सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सबै मानिसलाई नम्र चाल” देखाउनुहोस्‌

“सबै मानिसलाई नम्र चाल” देखाउनुहोस्‌

“सबै मानिसलाई नम्र चाल” देखाउनुहोस्‌

“सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी तिनीहरूलाई सम्झाइदेऊ।”—तीतस ३:१, २.

१. नम्रता देखाउन किन सधैं सजिलो छैन?

 “म ख्रीष्टमा भएझैं तिमीहरू पनि मेरो देखा-सिकी गर्ने होओ” भनी प्रेरित पावलले लेखे। (१ कोरिन्थी ११:१) आज परमेश्‍वरका सबै सेवकहरूले यो सल्लाह पालन गर्न कडा प्रयत्न गर्छन्‌। हुन त हो, यसो गर्नु सजिलो छैन किनभने ख्रीष्टको उदाहरणसित मेल नखाने स्वार्थी इच्छा तथा बानीबेहोरा हामीले हाम्रा प्रथम मातापिताबाट वंशानुगत रूपमा प्राप्त गरेका छौं। (रोमी ३:२३; ७:२१-२५) यद्यपि, नम्रता देखाउने सन्दर्भमा प्रयास गऱ्‍यौं भने हामी सबै सफल हुन सक्छौं। तर यसको लागि आफ्नै आत्मबलमा मात्र भर पर्नु पर्याप्त छैन। अरू के चाहिन्छ?

२. हामी कसरी “सबै मानिसलाई नम्र चाल” देखाउन सक्छौं?

ईश्‍वरीय नम्रता पवित्र आत्माको एउटा फल हो। हामी परमेश्‍वरको सक्रिय शक्‍तिको डोऱ्‍याइअनुसार जति धेरै चल्छौं, यसको फल पनि त्यति नै प्रत्यक्ष हुन्छ। तब मात्रै हामी सबै मानिसहरूलाई “नम्र चाल” देखाउन सक्नेछौं। (तीतस ३:२) येशूको उदाहरण अनुकरण गर्दै हामी कसरी आफूले भेट्‌ने सबै मानिसहरूलाई “विश्राम [“स्फूर्ति,” NW]” दिन सक्छौं भनी जाँचौं।—मत्ती ११:२९; गलाती ५:२२, २३.

परिवारमा

३. परिवारको कस्तो अवस्थाले संसारको आत्मा झल्काउँछ?

नम्रता अत्यावश्‍यक पर्ने एउटा क्षेत्र परिवारभित्र हो। विश्‍व-स्वास्थ्यसंघको अनुमानअनुसार परिवारमा हुने हिंसाले महिलाहरूको स्वास्थ्यमा पुऱ्‍याउने खतरा सवारी दुर्घटना तथा औलो दुवैले एकसाथ पुऱ्‍याउने खतराभन्दा बढी हुन्छ। उदाहरणका लागि, इंग्ल्याण्डको लण्डनमा हुने सम्पूर्ण हिंसात्मक अपराधहरूमध्ये एक चौथाइ घरेलु हिंसाका घटनाहरू हुन्छन्‌। प्रहरीहरूले अक्सर “चर्को स्वर तथा फोहर बोली बोलेर” आफ्ना भावनाहरू व्यक्‍त गर्ने मानिसहरूको सामना गर्नुपर्छ। अझ खराब कुरा त, कतिपय दम्पतीहरूको सम्बन्धमा “तितोपना[ले]” असर गरेको छ। यी सबै “संसारको आत्मा[को]” दुःखलाग्दो परिणाम हुन्‌ र मसीही परिवारहरूमा यस्ता कुराहरूलाई कुनै ठाउँ छैन।—एफिसी ४:३१; १ कोरिन्थी २:१२.

४. नम्रताले परिवारमा कस्तो असर पार्न सक्छ?

