साँचो आध्यात्मिक मूल्यमान्यताहरू कहाँ पाउन सकिन्छ?
साँचो आध्यात्मिक मूल्यमान्यताहरू कहाँ पाउन सकिन्छ?
“तपाईं आफ्नो पारिवारिक परम्पराअनुसारको धर्म मान्नुहुन्छ भने २,००० वर्षअघि हाम्रा पुर्खाहरूले मानेको सेल्टिक धर्म छाने के फरक पर्ला र?” भनी रोडोल्फले व्यंग्यात्मक प्रश्न गरे। यो कुरा सुन्ने युवक मुसुक्क हाँसे।
“परमेश्वरसितको सम्बन्ध मेरोलागि साह्रै महत्त्वपूर्ण छ” भनी रोडोल्फ टिप्पणी गर्छन्। “दस वा अझ सयौं वर्षअघिदेखि मेरो परिवारका सदस्यहरूले कुनै खास धर्म मानेको कारण परम्परालाई कायम राख्नुपर्छ भन्दै कुनै धर्म ममाथि थोपरेको मलाई पटक्कै मन पर्दैन।” रोडोल्फले सबै कुरा राम्ररी विचार गरे अनि यस महत्त्वपूर्ण विषयलाई पुर्ख्यौली सम्पत्तिको रूपमा मात्र हेरेनन्।
आजभोलि एउटा पुस्ताले मानेको धर्म अर्को पुस्ताले पनि मान्ने चलन घट्दै गइरहेको छ, तैपनि अधिकांश मानिसहरू आफ्नै परिवारले मानेको धर्मसित सम्बद्ध हुन्छन्। तर के आफ्नो आमाबुबाले मानेका धार्मिक मूल्यमान्यताहरू नै पछ्याइरहनु सधैं सही हुन्छ? बाइबल के भन्छ?
मरुभूमीमा ४० वर्ष बिताइसकेपछि मोशाका उत्तराधिकारी यहोशूले इस्राएलीहरूसामु यस्तो छनौट राखे: “यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज। तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पूजेका देवताहरू कि तिमीहरू अहिले बसेका देशको एमोरीहरूका देवताहरू? तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहोशू २४:१५.
यहोशूले यहाँ सम्बोधन गरेका पिता-पुर्खाहरूमध्ये एक जना अब्राहामका बुबा तेरह थिए। तिनी त्यसताका युफ्रेटिस नदीको पूर्वपट्टि अवस्थित ऊर शहरमा बसोबास गर्थे। तेरहले अरू देवताहरूको पूजा गर्थे भन्ने तथ्यबाहेक तिनीबारे अरू जानकारी बाइबलले दिएको छैन। (यहोशू २४:२) परमेश्वरको उद्देश्यबारे पूरा ज्ञान नभए तापनि यहोवाले आफ्नो देश छोडेर जाने आज्ञा दिनुहुँदा तेरहका छोरा अब्राहाम राजीखुसीसित गए। हो, अब्राहामले आफ्नो बुबाको भन्दा बेग्लै धर्म छाने। त्यसो गर्दा अब्राहामले, परमेश्वरले प्रतिज्ञा गर्नुभएका आशिष्हरू पाए र थुप्रै धर्महरू तिनलाई परमेश्वरमा “विश्वास गर्नेहरू सबैका पिता” भनेर चिन्छन्।—रोमी ४:११.
बाइबलले येशू ख्रीष्टका पुर्खा रूथबारे पनि सकारात्मक ढंगमा व्याख्या गरेको पाइन्छ। इस्राएली पुरुषसित विवाह गरेकी मोआबी स्त्री रूथ विधवा भइन् र तिनले एउटा छनौट गर्नुपर्ने भयो: आफ्नै देशमा बस्ने वा आफ्नी सासुसित इस्राएल फर्कने। आफ्ना आमाबुबाले अपनाएको मूर्तिपूजक प्रचलनहरूको तुलनामा यहोवाको उपासनाको उत्कृष्टता बुझेर रूथले आफ्नी सासुलाई यसो भनिन्: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, औ तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।”—रूथ १:१६, १७.
