यहोवाले साधारण मानिसहरूको ख्याल गर्नुहुन्छ
यहोवाले साधारण मानिसहरूको ख्याल गर्नुहुन्छ
परमेश्वरले हामीलाई याद गर्न के हामी कुनै न कुनै तरिकामा असाधारण वा विशिष्ट हुनुपर्छ? संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपतिले एक चोटि यसो भनेका थिए: “प्रभुले साधारण मानिसहरूलाई रुचाउनुहुन्छ। त्यसैकारण त उहाँले यति धेरै साधारण मानिसहरू बनाउनुभएको छ।” थुप्रैले आफूलाई केही पनि विशेष योग्यता नभएको साधारण मानिस ठान्छन्। साधारण मानिस भन्नाले “गरिब, तुच्छ” भन्ने अर्थ लाग्न सक्छ। त्यस्तै गरी, “साधारण” भन्ने शब्दले “कुनै विशेषाधिकार वा विशेष ओहदा नभएको,” “सामान्य स्तरभन्दा तल्लो” वा “दोस्रो दर्जाको” भन्ने अर्थसमेत बुझाउन सक्छ। तपाईं कस्तो प्रकारका मानिसहरूबीच हुन चाहनुहुन्छ? अहंकारी, हैकम चलाउने, घमण्डी मानिसहरूबीच? यसो नभई के तपाईं अरूप्रति निष्कपट न्यानो चासो राख्ने मित्रैलो, नम्र तथा विनयी मानिसहरूबीच हुन चाहनुहुन्न र?
अहिलेको संसारमा भावनात्मक दुर्व्यवहार र गिल्ला एकदमै सामान्य कुरा भएकाले कसै-कसैलाई परमेश्वरले उनीहरूप्रति व्यक्तिगत चासो राख्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न गाह्रो लाग्छ। यो पत्रिकाका एक जना पाठकले यस्तो लेखे: “मेरो परिवारमा उस्तो प्रेम देखाइँदैनथ्यो। मेरो अपमान गरिन्थ्यो, जिस्क्याइन्थ्यो र खिल्ली उडाइन्थ्यो। अतः सानै छँदा मैले निकम्मा महसुस गर्न थालें। मैले विपत्ति भोग्नुपर्दा अझै पनि अतीतका ती भावनाहरूले दबिएको महसुस गर्छु।” यद्यपि, परमेश्वरले साधारण मानिसहरूप्रति व्यक्तिगत चासो राख्नुहुन्छ भनेर विश्वास गर्ने ठोस कारणहरू छन्।
साधारण मानिसहरूप्रति परमेश्वरको चासो
“परमप्रभु महान् र स्तुतिको अति योग्य हुनुहुन्छ। र उहाँको महानता अगम छ” भनी राजा दाऊदले लेखे। (भजन १४५:३) तथापि, यसले यहोवालाई मायालु तथा दयालु ढंगमा हाम्रो हेरचाह गर्नदेखि रोक्दैन। (१ पत्रुस ५:७) उदाहरणका लागि, भजनहारले यसो भने: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.
संसारमा मानिसहरूको ध्यान खिच्ने कुराहरू जस्तै, शारीरिक सौन्दर्य, प्रतिष्ठा वा धनसम्पत्तिलाई परमेश्वरले महत्त्वपूर्ण ठान्नुहुन्न। इस्राएलीहरूलाई दिइएको परमेश्वरको व्यवस्थाले उहाँ दीनदुःखी, टुहुराटुहुरी, विधवा तथा विदेशीहरूप्रति अनुकम्पापूर्ण चासो राख्नुहुन्छ भन्ने कुरा देखायो। मिश्रमा निर्दयी व्यवहार भोग्नुपरेका इस्राएलीहरूलाई परमेश्वरले यसो भन्नुभयो: “परदेशीलाई नसताओ, त्यसलाई अत्याचार पनि नगर, . . . विधवा अथवा टुहुरालाई दुःख नदेओ। यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्चय तिनीहरूको पुकारा सुन्नेछु।” (प्रस्थान २२:२१-२४) त्यसबाहेक, परमेश्वरले गरिबहरूको हेरविचार गर्नुहुन्छ भन्ने कुरामाथि भरोसा प्रकट गर्दै अगमवक्ता यशैयाले यसो भने: “तपाईं गरीबहरू र दरिद्रहरूका दुःखमा आड़ हुनुभएको छ, आँधी–बेह्रीमा शरण र घाममा छाया हुनुभएको छ, किनकि निष्ठूरहरूको झोंक पर्खालमा ठोकिएको आँधीझै हो।”—यशैया २५:४.
