सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्माले के भन्छ सुन्‍नुहोस्‌!

आत्माले के भन्छ सुन्‍नुहोस्‌!

आत्माले के भन्छ सुन्‍नुहोस्‌!

“जसको सुन्‍ने कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”—प्रकाश ३:२२.

१, २. प्रकाशको पुस्तकमा उल्लेख गरिएका सातवटा मण्डलीलाई येशू ख्रीष्टले दिनुभएको सन्देशमा कुन सल्लाह बारम्बार दोहोऱ्‍याइएको छ?

 यहोवाका सेवकहरूले बाइबलको प्रकाशको पुस्तकमा उल्लेख गरिएका सातवटा मण्डलीलाई येशू ख्रीष्टले भन्‍नुभएका आत्मा-निर्देशित वचनहरूमा ध्यान दिनै पर्छ। यी हरेक सन्देशहरूमा यस्तो सल्लाह पाइन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”—प्रकाश २:७, ११, १७, २९; ३:६, १३, २२.

एफिसस, स्मर्ना र पर्गाममका दूत वा निरीक्षकहरूलाई येशूले दिनुभएको सन्देशबारे हामीले विचार गरिसक्यौं। तर उहाँले पवित्र आत्माद्वारा अरू चारवटा मण्डलीलाई भन्‍नुभएको कुराबाट पनि हामी कसरी लाभ उठाउन सक्छौं?

थिआटायराका दूतलाई

३. थिआटायरा कहाँ पर्थ्यो र यो विशेष गरी कुन उत्पादनको लागि प्रख्यात थियो?

“परमेश्‍वरको पुत्रले” थिआटायरा मण्डलीको प्रशंसा गर्नुका साथै यसलाई हप्काउनु पनि हुन्छ। (प्रकाश २:१८-२९ पढ्‌नुहोस्‌।) थिआटायरा (अहिले अखिसार) पश्‍चिमी एसिया माइनरमा गेडिज (पुरातन हर्मस) नदीको एउटा सहायक नदीको किनारमा रहेको थियो। यो शहर विभिन्‍न किसिमका हस्तकलाको लागि प्रख्यात थियो। यहाँका रङ बनाउने मानिसहरूले मजिटोको जराबाट गाढा रातो तथा बैजनी रङहरू बनाउँथे। पावल ग्रीसको फिलिप्पीमा जाँदा मसीही बनेकी लिडिया “थाइआटीरा शहरको बैजनी लुगा बेच्ने” स्त्री थिइन्‌।—प्रेरित १६:१२-१५.

४. कुन कुराको लागि थिआटायरामा भएको मण्डलीको प्रशंसा गरियो?

थिआटायरामा भएको मण्डलीको असल काम, प्रेम, विश्‍वास, धीरज र सेवाको कामको लागि येशूले त्यसको प्रशंसा गर्नुहुन्छ। वास्तवमा, ‘तिनीहरूको पछाडिका काम अघाडिका भन्दा बढ्‌ता थिए।’ हामीले असल रेकर्ड बसालेको भए तापनि आफ्नो नैतिकताबारे सधैं होसियार हुनुपर्छ।

५-७. (क) “स्त्री जिजेबेल” को थिइन्‌ र तिनको प्रभावलाई के गर्नुपर्ने थियो? (ख) ख्रीष्टले थिआटायराको मण्डलीलाई दिनुभएको सन्देशले ईश्‍वरभीरु स्त्रीहरूलाई के गर्न मदत दिन्छ?

थिआटायरामा भएको मण्डलीले मूर्तिपूजा, झूटा शिक्षा र यौन अनैतिकतालाई सहिरहेको थियो। सायद तिनीहरूमाझ “स्त्री जिजेबेल” अर्थात्‌ इस्राएलको दस गोत्रे राज्यकी दुष्ट रानी जिजेबेलका जस्ता गुणहरू झल्काउने स्त्रीहरूको एउटा समूह थियो। कुनै-कुनै विद्वान्‌हरूको भनाइअनुसार थिआटायराका ‘अगमवादिनीहरूले’ मसीहीहरूलाई व्यापारिक संगठनरूपी देव-देवीको उपासना गर्न तथा मूर्तिहरूलाई अन्‍नबलि चढाउने चाडहरूमा भाग लिन उक्साउन खोजे। कुनै पनि स्व-घोषित अगमवादिनीले वर्तमान समयको मसीही मण्डलीका सदस्यहरूलाई भ्रष्ट पार्न नखोजोस्‌!

