दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्
दुःखमा परेकाहरूलाई सान्त्वना दिनुहोस्
“परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ . . . सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई।”—यशैया ६१:१, २.
१, २. हामीले कसलाई सान्त्वना दिनुपर्छ र किन?
सबै साँचो सान्त्वनाका परमेश्वर यहोवाले हामीलाई अरू व्यक्तिहरूले विपत्ति भोग्दा तिनीहरूप्रति चासो देखाउन सिकाउनुहुन्छ। उहाँले ‘हरेस खानेलाई दिलाशा दिन’ र सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन हामीलाई सिकाउनुहुन्छ। (१ थिस्सलोनिकी ५:१४) आवश्यक परेको खण्डमा हामी सँगी उपासकहरूलाई यस्तो मदत दिन्छौं। विगतमा हामीप्रति कुनै प्रेम नदेखाएका मण्डली बाहिरकाहरूलाई समेत हामी प्रेम देखाउँछौं।—मत्ती ५:४३-४८; गलाती ६:१०.
२ येशूले निम्न भविष्यसूचक कार्य पढ्नुभयो र यो आफूमा लागू हुन्छ भनी बताउनुभयो: “परमप्रभु परमेश्वरको आत्मा ममाथि छ, किनकि नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, . . . सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई।” (यशैया ६१:१, २; लूका ४:१६-१९) आधुनिक समयका अभिषिक्त जनहरूले यो कार्य आफूमा पनि लागू हुन्छ भनेर बुझेको लामो समय भइसक्यो र “अरू भेडा[ले]” तिनीहरूलाई यस कार्यमा खुसीसाथ साथ दिन्छन्।—यूहन्ना १०:१६.
३. “परमेश्वरले किन विपत्तिहरू हुन दिनुहुन्छ?” भनेर मानिसहरूले सोध्दा, हामी तिनीहरूलाई कसरी मदत गर्न सक्छौं?
३ विपत्तिको कारण मानिसहरूको मन भाँचिदा, अक्सर तिनीहरू यस्तो प्रश्न सोध्छन्: “परमेश्वरले किन विपत्तिहरू हुन दिनुहुन्छ?” बाइबलले यस प्रश्नको स्पष्ट जवाफ दिएको छ। तथापि, पहिला बाइबल अध्ययन नगरेका व्यक्तिहरूलाई यो जवाफ राम्ररी बुझ्न समय लाग्न सक्छ। यसको लागि यहोवाका साक्षीहरूका प्रकाशनहरूद्वारा मदत पाउन सकिन्छ। a तथापि, सुरुमा कसै-कसैका लागि बाइबलमा यशैया ६१:१, २ जस्तो कुनै शास्त्रपद पढ्न पाउनु मात्र पनि सान्त्वना साबित भएको छ किनभने यसले मानिसहरूले सान्त्वना पाऊन् भन्ने परमेश्वरको इच्छा प्रकट गर्छ।
४. पोल्याण्डकी एक जना साक्षीले कसरी एउटी दुःखित किशोरीलाई मदत गर्न सकिन् र यस अनुभवले अरूलाई मदत दिन तपाईंलाई कसरी मदत गर्न सक्छ?
