सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वव्यापी ईश्‍वरीय शिक्षा बढाउने काममा मेरो सहभागिता

विश्‍वव्यापी ईश्‍वरीय शिक्षा बढाउने काममा मेरो सहभागिता

जीवनी

विश्‍वव्यापी ईश्‍वरीय शिक्षा बढाउने काममा मेरो सहभागिता

रबर्ट निस्बेटको वृत्तान्तमा आधारित

स्वाजिल्याण्डका राजा शोबुजा द्वितीयले मेरो भाइ जर्ज र मलाई उहाँको शाही निवासमा स्वागत गर्नुभयो। त्यो सन्‌ १९३६ सालको कुरा थियो तर मलाई त्यतिबेला भएको कुराकानी अझै झलझली याद आउँछ। म महान्‌ बाइबल शैक्षिक कार्यमा लामो समयदेखि सम्बद्ध रहँदै आएकोले गर्दा नै यसप्रकार राजासित लामो कुराकानी गर्ने मौका पाएको थिएँ। अहिले म ९५ वर्षको भएँ र मसँग विगतमा मैले उक्‍त कार्यमा भाग लिएको मीठो सम्झना छ। यसै कार्यको लागि मैले पाँचवटा महादेशको भ्रमण गरें।

यी सबै घटनाको सुरुवात सन्‌ १९२५ मा भयो, जतिखेर चियापत्ती बेच्दै हिंड्‌ने डब्सन नाम गरेको एक जना व्यक्‍ति स्कटल्याण्डस्थित इडिनबर्गमा हाम्रो परिवारलाई भेट्‌न आउन थाले। त्यतिबेला म त्यस्तै १७/१८ वर्षको र सिकारु फर्मासिस्टको रूपमा काम गर्दै थिएँ। मेरो उमेर सानै भए तापनि सन्‌ १९१४-१८ सम्म चलेको विश्‍वयुद्धले मानिसहरूको परिवार तथा धार्मिक क्रियाकलापमा ल्याएको आमूल परिवर्तनबारे म निकै चिन्तित थिएँ। एक चोटि श्रीमान्‌ डब्सन हाम्रो घरमा आउनुहुँदा उहाँले हामीलाई द डिभाइन प्लान अफ दी एजेज्‌ भन्‍ने पुस्तक दिनुभयो। यस पुस्तकमा एउटा निश्‍चित “योजना” भएको बुद्धिमान्‌ सृष्टिकर्ताबारे बताइएको कुरा मैले उपासना गर्न चाहेको परमेश्‍वरको जस्तै व्यावहारिक र ठ्याक्क मिलेझैं लाग्यो।

यसको लगत्तै आमा र म त्यतिबेला बाइबल स्टुडेन्ट्‌स भनेर चिन्‍ने यहोवाका साक्षीहरूका सभाहरूमा उपस्थित हुन थाल्यौं। सन्‌ १९२६ सेप्टेम्बरमा आमा र म दुवै जनाले ग्लास्गोमा आयोजित अधिवेशनमा पानीको बप्तिस्माद्वारा यहोवाप्रति आफ्नो समर्पण जाहेर गऱ्‍यौं। बप्तिस्मा लिन तयार प्रत्येक व्यक्‍तिलाई साधारणतया नुहाउँदा लगाइने लुगामाथि लगाउन माथिदेखि तल खुट्टासम्मै ढाक्ने लामो वस्त्र दिइयो। त्यतिबेला यस्तो गम्भीर अवसरको लागि यस्तै पहिरन उपयुक्‍त ठानिन्थ्यो।

ती सुरुका दिनहरूमा, धेरै कुरासम्बन्धी हाम्रो ज्ञानलाई खार्नु आवश्‍यक परेको थियो। सबैले त नभनौं तर मण्डलीका प्रायजसो सदस्यहरूले क्रिसमस मनाउँथे। थोरैले मात्र क्षेत्र सेवकाईमा भाग लिन्थे। कोही-कोही प्राचीनहरूले समेत आइतबारको साहित्य वितरणप्रति आपत्ति जनाउँथे किनभने उनीहरू यसो गर्दा विश्राम दिन भंग हुन्छ भन्ठान्थे। तथापि, सन्‌ १९२५ का वाच टावर लेखहरूले मर्कूस १३:१० जस्ता शास्त्रपदहरूलाई धेरै जोड दिन थाले, जहाँ यसो भनिएको छ: “पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरेको हुनुपर्छ।”

