युवाहरू हो के तपाईंहरू आध्यात्मिक प्रगति गर्दै हुनुहुन्छ?
युवाहरू हो के तपाईंहरू आध्यात्मिक प्रगति गर्दै हुनुहुन्छ?
“मसीही सभाहरूमा नियमित भए तापनि यहोवाको सेवा गर्ने मेरो प्रबल इच्छा थिएन,” भनी हिडेयो आफू माध्यमिक विद्यालयमा पढ्दाको समयबारे सम्झना गर्दै बताउँछन्। “म प्रायजसो आफ्ना सहपाठीहरूमाझ लोकप्रिय हुने अनि प्रेमिकासित सहर डुल्ने कल्पना गर्थें। मेरा लक्ष्यहरू स्पष्ट थिएनन्, त्यसकारण आध्यात्मिक प्रगति गर्ने मेरो कुनै इच्छा थिएन।” हिडेयोजस्तै थुप्रै युवाहरू कुनै अर्थपूर्ण लक्ष्य हासिल गर्ने प्रयास वा कुनै प्रगति नगरी यत्तिकै हावामा हुर्रिरहेको जस्तो देखिन्छन्।
तपाईं जवान हुनुहुन्छ भने कुनै खेलकूद वा आफ्नो सोखको लागि समय बिताउन पाउँदा रमाउनुहुन्छ होला। तथापि, आध्यात्मिक गतिविधिको सन्दर्भमा भने तपाईंलाई त्यसो नलाग्न सक्छ। के आध्यात्मिक लक्ष्यहरूबारे प्रोत्साहित हुनु सम्भव छ? भजन रचयिताका यी शब्दहरू विचार गर्नुहोस्: “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। . . . परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।” (भजन १९:७, ८) परमेश्वरको वचनले “निर्बोधलाई” बुद्धिमान मार्गमा हिंड्न सिकाउँदै ‘तिनको आँखा उज्ज्वल तुल्याउन’ मदत गर्छ। हो, तपाईं आध्यात्मिक कुराहरूमा रोमाञ्चित र हर्षित हुन सक्नुहुन्छ। तर तपाईंलाई त्यस्तो महसुस हुन के चाहिन्छ? तपाईंले के गरेर सुरु गर्न सक्नुहुन्छ?
परमेश्वरको सेवा गर्न उत्प्रेरित हुनुहोस्
सर्वप्रथम, तपाईं उत्प्रेरित हुनुपर्छ। यहूदाका जवान राजा योशियाहको उदाहरणलाई विचार गर्नुहोस्। मन्दिरमा यहोवाको व्यवस्थाको पुस्तक फेला परेपछि योशियाहले त्यो पढे अनि आफूले सुनेको कुराले तिनको हृदयमा गहिरो छाप पाऱ्यो। फलस्वरूप “योशियाहले इस्राएलीहरूका इलाकाहरूबाट सबै घृणित कुराहरू हटाइदिए।” (२ इतिहास ३४:१४-२१, ३३) परमेश्वरको वचन पढेको हुँदा योशियाह शुद्ध उपासना प्रवर्धन गर्न उत्प्रेरित भए।