४ युवाहरूका साथै वृद्धहरूलाई पनि सान्त्वना चाहिन्छ। पोल्याण्डकी एक निराश किशोरीले एक जना चिनजानकी स्त्रीसँग सल्लाह मागिन्। मायालु ढंगमा थप प्रश्नहरू सोधेपछि, ती किशोरीकी यहोवाको साक्षी साथीले तिनको मनमा तीन थुप्रो प्रश्न तथा शंका-उपशंकाहरू भएको थाह पाइन्: “किन यति धेरै दुष्टता भएको? मानिसहरूमाथि किन दुःखकष्ट आइपर्छ? पक्षघात भएकी मेरी बहिनीले किन दुःख भोग्नु परेको? मलाई किन मुटुसम्बन्धी रोग लागेको होला? चर्चले भनेको परमेश्वरले यस्तै चाहनुहुन्छ अरे। तर यसो हो भने, म उहाँमाथि विश्वास गर्न छोड्नेछु!” ती साक्षीले यहोवालाई मनमनै प्रार्थना गरिन् र यसो भनिन्: “तपाईंले मलाई यस विषयमा सोध्नुभएकोमा खुसी लाग्यो। म तपाईंलाई मदत दिने कोसिस गर्नेछु।” तिनले सानो छँदा आफूलाई पनि त्यस्तै शंका लाग्ने गरेको तर पछि यहोवाका साक्षीहरूले तिनलाई मदत गरेको कुरा बताइन्। तिनले यसो भनिन्: “परमेश्वरले मानिसहरूलाई दुःख दिनुहुन्न भन्ने कुरा मैले सिकें। उहाँ मानिसहरूलाई माया गर्नुहुन्छ, तिनीहरूको सर्वोत्तम भलाइ चाहनुहुन्छ र पृथ्वीमा चाँडै ठूलठूला परिवर्तनहरू ल्याउनुहुनेछ। बिरामी, वृद्धावस्था र मृत्युको नामोनिसान रहनेछैन र आज्ञाकारी मानिसहरू यसै पृथ्वीमा सधैंभरि बाँच्नेछन्।” तिनले ती किशोरीलाई प्रकाश २१:३, ४; अय्यूब ३३:२५; यशैया ३५:५-७ र ६५:२१-२५ देखाइन्। लामो छलफलपछि, ती किशोरीले आनन्दको सास फेर्दै यसो भनिन्: “अब मैले मेरो जीवनको उद्देश्य बुझें। के म तपाईंसँग फेरि पनि भेट्न सक्छु?” तिनीसित हप्ताको दुई पटक बाइबल अध्ययन सञ्चालन गरियो।
परमेश्वरले दिनुहुने सान्त्वनाद्वारा
५. हामीले सहानुभूति व्यक्त गर्दा कुन कुराले वास्तविक सान्त्वना दिनेछ?
५ अरूलाई सान्त्वना दिंदा सहानुभूतिका शब्दहरू प्रयोग गर्नु पक्कै पनि उचित हो। दुःखमा परेका व्यक्तिहरूलाई हामी तिनको अवस्थाको साँच्चै ख्याल राख्छौं भन्ने कुरा शब्द तथा बोल्ने तरिकाद्वारा देखाउने कोसिस गर्छौं। यसको लागि खोक्रो कुराहरू मात्र गरेर पुग्दैन। बाइबलले “धीरज र धर्मशास्त्रको शान्तिद्वारा [ सान्त्वनाद्वारा] हामीलाई आशा होस्” भन्छ। (रोमी १५:४) यस कुरालाई मनमा राख्दै हामी उपयुक्त समयमा, परमेश्वरको राज्य भनेको के हो भनेर बताउनुका साथै यसले कसरी वर्तमान समस्याहरूको समाधान गर्नेछ भनी बाइबलबाट देखाउन सक्छौं। त्यसपछि यो किन भरपर्दो आशा हो भनी हामी तर्क गर्न सक्छौं। यसरी हामी सान्त्वना दिन सक्छौं।
६. धर्मशास्त्रमा पाइने सान्त्वनाबाट मानिसहरूले पूर्णतया लाभ उठाउन सकून् भनेर हामीले तिनीहरूलाई कस्ता कुराहरू बुझ्ने मदत दिनुपर्छ?