सांसारिक झुकावहरूको प्रतिरोध गर्न हामीलाई परमेश्‍वरको आत्मा चाहिन्छ। “जहाँ [यहोवाको] आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) प्रेम, दया, आत्म-संयम र धीरजले असिद्ध पति-पत्नीहरूबीचको एकतालाई बलियो बनाउँछ। (एफिसी ५:३३) नम्र मिजासले वातावरण रमाइलो बनाउँछ र थुप्रै परिवारहरूलाई तहसनहस पार्ने कलह तथा वैमनस्यताको विपरीत खुसीयाली ल्याउँछ। हुन त, कुनै व्यक्‍तिले भन्‍ने कुरा महत्त्वपूर्ण हुन्छ तर तिनले ती कसरी व्यक्‍त गर्छन्‌ त्यसमा भित्री मनोभाव झल्कन्छ। नम्रतासहित व्यक्‍त गरिएको चिन्ता र फिक्रीले तनाव कम गर्छ। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।”—हितोपदेश १५:१, नयाँ संशोधित संस्करण।

५. धार्मिक तवरमा विभाजित घरमा नम्रताले कसरी मदत गर्न सक्छ?

धार्मिक तवरमा विभाजित घरमा नम्रता विशेष गरी महत्त्वपूर्ण हुन्छ। नम्रता देखाउनुका साथै दयालु कार्यहरू गर्दा विरोध गर्नेहरूलाई यहोवातर्फ खिच्न मदत गर्न सक्छ। पत्रुसले मसीही पत्नीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्‍वास गर्ने होऊन्‌। तिमीहरूका सिंगार, कपाल बाट्‌ने, र सुनको गहना लाउने, अथवा किसिम किसिमको पोशाक लाउने, बाहिरी सिंगार नहोस्‌, तर नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्‌, जो परमेश्‍वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:१-४.

६. नम्रता देखाउँदा कसरी आमाबाबु तथा छोराछोरीबीचको बन्धन बलियो हुन सक्छ?

विशेष गरी यहोवाप्रतिको प्रेममा कमी भयो भने, आमाबाबु तथा छोराछोरीबीचको सम्बन्ध बिग्रन सक्छ। तर सबै मसीही परिवारमा नम्रता देखाउनु आवश्‍यक छ। पावलले बुबाहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) परिवारमा नम्रता छ भने, आमाबाबु तथा छोराछोरीबीचको घनिष्ठ बन्धन अझ बलियो हुन्छ। पाँच जना दाजुभाइमध्येका डिन आफ्नो बुबालाई सम्झँदै यसो भन्छन्‌: “बुबा नम्र मिजासको हुनुहुन्थ्यो। म किशोरावस्थामा हुँदा समेत उहाँसँग भनाभन गरेको याद छैन। उहाँ चिन्तित हुनुहुँदा समेत सधैं नम्र हुनुहुन्थ्यो। कहिलेकाहीं उहाँले मलाई कोठाभित्र थुनिदिनुहुन्थ्यो वा केही सुविधाहरूबाट वञ्चित गर्नुहुन्थ्यो तर हामीले कहिल्यै झगडा गरेनौं। उहाँ हाम्रो बुबा मात्र हुनुहुन्‍नथ्यो। उहाँ हाम्रो साथी पनि हुनुहुन्थ्यो र हामी उहाँको चित्त दुखाउन चाहँदैनथ्यौं।” नम्रताले आमाबाबु तथा छोराछोरीबीचको बन्धन बलियो बनाउन साँच्चै मदत गर्छ।

हाम्रो सेवकाईमा

७, ८. क्षेत्र सेवकाईमा नम्रता देखाउनु किन अत्यावश्‍यक छ?

नम्रता आवश्‍यक पर्ने अर्को पक्ष क्षेत्र सेवकाई हो। अरूलाई सुसमाचार सुनाउँदा, हामी फरक फरक मिजास भएका मानिसहरू भेट्‌छौं। कसैले हामीले ल्याएको आशाको सन्देश खुसीसाथ सुन्छन्‌। अरूले भने विभिन्‍न कारणहरूले गर्दा नकारात्मक प्रतिक्रिया देखाउन सक्छन्‌। यस्तो बेलामा नम्रताले हामीलाई पृथ्वीको अन्तसम्मै साक्षी दिने हाम्रो काम पूरा गर्न ठूलो मदत दिन्छ।—प्रेरित १:८; २ तिमोथी ४:५.