त्यो विश्‍वव्यापी कार्य कसरी पूरा हुने थियो? पहिलो चोटि घर-घरको प्रचारमा भाग लिने क्रममा मैले घरधनीलाई म एकदमै राम्रा धार्मिक किताबहरू बेच्दैछु भनें र द हार्प अफ गड भन्‍ने पुस्तक दिएँ, जुन पुस्तकमा वीणाका दसवटा तारजस्तै बाइबलका दसवटा महत्त्वपूर्ण शिक्षाबारे बताइएको थियो। पछि, हामीलाई घरधनीलाई पढ्‌न लगाउने छोटो सन्देश भएको साक्षी कार्ड दिइयो। हामीले पोर्टेबल फोनोग्राफमा बजाउन मिल्ने गरी रेकर्ड गरिएको साढेचार मिनेट लामो भाषण पनि प्रयोग गऱ्‍यौं। त्यस बेलाका फोनोग्राफ एकदमै गह्रौं हुन्थ्यो तर पछि-पछिका मोडलहरू निकै हलुका थिए भने कुनै-कुनै त ठाडै उभ्याएर बजाउन सकिन्थ्यो।

सन्‌ १९२५ देखि १९३० को दशकसम्म हामीले हाम्रो साक्षी कार्यमा आफूले जानेको जे-जति गर्न सक्थ्यौं, सबै गऱ्‍यौं। त्यसपछि, सन्‌ १९४० को प्रारम्भतिर सबै मण्डलीहरूमा ईश्‍वरतान्त्रिक सेवकाई स्कूल सञ्चालन गरियो। सुन्‍न चाहने घरधनीहरूसित व्यक्‍तिगत रूपमा सीधै कुरा गरेर राज्य सन्देश सुनाउन हामीलाई सिकाइयो। हामीले इच्छुक व्यक्‍तिहरूसित गृह बाइबल अध्ययन सञ्चालन गर्नुको महत्त्व पनि बुझ्यौं। यस अर्थमा, यो कार्य वर्तमान विश्‍वव्यापी बाइबल शैक्षिक कार्यको थालनी थियो भन्‍न सक्छौं।

भाइ रदरफोर्डबाट प्रोत्साहन

शैक्षिक कार्यमा धेरैभन्दा धेरै भाग लिने मेरो इच्छा भएकोले सन्‌ १९३१ मा म पूर्ण-समय अग्रगामी सेवकाईमा भर्ना भएँ। मैले यो कार्य लण्डनमा आयोजित अधिवेशन सिद्धिने बित्तिकै सुरु गरिहाल्नुपरेको थियो। तथापि, दिउँसो खाजा खाने बेलामा तत्कालीन कामकुराको निरीक्षण गरिहेका भाइ जोसेफ रदरफोर्डले मसँग कुरा गर्न चाहेको बताए। अफ्रिकामा अग्रगामी पठाउने उहाँको योजना रहेछ। “के तपाईं जान इच्छुक हुनुहुन्छ?” भनी उहाँले सोध्नुभयो। एकछिन त हेऱ्‍याहेऱ्‍यै भएँ तर फेरि एकदमै दृढ भएर मैले जवाफ दिएँ: “हुन्छ, म जान्छु।”

त्यस समय हाम्रो मुख्य लक्ष्य भनेकै सकेसम्म धेरै बाइबल साहित्य वितरण गर्नु थियो र यसको लागि सधैं यताउता जानुपर्थ्यो। त्यतिखेर निरीक्षण गर्ने जिम्मेवारी वहन गरिरहेका प्रायः भाइहरूजस्तै मलाई पनि अविवाहित रहन प्रोत्साहित गरियो। मेरो इलाका अफ्रिकाको सबैभन्दा दक्षिणी छेउ केप टाउनदेखि सुरु भएर हिन्द महासागरको तटवर्तीय टापुहरूलगायत महादेशको पूर्वपट्टिसम्म पर्थ्यो। पश्‍चिमी सिमानाचाहिं कालाहारी मरुभूमिको तातो बालुवादेखि लिएर लेक भिक्टोरियास्थित नील नदीको मुहानसम्म थियो। यस विशाल इलाकाभित्र पर्ने अफ्रिकी देशहरूमा मेरो साथी र मैले प्रत्येक वर्ष छ महिना वा त्योभन्दा बढी समय बिताउनुपर्थ्यो।

