्मिक अवस्था देखेर उहाँ दयाले भरिनुभयो।—मत्ती ९:३५, ३६; ११:२०-२४.

पछि, येशूले गर्नुभएका कार्यहरूबाट उहाँले ‘पितालाई राम्रोसित चिन्‍नुभएको’ र उहाँको अनुकरण गर्नुभएको कुरा देखियो। सर्वसाधारणलाई येशूले यस्तो न्यानो निमन्त्रणा दिनुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [“स्फूर्ति,” NW] पाउनेछौ।” यी शब्दहरूले थिचोमिचो र अत्याचारमा परेका मानिसहरूलाई साँच्चै सान्त्वना दियो! यी शब्दहरू आज हाम्रोलागि समेत स्फूर्तिदायी छन्‌। हामीले निष्कपटतासाथ नम्रता धारण गऱ्‍यौं भने, हामी ‘पुत्रले आफ्नो पितालाई प्रकट गर्न इच्छा गर्नुहुने’ मानिसहरूमध्येका हुनेछौं।—मत्ती ११:२७-२९.

९. नम्रतासित कुन गुणको सम्बन्ध छ र यस सन्दर्भमा येशू कसरी राम्रो उदाहरण हुनुहुन्छ?

नम्रतासित विनय र “नम्र हृदयको” नजिकको सम्बन्ध छ। अर्कोतर्फ, घमण्डले अहंकार उत्पन्‍न गराउँछ, जसले अक्सर अरूप्रति रूखो तथा निर्दयी व्यवहार गर्न लगाउँछ। (हितोपदेश १६:१८, १९) आफ्नो पार्थिव सेवकाईको दौडान येशू सधैं विनयी हुनुभयो। आफ्नो मृत्यु हुनुभन्दा छ दिनअघि यरूशलेममा प्रवेश गर्नुहुँदा, मानिसहरूले उहाँलाई यहूदीहरूका राजाको रूपमा स्वागत गर्दा समेत येशू सांसारिक शासकहरूभन्दा भिन्‍नै हुनुहुन्थ्यो। उहाँले मसीहसम्बन्धी जकरियाले गरेको यो भविष्यवाणी पूरा गर्नुभयो: “हेर, तिम्रा राजा नम्र भएर, गधा र भारी बोक्ने गधैनीको बच्चा, एउटा बछेड़ामाथि सवार भएर तिमीहरूकहाँ आउनुहुँदैछ।” (मत्ती २१:५; जकरिया ९:९) यहोवाले आफ्नो पुत्रलाई शासन गर्ने अख्तियार दिनुभएको दर्शन विश्‍वासी अगमवक्‍ता दानियलले देखे। यद्यपि, योभन्दा अघि गरिएको एउटा भविष्यवाणीमा तिनले येशूलाई “मानिसहरूमा सबैभन्दा नम्र” भनी वर्णन गरेका थिए। साँच्चै, नम्रता र विनयबीच नजिकको सम्बन्ध छ।—दानियल ४:१७; ७:१३, १४.

१०. मसीही नम्रता किन कमजोरीको चिह्न होइन?

१० यहोवा र येशूले देखाउनुभएको मनमोहक नम्रताले हामीलाई उहाँहरूको नजिक हुन मदत गर्छ। (याकूब ४:८) निस्सन्देह, नम्रता भनेको कमजोरीको चिह्न होइन। अहँ, पटक्कै होइन! सर्वशक्‍तिमान्‌ परमेश्‍वर, यहोवाले असीम शक्‍ति तथा बल प्रदर्शन गर्नुहुन्छ। अधर्मीहरूमाथि उहाँको क्रोध दन्कन्छ। (यशैया ३०:२७; ४०:२६) त्यसै गरी येशूले शैतान अर्थात्‌ दियाबलको आक्रमणसामु समेत सम्झौता नगर्ने दृढता देखाउनुभयो। उहाँले आफ्नो समयका धार्मिक नेताहरूको अवैध व्यापारिक कारोबारहरूलाई सहनुभएन। (मत्ती ४:१-११; २१:१२, १३; यूहन्‍ना २:१३-१७) तथापि, उहाँले आफ्ना चेलाहरूका गल्तीहरू बुझ्नुभएको कुरा नम्र भई देखाउनुभयो र तिनीहरूका कमजोरीहरू धैर्यतासाथ सहनुभयो। (मत्ती २०:२०-२८) एक जना बाइबलविद्‌ले नम्रतालाई सही किसिमले यसरी वर्णन गरे: “भलादमी हुनुको पछाडि ठूलो शक्‍ति लुकेको हुन्छ।” त्यसकारण हामी यो मसीही गुण—नम्रता प्रदर्शन गरौं।

तिनको समयमा सबैभन्दा नम्र

११, १२. मोशाको पालनपोषणलाई विचार गर्ने हो भने, तिनको नम्रता कुन अर्थमा उल्लेखनीय थियो?

