सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ

ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ

ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ

“यी कुरा सातवटा तारा आफ्नो दाहिने हातमा लिने[ ले] . . . भन्दछ।”—प्रकाश २:१.

१, २. ख्रीष्टले एसिया माइनरका सातवटा मण्डलीहरूलाई बताउनुभएका कुराहरूमा हामीले किन चासो राख्नुपर्छ?

 यहोवाको एक मात्र पुत्र, येशू ख्रीष्ट मसीही मण्डलीको शिर हुनुहुन्छ। आफ्ना अभिषिक्‍त अनुयायीहरूको मण्डलीलाई दोषरहित राख्न ख्रीष्टले आफ्नो शिरत्व प्रयोग गर्दै तिनीहरूको प्रशंसा गर्नुका साथै सच्याउनुहुन्छ। (एफिसी ५:२१-२७) प्रकाश २ र अध्यायमा यसको उदाहरण पाइन्छ जहाँ हामी, येशूले एसिया माइनरका सातवटा मण्डलीहरूलाई दिनुभएको जोडदार तथा मायालु सन्देशहरू पाउँछौं।

येशूले सातवटा मण्डलीहरूलाई बताउनुभएका कुराहरू सुन्‍नुभन्दा अघि प्रेरित यूहन्‍नाले “प्रभुको दिन[को]” दर्शन देखे। (प्रकाश १:१०) सन्‌ १९१४ मा मसीही राज्य स्थापना भएपछि त्यो “दिन” सुरु भयो। त्यसकारण येशूले ती मण्डलीहरूलाई भन्‍नुभएका कुराहरू यी अन्तिम दिनहरूमा पनि त्यत्तिकै महत्त्वपूर्ण छन्‌। उहाँको प्रोत्साहन तथा सल्लाहले यी आखिरी दिनहरूको सामना गर्न हामीलाई मदत दिन्छ।—२ तिमोथी ३:१-५.

३. प्रेरित यूहन्‍नाले देखेका “तारा,” “दूतहरू” तथा ‘सुनका सामदानहरूको’ लाक्षणिक अर्थ के हो?

यूहन्‍नाले “सातवटा तारा आफ्नो दाहिने हातमा लिने, र [सुनका] सातवटा सामदान” वा मण्डलीहरूका बीचमा हिंड्‌ने महिमित येशू ख्रीष्टलाई देखे। “तारा सात मण्डलीका दूतहरू” हुन्‌। (प्रकाश १:२०; २:१) ताराले कहिलेकाहीं स्वर्गदूतीय आत्मिक प्राणीहरूलाई संकेत गर्छ तर आत्मिक प्राणीहरूको लागि सन्देश लिपिबद्ध गर्न ख्रीष्टले मानिसलाई चलाउनुहुने थिएन। त्यसकारण यी “तारा[ले]” आत्मा-अभिषिक्‍त निरीक्षकहरू वा अभिषिक्‍त प्राचीनहरूका निकायहरूलाई जनाउँछ भन्‍नु तार्किक छ। “दूतहरू” भन्‍ने शब्दले सन्देशवाहकको रूपमा तिनीहरूको भूमिकालाई देखाउँछ। परमेश्‍वरको संगठनमा वृद्धि भएको कारण ‘विश्‍वासी भण्डारेले’ येशूका “अरू भेडा[हरूमध्येका]” योग्य पुरुषहरूलाई पनि निरीक्षकको रूपमा नियुक्‍त गरेका छन्‌।—लूका १२:४२-४४; यूहन्‍ना १०:१६.

४. ख्रीष्टले मण्डलीहरूलाई भन्‍नुहुने कुरामा ध्यान दिएर प्राचीनहरूले कसरी लाभ उठाउँछन्‌?