दुई सय बाकस आध्यात्मिक धनसम्पत्ति

केप टाउन आइपुगेपछि मलाई पूर्वी अफ्रिकाको लागि पठाइएको २०० बाकस साहित्य देखाइयो। साहित्य चारवटा युरोपेली र चारवटा एसियाली भाषामा छापिएको थियो तर यीमध्ये कुनै पनि अफ्रिकी भाषाहरूमा थिएन। म आइपुग्नुभन्दा पहिल्यै किन यी सबै साहित्य आएछन्‌ भनेर सोधखोज गर्दा, प्रचारकार्यको लागि हालै केन्या गएका दुई जना अग्रगामी फ्रान्क र ग्रे स्मिथका लागि ती पठाइएका थिए भन्‍ने जानकारी पाएँ। केन्या आइपुगेको धेरै समय नबित्दै दुवै जनालाई औलोले समातेछ र अफसोसको कुरा, फ्रान्कको त मृत्यु भएछ।

यो खबर निकै हृदयविदारक भए तापनि यसले मलाई निरुत्साहित भने बनाएन। मेरो साथी, डेविड नरम्यान र म पानी जहाज चढेर हाम्रो पहिलो असाइनमेन्टको लागि केप टाउनदेखि लगभग ५,००० किलोमिटर टाढा पर्ने तान्जानियातर्फ लाग्यौं। मोम्बासा, केन्याका ट्राभल एजेन्टले हाम्रा जति पनि साहित्यहरू आएका थिए, त्यसको हेरचाह गर्नुका साथै हामीले आग्रह गरेअनुसार त्यसलाई पठाउनुपर्ने ठाउँ-ठाउँमा पठाइदिए। सुरुमा हामीले व्यापारिक इलाका अर्थात्‌ प्रत्येक शहरका पसल तथा कार्यालयहरूमा प्रचार गऱ्‍यौं। हामीले प्राप्त गर्ने केही साहित्यमा रंगीबिरंगी नौवटा किताब र ११ वटा पुस्तिकाको एक थान थियो, जुन इन्द्रेणी थान भनेर चिनिन थाल्यो।

त्यसपछि हामीले त्यस्तै ३० किलोमिटर टाढा पर्ने पूर्वी तटवर्तीय टापु, जान्जीबार जाने निर्णय गऱ्‍यौं। शताब्दीयौंसम्म जान्जीबार दास किनबेच गर्ने केन्द्र थियो तर यो ल्वाङ पाइने ठाउँको रूपमा पनि प्रसिद्ध थियो। शहरभरि जताततै ल्वाङको मगमग बासना आउँथ्यो। कहाँदेखि प्रचारकार्य सुरु गर्ने त्यो निश्‍चय गर्न अलि कठिन थियो किनकि शहर कुनै योजनाविना बनाइएको रहेछ। बाटाहरू एकदमै घुमाउरा र अलमल्याउने किसिमका हुनुका साथै हराउने सम्भावना धेरै थियो। हामी बसेको होटल एकदमै आरमदायी थियो तर यसका ढोकाहरूचाहिं जनावर राख्ने खोरका जस्तै भद्दा, भित्ताहरू पनि बाक्ला-बाक्ला अनि यसो हेर्दा यो होटल नभई झ्यालखानजस्तो देखिन्थ्यो। यद्यपि, जान्जीबारमा काम गर्दा धेरै राम्रो परिणाम प्राप्त भयो र त्यहाँ अरबी, भारतीय र अन्य व्यक्‍तिहरूले हाम्रो साहित्य स्वीकारेकोमा हामी औधी खुसी थियौं।

रेल, डुंगा तथा गाडी

त्यतिबेला पूर्वी अफ्रिकामा यात्रा गर्नु पटक्कै सजिलो थिएन। उदाहरणका लागि, मोम्बासादेखि केन्याको उच्च पहाडी इलाकातिर जाने बाटोमा सलहको ठूलो बथानले गर्दा हाम्रो रेल यात्रा नै रोकियो। लाखौं लाख सलहले पूरै जमिन र रेल गुड्‌ने बाटो ढाकेर एकदमै चिप्लो बनाएको कारण रेलको इन्जिनले पनि तान्‍नै सकेन। यसको एउटै मात्र समाधान, इन्जिनबाट निस्केको उम्लेको पानीले रेलमार्ग पखाल्नु थियो। यसप्रकार, अलि-अलि गर्दै अन्तमा बल्लतल्ल हामी सलहको बथानलाई छिचोल्दै अघि बढ्‌न सक्यौं। अनि रेल बिस्तारै माथि-माथि जान थालेपछि हामीले एक किसिमको आराम महसुस गर्नुका साथै उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा रम्न सक्यौं!