६ कुनै व्यक्तिलाई दिइएको सान्त्वनाबाट पूर्णतया लाभ उठाउन साँचो परमेश्वर को हुनुहुन्छ, उहाँ कस्तो खालको व्यक्ति हुनुहुन्छ र उहाँका प्रतिज्ञाहरू भरपर्दा छन् भनी तिनलाई थाह हुनुपर्छ। यहोवाको उपासक भइनसकेको व्यक्तिलाई मदत गर्दा हामीले निम्न बुँदाहरू बताउनु बेस हुन्छ। (१) बाइबलमा पाइने सान्त्वना साँचो परमेश्वर यहोवाबाट हो। (२) यहोवा सर्वशक्तिमान्, स्वर्ग तथा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ प्रेमको परमेश्वर हुनुका साथै करुणा तथा सत्यतामा प्रशस्त हुनुहुन्छ। (३) परमेश्वरको वचनबाट सही ज्ञान लिएर उहाँको नजिक भयौं भने हामी यस्ता परिस्थितिहरूको सामना गर्न बलियो हुन सक्छौं। (४) बाइबलमा त्यस्ता शास्त्रपदहरू पाइन्छन् जसले हरेक व्यक्तिविशेषले सामना गरेका खास परीक्षाहरू बताउँछ।
७. (क) परमेश्वरले दिनुहुने सान्त्वना “ख्रीष्टद्वारा प्रशस्त मात्रामा हुन्छ” भनेर जोड दिंदा कुन कुरा हासिल हुन सक्छ? (ख) आफ्नो आचरण खराब भएको महसुस गर्ने व्यक्तिलाई तपाईं कसरी सान्त्वना दिन सक्नुहुन्छ?
७ कसै-कसैले बाइबलबारे थाह भएका दुःखित व्यक्तिहरूलाई २ कोरिन्थी १:३-७ पढेर आध्यात्मिक सान्त्वना दिएका छन्। यसो गर्दा तिनीहरूले “हाम्रो सान्त्वना पनि ख्रीष्टद्वारा प्रशस्त मात्रामा हुन्छ” भन्ने अभिव्यक्तिलाई जोड दिएका छन्। यस शास्त्रपदले त्यस व्यक्तिलाई बाइबल भनेको अझ बढी गम्भीरतापूर्वक लिनुपर्ने सान्त्वनाको स्रोत रहेछ भन्ने कुरा बुझ्न मदत दिन सक्छ। यसले पछि थप छलफल गर्ने बाटो खोल्न सक्छ। कुनै व्यक्तिले आफूले पहिला गरेको खराब कामको कारण नै दुःख भोग्नुपरेको हो भन्ने सोचाइ राख्छ भने, हामी तिनको कुराको समर्थन वा विरोध नगरी १ यूहन्ना २:१, २ तथा भजन १०३:११-१४ मा लिपिबद्ध शब्दहरू थाह पाउनु सान्त्वनादायी कुरा हो भनी बताउन सक्छौं। यसरी हामी अरूलाई परमेश्वरले दिनुहुने सान्त्वनाद्वारा साँच्चै सान्त्वना दिन्छौं।
हिंसा वा आर्थिक कठिनाइको कारण जीवन अस्तव्यस्त हुँदा
८, ९. हिंसाको चपेटामा परेका मानिसहरूलाई कसरी उपयुक्त ढंगमा सान्त्वना दिन सकिन्छ?
८ समाजमा हुने आपराधिक हिंसा वा युद्धको कारण हुने हिंसाले गर्दा लाखौं मानिसहरूको जीवन अस्तव्यस्त भएको छ। हामी तिनीहरूलाई कसरी सान्त्वना दिन सक्छौं?
९ साँचो मसीहीहरू आफ्नो वचन र कामद्वारा सांसारिक विवादमा कुनै एउटाको पक्ष नलिन होसियार हुन्छन्। (यूहन्ना १७:१६) तर वर्तमान प्रतिकूल परिस्थिति सधैं रहिरहनेछैन भनेर देखाउन तिनीहरू उपयुक्त ढंगमा बाइबल प्रयोग गर्छन्। अत्याचार निको मान्नेहरूप्रति यहोवाले कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्ने कुरा देखाउन तिनीहरूले भजन ११:५ पढ्न सक्छन् वा परमेश्वरको प्रोत्साहनलाई बदलाका रूपमा हेर्नु हुँदैन तर परमेश्वरमाथि भरोसा राख्नुपर्छ भन्ने कुरा औंल्याउन भजन ३७:१-४ देखाउन सक्छन्। भजन ७२:१२-१४ का शब्दहरूले अहिले राजाको रूपमा स्वर्गमा राज्य गरिरहनुभएका महान् सुलेमान, येशू ख्रीष्टले हिंसा भोगिरहेका निर्दोष मानिसहरूबारे कस्तो महसुस गर्नुहुन्छ भनी देखाउँछ।
१०. तपाईंले वर्षौंदेखि युद्धहरू झेल्दै आउनुभएको छ भने, उल्लिखित शास्त्रपदहरूले तपाईंलाई कसरी सान्त्वना दिन सक्छ?