“तारा” येशूको दाहिने हातमा अर्थात्‌ उहाँको शक्‍ति, नियन्त्रण, अनुग्रह र सुरक्षाको घेराभित्र छन्‌। त्यसकारण तिनीहरू उहाँप्रति जवाफदेही छन्‌। उहाँले सातैवटा मण्डलीलाई बताउनुभएका शब्दहरू पालन गरेर वर्तमान समयका प्राचीनहरूले यस्तै खालका परिस्थितिहरू कसरी सुल्झाउन सकिन्छ भन्‍ने कुरा थाह पाउँछन्‌। निस्सन्देह, सबै मसीहीहरूले परमेश्‍वरको पुत्रको वचन सुन्‍नुपर्छ। (मर्कूस ९:७) त्यसोभए, ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुँदा त्यसमा ध्यान दिएर हामीले के सिक्न सक्छौं?

एफिससका दूतलाई

५. एफिसस कस्तो शहर थियो?

येशूले एफिससमा भएको मण्डलीको प्रसंशा गर्नुका साथै हप्काउनु पनि भयो। (प्रकाश २:१-७ पढ्‌नुहोस्‌।) एसिया माइनरको पश्‍चिमी किनारमा अवस्थित यस संवृद्ध व्यापारिक तथा धार्मिक केन्द्रमा डायना देवीको भव्य मन्दिर थियो। एफिससमा अनैतिकता, झूटो धर्म र जादुगरी छ्यासछ्यास्ती भए तापनि प्रेरित पावल तथा अरूले त्यस शहरमा गरेको सेवकाईमाथि परमेश्‍वरले आशिष्‌ दिनुभयो।—प्रेरित, अध्याय १९.

६. आजका वफादार मसीहीहरू कसरी प्राचीन समयको एफिससका मसीहीहरूजस्तै छन्‌?

ख्रीष्टले एफिससमा भएको मण्डलीको यसरी प्रसंशा गर्नुभयो: “तिम्रो काम, तिम्रो परिश्रम, र धीरज, र तिमीले खराब मानिसहरूलाई सहनसक्‍तैनौ भन्‍ने र प्रेरित हुँ भनेर हिंडने तर ती होइनन्‌, त्यस्तालाई परीक्षा गरेर झूटा साबित गऱ्‍यौ भन्‍ने, मलाई थाह छ।” येशूका साँचो अनुयायीहरूका मण्डलीहरूले आज पनि असल काम, परिश्रम र धीरजको सन्दर्भमा यस्तै रेकर्ड बसालेका छन्‌। तिनीहरूले प्रेरितहरूको रूपमा चिनिन चाहने झूटा भाइहरूलाई सहँदैनन्‌। (२ कोरिन्थी ११:१३, २६) एफिसीहरूले जस्तै आजका वफादार मसीहीहरूले पनि ‘खराब मानिसहरूलाई सहनसक्दैनन्‌।’ त्यसकारण यहोवाको उपासनाको शुद्धता कायम राख्न तथा मण्डलीलाई जोगाउनको लागि तिनीहरू अपश्‍चात्तापी धर्मत्यागीहरूसित हातेमालो गर्दैनन्‌।—गलाती २:४, ५; २ यूहन्‍ना ८-११.

७, ८. एफिससमा भएको मण्डलीमा कस्तो गम्भीर समस्या थियो र हामी यस्तै परिस्थितिको सामना कसरी गर्न सक्छौं?

यद्यपि, एफिससका मसीहीहरूको एउटा गम्भीर समस्या थियो। येशूले यसो भन्‍नुभयो: “तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोडिदिएका छौ।” मण्डलीका सदस्यहरूले यहोवाप्रतिको पहिलो प्रेम पुनः जगाउनु परेको थियो। (मर्कूस १२:२८-३०; एफिसी २:४; ५:१, २) हामी पनि परमेश्‍वरप्रतिको पहिलो प्रेम छोड्‌नदेखि जोगिनुपर्छ। (३ यूहन्‍ना ३) तर हाम्रो जीवनमा भौतिक सम्पन्‍नता वा सुखविलासको पछि लाग्ने चाहनाजस्ता कुराले प्रथम स्थान पाइरहेको छ भने नि? (१ तिमोथी ४:८; ६:९, १०) त्यसो हो भने हामीले यस्ता झुकावहरू हटाएर यहोवाप्रतिको गहिरो प्रेम तथा उहाँ र उहाँको पुत्रले हाम्रोलागि गर्नुभएका सम्पूर्ण कामहरूप्रतिको मूल्यांकन जगाउन ईश्‍वरीय मदतको लागि व्यग्र प्रार्थना गर्नुपर्छ।—१ यूहन्‍ना ४:१०, १६.

