सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नूहको दैनिकी—के यसले हाम्रो लागि केही अर्थ राख्छ?

नूहको दैनिकी—के यसले हाम्रो लागि केही अर्थ राख्छ?

नूहको दैनिकी—के यसले हाम्रो लागि केही अर्थ राख्छ?

येशूले आफ्नो आगमन र जगत्‌को अन्तको चिह्नबारे भविष्यवाणी गर्नुहुँदा यसो भन्‍नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ।” (मत्ती २४:३, ३७) स्पष्टतः येशूले हाम्रो समय र नूहको समयबीच समानता छ भनेर भविष्यवाणी गर्नुभयो। नूहको दिनको भरपर्दो र यथार्थ विवरण हाम्रो लागि अनमोल साबित हुन सक्छ।

के नूहको दैनिकी साँच्चै अनमोल छ? के यसमा साँचो ऐतिहासिक प्रमाणको छाप पाइन्छ? जलप्रलय वास्तवमा कहिले भएको थियो भनी के हामी पत्ता लगाउन सक्छौं?

जलप्रलय कहिले भयो?

बाइबलमा जानकारीहरू कालक्रमअनुसार क्रमबद्ध ढंगमा प्रस्तुत गरिएको हुँदा मानव इतिहासको सुरुसम्म पुग्न सकिन्छ। उत्पत्ति ५:१-२९ मा प्रथम मानव आदमको सृष्टिदेखि नूहको जन्मसम्मको वंशावली पाउँछौं। “नूहको जीवनको छ सय वर्ष[मा]” जलप्रलय सुरु भयो।—उत्पत्ति ७:११.

जलप्रलयको समय पत्ता लगाउन हामीले एउटा खास तोकिएको मितिदेखि सुरु गर्नुपर्छ। हामीले मिति छान्दा इतिहासले पनि मानिलिएको र बाइबलमा उल्लिखित खास घटनाको मितिसँग पनि मिल्ने हुनुपर्छ। अनि त्यस खास मितिबाट अहिले चलनचल्तीमा रहेको ग्रेगोरियन क्यालेन्डरअनुसार हिसाब गरेर जलप्रलयको मिति हामी निकाल्न सक्छौं।

एउटा त्यस्तो खास मिति सा.यु.पू. ५३९ हो। त्यस वर्षमा फारसी राजा कोरेसले बेबिलोनलाई सत्ताच्युत गरेका थिए। तिनको शासनकालको समयका स्रोतहरूमा बेबिलोनी शिलालेख अनि डियोडोरस, अफ्रिकानस, युसिबियस र टोलेमीका रेकर्डहरू छन्‌। कोरेसले जारी गरेका उर्दीको कारण बाँकी रहेका यहूदीहरूले बेबिलोन छोडे र सा.यु.पू. ५३७ मा आफ्नो जन्मभूमि आइपुगे। त्यो नै यहूदाको ७० वर्ष लामो विनाशको अन्त थियो जुन बाइबलको रेकर्डअनुसार सा.यु.पू. ६०७ मा सुरु भएको थियो। इस्राएलमा न्यायाधीश र राजाहरूको शासनकाललाई पनि हिसाब गर्ने हो भने इस्राएलीहरू मिश्रबाट सा.यु.पू. १५१३ मा प्रस्थान गरेका थिए भनी थाह पाउन सक्छौं। बाइबल आधारित कालक्रमअनुसार हामी अर्को ४३० वर्षपछाडि अर्थात्‌ सा.यु.पू. १९४३ मा पुग्छौं जब अब्राहामसँग करार बाँधिएको थियो। त्यसपछि तेरह, नाहोर, सरूग, रऊ, पेलेग, एबेर र शेलहका साथसाथै “जलप्रलयको दुइ वर्षपछि” जन्मेका अर्पक्षदको जन्म र जीवनकालको विवरण हामीले विचार गर्नुपर्छ। (उत्पत्ति ११:१०-३२) यसरी जलप्रलय सा.यु.पू. २३७० मा सुरु भएको थियो भनेर हामी भन्‍न सक्छौं। a

अविरल वर्षा सुरु हुन्छ

नूहको दिनका घटनाहरूको पुनरावृत्ति गर्नुअघि उत्पत्ति अध्याय ७ को पद ११ देखि अध्याय ८ को पद ४ सम्म पढ्‌नु बेस होला। अविरल वर्षाको सन्दर्भमा यसो भनिएको छ: “नूहको जीवनको छ सय वर्षको [सा.यु.पू. २३७०] दोस्रो महीनाको सत्रौं दिनमा ठूला ठूला अगाधका सब मूलहरू फूटे, औ आकाशका झ्यालहरू खुले।”—उत्पत्ति ७:११.