ख्रीष्टले ‘त्यसलाई एउटा ओछ्यानमा र त्यससँग व्यभिचार गर्नेहरूलाई चाहिं तिनीहरूले त्यसका कामहरूको पश्‍चाताप गर्दैनन्‌ भने ठूलो संकष्टमा फालिदिन लाग्नुभएको थियो।’ निरीक्षकहरू कहिले पनि यस्तो झूटो शिक्षा तथा प्रभावको वशमा पर्नु हुँदैन र ‘शैतानका गहिरा कुराहरू’ साँच्चै खराब रहेछन्‌ भनेर थाह पाउन कुनै पनि मसीहीले आध्यात्मिक तथा शारीरिक व्यभिचार गर्नु वा मूर्तिपूजामा भाग लिनु आवश्‍यक छैन। हामीले येशूको चेतावनी पालन गऱ्‍यौं भने ‘हामीसँग जे छ, त्यसलाई थामिराख्नेछौं’ र पापले हामीमाथि अधिकार जमाउने छैन। अभिषिक्‍त जनहरूले अधर्मी प्रचलन, कुइच्छा तथा लक्ष्यहरू त्यागेका हुनाले पुनरुत्थान भएपछि तिनीहरूले “जाति जातिमाथि अख्तियार” पाउनेछन्‌ र राष्ट्रहरूलाई चकनाचूर पार्ने काममा ख्रीष्टलाई साथ दिनेछन्‌। अहिलेका मण्डलीहरूमा लाक्षणिक ताराहरू छन्‌ अनि अभिषिक्‍त जनहरूको स्वर्गीय पुनरुत्थान हुँदा तिनीहरूलाई “बिहानको चहकिलो तारा,” दुलाहा, येशू ख्रीष्ट दिइनेछ।—प्रकाश २२:१६.

थिआटायरा मण्डलीलाई धर्मत्यागी स्त्रीहरूको खराब प्रभाव नसहन चेतावनी दिइएको थियो। ख्रीष्टले त्यस मण्डलीलाई दिनुभएको आत्मा-प्रेरित सन्देशले आजका ईश्‍वरभीरु स्त्रीहरूलाई परमेश्‍वरले तिनीहरूको लागि तोकिदिनुभएको स्थानमा रहन मदत गर्छ। तिनीहरू पुरुषहरूमाथि अधिकार जमाउन खोज्दैनन्‌ र भाइहरूलाई आध्यात्मिक वा शारीरिक व्यभिचार गर्ने प्रलोभनमा पार्दैनन्‌। (१ तिमोथी २:१२) बरु, यस्ता स्त्रीहरूले असल काम तथा परमेश्‍वरको प्रशंसा गर्ने सन्दर्भमा उदाहरण बसाल्छन्‌। (भजन ६८:११; १ पत्रुस ३:१-६) मण्डलीले आफूसित भएको शुद्ध सिद्धान्त तथा आचरण र अनमोल राज्य सेवालाई जोगाइराख्यो भने ख्रीष्ट सजाय होइन तर अद्‌भुत इनामहरूका साथ आउनुहुनेछ।

सार्डिसका दूतलाई

८. (क) सार्डिस कहाँ पर्थ्यो र त्यसका केही विशेषताहरू के-के हुन्‌? (ख) सार्डिसमा भएको मण्डलीलाई किन मदत चाहिएको थियो?