ख्रीष्टले एफिसीहरूलाई यस्तो आग्रह गर्नुभयो: “कहाँबाट तिमी पतित भएका हौ, सो सम्झ, र पश्‍चाताप गर, अनि पहिलाचाहिं काम गर।” तिनीहरूले यसो गरेनन्‌ भने नि? येशूले यसो भन्‍नुभयो: “नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।” सबै भेडाहरूले तिनीहरूको पहिलो प्रेम छोडिदिए भने “सामदान” वा मण्डली अस्तित्वमा रहने थिएन। त्यसकारण मण्डलीलाई आध्यात्मिक तवरमा चम्काइराख्न हामी जोसिला मसीहीहरू भई कडा परिश्रम गरौं।—मत्ती ५:१४-१६.

९. गुटबन्दीलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

प्रशंसायोग्य कुरा के थियो भने, एफिसीहरूले “निकोलाइटनहरूका कामलाई घृणा” गरे। यस गुटको सुरुवात्‌, शिक्षा र प्रचलनहरूबारे प्रकाशको पुस्तकमा बताइएका कुराहरूभन्दा बढी खासै थाह छैन। येशूले मानिसहरूको पछि लाग्न मनाही गर्नुभएको कारण एफिससका मसीहीहरूले जस्तै हामीले पनि गुटबन्दीलाई घृणा गर्नुपर्छ।—मत्ती २३:१०.

१०. आत्माले भनेको कुरा सुन्‍नेहरूले के अनुभव गर्नेछन्‌?

१० येशूले भन्‍नुभयो: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।” पृथ्वीमा हुनुहुँदा येशूले परमेश्‍वरको आत्माको प्रभावमा बोल्नुभयो। (यशैया ६१:१; लूका ४:१६-२१) त्यसकारण परमेश्‍वरले उहाँमार्फत पवित्र आत्माद्वारा भन्‍नुहुने कुराहरूमा हामीले ध्यान दिनुपर्छ। आत्माको निर्देशनद्वारा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “जसले जित्छ, त्यसलाई परमेश्‍वरको [प्रमोदवनमा] भएको जीवनको रूखको फल म खान दिनेछु।” यसको अर्थ आत्माले भनेको कुरा सुन्‍ने अभिषिक्‍त जनहरूले स्वर्गमा “परमेश्‍वरको [प्रमोदवन]” वा यहोवा स्वयम्‌को उपस्थितिमा अमरत्व पाउनेछन्‌। आत्माले भनेको कुरा सुन्‍ने “ठूलो भीड[ले]” पनि पार्थिव प्रमोदवनको आनन्द उठाउनेछन्‌, जहाँ तिनीहरूले “जीवनको नदी[बाट]” पिउनेछन्‌ र यसको किनारमा भएका “रूखका पातहरू[बाट]” निको हुनेछन्‌।—प्रकाश ७:९; २२:१, २; लूका २३:४३.

११. हामी कसरी यहोवाप्रतिको प्रेमलाई अझ बढाउन सक्छौं?

