सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छ

प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छ

प्रभुको भोजले तपाईंको लागि ठूलो अर्थ राख्छ

के प्रभुको भोजले तपाईंको लागि कुनै महत्त्वपूर्ण अनि गहिरो अर्थ राख्छ? यस प्रश्‍नको जवाफ पाउन सर्वप्रथम यस विशेष घटनालाई येशूले कसरी अर्थ लगाउनुभयो पत्ता लगाऔं।

सा.यु. ३३ निसान १४ को साँझ वार्षिक निस्तार चाड मनाउन येशू आफ्ना १२ जना चेलाहरूसित यरूशलेमको एउटा माथिल्लो कोठामा भेला हुनुभयो। सबैले निस्तार चाडको भोज खाइसकेपछि येशूलाई धोका दिने धोकेबाज यहूदा कोठाबाट बाहिर निस्कियो। (यूहन्‍ना १३:२१, २६-३०) बाँकी रहेका ११ जना चेलाहरूसित येशूले “प्रभु-भोज” स्थापना गर्नुभयो। (१ कोरिन्थी ११:२०) यसलाई स्मरणार्थ पनि भनिन्छ किनकि येशूले आफ्ना चेलाहरूलाई यस्तो आज्ञा दिनुभयो: “यो मेरो सम्झनाको निम्ति गर।” मसीहीहरूलाई स्मरण गर्न आज्ञा दिइएको उत्सव यो मात्र हो।—१ कोरिन्थी ११:२४.

शब्दकोशले स्मरणार्थलाई “कुनै व्यक्‍ति वा विषयलाई सम्झन वा नबिर्सनका निम्ति स्थापना गरिएको खास अवसर” भनेर व्याख्या गर्छ। धेरै ठाउँहरूमा कुनै महत्त्वपूर्ण व्यक्‍ति वा घटनालाई सम्झन वा स्मरण गर्न स्मारक बनाउने वा कुनै विशेष दिन छुट्याउने गरिन्छ। तर यहाँ भने येशूले स्मरणार्थ भोजको स्थापना गर्नुभयो र त्यो भोजले उहाँका चेलाहरूको मानसपटलबाट त्यस निर्णायक दिनको अत्यन्तै महत्त्वपूर्ण घटनाको सम्झनालाई मेटिन नदिने स्मरण सहायकको काम गर्ने थियो। भावी पुस्तामा जस-जसले स्मरणार्थ भोज मनाउँछन्‌ तिनीहरूको लागि यस भोजले येशूले त्यस साँझ गर्नुभएको कार्य अझ विशेष गरी उहाँले प्रयोग गर्नुभएका प्रतीकहरूको गहिरो अर्थको सम्झना दिलाउने थियो। येशूले कस्ता प्रतीकहरू चलाउनुभयो अनि त्यसको अर्थ के हो? सा.यु. ३३ को त्यो साँझ के भयो, हामी बाइबल विवरणबाट जाँचौं।

प्रतीकात्मक अर्थ

“रोटी लिएर धन्यवाद चढ़ाएपछि उहाँले भाँचेर तिनीहरूलाई यसो भन्दै दिनुभयो, ‘तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्नेगर।’ ”लूका २२:१९.

येशूले रोटी लिनुभएर “यो मेरो शरीर हो” भन्‍नुहुँदा उहाँले त्यो अखमिरी रोटीलाई आफ्नो पापरहित भौतिक शरीरको प्रतीकको रूपमा संकेत गर्दै हुनुहुन्थ्यो जुन शरीर उहाँले “संसारको जीवनको लागि” दिनुभयो। (यूहन्‍ना ६:५१) कुनै-कुनै बाइबल अनुवादहरूमा “यो मेरो शरीर हो [युनानी, इस्‌-टिन]” भनेर अनुवाद गरिएको भए तापनि थायरको ग्रीक-इंग्लिस लेक्सिकन अफ द न्यु टेस्टामेन्ट-को भनाइअनुसार यस वाक्यमा प्रयोग गरिएको क्रियापदले अक्सर “इङ्‌गित गर्ने, जनाउने, लक्षित गर्ने” भन्‍ने अर्थ दिन्छ। यसले प्रतीक वा संकेत भन्‍ने भाव व्यक्‍त गर्छ।—मत्ती २६:२६, पादटिप्पणी।

कचौराको दाखमद्यको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। येशूले यसो भन्‍नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।”लूका २२:२०.