नूहले वर्षलाई ३० दिन भएको १२ महिनामा छुट्‌याए। प्राचीन समयमा पहिलो महिना अहिले हाम्रो क्यालेन्डरअनुसार सेप्टेम्बर महिनाको बीचतिर सुरु हुन्थ्यो। “दोस्रो महीनाको सत्रौं दिनमा” अविरल वर्षा सुरु भयो र सा.यु.पू. २३७० को नोभेम्बर र डिसेम्बर महिनाभरि नै ४० दिन, ४० रातसम्म पानी परिरह्‍यो।

जलप्रलयको सन्दर्भमा हामीलाई यस्तो जानकारी पनि दिइएको छ: “पानी पृथ्वीमा एक सय पचास दिनसम्म परिरह्‍यो। . . . अनि पानी पृथ्वीमा लगातार घट्‌दैगयो। एक सय पचास दिन बितेपछि पानी घटिहाल्यो। सातौं महीनाको सत्रौं दिनमा जहाज आरारातका पहाडहरूमा अडियो।” (उत्पत्ति ७:२४–८:४) त्यसैले पृथ्वी जलाम्मे भएदेखि पानी घटेको समयसम्म १५० दिन वा पाँच महिना थियो। यसरी सा.यु.पू. २३६९ को अप्रिल महिनामा अरारात पहाडमा जहाज अडियो।

अब कृपया उत्पत्ति ८:५-१७ पढ्‌नुहोस्‌। झन्डै साढे दुई महिनापछि (७३ दिन) “दशौं महीनाको [जून महिना] पहिलो दिनमा” डाँडाका टाकुराहरू देखियो। (उत्पत्ति ८:५) b तीन महिनापछि (९० दिन) अर्थात्‌ नूहको “छ सय एक वर्षको पहिलो महीनाको पहिलो दिन” वा सा.यु.पू २३६९ सेप्टेम्बर महिनाको बीचतिर नूहले जहाजको छत उघारे। अनि तिनले “जमीन सुक्खा” देखे। (उत्पत्ति ८:१३) एक महिना र २७ दिनपछि (५७ दिन) “दोस्रो महीनाको सत्ताईसौं दिनमा [सा.यु.पू. २३६९, नोभेम्बर महिनाको बीचतिर] जमीन सुकिहाल्यो।” नूह अनि तिनको परिवारले त्यसपछि जहाजबाट निस्केर सुक्खा जमिनमा पाइला टेके। यसरी नूहलगायत तिनको परिवारले जहाजभित्र एक चन्द्र वर्ष र दस दिन (३७० दिन) बिताए।—उत्पत्ति ८:१४.

यी घटना, विवरण र समयबारे सही रेकर्डले के प्रमाणित गर्छ? प्रमाण स्पष्ट छ: हिब्रू अगमवक्‍ता मोशा जसका विवरणहरू उत्पत्तिको पुस्तकमा आधारित थियो, तिनले दन्त्यकथा नभई तथ्य कुरा नै प्रस्तुत गरिरहेका थिए। त्यसकारण जलप्रलयले आज हाम्रो लागि ठूलो अर्थ राख्छ।

अरू बाइबल लेखकहरूले जलप्रलयप्रति कस्तो दृष्टिकोण राख्थे?

उत्पत्तिको विवरणको अलावा बाइबलमा अन्य थुप्रै ठाउँमा नूह वा जलप्रलयबारे उल्लेख गरिएको छ। उदाहरणका लागि:

(१) अनुसन्धाता एज्राले इस्राएल राष्ट्रको वंशावलीमा नूह र तिनका छोराहरू (शेम, हाम र येपेत) समावेश गरे।—१ इतिहास १:४-१७.