११ एफिसीहरूले तिनीहरूको पहिलो प्रेम छोडिदिएका थिए तर आज पनि मण्डलीमा यस्तै परिस्थिति खडा भइरहेको छ भने नि? यहोवाका मायालु तौरतरिकाहरूबारे कुराकानी गरेर हामी हरेकले उहाँप्रतिको आफ्नो प्रेम अझ बढाऔं। परमेश्‍वरले आफ्नो प्रिय पुत्रद्वारा छुडौतीको प्रबन्ध गर्नुभएर हामीप्रति देखाउनुभएको प्रेमको लागि उहाँप्रति कृतज्ञता जाहेर गर्न सक्छौं। (यूहन्‍ना ३:१६; रोमी ५:८) उपयुक्‍त हुँदा, सभाहरूको दौडान टिप्पणी गर्दा वा अन्य कार्यक्रमहरूमा हामी परमेश्‍वरको प्रेमको चर्चा गर्न सक्छौं। मसीही सेवकाईमा यहोवाको नाउँको प्रशंसा गरेर हामी उहाँप्रति आफ्नो प्रेम देखाउन सक्छौं। (भजन १४५:१०-१३) हो, मण्डलीको पहिलो प्रेम पुनः जगाउन वा बलियो बनाउन हाम्रो वचन तथा कार्यले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

स्मर्नाका दूतलाई

१२. स्मर्ना र त्यहाँको धार्मिक प्रचलनबारे इतिहासले के प्रकाश पार्छ?

१२ ख्रीष्ट अर्थात्‌ ‘आदि र अन्त, जो मर्नुभएको थियो, तर पुनरुत्थानद्वारा जीवित हुनुभएको छ,’ उहाँले स्मर्नामा भएको मण्डलीको प्रशंसा गर्नुभयो। (प्रकाश २:८-११ पढ्‌नुहोस्‌।) स्मर्ना (अहिले इजमिर, टर्की) एसिया माइनरको पश्‍चिमी किनारमा रहेको थियो। यो शहर युनानीहरूले बसालेका थिए तर सा.यु.पू. ५८० तिर लिडियनहरूले यसको विनाश गरे। महान्‌ सिकन्दरका उत्तराधिकारीहरूले नयाँ क्षेत्रमा यो शहरको पुनर्निमाण गरे। यो शहर एसियाको रोमी प्रान्त बन्‍न पुग्यो र यो भव्य सार्वजनिक भवनहरूको लागि प्रख्यात संवृद्ध व्यापारिक केन्द्र पनि थियो। यहाँ भएको टाइबेरियस सिजरको मन्दिरको कारण यो सम्राट्‌ उपासनाको केन्द्र बन्यो। उपासकहरूले एक चिम्टी धूप बालेर यसो भन्‍नुपर्थ्यो: “सिजर प्रभु हुनुहुन्छ।” मसीहीहरू यस भनाइसित सहमत हुन सक्दैनथे किनभने तिनीहरूको लागि ‘येशू प्रभु हुनुहुन्थ्यो।’ त्यसकारण तिनीहरूले कष्ट भोग्नुपऱ्‍यो।—रोमी १०:९.

१३. स्मर्नाका मसीहीहरू भौतिक तवरमा गरिब भए तापनि कुन अर्थमा धनी थिए?

१३ सम्राट्‌को उपासनामा भाग नलिएको कारण स्मर्नाका मसीहीहरूले कष्टको अलावा सम्भवतः गरिबी र आर्थिक कठिनाइ पनि सहनु पऱ्‍यो। यहोवाका वर्तमान समयका सेवकहरू पनि यस्ता परीक्षाहरूबाट मुक्‍त छैनन्‌। (प्रकाश १३:१६, १७) भौतिक तवरमा गरिब भए तापनि स्मर्नाका मसीहीहरूजस्ता व्यक्‍तिहरू आध्यात्मिक तवरमा धनी छन्‌ र यो नै महत्त्वपूर्ण कुरा हो!—हितोपदेश १०:२२; ३ यूहन्‍ना २.

१४, १५. अभिषिक्‍त जनहरूले प्रकाश २:१० बाट कस्तो सान्त्वना पाउन सक्छन्‌?