१० विरोधी पक्षहरूले नियन्त्रण जमाउन युद्ध गरेको कारण कोही-कोही मानिसहरू एकपछि अर्को गर्दै संघर्षै संघर्षबीच बाँच्छन्। तिनीहरू युद्ध तथा युद्धपछिका परिणामहरू जीवनको एउटा भाग हो भन्ने धारणा राख्छन्। तिनीहरूको एउटै मात्र सुनौलो आशा भनेको त्यहाँबाट अर्को देशमा भागेर राम्रो जीवन बिताउने हो। तर तिनीहरूमध्ये अधिकांश व्यक्तिहरू यस कुरामा कहिल्यै सफल हुँदैनन् र यसो गर्न खोज्ने थुप्रै व्यक्तिहरूले आफ्नो ज्यानसमेत गुमाएका छन्। अर्को देशमा पुग्नेहरूले पनि अक्सर आफू एउटा समस्याबाट भागेर अर्कै खालको समस्यामा जाकिन पुगेको महसुस गर्छन्। यस्ता व्यक्तिहरूलाई प्रवासी हुनभन्दा आफ्नो भरोसा अझ भरपर्दो स्रोतमाथि राख्न मदत दिन भजन १४६:३-६ चलाउन सकिन्छ। मत्ती २४:३, ७, १४ वा २ तिमोथी ३:१-५ को भविष्यवाणीले परिस्थितिलाई अझ राम्रोसित बुझ्न र हामी यस पुरानो रीतिरिवाजको अन्तिम समयमा बाँचिरहेको कारण तिनीहरूले त्यस्तो अवस्था भोग्नुपरेको हो भन्ने कुरा बुझ्न तिनीहरूलाई मदत गर्न सक्छ। भजन ४६:१-३, ८, ९ तथा यशैया २:२-४ ले तिनीहरूलाई शान्तिमय भविष्यको आशा साँच्चै छ भनी बुझ्न मदत गर्न सक्छ।
११. पश्चिम अफ्रिकामा एक जना स्त्रीलाई कुन शास्त्रपदहरूले सान्त्वना दियो र किन?
११ पश्चिम अफ्रिकामा युद्ध चलिरहेको बेला एक जना स्त्री गोलाबारीबीच आफ्नो घर छोडेर भागिन्। तिनको जीवन डर, दुःख र हृदयविदारक निराशाले भरियो। पछि, त्यो परिवार अर्को देशमा बसिरहेको बेलामा तिनका पतिले तिनीहरूको विवाह दर्ता प्रमाणपत्र आगोमा जलाइदिने र त्यतिबेला गर्भवती अवस्थामा भएकी आफ्नी पत्नी तथा दस वर्षीय छोरालाई घरबाट लघारेर आफू पादरी बन्ने निर्णय गरे। ती स्त्रीलाई फिलिप्पी ४:६, ७ तथा भजन ५५:२२ का साथै प्रहरीधरहरा तथा ब्यूँझनुहोस्!-बाट धर्मशास्त्रीय लेखहरू देखाउँदा, अन्ततः तिनले सान्त्वना र जीवनको उद्देश्य पाइन्।
१२. (क) आर्थिक कठिनाइ भोगिरहेकाहरूलाई धर्मशास्त्रले कस्तो सान्त्वना दिन्छ? (ख) एसियाकी एक जना साक्षीले कसरी एक जना ग्राहकलाई मदत गर्न सकिन्?