सार्डिसमा भएको मण्डलीलाई तुरुन्तै मदतको आवश्‍यकता परेको थियो किनभने त्यो आध्यात्मिक तवरमा मरेको थियो। (प्रकाश ३:१-६ पढ्‌नुहोस्‌।) थिआटायराभन्दा लगभग ५० किलोमिटर दक्षिणमा अवस्थित सार्डिस एउटा सम्पन्‍न शहर थियो। वाणिज्य, उर्वर भूमि र ऊनी कपडा तथा गलैंचाको उत्पादनले लगभग ५०,००० बासिन्दा भएको यस शहरलाई धनाढ्य शहर बन्‍न योगदान पुऱ्‍यायो। इतिहासकार जोसेफसअनुसार, सा.यु.पू. प्रथम शताब्दीमा सार्डिसमा यहूदीहरूको ठूलो समुदाय थियो। त्यस शहरको भग्नावशेषमा सभाघर तथा एफिसीहरूको डायना देवीको मन्दिर पनि भेटिएका छन्‌।

९. हामीले सेवाका क्रियाकलापहरू झारा टार्ने हिसाबले मात्र गरिरहेका छौं भने के गर्नुपर्छ?

ख्रीष्टले सार्डिस मण्डलीका दूतलाई यसो भन्‍नुभयो: “तिम्रो काम मलाई थाह छ। तिमी जीवित छौ भन्‍ने नाउँ ता छ, तर मरेका छौ।” हुन त हामी आध्यात्मिक तवरमा जागा रहेको व्यक्‍ति भनेर चिनिन्छौं तर मसीही सुअवसरको सन्दर्भमा निदाएका छौं, हामीले सेवाका क्रियाकलापहरू झारा टार्ने हिसाबले मात्र गरिरहेका छौं र हामी आध्यात्मिक तवरमा “मर्नै लागेका” छौं भने नि? त्यसो हो भने हामीले राज्य सन्देश ‘कसरी पायौं र सुन्यौं सो सम्झनुपर्छ’ र पवित्र सेवामा हाम्रो प्रयत्नलाई पुनर्जीवित पार्नुपर्छ। पक्कै पनि हामीले मसीही सभाहरूमा सारा हृदयले भाग लिन थाल्नुपर्छ। (हिब्रू १०:२४, २५) ख्रीष्टले सार्डिसमा भएको मण्डलीलाई यस्तो चेतावनी दिनुभयो: “यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै गरी आउनेछु, र म कुन घडी तिमीकहाँ आउनेछु सो तिमीले थाह पाउनेछैनौ।” हाम्रो समयबारे नि? चाँडै हामीले पनि लेखा दिनुपर्नेछ।

१०. सार्डिसको जस्तो परिस्थितिमा समेत कोही-कोही मसीहीहरू कस्ता हुन सक्छन्‌?

१० सार्डिसको जस्तो परिस्थितिमा समेत कोही-कोही ‘आफ्ना लुगा नबिटुल्ने र उहाँसँग सेता लुगा लगाएर हिंड्‌न सक्ने हुन सक्छन्‌ किनभने तिनीहरू योग्यका छन्‌।’ आफूलाई यस संसारको नैतिक तथा धार्मिक दागबाट निष्कलंक राखेर तिनीहरू आफ्नो मसीही चिनारी कायम राख्छन्‌। (याकूब १:२७) त्यसकारण येशूले ‘कुनै रीतिले पनि तिनीहरूको नाउँ जीवनको पुस्तकबाट मेट्‌नुहुनेछैन। बरु, उहाँले तिनीहरूको नाउँ उहाँको पिताको सामने र उहाँका दूतहरूका सामने स्वीकार गर्नुहुनेछ।’ ख्रीष्टसित हिंड्‌न योग्य घोषित उहाँका अभिषिक्‍त जनहरूको दुलही वर्गलाई मसिनो, चहकिलो र चोखो सुती लुगा पहिराइनेछ, जसले परमेश्‍वरका पवित्र जनहरूका धार्मिक कामहरूलाई संकेत गर्छ। (प्रकाश १९:८) तिनीहरूको लागि स्वर्गमा साँचेर राखिएको सेवाको अद्‌भुत सुअवसरले तिनीहरूलाई यस संसारमाथि विजयी हुन उत्साहित पार्छ। पृथ्वीमा अनन्त जीवन पाउने आशा भएकाहरूको लागि पनि आशिष्‌को प्रत्याशा छ। तिनीहरूको नाउँ पनि जीवनको पुस्तकमा लेखिएको छ।

११. हामी आध्यात्मिक तवरमा निदाउरो भइरहेका छौं भने के गर्नुपर्छ?