१४ स्मर्नाका अधिकांश यहूदीहरू “शैतानको सभा” थिए किनभने तिनीहरू गैरधर्मशास्त्रीय परम्पराहरूमा लागिरहे, परमेश्‍वरको पुत्रलाई तिरस्कार गरे र येशूका आत्मा-अभिषिक्‍त अनुयायीहरूको निन्दा गरे। (रोमी २:२८, २९) तर येशूका निम्न शब्दहरूबाट अभिषिक्‍त जनहरूले कत्ति धेरै सान्त्वना पाउन सक्छन्‌! उहाँ यसो भन्‍नुहुन्छ: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।”—प्रकाश २:१०.

१५ यहोवाको सार्वभौमिकता उच्च पार्न येशू मर्नसमेत डराउनुभएन। (फिलिप्पी २:५-८) अहिले शैतानले शेष अभिषिक्‍त जनहरू विरुद्ध युद्ध गरिरहेको भए तापनि आफूले समूहगत रूपमा भोग्नुपर्ने कष्ट, कैद वा हिंसात्मक मृत्युजस्ता कुनै पनि कुरासित तिनीहरू डराउँदैनन्‌। (प्रकाश १२:१७) तिनीहरू संसारमाथि विजयी हुनेछन्‌। सांसारिक खेलहरूमा विजयी हुनेहरूले मुकुटको रूपमा लगाउने ओइलिएर जाने फूलको माला जस्तो नभई पुनरुत्थान भएका अभिषिक्‍त जनहरूलाई अमर प्राणीको रूपमा स्वर्गमा “जीवनको मुकुट” दिने प्रतिज्ञा येशू गर्नुहुन्छ। कस्तो अनमोल उपहार!

१६. अहिले हामी पुरातन स्मर्नाको मण्डलीजस्तै मण्डलीसित संगत गरिरहेका छौं भने, हाम्रो ध्यान कुन विवादमा केन्द्रित हुनुपर्छ?

१६ हाम्रो आशा चाहे स्वर्गीय होस्‌ वा पार्थिव, अहिले हामी पुरातन स्मर्नाको मण्डलीजस्तै मण्डलीसित संगत गरिरहेका छौं भने नि? त्यसो हो भने, परमेश्‍वरले सतावट आइपर्न दिनुको प्रमुख कारण अर्थात्‌ विश्‍वव्यापी सार्वभौमिकताको विवादतर्फ ध्यान केन्द्रित गर्न सँगी विश्‍वासीहरूलाई मदत गरौं। यहोवाका हरेक निष्ठावान्‌ सेवकहरूले शैतानलाई झूटो साबित गर्छन्‌ र सतावट पाएको व्यक्‍तिसमेत विश्‍वव्यापी सार्वभौमको रूपमा शासन गर्ने यहोवाको अधिकारको पक्षधर हुन सक्छ भनी देखाउँछन्‌। (हितोपदेश २७:११) अरू मसीहीहरूलाई सतावट सहन प्रोत्साहन दिऔं र फलस्वरूप “निर्भयसँग [यहोवाको] सामुन्‍ने पवित्रता र धार्मिकतामा हाम्रा जीवनभरि” अर्थात्‌ सधैंभरि “उहाँको सेवा” गरिरहन सकौं।—लूका १:६८, ६९, ७४, ७५.

पर्गाममका दूतलाई

१७, १८. पर्गामम कस्तो किसिमको उपासनाको केन्द्र थियो र यस्तो मूर्तिपूजामा भाग लिन इन्कार गर्दा कस्तो परिणाम हुन सक्थ्यो?