बाइबल ग्रन्थमा यस रेकर्डको महत्त्वबारे टिपोट गर्दै डिक्सनेर डे ला बिबल
यस अभिलेखले “यहोवाको राष्ट्र तथा उपासनालाई प्रेम गरेको हुनाले . . . पवित्र राजा दाऊदका पुर्खा हुने सुअवसर पाएकी स्त्रीबारे बताउँछ जो विदेशी हुनुका साथै मूर्तिपूजक राष्ट्रमा जन्मेकी थिइन् र इस्राएलबाट घृणित भएकी थिइन्” भनी वर्णन गर्छ। रूथले आफ्ना आमाबुबाले मानेको भन्दा बेग्लै धर्म मान्न आनाकानी गरिनन् र त्यस्तो निर्णय गरेकोमा परमेश्वरको आशिष् पाइन्।मसीही धर्मको सुरुवातसम्बन्धी अभिलेखहरूले येशूका चेलाहरूले आफ्नो पुर्ख्यौली धर्मलाई त्याग्नुको कारण एकदमै स्पष्टसित बताउँछ। अरूलाई मनाउन एकदमै जोडदार भाषण दिंदै प्रेरित पत्रुसले आफ्ना श्रोताहरूलाई पश्चात्ताप गरेर येशूको नाउँमा बप्तिस्मा लिई “दुष्ट पुस्ताबाट बच” भनी आग्रह गरे। (प्रेरित २:३७-४१) मसीहीहरूलाई सतावट दिंदै हिंडेका यहूदी शावलको उदाहरण एकदमै उल्लेखनीय छ। दमीशक जाँदै गर्दा तिनले ख्रीष्टको दर्शन पाए र त्यसपछि तिनी एक जना मसीही भए र प्रेरित पावल भनेर चिनिए।—प्रेरित ९:१-९.
थुप्रै प्रारम्भिक मसीहीहरूले त्यस्तो अचम्मको दर्शन पाएनन्। तैपनि तिनीहरूले यहूदी धर्म वा अन्य झूटा देवहरूको उपासनालाई त्याग्नुपऱ्यो। मसीही धर्म अँगाल्नेहरूले पहिला सत्य कुराहरूको पूरा ज्ञान लिए र अक्सर तिनीहरूले मसीहको रूपमा येशूले निर्वाह गर्नुहुने भूमिकाबारे लामो छलफल गरेर बुझे। (प्रेरित ८:२६-४०; १३:१६-४३; १७:२२-३४) ती प्रारम्भिक मसीहीहरूले आफ्नो जीवनमा छाँटकाँट गर्नुपर्ने आवश्यकता बुझिसकेका थिए। त्यो निमन्त्रणा यहूदी र गैरयहूदी दुवैलाई दिइयो तर सन्देश भने एउटै थियो। परमेश्वरलाई खुसी तुल्याउन मसीही धर्मको नयाँ प्रकारको उपासनालाई पछ्याउनु जरुरी भयो।
हाम्रोलागि सान्दर्भिक छनौट
प्रथम शताब्दीमा आफ्नो परिवारले पहिलेदेखि मान्दै आएका यहूदीधर्म, सम्राट्को उपासना, गैरमसीही देवहरूको उपासना जस्ता धार्मिक प्रचलनहरूलाई अस्वीकार गरेर यहूदी र रोमीहरू दुवैलाई खिल्ली उडाउने सिद्धान्तको पछि लाग्न पक्कै पनि साहस चाहिएको हुनुपर्छ। यस्तो छनौट गरेको केही समय पछि नै तिनीहरूले कठोर सतावट भोग्नुपऱ्यो। आज पनि क्लेमोन्ट फेरान्डका क्याथोलिक विशप हिप्पोलाइट साइमनले भर्स उन फ्राँ पाएयों? (फ्रान्स गैरमसीही धर्म अँगाल्दैछ?) शीर्षक भएको आफ्नो पुस्तकमा लेखेझैं “संसारमा व्याप्त चलनचल्तीअनुसारै गर्ने धारणा अनुरूप चल्न वा फस्न” इन्कार गर्न कुनै पनि व्यक्तिलाई साहस चाहिन्छ। थोरै मानिसहरूले मात्र मानेको धर्म र कहिलेकाहीं मानिसहरूले आलोचना गर्ने समुदाय अर्थात् यहोवाका साक्षी बन्न पनि साहस चाहिन्छ।