११ हामीमध्ये कोही पनि सार्डिसमा भएको मण्डलीको जस्तो दुःखद आध्यात्मिक अवस्थामा पर्न चाहँदैनौं। तर हामीले आफू आध्यात्मिक तवरमा निदाउरो भइरहेको चाल पायौं भने नि? आफ्नो भलाइको लागि हामीले तुरुन्तै कदम चालिहाल्नुपर्छ। मानौं, हामी अभक्‍त तौरतरिकातर्फ आकर्षित भइरहेका छौं वा सभाको उपस्थिति वा क्षेत्र सेवामा सुस्त भइरहेका छौं। हामी लगनशील प्रार्थनाद्वारा यहोवाको मदत खोजौं। (फिलिप्पी ४:६, ७, १३) दैनिक बाइबल पढाइ र धर्मशास्त्र तथा ‘विश्‍वासी भण्डारेका’ प्रकाशनहरूको अध्ययनले हामीलाई आध्यात्मिक तवरमा जागा रहन मदत दिनेछ। (लूका १२:४२-४४) त्यसो गऱ्‍यौं भने हामी ख्रीष्टको अनुमोदन पाउने सार्डिसका कोही-कोही मसीहीहरूजस्तै हुनेछौं र सँगी विश्‍वासीहरूको लागि आशिष्‌ साबित हुनेछौं।

फिलाडेल्फियाका दूतलाई

१२. पुरातन फिलाडेल्फियाको धार्मिक अवस्था तपाईं कसरी वर्णन गर्नुहुन्छ?

१२ येशूले फिलाडेल्फियाको मण्डलीको प्रशंसा गर्नुभयो। (प्रकाश ३:७-१३ पढ्‌नुहोस्‌।) फिलाडेल्फिया (अहिले अलासेहिर) पश्‍चिमी एसिया माइनरमा रहेको दाखमद्य उत्पादन हुने क्षेत्रको संवृद्ध केन्द्र थियो। वास्तवमा, यहाँको प्रमुख देवता दाखमद्यको देव डायोनिसस थियो। स्पष्टतः फिलाडेल्फियाका यहूदीहरूले त्यहाँका यहूदी मसीहीहरूलाई मोशाको व्यवस्थाका खास प्रचलनहरूअनुसार चलिरहन वा पुनः तिनै प्रचलनहरू अपनाउन लगाउने असफल प्रयास गरे।

१३. ख्रीष्टले “दाऊदको साँचो” कसरी प्रयोग गर्नुभएको छ?

१३ ख्रीष्टसँग “दाऊदको साँचो छ” र त्यसैले उहाँलाई राज्यसम्बन्धी सम्पूर्ण गतिविधिका साथै विश्‍वासको घरानामाथि शासन गर्ने जिम्मा सुम्पिएको छ। (यशैया २२:२२; लूका १:३२) येशूले यो साँचो पुरातन फिलाडेल्फिया तथा अन्य ठाउँका मसीहीहरूको लागि राज्यका सुअवसर तथा विशेषाधिकारहरू खोल्न चलाउनुभयो। सन्‌ १९१९ देखि उहाँले ‘विश्‍वासी भण्डारेको’ लागि राज्य प्रचारतर्फ डोऱ्‍याउने ठूलो “ढोका” खोलिदिनुभएको छ, जसलाई कुनै पनि विरोधीले बन्द गर्न सक्दैन। (१ कोरिन्थी १६:९; कलस्सी ४:२-४) निस्सन्देह, “शैतानको सभा[का]” व्यक्‍तिहरूको लागि राज्य विशेषाधिकारको ढोका बन्द गरिएको छ किनभने तिनीहरू आध्यात्मिक इस्राएलीहरू होइनन्‌।

१४. (क) येशूले फिलाडेल्फियामा भएको मण्डलीलाई कस्तो प्रतिज्ञा गर्नुभयो? (ख) हामी “परीक्षाको समयबाट” कसरी जोगिन सक्छौं?