१७ पर्गामममा भएको मण्डलीको प्रशंसा गर्नुका साथै यसलाई सच्याइयो। (प्रकाश २:१२-१७ पढ्‌नुहोस्‌।) स्मर्नाको लगभग ८० किलोमिटर उत्तरमा रहेको पर्गामम गैर-मसीही धर्ममा चुर्लुम्मै डुबेको थियो। कल्दी जादुगरहरू (ज्योतिषीहरू) बेबिलोनबाट भागेर त्यहाँ बस्न आएको हुनुपर्छ। पर्गामममा भएको औषधोपचारको झूटो देव अस्क्लेपियसको प्रसिद्ध मान्दिरमा मानिसहरूको ओइरो लाग्थ्यो। पर्गामममा सिजर अगस्तसको उपासनामा समर्पित मन्दिर भएकोले यसलाई “पुरातन साम्राज्यमा सम्राट्‌ उपासनाको प्रमुख केन्द्र” भनिन्थ्यो।—इन्साइक्लोपीडिया ब्रिटानिका, १९५९, खण्ड १७, पृष्ठ ५०७.

१८ पर्गामममा ज्यूसको नाउँमा समर्पित एउटा वेदी थियो। यो शहर दियाबलद्वारा प्रेरित मानिसहरूको उपासना केन्द्र पनि थियो। त्यहाँको मण्डली “शैतानको सिंहासन भएकै ठाउँमा” थियो भन्‍नु कुनै नौलो कुरा थिएन। सम्राट्‌को उपासना गर्न इन्कार गर्दा यहोवाको सार्वभौमिकताको समर्थन गर्ने व्यक्‍ति मारिनसमेत सक्थे। अहिले पनि संसार दियाबलकै अधीनमा छ र राष्ट्रिय प्रतीकहरूलाई मूर्तिको रूपमा पुजिन्छ। (१ यूहन्‍ना ५:१९) ख्रीष्टले “मेरो गवाही, मेरो विश्‍वासी जन एन्टिपास . . . तिमीहरूकै बीचमा मारिए” भन्‍नुभए झैं, प्रथम शताब्दीदेखि अहिलेसम्ममा थुप्रै विश्‍वासी मसीहीहरू शहीद भएका छन्‌। यहोवा परमेश्‍वर तथा येशू ख्रीष्टले यस्ता वफादार सेवकहरूलाई पक्कै सम्झनुहुनेछ।—१ यूहन्‍ना ५:२१.

१९. बालामले के गरे र सबै मसीहीहरू कुन कुरादेखि होसियार हुनुपर्छ?

१९ ख्रीष्टले “बालामको शिक्षा[बारे]” पनि बताउनुभयो। भौतिक कुराहरूको लोभ गरेर झूटा अगमवक्‍ता बालामले इस्राएललाई सराप्न खोजे। परमेश्‍वरले तिनको सरापलाई आशिष्‌मा परिणत गर्नुभएपछि, बालामले मोआबी राजा बालाकसित मिलेर थुप्रै इस्राएलीहरूलाई मूर्तिपूजा र यौन अनैतिकतातर्फ लोभ्याए। मसीही प्राचीनहरू धार्मिकताको लागि बालामका कामहरू विरुद्ध चल्ने पीनहासजस्तै दृढ हुनुपर्छ। (गन्ती २२:१–२५:१५; २ पत्रुस २:१५, १६; यहूदा ११) वास्तवमा, सबै मसीहीहरू मूर्तिपूजादेखि र यौन अनैतिकतालाई मण्डलीभित्र छिर्न नदिन होसियार हुनुपर्छ।—यहूदा ३, ४.

२०. कुनै मसीहीले आफ्नो मनमा धर्मत्यागी विचारधाराहरू खेलाउन थालेका छन्‌ भने तिनले के गर्नुपर्छ?