तपाईंले पनि नियमित तवरमा बाइबल पढ्नुका साथै आफूले पढेको कुरामा मनन गरेर यहोवाको सेवा गर्ने इच्छा जगाउन सक्नुहुन्छ। हिडेयोलाई पनि यही कुराले उत्प्रेरित गरेको थियो। तिनले अलि पाको अग्रगामी अर्थात् यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकसित संगत गर्न थाले। ती अग्रगामी बाइबलको लगनशील विद्यार्थी हुनुका साथै ती शिक्षाहरू आफ्नो जीवनमा लागू गर्ने प्रयास गर्थे। तिनको उदाहरणबाट निकै उत्प्रेरित भएर हिडेयोले पनि त्यसै गर्न थाले अनि परमेश्वर र अरू मानिसहरूको सेवा गर्ने प्रबल इच्छा विकास गरे। तिनले आध्यात्मिक प्रगति गर्दा तिनको जीवन उद्देश्यपूर्ण भयो।
दिनहुँ बाइबल पढ्दा जवान मानिसहरूले उत्प्रेरणा पाउन सक्छन्। ताकाहिरो यसो भन्छन्: “राती ओछ्यानमा जाँदा आज आफूले बाइबल नपढेको कुरा सम्झने बित्तिकै म जुरुक्कै उठेर पढिहाल्थें। यसो गर्दा मैले यहोवाको डोऱ्याइ पाएको महसुस गरें। दिनहुँ बाइबल पढाइ गरेको हुँदा मैले आध्यात्मिक प्रगति गर्न सकें। यहोवाको सेवामा अझ बढी भाग लिन कटिबद्ध भएको हुँदा मैले उच्च माध्यमिक विद्यालयको पढाइ सिद्धिने बित्तिकै नियमित अग्रगामी गर्न थालें। अनि अहिले यसबाट निकै आनन्द उठाइरहेको छु।”
बाइबल पढ्नुको अलावा यहोवाको प्रशंसा गर्ने उत्प्रेरणालाई अझ बलियो बनाउन तपाईंलाई कुन कुराले मदत गर्नेछ? तोमोहिरोले आफ्नी आमाबाट बाइबल सत्य सिके। तिनी भन्छन्: “मैले १९ वर्षको उमेरमा लाइफ डज ह्याभ अ पर्पस भन्ने पुस्तक पूरै पढेपछि मात्र यहोवाको प्रेम र येशूको छुडौतीको बलिदानलाई मूल्यांकन गर्न सकें। परमेश्वरको प्रेमप्रति त्यस्तो मूल्यांकनले गर्दा म यहोवाको सेवामा अझ बढी गर्न उत्प्रेरित भएँ।” (२ कोरिन्थी ५:१४, १५) तोमोहिरोजस्तै थुप्रै युवाहरूले लगनशील भई बाइबलको व्यक्तिगत अध्ययन गरेपछि आध्यात्मिक प्रगति गर्न प्रोत्साहन पाउँछन्।
तर यसो गर्दा पनि यहोवाको सेवा गर्न भित्री हृदयबाट इच्छा जाग्दैन भने नि? के तपाईंले कसैसित मदत माग्न सक्नुहुन्छ? प्रेरित पावलले यस्तो लेखे: “उहाँको . . . इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुने परमेश्वरै हुनुहुन्छ।” (फिलिप्पी २:१३) यहोवाको मदतको लागि तपाईंले प्रार्थना गर्नुभयो भने उहाँले खुसीसाथ आफ्नो पवित्र आत्मा पठाउनुभएर “काम गर्ने” मात्र होइन तर “इच्छा गर्ने” शक्ति दिनुहुनेछ। यसको अर्थ, तपाईंलाई परमेश्वरको पवित्र आत्माले यहोवालाई सर्वोत्तम सेवा चढाउन अनि आध्यात्मिक तवरमा बढ्न मदत गर्नेछ। हर हालतमा, यहोवाको शक्तिमा भरोसा राख्नुहोस् अनि तपाईंको हृदयलाई सुदृढ बनाउनुहोस्!