१४ येशूले पुरातन फिलाडेल्फियाका मसीहीहरूलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “किनभने तिमीले मेरा धैर्यको वचन पालन गरेका हुनाले पनि तिमीलाई परीक्षाको समयबाट जोगाउनेछु। त्यो समय, जो . . . सारा संसारमा आउनेभएको छ।” प्रचार गर्न येशूले देखाउनुभएको जस्तै धैर्य चाहिन्छ। उहाँले कहिल्यै पनि शत्रुको अगाडि घुँडा टेक्नुभएन तर आफ्नो पिताको इच्छा गरिरहनुभयो। त्यसैकारण ख्रीष्टले पुनरुत्थानद्वारा स्वर्गमा अविनाशी जीवन पाउनुभयो। यहोवाको सेवा गर्ने निर्णयमा अडिग रह्‍यौं र सुसमाचार प्रचार गरेर परमेश्‍वरको राज्यलाई समर्थन गऱ्‍यौं भने हामी परीक्षाको वर्तमान घडी, “परीक्षाको समयबाट” जोगिनेछौं। राज्यसम्बन्धी यस्ता गतिविधिहरूलाई बढवा दिने प्रयत्न गर्दा हामीले ख्रीष्टबाट ‘जे पाएका छौं त्यसलाई पक्रिराख्नेछौं।’ यसो गर्दा अभिषिक्‍त जनहरूले अनमोल स्वर्गीय मुकुट पाउनेछन्‌ भने तिनीहरूका वफादार सँगीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउनेछन्‌।

१५. ‘परमेश्‍वरको मन्दिरका खामा’ हुनेहरूले कस्ता आवश्‍यकताहरू पूरा गर्नुपर्छ?

१५ ख्रीष्ट अझै यसो भन्‍नुहुन्छ: “जसले जित्छ, त्यसलाई म मेरा परमेश्‍वरका मन्दिरका खामा तुल्याउनेछु। . . . औ म त्यसमाथि मेरा परमेश्‍वरको नाउँ र मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल आउने नयाँ यरूशलेम र मेरो आफ्नै नयाँ नाउँ लेखिदिनेछु।” नियुक्‍त प्राचीनहरूले साँचो उपासनालाई समर्थन गर्नै पर्छ। परमेश्‍वरको राज्यबारे प्रचार गरेर तथा आध्यात्मिक तवरमा सफा रहेर तिनीहरू “नयाँ यरूशलेम[को]” सदस्य बन्‍न योग्यको रहिरहनुपर्छ। तिनीहरू महिमित स्वर्गीय मन्दिरको खामा बन्‍न चाहन्छन्‌ र परमेश्‍वरको शहरको स्वर्गीय बासिन्दा भनेर चिनिन अनि ख्रीष्टकी दुलही भन्‍ने नाउँ पाउन चाहन्छन्‌ भने यसो गर्नु अत्यावश्‍यक छ। अनि, निस्सन्देह, तिनीहरूसित “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ,” सो सुन्‍ने कान पनि हुनुपर्छ।

लाओडिसियाका दूतलाई

१६. लाओडिसियाबारे केही तथ्य कुराहरू के-के हुन्‌?