समुद्र किनारमा अवस्थित शहरहरू रेल अनि डुंगा चढेर सजिलै पुग्न सकिन्थ्यो भने, ग्रामीण इलाकाहरू चाहिं गाडी चढेर जानुपर्थ्यो। मेरो भाइ जर्जले मलाई साथ दिएकोमा म खुसी थिएँ। त्यसपछि नै हो हामीले एउटा सुविधायुक्‍त गाडी किन्यौं, जसमा पलङ, भान्सा कोठा, सरसामान राख्ने ठाउँ प्रशस्त हुनुका साथै लामखुट्टे छिर्न नसक्ने झ्यालहरू थिए। हामीले गाडीको छतमा लाउडस्पिकर जडान गरेका थियौं। यस्तो उपकरण भएकोले दिनमा हामी घर-घरको साक्षी कार्यमा जान्थ्यौं र साँझ बजारका चोकहरूमा भाषण सुन्‍न मानिसहरूलाई निम्त्याउँथ्यौं। हामीले एउटा लोकप्रिय भाषणको रेकर्ड बजाउँथ्यौं, जुन भाषणको विषय थियो, “के नरक सास्ती दिने ठाउँ हो?” हाम्रो “सजिलै यताउता लैजान मिल्ने घर”-मा चढेर एक चोटि हामीले ३,००० किलोमिटर लामो अर्थात्‌ दक्षिण अफ्रिकादेखि केन्यासम्मको यात्रा गऱ्‍यौं। यात्राको दौडान हामीसित थुप्रै अफ्रिकी भाषाहरूमा विभिन्‍न किसिमका पुस्तिकाहरू भएकोमा हामी खुसी थियौं अनि स्थानीय बासिन्दाहरूले ती उत्सुकतासाथ स्वीकारे।

हाम्रोलागि अर्को रमाइलो अनुभव भनेको यस्ता यात्राहरूको दौडान हामीले थुप्रै अफ्रिकी जंगली जनावरहरू देख्न पायौं। हुन त हो, आफ्नो सुरक्षाको लागि हामी अँध्यारो भएपछि भ्यानभित्रै बस्थ्यौं तर यहोवाले सृष्टि गर्नुभएका यस्ता विभिन्‍न जातका जनावरहरूलाई स्वतन्त्र घुमिरहेको हेर्न पाउँदा यसले हाम्रो विश्‍वासलाई निकै बलियो बनायो।

सतावट सुरु हुन्छ

विभिन्‍न सरकारी अधिकारी तथा क्रोधित धार्मिक नेताहरूले हाम्रो प्रचारकार्यको खुलेआम विरोध गर्न सुरु गर्दा त्यसको सामना गर्न हामीले के-के गर्नुपऱ्‍यो भन्‍ने कुराको तुलनामा जंगली जनावरहरूसित सतर्क हुने कुरा त केही पनि थिएन। हामीले सामना गर्नुपरेको एउटा मुख्य समस्या भनेको आफैलाई म्वाना लिसा अर्थात्‌ “परमेश्‍वरको पुत्र” भनी हिंड्‌ने कट्‌टर व्यक्‍ति थियो र दुःखको कुरा त तिनको किटावाला समूहको नाउँको अर्थ पनि “वाचटावर” नै रहेछ। हामी आउनुभन्दा केही समयअगाडि, यस व्यक्‍तिले बप्तिस्मा दिएको भन्दै धेरै अफ्रिकीहरूलाई पानीमा डुबाएर मारेका थिए। पछि तिनलाई गिरफ्तार गरियो र झुन्ड्याएर मृत्युदण्ड दिइयो। पछि, मेलै ती झुन्ड्याएर मृत्युदण्ड दिने व्यक्‍तिलाई भेटेर हाम्रो वाच टावर सोसाइटीसित यस व्यक्‍तिको केही सम्बन्ध छैन भनी बताउने मौका पाएँ।