प्रेरित पत्रुसले यस्तो लेखे: “ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) हामी ख्रीष्टलाई आफ्नो उदाहरण मान्छौं। त्यसैकारण, रूखो बोली गर्नेहरूलाई साक्षी दिंदा हामी नम्रता र आदर दुवै देखाउन सजग हुन्छौं। यस्तो आचरणले अक्सर राम्रो नतिजा ल्याउँछ।

९, १०. क्षेत्र सेवकाईमा नम्रता महत्त्वपूर्ण छ भनी दर्शाउने एउटा अनुभव बताउनुहोस्‌।

कोठाको ढोका ढकढक्याएको आवाज सुनेपछि किथकी पत्नी ढोका खोल्न आइन्‌ तर किथ भने भित्रै बसिरहे। ढोका ढकढक्याउने व्यक्‍ति यहोवाका साक्षी रहेछन्‌ भन्‍ने थाह पाएपछि, किथकी पत्नी रिसले जंगिदै साक्षीहरूले छोराछोरीप्रति कठोर व्यवहार गर्छन्‌ भन्‍ने आरोप लगाइन्‌। ती भाइ शान्त रहे। तिनले नम्रतापूर्वक यस्तो जवाफ दिए: “तपाईंलाई त्यस्तो भान पर्न गएकोमा मलाई दुःख लागेको छ। यहोवाका साक्षीहरूले के विश्‍वास गर्छन्‌ भन्‍ने कुरा म तपाईंलाई बताउन सक्छु कि?” किथले यो कुराकानी सुनिरहेका थिए र तिनी ढोकामा निस्केर ती भाइलाई फर्काइदिए।

१० पछि, आफूकहाँ आएको व्यक्‍तिप्रति यस्तो कठोर व्यवहार गरेकोमा यी दम्पतीलाई पछुतो लाग्न थाल्यो। ती भाइको नम्र मिजासले तिनीहरूको मन छोएको थियो। एक हप्तापछि ती भाइ तिनीहरूकहाँ फर्कंदा तिनीहरू तीन छक परे र तिनले विश्‍वास गर्ने कुराहरूको धर्मशास्त्रीय आधार बताउँदा किथ तथा तिनकी पत्नीले सुने। पछि तिनीहरूले यसो भने: “दुई वर्षसम्म हामीले अरू साक्षीहरूबाट थुप्रै कुराहरू सुन्यौं।” तिनीहरू बाइबल अध्ययन गर्न राजी भए र अन्ततः यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिन दुवैले बप्तिस्मा लिए। किथ र तिनकी पत्नीलाई पहिलो पटक भेट्‌ने साक्षीको लागि कत्ति इनामदायी कुरा! ती साक्षीले तिनीहरूलाई वर्षौंपछि भेट्‌दा, यी दम्पती तिनको आध्यात्मिक भाइ तथा बहिनी भइसकेका थिए। नम्रताले सफलता हासिल गर्छ।

११. नम्रताले कसै-कसैको लागि कसरी मसीही सच्चाइ स्वीकार्ने बाटो खोलिदिन सक्छ?

११ सिपाही हुँदा भोगेका अनुभवहरूको कारण ह्‍यारोल्ड चिढिने स्वभावका भए र परमेश्‍वरको अस्तित्वबारे शंका गर्न थाले। एक जना जँड्याहा सवारी चालकको कारण दुर्घटनामा परेर अशक्‍त भएपछि ह्‍यारोल्डको समस्या झनै चर्कियो। यहोवाका साक्षीहरू तिनको घरमा जाँदा, तिनले साक्षीहरूलाई अबदेखि नआउनू भने। तर एक दिन बिल नाउँ गरेका यहोवाका साक्षी ह्‍यारोल्ड बस्ने कोठाभन्दा दुई कोठा उताको जिज्ञासु व्यक्‍तिलाई भेट्‌ने विचारले त्यहाँ गए। भूलवश बिलले ह्‍यारोल्डको ढोका ढकढक्याउन पुगेछन्‌। ह्‍यारोल्ड दुईवटा बैशाखीको सहाराले ढोकासम्म आएर ढोका खोलेपछि, बिलले तुरुन्तै माफी मागिहाले र आफू वास्तवमा नजिकैको कोठामा जान चाहेको कुरा बताए। ह्‍यारोल्डले कस्तो प्रतिक्रिया देखाए? यहोवाका साक्षीहरूले एकसाथ काम गरेर एकदमै छोटो समयमा राज्यभवन निर्माण गरेको कुरा ह्‍यारोल्डले हालै एउटा टेलिभिजन कार्यक्रममा हेरेका रहेछन्‌ तर बिललाई यो कुराको अत्तोपत्तो थिएन। यति धेरै मानिसहरू एकसाथ काम गरिरहेको देखेर ह्‍यारोल्ड प्रभावित भएका थिए र यसले गर्दा यहोवाका साक्षीहरूप्रति तिनको मनोवृत्ति परिवर्तन भएको थियो। बिलको नम्र क्षमायाचना र तिनको मनमोहक तथा नरम मिजासद्वारा प्रभावित भएर ह्‍यारोल्डले साक्षीहरूको कुरा सुन्‍ने निर्णय गरे। तिनले बाइबल अध्ययन गरे, प्रगति गरे अनि यहोवाको बप्तिस्माप्राप्त सेवक बने।