१६ ख्रीष्टले लाओडिसियामा भएको लापरवाह मण्डलीलाई हप्काउनुभयो। (प्रकाश ३:१४-२२ पढ्‌नुहोस्‌।) एफिससभन्दा लगभग १५० किलोमिटर पूर्वमा, प्रमुख व्यापारिक मार्गहरूको संगमस्थल तथा लाइकस नदीको मलिलो उपत्यकामा रहेको लाओडिसिया एकदमै सम्पन्‍न औद्योगिक तथा वित्तीय केन्द्र थियो। यो क्षेत्र कालो ऊनबाट बनेका कपडाहरूको लागि निकै प्रख्यात थियो। यहाँ एउटा प्रसिद्ध मेडिकल स्कूल भएकोले सायद लाओडिसियामा फ्राइजियनको धूलो भनिने आँखामा हाल्ने औषधी उत्पादन गरिन्थ्यो। यस शहरका प्रमुख देवताहरूमध्ये औषद्योपचारको देव अस्क्लेपियस पनि थियो। लाओडिसियामा थुप्रै यहूदीहरू थिए जस्तो देखिन्छ र तिनीहरूमध्ये कोही-कोही एकदमै धनी थिए।

१७. लाओडिसियाका मसीहीहरूलाई किन हप्काइयो?

१७ लाओडिसियाको मण्डलीलाई त्यस मण्डलीका “दूत[मार्फत]” सम्बोधन गर्दै येशू “विश्‍वासयोग्य र साँचो साक्षी, परमेश्‍वरको सृष्टिको [सुरुको]” रूपमा अख्तियारसाथ बोल्नुहुन्छ। (कलस्सी १:१३-१६) आध्यात्मिक तवरमा ‘न त चिसो न तातो’ भएका कारण लाओडिसियाका मसीहीहरूलाई हप्काइयो। तिनीहरू मनतातो भएका हुनाले ख्रीष्टले आफ्नो मुखबाट तिनीहरूलाई थुकिदिन आँट्‌नुभएको थियो। तिनीहरूलाई यो कुरा बुझ्न त्यति गाह्रो भएन होला। नजिकैको हिरापोलिसमा तातो पानीका मुहानहरू थिए भने कलस्सीमा चिसो पानी थियो। तथापि, लाओडिसियामा चाहिं टाढाबाट पाइपमार्फत पानी ल्याउनुपर्ने भएकोले सायद त्यहाँ पुगुन्जेलमा पानी मनतातो भइसक्थ्यो। सुरुको केही भाग नहर खनिएको हुन्थ्यो। लाओडिसियाको नजिकै पुगेपछि चाहिं प्वाल खोपेका ढुंगाहरूलाई एकआपसमा जोडेर त्यसैबाट पानी ल्याइन्थ्यो।

१८, १९. लाओडिसियाकाजस्तै मसीहीहरूलाई आज कसरी मदत गर्न सकिन्छ?

१८ आज पनि लाओडिसियाका मसीहीहरूजस्ता मानिसहरूले न त रनक्क तताउँछन्‌ न चिसो शीतलता नै दिन्छन्‌। मनतातो पानीजस्तै तिनीहरू पनि ओकलिनेछन्‌! येशू तिनीहरूलाई ‘ख्रीष्टको पक्षमा अभिषिक्‍त राजदूतको’ हैसियतमा अर्थात्‌ प्रवक्‍ताको रूपमा चलाउन चाहनुहुन्‍न। (२ कोरिन्थी ५:२०) पश्‍चात्ताप नगरेको खण्डमा तिनीहरूले राज्य उद्‌घोषक हुने सुअवसर गुमाउनेछन्‌। लाओडिसियाका मसीहीहरूले भौतिक सर-सम्पत्तिको चाह गरे र ‘आफू दुःखी, अभागी, गरिब, अन्धा र नांगो छौं भन्‍ने थाहै पाएनन्‌।’ आज तिनीहरूजस्ता व्यक्‍तिहरूले आफ्नो आध्यात्मिक गरिबी, अन्धोपन र नांगोपन हटाउन जाँचिएको विश्‍वासको “शुद्ध पारेको सुन,” धार्मिकताको ‘सेतो लुगा,’ र आध्यात्मिक दृष्टि बढाउने “गाजल” ख्रीष्टसित किन्‍नुपर्छ। तिनीहरू “विश्‍वासको खानी” होऊन्‌ भनेर तिनीहरूलाई आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग हुनको लागि मदत दिन मसीही निरीक्षकहरू खुसी छन्‌। (याकूब २:५; मत्ती ५:३) साथै, निरीक्षकहरूले तिनीहरूलाई आध्यात्मिक “गाजल” प्रयोग गर्न—येशूको शिक्षा, सल्लाह, उदाहरण तथा मानसिक झुकाव स्वीकार्न अनि त्यसैअनुरूप चल्न मदत दिनुपर्छ। यो “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी” हटाउने औषधी हो।—१ यूहन्‍ना २:१५-१७.