हामीले थुप्रै युरोपेली मानिसहरूबाट पनि समस्या सहनुपऱ्‍यो, जसलाई विशेष गरी आर्थिक कारणले हाम्रो शैक्षिककार्य त्यति मन परेको थिएन। एक जना गोदामको हाकिमले यस्तो गुनासो गरे: “यदि गोराहरू यस देशमा बस्ने हो भने, अफ्रिकी मानिसहरूले आफ्नो सस्तो श्रमको नाजायज फाइदा उठाइँदैछ भनेर थाह पाउनु हुँदैन।” यसैकारण, सुन खानीका प्रमुखले कारणैविना मलाई तिनको अफिसबाट बाहिर जाने आदेश दिए। त्यसपछि रिसाउँदै तिनले मलाई बाहिर सडकसम्मै पुऱ्‍याए।

निस्सन्देह, यस्ता धार्मिक तथा व्यापारिक विरोधीहरूको उग्र प्रभावमा परेर रोडेशिया (हाल जिम्बावे) सरकारले अन्ततः हामीलाई देश छोड्‌ने आदेश दिए। हामीले यस निर्णयको विरुद्धमा अपिल गऱ्‍यौं र बस्ने अनुमति पाउन सफल भयौं पनि तर अफ्रिकीहरूलाई प्रचार नगर्ने सर्तमा। एक जना सरकारी अधिकारीका अनुसार हाम्रा साहित्यहरू “अफ्रिकीहरूको मन-मस्तिष्कको लागि उचित” थिएनन्‌ रे। तथापि, अफ्रिकाका अन्य देशहरूमा भने अफ्रिकीहरूमाझ हाम्रो शैक्षिक कार्य सुचारु रूपले चल्नुका साथै त्यसको स्वागतसमेत गरियो। ती देशहरूमध्ये एउटा स्वाजिल्याण्ड थियो।

स्वाजिल्याण्डमा शाही स्वागत

स्वाजिल्याण्ड दक्षिण अफ्रिकाभित्र पर्ने १७,३६४ वर्ग किलोमिटर क्षेत्रफल भएको स्वशासित सानो देश हो। त्यहीं नै हामीले यस लेखको सुरुमा उल्लेख गरेका बोल्न अति सिपालु राजा शोबुजा द्वितीयलाई भेटेका थियौं। उहाँलाई अंग्रेजी भाषा राम्रोसित बोल्न आउँथ्यो, जुन भाषा उहाँले बेलाइती विश्‍वविद्यालयमा छँदा सिक्नुभएको रहेछ। अनौपचारिक पहिरन लगाउनुभएका राजाले हाम्रो न्यानो स्वागत गर्नुभयो।

उहाँसितको हाम्रो कुराकानी नम्र जनहरूका लागि परमेश्‍वरले ल्याउनुहुने पार्थिव प्रमोदवनमा केन्द्रित थियो। त्यस विषयमा खासै चासो नभए तापनि यससित सम्बन्धित अन्य कुराबारे भने आफ्नो निकै चासो भएको उहाँले स्पष्ट पार्नुभयो। राजा गरिब तथा अशिक्षित जनताको जीवनस्तर उकास्ने काममा लाग्नुभएको थियो। शिक्षालाई भन्दा चर्चको सदस्य बनाउनमा तल्लीन मसीहीजगत्‌का थुप्रै मिसनरीहरूको गतिविधि उहाँलाई मन परेको थिएन। तथापि, राजालाई हाम्रा थुप्रै अग्रगामीहरूको गतिविधिबारे थाह थियो र विशेष गरी हामी कुनै शुल्क वा दायित्वको माग नगरी यसो गर्न राजी भएको कारण उहाँले हाम्रो बाइबल शैक्षिक कार्यको सराहना गर्नुभयो।