(२) चिकित्सक तथा सुसमाचारको पुस्तकका लेखक लूकाले येशू ख्रीष्टका पुर्खाहरूको सूचीमा नूह उल्लेख गरेका छन्‌।—लूका ३:३६.

(३) प्रेरित पत्रुसले सँगी मसीहीहरूलाई जलप्रलयको विवरणसम्बन्धी थुप्रै चोटि लेखेका छन्‌।—२ पत्रुस २:५; ३:५, ६.

(४) नूहले आफ्नो परिवारको बचाउको लागि जहाज निर्माण गर्दा देखाएको बलियो विश्‍वासबारे प्रेरित पावलले बताएका छन्‌।—हिब्रू ११:७.

बाइबलका यी प्रेरित लेखकहरूले जलप्रलयबारे उत्पत्तिको विवरण स्वीकारेको कुरामा के कुनै शंका गर्ने ठाउँ छ? तिनीहरूले निश्‍चय पनि यसलाई सत्य घटनाको रूपमा स्वीकारे।

येशू र जलप्रलय

येशू ख्रीष्टको मानवपूर्व अस्तित्व थियो। (हितोपदेश ८:३०, ३१) उहाँ जलप्रलयको समयमा आत्मिक प्राणी हुनुहुन्थ्यो। अतः प्रत्यक्षदर्शीको हैसियतमा येशूले नूह र जलप्रलयबारे सबैभन्दा ठूलो धर्मशास्त्रीय पुष्टि दिनुहुन्छ। येशूले यसो भन्‍नुभयो: “जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ। किनकि जसरी जलप्रलयका अघाडिका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे, उसैगरी मानिसको पुत्रको आगमन पनि हुनेछ।”—मत्ती २४:३७-३९.

के येशूले आउनै लागेको जगत्‌को अन्तबारे चेतावनी दिन लोककथा चलाउनुहुन्थ्यो होला र? अवश्‍य पनि चलाउनु हुन्‍नथ्यो! उहाँले ईश्‍वरीय न्यायद्वारा दुष्टहरूको अन्त भएको साँचो उदाहरण चलाउनुभयो भनी हामी निर्धक्क हुन सक्छौं। हो, मानिसहरूको ज्यान गयो तर नूह र तिनको परिवार जलप्रलयबाट बचेको हुँदा हामीले सान्त्वना प्राप्त गर्न सक्छौं।

आज येशू ख्रीष्ट अर्थात्‌ “मानिसको पुत्रको आगमन[को]” बेला जीवित मानिसहरूको लागि “नूहको दिन” अत्यन्तै अर्थपूर्ण छ। जसै हामीले नूहको विश्‍वव्यापी जलप्रलयबारे विस्तृत विवरण पढ्‌छौं हामी यो साँचो ऐतिहासिक प्रमाण हो भनेर पक्का हुन सक्छौं। अनि ईश्‍वरीय प्रेरणाद्वारा लेखिएको जलप्रलयको विवरण आज हाम्रो लागि ठूलो अर्थ राख्छ। नूह, तिनका छोरा र बुहारीहरूले बचाउको लागि परमेश्‍वरको प्रबन्धमा बलियो विश्‍वास राखेझैं आज हामी पनि येशूको छुडौतीको बलिदानमार्फत यहोवाको सुरक्षात्मक बाहुलीको शरण लिन सक्छौं। (मत्ती २०:२८) यसबाहेक, नूह र तिनको परिवार त्यतिबेलाका अधर्मी मानिसहरूको विनाश गर्न ल्याइएको जलप्रलयबाट बचेको कुरा नूहको दैनिकीले देखाएझैं हामी पनि यस दुष्ट रीतिरिवाजको अन्तबाट बच्ने आशा राख्न सक्छौं।

[फुटनोटहरू]

a जलप्रलयको मितिको विस्तृत विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स-को खण्ड १, पृष्ठ ४५८-६० हेर्नुहोस्‌।

b किल-डेलिश कमेन्टरी अन दी ओल्ड टेस्टामेन्ट, खण्ड १, पृष्ठ १४८ यस्तो उल्लेख गर्छ: “सम्भवतः जहाज अडिएको ७३ दिनपछि आरमेनियाका अग्ला पहाडहरू देखिए होलान्‌ र जहाजका वरपर यी पहाडहरू नै थिए।”

[पृष्ठ ५-मा भएको पेटी]

के तिनीहरू साँच्चै त्यति धेरै वर्ष बाँचे?