१९ येशूले जसलाई माया गर्नुहुन्छ तिनीहरू सबैलाई उहाँले हप्काउनुहुन्छ र अनुशासन दिनुहुन्छ। उहाँको अधीनमा रहेका निरीक्षकहरूले पनि कोमलतासाथ त्यसै गर्नुपर्छ। (प्रेरित २०:२८, २९) लाओडिसियाका मसीहीहरूले आफ्नो सोचाइ तथा जीवन शैलीमा परिवर्तन गरेर ‘जोसिलो हुनु र पश्‍चात्ताप’ गर्नुपरेको थियो। के हामीमध्ये पनि कोही-कोहीलाई परमेश्‍वरप्रतिको पवित्र सेवालाई जीवनमा हल्का ठान्‍ने बानी परेको छ? त्यसो हो भने, ‘येशूसित गाजल किनौं’ अनि हामीले जोसिलो भई पहिले परमेश्‍वरको राज्यको खोजी गर्नुको महत्त्व बुझ्न सक्नेछौं।—मत्ती ६:३३.

२०, २१. आज येशूले ‘घचघच्याउनुहुँदा’ कसले ठीक तरिकामा जवाफ दिइरहेका छन्‌ र तिनीहरूसित कस्ता प्रत्याशाहरू छन्‌?

२० ख्रीष्ट यसो भन्‍नुहुन्छ: “हेर, म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र आउनेछु, र त्यससँग भोज खानेछु, र त्यसले मसँग खानेछ।” येशूले प्रायजसो आध्यात्मिक निर्देशनहरू भोजको बेलामा दिनुभयो। (लूका ५:२९-३९; ७:३६-५०; १४:१-२४) उहाँले अहिले लाओडिसियाजस्तो खालको मण्डलीको ढोका घचघच्याउनुहुन्छ। उहाँले घचघच्याउनुहुँदा के त्यसका सदस्यहरूले जवाफ दिनेछन्‌? के उहाँप्रति तिनीहरूको प्रेम पुनर्जागृत पार्नेछन्‌? के उहाँलाई तिनीहरूमाझ स्वागत गर्नेछन्‌? र के उहाँबाट तिनीहरूले सिक्नेछन्‌? त्यसो गरे भने, ख्रीष्टले तिनीहरूसित भोज खानुहुनेछ र तिनीहरूले ठूलो आध्यात्मिक लाभ पाउनेछन्‌।

२१ आजका “अरू भेडा[ले]” लाक्षणिक तवरमा उहाँलाई भित्र आउन दिइरहेका छन्‌ र यस्तो कामले तिनीहरूलाई अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। (यूहन्‍ना १०:१६; मत्ती २५:३४-४०, ४६) जित्ने प्रत्येक अभिषिक्‍त जनहरूलाई ख्रीष्टले ‘उहाँको सिंहासनमा उहाँसित बस्ने सुअवसर दिनुहुनेछ, जसरी उहाँले पनि जित्नुभयो र उहाँको पितासँग उहाँको सिंहासनमा बस्नुभयो।’ हो, येशूले विजयी हुने अभिषिक्‍त जनहरूलाई उहाँको पिताको दाहिने हाततर्फ स्वर्गको सिंहासनमा बस्न दिने ठूलो इनामको प्रतिज्ञा गर्नुहुन्छ। अनि विजयी हुने अरू भेडा परमेश्‍वरको राज्य शासनअन्तर्गत अद्‌भुत पृथ्वीमा बस्ने प्रत्याशा राख्छन्‌।

हामी सबैका लागि पाठ

२२, २३. (क) सातवटा मण्डलीलाई येशूले बताउनुभएका शब्दहरूबाट सबै मसीहीहरूले कसरी लाभ उठाउन सक्छन्‌? (ख) हामी के गर्न कटिबद्ध हुनुपर्छ?