११ अब हामीले विचार गर्ने तेस्रो उदाहरण मोशाको हो। बाइबलले तिनलाई “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति” भनेर वर्णन गरेको छ। (गन्ती १२:३) यो विवरण ईश्‍वरीय प्रेरणाद्वारा लेखिएको थियो। मोशाको उल्लेखनीय नम्रताको कारण तिनले यहोवाको निर्देशन स्वीकारे।

१२ मोशाको पालनपोषण असाधारण तरिकामा भएको थियो। विश्‍वासी हिब्रू आमाबाबुको यो छोरा छलकपट र हत्याको वातावरणबाट बच्न सकोस्‌ भनेर यहोवाले एउटा प्रबन्ध मिलाउनुभयो। मोशाले आफ्नो बाल्यकाल आफ्नै आमाको काखमा बिताए र तिनले मोशालाई साँचो परमेश्‍वर यहोवाबारे ध्यान दिएर सिकाइन्‌। पछि, मोशालाई तिनको घरबाट टाढा लगियो, जहाँको वातावरण पहिलेको भन्दा बिल्कुलै भिन्‍न हुन सक्थ्यो। “मोशालाई मिश्रीहरूका सारा विद्यामा निपुण गराए” भनी प्रारम्भिक समयका मसीही शहीद स्तिफनसले बताए। भनौं भने, “मोशा आफ्ना कुरा र काममा शक्‍तिशाली भए।” (प्रेरित ७:२२) फिरऊनका कामदारहरूले आफ्ना भाइहरूमाथि अत्याचार गरेको देखेपछि तिनको विश्‍वास प्रकट भयो। एक हिब्रूलाई कुटेको कारण एक जना मिश्रीलाई मारेपछि मोशा मिश्र छोडेर मिद्यान देशतिर भाग्नुपऱ्‍यो।—प्रस्थान १:१५, १६; २:१-१५; हिब्रू ११:२४, २५.

१३. मिद्यानमा ४० वर्षसम्म बिताएको प्रवासी जीवनले मोशालाई कस्तो असर गऱ्‍यो?

१३ मोशा ४० वर्षको हुँदा तिनले उजाड़-स्थानमा आफ्नो हेरचाह आफैले गर्नुपऱ्‍यो। तिनले मिद्यानमा रूएलका सात जना छोरीहरूलाई भेटे र तिनीहरूका बुबाको ठूलो बगालको लागि पानी तान्‍न मदत गरे। आफूलाई दुःख दिने गोठालाहरूबाट “एउटा मिश्रीले” छुटाएको कुरा यी युवतीहरूले खुसी हुँदै रूएललाई घर पुग्ने बित्तिकै बताए। रूएलले आफ्नो घरमा बोलाएपछि मोशा त्यस परिवारसँगै बसे। आफूले भोगेका दुःखकष्टहरूको कारण तिनी जीवनदेखि विरक्‍तिएनन्‌, बरु तिनले आफ्नो जीवन शैलीलाई नयाँ परिवेशअनुसार छाँटकाँट गर्न सिके। यहोवाको इच्छा गर्ने तिनको चाहना कहिल्यै ढलपल भएन। चालीस वर्षको दौडान, तिनले रूएलका बगालको हेरचाह गरे, सिप्पोरासित विवाह गरे र बालबच्चाहरू हुर्काए। यति बेला मोशाले विकास गरेको गुण नै पछि गएर तिनको चिनारी बन्‍न पुग्यो। हो, मोशाले दुःखकष्ट सहेर नम्रता सिके।—प्रस्थान २:१६-२२; प्रेरित ७:२९, ३०.

१४. मोशाले इस्राएलको नेतृत्व गर्दा तिनको नम्रता प्रदर्शित भएको एउटा घटना वर्णन गर्नुहोस्‌।

१४ यहोवाले तिनलाई इस्राएल राष्ट्रको नेता नियुक्‍त गर्नुभएपछि पनि मोशामा नम्रता प्रत्यक्ष देखिन्थ्यो। मोशाका सहयोगीहरूको रूपमा सेवा गर्न ७० जना बूढा-प्रधानमाथि यहोवाले आफ्नो आत्मा खन्याउनुहुँदा त्यहाँ उपस्थित नभएका एलदाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्‌ भन्‍ने खबर एक जना जवान मानिसले मोशालाई सुनायो। यहोशूले यसो भने: “हजूर, तिनीहरूलाई रोक्नुहोस्‌।” मोशाले नम्रतासाथ यस्तो प्रत्युत्तर दिए: “के मेरो खातिर तँ डाह गर्ने भइस? परमप्रभुले आफ्ना आत्मा मानिसमाथि राखिदिनुभएर सबै अगमवक्‍तानै भइदिएता कति असल हुनेथियो।” (गन्ती ११:२६-२९) नम्रताले त्यस तनावग्रस्त परिस्थितिलाई साम्य पार्न मदत गऱ्‍यो।

१५. मोशा असिद्ध भए तापनि तिनको उदाहरण किन अनुकरणीय छ?

