सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

अप्रिल १, २००२ प्रहरीधरहरा-को पृष्ठ ११, अनुच्छेद ७ मा सा.यु. ३३ पेन्तिकोसमा नयाँ यहूदी विश्‍वासीहरूले “ख्रीष्टमार्फत परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको” देखाउन पानीको बप्तिस्मा लिए भनी बताउनुको कारण के हो जब कि यसभन्दा अघि सा.यु. ३३ देखि सा.यु. ३६ सम्म बप्तिस्मा लिने यहूदीहरूले व्यक्‍तिगत रूपमा त्यस्तो समर्पण गर्नु आवश्‍यक छैन भन्‍ने धारणा राखिन्थ्यो?

इस्राएलीहरूले ‘साँच्चै नै उहाँको कुरा सुनेको र उहाँको करार पालन गरेको’ खण्डमा यहोवा परमेश्‍वरले उहाँको पवित्र जाति हुन पाउने सुअवसर सा.यु.पू. १५१३ मा प्रदान गर्नुभयो। तिनीहरूले यस्तो जवाफ दिए: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।”—प्रस्थान १९:३-८; २४:१-८.

मोशालाई दिइएको व्यवस्था पालन गर्न स्वीकार गरेर इस्राएलीहरूले आफूलाई परमेश्‍वरमा समर्पण गरे। त्यसपछि यस समर्पित राष्ट्रमा थुप्रै यहूदी पुस्ताहरू जन्मिए। तथापि, सा.यु. ३३ पेन्तिकोस यता येशू ख्रीष्टका अनुयायी भएर बप्तिस्मा लिनेहरूले आफूलाई समर्पित राष्ट्रको सदस्यको रूपमा परमेश्‍वरसामु खडा गर्नु मात्र पर्याप्त थिएन। तिनीहरूको समर्पणले येशू ख्रीष्टमार्फत यहोवा परमेश्‍वरसँग नयाँ सम्बन्धमा गाँसेको चित्रण गर्थ्यो। कसरी?

सा.यु. ३३ पेन्तिकोसमा यरूशलेमको माथिल्लो कोठामा भेला भएका झन्डै १२० जना चेलालाई पवित्र आत्मा खन्याइएपछि त्यहाँ के भयो भनी हेर्न आएका थुप्रै यहूदी र धर्म परिवर्तन गरेर यहूदी भएकाहरूलाई प्रेरित पत्रुसले खडा भएर प्रचार गर्न थाले। तिनले विस्तृत साक्षी दिएपछि आफ्नो अन्तस्करणले घोचेका यहूदीहरूलाई यसो भने: “पश्‍चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ।” पत्रुसको थप सल्लाहको प्रत्युत्तरमा “जस जसले तिनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्रायः तीन हजार प्राणीहरू तिनीहरूमा थपिए।”—प्रेरित २:१-४१.

पत्रुसको आग्रह सुनेपछि बप्तिस्मा लिएका यहूदीहरू के समर्पित राष्ट्रका सदस्यहरू थिएनन्‌ र? के तिनीहरूले परमेश्‍वरसँग समर्पित सम्बन्धको आनन्द उठाइरहेका थिएनन्‌ र? अहँ, थिएनन्‌। ‘परमेश्‍वरले व्यवस्था झिकेर खाँबोमा कीला ठोकिदिनुभएको थियो’ भनी प्रेरित पावलले लेखे। (कलस्सी २:१४) सा.यु. ३३ मा ख्रीष्टको मृत्युमार्फत यहोवा परमेश्‍वरले व्यवस्थाको करार हटाउनुभयो जसद्वारा इस्राएलीहरू उहाँसँग समर्पित सम्बन्धमा गाँसिएका थिए। परमेश्‍वरको पुत्रलाई इन्कार गर्ने राष्ट्र अब उल्टै परमेश्‍वरबाट तिरस्कृत हुनुपऱ्‍यो। ‘शरीरअनुसारका इस्राएलले’ अब परमेश्‍वरको समर्पित राष्ट्र भएको दाबी गर्न सक्दैनथ्यो।—१ कोरिन्थी १०:१८; मत्ती २१:४३.