२२ एसिया माइनरका सातवटा मण्डलीलाई येशूले बताउनुभएका शब्दहरूबाट सबै मसीहीहरूले लाभ उठाउन सक्छन्‌ भन्‍ने कुरामा कुनै शंका छैन। उदाहरणका लागि, ख्रीष्टले उपयुक्‍त प्रशंसा गर्नुभएको कुरालाई मनमा राख्दा, मायालु मसीही प्राचीनहरू आध्यात्मिक तवरमा राम्रो गर्ने व्यक्‍तिविशेष तथा मण्डलीहरूको प्रशंसा गर्न उत्प्रेरित हुन्छन्‌। कमजोरीहरू देखिएको ठाउँमा प्राचीनहरूले सँगी विश्‍वासीहरूलाई धर्मशास्त्रीय निवारणहरू प्रयोगमा ल्याउन मदत दिन्छन्‌। ख्रीष्टले सातवटा मण्डलीलाई दिनुभएको सल्लाहलाई प्रार्थनापूर्वक तथा अविलम्बी भएर लागू गरुन्जेल हामी सबैले यसका विविध पक्षहरूबाट लाभ उठाइरहन सक्छौं। a

२३ यी अन्तिम दिनहरू लापरवाह हुने, भौतिकवाद वा यहोवालाई नाउँ मात्रको सेवा गर्न लगाउन सक्ने अरू कुनै पनि कुराको पछि लाग्ने समय होइन। त्यसकारण सबै मण्डलीहरू येशूले त्यसको ठाउँबाट नहटाउने सामदानजस्तै चम्किरहून्‌। विश्‍वासी मसीहीहरूको हैसियतमा हामी सधैं ख्रीष्टले बोल्नुहुँदा ध्यान दिन र आत्माले के भन्छ सुन्‍न कटिबद्ध होऔं। त्यसो गऱ्‍यौं भने हामीले यहोवाको महिमाका ज्योतिवाहकहरूको रूपमा अनन्तकालीन आनन्द उठाउनेछौं।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित, प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको अध्याय ७ देखि १३ मा पनि प्रकाश २:१–३:२२ छलफल गरिएको छ।

तपाईं के भन्‍नुहुन्छ?

• “स्त्री जिजेबेल” को थिइन्‌ र ईश्‍वरभीरु स्त्रीहरूले किन तिनको अनुकरण गर्दैनन्‌?

• सार्डिसमा भएको मण्डलीको अवस्था कस्तो थियो र त्यहाँका अधिकांश मसीहीहरूजस्तो नहुन हामी के गर्न सक्छौं?

• येशूले फिलाडेल्फियाको मण्डलीलाई कस्ता प्रतिज्ञाहरू गर्नुभयो र ती आज कसरी लागू हुन्छन्‌?

• लाओडिसियाका मसीहीहरूलाई किन हप्काइयो तर जोसिला मसीहीहरूसामु कस्ता प्रत्याशाहरू राखिएका छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

“स्त्री जिजेबेल[ का]” खराब मार्गहरू त्याग्नै पर्छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

येशूले उहाँका अनुयायीहरूको अगाडि राज्य विशेषाधिकारहरूको “ठूलो ढोका” राखिदिनुभएको छ

[पृष्ठ २०-मा भएको चित्र]

के तपाईं येशूलाई स्वागत गरेर उहाँको कुरा सुन्‍नुहुन्छ?