मत्तीको विवरणमा येशूले कचौराको सन्दर्भमा यसो भन्‍नुभयो: “यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्‍चितको लागि, बहाइन्छ।” (मत्ती २६:२८) येशूले आफ्नो रगतको संकेत अथवा प्रतीकको रूपमा कचौराको दाखमद्यलाई प्रयोग गर्दै हुनुहुन्थ्यो। उहाँले बगाउनुभएको रगत उहाँसित स्वर्गमा राजाहरू तथा पुजाहारीहरूको हैसियतमा राज्य गर्ने आत्मा-अभिषिक्‍त चेलाहरूको लागि “नयाँ करार[को]” आधार हुने थियो।—यर्मिया ३१:३१-३३; यूहन्‍ना १४:२, ३; २ कोरिन्थी ५:५; प्रकाश १:५, ६; ५:९, १०; २०:४, ६.

येशूले बगाउनुभएको रगत “पापहरूको क्षमा” दिने आधार बन्‍नेछ भन्‍ने कुराको सम्झना पनि कचौरामा भएको दाखमद्यले गराउँछ तसर्थ जस-जसले यो दाखमद्य पिउँछन्‌ तिनीहरूको लागि ख्रीष्टका साझे हकवालाहरूको हैसियतमा स्वर्गीय जीवन बिताउने बाटो खुल्यो। स्पष्टतः स्वर्गमा बोलावट भएकाहरूको एउटा सीमित संख्याले मात्र स्मरणार्थमा रोटी र दाखमद्यमा भाग लिन्छन्‌।—लूका १२:३२; एफिसी १:१३, १४; हिब्रू ९:२२; १ पत्रुस १:३, ४.

त्यसोभए, नयाँ करारका भाग नहुने येशूका अन्य सबै अनुयायीहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? यिनीहरू प्रभुका “अन्य भेडाहरू” हुन्‌ जो स्वर्गमा ख्रीष्टसितै शासन गर्ने होइन तर प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउने आशा राख्छन्‌। (यूहन्‍ना १०:१६; लूका २३:४३; प्रकाश २१:३, ४) विश्‍वासी मसीहीहरूको “ठूलो भीड[को]” हैसियतमा ‘दिन-रात परमेश्‍वरको सेवा गर्ने’ यिनीहरू प्रभुको भोजको कृतज्ञ दर्शकहरू हुन पाउँदा साह्रै आनन्दित हुन्छन्‌। फलतः यिनीहरूको वचन तथा कार्यले यस्तो घोषणा गर्छ: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।”—प्रकाश ७:९, १०, १४, १५.

कति पटक?

“मेरो सम्झनामा यो गर्नेगर।”लूका २२:१९.

ख्रीष्टको मृत्युको सम्झनालाई जीवित राख्न कति पटक स्मरणार्थ मनाउनुपर्छ? येशूले तोकेरै बताउनुभएन। यद्यपि, निसान १४ मा इस्राएलीहरूले वार्षिक रूपमा मनाउने निस्तार चाडको साँझ नै येशूले प्रभुको साँझको भोज स्थापना गर्नुभएको हुनाले त्यसै दिन स्मरणार्थ मनाओस्‌ भन्‍ने येशूको इच्छा थियो भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ। जसरी इस्राएलीहरूले मिश्रको दासत्वबाट मुक्‍ति पाएको दिन वार्षिक रूपमा मनाउँथे त्यसरी नै मसीहीहरूले पाप र मृत्युबाट पाएको छुटकारालाई वार्षिक रूपमा मनाउँछन्‌।—प्रस्थान १२:११, १७; रोमी ५:२०, २१.