आफ्नो सम्पूर्ण सेवकाईभरि नै ‘परमेश्वरकै प्रतिबिम्ब,’ येशू ख्रीष्टले साधारण मानिसहरूप्रति साँचो चासो देखाउने सन्दर्भमा आफ्ना चेलाहरूको लागि राम्रो उदाहरण बसाल्नुभयो। (हिब्रू १:३) “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” भीडहरूलाई देखेर येशूको “हृदय तिनीहरूका निम्ति दयाले भरियो।”—मत्ती ९:३६.
प्रेरित ४:१३) येशूको मृत्युपछि उहाँका अनुयायीहरूले परमेश्वरको वचन सुन्न सबै प्रकारका मानिसहरूलाई आमन्त्रित गरे। “कोही विश्वास नगर्ने अथवा बाहिरको साधारण मानिस” पनि मसीही मण्डलीमा आउन सक्छन् र विश्वासी बन्न सक्छन् भनी प्रेरित पावलले लेखे। (१ कोरिन्थी १४:२४, २५) सांसारिक स्तरअनुसार प्रतिष्ठित मानिसहरूलाई छान्नुको सट्टा आफ्नो सेवाको लागि परमेश्वरले सीधा-साधा, साधारण मानिसहरू रोज्नुभयो। प्रेरित पावलले यसो भने: “ए भाइ हो, तिमीहरू आफ्नो बोलावटलाई विचार गर, शरीरअनुसार धेरै जना बुद्धिमान, धेरै जना शक्तिमान, धेरै जना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नालाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो। औ परमेश्वरले संसारका नीच र तुच्छ ठहरिएका कुराहरूलाई, अर्थात् भइरहेका कुराहरूलाई बेकम्मा गराउनाको निम्ति हुँदै नभएका कुरालाई चुन्नुभयो। यो चाहिं कोही प्राणीले परमेश्वरको सामने घमण्ड गर्न नपाओस् भनेर हो।”—१ कोरिन्थी १:२६-२९.
आफ्ना प्रेरितहरू हुन येशूले कस्ता मानिसहरू छान्नुभयो त्यो पनि याद गर्नुहोस्। हो, तिनीहरू “अशिक्षित र साधारण” ठानिएका मानिसहरू थिए। (आज पनि परमेश्वरले हामीप्रति त्यस्तै निष्कपट चासो राख्नुहुन्छ। परमेश्वर “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्” भन्ने इच्छा गर्नुहुन्छ। (१ तिमोथी २:४) मानिसजातिलाई अपार प्रेम गर्नुभएको कारण परमेश्वरले आफ्ना एक मात्र पुत्रलाई पृथ्वीमा हाम्रो खातिर मर्न पठाउनुभएको हुँदा, आफूलाई कसैले माया नगरेको वा बेकम्मा महसुस गर्नुपर्ने कुनै कारण छैन। (यूहन्ना ३:१६) येशूलाई जस्तो व्यवहार गरिन्छ उहाँका आध्यात्मिक भाइहरूमध्ये सबैभन्दा सानोलाई समेत त्यस्तै व्यवहार गर्नुपर्ने महत्त्वबारे येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई बुझाउनुभयो। उहाँले यसो भन्नुभयो: “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्यौ, त्यो तिमीहरूले मलाईनै गऱ्यौ।” (मत्ती २५:४०) संसारले हामीप्रति जस्तोसुकै दृष्टिकोण राखे तापनि हामीले सत्यलाई प्रेम गऱ्यौं भने परमेश्वरको नजरमा हामी अनमोल हुन्छौं।