आफ्नै लक्ष्य बनाउनुहोस्
यहोवालाई अझ बढी सेवा गर्ने लक्ष्य बनाइसक्नुभएपछि आध्यात्मिक प्रगति गरिरहन व्यक्तिगत लक्ष्यहरू राख्नुपर्छ। मना नाउँकी जवान मसीही युवतीले यसो भनिन्: “लक्ष्य निर्धारण गर्दा मैले ठूलो मदत पाएँ। ओरालो लाग्नुको साटो म साहसी भई अघि बढ्न सकें। मनमा आफ्ना लक्ष्यहरू राखेर मैले डोऱ्याइको लागि यहोवालाई उत्कट प्रार्थना गरें अनि मैले अरू कुरामा नअलमलिकन प्रगति गर्न सकें।”
तपाईंका लक्ष्यहरू व्यावहारिक तथा हासिल गर्न सकिने हुनुपर्छ। हरेको दिन बाइबलको एउटा अध्याय पढ्नु व्यावहारिक लक्ष्य हुन सक्छ। तपाईंले कुनै विषयमा अनुसन्धान पनि गर्न सक्नुहुन्छ। उदाहरणका लागि, अंग्रेजी भाषामा उपलब्ध प्रकाशन लिने हो भने, वाच टावर पब्लिकेशन्स इन्डेक्स-मा “यहोवा” भन्ने विषयअन्तर्गत “प्रत्येक गुणहरू” उपशीर्षकमा यहोवाका गुणहरू अध्ययन गर्न सक्नुहुन्छ। तपाईंले विचार गर्न सक्ने ४० वटा बुँदाहरू छन् अनि यस्तो अनुसन्धानले निस्सन्देह तपाईंलाई यहोवासित घनिष्ठ बनाउनुका साथै उहाँको लागि अझ बढी गर्न उत्प्रेरित गर्नेछ। अर्को हामीले श्रोतागणको सहभागिता हुने कार्यक्रममा कम्तीमा पनि एक चोटि भाग लिने, मण्डलीको हरेक सभामा एक जना सदस्यलाई भए पनि अझ राम्ररी चिन्ने प्रयास गर्ने अनि यहोवालाई प्रार्थना नगरिकन र अरूलाई उहाँबारे नबताइकन दिन बित्न नदिनेजस्ता हासिल गर्न सक्ने लक्ष्यहरू राख्न सक्छौं।
तपाईंले अहिलेसम्म ईश्वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिई सक्नुभएको छैन भने त्यो लक्ष्यतर्फ पनि अघि बढ्न सक्नुहुन्छ। के तपाईंले जन सेवकाईमा भाग लिइरहनुभएको छ? छैन भने, बप्तिस्मा अप्राप्त प्रकाशक हुने लक्ष्यतर्फ अघि बढ्न सक्नुहुन्छ। यहोवासितको आफ्नो सम्बन्धलाई गम्भीरतापूर्वक विचार गर्नु अनि उहाँलाई समर्पण गर्ने लक्ष्यतर्फ अघि बढ्न सकिन्छ। थुप्रै युवाहरू पूर्ण-समय सेवकाईमा भाग लिएर आफ्नो समर्पणअनुसार जीवन बिताउने प्रयास गर्छन्।
जीवनमा लक्ष्यहरू राख्नु राम्रो कुरा हो तर प्रतिस्पर्धाको भावना विकास गर्नदेखि होसियार हुनुहोस्। तपाईंले आफूलाई अरूसित तुलना गर्नुभएन भने अझ बढी आनन्द प्राप्त गर्न सक्नुहुनेछ।—सायद तपाईंलाई आफू अनुभवहीन लागेको कारण व्यावहारिक लक्ष्य बनाउन गाह्रो महसुस गर्नुहोला। त्यसो हो भने, बाइबलको यो सल्लाह पालन गर्नुहोस्: “बुद्धिमानी मानिसका वचन—ज्ञानको कुरामा तेरो मन लगा।” (हितोपदेश २२:१७) तपाईंको आमाबाबु वा परिपक्व मसीहीको मदत माग्नुहोस्। निस्सन्देह, प्राचीन तथा अन्य व्यक्तिहरू यस सन्दर्भमा व्यावहारिक तथा प्रोत्साहनदायी हुनुपर्छ। अरूले निर्धारण गरेको लक्ष्य हासिल गर्ने दबाब महसुस गर्दा जवानहरूले आफ्नो आनन्द गुमाउन सक्छन् अनि लक्ष्य निर्धारण गर्नुको उद्देश्य निरर्थक साबित हुन सक्छ। एउटी केटीलाई त्यस्तै भयो जसले यसो भनिन्: “मेरो आमाबुबाले मेरोलागि एक पछि अर्को लक्ष्यहरू राखिदिनुभयो, जस्तै—ईश्वरतान्त्रिक सेवकाई स्कूल, क्षेत्र सेवकाईमा भाग लिने, बप्तिस्मा लिने अनि अग्रगामी हुने। मैले ती प्रत्येक लक्ष्य हासिल गर्न कडा परिश्रम गरें। मैले एउटा लक्ष्य हासिल गरेपछि मेरो आमाबाबुले मलाई स्याबासी दिनुभएन तर लगत्तै अर्को लक्ष्य मेरोअगाडि राखिदिनुहुन्थ्यो। यसो हुँदा मलाई आफू सधैं लक्ष्यहरूको पछाडि मात्र दौडिरहेको जस्तो लाग्थ्यो। म त लखतरान भइसकेको थिएँ अनि कुनै उपलब्धि गरेजस्तो महसुस गर्दिनथें।” कुरा कहाँनेर बिग्रियो? यी सबै लक्ष्यहरू उचित थिए तर उनका आफ्ना लक्ष्यहरू थिएनन्। सफल हुनको लागि आफ्नोलागि तपाईंले नै लक्ष्य निर्धारण गर्न उत्प्रेरित हुनुपर्छ!