२० पर्गामममा भएको मण्डली ठूलो खतरामा थियो किनभने तिनीहरूले आफूमाझ “निकोलाइटनहरूका शिक्षा . . . ग्रहण गर्नेहरू[लाई]” रहिरहन दिए। ख्रीष्टले उक्‍त मण्डलीलाई यसो भन्‍नुभयो: “पश्‍चाताप गर, नत्रता म तिमीकहाँ छिट्टै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।” गुटका सदस्यहरूले मसीहीहरूलाई आध्यात्मिक हानि पुऱ्‍याउन चाहन्छन्‌ र फूट ल्याउन तथा गुटबन्दी गर्न खोज्ने व्यक्‍तिहरू परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्‌। (रोमी १६:१७, १८; १ कोरिन्थी १:१०; गलाती ५:१९-२१) कुनै मसीहीले आफ्नो मनमा धर्मत्यागी विचारधाराहरू खेलाउन थालेका छन्‌ र त्यसलाई फैलाउन चाहन्छन्‌ भने तिनले ख्रीष्टको उक्‍त चेतावनी सम्झनुपर्छ। आफूलाई विनाशबाट जोगाउन तिनले पश्‍चात्ताप गरेर मण्डलीका प्राचीनहरूबाट आध्यात्मिक सहयोग खोज्नुपर्छ। (याकूब ५:१३-१८) तुरुन्तै कदम चालिहाल्नु अत्यावश्‍यक छ किनभने येशू चाँडै न्याय गर्न आउँदै हुनुहुन्छ।

२१, २२. “गुप्तमा रहेको मन्‍न” कसले खान्छन्‌ र यो कुन कुराको प्रतीक हो?

२१ विश्‍वासी अभिषिक्‍त मसीहीहरू तथा तिनीहरूका वफादार सहयोगीहरू आउँदै गरेको न्यायदेखि डराउनु पर्दैन। परमेश्‍वरको पवित्र आत्माको निर्देशनद्वारा येशूले दिनुभएको सल्लाह पालन गर्नेहरू सबैले आशिष्‌को आशा गर्न सक्छन्‌। उदाहरणका लागि, संसारमाथि विजयी हुने अभिषिक्‍त जनहरूले “गुप्तमा रहेको मन्‍न” खाने निमन्त्रणा पाउनेछन्‌ र तिनीहरूलाई “एउटा नयाँ नाउँ लेखिएको” “सेतो पत्थर” दिइनेछ।

२२ इस्राएलीहरूको ४० वर्षे उजाड़-स्थानको यात्राको दौडान तिनीहरूको जीवन धान्‍न परमेश्‍वरले मन्‍नको प्रबन्ध गर्नुभयो। केही “रोटी” सुनको भाँडोमा हालेर करारको सन्दुकभित्र राखी बासस्थानको महा-पवित्र स्थानभित्र गुप्तमा राखिएको थियो र महा-पवित्र स्थानमा एउटा चमत्कारी ज्योतिले यहोवाको उपस्थितिको संकेत गर्थ्यो। (प्रस्थान १६:१४, १५, २३, २६, ३३; २६:३४; हिब्रू ९:३, ४) त्यो गुप्तमा रहेको मन्‍न कसैले पनि खान पाउँदैनथ्यो। तथापि, येशूका अभिषिक्‍त अनुयायीहरूको पुनरुत्थान हुँदा तिनीहरूले अमरत्व प्राप्त गरे अर्थात्‌ “गुप्तमा रहेको मन्‍न” खाए।—१ कोरिन्थी १५:५३-५७.

२३. “सेतो पत्थर” र “नयाँ नाउँ[को]” अर्थ के हो?

२३ रोमी अदालतहरूमा कालो पत्थरको अर्थ सजाय हुन्थ्यो भने सेतो पत्थर पाउनेले मुद्दाबाट सफाइ पाउँथ्यो। विजयी हुने अभिषिक्‍त मसीहीहरूलाई येशूले “सेतो पत्थर” दिनुहुने कुराले उहाँले तिनीहरूलाई निर्दोष, शुद्ध र सफा ठान्‍नुहुन्छ भनी संकेत गर्छ। रोमीहरूले महत्त्वपूर्ण अवसरहरूमा प्रवेश पाउनको लागि पनि पत्थरहरूको प्रयोग गर्ने हुँदा “सेतो पत्थर[ले]” अभिषिक्‍त जनहरूले थुमाको विवाहमा स्वर्गीय स्थानमा प्रवेश पाउने कुरालाई संकेत गर्न सक्छ। (प्रकाश १९:७-९) “नयाँ नाउँ[ले]” पक्कै पनि स्वर्गीय राज्यमा सह-उत्तराधिकारीको रूपमा येशूसित एक हुने सुअवसरलाई संकेत गर्छ। यी सबै कुराहरूले अभिषिक्‍त जनहरूका साथै पार्थिव प्रमोदवनमा बाँच्ने आशा राख्ने तिनीहरूका सँगीहरूलाई यहोवाको सेवा गरिरहन कत्ति धेरै प्रोत्साहन दिन्छ!