मण्डलीमा

१२. मसीही मण्डलीका सदस्यहरूले कस्ता सांसारिक गुणहरूको प्रतिरोध गर्नुपर्छ?

१२ नम्रता अत्यावश्‍यक पर्ने तेस्रो क्षेत्र मसीही मण्डली हो। वर्तमान समाजमा अर्को व्यक्‍तिसित मतभेद हुनु सामान्य कुरा हो। जीवनलाई सांसारिक दृष्टिकोणबाट हेर्नेहरूमाझ वादविवाद, बहस र झगडा कुनै अनौठो कुरा होइन। कहिलेकाहीं, मसीही मण्डलीभित्र पनि यस्ता सांसारिक गुणहरू छिर्छन्‌ र फलस्वरूप विवाद तथा भनाभन सुरु हुन्छ। यस्ता परिस्थितिहरूको सामना गर्नुपर्दा जिम्मेवार भाइहरूलाई दुःख लाग्छ। तैपनि, यहोवा र आफ्ना भाइहरूप्रतिको प्रेमले गल्ती गर्नेहरूलाई सही मार्गमा ल्याउने कोसिस गर्न तिनीहरूलाई उत्प्रेरित गर्छ।—गलाती ५:२५, २६.

१३, १४. “आपसमा विरोध गर्नेहरूलाई नम्रसँग” सच्याउँदा कस्तो परिणाम प्राप्त हुन सक्छ?

१३ प्रथम शताब्दीमा, पावल तथा तिनका सहयोगी तिमोथीले मण्डलीभित्रैका कोही-कोहीबाट अप्ठ्‌यारा परिस्थिति सामना गर्नुपऱ्‍यो। पावलले “अनादरको” भाँडा साबित हुने भाइहरूबाट जोगिन तिमोथीलाई चेतावनी दिए। तिनले यस्तो तर्क गरे: “प्रभुका सेवकले झगडा गर्नुहुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने, सहनशील, आपसमा विरोध गर्नेहरूलाई नम्रसँग सच्याउने हुनुपर्छ।” चर्काचर्की परिरहेको बेलासमेत नम्र मिजासका भयौं भने, बेग्लै दृष्टिकोण राख्ने व्यक्‍तिहरू अक्सर आफ्नो सोचाइबारे पुनर्विचार गर्न उत्प्रेरित हुन्छन्‌। फलस्वरूप, पावलले लेखेझैं यहोवाले “तिनीहरूलाई सत्यको ज्ञानको निम्ति पश्‍चाताप दिनुहुन्छ।” (२ तिमोथी २:२०, २१, २४, २५) याद गर्नुहोस्‌, पावलले नम्रतासित भला र सहनशीलताको सम्बन्ध दर्शाएका छन्‌।

१४ पावलले जे प्रचार गरे, त्यो व्यवहारमा पनि उतारे। कोरिन्थ मण्डलीका “मुख्य प्रेरितहरू[बारे]” तिनले भाइहरूलाई यस्तो सल्लाह दिए: “अब म पावल आफै, ख्रीष्टको नम्रता र कोमलताले तिमीहरूलाई सम्झाउँछु, म, जो तिमीहरूको सामने हुँदा तिमीहरूका बीचमा नम्र थिएँ, तर अनुपस्थित हुँदा तिमीहरूप्रति साहसिलो छु।” (२ कोरिन्थी १०:१; ११:५) पावलले साँच्चै येशूको अनुकरण गरे। याद गर्नुहोस्‌, पावलले यी भाइहरूलाई “ख्रीष्टको नम्रता[ले]” आग्रह गरे। यसरी तिनी अहंकारपूर्ण, तानाशाही मनोवृत्ति राख्नदेखि सतर्क भए। निस्सन्देह, तिनको सल्लाहले असल हृदय भएको मण्डलीका सदस्यहरूमाथि सकारात्मक असर पाऱ्‍यो। तिनले तनावग्रस्त परिस्थितिलाई शान्त पारे अनि मण्डलीमा शान्ति तथा एकता कायम गर्न मदत गरे। के हामी सबैले पनि यस्तै गर्न प्रयास गर्नुपर्ने होइन र? विशेष गरी प्राचीनहरूले ख्रीष्ट तथा पावलको कार्यप्रणाली अनुकरण गर्नुपर्छ।