१२ आर्थिक संकटले लाखौं मानिसहरूको जीवन बर्बाद पारेको छ। कहिलेकाहीं युद्ध वा यसपछिको असरले पनि आर्थिक संकट हुनेगर्छ। अरू बेला भने, अव्यावहारिक सरकारी नीति र शक्तिमा भएकाहरूको लोभ तथा बेइमानीका कारण जनताहरू आफूले बचत गरेको पैसा र सर-सम्पत्ति गुमाउन बाध्य भएका छन्। कतिपयसँग भने संसारका सर-सामाग्रीहरू हुँदै हुँदैन। परमेश्वरमा भरोसा गर्नेहरूलाई उहाँले सान्त्वना दिने आश्वासन दिनुभएको छ र मानिसहरूले आफ्ना हातले गरेका कामको आनन्द उठाउने धार्मिक संसारको ग्यारेण्टी दिनुभएको छ भन्ने थाह पाउँदा यस्ता व्यक्तिहरू सबैले सान्त्वना पाउन सक्छन्। (भजन १४६:६, ७; यशैया ६५:१७, २१-२३; २ पत्रुस ३:१३) एउटा एसियाली मुलुककी साक्षीले त्यस देशको आर्थिक अवस्थाबारे एक जना ग्राहकले चिन्ता व्यक्त गरेको सुनेपछि संसारभरि नै यस्तै घटनाहरू घटिरहेका छन् भनेर बताइन्। मत्ती २४:३-१४ तथा भजन ३७:९-११ बाट छलफल गरेपछि नियमित बाइबल अध्ययन सुरु भयो।
१३. (क) खोक्रा प्रतिज्ञाहरूका कारण मानिसहरू निराश हुँदा, तिनीहरूलाई मदत दिन हामी कसरी बाइबल चलाउन सक्छौं? (ख) खराब परिस्थितिले परमेश्वर हुनुहुन्न भन्ने कुरा प्रमाणित गर्छ भन्ने सोचाइ मानिसहरूले राख्छन् भने, तपाईं तिनीहरूसित कसरी तर्क गर्ने कोसिस गर्न सक्नुहुन्छ?
१३ मानिसहरूले थुप्रै वर्षसम्म दुःखकष्ट भोगेको कारण वा खोक्रो आश्वासनहरूले गर्दा निराश भएको कारण तिनीहरू मिश्रमा भएका इस्राएलीहरू जस्तै हुन सक्छन् जसले “आत्माको व्याकुलताले गर्दा” कुरा सुनेनन्। (प्रस्थान ६:९) यस्तो अवस्थामा, बाइबलले तिनीहरूलाई कसरी वर्तमान समस्याहरूको सफलतासाथ सामना गर्न तथा थुप्रै मानिसहरूको जीवन बर्बाद पार्ने अनावश्यक खतराबाट जोगिन मदत गर्न सक्छ भनी प्रकाश पार्नु लाभकारी हुन सक्छ। (१ तिमोथी ४:८ख) कसै-कसैले आफूले भोग्नुपरेको खराब परिस्थितिलाई परमेश्वर हुनुहुन्न वा उहाँले तिनीहरूको चिन्ता गर्नुहुन्न भन्ने कुराको प्रमाणको रूपमा हेर्न सक्छन्। परमेश्वरले मदत दिनुभएको छ तर धेरै मानिसहरूले यसलाई स्वीकारेका छैनन् भन्ने कुरा बुझ्न तिनीहरूलाई मदत गर्न तपाईं उपयुक्त शास्त्रपद चलाएर तर्क गर्न सक्नुहुन्छ।—यशैया ४८:१७, १८.
आँधीबेहरी तथा भुइँचालोको सामना गर्नुपर्दा
१४, १५. एउटा विपत्तिको कारण थुप्रै मानिसहरू स्तब्ध हुँदा, यहोवाका साक्षीहरूले कसरी चासो देखाए?