२४. धर्मत्यागको सन्दर्भमा हामीले कस्तो अडान लिनुपर्छ?

२४ धर्मत्यागीहरूको कारण पर्गामम मण्डली खतरामा परेको थियो भनेर सम्झनु बेस हुन्छ। हामीले संगत गरिरहेको मण्डलीको आध्यात्मिक हितलाई पनि यस्तै परिस्थितिले खतरामा पारिरहेको छ भने धर्मत्यागलाई पूर्णतया तिरस्कार गरौं र सच्चाइमा हिंडिरहौं। (यूहन्‍ना ८:३२, ४४; ३ यूहन्‍ना ४) झूटा शिक्षक वा धर्मत्यागतर्फ झुकाव राख्नेहरूले सम्पूर्ण मण्डलीलाई नै भ्रष्ट पार्न सक्ने हुँदा धर्मत्याग विरुद्ध दृढ अडान लिनै पर्छ र दुष्टहरूको फकाइफुस्लाइमा लागेर सच्चाइअनुसार चल्न कहिल्यै पनि छोड्‌नु हुँदैन।—गलाती ५:७-१२; २ यूहन्‍ना ८-११.

२५. अर्को लेखमा ख्रीष्टले कुन-कुन मण्डलीहरूलाई दिनुभएका सन्देशहरूबारे छलफल गरिनेछ?

२५ एसिया माइनरका सातवटा मण्डलीहरूमध्ये हामीले विचार गरेका तीनवटा मण्डलीहरूलाई महिमित येशू ख्रीष्टले प्रशंसा र सल्लाहका कस्ता विचारणीय सल्लाहहरू दिनुभयो! तथापि, पवित्र आत्माले निर्देशन दिएअनुरूप बाँकी चारवटा मण्डलीहरूलाई पनि उहाँले भन्‍नुपर्ने कुराहरू थुप्रै छन्‌। थिआटायरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियालाई सम्बोधन गरेर लेखिएका सन्देशहरूबारे अर्को लेखमा छलफल गरिनेछ।

तपाईं के भन्‍नुहुन्छ?

• ख्रीष्टले मण्डलीहरूलाई बताउनुभएका कुराहरूमा हामीले किन ध्यान दिनुपर्छ?

• मण्डलीको पहिलो प्रेम पुनः जगाउन हामी कसरी मदत गर्न सक्छौं?

• पुरातन स्मर्नाका मसीहीहरू भौतिक तवरमा गरिब भए तापनि तिनीहरू साँच्चै धनी थिए भनेर किन भन्‍न सकिन्छ?

• पर्गामममा भएको मण्डलीको परिस्थितिलाई विचार गर्दा धर्मत्यागी विचारधाराप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको नक्सा]

ग्रीस

एसिया माइनर

एफिसस

स्मर्ना

पर्गामम

थिआटायरा

सार्डिस

फिलाडेल्फिया

लाओडिसिया

[पृष्ठ १२-मा भएको चित्र]

“ठूलो भीड[ ले]” पार्थिव प्रमोदवनको आनन्द उठाउनेछन्‌

[पृष्ठ १३-मा भएका चित्रहरू]

सतावट भोग्ने मसीहीहरू संसारमाथि विजयी हुनेहरू हुन्‌