कोर्सिकाको बास्टिया भन्ने ठाउँका युवक पल, क्याथोलिक धर्मसिद्धान्तअनुसार हुर्के र तिनी कहिलेकाहीं चर्चका गतिविधिहरू जस्तै— क्याथोलिक परोपकार संस्थाको लागि पैसा उठाउन केक बेच्ने जस्ता कार्यहरू गर्थे। बाइबलबारे अझ बढी समझ हासिल गर्ने चाहनाले गर्दा तिनले यहोवाका साक्षीहरूसित नियमित तवरमा छलफल गर्ने सहमति जनाए। पछि, आफूले सिकिरहेको कुराले अनन्त लाभ पुऱ्याउनेछ भन्ने कुरा तिनले थाह पाए। त्यसैकारण पलले बाइबलका मूल्यमान्यताहरूलाई स्वीकारे र एक जना यहोवाका साक्षी भए। तिनका आमाबुबाले तिनको छनौटको आदर गरे अनि यसले तिनीहरूको घनिष्ठ पारिवारिक सम्बन्धमा पनि कुनै तीतोपना ल्याएन।
अमेली दक्षिणी फ्रान्समा बस्छिन्। तिनको परिवारका सदस्यहरू यहोवाको साक्षी भएको चार पुस्ता भइसक्यो। तिनले आफ्नो आमाबुबाको धार्मिक मूल्यमान्यताहरूलाई स्वीकार्ने छनौट किन गरिन्? तिनी भन्छिन्: “आफ्नो आमाबुबा वा हजुरबा हुजुरआमा यहोवाका साक्षी हुनुहुन्छ वा हुनुहुन्थ्यो भनेर तपाईं पनि स्वतः यहोवाको साक्षी बन्नुहुन्न। तर एक दिन तपाईं आफैले यसो भन्न सक्नुपर्छ, ‘यो मेरो धर्म हो किनभने म यी कुराहरूमा विश्वस्त छु।’ ” अरू थुप्रै जवान यहोवाका साक्षीहरूजस्तै
अमेलीले पनि आफ्नो धर्मप्रतिको ठोस विश्वासले आफ्नो जीवन उद्देश्यपूर्ण हुनुका साथै अनन्त आनन्दको श्रोत पनि हो भनेर बुझेका छन्।ईश्वरीय मूल्यमान्यताहरू किन स्वीकार्ने
हितोपदेशको पुस्तक अध्याय ६ पद २० ले परमेश्वरलाई खुसी तुल्याउन चाहनेहरूलाई यस्तो प्रोत्साहन दिन्छ: “हे मेरो छोरो, आफ्ना पिताको आज्ञा पालन गर्, औ आफ्नी आमाको अर्तीलाई इन्कार नगर्।” कारण नबुझिकन अन्धाधुन्ध आज्ञा पालन गर्नुको सट्टा त्यस सल्लाहले आफ्नो विश्वास बढाउनुका साथै परमेश्वरप्रति आफ्नै अडान लिएर जवानहरूलाई ईश्वरीय स्तरहरू स्वीकार्ने अर्ती दिन्छ। प्रेरित पावलले आफ्ना दौंतरीहरूलाई आफूलाई सिकाइएका जम्मै कुरा परमेश्वरको वचन र उहाँको इच्छा अनुरूप छ कि छैन भनी “सबै कुराको जाँच गर” र त्यसैअनुसार काम गर भनी आग्रह गरे।—१ थिस्सलोनिकी ५:२१.
मसीही परिवारमा हुर्केका होऊन् वा नहोऊन्, ६० लाखभन्दा बढी जवान तथा वृद्ध यहोवाका साक्षीहरूले त्यस्तो निर्णय गरेका छन्। लगनशील भई बाइबल अध्ययन गरेर तिनीहरूले जीवनको उद्देश्यसम्बन्धी प्रश्नहरूका भरपर्दा जवाफहरू भेट्टाएका छन् र मानिसजातिको लागि परमेश्वरले राख्नुभएको उद्देश्यबारे स्पष्ट समझ प्राप्त गरेका छन्। यो ज्ञान हासिल गरेपछि तिनीहरूले परमेश्वरका मूल्यमान्यताहरूलाई स्वीकारे अनि परमेश्वरको इच्छा पूरा गर्न यथासक्दो गर्छन्।
तपाईं यस पत्रिकाको नियमित पाठक होस् वा नहोस्, बाइबलले दिने आध्यात्मिक मूल्यमान्यताहरू जाँच्न यहोवाका साक्षीहरूले प्रस्ताव राख्दा त्यसलाई स्वीकार्नु बेस हुनेछ। यसरी तपाईंले यहोवा ‘भलो हुनुहुन्छ कि हुनुहुन्न भनेर पारख गरी हेर्न सक्नुहुन्छ’ र त्यो पालन गर्दा अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान प्राप्त गर्नुहुनेछ।—भजन ३४:८; यूहन्ना १७:३.
[पृष्ठ ५-मा भएको चित्र]
चार पुस्तादेखि नै यहोवाका साक्षीहरूको रूपमा जीवन बिताइरहेका फ्रान्सको एउटा परिवार
[पृष्ठ ७-मा भएको चित्र]
रूथले आफ्ना पुर्खाहरूको देवताहरूको उपासना गर्नुको साटो यहोवाको सेवा गर्ने छनौट गरिन्