व्यवस्थाको करार सा.यु. ३३ मा हटाइएको थियो तर यहूदीहरूलाई परमेश्‍वरको विशेष अनुग्रह र ध्यान त्यतिखेरै समाप्त भएन। a त्यो समय सा.यु. ३६ सम्म रहने थियो जब पत्रुसले ईश्‍वरभीरु इटालेली कर्नीलियसलगायत तिनको परिवार र अन्यजातिहरूलाई प्रचार गरे। (प्रेरित १०:१-४८) यतिबेलासम्म अनुग्रह पाइरहनुको आधार के थियो?

“[मसीहले] एक हप्तासम्म धेरैसित गुठ बाँध्नेछन्‌” भनी दानियल ९:२७ मा उल्लेख गरिएको छ। यो करार, येशूको बप्तिस्मादेखि सात दिन वा “एक हप्तासम्म” थियो र सा.यु. २९ मा मसीहले जनसेवकाई सुरु गर्नु पनि अब्राहामसँग बाँधिएको करारअनुसार नै थियो। त्यस करारमा बाँधिनको लागि अब्राहामको हिब्रू सन्तान हुनु पर्याप्त थियो। यस एकतर्फी करारले व्यक्‍तिविशेषलाई यहोवासँग समर्पित सेवामा बाँधिदैनथ्यो। तसर्थ, सा.यु. ३३ पेन्तिकोसमा पत्रुसको भाषणपछि बप्तिस्मा लिएका विश्‍वासी यहूदीहरू, यहूदी नागरिकको हैसियतमा विशेष मौकाको हकदार भए तापनि व्यवस्थाको करार हटाएपछि परमेश्‍वरसँग समर्पित सम्बन्धमा बाँधिएको दाबी गर्न सक्दैनथे। तिनीहरूले व्यक्‍तिगत तवरमा परमेश्‍वरलाई समर्पण गर्नुपर्ने थियो।

यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी मत स्वीकारेकाहरूले सा.यु. ३३ पेन्तिकोसमा व्यक्‍तिगत रूपमा समर्पण गर्नु अर्को एउटा कारणले गर्दा पनि अत्यावश्‍यक थियो। प्रेरित पत्रुसले आफ्ना श्रोताहरूलाई पश्‍चात्ताप गर्न र येशूको नाउँमा बप्तिस्मा लिन आग्रह गरे। यसो गर्न तिनीहरूले सांसारिक तौरतरिका त्यागेर येशूलाई प्रभु र मसीह, प्रधान पूजाहारी र स्वर्गमा परमेश्‍वरको दायाँ बाहुलीमा बस्ने व्यक्‍तिको रूपमा स्वीकार्नुपर्थ्यो। तिनीहरूले उद्धारको लागि ख्रीष्ट येशूको नाउँमा यहोवा परमेश्‍वरको नाउँ पुकार्नुपर्थ्यो र यसमा ख्रीष्टमा विश्‍वास गर्नु तथा उहाँलाई नेताको रूपमा स्वीकार्नु समावेश थियो। परमेश्‍वरसँग सम्बन्ध गाँस्न र पापहरूको लागि क्षमा पाउन पूरा गर्नुपर्ने सम्पूर्ण आधार नै परिवर्तन भइसकेको थियो। विश्‍वासी यहूदीहरूले व्यक्‍तिविशेषको हैसियतमा यस नयाँ प्रबन्ध स्वीकार्नुपर्थ्यो। कसरी? परमेश्‍वरलाई समर्पण गरेर र येशू ख्रीष्टको नाउँमा पानीको बप्तिस्मा लिएको कुरालाई सार्वजनिक जनाउ दिएर। पानीको बप्तिस्मा परमेश्‍वरप्रति तिनीहरूको समर्पणको प्रतीक थियो र यसद्वारा तिनीहरू येशू ख्रीष्टमार्फत नयाँ सम्बन्धमा प्रवेश गर्न सक्थे।—प्रेरित २:२१, ३३-३६; ३:१९-२३.

[फुटनोट]

a येशू ख्रीष्ट स्वर्गमा उक्लनुहुँदा यहोवा परमेश्‍वरलाई आफ्नो बलिदान चढाएर मानव शरीरको मोल प्रस्तुत गर्नुभएपछि मोशालाई दिइएको व्यवस्थाको करार खारेज भयो र भविष्यवाणी गरिएको “नयाँ करार[को]” आधार बसालियो।—यर्मिया ३१:३१-३४.