बाइबल शिक्षा तीव्र गतिमा फैलिन्छ

सन्‌ १९४३ मा मिसनरीहरूलाई प्रशिक्षण दिनको लागि वाचटावर स्कूल अफ गिलियडको स्थापना भयो। मुख्यतया बाइबल साहित्य प्रस्तुत गर्नमै मात्र ध्यान दिनुको सट्टा सबै इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्नुपर्ने कुरामा जोड दिइयो। सन्‌ १९५० मा जर्ज र मलाई गिलियडको १६ औं कक्षामा उपस्थित हुन आमन्त्रित गरियो। यहीं नै हो जीन हाइड नाउँकी असल अस्ट्रेलियाकी बहिनीलाई भेटेको थिएँ। हामी दुवैले स्नातक गरेपछि तिनलाई मिसनरी कामको लागि जापान खटाइयो। त्यतिबेला अविवाहित रहने लहड चलेकोले हाम्रो मित्रता मित्रतामै सीमित रह्‍यो।

गिलियड प्रशिक्षणपछि जर्ज र मैले हिन्द महासागरको मरिसस टापुमा मिसनरी सेवा गर्ने जिम्मेवारी पायौं। हामीले स्थानीय मानिसहरूसित मित्रता गाँस्यौं, उनीहरूको भाषा सिक्यौं र उनीहरूसित गृह बाइबल अध्ययन सञ्चालन गऱ्‍यौं। पछि, मेरो भाइ विलियम र तिनकी पत्नी, म्युरेलले पनि गिलियडबाट स्नातक गरे। उनीहरूलाई मेरो पहिलेको प्रचार इलाका केन्या पठाइयो।

आठ वर्ष छिटै बित्यो र सन्‌ १९५८ मा न्यु योर्कमा अन्तरराष्ट्रिय अधिवेशन भएको बेला मैले फेरि जीन हाइडलाई भेटें। हामीले हाम्रो मित्रतालाई फेरि सुरु गरेर मगनी गऱ्‍यौं। मेरो मिसनरी सेवा मरिससदेखि जापान सऱ्‍यो अनि त्यहीं नै जीन र मैले सन्‌ १९५९ मा विवाह गऱ्‍यौं। विवाहपछि हामीले हिरोसिमामा एकदमै खुसीसाथ मिसनरी कार्य गर्न थाल्यौं। त्यतिबेला त्यहाँ एउटा सानो मण्डली मात्र थियो। आज, त्यस शहरमा ३६ वटा मण्डली छन्‌।

जापानलाई बिदाइ

वर्षहरू बित्दै जाँदा हामी दुवैको स्वास्थ्य समस्याले गर्दा मिसनरी सेवा गरिरहन निकै गाह्रो हुन थाल्यो र अन्ततः हामी जापान छोडेर जीनको मातृभूमि, अस्ट्रेलियामा बसोबास गऱ्‍यौं। हिरोसिमा छोडेको दिन साह्रै नमज्जा भयो। रेल स्टेसनको प्लेटफर्ममा हामीले हाम्रा सबै साथीहरूलाई सायोनारा अर्थात्‌ बिदाइ गऱ्‍यौं।

अहिले हामी अस्ट्रेलियामा बस्छौं र आफ्नो सीमित क्षमताले भ्याएसम्म हामीले न्यु साउथ वेल्स प्रान्तमा पर्ने आर्मीडेल मण्डलीमा यहोवाको सेवा गरिरहेका छौं। लगभग आठ दशकसम्म मसीही सत्यको सम्पदा धेरैभन्दा धेरै मानिसहरूसित बाँड्‌न पाएकोमा धेरै खुसी लागेको छ! मैले बाइबल शैक्षिक कार्यक्रमको अद्‌भुत वृद्धि देख्नुका साथै महत्त्वपूर्ण आध्यात्मिक घटनाहरू घटेको पनि साक्षात्‌ देखेको छु। कुनै पनि व्यक्‍ति वा मानिसहरूको समूहले यसको श्रेय लिन सक्दैन। साँच्चै, भजनहारले भनेजस्तै “यो परमप्रभुबाट भएको हो। यो हाम्रो दृष्टिमा गजबको छ।”—भजन ११८:२३.

[पृष्ठ २८-मा भएको चित्र]

यताउता गुडाएर लैजान मिल्ने हाम्रो घरमा मेरो भाइ जर्ज

[पृष्ठ २८-मा भएको चित्र]

म लेक भिक्टोरियामा

[पृष्ठ २९-मा भएको चित्र]

सन्‌ १९३८ मा स्वाजिल्याण्डमा जनभाषण सुन्‍न उपस्थित भएका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू

[पृष्ठ ३०-मा भएका चित्रहरू]

सन्‌ १९५९ मा हाम्रो विवाहको दिन जीनसँग र अहिले