कुनै विशेष घटनालाई सम्झन वार्षिक उत्सव मनाउने धारणा पक्कै पनि असामान्य होइन। उदाहरणका लागि, दम्पतीले मनाउने विवाहको वार्षिक उत्सव अथवा देशले आफ्नो इतिहासमा घटेको कुनै महत्त्वपूर्ण घटनालाई सम्झन मनाउने उत्सवलाई विचार गर्नुहोस्‌। यस्ता महत्त्वपूर्ण घटनाको सम्झनामा मनाइने उत्सव अक्सर वर्षको एक पटक गरिन्छ। चाखलाग्दो कुरा त के छ भने, ख्रीष्ट पृथ्वीमा आउनुभएको शताब्दीयौं पछि पनि धेरै मसीही भनौदाहरूलाई क्वार्टोडेसिमन्स भनिन्थ्यो जसको अर्थ “चौधेहरू” हो किनभने तिनीहरूले निसान १४ मा वर्षको एक चोटि येशूको मृत्युको स्मरणार्थ मनाउँथे।

सरल तर अत्यन्तै महत्त्वपूर्ण उत्सव

प्रभुको भोज मनाउनाले येशूका चेलाहरू “प्रभुको मृत्युको प्रचार” गरिरहन योग्यका हुनेछन्‌ भनेर प्रेरित पावलले बताए। (१ कोरिन्थी ११:२६) तसर्थ, स्मरणार्थ उत्सवले येशूले आफ्नो मृत्युद्वारा परमेश्‍वरको उद्देश्‍य पूर्तिमा खेल्नुभएको महत्त्वपूर्ण भूमिकामा ध्यान केन्द्रित गर्नेछ।

मृत्युसम्मै विश्‍वासी रहनुभएर येशू ख्रीष्टले यहोवा परमेश्‍वर एक बुद्धिमान्‌ र मायालु सृष्टिकर्ताका साथै सर्वोच्च न्यायी परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्नुभयो। शैतानको दाबीभन्दा ठीक विपरीत आदमले जस्तो नभई येशूले अत्यधिक कष्टमा पनि मानिसजाति परमेश्‍वरप्रति वफादार रहन सम्भव छ भनेर प्रमाणित गर्नुभयो।—अय्यूब २:४, ५.

प्रभुको भोजले येशूको आत्म-त्यागी प्रेमप्रतिको मूल्यांकन भावसहितको सम्झनालाई पनि जीवितै राख्नेछ। अत्यन्तै कठिन परीक्षाहरूमा समेत येशू आफ्ना पिताप्रति पूर्णतया आज्ञाकारी रहनुभयो। त्यसैकारण त उहाँले आफ्नो सिद्ध मानव जीवन आदमको पापको ठूलो मूल्य चुकाउन अपर्ण गर्न सक्नुभयो। येशू स्वयम्‌ले भन्‍नुभएझैं उहाँ “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” आउनुभएको हो। (मत्ती २०:२८) फलतः येशूमाथि विश्‍वास गर्ने सबैले आफ्नो पापको क्षमा र मानिसजातिको लागि यहोवाको सुरुको उद्देश्‍यअनुरूप अनन्त जीवन पाउन सक्छन्‌।—रोमी ५:६, ८, १२, १८, १९; ६:२३; १ तिमोथी २:५, ६. a

यी सबै कार्यहरूले मानिसजातिको उद्धारको लागि यहोवाले गर्नुभएको प्रचुर भलाइ अनि अनुग्रहलाई पनि प्रकाश पार्छ। बाइबलले यसो भन्छ: “यसैमा परमेश्‍वरको प्रेम हामीमा प्रकट भएको छ, कि हामी उहाँद्वारा जिऔं भन्‍ने हेतुले परमेश्‍वरले आफ्ना एकले पुत्रलाई यस संसारमा पठाउनुभयो। प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो।”—१ यूहन्‍ना ४:९, १०.