“नूहको जम्मा उमेर नौ सय पचास वर्ष भयो” भनी बाइबलले बताउँछ। (उत्पत्ति ९:२९) नूहका बाजे मतूशेलह ९६९ वर्ष बाँचे र तिनी अहिलेसम्म सबैभन्दा धेरै बाँच्ने व्यक्‍ति हुन्‌। आदमदेखि नूहसम्मको दस पुस्ताको आयु सरदर ८५० वर्षभन्दा बढी थियो। (उत्पत्ति ५:५-३१) त्यतिबेलाका मानिसहरू के त्यति धेरै वर्ष बाँच्थे?

मानिस सधैंभरि बाँचोस्‌ भन्‍ने परमेश्‍वरको सुरुको उद्देश्‍य थियो। प्रथम मानिस आदम परमेश्‍वरप्रति आज्ञाकारी भएको खण्डमा तिनले सधैंभरि जीवनको आनन्द उठाउन सक्थे। (उत्पत्ति २:१५-१७) तर आदम आज्ञाकारी भएनन्‌ र त्यो सुअवसर गुमाए। तिनी नौ सय तीस वर्षको उमेरमा मृत्युको मुखसम्म पुगे र माटोमै फर्के। (उत्पत्ति ३:१९; ५:५) प्रथम मानिसले आफ्ना सारा सन्तानलाई सम्पत्तिको रूपमा वंशानुगत पाप र मृत्यु दिए।—रोमी ५:१२.

तथापि, त्यस अवधिका मानिसहरू आदमको सुरुको सिद्धताबाट त्यति टाढिसकेका थिएनन्‌ र सम्भवतः यही कारणले गर्दा पछि जन्मेका मानिसहरूको भन्दा तिनीहरूको आयु लामो थियो। यसर्थ, जलप्रलयअघि मानिसको आयु लगभग हजार वर्ष थियो तर जलप्रलयपछि भने तीव्र गतिमा खस्कन थाल्यो। उदाहरणका लागि, अब्राहाम १७५ वर्ष मात्र बाँचे। (उत्पत्ति २५:७) अनि ती विश्‍वासी कुलपिताको मृत्यु भएको लगभग ४०० वर्षपछि मोशाले यस्तो लेखे: “हाम्रा आयु ता तीन कोरी र दश वर्ष मात्र छन्‌, पौरखले चार कोरीसम्म ता होला। तापनि तिनीहरूको घमण्ड ता केवल दुःख र मेहनत मात्र हुन्छन्‌।” (भजन ९०:१०) आजको परिस्थिति पनि त्योभन्दा खासै फरक छैन।

[पृष्ठ ६-मा भएको चार्ट/चित्रहरू]

यहूदीहरूलाई निर्वासनबाट फर्कन कोरेसले उर्दी दिएदेखि नूहको दिनको जलप्रलयसम्म पछाडि गन्‍ने

५३७ कोरेसको उर्दी c

५३९ फारसका कोरेसले बेबिलोनलाई परास्त गरेको

६८ वर्ष

६०७ यहूदाको ७० वर्षे विनाश सुरु हुन्छ

राज्यपाल, न्यायाधीश र

इस्राएलका राजाहरूको

निगरानीमा ९०६ वर्ष

१५१३ मिश्रबाट प्रस्थान

४३० वर्ष इस्राएलीहरू मिश्र र

कनानमा बसेको ४३० वर्ष

(प्रस्थान १२:४०, ४१)

१९४३ अब्राहामसँग बाँधिएको करारलाई वैध बनाउनु

२०५ वर्ष

२१४८ तेरहको जन्म

२२२ वर्ष

२३७० जलप्रलय सुरु

[फुटनोट]

c यहूदीहरूलाई निर्वासनबाट मुक्‍त गरिएको कोरेसको घोषणा “फारसका राजा कोरेसको पहिलो वर्षमा” अर्थात्‌ सा.यु.पू. ५३८ वा सा.यु.पू. ५३७ को सुरुतिर गरिएको थियो।