ब्राजिलको एक जना टुहुरो केटा, फ्रान्सिस्कोले a परमेश्वरसित व्यक्तिगत सम्बन्ध विकास गरेपछि यस्तै महसुस गरे। तिनी यसो भन्छन्: “यहोवा अनि उहाँको संगठनलाई चिनेपछि मैले महसुस गर्ने गरेको असुरक्षा तथा लजालु भावनामाथि विजयी हुन मदत पाएँ। यहोवाले हामी प्रत्येकको व्यक्तिगत चासो लिनुहुँदो रहेछ भन्ने कुरा थाह पाएँ।” यहोवा, फ्रान्सिस्कोको वास्तविक पिता हुनुभयो।
युवाजनहरूप्रति चासो
यहोवाले युवाजनहरूप्रति सामूहिक रूपमा मात्र नभई व्यक्तिगत तवरमा पनि साँचो चासो लिनुहुन्छ। निस्सन्देह, चाहे जवान हौं या वृद्ध, हामी कहिल्यै आफूलाई बढ्तै महत्त्वपूर्ण ठान्न चाहँदैनौं। यद्यपि, यहोवाले भविष्यमा प्रयोग गर्न सक्नुहुने केही विशेष योग्यता तथा गुणहरू हामीसित होलान्। हाम्रो क्षमतालाई पूर्णतया सदुपयोग गर्न कस्तो सुधार तथा प्रशिक्षण आवश्यक छ, सो यहोवा जान्नुहुन्छ। उदाहरणका लागि, १ शमूएल अध्याय १६ मा दिइएको विवरणलाई विचार गर्नुहोस्। अगमवक्ता शमूएललाई इस्राएलका राजा हुन अन्य सम्भाव्य उम्मेदवारहरू नै योग्य लागेकोले इस्राएलको भावी राजाको रूपमा यिशैका कान्छो छोरा दाऊदलाई छनौट गर्नुको कारण यहोवाले यसरी बताउनुभयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। म त्यसलाई [दाऊदको दाइ] इन्कार गर्छु। परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।”—१ शमूएल १६:७.
के आज युवा जनहरू यहोवाले उनीहरूप्रति साँचो चासो देखाउनुहुन्छ भन्ने कुरामा विश्वस्त हुन सक्छन्? ब्राजिलकी एक जवान युवती अनालाई विचार गर्नुहोस्। अन्य युवायुवतीहरू जस्तै तिनी पनि भ्रष्टाचार र अन्याय देखेर दिक्क भएकी थिइन्। तिनको बुबाले तिनी र तिनका बहिनीहरूलाई मसीही सभाहरूमा लैजान थाले। समय बित्दै जाँदा तिनीहरूलाई परमेश्वरको वचनबाट सिकेका कुराहरू राम्रो लाग्न थाल्यो। अनाले मसीही प्रकाशनहरू सँगसँगै बाइबल पढ्न र यहोवा परमेश्वरलाई प्रार्थना गर्न सुरु गरिन्। बिस्तारै तिनले परमेश्वरसित घनिष्ठ सम्बन्ध विकास गरिन्। तिनी यसो भन्छिन्: “सुन्दर सूर्यास्त हेर्न घर नजिकैको पहाडसम्म साइकल चढेर जान मलाई साह्रै रमाइलो लाग्थ्यो। मैले यहोवालाई प्रार्थना गरें र म उहाँलाई कत्ति माया गर्छु भन्ने कुरा व्यक्त गर्ने प्रयास गर्दै उहाँले देखाउनुभएको दया र उदारताको निम्ति उहाँलाई धन्यवाद चढाएँ। यहोवालाई चिन्नुका साथै उहाँका उद्देश्यहरूको ज्ञानले मलाई मनोशान्ति र सुरक्षाको अनुभूति प्रदान गऱ्यो।” के तपाईं पनि यहोवाको मायालु हेरचाहबारे मनन-चिन्तन गर्न एकैछिन भए पनि समय निकाल्ने प्रयत्न गर्नुहुन्छ?