साँच्चै, स्मरणार्थ एउटा कस्तो महान्‌ उत्सव हो! यो उत्सव सरल, व्यावहारिक र विश्‍वको जुनसुकै परिस्थितिमा पनि मनाउन सकिने हुँदा हुँदै पनि यसले लामो समयसम्म सम्झौटोको रूपमा गहिरो प्रतिकात्मक अर्थ राख्छ।

यसले तपाईंको लागि अर्थ राख्छ

हाम्रा प्रभु येशू ख्रीष्टको बलिदानमा उहाँ स्वयम्‌ र उहाँका पिता यहोवाले ठूलो मूल्य चुकाउनु पऱ्‍यो। सिद्ध पुरुष हुनुभएको कारण येशूले वंशाणुगत मृत्यु भोग्नुभएन। (रोमी ५:१२; हिब्रू ७:२६) उहाँ कहिल्यै नमरीकन बाँच्न सक्नुहुन्थ्यो। उहाँको अनुमतिविना जबरजस्ती उहाँको ज्यान लिनु असम्भव थियो। उहाँले यसो भन्‍नुभयो: “कसैले त्यो [मेरो जीवन] मबाट खोस्तैन, तर म आफै त्यो अर्पण गर्छु।”—यूहन्‍ना १०:१८.

यद्यपि, येशूले राजीखुसी आफ्नो सिद्ध मानव जीवन बलिदानस्वरूप अर्पण गर्नुभयो ताकि “मृत्युका सामर्थ्य भएको, अर्थात्‌ शैतानलाई मृत्युद्वारा रद्दी पार्नालाई, यिनैको सह-भागी हुनुभयो। औ मृत्युको डरले जीवनभरि दासत्वमा फँसेकाहरू सबैलाई छुटाउनलाई पनि हो।” (हिब्रू २:१४, १५) ख्रीष्टले जुन तरिकाबाट आफूलाई मृत्युमा समर्पित गर्नुभयो त्यसले उहाँको आत्म-त्यागी प्रेमको थप प्रमाण दिन्छ। आफूलाई कसरी पीडा दिइनेछ र कसरी मारिनेछ भनेर येशूलाई राम्ररी थाह थियो।—मत्ती १७:२२; २०:१७-१९.

स्मणार्थले स्वर्गमा बस्नुहुने हाम्रा पिता यहोवाले हामीप्रति देखाउनुभएको प्रेमको त्यो महान्‌ अभिव्यक्‍तिको पनि हामीलाई सम्झना दिलाउँछ जुन आजसम्म कसैले कसैलाई कहिल्यै देखाएको छैन। गेतसमनीको बगैंचामा येशूले ‘बेसरी कराई, आँसु बगाउनुभएको’, उहाँलाई दिइएको बर्बर यातना, निर्ममतासाथ किला ठोकेर अनि बिस्तारै दिइएको कष्टकर मृत्यु देख्दा “टिठाइमा भरिपूर र कृपालु” परमेश्‍वरलाई कत्ति पीडा भयो होला! (याकूब ५:११; हिब्रू ५:७; यूहन्‍ना ३:१६; १ यूहन्‍ना ४:७, ८) शताब्दीयौंपछि पनि येशूको त्यो मृत्युलाई सम्झँदा आज धेरैलाई भावनात्मक पीडा हुन्छ।