१५. सल्लाह दिंदा नम्रता किन महत्त्वपूर्ण छ?

१५ अरूलाई मदत गर्ने हाम्रो जिम्मेवारी मण्डलीको शान्ति तथा एकता खतरामा परेको बेला मात्र होइन। सम्बन्ध बिग्रनुअघि नै भाइहरूलाई मायालु निर्देशन दिनुपर्छ। पावलले यस्तो सल्लाह दिए: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पऱ्‍यो भने पनि तिमी आत्मिकीहरूले चाहिं . . . यस्ताको सुधार गर।” तर कसरी? “नम्रताको अत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै।” (गलाती ६:१) “नम्रताको आत्मा” कायम राख्न सधैं सजिलो हुँदैन किनभने नियुक्‍त पुरुषहरूलगायत सबै मसीहीहरू पापपूर्ण झुकावको वशमा परेका छन्‌। तैपनि, गल्ती गर्ने व्यक्‍तिलाई आवश्‍यक सुधार गर्न नम्रताले मदत दिनेछ।

१६, १७. सल्लाहलाई व्यवहारमा उतार्न हिचकिचाउने प्रवृत्ति हटाउन कुन कुराले मदत गर्न सक्छ?

१६ “सुधार” भनेर अनुवाद गरिएको शब्दले मूल युनानी भाषामा भाँचिएका हड्डीहरूलाई ठीक ठाउँमा मिलाउनु वा जोड्‌नुलाई पनि संकेत गर्न सक्छ र यो प्रक्रिया पीडादायी हुन्छ। भाँचिएको हड्डी जोड्‌ने चिकित्सक आश्‍वासनदायी छन्‌ भने तिनले यसरी हड्डी जोड्‌दा प्राप्त हुने लाभबारे सकारात्मक कुराहरू बताउँछन्‌। तिनको शान्त स्वभावले सान्त्वना दिन्छ। उपचार गर्नुअघि नै दुई-चार मीठा शब्दहरू बोल्दा जस्तोसुकै पीडा पनि कम गर्न मदत गर्छ। त्यसै गरी, आध्यात्मिक सुधार पनि पीडादायी हुन सक्छ। तर नम्रताले सुधार स्वीकार्न मदत गर्छ र पुनः राम्रो सम्बन्ध कायम हुनुका साथै गल्ती गर्नेको लागि आफ्नो मार्गमा छाँटकाँट गर्ने बाटो खोलिदिन्छ। सुरुमा सल्लाह नस्वीकारे तापनि सल्लाह दिने व्यक्‍ति नम्र रहिरहेमा, पछि तिनी धर्मशास्त्रीय सल्लाह पछ्याउन इच्छुक हुन सक्छन्‌।—हितोपदेश २५:१५.

१७ अरूलाई सुधार गर्ने मदत दिंदा, सल्लाहलाई आलोचनाको रूपमा हेरिने सम्भावना सधैं नै हुन्छ। एक जना लेखक यसो भन्छन्‌: “अरूलाई सुधार गर्दा आफ्नै कुरा मात्र माथि पार्ने झुकाव हुन सक्छ, त्यसकारण यस्तो बेला झन्‌ बढी नम्रता चाहिन्छ।” विनयबाट उत्पन्‍न हुने नम्रता खेती गर्दा मसीही सल्लाहकारले यस खतराबाट जोगिने मदत पाउन सक्छन्‌।

“सबै मानिसलाई”

१८, १९. (क) मसीहीहरूलाई सांसारिक अख्तियारवालाहरूसित व्यवहार गर्दा नम्रता देखाउन किन गाह्रो लाग्न सक्छ? (ख) ओहदामा रहेकाहरूप्रति नम्रता देखाउन मसीहीहरूलाई कुन कुराले मदत गर्नेछ र कस्तो परिणाम प्राप्त हुन सक्छ?