हुन त हो, यहोवासितको घनिष्ठ सम्बन्धबाट आनन्द उठाउन हाम्रो पृष्ठभूमि तगारो बन्न सक्छ। उदाहरणका लागि, लिडियालाई लिनुहोस्। आफूलाई असाध्यै चिन्ता लागेको गहन विषयबारे आफ्नो बुबालाई बताउँदा बुबाले तिनलाई उल्टै यसो भनेर झपारे: “त्यस्तो वाहियात कुरा नगर त!” समस्या मनमा नखेलाईरहोस् भनेर बुबाले यसो भन्नुभएको हो भन्ने कुरा बुझे तापनि लिडिया यसो भन्झिन्: “बाइबल अध्ययन गरेपछि मैले आफूले चाहेका सबै कुरा र अझ त्योभन्दा बढी कुरा प्राप्त गरें। यहोवाको आकर्षक व्यक्तित्वले गर्दा उहाँ मेरो सबैभन्दा मिल्ने साथी हुनुभयो। अब त मेरो मायालु, समझदार बुबा हुनुहुन्छ, जसलाई म आफ्ना भावनाहरू पोख्न साथै मनभित्र भएका डर, त्रासबारे खुल्लमखुल्ला बताउन सक्छु। म ब्रह्माण्डकै सबैभन्दा महत्त्वपूर्ण व्यक्तिसित घण्टौं कुरा गर्न सक्छु किनभने उहाँले मेरो कुरा सुन्नुहुन्छ भन्ने कुरामा मलाई कुनै शंका छैन।” फिलिप्पी ४:६, ७ जस्ता बाइबल पदहरूले तिनलाई यहोवाको मायालु चासो महसुस गर्न मदत गऱ्यो। त्यहाँ यसो भनिएको छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”
तपाईंका आवश्यकताहरूको हेरचाह गर्न मदत
यहोवाले आफ्ना सेवकहरूप्रति व्यक्तिगत तवरमा र विश्वव्यापी मण्डलीप्रति पनि चासो देखाउनुहुन्छ। उहाँसित कुरा गर्न समय निकालेर हामी पनि हाम्रा स्वर्गमा बस्नुहुने पिताप्रति प्रेम देखाउन सक्छौं। उहाँसितको हाम्रो सम्बन्धलाई हामीले कहिल्यै हल्कासित लिनु हुँदैन। यहोवासितको आफ्नो सम्बन्धबारे दाऊद सधैं सजग थिए। तिनले यसो भने: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, र मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दैरहन्छु।”—भजन २५:४, ५.
परमेश्वरसित घनिष्ठ सम्बन्ध राख्ने कुरा तपाईंलाई अलि नौलो लाग्न सक्छ। तपाईंका जस्तोसुकै समस्याहरू भए तापनि आफ्नो इच्छाबमोजिम सर्वोच्चले तपाईंलाई मदत गर्न सक्नुहुनेछ भन्ने कुरामा तपाईं सधैं विश्वस्त हुन सक्नुहुन्छ। (१ यूहन्ना ५:१४, १५) तसर्थ, आफ्ना परिस्थिति तथा आवश्यकताहरूलाई ध्यानमा राखेर तोकेरै प्रार्थना गर्न सिक्नुहोस्।
मन्दिर उद्घाटन गर्दा राजा सुलेमानले चढाएको प्रार्थनामा हाम्रा आवश्यकताहरू बुझ्नुको महत्त्वबारे यसप्रकार प्रकाश पारिएको छ: “यदि देशमा अनिकाल वा विपत्ति पऱ्यो, अथवा वनस्पति ओइलाउने कि रूखहरू मक्काउने रोग वा सलह कि झुसिल्कीरा लाग्यो, अथवा तिनीहरूका कुनै पनि शहरमा शत्रुले घेरा हाल्यो, अथवा रूढ़ी कि देशानले तिनीहरूलाई सतायो, औ आफ्नो दुःख वा कष्टमा . . . तपाईंले आफ्नो प्रजा इस्राएलको हरेक मानिसको प्रार्थना र अर्जबिन्ती . . . स्वर्गमा सुन्नुहोस् र . . . तपाईंले त्यसलाई त्यसको कर्मअनुसार प्रतिफल दिनुहोस्।” (२ इतिहास ६:२८-३०) साँच्चै, ‘आफ्नो दुःख र कष्ट’ तपाईंलाई मात्र थाह छ। त्यसैकारण, आफ्ना वास्तविक आवश्यकता तथा इच्छाहरू के हुन्, सो बुझ्नु एकदमै महत्त्वपूर्ण छ। यसो गर्नुभयो भने, ‘[यहोवाले] तपाईंको मनोरथ पूर्ण गर्नुहुनेछ।’—भजन ३७:४.