१४ आँधीबेहरी, भुइँचालो, आगलागी वा विस्फोटनको कारण पनि विपत्ति आइपर्न सक्छ। जताततै शोक व्याप्त हुन सक्छ। बचेकाहरूलाई सान्त्वना दिन के गर्न सकिन्छ?
१५ मानिसहरूले आफ्नो ख्याल गर्ने कोही छ भन्ने थाह पाउनुपर्छ। एउटा देशमा भएको आतंककारी आक्रमणपछि थुप्रै मानिसहरू स्तब्ध भए। तिनीहरूमध्ये थुप्रैले परिवारका सदस्य, कमाएर खुवाउने व्यक्ति, साथीहरू, जागिर वा पहिले अनुभव गर्ने गरेको सुरक्षाको अनुभूति गुमाए। यहोवाका साक्षीहरू आफ्नो वरपरका मानिसहरूकहाँ गएर तिनीहरूले भोग्नु परेको ठूलो क्षतिप्रति सहानुभूति व्यक्त गरे र बाइबलबाट सान्त्वनाका शब्दहरू पढेर सुनाए। थुप्रै व्यक्तिहरूले यस्तो चासोको गहिरो मूल्यांकन गरे।
१६. एल साल्भाडोरको एउटा भागमा विपत्ति आइपर्दा, स्थानीय साक्षीहरूको क्षेत्र सेवा किन एकदमै प्रभावकारी भयो?
१६ एल साल्भाडोरमा सन् २००१ मा भुइँचालोपछि गएको ठूलो पहिरोले थुप्रै मानिसहरूको ज्यान लियो। एक जना साक्षीको २५ वर्षीय छोरा र तिनकी मंगेतरकी दुई जना बहिनीहरू मारिए। ती जवान मानिसकी आमाका साथै तिनकी मंगेतर तुरुन्तै क्षेत्र सेवाको काममा व्यस्त भए। धेरै जनाले तिनीहरूलाई ती मृतकहरूलाई परमेश्वरले लैजानुभयो वा परमेश्वरको इच्छा यस्तै थियो भने। परमेश्वर हामीले दुःख पाएको चाहनुहुन्न भन्ने कुरा देखाउन ती साक्षीहरूले हितोपदेश १०:२२ उद्धृत गरे। परमेश्वरको इच्छा भएर होइन तर मानिसको पापको कारण मृत्यु आएको हो भनी देखाउन तिनीहरूले रोमी ५:१२ पढे। तिनीहरूले भजन ३४:१८, भजन ३७:२९, यशैया २५:८ तथा प्रकाश २१:३, ४ मा पाइने सान्त्वनाको सन्देश पनि देखाए। विशेष गरी ती दुई जना स्त्रीहरूले पनि विपत्तिमा आफ्नो परिवारका सदस्यहरू गुमाएको कारण मानिसहरूले खुसीसाथ सुने र थुप्रै बाइबल अध्ययन सुरु गरियो।
१७. विपत्तिको समयमा हामी कस्तो मदत दिन सक्छौं?
१७ विपत्ति आइपर्दा, तपाईंले तुरुन्तै शारीरिक मदतको आवश्यकता परेको कोही भेट्न सक्नुहुन्छ। डाक्टर बोलाउने, कुनै व्यक्तिलाई अस्पतालसम्म पुऱ्याउने वा गाँसबासको व्यवस्था मिलाउन केही गर्नुपर्ने हुन सक्छ। सन् १९९८ मा इटालीमा एउटा यस्तै विपत्ति आइपर्दा एक जना पत्रकारले यहोवाका साक्षीहरूले “कुन व्यक्ति कुन धर्मको हो भन्ने कुरा मतलब नगरी पीडितहरूलाई मदत गरेर व्यावहारिक ढंगमा काम गरेको” टिप्पणी गरे। अन्तिम दिनबारे भविष्यवाणी गरिएका घटनाहरूले कुनै-कुनै क्षेत्रहरूमा ठूलो दुःखकष्ट ल्याउँछन्। यस्ता ठाउँहरूमा यहोवाका साक्षीहरूले बाइबलका भविष्यवाणीहरू औंल्याउँछन् र परमेश्वरको राज्यले मानिसजातिलाई साँचो सुरक्षा दिनेछ भन्ने बाइबलको आश्वासनद्वारा मानिसहरूलाई सान्त्वना दिन्छन्।—हितोपदेश १:३३; मीका ४:४.