यहोवा परमेश्‍वर र येशू ख्रीष्टले हामी पापीहरूको लागि चुकाउनुभएको त्यस्तो ठूलो मूल्यलाई कल्पना गर्ने कोसिस गर्नुहोस्‌! (रोमी ३:२३) हरेक दिन हामी आफ्नो पापी झुकाव अनि असिद्धताको तीतो वास्तविकताको सामना गर्छौं। यद्यपि, येशूको छुडौतीको बलिदानको विश्‍वासको आधारमा हामी परमेश्‍वरसित क्षमा याचना गर्न सक्छौं। (१ यूहन्‍ना २:१, २) यसले हामीलाई परमेश्‍वरसित विनारोकटोक बोल्न अनि सफा अन्तस्करण कायम राख्न सम्भव तुल्याएको छ। (हिब्रू ४:१४-१६; ९:१३, १४) यसको अतिरिक्‍त, सदासर्वदाको लागि पार्थिव प्रमोदवनमा बस्ने आशा पनि हामीले पाउन सक्छौं। (यूहन्‍ना १७:३; प्रकाश २१:३, ४) यी अनि अन्य धेरै आशिष्‌हरू येशूको महान्‌ आत्म-त्यागी कार्यका परिणामहरू हुन्‌।

प्रभुको भोजको लागि मूल्यांकन देखाउने

प्रभुको भोज निश्‍चय पनि “परमेश्‍वरको असीम अनुग्रह[को]” अद्‌भुत अभिव्यक्‍ति हो। अनि येशूको आत्म-त्यागी प्रेमद्वारा सम्भव भएको यहोवाले प्रबन्ध गर्नुभएको छुडौतीको बलिदान वास्तवमै उहाँको “बयान गरी नसक्ने वरदान” हो। (२ कोरिन्थी ९:१४, १५) येशू ख्रीष्टद्वारा सम्भव भएको परमेश्‍वरको भलाइका यस्ता अभिव्यक्‍तिहरूले के तपाईंभित्र मूल्यांकनको गहिरो र प्रगाढ भाव जागेन?

आवश्‍य नै जाग्यो होला। त्यसैकारण, हामी तपाईंलाई येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउन यहोवाका साक्षीहरूसित भेला हुने न्यानो स्वागत गर्छौं। यो वर्ष अप्रिल १६, सूर्यास्तपछि स्मरणार्थ उत्सव आयोजना गरिनेछ। तपाईंको इलाकामा भएका यहोवाका साक्षीहरू यस अत्यन्तै महत्त्वपूर्ण उत्सव मनाउने समय र स्थानबारे तपाईंलाई जानकारी दिन खुसी हुनेछन्‌।

[फुटनोट]

a छुडौतीबारे विस्तृत छलफलको लागि, कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ नामक पुस्तक हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]

“यो मेरो शरीर हो” अथवा “यसको अर्थ मेरो शरीर हो” कुन चाहिं ठीक हो?

येशूले “ढोका मै हुँ” अनि “साँचो दाखको बोट म हुँ” भन्‍नुहुँदा कसैले पनि उहाँ साँच्चैको ढोका अथवा दाखको बोट हुनुहुन्छ भनी सोचेनन्‌। (यूहन्‍ना १०:७; १५:१) त्यसरी नै द न्यु जेरूशलेम बाइबल-ले “कचौरा नयाँ करार हो” भन्दा कचौरा साँच्चैकै नयाँ करार हो भन्‍ने निष्कर्षमा हामी पुग्दैनौं। त्यसरी नै उहाँले रोटी मेरो शरीर हो भन्‍नुहुँदा रोटी नै उहाँको शरीर हो भन्‍न खोज्नुभएको होइन भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। त्यसैले, चार्ल्स बि. विलियम्सको अनुवादले यसो भन्छ: “यसले मेरो शरीरलाई प्रतिनिधित्व गर्छ।”—लूका २२:१९, २०.

[पृष्ठ ५-मा भएको चित्र]

अखमिरी रोटी अनि दाखमद्य येशूको पापरहित शरीर अनि उहाँले बगाउनुभएको रगतको सुहाउँदा प्रतीकहरू हुन्‌

[पृष्ठ ७-मा भएको चित्र]

स्मरणार्थले यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टले देखाउनुभएको महान्‌ प्रेमको सम्झना दिलाउँछ