यहोवासितको आफ्नो सम्बन्धलाई बलियो बनाउनुहोस्
साधारण मानिसहरूले उहाँसितको सम्बन्धबाट आनन्द उठाएको देख्दा यहोवालाई खुसी लाग्छ। उहाँको वचन हामीलाई यस्तो आश्वासन दिन्छ: “तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।” (२ कोरिन्थी ६:१८) वास्तवमा, यहोवा अनि उहाँको पुत्र हामी सफल होस् र अनन्त जीवन पाओस् भन्ने चाहनुहुन्छ। परिवारमा, काम गर्ने ठाउँमा र मसीही मण्डलीमा यहोवाले हाम्रा जिम्मेवारीहरू सम्हाल्न मदत गर्नुहुनेछ भन्ने कुरा थाह पाउनु कत्ति प्रोत्साहनदायी छ!
यद्यपि, हामी सबैले कठिन अवस्थाको सामना गर्नुपर्छ। खराब स्वास्थ्यस्थिति, पारिवारिक समस्या, न्यून आय वा अन्य यस्तै कुराहरूले हामीलाई पिरोल्न सक्छन्। जाँच वा परीक्षाको सामना कसरी गर्ने भनेर हामीलाई थाह नहुन सक्छ। परमेश्वरका जनहरू विरुद्ध आत्मिक युद्ध लड्ने र दुष्ट आरोपी, शैतान अर्थात् दियाबलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अचाक्ली दबाब दिन सक्छन्। तथापि, हामीलाई बुझ्ने र यहोवासितको असल सम्बन्धलाई कायम राख्न मदत गर्ने एक जना हुनुहुन्छ। उहाँ स्वर्गको उच्च स्थानमा बस्नुहुने येशू ख्रीष्ट हुनुहुन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, रपनि पापरहित हुनुहुन्छ। यसकारण अनुग्रहको सिंहासनको नजीक हामी निर्भयसँग आऔं, र कृपा पाऔं, औ दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउनसक्छौं।”—हिब्रू ४:१५, १६.
परमेश्वरको अनुग्रह पाउन हामी एकदमै प्रख्यात वा धनी हुनु पर्दैन भन्ने कुरा थाह पाउनु कत्ति आश्वासनदायी छ! अत्यन्तै कठिन अवस्थामा हुँदासमेत भजनहारजस्तो हुनुहोस्, जसले यसरी प्रार्थना गरे: “म ता दुःखी र दरिद्र छु। तैपनि परमप्रभुले मेरो विचार राख्नुहुन्छ। तपाई मेरा सहायक र छुटकारा दिने हुनुहुन्छ। हे मेरा परमेश्वर, ढीलो नर्गनुहोस्!” (भजन ३१:९-१४; ४०:१७) यहोवाले नम्र, साधारण मानिसहरूलाई माया गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुनुहोस्! साँच्चै, ‘हामी आफ्नो सारा फिक्री उहाँमाथि राख्न सक्छौं, किनकि उहाँले हाम्रो फिक्री गर्नुहुन्छ।’—१ पत्रुस ५:७.
[फुटनोट]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ २९-मा भएका चित्रहरू]
येशूका थुप्रै अनुयायीहरू अशिक्षित र साधारण मानिसहरू थिए
[पृष्ठ ३०-मा भएको चित्र]
मसीहीहरूले विश्वास बलियो बनाउन कडा मेहनत गर्छन्
[पृष्ठ ३१-मा भएका चित्रहरू]
परमेश्वरको अनुग्रह प्राप्त गर्न हामी प्रतिष्ठित व्यक्तिहरू नै हुनु पर्दैन