१५ एउटा अवसरमा भने मोशामा नम्रताको कमी भएको देखिन्छ। कादेश नजिकै मरीबामा तिनले चमत्कारी कार्य गर्नुहुने यहोवालाई महिमा दिन सकेनन्‌। (गन्ती २०:१, ९-१३) मोशा असिद्ध भए तापनि तिनको दृढ विश्‍वासले तिनलाई जीवनभर सम्हाल्यो र तिनको उल्लेखनीय नम्रता देखेर हामी आजसम्म पनि प्रभावित भएका छौं।—हिब्रू ११:२३-२८.

रूखोपन विरुद्ध नम्रता

१६, १७. नाबाल र अबीगेलको विवरणबाट हामी कस्तो चेतावनी पाउँछौं?

१६ परमेश्‍वरका अगमवक्‍ता शमूएलको मृत्यु भएको केही समयपछि, दाऊदको समयमा भएको घटनाबाट एउटा चेतावनीमूलक उदाहरण सिक्न सक्छौं। यो घटना विवाहित जोडी नाबाल तथा तिनकी पत्नी, अबीगेलसित सम्बन्धित छ। यी दुई जनाबीच कत्ति ठूलो भिन्‍नता थियो! अबीगेल “बुद्धिमानी स्त्री थिइन्‌” भने तिनको पति “एक निष्ठूर नीच मानिस थियो।” नाबालको ठूलो बगाललाई चोरहरूबाट रक्षा गर्ने दाऊदका मानिसहरूले तिनीसित अलिकता खानेकुरा माग्दा नाबालले कठोर भई इन्कार गरे। त्यसैले, दाऊद तथा तिनका मानिसहरू रिसले चूर भई तरवार भिरे र नाबलसँग युद्ध गर्न गए अनि हुन पनि तिनीहरू यसरी रिसाउनु स्वाभाविकै देखिन्थ्यो।—१ शमूएल २५:२-१३.

१७ यी सबै घटनाहरूबारे सुनेपछि अबीगेलले हतार-हतार रोटी, दाखमद्य, मासु, किसमिस र नेभारा तयार पारेर दाऊदलाई भेट्‌न गइन्‌। “हे मेरा प्रभो, दोष मैमाथिनै परोस्‌” भनी तिनले दाऊदलाई बिन्ती गरिन्‌। “हजूरकी विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्‌। मेरा मालिकले मेरो कुरा सुन्‍नुहोस्‌।” अबीगेलको विनम्र बिन्तीले दाऊदको मन पग्लियो। अबीगेलको कुरा सुनिसकेपछि दाऊदले यसो भने: “परमप्रभु इस्राएलका परमेश्‍वर धन्यका होऊन्‌, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।” (१ शमूएल २५:१८, २४, ३२, ३३) नाबालको रूखोपनाको कारण अन्ततः तिनले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। आफ्ना असल गुणहरूको कारण पछि अबीगेलले दाऊदकी पत्नी हुने सुअवसर पाइन्‌। तिनको नम्रता आज यहोवाका सेवा गर्नेहरू सबैको लागि नमुना भएको छ।—१ शमूएल २५:३६-४२.

नम्रताको पछि लाग्नुहोस्‌

१८, १९. (क) नम्रता धारण गर्दा हामीमा कस्ता परिवर्तनहरू स्पष्ट देखिन्छ? (ख) प्रभावकारी ढंगमा आत्म-परीक्षण गर्न हामीलाई कुन कुराले मदत गर्न सक्छ?