१८ नम्रता देखाउन थुप्रैलाई गाह्रो लाग्ने एउटा क्षेत्र सांसारिक अख्तियारवालाहरूसित व्यवहार गर्दा हो। हुन त, ओहदामा रहेका केही व्यक्‍तिहरूको क्रियाकलापमा कोठरता र सँगी भावको कमी झल्कन्छ। (उपदेशक ४:१; ८:९) तैपनि, यहोवाप्रतिको प्रेमले हामीलाई उहाँको सर्वोच्च ओहदालाई स्वीकार्न तथा सरकारी अख्तियारवालाहरूप्रति तिनीहरूले पाउनुपर्ने सापेक्षिक अधीनता देखाउन मदत गर्नेछ। (रोमी १३:१, ४; १ तिमोथी २:१, २) उच्च ओहदामा बसेकाहरूले यहोवाको उपासनाको जनघोषणालाई सीमित पार्न खोज्दा समेत हामी स्तुतिको बलिदान चढाउन अन्य उपायहरू खोज्छौं।—हिब्रू १३:१५.

१९ हामी कुनै पनि हालतमा आक्रामक हुन खोज्दैनौं। हामी धार्मिक सिद्धान्तहरूमा कहिल्यै पनि सम्झौता गर्दैनौं तर व्यावहारिक हुने कोसिस गर्छौं। यसरी संसारभरि हाम्रा भाइहरू २३४ मुलुकमा आफ्नो सेवकाईलाई निरन्तरता दिन सफल भएका छन्‌। हामी, “शासकहरू र अख्तियारवालाहरूका अधीनमा बसी उनीहरूका आज्ञा पालन गर्नू, र हरेक असल काममा तत्पर रहुनू। कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखएर विनयी हुनू” भन्‍ने पावलको सल्लाह पालन गर्छौं।—तीतस ३:१, २.

२०. नम्रता देखाउनेहरूको लागि कस्ता इनामहरू छन्‌?

२० नम्रता देखाउनेहरू सबैको लागि प्रशस्त आशिष्‌हरू साँचेर राखिएका छन्‌। येशूले भन्‍नुभयो, “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५) ख्रीष्टका आत्मा-अभिषिक्‍त भाइहरूले नम्रता खेती गर्दा तिनीहरू परमेश्‍वरको राज्यमा यस पृथ्वीमाथि शासन गर्ने आनन्द तथा सुअवसरमा रमाउन सक्छन्‌। “अरू भेडा[का]” “ठूलो भीड[ले]” नम्रता देखाउँदै पार्थिव प्रमोदवनमा जीवनको प्रतीक्षा गर्छन्‌। (प्रकाश ७:९; यूहन्‍ना १०:१६; भजन ३७:११) हाम्रोअगाडि कस्तो अद्‌भुत प्रत्याशा छ! त्यसकारण, पावलले एफिससका मसीहीहरूलाई दिएको यो सम्झौटोलाई हामी कहिल्यै बेवास्ता नगरौं: “यसकारण म, प्रभुमा कैदीले, जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा चल भनी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु। सारा विनय र नम्रतासित।”एफिसी ४:१, २.

पुनरावलोकन

• निम्न क्षेत्रहरूमा नम्रता देखाउँदा कस्ता आशिष्‌हरू पाइन्छन्‌?

• परिवारमा

• क्षेत्र सेवकाईमा

• मण्डलीमा

• नम्रहरूलाई कस्ता इनामहरू दिइने प्रतिज्ञा गरिएको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

धार्मिक तवरमा विभाजित घरमा नम्रता विशेष गरी महत्त्वपूर्ण हुन्छ

[पृष्ठ २१-मा भएको चित्र]

नम्रताले पारिवारिक बन्धन बलियो बनाउँछ

[पृष्ठ २३-मा भएको चित्र]

नम्रता र गहिरो आदरसहित जवाफ दिनुहोस्‌

[पृष्ठ २४-मा भएको चित्र]

गल्ती गर्ने व्यक्‍तिलाई सल्लाहकारको नम्रताले मदत गर्न सक्छ