येशू ख्रीष्टलाई विचार गर्नुहोस्। येशू पृथ्वीमा आउनुहुँदा उहाँबाट आफ्नो पिता, यहोवाले के चाहनुहुन्छ भनेर थाह थियो। येशूले यहोवाको इच्छा गर्नु एउटा लक्ष्य मात्र होइन तर पूरा गर्नुपर्ने जिम्मेवारी ठान्नुभयो। येशूले आफ्नो जिम्मेवारीप्रति कस्तो दृष्टिकोण राख्नुभयो? उहाँले यसो भन्नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।” (यूहन्ना ४:३४) यहोवाको इच्छा गर्न येशू रमाउनुहुन्थ्यो र पिताले चाहनुभएअनुसार जिउनुभयो। यो येशूको लागि भोजनसरह थियो अनि उहाँबाट आशा गरिएको काम पूरा गर्न पाउँदा आनन्द र सन्तुष्टि महसुस गर्नुहुन्थ्यो। (हिब्रू १०:५-१०) आफ्ना आमाबाबुले प्रोत्साहन दिनुभएको कुरा गर्न सही उत्प्रेरणा पाउनुभएको खण्डमा तपाईं पनि आनन्दित हुन सक्नुहुन्छ।
भलाइ गर्नमा हरेस नखानुहोस्
एउटा लक्ष्य राख्नुभएपछि त्यो प्राप्त गर्न लगनशील प्रयास गर्नुहोस्। गलाती ६:९ यसो भन्छ: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” आफ्नै बल वा क्षमतामा मात्र भर नपर्नुहोस्। तपाईंले अवश्य अवरोधहरू सामना गर्नुहुनेछ र समय समयमा आफू असल भएजस्तो महसुस पनि हुनेछ। तर बाइबल हामीलाई यस्तो आश्वासन दिन्छ: “आफ्नो सबै चालमा उहाँलाई सम्झी र [परमेश्वरले] तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:६) आफ्ना आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्न लगनशील प्रयास गर्नुहुँदा यहोवाले तपाईंलाई सँभाल्नुहुनेछ।
हो, यहोवाको सेवा गर्ने इच्छा जगाउनुका साथै आध्यात्मिक लक्ष्यतर्फ अघि बढेर तपाईंले ‘आफ्नो प्रगति सबैको सामु प्रकट’ गर्न सक्नुहुनेछ। (१ तिमोथी ४:१५) तब तपाईंले परमेश्वरको सेवामा अर्थपूर्ण जीवन बिताउन सक्नुहुनेछ।
[पृष्ठ ९-मा भएको चित्र]
बाइबल पढ्नुका साथै आफूले पढेको कुरामा मनन गर्नुहुँदा तपाईं यहोवाको सेवा गर्न उत्प्रेरित हुनुहुनेछ
[पृष्ठ १०-मा भएको चित्र]
येशूले आफ्नो पिताले चाहनुभएअनुसारै गर्नुभयो