१८ तसर्थ, नम्रता एउटा अत्यावश्‍यक गुण हो। यसको अर्थ भद्र आचरणको हुनु मात्र होइन; यो अरूलाई स्फूर्ति दिने मनोभाव भएको आकर्षक गुण हो। पहिले-पहिले हामीमा रूखो बोल्ने वा निर्दयी व्यवहार गर्ने बानी थियो होला। तथापि, बाइबल सच्चाइ सिकेपछि हामीले छाँटकाँट गऱ्‍यौं र अझ मित्रैलो र मिजासिलो व्यक्‍ति बन्यौं। यस्तो परिवर्तनलाई नै संकेत गर्दै पावलले सँगी मसीहीहरूलाई निम्न सल्लाह दिए: “पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) बाइबलले यस परिवर्तनलाई ब्वाँसो, चितुवा, सिंह, भालु र साँबे सर्पजस्ता हिंस्रक जंगली जनावरहरू थुमा, पाठो, बाछा र गाईजस्ता शान्त स्वभावका घरपालुवा जनावरहरूमा परिवर्तन भएको कुरासित तुलना गरेको छ। (यशैया ११:६-९; ६५:२५) मानिसको व्यक्‍तित्वमा हुने यस्ता परिवर्तनहरू सबैसामु प्रत्यक्ष हुने हुँदा देख्नेहरू तीन छक पर्छन्‌। तथापि, हामी यस परिवर्तनको श्रेय परमेश्‍वरको आत्माको सञ्चालनलाई दिन्छौं किनभने यसको एउटा अत्यन्तै उल्लेखनीय गुण नम्रता पनि हो।

१९ के यसको अर्थ हामीले एक पटक आवश्‍यक परिवर्तनहरू गरेर आफूलाई यहोवामा समर्पित गरिसकेपछि नम्र मिजासको हुन कुनै प्रयत्न गर्नु पर्दैन भनेको हो? पटक्कै होइन। उदाहरणका लागि, नयाँ लुगालाई सफा र चिटिक्क राखिरहने हो भने, हरबखत यसको ख्याल गर्नुपर्छ। परमेश्‍वरको वचनमा गहिरिएर हेर्दा र यसमा भएका उदाहरणहरूबारे मनन गर्दा हामीले आफूलाई नयाँ र सकारात्मक दृष्टिकोणबाट हेर्ने मदत पाउँछौं। परमेश्‍वरको प्रेरित वचनको ऐनाले तपाईंबारे के बताउँछ?—याकूब १:२३-२५.

२०. हामी कसरी नम्रता प्रदर्शन गर्न सफल हुन सक्छौं?

२० स्वभावैले सबैको मिजास फरक-फरक हुन्छ। यहोवाका कोही-कोही सेवकहरूलाई नम्रता देखाउन अरूलाई भन्दा सजिलो हुन्छ। तैपनि, सबै मसीहीहरूले नम्रतालगायत परमेश्‍वरको आत्माको फल खेती गर्नुपर्छ। पावलले तिमोथीलाई मायालु ढंगमा यस्तो सल्लाह दिए: “धार्मिकता, भक्‍ति, विश्‍वास, प्रेम, धीरज, नम्रताको पछि लाग।” (१ तिमोथी ६:११) “पछि लाग” भन्‍ने शब्दले प्रयत्न चाहिन्छ भन्‍ने कुरा संकेत गर्छ। एउटा बाइबलमा यस आग्रहलाई ‘त्यसमा मन लगाऊ’ भनी अनुवाद गरिएको छ। (जे. बी. फिलिप्सद्वारा लिखित न्यु टेस्टामेन्ट इन मोडर्न इंग्लिस) तपाईंले परमेश्‍वरको वचनमा पाइने असल उदाहरणहरूमा मनन गर्ने प्रयत्न गर्नुभयो भने, ती तपाईंको जीवनमा ठप्प छापिएझैं हुन सक्छ। त्यसले तपाईंमा परिवर्तन ल्याउनेछ र ती तपाईंको मार्ग-निर्देशक हुनेछन्‌।—याकूब १:२१.

२१. (क) हामी किन नम्रताको पछि लाग्नुपर्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

२१ हामीले कत्तिको नम्रता देखाइरहेका छौं भन्‍ने कुरा हामीले अरूसँग गर्ने व्यवहारमा झल्कन्छ। चेला याकूब भन्छन्‌: “तिमीहरूमा ज्ञानी र समझदार जो छ त्यसैले ज्ञानको नम्रतासित आफ्नो काम बढ़िया चाल-चलनबाट देखाओस्‌।” (याकूब ३:१३) हामी घरमा, मसीही सेवकाईमा तथा मण्डलीमा यो मसीही गुण कसरी देखाउन सक्छौं? यसपछिको लेखले मदतकारी निर्देशन दिन्छ।

पुनरावलोकन

• तपाईंले निम्न व्यक्‍तिहरूको उदाहरणबाट नम्रताबारे के सिक्नुभयो?

• यहोवा

• येशू

• मोशा

• अबीगेल

• हामी किन नम्रताको पछि लाग्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

यहोवाले हाबिलको भेटी किन ग्रहण गर्नुभयो?

[पृष्ठ १७-मा भएको चित्र]

येशूले नम्रता र विनयबीच नजिकको सम्बन्ध छ भनी देखाउनुभयो

[पृष्ठ १८-मा भएको चित्र]

मोशाले नम्रताको राम्रो उदाहरण बसाले