परिवारको सदस्यको मृत्यु हुँदा
१८-२०. कुनै परिवारमा कसैको मृत्यु हुँदा सान्त्वना दिन तपाईं के भन्न वा गर्न सक्नुहुन्छ?
१८ प्रियजनको मृत्युको कारण हरेक दिन लाखौं व्यक्तिहरू शोकाकुल हुन्छन्। मसीही सेवकाईमा भाग लिंदा वा आफ्नो दिनचर्याको दौडान तपाईंले शोकाकुल मानिसहरूलाई भेट्न सक्नुहुन्छ। तिनीहरूलाई सान्त्वना दिन तपाईं के भन्न वा गर्न सक्नुहुन्छ?
१९ के ती व्यक्तिले भावनात्मक पीडा भोगिरहेका छन्? के घरभरि शोकाकुल नातेदारहरू छन्? तपाईंलाई थुप्रै कुराहरू भन्न मन लाग्ला तर विवेकी हुनु महत्त्वपूर्ण छ। (उपदेशक ३:१, ७) सहानुभूति व्यक्त गर्नु, उपयुक्त बाइबल प्रकाशन छोड्नु (एउटा पुस्तिका, पत्रिका वा पर्चा) र थप मदत दिन सकिन्छ कि भनेर केही दिनपछि भेट्न जानु राम्रो हुन सक्छ। उपयुक्त समय मिलेको खण्डमा बाइबलबाट केही प्रोत्साहनदायी कुराहरू बताउने प्रस्ताव राख्नुहोस्। यसले शान्त बनाउन र पीडा कम गर्न सक्छ। (हितोपदेश १६:२४; २५:११) येशूले जस्तो तपाईंले मृतकलाई ब्यूँताउन त सक्नुहुन्न। तर मृतकहरूको अवस्थाबारे बाइबलले के भन्छ भनी बताउन सक्नुहुन्छ। यद्यपि, यस्तो बेलामा गलत धारणाहरूको खण्डन गरिरहनु उपयुक्त नहुन सक्छ भन्ने कुरा नबिर्सनुहोस्। (भजन १४६:४; उपदेशक ९:५, १०; इजकिएल १८:४) तपाईंले पुनरुत्थानबारे बाइबलमा गरिएको प्रतिज्ञा सँगै पढ्न सक्नुहुन्छ। (यूहन्ना ५:२८, २९; प्रेरित २४:१५) यसको अर्थ के हो भनेर छलफल गर्न तपाईंले सम्भवतः बाइबलमा लिपिबद्ध कुनै पुनरुत्थानको घटना चलाउन सक्नुहुन्छ। (लूका ८:४९-५६; यूहन्ना ११:३९-४४) साथै यस्तो आशा दिनुहुने परमेश्वरका मायालु गुणहरूतर्फ ध्यान खिच्नुहोस्। (अय्यूब १४:१४, १५; यूहन्ना ३:१६) यी शिक्षाहरूले तपाईंलाई कसरी लाभ पुऱ्याएका छन् र तपाईं यसमा किन विश्वस्त हुनुहुन्छ भनी बताउनुहोस्।
२० राज्यभवनमा आउने निमन्त्रणा दिएमा शोकाकुल व्यक्तिहरूले आफ्ना छिमेकीहरूलाई साँच्चै प्रेम गर्ने तथा एक-अर्कालाई कसरी प्रोत्साहन दिने भनी थाह भएका मानिसहरूसित चिनजान बढाउने मदत पाउन सक्छन्। स्वीडेनकी एक जना स्त्रीले आफूले जीवनभर खोजेको कुरा यही नै हो भन्ने महसुस गरिन्।—यूहन्ना १३:३५; १ थिस्सलोनिकी ५:११.
२१, २२. (क) सान्त्वना दिन चाहन्छौं भने हामीले के गर्नुपर्छ? (ख) धर्मशास्त्रबारे पहिले नै थाह भइसकेका व्यक्तिहरूलाई तपाईं कसरी सान्त्वना दिन सक्नुहुन्छ?
२१ मसीही मण्डलीभित्र होस् वा बाहिर, कोही शोकाकुल छ भन्ने थाह पाउँदा, कहिलेकाहीं के तपाईं के भन्ने वा के गर्ने भनी थाह नभएको महसुस गर्नुहुन्छ? बाइबलमा अक्सर “सान्त्वना” भनेर अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “आफ्नो पक्षमा बोलाउनु” हुन्छ। साँचो सान्त्वनादाता हुनुमा शोकाकुल व्यक्तिहरूले चाहेको बेला तिनीहरूलाई मदत गर्न तत्पर हुनु समावेश छ।—हितोपदेश १७:१७.
२२ तर तपाईंले सान्त्वना दिन चाहनुभएको व्यक्तिलाई मृत्यु, छुडौती तथा पुनरुत्थानबारे बाइबलले के भन्छ भन्ने कुरा पहिल्यै थाह छ भने नि? एउटै विश्वास भएको साथीको मुख देख्न पाउनु मात्र पनि सान्त्वनादायी हुन सक्छ। तिनले कुराकानी गर्न चाहेमा तिनको कुरा ध्यानपूर्वक सुन्नुहोस्। तपाईंले भाषण दिनुपर्छ भन्ने नसोच्नुहोस्। शास्त्रपद पढ्नुभयो भने यसलाई तपाईंहरू दुवैको हृदय बलियो पार्ने परमेश्वको वचनको रूपमा लिनुहोस्। यसमा गरिएका प्रतिज्ञाहरूको विश्वसनीयताबारे तपाईंहरू दुवैमा भएको बलियो विश्वास व्यक्त गर्नुहोस्। ईश्वरीय अनुकम्पा झल्काएर तथा परमेश्वरको वचनमा भएका अनमोल सत्यहरू बताएर, तपाईं शोक गर्नेहरूलाई “सबै सान्त्वनाका परमेश्वर,” यहोवाबाट सान्त्वना र बल प्राप्त गर्न मदत दिन सक्नुहुन्छ।—२ कोरिन्थी १:३.
[फुटनोट]
a ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ, अध्याय ८; रीजनिङ फ्रम द स्क्रिप्चर्स, पृष्ठ ३९३-४००, ४२७-३१; इज देअर अ क्रिएटर हु क्येर्स अवाउट यू?, अध्याय १० र के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्ने प्रकाशनहरू हेर्नुहोस्।
तपाईंको टिप्पणी के छ?
• धेरै मानिसहरूले विपत्तिहरूको दोष कसलाई दिन्छन् र हामी तिनीहरूलाई कसरी मदत दिन सक्छौं?
• अरूलाई बाइबलले दिने सान्त्वनाबाट पूर्ण लाभ उठाउने मदत दिन हामी के गर्न सक्छौं?
• तपाईंको क्षेत्रमा कस्ता परिस्थितिहरूले गर्दा थुप्रै मानिसहरू दुःखमा परेका छन् र तपाईं तिनीहरूलाई कसरी सान्त्वना दिन सक्नुहुन्छ?
[अध्ययनको लागि प्रश्नहरू]
[पृष्ठ २३-मा भएका चित्रहरू]
दुःखको समयमा साँचो सान्त्वनाको सन्देश बताउँदै
[स्रोत]
Refugee camp: UN PHOTO 186811/J. Isaac
[पृष्ठ २४-मा भएको चित्र]
साथीको मुख देख्न पाउनु मात्र पनि सान्त्वनादायी हुन सक्छ